शब्दबाट फैसला खोज्‍नुहोस्

निर्णय नं. ३७०७ - उत्प्रेषण

भाग: ३१ साल: २०४६ महिना: बैशाख अंक:

निर्णय नं. ३७०७    ने.का.प. २०४६      अङ्क १

 

संयुक्त इजलास

माननीय न्यायाधीश श्री पृथ्वीबहादुर सिंह

माननीय न्यायाधीश श्री रुद्रबहादुर सिंह

सम्वत् २०४४ सालको रि.नं. १५२५

आदेश भएको मिति : २०४५।३।२९।४ मा

निवेदिका : ल.पु.जि. चापागाउँ गा.पं. वडा नं. ४ बस्ने हर्षमाया देसार

विरुद्ध

विपक्षी : प्रमुख जिल्ला अधिकारी, जिल्ला कार्यालय, ललितपुरसमेत

विषय : उत्प्रेषण

(१)    लिखतमा साक्षी बसी सकेकोले लिखतको सम्बन्धमा दावी गर्ने हक नरहने ।

(प्रकरण नं. १०)

(२)   आफ्नो हकको जग्गा बिक्री भएको भए सो कुरा थाहा भएपछि लिखत बदरमा उजूर गरी आफ्नो हक जति बदर गराउन सक्नु पर्ने ।

(प्रकरण नं. ११)

निवेदिकातर्फबाट : विद्वान अधिवक्ता श्री चण्डेश्वर श्रेष्ठ

विपक्षीतर्फबाट : विद्वान सहन्यायाधिवक्ता श्री जितबहादुर कार्की, विद्वान अधिवक्ता श्री सिन्धुनाथ प्याकुरेल

आदेश

न्या.पृथ्वीबहादुर सिंह

१.     नेपालको संविधानको धारा १६।७१ अन्तर्गत पर्न आएको प्रस्तुत रिटनिवेदनको तथ्य एवं जिकिर संक्षेपमा यस प्रकार रहेछ ।

