निर्णय नं. ३७०८ - उत्प्रेषण

निर्णय नं. ३७०८ ने.का.प. २०४६ अङ्क १
संयुक्त इजलास
माननीय न्यायाधीश श्री पृथ्वीबहादुर सिंह
माननीय न्यायाधीश श्री रुद्रबहादुर सिंह
सम्वत् २०४३ सालको रि.नं. १६९९
आदेश भएको मिति : २०४५।११।८।१ मा
निवेदक : जि.सिराहा सुखचैना गा.पं.वा.नं.९ बस्ने जनकल्याण मा.वि. गौरीपुर नि.मा.वि. शिक्षक पदबाट अवकाश दिइएका शिवदयाल कारक
विरुद्ध
प्रत्यर्थी : सञ्चालक समिति, श्री जनकल्याण मा.वि. गौरीपुर, सिराहासमेत
विषय : उत्प्रेषण
(१) कुनै सफाईको मोका नै नदिई तथा पर्चा समेत खडा नगरी अवकाश दिने गरी गरेको निर्णय र सो अवकाश सम्बन्धी पत्र तथा सो निर्णयलाई समर्थन गर्ने भएको पुनरावेदन निर्णय समेत कानुन प्रतिकूल देखिँदा उत्प्रेषणको आदेशद्वारा बदर हुने ।
(प्रकरण नं. ८)
निवेदक तर्फबाट : विद्वान वरिष्ठ अधिवक्ता श्री कृष्णप्रसाद भण्डारी
विपक्षीतर्फबाट : विद्वान मुख्य न्यायाधिवक्ता श्री केदारप्रसाद शर्मा
आदेश
न्या.पृथ्वीबहादुर सिंह
१. नेपालको संविधानको धारा १६।७१ अन्तर्गत पर्न आएको प्रस्तुत रिटनिवेदनको संक्षिप्त व्यहोरा तथा निवेदन जिकिर यस प्रकार रहेछ ।
२. श्री जनकल्याण मा.वि. गौरीपुर सिराहाको ०४२।११।२१ को अवकाश सम्बन्धको का.मु.प्र.अ. विश्वनाथ चौधरीले हस्ताक्षर गरेको पत्र म पुनरावेदकलाई मिति २०४२।११।२७ मा बुझाइयो । उक्त पत्रमा जि.का.शिक्षा शाखाको मिति २०४२।४।२२ को पत्रानुसार म निवेदकले पञ्चायती व्यवस्था विरोधी क्रियाकलापमा निकै सक्रियताका साथ भाग लिई राखेको र सो क्रियाकलापले गर्दा हाल थुनामा समेत रहेकोमा निजलाई शिक्षक पदबाट अवकाश दिने भन्ने उल्लेख भएको र विद्यालय सञ्चालक समितिले सो पत्रको समर्थन गरेको हुँदा सञ्चालक समितिको निर्णय भएको मिति २०४२।७।२३ गते देखि नै म निवेदकलाई अवकाश दिइएको कुरा उल्लेख गरेको छ । सो उपर जिल्ला शिक्षा समिति सिराहामा पुनरावेदन गरेकोमा उक्त सञ्चालक समितिकै निर्णयलाई समर्थन गरेको पत्र मिति २०४३।४।२७ मा मलाई बुझाइयो । यसरी शिक्षा नियमावलीको नियम ४७(ख)(१) बमोजिम सफाईको मौका नै नदिई ऐ.को नियम ४७(ग) बमोजिम श्री ५ को सरकारको निर्देशन बिना गैरकानुनी ढंगबाट मलाई अवकाश दिइएको छ । साथै कुन कानुन अन्तर्गत के कसूर गरेको कुनै उल्लेख नै छैन । मिति २०४२।११।२१ को अवकाशको पत्र मिति ०४२।११।२७ मा बुझाई ०४२।७।२३ देखि नै लागू हुने गरी भुतलक्षी प्रमाण हुने गरी हटाइएको छ । पञ्चायती व्यवस्था विरोधी क्रियाकलापमा कहिल्यै नलागेको व्यक्तिलाई हुलमूलमा शा.सु. ऐन अन्तर्गत थुनामा राखिए पनि मुक्त भई अध्ययन गरिरहेको अवस्थामा यसरी अनधिकृत निकायको पत्रबाट गैरकानुनी तवरले हटाइएको हुँदा उक्त अवकाश दिने निर्णय उत्प्रेषणको आदेशद्वारा बदर गरी सो निर्णय कार्यान्वयन नगर्नु नगराउनु भन्ने परमादेश समेत जारी गरिपाउँ भन्ने समेतको रिटनिवेदन जिकिर ।
३. विपक्षीहरूबाट लिखितजवाफ मगाउनु भन्ने समेत यस अदालत एक न्यायाधीशको इजलासको आदेश ।
४. विपक्षी यस स्कूलमा आएपछि अध्ययन कार्यमा लापरवाही गरी उल्टो राजनीति गरी हिड्नु भएको छ । जुन कुरा निजको बिगत २ वर्षको रेकर्ड हेर्दा थाहा हुन्छ । ०४१ साल भाद्र १५ गतेदेखि बिना सूचना स्कूलमा अनुपस्थित रही ८ महीना पछि ०४१।१२।१४ मा उपस्थित हुनु भयो । यस अवधिमा रुस जानु भएको रहेछ पुनः ०४२।२।१३ देखि अनुपस्थित भई ०४२।२।१५ देखि पञ्चायती व्यवस्था प्रतिकूल काम कारवाहीमा संलग्न रहेबाट शा.सु. अन्तर्गत निजलाई थुनामा राखिएको र ०४२।२।२७ मा छाडेको देखिन्छ । थुनामै रहेको अवस्थामा जि.शि. समितिकै बैठकले अवकाश दिन यस स्कूल सञ्चालक समितिलाई निर्देशन दिने निर्णय गरी पठाएको अनुरुप सं.स.को मिति २०४२।७।२३ गतेको निर्णयले अवकाश दिएको हो र सो पत्र निज जेलमा भएबाट बाहिर आएपछि बुझाउँदा नलिएकोले बुझाउँन ढिला भएको हो । निज अनुपस्थित मितिमा प्र.अ. नभएको अवस्था पारी हाजिरी गर्नु भएको थियो । सो काटी दिइएको छ अतः यस्ता लापरवाही कार्य पनि निजबाट भएको छ । शिक्षा नियमावली, ०२८ ले जिल्ला शिक्षा समितिलाई विद्यालय सं.स.लाई निर्देशन दिने अधिकार र विद्यालय सञ्चालक समितिले त्यस्को निर्देशन अनिवार्य रुपले पालना गर्नुपर्ने हुन्छ । ऐन नियम तथा निर्देशनको अधिनमा रही भएको उक्त निर्णय त्रुटियुक्त छैन । विपक्षीले पुनरावेदन तहको निर्णयलाई बदर गराई पाउन दावी पनि लिनु नभएको हुँदा उक्त निर्णय कायम हुने नै हुन्छ । अतः रिटनिवेदन खारेज गरिपाउँ भन्ने समेत जि. सिराहा स्थित जनकल्याण मा.वि.गौरीपुर १ ऐ. स्कूलका का.मु. प्रधानाध्यापक विश्वनाथ चौधरी (जयसवाल) १, ऐ.स्कूल सञ्चालक समितिको अध्यक्ष भक्तिलाल सिंह १ को संयुक्त लिखितजवाफ ।
५. जिल्ला शिक्षा समितिलाई शिक्षा नियमावली, २०२८ को परिच्छेद ३ नियम १३(२) बमोजिम सञ्चालक समितिलाई निर्देशन दिन सक्ने अधिकार रहेकोले पञ्चायती व्यवस्था विरोधी कृयाकलापमा संलग्न भई थुनामा रहेका विपक्षलाई अवकाश दिनेतर्फ कानुन बमोजिम कारवाही गर्न निर्देशन दिइएको र सो बमोजिम सञ्चालक समितिबाट अवकाश दिने निर्णय भई पुनरावेदन तहमा समेत सदर भएको कानुन बमोजिम नै भएको हुँदा रिटनिवेदन खारेज गरिपाउँ भन्नेसमेत जि.पं. सचिवालय, शिक्षा शाखा सिराहाको लिखितजवाफ ।
६. नियमबमोजिम दैनिक पेशी सूचीमा चढी पेश हुन आएको प्रस्तुत रिटनिवेदनमा निवेदकका तर्फबाट रहनु भएका वि.व.अ.श्री कृष्णप्रसाद भण्डारी तथा विपक्षी जि.पं.स. शिक्षाशाखा समेतको तर्फबाट खटिई उपस्थित हुनुभएका विद्वान मुख्य न्यायाधिवक्ता श्री केदारप्रसाद शर्माले प्रस्तुत गर्नु भएको बहस जिकिर समेत सुनियो ।
७. अब प्रस्तुत रिटनिवेदनमा रिटनिवेदकको माग बमोजिमको आदेश जारी गर्न मिल्ने नमिल्ने के रहेछ सो को निर्णय दिनु परेको छ ।
८. निर्णयतर्फ विचार गर्दा निवेदक श्री शिवदयाल कारकले पञ्चायती व्यवस्था विरोधी क्रियाकलापमा निकै सक्रियताका साथ भाग लिएको र हाल थुनामा रहेको हुँदा निजलाई अविलम्ब शिक्षक पदबाट अवकाश दिनु भन्ने शिक्षा शाखा सिराहाको पत्रानुसार जनकल्याण मा.वि. गौरीपुर सिराहाको सञ्चालक समितिको निर्णय अनुसार निवेदकलाई अवकाश दिएको कुरामा विवाद देखिएन । शिक्षा नियमावली, २०२८ (शिक्षा सातौ संशोधन) नियमावली, ०३७ को नियम ४७ख. मा सजायँ सम्बन्धी कार्यविधि रहेको र ऐ. नियम ४७ख.(१) मा सजायँ दिन पाउने अधिकारीले कुनै शिक्षक वा कर्मचारीलाई सजायँ गर्न आदेश दिनु भन्दा अघि निजलाई आफ्नो सफाईको मौका दिनुपर्छ । यसरी सफाईको मौका दिँदा निज माथि लगाइएको आरोप र सजायँ स्पष्ट रुपले किटिएको हुनुपर्छ । तर विभागीय सजायँ दिन पाउने अधिकारीको चित्तमा सफाईको मौका दिँदा अव्यवहारिक हुन्छ भन्ने लागेमा निजले त्यसको कारण खुलाई पर्चा खडा गरी विभागीय सजायँ दिन सक्ने छ भन्ने व्यवस्था रहेको पाइन्छ । तर सो बमोजिम निवेदकलाई अवकाश दिनु अघि कुनै सफाईको मौका दिएको तथा सफाईको मौका दिन अव्यवहारिक हुने पर्चा समेत खडा गरिएको मिसिल प्रमाणबाट देखिन आएन । अतः यसरी कुनै सफाईको मौका नै नदिई तथा पर्चा समेत खडा नगरी निवेदकलाई शिक्षक पदबाट २०४२।७।२३ देखि नै अवकाश दिने गरी गरेको जनकल्याण मा.वि. गौरीपुर सिराहाको सञ्चालक समितिको निर्णय र सो अवकाश सम्बन्धी मिति २०४२।११।२१ को पत्र तथा सो निर्णयलाई समर्थन गर्ने गरी शिक्षा शाखा, सिराहाबाट भएको मिति ०४३।३।६ को पुनरावेदन निर्णय समेत कानुन प्रतिकूल देखिँदा उत्प्रेषणको आदेशद्वारा बदर हुने ठहर्छ । अब कानुन बमोजिम गर्नु भनी विपक्षी जनकल्याण मा.वि. गौरीपुरको सञ्चालक समितिका नाममा परमादेश समेत जारी हुने ठहर्छ । विपक्षीहरूको जानकारीको लागि आदेशको प्रतिलिपि म.न्या.का. मार्फत पठाई मिसिल नियमानुसार गरी बुझाई दिनु ।
उक्त रायमा म सहमत छु ।
न्या.रुद्रबहादुर सिंह
इति सम्वत् २०४५ साल फाल्गुण ८ गते रोज १ शुभम् ।