शब्दबाट फैसला खोज्‍नुहोस्

निर्णय नं. ३७१३ - लेनदेन

भाग: ३१ साल: २०४६ महिना: बैशाख अंक:

निर्णय नं. ३७१३     ने.का.प. २०४६      अङ्क १

 

संयुक्त इजलास

माननीय न्यायाधीश श्री हरगोविन्द सिंह प्रधान

माननीय न्यायाधीश श्री रुद्रबहादुर सिंह

सम्वत् २०४४ सालको दे.पु.नं. ७९५

फैसला भएको मिति : २०४५।१२।६।१ मा

पुनरावेदक/वादी : जि.कपिलवस्तु, धर्मपनिया गा.पं. वार्ड नं. ८ बस्ने बाबुराम कुर्मी

विरुद्ध

विपक्षी/प्रतिवादी : जि.कपिलवस्तु बलरामवापुर गा.पं. वार्ड नं. ७ बस्ने कल्लु कुर्मी

मुद्दा : लेनदेन

(१)    जग्गा लेनदेनको प्रयोजनको लागि वादीले प्रतिवादीलाई रु. ६५,०००।अग्रिम बैना दिएको र यदि ६ महिनाभित्र पास नभएमा वादीले आफ्नो रकमको साँवा ब्याज कपाली सरह असूल गर्नु भने तापनि उक्त लिखतको अन्तमा पुनः यो बैना कागज गरिदिएँभनी उल्लेख छ भने अब कपाली सरह भन्ने ठाउँ नरहने ।

(प्रकरण नं. १४)

(२)   स्पष्ट प्रकृतिको बैनापत्रको कागजलाई कपाली तमसुक भनी लेनदेन व्यवहारको २ नं. को हदम्याद १० वर्षभित्र फिराद दायर गर्न पाउने भन्नेसंग सहमत हुन नसक्ने ।

(प्रकरण नं. १४)

(३)   बैनापत्र कागजका लागि लेनदेन व्यवहारको ४० नं. आकृष्ट हुने ।

(प्रकरण नं. १४)

पुनरावेदक/वादी तर्फबाट : विद्वान अधिवक्ता श्री पवनकुमार ओझा

विपक्षी/प्रत्यर्थी तर्फबाट : विद्वान अधिवक्ता श्री कमलनारायण दास, विद्वान अधिवक्ता श्री शिवानन्द      दास सरस

फैसला

न्या.हरगोविन्द सिंह प्रधान

१.     पश्चिमाञ्चल क्षेत्रीय अदालतको फैसला उपर पुनरावेदनको अनुमति प्रदान भई दायर हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त विवरण यस प्रकार रहेछ ।

२.    विपक्षीले आफ्ना हकभोगको जि.कपिलवस्तु गरमदवा गा.पं. वडा नं. ६क, , , र घ समेतको ज.वि. १४१४ जग्गा रु. ९५,०००।मा मलाई राजीनामा गरिदिने बोलकबोल गरी घर खर्च गर्न भनी बैना बापत रु. ६५,०००।घरसारमा बुझी अरु बाँकी रु. ३०,०००।६ महीनाभित्र बुझी राजीनामा पास गरिदिनेछु, नगरे उक्त रुपैयाँको सालसालको सयकडा १० का दरले कपाली सरह असूल उपर गरी लिनु भन्ने बोली पारी २०३५।१।३ गते बैनापत्रको कागज गरी मलाई दिएको, उक्त बमोजिम ६ महीनाभित्र रु. ३०,०००।नबुझी जग्गा रजिष्ट्रेशन पास गरी नदिनु भएकोले तमसुक बमोजिमको साँवा रु. ६५,०००।र त्यसको कानुन बमोजिम हुन आउने ब्याज समेत लेनदेन व्यवहारको ४, ७ नं. अनुसार विपक्षबाट दिलाई भराई पाउँ भन्ने समेत व्यहोराको फिरादपदत्र ।