२.    बुद्धिलालको छोरा विपक्षी मध्येका तुयुचा र कृष्णलालको एकाघरको दाजु मधेसी श्रेष्ठले म निवेदकसँग १८००।कर्जा लिई ल.पु.जि. चापागाउँ भंसारटोल वारखानवी टोलको पूर्व हिरामायाको घर, पश्चिम लालबहादुरको घर, उत्तर चोक, दक्षिण मुलबाटो यति ४ किल्ला भित्रको दक्षिण मोहडा पूर्व पश्चिम लङको २ नाले ३ कवले ३ तले कच्ची गा¥हो, परालको छाना भएको घर र लगापात समेत आफ्ना एकाघरको भाइ भीमलाल समेत साक्षी राखी मिति ०२३।२।१० गते फार्छेपत्र पास गरिदिनु भई म निवेदिकाले भोगचलन गरिआएको छु । विपक्षी मध्येका कृष्णलाल श्रेष्ठले निवेदिकासंग रु. १९५।लिई पछि कुनै उजूरी दावी नगर्ने गरी मिति ०२३।११।१२ मा र विपक्षी मध्ये तुयुचा श्रेष्ठले निवेदिकासंग रु. ४५०।लिई मिति २०२५।२।२१ मा कागज गरिदिएका थिए । उक्त फार्छेपत्र बमोजिमको सर्भे नापीमा ल.पु.जि. चापागाउँ गा.पं. वा.नं. ४(ङ) कि.नं. ११० क्षेत्रफल ०३ कायम भई नाप नक्सा भई राखेको हुँदा सो कि.नं. ११० को घर जग्गा मेरो नाममा दर्ता गरी जग्गाधनी प्रमाण पुर्जा पाउँ भनी निवेदिकाले मालपोत कार्यालय ललितपुरमा निवेदन दिएका थिए । विपक्षी मध्येका कान्छा भन्ने भीमलाल श्रेष्ठ, विपक्षी तुयुचा श्रेष्ठ र कृष्णलाल श्रेष्ठले समेत उक्त घर जग्गामा आफ्नो हक देखाई निवेदकलाई जग्गाधनी प्रमाणपुर्जा दिन मन्जूर छैन भनी मालपोत कार्यालयमा बयान गरेपछि मालपोत कार्यालय ललितपुरबाट चापागाउँ वा.नं. ४(ङ) को कि.नं. ११० को क्षेत्रफल ०३ को घर जग्गा ४ खण्डको १ खण्ड कृष्णलाललाई सोही ४ खण्डको १ खण्ड, तुयुचालाई र बाँकी आधा भाग हर्षमाया देसारलाई कायम गर्न यसमा तर्फ खुलाई माग गरेका बखत दर्ता गर्न समिति मार्फत विभागमा पेश गर्नु भनी पेश गरिएको टिप्पणी बमोजिम दर्ता गर्न पुनरावेदनको म्याद नाघेपछि समितिमा राख्ने भनी मिति ०४२।१।१६ मा निर्णय आदेश भयो । सो निर्णय उपर जि.का. ललितपुरमा पुनरावेदन गरेकोमा सो कार्यालयबाट मालपोत कार्यालयको निर्णय सदर गरी मिति ०४४।५।१५ मा पुनरावेदन फैसला भयो । बुद्धिलालका ४ छोराहरू मदेशी श्रेष्ठ, भीमलाल श्रेष्ठ, कृष्णलाल श्रेष्ठ र तुयुचा श्रेष्ठ भएकोमा मदेशी श्रेष्ठबाट उल्लिखित घर जग्गा मिति ०२३।२।१० मा फार्छेपत्र गरिदिएपछि त्यसबाट विपक्षीहरूको हकमा असर परेको भए हदम्याद भित्र नालेश गरी लिखत बदर गराउन सक्नु पर्नेमा सो गरेको छैन । आफ्नो दाजु मदेशी श्रेष्ठले फार्छे गरिदिएकोमा विपक्षी भीमलाल स्वयं लिखत बमोजिम घर जग्गा फार्छे भएकोमा चित्त बुझाई कागज गरिदिनु भएकोले प्रमाण ऐन, २०३१ को दफा ३४ ले विपक्षी कृष्णलाल र तुयुचालाई विबन्धन समेत लाग्छ । उपरोक्त बमोजिम रजिष्टे«शन पास भई म निवेदिकाको हक स्थापित हुन आई निवेदिकाको हकभोगचलनमा रहेको उक्त घर जग्गा मेरो नाउँमा दाखिल खारेज दर्ता हुन पर्ने र विपक्षी कृष्णलाल र तुयुचाको आफ्नो नाममा दर्ता गराउने दावी जिकिर नै नभएको कुनै आधार प्रमाण बेगर नै उक्त तथ्य सबूद प्रमाणहरूको न्यायिक विवेचना सम्म नगरी ४ खण्डको १ खण्ड कृष्णलाल र १ खण्ड तुयुचाको कायम गरी र बाँकी आधी भाग मात्र म निवेदिकाको नाममा दर्ता गर्न समितिमा राख्ने गरेको मालपोत कार्यालय ललितपुरको मिति ०४२।१।१६ को निर्णयलाई सदर गरेको २०४४।४।१५ जि.का. ललितपुरको पुनरावेदन फैसला समेत कानुनी त्रुटिपूर्ण भई बदरभागी हुँदा नेपालको संविधानको धारा ७१ अन्तर्गत उत्प्रेषणको आदेशद्वारा बदर गरी उक्त कि.नं. ११० को जग्गा निवेदिकाको नाममा दाखेल खारेज दर्ता नामसारी गरी ज.ध.प्र.पु. दिनु भनी परमादेश समेत जारी गरी हनन् भएको हक प्रचलन गराई पाउँ भन्ने समेत रिटनिवेदन ।

३.    विपक्षीहरूबाट लिखितजवाफ मगाउनु भन्ने एक न्यायाधीशको इजलासको आदेश अनुसार प्रस्तुत लिखितजवाफको व्यहोरा संक्षेपमा यस प्रकार रहेछ ।

४.    ४ जवानको नाउँमा नाप नक्सा भई संयुक्त पुर्जा श्रेस्ता समेत खडा भएकोले सो ४ जवान मध्येका एक जवानले फार्से गरी दिदैंमा ४ खण्ड जान नपर्ने केवल फार्छे गरी दिने मधेसे श्रेष्ठ र सो फार्छे लिखितमा साक्षी बस्ने निजका भाइ भीमलाल श्रेष्ठले पनि साक्षी बसेको नाताले थाहा पाएको भन्न नमिल्ने हुँदा निजहरू जवान २ को ४ खण्डको २ खण्ड मात्र फार्छे गरी लिने निज हर्षमाया देसार्नीका नाउँमा दर्ता गर्न समितिमा राख्ने गरी त्यस कार्यालयबाट भएको निर्णय कानुन बमोजिम नै भएको हुँदा रिटनिवेदन खारेज गरिपाउँ भन्ने समेत मालपोत कार्यालय ललितपुर ।

५.    कि.नं. ११० को क्षेत्रफल ०३ को घर जग्गा ४ खण्डको १ खण्ड कृष्णलाललाई सो ४ खण्डको १ खण्ड तुयुचा श्रेष्ठ र बाँकी आधा जग्गा हर्षमायालाई भनी भाग बण्डा गरेको शुरुको निर्णय ठीक देखिएकोले मा.पो.का. ललितपुरको निर्णय सदर गर्ने गरेको यस कार्यालयको निर्णय कानुन बमोजिमको हुँदा आधारहिन रिटनिवेदन खारेज गरिपाउँ भन्ने समेत जि.का. ललितपुर ।

६.    जि.का.ललितपुरको फैसलाउपर न्या.प्र.सु. ऐन, ०३१ को दफा १३(४) बमोजिम क्षे.अ. मा पुनरावेदन गर्ने अनुमतिको लागि निवेदन दिनु पर्नेमा वैकल्पिक कानुनी उपचार छँदाछँदै असाधारण अधिकार क्षेत्र भित्र प्रवेश गर्न आएको हुँदा प्रतिपादित सिद्धान्त समेतको त्रुटिपूर्ण हुँदा बदरभागी छ, हामीहरूको स्वीकृति बेगर राजीनामा गरिदिएका कागजबाट निवेदिकाको उक्त घरमा निर्विवाद स्वामित्व छैन । यसर्थ निजलाई उक्त जग्गाका सम्बन्धमा निर्विवाद हक कायम नभएको हुँदा निजलाई रिटनिवेदन दिने हक छैन । अतः प्रस्तुत रिटनिवेदन खारेज गरिपाउँ भन्ने समेत कृष्ण्लाल श्रेष्ठ र तुयुचा श्रेष्ठ ।

७.    नियम बमोजिम पेशी सूचीमा चढी पेश हुन आएको प्रस्तुत रिटनिवेदनको फाइल समेत अध्ययन गरी निवेदिकाको तर्फबाट रहनु भएका विद्वान अधिवक्ता श्री चण्डेश्वर श्रेष्ठ तथा विपक्षी तर्फबाट खटिनु भएका विपक्षी कार्यालयका विद्वान सहन्यायाधिवक्ता श्री जितबहादुर कार्की प्रत्यर्थीहरूका तर्फबाट रहनु भएका विद्वान अधिवक्ता श्री सिन्धुनाथ प्याकुरेल समेतले गर्नु भएको बहस जिकिर समेत सुनियो ।

८.    अब निवेदिकाको माग बमोजिमको आदेश जारी हुने नहुने के हो सो को निर्णय दिनु परेको छ ।

९.    निर्णयतर्फ विचार गर्दा यसमा विवादको ल.पु.जि. चापागाउँ वा.नं. ४(ङ) को कि.नं. ११० को क्षेत्रफल ०३ को घर जग्गा मधिसे श्रेष्ठबाट फार्छे राजीनामा गरी लिएकोले नामसारी दाखेल खारेज दर्ता गरी ज.ध.प्र.पु. पाउँ भनी निवेदिकाको निवेदन परेकोमा हाम्रो मन्जूरी बेगर दाजु मधिसे श्रेष्ठले मात्र बिक्री गर्दा हाम्रो हक जानु पर्ने होइन हाम्रो हक जतिको हकमा २०२३।२।१० को फार्छे राजीनामा बदर हुनु पर्छ भनी प्रत्यर्थीहरूबाट विवाद उत्पन्न गरेको प्रस्तुत विवादमा विपक्षी मध्ये कृष्णलाल र तुयुचा श्रेष्ठलाई ४ खण्डको १ खण्डका दरले र निवेदिकालाई आधा भाग दिलाई दिने ठहराएको मालपोत कार्यालय ललितपुरको इन्साफ सदर गरेको जि.का. ललितपुरको निर्णय त्रुटिपूर्ण हुँदा बदर गरिपाउँ भन्ने मुख्य रिटनिवेदन जिकिर रहेछ ।

१०.    यसमा बुद्धिलाल श्रेष्ठका ४ छोराहरू मधिसे श्रेष्ठ, भीमलाल श्रेष्ठ, कृष्णलाल श्रेष्ठ, तुयुचा श्रेष्ठ भएकोमा र यी छोराहरू मध्ये जेठो छोरा मधिसे श्रेष्ठले रिट निवेदिकालाई २०२३।२।१० मा फार्छे राजीनामा पास गरिदिएको कुरामा विवाद देखिन आउँदैन । लिखत गरिदिने बाहेक अन्य ३ जना छोराहरू मध्ये भीमलाल श्रेष्ठले सो लिखतमा साक्षी बसिसकेकोले निजको यस लिखतको सम्बन्धमा दावी गर्ने हक रहेको पाइन्न ।

११.    अब उक्त मिति २०२३।२।२० को फार्छे राजीनामामा उल्लिखित घर जग्गामा हाम्रो पनि हक भएकोले हाम्रो हक जति उक्त लिखत बदर हुनुपर्छ भन्ने विपक्षीहरू कृष्णलाल श्रेष्ठ र तुयुचा श्रेष्ठको दावी जिकिरको हकमा विचार गर्दा यदि विपक्षीहरूको आफ्नो समेत हकको जग्गा बिक्री भएको भए सो कुरा थाहा भएपछि लिखत बदरमा उजूर गरी आफ्नो हक जति बदर गराउन सक्नु पर्नेमा त्यसतर्फ विपक्षीहरूले कुनै कारवाही गरेको देखिँदैन । त्यसतर्फ आफ्नो हक भए कानुन बमोजिम उजूर दिएमा ठहरे बमोजिम हुने हुँदा मालपोत ऐन, २०३४ को दफा ८(१) बमोजिम दर्ता गरिदिनु पर्नेमा विवादको घर जग्गाको ४ खण्डको १ खण्ड तुयुचा र सोही ४ खण्डको १ खण्ड कृष्णलाललाई दिलाई दिने र आधा भाग निवेदिकालाई दिलाई दिने भनी तर्फ खुलाएको बखत दर्ता गर्न सो समितिमा राखी विभागमा पेश गर्ने भन्ने मालपोत कार्यालय ललितपुरको मिति ०४२।१।१६ र सो निर्णयलाई सदर गर्ने गरेको जिल्ला कार्यालय, ललितपुरको मिति ०४४।५।१५ को निर्णय समेत कानुनी त्रुटिपूर्ण देखिँदा नेपालको संविधानको धारा ७१ अन्तर्गत उत्प्रेषणको आदेशद्वारा बदर हुने ठहर्छ । अब कानुन बमोजिम गर्नु भनी विपक्षी मालपोत कार्यालय ललितपुरको नाममा परमादेश जारी हुने ठहर्छ । फाइल नियम बमोजिम रेकर्ड (मिसिल) शाखामा बुझाई दिनु ।

 

उक्त रायमा मेरो सहमति छ ।

 

न्या.रुद्रबहादुर सिंह

 

इति सम्वत् २०४५ साल आषाढ २९ गते रोज ४ शुभम् ।

 

 

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु