शब्दबाट फैसला खोज्‍नुहोस्

निर्णय नं. ३७३८ - उत्प्रेषण

भाग: ३१ साल: २०४६ महिना: जेष्ठ अंक:

निर्णय नं. ३७३८    ने.का.प. २०४६      अङ्क २

 

संयुक्त इजलास

माननीय न्यायाधीश श्री पृथ्वीबहादुर सिंह

माननीय न्यायाधीश श्री रुद्रबहादुर सिंह

सम्वत् २०४४ सालको रि.नं. २५४९

आदेश भएको मिति : २०४६।२।१।१ मा

निवेदक      : शिक्षा तथा संस्कृति मन्त्रालय विज्ञान शिक्षा परियोजना विज्ञान शिक्षा विकास केन्द्रमा कार्यरत विज्ञान विशेषज्ञ ललितादेवी श्रेष्ठ

विरुद्ध

विपक्षी : श्री ५ को सरकार शिक्षा तथा संस्कृति मन्त्रालयसमेत

विषय : उत्प्रेषण

(१)    नि.से.नि. बमोजिम एक कार्यालयबाट सरुवा भई रवाना पत्र बुझेपछि सो कर्मचारी सरुवा भई जाने कार्यालयको मान्नु पर्ने र निजले सरुवा भएको कार्यालयमा पुग्ने बाटो म्याद पाउने भई सो अवधिको सुविधा सहुलियत पनि सोही सरुवा भई जाने कार्यालयबाटै पाउने हुन्छ, त्यस्तै कुनै पनि कर्मचारीले आफू कार्यरत रहेको कार्यालयबाट नि.से.नि. बमोजिम बिदा सहुलियत पाउने नै हुँदा सो समयमा लिएका बिदाअवधि कार्यरत रहेको अवधिबाट बाहेक गर्नु पर्ने भन्ने जिकिर मिल्ने नदेखिने ।

(प्रकरण नं. १३)

निवेदक तर्फबाट : विद्वान वरिष्ठ अधिवक्ता श्री शम्भुप्रसाद ज्ञवाली एवं श्री रतनलाल कनौडिया

विपक्षीतर्फबाट : विद्वान सहन्यायाधिवक्ता श्री बलराम के.सी. साथै विद्वान वरिष्ठ अधिवक्ता श्री मुकुन्द रेग्मी, विद्वान अधिवक्ता श्री गोपालप्रसाद भण्डारी एवं श्री सिन्धुनाथ प्याकुरेल

आदेश

न्या.पृथ्वीबहादुर सिंह

१.     नेपालको संविधानको धारा १६।७१ अन्तर्गत पर्न आएको प्रस्तुत रिटनिवेदनको संक्षिप्त व्यहोरा यस प्रकार छ ।

२.    शिक्षा सेवा, जनरल एजुकेशन समूह, साइन्स उपसमूह राजपत्रांकित द्वितीय श्रेणी सहायक सचिव पद संख्या २ समेतमा बढुवाको लागि लोकसेवा आयोगको सूचना नं. ११०।०४३ मिति २०४३।३।११ मा बुलेटिनमा प्रकाशित सूचना बमोजिम म पनि सम्भाव्य उम्मेदवार थिएँ । सो पद संख्या २ मा श्री बालकृष्ण श्रेष्ठ र श्री शम्भुप्रसाद लोहनी (प्राप्ताड्ढ २४५१९७) लाई बढुवाको लागि सिफारिश गर्न बढुवा समितिले निर्णय गरेको भनी २०४३।१२।२२ को गोरखापत्रमा शिक्षा मन्त्रालयबाट सूचना प्रकाशित गरियो जस उपर मेरो चित्त नबुझी लोकसेवा आयोगमा उजूरी दिएकोमा सिफारिश क्रममा हेरफेर गर्न नपर्ने भनी सो बमोजिमको पत्र बुझाइयो । उपरोक्त निर्णयहरु निम्न कारणले गैरकानुनी र अन्यायपूर्ण रहेका छन् ।

(१)    देहाय अनुसार निवेदकले कूल अड्ढ २४६.०५२ पाउनु पर्नेमा सो भन्दा कम अड्ढ बढुवा समितिले दिएको कानुनी त्रुटिपूर्ण छ ।

(क)   निवेदकले राजपत्रांकित तृतीय श्रेणीको नोकरी अवधि २०२८।११।२३ देखि २०२९।१२।२ सम्म १ वर्ष १० दिन अस्थायी र मिति ०२९।१२।३ देखि २०४३ आषाढ मसान्त सम्म १३ वर्ष ३ महीना २८ दिन स्थायी अवधिको हुँदा नि.से.नि. बमोजिम ज्येष्ठता बापत जम्मा अंक ५६.०७३ पाउनु पर्नेमा ५६.०४३ अंक मात्र दिई ०.३० अंक कम देखाई ।

(ख)   भौगोलिक क्षेत्रमा गई काम गरेको अनुभव बापत मिति २०२८।११।२३ देखि २०३०।११।१५ सम्म १ वर्ष ११ महीना २३ दिन पाठ्यक्रम विकास केन्द्र ललितपुरमा कार्यरत रहेको हुँदा सो बापत १.९५९ अंक मिति २०३०।११।१६ देखि २०३१।९।२ सम्म जि.का. शिक्षा शाखा काभ्रेपलाञ्चोकमा र मिति २०३१।९।३ देखि २०३६।७।७ सम्म क्षेत्रीय शिक्षा निर्देशनालय पश्चिमाञ्चल पोखरामा कार्यरत रहेको र दुवै क्षेत्र (घ) वर्गमा पर्ने हुँदा जम्मा ११.२८९ अंक पाउनु पर्ने, मिति ०३६।७।८ देखि २०४३ आषाढ मसान्त सम्म (ङ) वर्गमा पर्ने शिक्षा तथा संस्कृति मन्त्रालय, काठमाडौं तथा विज्ञान शिक्षा परियोजना, काठमाडौंमा कार्यरत रहेको हुँदा सोको पाउनु पर्ने अंक ६.७३१ समेत जम्मा १९.९७९ पाउनु पर्नेमा १८.९८८ अंक मात्र दिई .९९१ अंक कम दिएको ।

(ग)   न्यूनतम शैक्षिक योग्यता बापतको पाउनु पर्ने अंक ४९ सोही बमोजिम दिएको ।

(घ)   तालिम बापतको ९ अंक सोही बमोजिम दिएको ।

(ङ)   कार्य सम्पादन मूल्यांकन बापत अधिकतम अंक ११२ पाउनु पर्ने ।

            यसप्रकार मेरो हुने जम्मा अंक २४६.०५२ भई सिफारिश क्रममा पर्नु हुने शम्भुप्रसादको भन्दा .८५५ मेरो बढी हुने ।

३.    बढुवा सिफारिश क्रम नं. १ मा पर्नु भएका बालकृष्ण श्रेष्ठको देहाय अनुसार अंक पाउन सक्ने देखिन्छ ।

(क) ज्येष्ठता बापत मिति २०२८।११।२३ देखि २०२९।१२।२ सम्म अस्थायी र मिति २०२९।१२।३ देखि २०४३ साल आषाढ मसान्तसम्म स्थायी अवधि हुँदा नि. से.नि. बमोजिम जम्मा अंक ५६.०७३ पाउन सक्ने ।

(ख) भौगोलिक क्षेत्रमा गई काम गरेको अनुभव बापत २०२८।११।२३ देखि ०२९।१२।६ सम्म ललितपुरमा मिति २०३०।१।४ देखि मात्र सरुवा भएको कार्यालय जि.का. शिक्षा शाखा जुम्लामा हाजिर भएको अभिलेखबाट देखिँदा र मिति २०२९।१२।७ देखि २०३०।१।३ सम्म कहीं हाजिर भएको नदेखिँदा उक्त मिति २०२८।११।२३ देखि २०३०।१।३ सम्म जम्मा १.११४ अंक पाउने मिति २०३०।१।४ देखि २०३०।१०।२४ सम्म जुम्लामा कार्यरत रहेको र त्यसपछि काठमाडौंमा आई बिदा बसी जुम्लामा नफर्कीकन नै मिति २०३१।२।२९ देखि पाठ्यक्रम विकास केन्द्र ललितपुरमा सरुवा भई उक्त केन्द्रमा हाजिर हुनुभएको हुँदा उक्त जुम्लामा काम गरेको अवधि १ वर्ष नपुगेको हुँदा सो अवधिको कुनै अंक नपाउने, मिति २०३१।२।२९ देखि २०४३ साल आषाढ मसान्तसम्म ङ वर्ग ललितपुरमा रहनु भएको हुँदा उक्त अवधिको जम्मा १२.०८९ अंक पाउने हुँदा सो बापत जम्मा १३.२०३ अंक मात्र पाउनु पर्ने ।