३.    यसमा विपक्षी वादीका दावी बमोजिम मैले वादीसँग कुनै रुपैयाँ लिएको र बैनापत्रको कागज गरिदिएको समेत होइन । वादीको दावी झूठ्ठा हो विपक्ष वादीले झूठ्ठा जाल प्रपञ्चयुक्त व्यहोरा लेखी वास्तविक तथ्य व्यहोरालाई ढाँटी छुट्याई झूठ्ठा एवं गैरकानुनी नालेस दिएका हुन् भन्ने समेत व्यहोराको प्रतिउत्तर जिकिर ।

४.    वादीबाट पेश भएको बैनापत्रको कागज कीर्ते जालसाजी हो भन्ने समेत प्रतिवादीको बयान ।

५.    पेश भएको बैनापत्र लिखत सद्दे साँचो हो भन्ने समेत व्यहोराको वादीको बयान ।

६.    वादी प्रतिवादीका साक्षीहरूको बकपत्र भई मिसिल सामेल रहेको ।

७.    वादीले बैनापत्रको लिखतका आधारमा लेनदेन व्यवहारका २ नं. का म्यादभित्र नालेस दायर गरेको देखिएको सम्मानीत सर्वोच्च अदालतबाट प्रतिपादित नजीरको आधारमा वादीको प्रस्तुत फिराद खारेज हुने ठहर्छ भन्ने समेत शुरु कपिलवस्तु जिल्ला अदालतको फैसला ।

८.    अ.बं. ३९ नं. को त्रुटिपूर्ण शुरु जिल्ला अदालतको खारेजी फैसला बदर गरी फिराद दावी बमोजिम इन्साफ पाउँ भन्ने समेत व्यहोराको वादी बाबुराम कुर्मीको प.क्षे.अ. मा परेको पुनरावेदनमा अ.बं. २०२ नं. तथा क्षेत्रीय अदालत नियमावली बमोजिम विपक्षीलाई झिकाई नियम बमोजिम पेश गर्नु भन्ने प.क्षे.अ. संयुक्त इजलासको ०४३।५।१५ को आदेश ।

९.    वादी दावीको मिति २०३५।१।३ को लिखतमा वादीले रु. ९५,०००।मा जग्गा किन्न मन्जूर गरी प्रतिवादीलाई रु. ६५,०००।दिएको र प्रतिवादीले सो जग्गा ६ महीनाभित्र रजिष्ट्रेशन पास गरी दिने नगरेमा सो को सयकडा १० प्रतिशतले ब्याज समेत कपाली सरह असूल गरी लिन पाउने शर्त मन्जूर गरेको देखिँदा लिखतको प्रकृतिबाटै बैनापत्र भएको देखिँदा सो बैनाको लिखतलाई कपाली तमसुक भनी लेनदेन व्यवहारको २ नं. को हदम्याद लागू हुने भन्न सकिएन । वादी दावी खारेज गरेको शुरुको इन्साफ मनासिब ठहर्छ भन्ने समेत व्यहोराको पश्चिमाञ्चल क्षेत्रीय अदालतको फैसला ।

१०.    मेरो दावाको लिखतमा धनी ऋणी भनी बापतमा घर खर्च र सयकडा १० प्रतिशतले ब्याज समेत कपाली सरह असूल गरिदिनु भनी रीतपूर्वक सहीछाप गरी फटके साक्षी समेत बसेको लिखतको प्रकृतिबाटै कपाली तमसुक हो भनी असामीले नै लिखत स्वीकार गरेकोमा सुन्य बैनाको कागज भन्ने संज्ञा दिई फिराद खारेज गरेको फैसलामा लेनदेन व्यवहारको २ नं. को प्रत्यक्ष गम्भिर त्रुटि भएको छ । जानीजानी लिखतको गलत ब्याख्या गरी हदम्याद भित्रको फिरादलाई हदम्याद नाघेको भनी खारेजी फैसला सदर गरेको हुँदा न्या.प्र.सु. ऐन, २०३१ को दफा १३(५) को खण्ड (ख)(ग) को अवस्था विद्यमान हुँदा सो फैसला उपर पुनरावेदनको अनुमति पाउँ भन्ने समेत व्यहोराको यस अदालतमा परेको निवेदन ।

११.    यसमा विवादित लिखतको प्रतिलिपिबाट कपाली सरह भराई दिने भन्ने शर्त रहेको देखिँदा प.क्षे.अ. बाट वादी दावी खारेज गर्ने गरेको शुरु इन्साफ मनासिब ठहराएको फैसलामा लेनदेन व्यवहारको २ नं. को कानुनी व्यवस्थाको ब्याख्यात्मक त्रुटि भएको देखिँदा न्या.प्र.सु.ऐन, २०३१ को दफा १३(५)(ख) को अवस्था विद्यमान भएकोले पुनरावेदनको अनुमति प्रदान गरिएको छ भन्ने समेत यस अदालत संयुक्त इजलासको आदेश ।

१२.   नियम बमोजिम दैनिक पेशी सूचीमा चढी पेश हुन आएको प्रस्तुत मुद्दामा पुनरावेदक वादी तर्फबाट उपस्थित हुनुभएका विद्वान अधिवक्ता श्री पवनकुमार ओझाले दावीको लिखतमा कपाली सरह उठाउनु भन्ने भएको हुँदा र उक्त लिखत प्रतिवादीले आफ्नो राजीखुसीबाट गरिदिएको समेत हुँदा त्यस्तो राजीखुसीबाट गरिएको कागजलाई पूर्णतया मान्यता दिइनु पर्दछ । बैनापत्रको कागज पनि अरु राजीनामा, शर्तनामा, छोडपत्र, बैनापत्र सरहको कागज हुन् र यी सबै कागज लिखत तमसुक हुन । यस्तो लिखत कागजलाई लेनदेन व्यवहारको २ नं. आकृष्ट हुने भई १० वर्षको हदम्याद पाउनु पर्छ । अतः मेरो पक्षले दावी बमोजिम साँवा ब्याज भरी भराई पाउने ठहरिनु पर्छ भनी गर्नु भएको बहस र विपक्षी प्रत्यर्थी प्रतिवादी तर्फबाट उपस्थित हुनुभएका विद्वान अधिवक्ता श्री कमलनारायण दासले दावीको लिखतमा बैनापत्रको कागजभनेर लिखत भन्ने शब्द छ । लेनदेन व्यवहारको २ नं. को भाखा हेर्दा तमसुकभन्ने उल्लेख भएको हुँदा र लिखतमा नै स्पष्ट बैनावट्टाभन्ने शब्द उल्लेख भएको हुँदा उक्त २ नं. का परिभाषा भित्र पर्दैन अतः हदम्याद नाघेको कागजबाट इन्साफ गर्न मिल्ने होइन भनी र विपक्षीतर्फका अर्का विद्वान अधिवक्ता श्री शिवानन्द दास सरसले फिरादपत्रको प्रकरण नं. १ मा बैना बापतरुपैयाँ लिएको भन्ने शब्द भएबाट दावीको लिखतलाई कपाली तमसुक भन्न मिल्दैन अतः फिराद दावी खारेज गरेको शुरु सदर गरेको प.क्षे.अ. को इन्साफ मनासिब हुँदा सोही इन्साफ सदर होस भनी गर्नु भएको बहस समेत सुनियो ।

१३.   यसमा वादी दावी हदम्यादको आधारमा खारेज गर्ने गरेको शुरु जि.अ. को इन्साफ मनासिब ठहराएको प.क्षे. अदालतको इन्साफ मिले नमिलेतर्फ निर्णय दिनु पर्ने देखिन आयो ।

१४.   निर्णयतर्फ विचार गर्दा, प्रतिवादीले आफ्नो हकभोगको बिगाहा १४१४ जग्गा रु. ९५,०००।मा मलाई राजीनामा गर्ने बोलकबोल गरी घर खर्च गर्नलाई बैना बापत रु. ६५,०००।घरसारमा बुझी लिई अरु बाँकी रु. ३०,०००।आजका मितिले ६ महीनाभित्र बुझी राजीनामा रजिष्ट्रेशन गर्नेछु, नगरेमा सो रुपैयाँ र त्यसको हुने ब्याज समेत कपाली सरह असूल गरी लिनु भन्ने समेत व्यहोराको बैनापत्र कागज लेखी दिएकोमा सो बमोजिम जग्गा राजीनामा रजिष्ट्रेशन पास नगरी दिएको र जग्गा मैले भोग गर्न नपाएको हुँदा बैनापत्रको कागज कपाली सरह भएको साँवा ब्याज माग गर्दा पनि दिन इन्कार गरेको हुँदा थैली साँवा र ब्याज समेत लेनदेन व्यवहारको ४, ७ नं. बमोजिम दिलाई भराई पाउँ भन्ने समेत फिराद दावी रहेकोमा वादी दावीको कथित बैनापत्र लिखतले १० वर्षको हदम्याद नपाउने भई लेनदेन व्यवहारको ४० नं. को २ वर्षको हदम्याद पाउने हुँदा हदम्याद नाघी परेको फिराद खारेज हुनुपर्छ । निज वादीसँग मैले कुनै रुपैयाँ लिएको र बैनापत्रको कागज गरिदिएको समेत छैन वादीले झूठ्ठा एवं गैरकानुनी नालेश दिएका हुन् भन्ने समेत प्रतिउत्तर जिकिर रहेको देखिन्छ । उक्त वादी दावीको मिति २०३५।१।३।१ को लिखत हेर्दा सो लिखतमा पनि बैना बापत भनी उल्लेख भई त्यसपछि पास नगरेमा कपाली सरह असूल गरी लिनु भन्ने शर्त रहेको देखिन्छ र त्यसपछि फेरि बैनाको कागज दिएँभन्ने वाक्य उल्लेख छ । कुनै पनि लिखत कागजका पक्षहरूको मनसाय उनीहरू बीच भएको लिखतबाट स्पष्ट हुन्छ भने सो को ब्याख्या गर्न अन्यत्र हेरी रहनु पर्दैन । तर यदि त्यस्ता लिखतको अर्थ नै स्पष्ट छैन भने उक्त लिखतको ब्याख्या गर्दा लिखतको अन्तिम भागमा जुन कुरा लेखिएको हुन्छ, त्यसबाट उक्त लिखतको ब्याख्या गरी लिखतको प्रकृति निश्चय गर्नुपर्छ भन्ने कानुन व्याख्याको सर्वमान्य सिद्धान्त रहेको देखिन्छ । प्रस्तुत मुद्दामा विवादको लिखत जग्गा राजीनामा रजिष्ट्रेशन गरी दिने शर्तमा बैना बापत रु. ९५,०००।मध्ये ६५,०००।बुझी लेनदेन भएको देखिन्छ । उक्त जग्गा लेनदेनको प्रयोजनको लागि वादीले प्रतिवादीलाई रु. ६५,०००।अग्रिम बैना दिएको छ र यदि ६ महीनाभित्र पास नभएमा वादीले आफ्नो रकमको साँवा ब्याज कपाली सरह असूल गर्नु भने तापनि उक्त लिखतको अन्तमा पुनः यो बैना कागज गरिदिएँभनी उल्लेख छ भने अब कपाली सरह भन्ने ठाउँ रहँदैन । यस्तो स्पष्ट प्रकृतिको बैनापत्रको कागजलाई कपाली तमसुक भनी लेनदेन व्यवहारको २ नं. को हदम्याद भित्र १० वर्षभित्र फिराद दायर गर्न पाउने भन्ने पुनरावेदक वादी पक्षका कानुन व्यवसायीको बहससँग इजलास सहमत हुनसकेन । अतः बैनापत्र कागजका लागि लेनदेन व्यवहारको ४० नं. आकृष्ट हुन्छ । यस्तो प्रकृतिको लिखतको हकमा लेनदेन व्यवहारको २ नं. को सान्दर्भिक नहुने हुँदा २ वर्षको हदम्याद नाघी दायर भएबाट वादी दावी खारेज गर्ने गरेको शुरु जि.अ. को फैसला सदर गरेको पश्चिमाञ्चल क्षेत्रीय अदालतको इन्साफ मनासिब ठहर्छ । पुनरावेदकको पुनरावेदन जिकिर पुग्न सक्तैन । कोर्टफी रही पुनरावेदन दायर भएको हुँदा अरु केही गरी रहनु परेन । मिसिल नियमानुसार गरी बुझाई दिनु ।

 

उक्त रायमा म सहमत छु ।

 

न्या.रुद्रबहादुर सिंह

 

इति सम्वत् २०४५ साल चैत्र ६ गते रोज १ शुभम् ।

 

 

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु