शब्दबाट फैसला खोज्‍नुहोस्

निर्णय नं. ३७३५ - दाखेल खारेज

भाग: ३१ साल: २०४६ महिना: जेष्ठ अंक:

निर्णय नं. ३७३५    ने.का.प. २०४६      अङ्क २

 

संयुक्त इजलास

माननीय न्यायाधीश श्री बब्बरप्रसाद सिंह

माननीय न्यायाधीश श्री हरगोविन्दसिंह प्रधान

सम्वत् २०४४ सालको दे.पु.नं. ७७५, ७७६

फैसला भएको मिति  :     २०४६।१।१४।४ मा

पुनरावेदक/वादी : तनहुँ बन्दीपुर गा.पं. वार्ड नं. ४ बस्ने मण्डली माया श्रेष्ठसमेत

विरुद्ध

विपक्षी/प्रतिवादी : ऐ. खैरेनी गा.पं. वार्ड नं. ७ बस्ने श्यामबहादुर पंतसमेत

मुद्दा : दाखेल खारेज

(१)    एकपटक आफ्नो भाग छुटाई कित्ताकाट गरिदिन मन्जूर भई कागज गरिसकेपछि अहिले आई कित्ताकाट गरिदिन मन्जूर छैन भन्न प्रमाण ऐन, २०३१ को दफा ३४ बमोजिम बिवन्धनको सिद्धान्तले नमिल्ने ।

(प्रकरण नं. १४)

(२)   कानुन बमोजिम गरी लिखत राजीनामा बमोजिम जग्गा भोग चलन भइरहेको स्थितिमा र कानुन बमोजिम आफ्नो अंश हक लाग्ने जग्गा बिक्री गर्न बंदेज लगाउँदा कानुन प्रतिकूल हुन जाने ।

(प्रकरण नं. १४)

पुनरावेदक/वादी तर्फबाट : विद्वान वरिष्ठ अधिवक्ता श्री मुकुन्द रेग्मी, विद्वान वरिष्ठ अधिवक्ता श्री रतनलाल कनौडिया र विद्वान अधिवक्ता श्री प्रकाश वस्ती

विपक्षी/प्रतिवादी तर्फबाट : विद्वान वरिष्ठ अधिवक्ता श्री कृष्णप्रसाद पंत तथा विद्वान वरिष्ठ      अधिवक्ता श्री कृष्णप्रसाद भण्डारी

अवलम्वित नजीर : सर्वोच्च अदालत डिभिजनबेञ्चबाट २०२४।११।२४।५ मा सिद्धान्त (ने.का.प.       २०२५, नि.नं. ४०७, पृष्ठ ८९) प्रतिपादन भएको ।

फैसला

न्या.बब्बरप्रसाद सिंह

१.     मध्यमाञ्चल क्षेत्रीय अदालतको मिति २०४३।८।३ को फैसला उपर पुनरावेदन गर्ने अनुमतिको लागि वादीहरुको अलग अलग पर्न आएको निवेदनमा अनुमति प्राप्त भई इजलास समक्ष पेश भई आएको प्रस्तुत मुद्दाको संक्षिप्त विवरण निम्न प्रकार छ ।

२.    विपक्षी अम्बाकुमारी पंत, श्यामबहादुर पंत र भैरवबहादुर पंतको सगोलको जग्गाबाट मिति २०३६।११।१० मा मण्डलीमाया श्रेष्ठ, गंगाकुमारी परियार २०३७।५।१९ मा गयाप्रसाद श्रेष्ठले, २०३७।११।३० मा निर्मल प्रधान र २०३६।१०।१५ मा नवीन प्रधानले र भैरवबहादुरको भागबाट र २०३९।३।७ मा मोहनबहादुर देवाजुले श्यामबहादुर पंतको हकको जग्गा किनी सो किनेको जग्गा दाखिल खारेज गरिपाउँ भनी मिति २०३६।१२।१४ मा मण्डलीमाया श्रेष्ठ, मिति २०३९।३।२० मा गंगाकुमारी परियार, मिति २०३८।८।२९ मा गयाप्रसाद श्रेष्ठ मिति २०३८।५।१८ मा निर्मल प्रधान, मिति २०३८।५।१८ मा नवीन प्रधान, मिति २०४०।३।१० मा मोहनबहादुर देवाजु समेतको चितवन मालपोत कार्यालयमा निवेदन परेको सो निवेदन अनुसार मालपोत कार्यालयबाट भैरवबहादुर पंत, श्यामबहादुर पंत र अम्बाकुमारी पंतलाई झिकाई कागज गराउँदा आफ्नो भाग बण्डा गरी आफ्नो भागमा पर्ने कित्ताबाट बिक्री गरेको जग्गाको कित्ताकाट भएमा मन्जूर छौं भन्ने व्यहोराको निजहरुले कागज गरेको ।

३.    उपरोक्त लिखत बमोजिम दा.खा. भएमा मन्जूर भएको भन्ने उपरोक्त जग्गाधनी श्यामबहादुर पंत  र १/४ हिस्सा मध्येका अम्बाकुमारी र श्यामबहादुरको कानुन ग्राहृय लिखत पेश भएमा वा सगोलका जग्गाधनीहरु सबै उपस्थित भई संयुक्त निवेदन दिई कित्ताकाट गरी दाखिल खारेज गरी लिन दिन माग गरेको अवस्थामा सो बमोजिम दाखिल खारेज कारवाही गर्ने गरी हाल प्रस्तुत निवेदन मिसिल तथा सम्बन्धित अन्य लिखत निवेदन तामेलीमा राखी दिने भन्ने समेत व्यहोराको मिति २०४०।३।२७।२ को मालपोत कार्यालय चितवनको निर्णय आदेश ।

४.    मालपोत कार्यालयको निर्णयमा चित्त बुझेन बदर गरी हाम्रा नाउँमा दाखिल खारेज गराई पाउँ भन्ने समेत मण्डलीमाया श्रेष्ठ, गयाप्रसाद श्रेष्ठ, नवीन प्रधान र निर्मल प्रधानको जिल्ला कार्यालय चितवनमा परेको पुनरावेदन ।

५.    पुनरावेदकहरुले पास गरिलिएको लिखत उपर बदर गराउन उजूर नगरी चित्त बुझाई बसेको मिसिलबाट देखिएको समेत आधारबाट मालपोत कार्यालयको आदेश बदर गरी पुनरावेदकहरुको निवेदन एवं राजीनामा बमोजिम कित्ताकाट गरी दर्ता दाखेल खारेज गरी दिनु पर्ने ठहर्छ भन्ने समेतको मिति २०४१।७।१३।२ को जिल्ला कार्यालयको फैसला ।

६.    जिल्ला कार्यालयको फैसला कानुनी त्रुटिपूर्ण हुँदा न्याय प्रशासन सुधार ऐन, २०३१ को दफा १३(ख) अनुसार पुनरावेदन गर्ने अनुमति पाउँ भन्ने समेतको श्यामबहादुर पंत समेतको म.क्षे.अ.मा परेको निवेदनमा अनुमति दिइएको छ भन्ने समेत म.क्षे.अ.को मिति २०४२।४।९ को आदेश ।

७.    विपक्षीहरुको राजीनामा बमोजिम कित्ताकाट दर्ता दाखेल खारेज गरिदिने गरी गरेको जिल्ला कार्यालय चितवनको निर्णय मिलेको नदेखिँदा बदर हुन्छ । संयुक्त दर्तावालाहरुले कित्ताकाट गरी दाखेल खारेज गराउने सम्बन्धमा संयुक्त निवेदन दिई दाखेल खारेज गरी लिन दिन मात्र गरेको अवस्था कारवाही गर्ने गरी निवेदन मिसिल तामेलीमा राख्ने गरेको मालपोत कार्यालय भरतपुरको निर्णय मनासिब ठहर्छ भन्ने समेत म.क्षे.अ.को २०४३।८।३।३ को फैसला ।

८.    कानुन तथा नजीरको त्रुटि गरी गरेको मालपोत कार्यालय चितवनको तामेली निर्णयलाई सदर गरेको म.क्षे.अ.को फैसलामा गंभीर त्रुटि हुँदा उक्त म.क्षे.अ.को फैसला उपर पुनरावेदन गर्ने अनुमति पाउँ भनी वादीहरुको पर्न आएको निवदेनमा म.क्षे.अ.को फैसलामा मु.ऐ. जग्गा पजनीको २(क), अंशबण्डाको १९(४) नं. समेतको व्याख्यात्मक त्रुटि र ने.का.प., २०२५ पृ. ८९ नि.नं. ४०७ मा प्रतिपादित सिद्धान्तको त्रुटि समेत देखिँदा न्या.प्र.सु. ऐन, २०३१ को दफा १३(५)(ख)(ग) बमोजिम पुनरावेदन गर्ने अनुमति प्रदान गरिएको छ भन्ने समेत यस अदालत संयुक्त इजलासको मिति २०४४।२।६।४ को आदेश रहेछ ।

९.    नियम बमोजिम दैनिक मुद्दा पेशी सूचीमा चढी इजलास समक्ष पेश हुन आएको प्रस्तुत मुद्दामा तारेखमा रहेका वादी प्रतिवादीहरुको वा. लाई समेत रोहवरमा राखी पुनरावेदक वादीतर्फबाट बहसको लागि उपस्थित विद्वान वरिष्ठ अधिवक्ता श्री मुकुन्द रेग्मी, विद्वान वरिष्ठ अधिवक्ता श्री रतनलाल कनौडिया र विद्वान अधिवक्ता श्री प्रकाश वस्ती तथा विपक्षी प्रतिवादी तर्फबाट विद्वान वरिष्ठ अधिवक्ता श्री कृष्णप्रसाद पंत तथा विद्वान वरिष्ठ अधिवक्ता श्री कृष्णप्रसाद भण्डारीले गर्नुभएको बहस जिकिर समेत सुनियो ।

१०.    प्रस्तुत मुद्दामा म.क्षे.अ.ले गरेको इन्साफ मनासिब बेमनासिब के रहेछ सो सम्बन्धमा निर्णय दिनु पर्ने हुन आयो ।

११.    यसमा राजीनामा बमोजिमका जग्गाको दाखेल खारेज गरी जग्गाधनी प्रमाण पूर्जा पाउँ भनी निवेदक मण्डलीमाया श्रेष्ठ समेतको मालपोत कार्यालय चितवनमा निवेदन परेकोमा कानुन ग्राहृय लिखित पेश भएमा वा सगोलका जग्गाधनीहरु सबै उपस्थित भई संयुक्त निवेदन दिई कित्ताकाट गरी दाखेल खारेज गरी लिन दिन माग गरेको अवस्थामा सो बमोजिम दा.खा. गर्ने गरी हाल निवेदन मिसिल तामेलीमा राख्ने गरेको निर्णय उपर निवेदकहरुको जिल्ला कार्यालय चितवनमा पुनरावेदन परी सो माल कार्यालयले तामेलीमा राख्ने गरेको निर्णय बदर गरी राजीनामा बमोजिम कित्ताकाट गरी दर्ता दाखिल खारेज गरी दिने ठहर गरे उपर विपक्षी प्रतिवादीहरुको म.क्षे.अ.मा पुनरावेदन परेकोमा म.क्षे.अ.ले समेत सोही मालपोत कार्यालय चितवनले गरेको तामेली निर्णयलाई नै सदर गरे उपर निवेदक वादीहरुको यस अदालत समक्ष पुनरावेदन गर्ने अनुमतिको लागि निवेदन पर्न आएकोमा उक्त म.क्षे.अ.को फैसलामा कानुनको व्याख्यात्मक त्रुटिको साथै नजीर समेतको त्रुटि देखिएको भन्ने समेत आधारमा अनुमति प्रदान भई इजलास समक्ष पेश हुन आएको रहेछ ।

१२.   मुख्यत प्रस्तुत मुद्दामा विपक्षी प्रतिवादीहरुको तर्फबाट बहसको लागि उपस्थित विद्वान वरिष्ठ अधिवक्ताले हाल संशोधित न्या.प्र.सु. ऐन, २०३१ बमोजिम प्रस्तुत मुद्दाको पुनरावेदन यस अदालत समक्ष लाग्न नसक्ने भनी जिकिर लिनु भएको सम्बन्धमा विचार गर्नु पर्ने हुन आयो ।

१३.   मध्यमाञ्चल क्षेत्रीय अदालतबाट प्रस्तुत मुद्दामा पुनरावेदन गर्ने अनुमति २०४२।४।९ मा प्रदान भई मिति २०४३।८।३।३ मा फैसला भए उपर वादीहरुको पुनरावेदन गर्ने अनुमतिको लागि मिति २०४३।९।७ मा पर्न आएको निवेदनमा २०४४।२।६ मा अनुमति प्रदान भएको देखिन आएकोले म.क्षे.अ.ले पुनरावेदन गर्ने अनुमति हालको न्या.प्र.सु. ऐन, २०३१ को मिति २०४३।७।२४ मा संशोधन हुनु पूर्व नै अनुमतिको निवेदन लिई अनुमति प्रदान भएबाट म.क्षे.अ.ले अनुमतिमा सीमित रहेको न्या.प्र.सु. ऐन, २०३१ को दफा १३(३)(घ) भित्र सीमित रही फैसला भएबाट सो उपर न्या.प्र.सु. ऐन चौथो संशोधन अनुरुप यस अदालतमा पुनरावेदन नै लाग्न नसक्ने भन्ने जिकिरसंग सहमत हुन सकिएन ।

१४.   अब इन्साफतर्फ विचार गर्दा केही जग्गा प्रतिवादी मध्येका अम्बाकुमारी पंत, श्यामबहादुर पंत र भैरवबहादुर पंत समेतका नाउँमा संयुक्त दर्ता देखिन आउनुको साथै भैरवबहादुर, श्यामबहादुरको नाउँमा समेत संयुक्त दर्ता जग्गा भएकोमा विवाद देखिन आएन । यिनै संयुक्त दर्तावाला मध्येकी प्रतिवादी अम्बाकुमारी पंतले वादी गयाप्रसाद श्रेष्ठ समेत संग यस अदालत समक्ष मिलापत्र गरी सकेको मिसिलबाट देखिन आएकोले निजको हकमा बोली रहनु पर्ने स्थिति आएन । वादी निवेदकहरुले मालपोत कार्यालयमा राजीनामा अनुसारको जग्गा कित्ताकाट गरी दाखेल खारेज गरिपाउँ भनी दर्खास्त परी सकेपछि यिनै संयुक्त दर्तावाला प्रतिवादी भैरवबहादुर पन्त तथा श्यामबहादुर पन्तसमेतलाई उपस्थित गराउँदा भैरवबहादुर पन्तले गरी दिएको राजीनामालाई समेत विवाद नदेखाई भैरवबहादुरले कागज गर्दा भाइ श्यामबहादुरलाई अंशबण्डा गरौं भनी आज भन्दा ६ महीना पहिलेदेखि भन्दा पनि नमानेकोले अड्डाबाटै अंशबण्डा गरिपाउँ भन्दै आफूले बिक्री गरेको साहुहरुलाई मेरो अंश भागबाट कित्ताकाट गरिदिन मेरो मन्जूर छ हामीहरुले बिक्री गरेको जग्गा कित्ताकाट गर्न साक्षी बस्न परेमा बस्ने छु भनी तीनैजनाको भागबाट कटाई बाँकी कि.का. गरिदिएमा मन्जूर हुँदै कागज गरेको र त्यस्तै श्यामबहादुर पंतले समेत तीनजना दर्तावालाको अंश भागबाट कटाई कित्ताकाट गरी दिएमा मेरो मन्जूर छ भनी समेत कागज गरेको देखिन्छ । यसरी एकपटक आफ्नो भाग छुट्टाई कित्ताकाट गरिदिन मन्जूर भई कागज गरिसकेपछि अहिले आई कित्ताकाट गरिदिन मन्जूर छैन भन्ने समेत प्रमाण ऐन, २०३१ को दफा ३४ बमोजिम बिवन्धनको सिद्धान्तले समेत मिल्ने देखिन आउँदैन । साथै निर्मल प्रधान, नवीन प्रधान समेतलाई भैरवबहादुर पंतले गरिदिएको राजीनामाहरु बमोजिम कित्ता काटी दा.खा. गरी दिएको कुरामा समेत विवाद नदेखाएको वादीहरुले पास गरी लिएको राजीनामामा लिखतलाई समेत प्रतिवादीहरुले कानुन बमोजिम उजूर गरी बदर गराएको देखिन आएन । कानुन बमोजिम गरी लिखत राजीनामा बमोजिम जग्गा भोग चलन भइरहेको स्थितिमा र कानुन बमोजिम आफ्नो अंश हक लाग्ने जग्गा बिक्री गर्न समेत बन्देज लगाउँदा कानुन प्रतिकूल हुन जान्छ । भोलासा रौनियार विरुद्ध लक्ष्मी परिहार समेत भएको जग्गा खिचोला मुद्दामा जति जनाको सगोल दर्ता छ सो दर्तामा ती सबैको हक हुने ती दर्तावालाहरु मध्येले आफ्नो हक जति मात्र दर्ता फुटाई बिक्री दर्ता गरेको सदर हुनेभन्ने समेत यस अदालत डिभिजनबेञ्चबाट २०२४।११।२४।५ मा सिद्धान्त (ने.का.प. २०२५ नि.नं. ४०७ पृष्ठ ८९) प्रतिपादन भएको पाइन्छ । यसरी राजीनामा बमोजिमको जग्गा तत्काल दा.खा. नगरी तत्सबन्धित कारवाही अनिश्चित रुपमा स्थगित राखिँदा समेत संविधानद्वारा प्रदत्त हकाधिकारमा समेत प्रतिकूल असर पर्न जाने हुँदा सगोलका जग्गाधनीहरु सबै उपस्थित भई संयुक्त निवेदन दिई कित्ताकाट गरी दाखेल खारेज गरी लिन दिन माग गरेको अवस्थामा दाखेल खारेज गर्ने गरी तामेलीमा राख्ने गरेको मालपोत कार्यालय चितवनको निर्णय मिलेको नदेखिई मालपोत कार्यालयको उक्त निर्णय आदेश बदर गरी राजीनामा बमोजिम कित्ताकाट गरी दर्ता दाखेल खारेज गरिदिनु पर्ने ठहर गरेको जिल्ला कार्यालय चितवनको निर्णय मनासिब ठहर्छ । त्यसरी तामेलीमा राख्ने गरेको निर्णय मनासिब ठहर्‍याएको म.क्षे.अ.को इन्साफ गल्ती भई उल्टी हुने ठहर्छ । अरु तपसील बमोजिम गर्नु ।

तपसील

माथि इन्साफ खण्डमा लेखिए बमोजिम म.क्षे.अ.को इन्साफ उल्टी भई फैसला भएकोले पुनरावेदक वादीहरुले यस अदालतमा पुनरावेदन गर्दा राखेको कोर्टफी रु. ३।प्रतिवादी श्यामबहादुरबाट भरी पाउने हुँदा कानुन बमोजिम भराई माग्न वादीहरुको दर्खास्त पर्न आए प्रतिवादी श्यामबहादुरबाट बराबरको दरले वादीहरुलाई भराई दिनु भनी चितवन जि.अ.मा लेखी पठाउन का.जि.अ.त.मा लगत दिनु......१ ऐ.ऐ. ठहरी फैसला भएकोले म.क्षे.अ.का माननीय मुख्य न्यायाधीश श्री षडानन्दप्रसाद उपाध्याय र माननीय न्यायाधीश श्री हरिश्चन्द्र उपाध्यायको उल्टीमा रेकर्ड राख्नु........२  मिसिल नियम बमोजिम गरी बुझाई दिनु..........३

 

उक्त रायमा म सहमत छु ।

 

न्या. हरगोविन्द सिंह प्रधान

 

इति सम्वत् २०४६ साल वैशाख १४ गते रोज ४ शुभम् ।

 

 

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु