निर्णय नं. ३७३९ - उत्प्रेषण

निर्णय नं. ३७३९ ने.का.प. २०४६ अङ्क २
संयुक्त इजलास
माननीय न्यायाधीश श्री पृथ्वीबहादुर सिंह
माननीय न्यायाधीश श्री हरगोविन्द सिंह प्रधान
सम्वत् २०४५ सालको रि.नं. १८९७
आदेश भएको मिति : २०४६।१।२०।३ मा
निवेदक : का.जि.का.न.पं. वडा नं. १५ विजेश्वरी बस्ने केदारप्रसाद शर्मा
विरुद्ध
विपक्षी : मध्य क्षेत्र प्रहरी कार्यालयसमेत
विषय : उत्प्रेषण
(१) पर्चा खडा गरी सो पर्चामा कारण समेत उल्लेख गरेको अवस्थामा निवेदकको जिकिर बमोजिम सफाईको मौका दिन पर्ने बाध्यात्मक व्यवस्था नदेखिएबाट निवेदकको माग बमोजिमको आदेश जारी गर्न नमिल्ने ।
(प्रकरण नं. ९)
निवेदक तर्फबाट : विद्वान अधिवक्ता श्री शुशिल पन्त
विपक्षीतर्फबाट : विद्वान का.मु. सहन्यायाधिवक्ता श्री कृष्णराम श्रेष्ठ
आदेश
न्या.पृथ्वीबहादुर सिंह
१. नेपालको संविधानको धारा १६।७१ अन्तर्गत पर्न आएको प्रस्तुत रिटनिवेदनको संक्षिप्त तथ्य तथा निवेदन जिकिर यस प्रकार रहेछ ।
२. मध्य क्षेत्र प्रहरी कार्यालयले २०४४।१०।१२।३ मा बिना कारण मेरो प्र.स.नि. पदबाट मलाई भविष्यमा सरकारी नोकरीको निमित्त सामान्यतः अयोग्य ठहरिने गरी नोकरीबाट हटाएकोमा मैले विपक्षी प्रहरी प्रधान कार्यालयका प्रहरी महानिरीक्षक ज्यूमा पुनरावेदन चढाएकोमा अघिको निर्णय कायम नै राखी पुनरावेदन खारेज गरिएको पत्र मलाई प्राप्त भएकोले अन्य कानुनी उपचारको बाटो नहुँदा सम्मानीत अदालतको शरणमा आएको छु ।
३. म निवेदक प्रहरी सेवामा कार्यरत भई सदरखोर शाखा डिल्ली बजारमा आफ्नो डिउटीमा रहेको अवस्थामा म.क्षे.प्र.का. काठमाडौंले प्रहरी नियमावली, २०३३ को परिच्छेद ९ को नियम ९.५ को देहाय (क) र (ङ) को कसूर गरेको ठहर गरी ऐ. नियमावलीको नियम ९.१ को देहाय ६ बमोजिम भविष्यमा सामान्यतः सरकारी नोकरीको लागि अयोग्य ठहरिने गरी निर्णय गरेको छ जुन प्राकृतिक न्याय सिद्धान्त विपरीत छ । मलाई कुनै जानकारी नदिई मलाई लागेको आरोपको प्रतिवादको मौका नै नदिई निर्णय गरिएको छ । जुन प्रहरी नियमावलीको नियम ९.९.६ को समेत खिलापमा छ । अतः म.क्षे.प्र.का. को २०४४।१०।१२ को निर्णय उत्प्रेषणको आदेशद्वारा बदर गरी पुनः प्रहरी स.नि. पदमा बहाल गराउनु भन्ने परमादेश समेतको आज्ञा, आदेश जारी गरिपाउँ भन्ने समेतको रिटनिवेदन जिकिर ।
४. विपक्षीबाट लिखितजवाफ मगाउने भन्नेसमेतको यस अदालत एक न्यायाधीशको इजलासको आदेश ।
५. २०४४।१०।१० गते ९:३० बजे डिल्ली बजार खोरमा थुनामा रहेका बन्दी जगत गौचनलाई दाँतको उपचार गराउन पाटन अस्पतालमा लगी ल्याउन निवेदकको कमाण्डमा १।३ हतियार सहितको मद्दत खटाई पठाएकोमा अस्पताल पुर्याई बन्दीलाई फर्काएर ल्याउँदा थापाथली निर आइपुगे पछि सार्कमा बनेको बाटो हेर्दै जाउँ भनेपछि हुन्छ भनी लाजिम्पाट पुगी बन्दीले मेरो क्लब यही हो काम गर्नेलाई केही सम्झाई बुझाई आउ भनेकोले बन्दीलाई क्लब भित्र लगी विदेशी तथा नेपाली केटासंग आधा घण्टा कुराकानी गराई १:३० बजे खोरमा आएको भन्ने कुरा खटिइएका सबै जवान र रिट निवेदकको कागजबाट पुष्टी भएकोले आफ्नो कर्तव्य विपरीत कार्य गरेकोले सेवाबाट बर्खास्त गरिएको हो भन्नेसमेतको मध्यक्षेत्र प्र.का.काठमाडौंको लिखितजवाफ ।
६. बन्दी जगत गौचनको मोलाहिजामा लागी कोही कसैको आदेश बेगर विदेशीसंग गोप्य कुराकानी गर्न सहयोग पुर्याएबाट प्रहरी फोर्सबाट बर्खास्त गरेको मनासिब ठहर्याएको भन्ने समेतको प्रहरी प्रधान कार्यालयको लिखितजवाफ ।
७. नियम बमोजिम दैनिक पेशी सूचीमा चढी पेश हुन आएको प्रस्तुत रिटनिवदेनमा निवेदकका तर्फबाट रहनु भएका विद्वान अधिवक्ता श्री शुशिल पन्त र विपक्षी कार्यालयका तर्फबाट उपस्थित विद्वान का.मु. सहन्यायाधिवक्ता श्री कृष्णराम श्रेष्ठले गर्नुभएको बहस समेत सुनियो ।
८. अब प्रस्तुत रिटनिवेदनमा निवेदकको माग बमोजिमको आदेश जारी गर्न मिल्ने नमिल्ने के रहेछ भन्ने कुराको निर्णय दिनु परेको छ ।
९. निर्णयतर्फ विचार गर्दा यसमा मिति २०४४।१०।१० गते बन्दी जगत गौचनलाई उपचारको लागि पाटन अस्पतालमा लगी ल्याउन निवेदक समेतलाई खटाई पठाएको देखिन्छ । त्यसरी पठाएकोमा पाटन अस्पताल लगी फिर्ता लिई आउँदा बन्दी जगत गौचनले भने बमोजिम गरी बन्दीको लाजिम्पाटको क्लबमा लगी त्यहाँ उपस्थित विदेशी तथा स्वदेशी केटाहरुसंग गोप्य कुराकानी गर्न दिई त्यसपछि मात्र डिल्लीबजार खोरमा ल्याई बुझाएको भन्ने देखिन्छ । त्यसरी लाजिम्पाटको निज बन्दीको क्लबमा लगी ल्याएपछि पनि निवेदकले सो कुराको जानकारी मुख्य इन्चार्जलाई गराएको देखिँदैन । निवेदक समेतले आदेश बेगर बन्दीको भनाईमा लागी कार्य गरेको र सो को जानकारी समेत आफ्नो इन्चार्जलाई नगराई आफ्नो कर्तव्य विपरीत कार्य गरी आफ्नो पद अनुसारको जिम्मेवारी बहन गर्न नसकी प्रहरी नियमावली, २०३३ को परिच्छेद ९ को नियम ९ को देहाय (क) र (ङ) को कसूर गरेको ठहर गरी नोकरीबाट हटाउने गरी म.क्षे.प्र.का. बाट निर्णय गरिएको देखिन्छ । त्यसरी निर्णय गर्दा निवेदकलाई सफाईको मौका नदिएको भन्ने निवेदन जिकिरको हकमा निवेदक समेतले गरेको कसूर समेतको उल्लेख गरी पर्चा खडा गरेको देखिन आएको छ । पर्चा खडा गरी सो पर्चामा कारण समेत उल्लेख गरेको अवस्थामा निवेदकको जिकिर बमोजिम सफाईको मौका दिन पर्ने बाध्यात्मक व्यवस्था नदेखिएबाट निवेदकको माग बमोजिमको आदेश जारी गर्न मिलेन । प्रस्तुत रिटनिवेदन खारेज हुने ठहर्छ । फायल नियम बमोजिम गरी बुझाई दिनु ।
उक्त रायमा म सहमत छु ।
न्या. हरगोविन्द सिंह प्रधान
इति सम्वत् २०४६ साल बैशाख २० गते रोज ३ शुभम् ।