(ग)  शैक्षिक योग्यता बापत जम्मा ५३ अंक पाउने ।

(घ)  सेवा कालिन तालिम बापत ९ अंक पाउने ।

(ङ)  कार्य सम्पादन मूल्यांकन बापत अधिकतम ११२ अंक पाउन सक्ने ।

४.    उपरोक्त अनुसार जम्मा २४३.२७६ भन्दा बढी निज बालकृष्णले पाउन नसक्ने हुँदा मेरो भन्दा २.७७६ अंक कम देखिन आउने । अतः यसप्रकार पहिलो क्रममा मैले बढुवा पाउनु पर्ने हुँदा सो बमोजिम नदिई विपक्षी श्री ५ को सरकार शिक्षा तथा संस्कृति मन्त्रालयबाट मिति ०४३।१२।२२ को गो.प.मा प्रकाशित बालकृष्ण र शम्भुप्रसादलाई बढुवा गर्ने गरेको बढुवा समितिको निर्णय तथा लो.से.आ.को उजूरी निर्णय समेत बदर गरी निवेदकलाई उपरोक्त बमोजिमको पुनः मूल्यांकन गर्दा बढुवाको पहिलो नं. मा पर्ने हुँदा सो बमोजिम नियुक्ति दिनु भनी परमादेश तथा निवेदनको अन्तिम टुंगो नलागेसम्म बढुवा नियुक्ति नगर्नु नगराउनु भन्ने विपक्षीहरुका नाममा अन्तरिम आदेश समेत जारी गरिपाउँ भन्ने समेत रिटनिवेदन ।

५.    विपक्षीहरुबाट लिखितजवाफ मगाई आएपछि वा अवधि नाघेपछि पेश गर्नु साथै यो रिटनिवेदनको अन्तिम टुंगो नलागेसम्म यसमा उल्लेख भएको पदमा नियुक्ति नदिनु भनी शिक्षा तथा संस्कृति मन्त्रालयका नाममा अन्तरिम आदेश समेत जारी हुने ठहर्छ भन्ने समेत यस अदालत एक न्यायाधीशको इजलाशको आदेश ।

६.    विपक्षी निवेदकले कूल अंक २४६.०५२ पाउनुपर्ने भनेकोमा निजलाई देहायबमोजिम अंक दिइएको ।

(क)   ज्येष्ठता मिति २०२८।११।२३ देखि ०२९।१२।२ सम्मको अस्थायीको ६६% ले २.७३२ र स्थायी सेवा अवधि १३ वर्ष ३ महीना २८ दिनको जम्मा ५६.०४३ प्राप्त गरेकोले कम दिएको भन्ने दावी निराधार छ ।

(ख)   वर्गीकृत २०२८।११।२३ देखि २०२९।१२।२ सम्म अस्थायीको (ङ) वर्गमा काम गरेकोमा .६८३ अंक र २०२९।१२।३ देखि २०३०।२।१० काभ्रेमा काम गरेको वर्ष दिन नपुगेकोले अंक नपाउने तथा २०३०।२।११ देखि २०३०।११।१५ सम्म पा.पा. तथा नि.वि. केन्द्रमा काज बसी कार्य गरेको र त्यसपछि आफ्नो पदस्थापना भएको कार्यालय काभ्रेमा कार्य गरेकोले केन्द्रमा काम गरेको वर्ष दिन नपुगेकोले सो को पनि अंक नपाउने । मिति २०३०।११।१६ देखि २०३६।१०।२० सम्म काभ्रे तथा कास्कीमा बसेको र एउटै वर्ग हुँदा वर्षको २ अंकको दरले अंक पाएको २०३६।१०।२१ देखि ०४३।३।३१ (मूल्यांकन हुने मिति) सम्म काठमाडौंमा बसी काम गरेकोले वर्षको १ अंकका दरले पाएको । यसरी वर्गीकृत क्षेत्रमा काम गरे बापत कूल १८.९८८ मात्र पाउने हुँदा कम पाएको भन्न नमिल्ने ।

(ग)   शैक्षिक योग्यतामा पाएको अंकमा विवाद नभएको ।

(घ)   कार्य सम्पादन मूल्यांकन बापत पाउने अंक गोप्य हुने र विपक्षी निवेदकको दावी पनि सही नभएको ।

७.    सिफारिश क्रम १ मा परेको श्री बालकृष्ण श्रेष्ठलाई बढी अंक दिएको भन्ने सम्बन्धमा २०२८।११।२३ देखि २०२९।१२।२ सम्म अस्थायी भई केन्द्रमा काम गरेको .६८३ अंक पाएको मिति २०२९।१२।३ देखि स्थायी नियुक्ति पाई जुम्लामा पदस्थापना भएको र २०३१।२।२८ मा पा.पा. तथा नि.वि. केन्द्रमा सरुवा भएको हुँदा सो को जम्मा ६.१८३ अंक पाएको । मिति २०३१।२।२९ देखि २०४३।३।३१ सम्म काठमाडौंमा काम गरेको १२.०९८ अंक पाई जम्मा १८.९६४ अंक पाएको हुँदा कम पाउनु पर्छ भन्ने दावी निराधार ।

८.    उपरोक्त बमोजिम बढुवा समितिले उम्मेदवारहरुको व्यक्तिगत फाइलको आधारमा नि.से.नि. बमोजिम नै मूल्यांकन गरी बढुवा गरेको साथै लो.से.आ.बाट समेत हेरफेर गर्न नपर्ने निर्णय भएको हुँदा रिटनिवेदन खारेज गरिपाउँ भन्ने समेत शिक्षा तथा संस्कृति मन्त्रालयको लिखितजवाफ ।

९.    नि.से.नि. अनुसारको बढुवा उजूरीको सिलसिलामा रिट निवेदक र सिफारिश क्रममा उम्मेदवारहरु समेतको व्यक्तिगत फाइल झिकाई अंक गणना गरी हेर्दा रिट निवेदकले प्राप्त गर्ने अंक सिफारिश क्रममा परेका उम्मेदवारहरुको भन्दा घटी नै कायम हुन आएको हुँदा आयोगबाट सिफारिश क्रममा हेरफेर गर्नु नपर्ने भनी कानुनको परिधि भित्रै रही निर्णय भएको हुँदा रिटनिवेदन खारेज गरिपाउँ भन्ने समेत लोकसेवा आयोगको लिखितजवाफ ।

१०.    कुन मापदण्ड र के को आधारमा बढी अंक पाउनु पर्ने रिटनिवेदनमा खुल्दैन । ज्येष्ठता बापत पनि विपक्षीले दावी लिएको बढी अंक पाउने देखिँदैन । अस्थायी र स्थायीमा काम गरेको भौगोलिक क्षेत्रको दृष्टिकोणबाट नाता टुटी सकेको हुने हुँदा सो को अंक दावी गर्न मिल्दैन । का.स.मु. बापत ११२ अंक दावी लिन मिल्ने हैन । भौगोलिक क्षेत्र तथा ज्येष्ठता बापत म तथा रिट निवेदकले एकै अंक पाउनु पर्ने हो । यस प्रकार विपक्षीको भन्दा मेरो अंक बढी हुने भई बढुवा पाएको हुँदा रिटनिवेदन खारेज गरिपाउँ भन्ने समेत शम्भुप्रसाद लोहनीको लिखितजवाफ ।

११.    विपक्षी पदस्थापना भएको क्षेत्र काभ्रेमा गई काम गरेको नदेखिँदा सो बापतको अंक पाउन सक्ने अवस्थै छैन । का.स.मु. बापत ११२ अंक पाउनु पर्ने भन्ने दावी उपयुक्त छैन । विपक्षीले कूल २४६.०५२ अंक पाउने कुनै आधार छैन । मेरो २०२९।१२।३ देखि २०३१।२।२८ सम्म जुम्लामा पदस्थापना रहेको हुँदा सोबमोजिमको अंक नपाउने भन्नमिल्दैन । सोही ठाउँबाट तलब खाएको छु । बिदामा बसेको दिन बाहेक गर्न मिल्ने हैन । यस प्रकार मैले पाएका अंकहरुको आधारमा मलाई बढुवा दिएको उपयुक्त नै हुँदा रिटनिवेदन खारेज गरिपाउँ भन्ने समेत बालकृष्ण श्रेष्ठको लिखितजवाफ ।

१२.   नियम बमोजिम दैनिक पेशी सूचीमा चढी पेश हुन आएको प्रस्तुत मुद्दाको मिसिल प्रमाण अध्ययन गरी रिट निवेदकका तर्फबाट रहनु भएका विद्वान वरिष्ठ अधिवक्ता श्री शम्भुप्रसाद ज्ञवाली एवं विद्वान वरिष्ठ अधिवक्ता श्री रतनलाल कनौडिया तथा विपक्षी कार्यालयहरुको तर्फबाट खटिई उपस्थित हुनुभएका विद्वान सहन्यायाधिवक्ता श्री बलराम के.सी. साथै विपक्षी बालकृष्ण श्रेष्ठको तर्फबाट उपस्थित हुनुभएका विद्वान वरिष्ठ अधिवक्ता श्री मुकुन्द रेग्मी विपक्षी शम्भुप्रसाद लोहनीको तर्फबाट उपस्थित विद्वान अधिवक्ता श्री गोपालप्रसाद भण्डारी एवं विद्वान अधिवक्ता श्री सिन्धुनाथ प्याकुरेलले प्रस्तुत गर्नुभएको बहस जिकिर समेत सुनी आज निर्णय सुनाउने तारेख तोकिएको प्रस्तुत रिटनिवेदनमा निवेदकको माग बमोजिमको आदेश जारी गर्न मिल्ने नमिल्ने के रहेछ सो को निर्णय दिनु पर्ने हुन आएको छ ।

१३.   निर्णयतर्फ विचार गर्दा मैले पाउनु पर्ने ज्येष्ठता एवं भौगोलिक क्षेत्रमा गई काम गरेको अनुभव बापतको अंक नियमानुसार नपाई कम पाएको साथै बढुवा सिफारिश क्रम नं. १ मा पर्ने बालकृष्ण श्रेष्ठलाई शिक्षा शाखा जुम्लामा काम गरेको १ वर्ष भन्दा कम भन्दा कम अवधिको भौगोलिक क्षेत्र बापतको अंक दिएको नमिलेको भन्ने मुख्य रिटनिवेदन जिकिर देखिन्छ । यसमा के कसो रहेछ भनी म.न्या.का. मार्फत झिकाई आएको बढुवा सम्बन्धी फाइल तथा निवेदिकाको व्यक्तिगत फाइल हेर्दा निजले नियमानुसार पाउनु पर्ने ज्येष्ठता एवं भौगोलिक क्षेत्रमा गई काम गरेको अनुभव बापतको अंक भन्दा कम अंक पाएको देखिँदैन भने का.स.मु. बापत अधिकतम अंक ११२ पाउनु पर्ने भन्ने निवेदन जिकिर रहेकोमा सो बमोजिमको अंक पाएको पनि देखिन आएन । साथै निजले पाएका सम्पूर्ण मूल्यांकन सम्बन्धी अंकको गणना पनि मिलेकै देखिएबाट नियमानुसार निवेदकले पाउनु पर्ने अंक भन्दा कम अंक पाएको भन्न मिल्ने स्थिति रहेन । त्यस्तै विपक्षी मध्येका शम्भुप्रसाद लोहनीको व्यक्तिगत फाइल हेर्दा पनि नियमानुसार निजले पाएका अंकहरुको जोड मिलेकै देखिन्छ । अब विपक्षी बालकृष्ण श्रेष्ठले शिक्षा शाखा जुम्लामा कार्यरत रहेको अवस्थाको भौगोलिक क्षेत्र बापतको अंक पाउन सक्ने हो होइन भन्नेतर्फ हेर्दा निज बालकृष्ण श्रेष्ठको पदस्थापन मिति २०२९।१२।३ देखि २०३१।२।२८ सम्म अर्थात् १ वर्ष भन्दा बढी अवधिसम्म शिक्षा शाखा जुम्लामा रहेको देखिन्छ । यस्तोमा शिक्षा तथा संस्कृति मन्त्रालय काठमाडौंबाट सरुवा भई रवानापत्र बुझेको मितिदेखि जुम्लामा हाजिर हुनु अगाडिसम्मको अवधि साथै जुम्लामा कार्यरत रहँदाको अवस्थामा लिएका बिदा अवधिलाई जुम्लामै कार्यरत रहेको मानी अंक दिन नमिल्ने भन्ने निवेदन जिकिर पनि कानुनसंगत मान्न मिल्दैन । किनभने नि.से.नि. बमोजिम एक कार्यालयबाट सरुवा भई रवानापत्र बुझेपछि सो कर्मचारी सरुवा भई जाने कार्यालयको मान्नु पर्ने र निजले सरुवा भएको कार्यालयमा पुग्ने बाटो म्याद पाउने भई सो अवधिको सुविधा सहुलियत पनि सोही सरुवा भई जाने कार्यालयबाटै पाउने हुन्छ त्यस्तै कुनै पनि कर्मचारीले आफू कार्यरत रहेको कार्यालयबाट नि.से.नि. बमोजिम बिदा सहुलियत पाउने नै हुँदा सो समयमा लिएका बिदा अवधि कार्यरत रहेको अवधिबाट बाहेक गर्नुपर्ने भन्ने जिकिर पनि मिल्ने देखिन आएन । रिट निवेदक तर्फबाट प्रस्तुत गरिएको २०४३ साल को रि.नं. १५५८ निर्णय मिति २०४५।६।१६ मा प्रतिपादित नजीर पनि यस सन्दर्भमा आकृष्ट हुने देखिँदैन । उक्त रिटमा कर्मचारी पदस्थापन भएको कार्यालयबाट अन्य कार्यालयमा काजमा गई सोही काजमा रहेको कार्यालयबाटै बिदामा बसेको हुँदा उक्त अवधिलाई पदस्थापन भएको कार्यालयमा रुजू हाजिर रहेको मानी अंक दिन नमिल्ने भनी निर्णय भएको देखिन्छ जुन अवस्था प्रस्तुत रिटनिवेदनमा रहेको छैन । अतः विपक्षी बालकृष्ण श्रेष्ठलाई निज शिक्षा शाखा जुम्लामा पदस्थापन भएको मिति २०२९।१२।३ देखि २०३१।२।२८ सम्मको भौगोलिक क्षेत्र बापतको अंक दिएको मिलेकै देखिन्छ । यस प्रकार नियमानुसार पाएका अंकको आधारमा शिक्षा तथा संस्कृति मन्त्रालय बढुवा समितिबाट भएको मिति २०४३।१२।२२ मा गो.प. मा प्रकाशित सूचना बमोजिमको बढुवा निर्णय तथा सो निर्णयमा हेरफेर गर्न नपर्ने भनी लोकसेवा आयोगबाट भएको उजूरी निर्णय मिलेकै देखिँदा रिट निवेदकको माग बमोजिमको आदेश जारी गर्न मिलेन । प्रस्तुत रिटनिवेदन खारेज हुने ठहर्छ । मिसिल नियमानुसार गरी बुझाई दिनु ।

 

उक्त रायमा म सहमत छु ।

 

न्या.रुद्रबहादुर सिंह

 

इति सम्वत् २०४६ साल ज्येष्ठ १ गते रोज १ शुभम् ।

 

 

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु