शब्दबाट फैसला खोज्‍नुहोस्

निर्णय नं. ३७३४ - प्राचीन मूर्ति चोरी

भाग: ३१ साल: २०४६ महिना: जेष्ठ अंक:

निर्णय नं. ३७३४    ने.का.प. २०४६      अङ्क २

 

संयुक्त इजलास

माननीय न्यायाधीश श्री बब्बरप्रसाद सिंह

माननीय न्यायाधीश श्री रुद्रबहादुर सिंह

सम्वत् २०४३ सालको फै.पु.नम्बर ५२७

फैसला भएको मिति : २०४५।१२।१५।३ मा

पुनरावेदक/वादी : प्रहरी प्रतिवेदनले श्री ५ को सरकार

विरुद्ध

विपक्षी/प्रतिवादी : ल.पु.जि. ठेचो गा.पं. वा.नं. ५ बस्ने कृष्णगोपाल मालीसमेत

मुद्दा : प्राचीन मूर्ति चोरी

(१)    प्राचीन मूर्तिहरुको स्थानान्तरणमा प्राचीन स्मारक संरक्षण ऐन नै लागू हुने ।

(प्रकरण नं. १५)

(२)   एकै वारदातमा २ ऐन अन्तर्गत सजायँ गर्न नमिल्ने ।

(प्रकरण नं. १६)

पुनरावेदक/वादी तर्फबाट : विद्वान सहन्यायाधिवक्ता श्री खगेन्द्र बस्नेत

फैसला

न्या.बब्बरप्रसाद सिंह

१.     म.क्षे.अ.को फैसला उपर पुनरावेदनको अनुमति प्राप्त भई पर्न आएको प्रस्तुत मुद्दाको संक्षिप्त व्यहोरा निम्न प्रकार रहेछ ।

२.    सबूद प्रमाणको आधारमा पक्राउ भई प्रतिवेदन साथ दाखिल भएका कृष्णगोपाल माली, ज्ञानभक्त मालीको बयान गराउँदा चोभार गणेशको अगाडिको भत्केको पाटीमा जडान गरी राखेको ढुंगाको मूर्ति ज्ञानबहादुर महर्जन र गौतम दाश श्रेष्ठले लगी यो मूर्ति चोरी गरी ल्याउनु भनेकोले हामी कृष्णगोपाल, ज्ञानभक्त र वेनबहादुर भन्ने भिमसेन महर्जन रातको समयमा गई उक्त ढुड्डाको वरुणको मूर्ति चोरी गरी ल्याई सो रात नखुनेरको तोरी बारीमा लुकाई भोलिपल्ट ज्ञानबहादुर, गौतम दाशलाई हामी ३ जनाले लगी सो मूर्ति देखाउँदा निजहरुले यो मूर्ति काम नलाग्ने भनी निजहरु गए र हामी ३ जनाले सो मूर्ति बोकी पाटन अस्पतालको पछाडि बाटोमा छाडी त्यहाँबाट आफ्नो घरमा गयौं र पक्राउ भएपछि सो ढुड्डाको वरुणको मूर्ति पनि बरामद गरी दिए भनी उल्लेख गरी दिएको र बेनबहादुर भन्ने भिमसेन महर्जनको बयान गर्दा चोभारको मूर्ति चोरी गर्न म गएको भन्ने उल्लेख गरी दिएका सो बरामद भएको ढुड्डाको वरुणको मूर्ति पुरातत्व विभागमा जाँच गर्न पठाउँदा सय वर्ष नाघी सकेको रु. ५०,०००।जाने मूर्ति हो भन्ने पत्र प्राप्त भएको र घटनास्थलमा सरजमीन बुझ्दा पक्राउ भई आएका कृष्णगोपाल, ज्ञानभक्त वेनबहादुर भन्ने भिमसेन महर्जनले चोरी गरेको भनी उल्लेख गरी दिएकोबाट समेत वेनबहादुर भन्ने भिमसेन महर्जन इन्कार भए तापनि निजहरु तीनै जनासंग संगै गई अन्यत्र पनि मूर्ति चोरी गरेको हुँदा यो चोभारको वरुणको मूर्ति निजहरु तीनै जनाले चोरी गरेको देखिन्छ । तत्सम्बन्धमा सम्पूर्ण संकलित कागजातहरु अध्ययन गरी विचार गर्दा ज्ञानबहादुर महर्जन र गौतम दाश श्रेष्ठले चोरी गर्न पठाई कृष्णगोपाल माली, ज्ञानभक्त माली र वेनबहादुर भन्ने भिमसेन महर्जनले चोरी गरी ल्याई मु. ऐ. चोरीको १ नं. र प्राचीन स्मारक संरक्षण ऐनको दफा १३ को अपराध गरेको देखिन आएको हुँदा निज कृष्णगोपाल माली, ज्ञानभक्त माली र वेनबहादुर भन्ने भिमसेन महर्जन उपर दोश्रो पटक कायम गरी मु. ऐन चोरीका १,१२ र १४ बमोजिम प्राचीन स्मारक संरक्षण ऐनको दफा १३ को उपदफा ५ बमोजिम कारवाही भई सजायँ समेत हुन चोरी गर्न पठाएका ज्ञानबहादुर महर्जन र गौतम दाश श्रेष्ठ उपर मु. ऐ. चोरीको १२।१४ नं. र प्राचीन स्मारक संरक्षण ऐनको दफा १३ को उपदफा ५ बमोजिम कारवाही भई सजायँ हुनुका साथै फरार ज्ञानबहादुर महर्जन र गौतम दाश श्रेष्ठको प्रति अदालतबाटै समाव्हान जारी भई उल्लेखित माग बमोजिम कारवाही सजायँ हुन सम्बन्धित कागजात मुर्ति र अभियुक्तहरु यसै साथ प्रस्तुत भएको मिति २०३८।१२।२५।४ को आरोपपत्र ।

३.    ज्ञानभक्त माली, भीमसेन महर्जन र म समेत चोभार गणेशको मन्दिर बाहिरको पाटीको भित्तामा जडान गरी राखेको बरुणको देवता ढुड्डाको मूर्ति चोरी गरी ज्ञानभक्त र मैले आलोपालो गरी बोकी नखु जेल नेरको तोरीबारीमा गाडी आफ्नो घरमा गयौं । भोलिपल्ट ज्ञानबहादुर महर्जनलाई भेटी चोभारको मूर्ति चोरी ल्याएका छौं । हेर्न जानु पर्‍यो भन्दा मेरो साहुलाई लिई हेर्न आउँछु भनी गएँ । निज ज्ञानबहादुर महर्जन र गौतम दाश श्रेष्ठले यो मूर्ति होइन नयाँ रहेछ भनी मूर्ति नलिई गए त्यसपछि हामी ३ जनाले सो मूर्ति बोकी मच्चागाल कुमारीपाटीको बाटोमा खनी गाडी राखी त्यहाँबाट आफ्नो घर गयौं भन्ने प्रहरी समक्ष र कागजको सक्कलमा भएको ल्याप्चे सही मेरै हो भनी सनाखत गर्दछु । मूर्ति अस्पताल पछाडी मचागाल कुमारीपाटी टोलको बाटोमा गाडी राखेको छु । मूर्ति चाहीं सोही बाटोमा नै मेरो अगाडि खनी निकालेको हो भन्ने समेत व्यहोराको बा.वि.अ.मा कृष्णगोपाल मालीले गरेको बयान कागज ।

४.    कृष्णगोपाल मालीको डेराबाट बरामद गरेको मुर्ति थान २ म समेत भई चोरी गरी ल्याएको हो । ढुंगाको बरुणको मूर्ति म गई चोरी गरी ल्याएको होइन भन्ने समेत प्रहरीमा र प्रहरीमा भएको बयान कागजमा भएको हस्ताक्षर सही आफ्नै हो भनी सनाखत गर्दछु । प्रहरीले मलाई मार्छु, पिटछु भनी डर देखाई सावित गराएका हुन म चोरी गर्न गएको होइन भन्ने समेत व्यहोराको बा.वि.अ.मा वेनबहादुर भन्ने भिमसेन महर्जनले गरेको बयान ।

५.    म, साथी कृष्णगोपाल माली, भिमसेन महर्जन समेत ३ जनालाई ज्ञानबहादुरले पैसा दिलाई दिन्छु भनी चोभार गणेशस्थान भएको ढुंगाको बरुणको मूर्ति चोरी बोरामा राखी हामी तीनैजनाले पालो पालोसंग बोकी नखुमा ल्याई तोरीबारीमा लुकाई हामीहरु घर गयौं । ज्ञानबहादुरले साहु समेत साथमा लिई लुकाई राखेको मुर्ति हेर्न गयौं । निजहरुले हेरे पछि यो मुर्ति चाहिँदैन भनेकोले हामीले सो मूर्ति ल्याई पाटन अस्पताल अगाडि बाटोमा गाडी लुकाई राखे । सो मूर्ति पछि प्रहरीले बरामद गरी ल्याएको हो भन्ने प्रहरी समक्ष र यस अदालतमा दर्ता भएको प्रहरी प्रतिवेदनमा मलाई लगाएको अभियोग तथा माग गरिएको सजायँ थाहा पाएँ । प्रहरीमा भएको बयान कागजमा भएको ल्याप्चे सही मेरो हो भनी सनाखत गर्दछु मेरो राजीखुशीको बयान हो । यसमा मेरो भन्नु केही छैन भन्ने समेत व्यहोराको ज्ञानभक्त मालीले बा.वि.अ.मा गरेको बयान ।

६.    २०३८।१२।२५ मा जि.प्र.का. काठमाडौंले म उपर लगाएको अभियोग तथा माग गरेको सजायँ थाहा पाएँ । अरु प्रतिवादीलाई मैले चिनेको छैन । मुर्ति सम्बन्धी कुनै काम मैले प्रहरी माग बमोजिमको सजायँ मैले पाउनु पर्ने होइन । कृष्णगोपाल, भिमसेन, ज्ञानभक्त मालीहरुको बयान व्यहोरा सबै झुठ्ठो हो । प्रतिवादी सबैलाई म चिन्दीन । मेरो शत्रु रामकृष्णले नै पोल्न लगाएको होला जस्तो लाग्छ । यसै अदालतबाट आज भन्दा करीब १ वर्ष अघि वादी श्री ५ को सरकार प्र.म. समेत भएको शिवपार्वतीको मूर्ति स्थानान्तरण गरे भन्ने मुद्दामा रु. ५००।जरिवाना भएकोले सो जरिवाना तिरेकै छु भन्ने समेत व्यहोराको गौतम दाश श्रेष्ठले बा.वि.अ.मा गरेको बयान ।

७.    प्र.ज्ञानबहादुर तामेल भएको म्यादमा हाजिर हुन नआई गुजारी बसेको ।

८.    मैले पुरातत्व विषयमा २०३६ सालदेखि पुरातत्व विभागमा काम गर्दै आइरहेको हो । मुर्ति जाँच गर्ने सम्बन्धी तालीम छैन । मुर्ति जाँच गर्ने आधार अध्ययन र अनुसन्धानको आधारमा गर्ने गरी आएको छु । मैले जाँच गरेको वरुणको र नारायणको मुर्ति सय वर्ष नाघेको हो र यो मल्लकालमा निर्माण गरेको मूर्तिहरु हुन् । मुर्तिको काल क्रम छुट्याउने कामको आधारमा उक्त मुर्तिमा देखिने गरगहना पुस्ता किर्तिको भावनाको आधारमा छुट्याउँछु भन्ने समेत व्यहोराको मुर्ति विशेषज्ञ श्री तेजरत्न ताम्राकारको बकपत्र ।

९.    अभियुक्त ज्ञानभक्त माली र अ. कृष्णगोपाल मालीले दावी बमोजिम कसूर गरेको ठहर्छ । निजहरुलाई प्राचीन स्मारक संरक्षण ऐन, २०१३ को दफा १३(५) ले जनही कैद वर्ष १/६ र अभियुक्त ज्ञानबहादुर, गौतम दाशलाई जनही रु. २,०००।जरिवाना हुन्छ अभियुक्त वेनबहादुर भन्ने भिमसेन महर्जन प्रहरीमा सावित भए पनि अदालतमा इन्कारी बयान गरेको साविती ज्ञानभक्तले पोलेका पनि देखिएन । निजले सफाई पाउने ठहर्छ । बरामद भई दाखिल हुन आएको बरुणको मुर्ति जफत हुने ठहर्छ भन्ने समेत व्यहोराको २०४०।१।२२।५ को बागमती विशेष अदालतको फैसला ।

१०.    बा.वि.अ.को फैसलाबाट केवल प्राचीन स्मारक संरक्षण ऐन अन्तर्गत सजायँ गरेको मिलेन । प्र.हरुलाई चोरीको महल बमोजिम हुन सफाई पाउने प्र.भिमसेनको हकमा फैसला उल्ट्याई पाउँ भन्ने समेत व्यहोराको वादी श्री ५ को सरकारको म.क्षे.अ.मा परेको पुनरावेदन ।

११.    बा.वि.अ.को फैसला फरक पर्ने भएबाट अ.बं. २०२ नं. बमोजिम विपक्षीहरुलाई नोटिस दिई झिकाई आएपछि पेश गर्नु भन्ने समेत व्यहोराको म.क्षे.अ.को आदेश ।

१२.   एकै वारदातमा भएका दुई कसूरमा सजायँ गर्दा ठूलो कलमको सजायँ हुने दण्ड सजायँको १० नं. ले व्यवस्था गरेको देखिँदा त्यस्तोमा दं.स. को ८ नं. आकृष्ट हुने देखिँदैन । तसर्थ ऐनको उल्लेखमा मात्र विशेष अदालतले त्रुटि गरेको देखिँदा त्यसतर्फ उल्टी हुन्छ । प्राचीन स्मारक संरक्षण ऐन अन्तर्गत प्रतिवादीहरुलाई कसूरदार ठहराई सजायँ गर्ने गरे तर्फको बागमती विशेष अदालतको इन्साफ मनासिब ठहर्छ भन्ने समेत व्यहोराको म.क्षे.अ.को मिति २०४२।६।३० को फैसला ।

१२.   म.क्षे.अ.को फैसलामा मुलुकी ऐन दण्ड सजायँको १० नं. को गलत व्याख्या भएकोले पुनरावेदनको अनुमति पाउँ भन्ने वादी श्री ५ को सरकारको निवेदन ।

१३.   क्षे.अ.बाट फैसला हुँदा चोरी तर्फ के कति सजायँ हुने सो समेत उल्लेख गरेर मात्र प्राचीन स्मारक संरक्षण ऐन वा चोरीको महल अन्तर्गत कुनको सजायँ ठूलो हो उल्लेख गर्नु पर्नेमा सो केही उल्लेख नगरी केवल प्राचीन स्मारक संरक्षण ऐन अन्तर्गतको मात्र सजायँ उल्लेख गरी गरेको म.क्षे.अ. को निर्णय दण्डसजायँको १० नं. को त्रुटि भएकोले पुनरावेदनको अनुमति दिएको छ भन्ने स.अ.को आदेश ।

१४.   नियम बमोजिम दैनिक पेशी सूचीमा चढी इजलास समक्ष पेश हुन आएको प्रस्तुत मुद्दामा वादी श्री ५ को सरकारतर्फबाट उपस्थित विद्वान सहन्यायाधिवक्ता श्री खगेन्द्र बस्नेतले गर्नुभएको बहस समेत सुनी पुनरावेदन जिकिर समेतको मिसिल अध्ययन गरी निर्णयतर्फ विचार गर्दा मुख्यतः प्राचीन स्मारक ऐन अन्तर्गतका मूर्ति स्थानान्तरण गरेमा सो ऐनको दफा १२(५) बमोजिम र चोरी गरेमा चोरीका १,१२,१४ नं. बमोजिम समेत सजायँ गरिपाउँ भन्ने वादी पक्षको दावी भएकोमा क्षे.अ.बाट प्राचीन स्मारक ऐन अन्तर्गत ठूलो सजायँ हुने हुँदा ऐ. को १० नं. ले चोरी तर्फ सजायँ गर्न नपर्ने भन्ने निर्णय भएको देखियो ।

१५.   यस सम्बन्धमा कानुनी व्यवस्थातर्फ हेर्दा प्राचीन स्मारक ऐन, २०१३ को दफा २० मा यस ऐनमा लेखिएको कुरामा यसै बमोजिम र अरु कुरामा प्रचलित नेपाल कानुन बमोजिम हुन्छ भन्ने उल्लेख भएकोबाट प्राचीन मुर्तिहरुको स्थानान्तरणमा प्राचीन स्मारक संरक्षण ऐन नै लागू हुने देखिन्छ । चोरीमा समेत दावी लिई चोरीको १, १२, १४ नं. को सजायँ माग भए तर्फ चोरीको ऐन बमोजिम सजायँ गर्नु पर्ने नपर्ने भन्ने तर्फ हेर्दा कानुन व्याख्या सम्बन्धी ऐन, २०१० को दफा २५ मा दुई वा दुई भन्दा बढी ऐन मुताविक गरेमा नगरेमा कसूर मानिने काम रहेछ भने कसूरदारलाई ती मध्ये कुनै एक ऐन बमोजिम सजायँ हुन्छ भन्ने व्यवस्था भएकोबाट एकै वारदातमा २ ऐन अन्तर्गत सजायँ गर्न मिल्ने देखिन आएन ।

१६.    तसर्थ म.क्षे.अ.बाट प्राचीन स्मारक संरक्षण ऐन अन्तर्गत सजायँ गर्ने ठहर गरेको इन्साफ मनासिब छ दण्ड सजायँको १० नं. लगाएकोसम्म मिलेको देखिएन । चोरीको ऐन अन्तर्गत समेत सजायँ गरिपाउँ भन्ने समेतको वादी श्री ५ को सरकारको पुनरावेदन जिकिर पुग्न सक्दैन । नियम बमोजिम मिसिल बुझाई दिनु ।

 

उक्त रायमा म सहमत छु ।

 

न्या.रुद्रबहादुर सिंह

 

इति सम्वत् २०४५ साल चैत्र १५ गते रोज ३ शुभम् ।

 

 

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु