निर्णय नं. ३७०९ - उत्प्रेषण

निर्णय नं. ३७०९ ने.का.प. २०४६ अङ्क १
संयुक्त इजलास
माननीय न्यायाधीश श्री गजेन्द्रकेशरी बास्तोला
माननीय न्यायाधीश श्री प्रचण्डराज अनिल
सम्वत् २०४३ सालको रिट नि.नं. १०।१६९३
आदेश भएको मिति : २०४५।१२।३०।४ मा
निवेदक : जि.महोत्तरी ईटहरी गा.पं.वा.नं.२ बस्ने लक्ष्मीनारायण सिंह
विरुद्ध
विपक्षी : श्री प्रधानपञ्च, गा.पं. कार्यालय, समसी प्रवाह, महोत्तरीसमेत
विषय : उत्प्रेषण
(१) श्री ५ को सरकारबाट सञ्चालन हुने हेल्थपोष्टका लागि प्रचलित कानुन बमोजिम श्री ५ को सरकारले जग्गा प्राप्त गर्ने हुँदा हेल्थपोष्टका लागि गाउँ पञ्चायतले जग्गा प्राप्त गरिदिने होइन
(प्रकरण नं. ८)
(२) गाउँ पञ्चायतले गाउँ पञ्चायत ऐन, २०१८ को दफा ३० (क) अनुसार जग्गा प्राप्त गरी आफूले सो जग्गा विकास र निर्माण कार्यमा उपभोग नगरी श्री ५ को सरकारद्वारा सञ्चालन हुने हेल्थपोष्टका नाममा दानपत्रको रजिष्ट्रेशन पास गरिदिएको विकास र निर्माण सम्बन्धी कामको लागि जग्गा प्राप्त गरेको हो भनी मान्न नमिल्ने ।
(प्रकरण नं. ८)
निवेदक तर्फबाट : विद्वान वरिष्ठ अधिवक्ता श्री कुन्जविहारीप्रसाद सिंह
विपक्षीतर्फबाट : विद्वान का.मु. अतिरिक्त न्यायाधिवक्ता श्री प्रेमबहादुर विष्ट र विद्वान वरिष्ठ अधिवक्ता श्री कृष्णप्रसाद पन्त
आदेश
न्या.गजेन्द्रकेशरी बास्तोला
१. नेपालको संविधानको धारा १६।७१ अन्तर्गत पर्न आएको प्रस्तुत रिटनिवेदनको संक्षिप्त विवरण र निर्णय यस प्रकार छ ।
२. जि. महोत्तरी गा.पं. समसी वडा नं. ३ कि.नं. १५० को २–०–७ १/२ जग्गा मेरो पैतृक सम्पत्ति भई जग्गाधनी प्रमाण पुर्जा पाई तिरो समेत तिरी भोग गर्दै आएकोमा सो जग्गा मध्ये पश्चिम उत्तरतर्फबाट अं. ०–१०–० जग्गा हेल्थपोष्ट भवन निर्माण गर्नको लागि भनी गा.पं. को ०४०।८।१८ को निर्णय अनुसार गा.पं. ऐन, ०१९ को दफा ३० (क)(१)(२) अनुसार अधिग्रहण गरिएकोले मालपोत कार्यालयका नाममा सिफारिश पाउँ भनी जिल्ला पञ्चायत सचिवालय महोत्तरीमा लेखी जिल्ला पञ्चायत सचिवालयबाट दा.खा. गरिदिन अनुरोध छ भनी मालपोत कार्यालयमा पठाइयो र मालपोत कार्यालयबाट पनि सो २–०–७ १/२ जग्गा मध्येबाट ०–१०–० जग्गा गा.पं. कार्यालयका नाममा दा.खा. गरिदिने भनी ०४१।२।१९ मा निर्णय गरेपछि गा.पं. कार्यालय समसीका प्रधानपञ्चले सो जग्गा जिल्ला कार्यालय जनस्वास्थ्य उपशाखा कार्यालय समसी हेल्थपोष्टका नाममा ०४१।२।२४।४ मा रु. ३,०००।– मोल देखाई एकलौटी हकभोग भएको देखाई दानपत्रको रजिष्ट्रेशन पास गरिदिनु भएको कुरा मालपोत बुझाउन जाँदा र मालपोत बुझाई रसिद पाउँदा मेरो जग्गाको कि.नं. १५० उल्लेख नभएकोले सोध्दा मालपोत अधिकृतबाट सम्पूर्ण कुरा छर्लङ्ग भयो । गा.पं. कार्यालयमा गई गा.पं. को निर्णय सहितको अधिग्रहणका सम्पूर्ण कागजातहरूको नक्कल माग गर्दा समेत नपाएकोले म जग्गाधनीलाई थाहा जानकारी केही नदिई गरिएको अधिग्रहण सम्बन्धी काम कारवाही बेरीतको हुँदा बदरभागी छ । गाउँ पञ्चायतले आफ्नो क्षेत्रमा विकास तथा निर्माण सम्बन्धी कामको लागि जग्गाको आवश्यकता परेमा तोकिए बमोजिमको रीत पुर्याई जग्गा प्राप्त गर्न सक्ने र सो को मुआब्जा गाउँ सभाले तोके अनुसार दिनु पर्ने व्यवस्था गा.पं. ऐनको दफा ३०(क)(१)(२) मा गरेको छ म जग्गाधनीलाई थाहा जानकारी नदिई मेरो वार्डमा सूचना प्रकाशित नगरी बदनियत चिताई प्राकृतिक न्याय सिद्धान्तको विपरीत मेरो जग्गा प्राप्त गर्नुबाट मलाई संविधान तथा कानुनद्वारा प्रदत्त हकमा हनन् हुन गएबाट मेरो हकको जग्गालाई गा.पं. ले प्राप्त गरी हेल्थपोष्टका नाममा दानपत्र गरिदिएको दुवै काम कारवाहीहरू उत्प्रेषणको आदेशद्वारा बदर गरिपाउँ भन्ने समेत व्यवहोराको निवेदनपत्र ।
३. यस्मा के कसो भएको हो निवेदकको माग बमोजिमको आदेश किन जारी हुनु नपर्ने हो यो आदेश प्राप्त भएका मितिले बाटाका म्याद बाहेक १५ दिनभित्र लिखितजवाफ पठाउनु भनी रिटनिवेदकको १ प्रति नक्कल साथै राखी सूचना पठाई लिखितजवाफ आएपछि वा अवधि नाघेपछि नियमबमोजिम पेशगर्नु भन्नेसमेत व्यहोराको यसअदालत सिंगलबेञ्चको मिति ०४३।५।३०।२ को आदेश ।
४. निवेदकले दावी गर्नु भएको जग्गा गा.पं. कार्यालय समसीले अधिग्रहण गरी समसी हेल्थपोष्टका नाममा दा.खा. गरिदिनु भनी जिल्ला पञ्चायत सचिवालयले मिति ०४१।२।१८ को पत्रबाट अनुरोध गरी पठाएको अनुसार निवेदकको जग्गा मध्येबाट ०–१०–० जग्गा समसी हेल्थपोष्टका नाममा दा.खा. भई गएको देखिन आएको हुनाले भएको व्यहोरा उल्लेख गरी निवेदकको रिटनिवेदन खारेज गरी पाउन सम्मानित अदालत समक्ष सादर अनुरोध छ भन्ने समेत व्यहोराको मालपोत कार्यालय महोत्तरीको लिखितजवाफ ।
५. गा.पं.ले आफ्नो क्षेत्रभित्र विकास र निर्माणको कामको लागि गा.पं. ऐनअनुसार जग्गा अधिग्रहण गर्नसक्ने व्यवस्था गरेको छ । गा.पं. ऐन, ०१८ को दफा ३०(क) तथा गा.पं.(कार्य व्यवस्था) नियमावली, २०२० को नियम ५९ अनुसार जग्गा प्राप्त गर्ने सूचना टाँस गरी सो जग्गाको मुआब्जा समेत निर्धारण गरी गा. पं.ले अधिग्रहण गरेको कानुन अनुरुप हुँदा निवेदकले विलम्ब गरी समसी गाउँ पञ्चायत र समसी गाउँ सभालाईसमेत विपक्षी नबनाई दिनु भएको रिटनिवेदन अनुचित विलम्ब समेतको आधारमा खारेज गरिपाउँ भन्ने समेत व्यहोराको समसी गा.पं. कार्यालयका प्रधानपञ्च दीपनारायण शाहको लिखितजवाफ ।
६. गा.पं. ऐन, २०१८ को दफा ३०(१)(२) को प्रकृया अपनाई विकास र निर्माणको लागि जग्गा अधिग्रहण गर्न गा.पं. लाई कानुनी अधिकार भएको र गा.पं. समसीको मिति ०४०।८।१८ को बैठकबाट निवेदकको कि.नं. १५० को जग्गा मध्ये ०–१०–० जग्गा हेल्थपोष्ट भवन निर्माण गर्नको लागि अधिग्रहन गरी सो जग्गा हेल्थपोष्ट कार्यालय समसीको नाउँमा दाखिल खारेज गर्न सिफारिश गरिपाउँ भनी गा.पं. कार्यालय समसीबाट यस सचिवालयमा पत्र प्राप्त हुन आएकोले सो अनुसार हेल्थपोष्ट कार्यालय समसीका नाममा दाखिल खारेज हुन यस सचिवालयबाट सिफारिश गरिएकोबाट विपक्षीको हक अधिकारमा आघात पुगेको नदेखिँदा उत्प्रेषणको आदेश जारी हुनुपर्ने होइन भन्ने समेत व्यहोराको जिल्ला पञ्चायतका सभापति रामछविलाल रायको लिखितजवाफ ।
७. जिल्ला कार्यालय जनस्वास्थ्य उपशाखा समसी महोत्तरीले यस अदालतबाट जारी भएको सूचना मिति ०४३।८।२७ मा बुझी लिई लिखितजवाफ पेश नगरी म्याद गुजरी बसेको ।
८. नियम बमोजिम दैनिक पेशी सूचीमा चढी निर्णयार्थ इजलास समक्ष पेश हुन आएको प्रस्तुत रिटनिवेदनमा निवेदकका तर्फबाट उपस्थित हुनुभएका विद्वान वरिष्ठ अधिवक्ता श्री कुन्जविहारीप्रसाद सिंह तथा विपक्षीतर्फबाट उपस्थित हुनुभएका विद्वान का.मु अतिरिक्त न्यायाधिवक्ता श्री प्रेमबहादुर विष्ट र विद्वान वरिष्ठ अधिवक्ता श्री कृष्णप्रसाद पन्तले गर्नु भएको बहस समेत सुनियो । यसमा मेरो हकभोगको कि.नं. १५० को जग्गा मध्येबाट ०–१०–० जग्गा गाउँ पञ्चायतले मलाई थाहा जानकारी समेत केही पनि नदिई मेरो पञ्चायत समेतमा सूचना समेत प्रकाशित नगरी गैरकानुनी रुपबाट अधिग्रहन गरी हेल्थपोष्ट कार्यालय समसीका नाममा दानपत्रको रजिष्ट्रेशन पास गरिदिनु भएको काम कारवाहीबाट मेरो संविधान तथा कानुनद्वारा प्रदत्त हकमा आघात पर्न गएबाट सो काम कारवाही उत्प्रेषणको आदेशद्वारा बदर गरिपाउँ भन्ने समेत व्यहोराको निवेदकको निवेदन जिकिर भएकोमा गा.पं. ऐन, २०१८ को दफा ३०(क)(१)(२) बमोजिम कानुनी प्रकृया पूरा गरी गाउँ पञ्चायतले गरेको अधिग्रहणबाट निवेदकको संविधान तथा कानुनद्वारा प्रदत्त हकमा आघात पर्न गएको नहुँदा र निवेदकको विलम्ब गरी दर्ता गरेको प्रस्तुत रिटनिवेदन खारेज गरिपाउँ भन्ने समेत व्यहोराको लिखितजवाफमा जिकिर लिएको देखिन्छ । गाउँ पञ्चायत ऐन, २०१८ को दफा ३०(क)(१) मा गाउँ पञ्चायतले आफ्नो क्षेत्रभित्र सञ्चालन गर्ने कुनै विकास तथा निर्माण सम्बन्धी कामको लागि जग्गा प्राप्त गर्न आवश्यक भएमा तोकिए बमोजिमको रीत पुर्यार्ई सूचना जारी गरी जग्गा प्राप्त गर्न सक्नेछ भनी लेखिएको छ । यसबाट गाउँ पञ्चायतले आफ्नो क्षेत्रभित्र सञ्चालन गर्ने विकास र निर्माणको कार्यको लागि जग्गा प्राप्त गर्न सकिने देखिन्छ । श्री ५ को सरकारबाट सञ्चालन हुने हेल्थपोष्टका लागि प्रचलित कानुन बमोजिम श्री ५ को सरकारले जग्गा प्राप्त गर्ने हुँदा हेल्थपोष्टका लागि गाउँ पञ्चायतले जग्गा प्राप्त गरी दिने होइन । समसी गाउँ पञ्चायतले निवेदकको जग्गा प्राप्त गरी हेल्थपोेष्टका नाममा दानपत्र गरिदिएको देखिन्छ । गाउँ पञ्चायतले गाउँ पञ्चायत ऐन, २०१८ को दफा ३०(क) अनुसार जग्गा प्राप्त गरी आफूले सो जग्गा विकास र निर्माण कार्यमा उपभोग नगरी श्री ५ को सरकारद्वारा सञ्चालन हुने समसी हेल्थपोष्टका नाममा दानपत्रको रजिष्ट्रेशन पास गरिदिएको विकास र निर्माण सम्बन्धी कामको लागि जग्गा प्राप्त गरेको हो भनी मान्न नमिल्ने हुनाले गाउँ पञ्चायतले निवेदकको हकभोगको कि.नं. १५० को जग्गा मध्येबाट ०–१०–० जग्गा आफूले प्राप्त गरेको र हेल्थपोष्टका नाममा दानपत्र गरिदिएको दुबै काम कारवाहीहरू उत्प्रेषणको आदेशद्वारा बदर हुने ठहर्छ । जानकारीका लागि यो निर्णयको १ प्रति प्रतिलिपि महान्यायाधिवक्ताको कार्यालय मार्फत मालपोत कार्यालय महोत्तरी र समसी गा.पं. कार्यालयमा पठाई नियमानुसार गरी फायल बुझाई दिनु ।
उक्त रायमा म सहमत छु ।
न्या.प्रचण्डराज अनिल
इति सम्वत् २०४५ साल चैत्र ३० गते रोज ४ शुभम् ।