शब्दबाट फैसला खोज्‍नुहोस्

निर्णय नं. ३७३२ - कर्तव्य ज्यान

भाग: ३१ साल: २०४६ महिना: जेष्ठ अंक:

निर्णय नं. ३७३२    ने.का.प. २०४६      अङ्क २

 

संयुक्त इजलास

माननीय न्यायाधीश श्री सुरेन्द्रप्रसाद सिंह

माननीय न्यायाधीश श्री रुद्रबहादुर सिंह

सम्वत् २०४५ सालको फौ. पु.नम्बर ४८०

फैसला भएको मिति : २०४५।११।३।३ मा

पुनरावेदक/वादी : चिरञ्जीवी पनेरुको जाहेरीले श्री ५ को सरकार

विरुद्ध

प्रत्यर्थी/प्रतिवादी : नु.जि. विदूर गा.पं. वा.नं. ५ बस्ने रामकृष्ण भट्टसमेत

मुद्दा : कर्तव्य ज्यान

(१)    कर्तव्य ज्यान जस्तो जघन्य संगीन प्रकृतिको अपराधमा दावी प्रमाणित गर्ने प्रमाणको भार वादी पक्षको नै रहन जाने ।

(प्रकरण नं. २१)

पुनरावेदक/वादी तर्फबाट : विद्वान का.मु. अतिरिक्त न्यायाधिवक्ता श्री प्रेमबहादुर विष्ट

फैसला

न्या.सुरेन्द्रप्रसाद सिंह

१.     मध्यमाञ्चल क्षेत्रीय अदालतबाट भएको मिति २०४४।८।२८।२ को फैसलामा चित्त नबुझेकोले उक्त फैसला बदर गरी प्रहरी प्रतिवेदन दावी बमोजिम सजायँ गरिपाउँ भन्ने वादी श्री ५ को सरकारतर्फबाट पर्न आएको पुनरावेदनपत्र सहितको मिसिल यस इजलास समक्ष निर्णयार्थ पेश हुन आएको प्रस्तुत मुद्दाको विवरण संक्षेपमा निम्नानुसार छ ।

२.    मेरो सहोदर दिदी अनन्तकुमारी गजुरेलनीले रामकृष्ण भट्टसंग लिनु पर्ने रु. ४,०००।छ । सुनको ३ टाटे जन्तर लिन जान्छु भनी मिति २०४०।२।१४ गते रामकृष्ण भट्टको घर गएकी थिइन । घर नफर्केको हुँदा रामकृष्ण कहाँ गई दिदीको सोधपुछ गर्दा २०४०।२।१७ गते नै पैसा र गहना दिई पठाएको छु भनेकाले फर्की दिदीको खोजतलाश गर्दै जाँदा मिति २०४०।३।१४ गते त्रिशुली नदीको किनार दर्शनटार भन्ने ठाउँमा निज दिदीको टाउको नभएको लाश फेला परेकोले जाहेर गर्न आएको छु । बुझ्दा दिदी अनन्तकुमारीलाई रामकृष्णले नै पैसा नदिई कर्तव्य गरी मारेको विश्वास लागेकोले निज रामकृष्णलाई पक्राउ गरिपाउँ भन्ने समेत व्यहोराको चिरञ्जीवी पनेरुको जाहेरी दर्खास्त ।

३.    लाशको गर्धन देखि माथिको भाग काटिएको जस्तो भई टाउको नभएको दायाँ हातको औंलाहरु झरिन गएको भन्नेसमेत व्यहोराको मृतक अनन्तकुमारीको २०४०।३।१९ को लाशप्रकृति मुचुल्का ।

४.    अभियुक्त रामकृष्णको घर तलाशी लिंदा हरियो खोल भएको डायरी १, फलामे खूर्पा १, फेला परेको भन्ने समेत व्यहोराको २०४०।३।१५ को बरामदी मुचुल्का ।

५.    २०४० साल ज्येष्ठ १५ गते फुपू अनन्तकुमारी मेरो घरमा आई बुबासंग पैसा मागिन् बुबाले पैसा छैन भने फुपूआमा बसी रहनु भएको थियो । बेलुका ८ बजे फेरि पैसा मागिन् अनि बुबाले तपाइको हकवालाले तादी पुल निर बोलाएको छ उहीँ गई पैसा दिन्छु भनी बुबा चोटामा उक्ली फलामे खुर्पा र बोरा लिई बुबा र फुपूआमा घरबाट नदी पुलतर्फ गए अं. १ घण्टा पछि बुबा खूर्पा मात्र लिई आए, त्यसको १९ गतेको दिनमा गाउँकै भरत, श्रीराम म समेत नदी खोलाको पत्थर नदीको दहमा पौडी खेल्न जाँदा सो दहमा टाउको घुमेको जस्तो लागी नजिकै हेर्दा फूपू आमाको टाउको रहेछ बुबाले खुर्पा लिई गएको हुँदा फुपूआमालाई बुबाले नै काटी मारेको मलाई लाग्छ भन्ने रामचन्द्र भट्टले प्रहरीमा गरेको कागज ।

६.    यदि आषाढ महीनाको ११ गते बेलुका राती अं. १०११ बजेको समयमा रामकृष्णले मलाई ए माइला दाइ भनी बोलाएकोले म उठी किन बोलाएको भनी सोध्दा अनन्तकुमारी हराएकी सम्बन्धमा गाउँका मानिसहरुले मलाई पक्राउ गर्न आएकोले अण्डरपेण्ट र गन्जीको भरमा भागी आएको हुँ भने रातको बीचमा घर घेरी मलाई पक्रन खोज्नेहरुलाई काठमाडौं गई मकुन्दे वकीलसंग राय लिई उजूर गर्छु । अब म गल्लीको बाटो हुँदै काठमाडौं जान्छु भने रातको २ बजेको समय हुँदो हो । निजको श्रीमतीले कमिज सुरुवाल ल्याई दिई निज मसंग विदा भई गए । त्यसपछि असार महीना हो । गते बारको याद भएन खाममा दानबहादुर महर्जन लेखी मेरो नाममा पठाएको चिठ्ठी हुलाकले मलाई बुझाउन ल्याएकोले मैले बुझी लिई गाउँकै मानिसलाई पढ्न लगाउँदा रामकृष्णले पठाएको रहेछ चिठ्ठीको व्यहोरा सुन्दा फुपूसासू अनन्तकुमारीलाई कर्तव्य गरी मरेको देखिन आयो भन्ने अभियुक्त चन्द्रबहादुर कुमालले प्रहरीमा गरेको बयान ।

७.    २०४०।२।१५ गते विहान अन्दाजी ६ बजे पैसा र जन्तर लिन भनी तारुकाबाट मेरी फुपूसासू अन्तरकुमारी मेरो घरमा आइन् । फुपूलाई रु. ३,६९५।र जन्तर समेत दिएं म यस्तैमा ज्येष्ठ २५ गते तिर जाहेरवालाको छोरा रामे भन्ने अनन्तकुमारलाई खोज्न आएँ । फुपूसासू तारुका नभएको थाहा पाए पछि फुपूको खोजतलाश गर्न हिंडे । पत्ता नलागेकोले घरैमा बसी राखेको थिएँ । २०४०।३।११ गते राती अं. १०११ बजे गाउँका केही मानिसहरु मेरो घरमा आई फुपूसासुलाई मैले नै मारेको भन्ने विचारले मलाई पक्रन आएकोले चक्रबहादुर कुमालको घरमा गई राता रात गरी काठमाडौंमा मुकुन्दे वकीलसंग राय लिन गएको हुँ भन्ने अभियुक्त रामकृष्ण भट्टले प्रहरीमा गरेको बयान ।

८.    २०४०।३।१३ गते राती पानी परी बाढी आएकोले घट्टमा पानी नआएको हुँदा के भएछ भनी हेर्न जाँदा कुलामा टाउको नभएको स्त्री जातीको लाश र बोरा समेत फेला परेकोले लाश र बोरालाई काठले उछिनी डिलमा उतारी हेर्दा पटुकामा थैली खोली हेर्दा रु. ६४।रहेछ सो पैसा मैले लिई मासी सकें भन्ने घटवारे माइला भन्नेबहादुर तामाङको प्रहरीमा गरेको कागज ।

९.    २०४०।३।१५ गतेको मृतक अनन्तकुमारीको लाश जाँच पोष्ट मार्टम ।

१०.    प्र.पं. का आदेशानुसार गाउँका केही मानिसहरु रामकृष्ण भट्टलाई लिन जाँदा निज रामकृष्ण भागी हिंडेको कारणबाट अनन्तकुमारीलाई निजै रामकृष्णले कर्तव्य गरी मारेको विश्वास लाग्छ भन्ने तिलप्रसाद न्यौपाने समेतको २०४०।४।२१।७ मा भएको सरजमीन मुचुल्का ।

११.    अभियुक्त रामकृष्ण भट्टले अनन्तकुमारीलाई कर्तव्य गरी मारी मुलुकी ऐन ज्यान सम्बन्धीको महलको १ नं. अनुसार कसूर गरेको हुँदा निज रामकृष्णलाई सोही ऐनको १३(१) बमोजिम सजायँ हुन र ज्यान मारेको कुरा चाल पाई जाहेर नगरेको हुँदा अभियुक्त चक्रबहादुर कुमाललाई सोही ऐनको २५ नं. अनुसार सजायँ हुन प्रतिवेदन प्रस्तुत गरेका छौं भन्ने समेत व्यहोराको प्रहरी प्रतिवेदन ।

१२.   अनन्तकुमारीलाई मैले चिनेको छैन । रामकृष्ण भट्टको सहोदर फुपूसासू हुन पर्ने अनन्तकुमारीसंग रामकृष्ण भट्टले पैसा ल्याएको छ भन्ने सुनेको छु । पैसा मर्ने अनन्तकुमारीलाई बुझाई पठाएको छु भनी रामकृष्ण भट्टले भन्थे मैले देखिन । मेरो फुपूसासू मर्ने अनन्तकुमारीलाई पैसा र सुन बुझाई पठाए भनी २०४०।३।११ गते राती अं. ११ बजेको समयमा मेरो घरमा गएको कारण रामकृष्ण भट्टलाई प्रधानपञ्चले बोलाउन पठाएको र त्यस अवस्थामा भागेर मेरो घरमा गएको रहेछ । सो समयमा रुपैयाँ बुझाएको कुरा गरेका हुन । मैले तिमी किन राती आएको भनी सोध्दा प्रधानपञ्चले मेरो घर घेर्न बसन्त भट्ट, तिलप्रसाद न्यौपाने, सानु कान्छा, गोविन्द न्यौपानेले ३ पटक गरी घर घेरे भनी भने किन घर घेरेको भनी मैले सोध्दा फुपूसासू खोज्दा खोज्दै हमला गरे भने मकवानपुर जान्छु भनी २०४०।३।११ गते कै राती २ बजे मेरो घरबाट हिंडे । २०४०।४।१३ गते दर्शनटिर भन्ने ठाउँमा लाश उœयो भन्ने सुनेको हुँ मैले देखिन । दाखिल भएको चिठ्ठी रामकृष्णले लेखेको विश्वास लाग्छ म निर्दोष छु । जाहेर गर्नु पर्छ भन्ने मलाई थाहा थिएन । मेरो कसूर छैन भन्ने प्रतिवादी चक्रबहादुर कुमालले अदालतमा गरेको बयान ।

१३.   मर्ने अनन्तकुमारी मेरो फुपूसासू हुन । यही २०४० साल ज्येष्ठ १५ गतेका दिन विहान ७ बजे मेरो घरमा आउनु भएको थियो । २०३७ साल तिर वहाँको ४ कित्ता जग्गाहरु रु. ४,०००।मा बिक्री गरेको थियो । सो जग्गाको पैसा मैले दिन बाँकी थियो । काठमाडौंमा सासूको कान्छा बाबुको छोरीको रु. ५००।तिर्न समेत गरी जम्मा रु. ३,६९५।बुझाई भात खाई म वृक्षारोपणको कामले पञ्चायतमा गई बालमन्दिरमा आएँ । फुपूसासू अनन्तकुमारी मेरो घरमा बसी रहनु भएको थियो । म बेलुका ४ बजे घर फर्कें म जाँदा घरमा थिइनन् । फुपूसासू अनन्तकुमारीलाई मैले मारेको होइन । प्रहरी प्रतिवेदन झुठ्ठा हो । सरजमीनमा शंका गर्ने हिरानाथ न्यौपानेको आमाले भुँडी बोकेकोले मेरो जिम्मा लाउने विचार गरेका थिए । सो रिसबाट र तिलप्रसादसंग मुद्दा परेको रिसइवीले शंका गरेका हुन् भन्ने समेत व्यहोराको रामकृष्ण भट्टले अदालतमा गरेको बयान ।

१४.   मेरी दिदी मर्ने अनन्तकुमारी बाल विधवा भई मेरै घरमा बसेकी थिइन । तीन टाटे सुनको जन्तर प्रतिवादी रामकृष्ण भट्टलाई दिंदा अनन्तकुमारीले ४,०००।मा जग्गा बिक्री गरेको रुपैयाँ लिन जाँदा बाँकी हुँदा २०४०।२।१४ गते खाजा खाई दिदी अनन्तकुमारी सुनको जन्तर र रु. ४,०००।लिन भनी रामकृष्ण भट्टका घरमा आएकी थिइन । त्यसपछि फर्केनन् । १२१४ दिन पछि मेरो छोरा रामप्रसाद पनेरुलाई खोज्न पठाए त्यसपछि म खोज्न आएँ । ज्वाईं रामकृष्णले दिदी अनन्तकुमारीलाई २०४०।२।१७ गते चारजना मानिस राखी गहना र रुपैयाँ मैले दिई पठाएँ भनी मलाई भने कता गइन, म पनि खोज्न जान्छु भनी रामकृष्णले भने त्यसपछि म घर फर्के मेरो दिदी अनन्तकुमारी रामकृष्ण कहाँ जन्तर र रुपैयाँ लिन गएकी फर्की नआएकोले खोज तलाश गर्दा फेला नपरेकोले खोज तलाश गरिपाउँ भनी मैले २०४०।३।५ गते जिल्ला प्रहरी कार्यालयमा निवेदन दिएको थिएँ । त्यसपछि काम विशेषले बिदुर आई घर फर्किदा बट्टार इनारपट्टिमा पुग्दा गाउँका मानिसहरु आउँदै रहेछन् । तिम्री दिदी अनन्तकुमारीको लाश दर्शनटार भन्ने ठाउँको त्रिशुली नदीको घट्टको कुलामा रहेछ भने म सो ठाउँमा पुगी हेर्दा कपडा र बालाले चिने सो लाशको टाउको रहेनछ । म पुग्दा लाश बाहिरै थियो । घटेरोले मैले बोरा खोली रु. ६४।लिएँ भने रामकृष्ण संग लेनदेन व्यवहार भएको र निजैको घरमा आई हराएकोले रामकृष्ण उपर दिदी अन्तकुमारीलाई मारेमा शंका लाग्छ । प्र.चक्रबहादुरसंग मेरो चिनाजानी नभएकोले निज उपर मलाई शंका लाग्दैन भन्ने जाहेरवाला चिरञ्जीवी पनेरुले अदालतमा गरेको बकपत्र ।

१५.   वारदात हुँदाका अवस्था देख्ने प्रत्यक्षदर्शी प्रमाणको साथै परिस्थितिजन्य प्रमाण समेतको अभाव रहन गएको र प्रतिवादीको इन्कारी बयानलाई समर्थन हुने गरी निजका साक्षीले बकपत्र गरेको समेतबाट अभियुक्त रामकृष्ण भट्टले आरोपित कसूरबाट सफाई पाउने ठहर्छ । अभियुक्त चक्रबहादुर कुमालको हकमा विचार गर्दा ज्यान मरी सकेको कुरा थाहा पाई जाहेर नगरी कसूरदारलाई दवाई भगाउने भनी कसूर प्रमाणित गर्न प्रमाणको अभाव रहेको हुँदा अभियुक्त चक्रबहादुर कुमालले आरोपित कसूरबाट सफाई पाउने ठहर्छ भन्ने समेत व्यहोराको नुवाकोट जिल्ला अदालतको मिति २०४२।२।२७ को फैसला ।

१६.    उक्त फैसला त्रुटिपूर्ण हुँदा बदर गरी प्रहरी प्रतिवेदन माग दावी बमोजिम सजायँ गरिपाउँ भन्ने समेत व्यहोराको श्री ५ को सरकारतर्फबाट म.क्षे.अ.मा परेको पुनरावेदनपत्र ।

१७.   केवल शंकाको भरमा अन्य तथ्य प्रमाणको अभावमा कसूरदार ठहर्‍याउन न्यायोचित नदेखिने हुँदा शुरु फैसलामा लिएका आधार प्रमाण समेतबाट प्रतिवादीहरुले आरोपित कसूरबाट सफाई पाउने ठहर्‍याएको शुरु जिल्ला अदालतको फैसला मनासिबै देखिँदा सदर हुन्छ । वादी श्री ५ को सरकारको पुनरावेदन जिकिर पुग्न सक्दैन भन्ने समेत व्यहोराको म.क्षे.अ.को मिति २०४४।८।२८।२ को फैसला ।

१८.   उक्त फैसलामा चित्त बुझेन । सो फैसला बदर गरी प्रतिवादीहरुलाई प्रहरी प्रतिवेदन बमोजिम सजायँ गरिपाउँ भन्ने समेत व्यहोराको वादी श्री ५ को सरकारतर्फबाट यस अदालतमा पर्न आएको पुनरावेदनपत्र ।

१९.    यसरी नियम बमोजिम पेश हुन आएकोमा पुनरावेदक वादी श्री ५ को सरकारतर्फबाट उपस्थित विद्वान का.मु. अतिरिक्त न्यायाधिवक्ता श्री प्रेमबहादुर विष्टले मृतक अनन्तकुमारीको मृत्यु कर्तव्यबाट भएको कुरामा विवाद देखिन आएको छैन । प्र.रामकृष्णभट्ट र मृतक बीच लेनदेन कारोबार भएको, मृतक अनन्तकुमारी रुपैयाँ लिन भनी रामकृष्णको घरमा गएको सोही रातदेखि अनन्तकुमारी बेपत्ता भएकी र निजको लाश दर्शनटारमा टाउको मृत अवस्थामा प्राप्त भएको छ मृतकको मृत्युको सम्बन्धमा निजकी श्रीमतीले दिएको बयान र मृतक अनन्तकुमारीको टाउको देखेको सम्बन्धमा रामकृष्णकै छोराले लेखाएको कथनबाट समेत अनन्तकुमारीको मृत्यु रामकृष्णकै कर्तव्यबाट भएको भन्ने कुरामा अन्यथा मान्न सकिँदैन । यस्तो स्थिति र अवस्थामा आरोपित कसूरबाट प्र.रामकृष्णलाई समेत सफाई दिने ठहर गरेको शुरु अदालतको फैसलालाई सदर गरेको म.क्षे.अ.को इन्साफमा प्रमाण ऐन, २०३१ को दफा ५४ समेतको त्रुटि विद्यमान रहँदा प्रतिवादीहरुलाई झिकाई निर्णय हुनुपर्छ भन्ने समेत प्रस्तुत गर्नुभएको बहस जिकिर समेत  सुनियो ।

२०.   प्रस्तुत मुद्दामा नुवाकोट जिल्ला अदालतले प्र.रामकृष्ण भट्ट समेतलाई आरोपित कसूरबाट सफाई दिने ठहर गरेको मध्यमाञ्चल क्षेत्रीय अदालतको फैसला कानुनसंगत छ छैन भनी मुख्य निर्णायक विषय देखिन आयो ।

२१.   यसमा अनन्तकुमारी रामकृष्ण भट्टसंग रुपैयाँ र सुनको गहना समेत लिन जान्छु भनी २०४०।२।१४ गते रामकृष्णका घरमा गएको, फर्की नआएकोले खोज खबर गर्दा त्रिशुली नदीको किनारमा दर्शनटारमा टाउको नभएको लाश फेला परेकोले, अनन्तकुमारीलाई रामकृष्णले पैसा नदिई कर्तव्य गरी मारेमा विश्वास लाग्छ भन्ने समेत व्यहोराको जाहेरी दर्खास्त देखिन्छ । मृतक अनन्तकुमारीलाई आफूले कर्तव्य गरी मारेको होइन भनी निज रामकृष्ण अधिकार प्राप्त अधिकारी समक्ष समेत इन्कार रहेका पाइन्छ । खोलामा पौडी खेल्न जाँदा अनन्तकुमारीको टाउको देख्ने चिन्ने भनिएका रामकृष्णकै छोरा रामचन्द्र समेतले प्रहरी समक्ष भएको बयानलाई अदालतमा आई बकपत्र गर्दा समर्थन गरी लेखाई दिएको पाइँदैन । साथै प्र.रामकृष्णको श्रीमतीको भनाईलाई गौण रुपमा हेरिएको पुनरावेदन जिकिरतर्फ हेर्दा, मृतक अनन्तकुमारीको मृत्युको सम्बन्धमा रामकृष्णको संलग्नता बारे निजको बयानबाट प्रतिविम्वित हुन सकेको देखिँदैन । यसको अतिरिक्त घटनास्थल प्रकृति मुचुल्काबाट देखिन आएका सामानहरुको सनाखत प्रमाणिक रुपबाट हुन नसकेको र सरजमीनका व्यक्तिहरुबाट पनि अनन्तकुमारीको मृत्यु प्र.रामकृष्णकै कर्तव्यबाट भएको भन्ने किटानी व्यहोरा लेख्न लेखाउन समेत नसकेको कारण प्र.रामकृष्ण उपरको आरोप गडाउ हुन सकेको भन्न मान्न मिल्ने होइन । कर्तव्य ज्यान जस्तो जघन्य संगीन प्रकृतिको अपराधमा दावी प्रमाणित गर्ने प्रमाणको भार वादी पक्षको नै रहन जाने कानुनी व्यवस्थालाई मध्यनजर राखी हेर्दा, प्रस्तुत मुद्दामा प्र. रामकृष्ण उपरको दावी शंकारहित तवरले प्रमाणित हुन सकेको देखिन आएन । जाहेरी दर्खास्तमा उल्लेखित जाहेरी व्यहोराबाट पनि प्रतिवादी उपर अवस्था बोधक रुपमा आरोप प्रतिस्थापित गर्न खोजिएको पाइन्छ । परिणामतः यस प्रकारको संगीन प्रकृतिको अपराधमा शंकारहित प्रमाणबाट वादी दावी पुष्टि हुन गर्न सकेको नपाइँदा प्रतिवादीलाई अपराधी ठहर गर्ने न्यायसंगत मान्न सकिएन । यसर्थ प्र.रामकृष्ण समेत उपरको अभियोग प्रतिवेदन दावी पुग्न नसक्ने ठहर गरेको शुरु नुवाकोट जिल्ला अदालतको फैसलालाई सदर गरेको म.क्षे.अ.को इन्साफ कानुनसंगत नै देखिँदा केही परिवर्तन गर्न पर्ने स्थिति अवस्था देखिन नआउँदा इन्साफ मनासिब ठहर्छ । वादी श्री ५ को सरकारको पुनरावेदन जिकिर पुग्न सक्दैन । मिसिल नियमानुसार गरी बुझाई दिनु ।

 

उक्त रायमा म सहमत छु ।

 

न्या.रुद्रबहादुर सिंह

 

इति सम्वत् २०४५ साल फाल्गुण ३ गते रोज ३ शुभम् ।

 

 

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु