शब्दबाट फैसला खोज्‍नुहोस्

निर्णय नं. ३७४० - उत्प्रेषण लगायत जो चाहिने उपयुक्त आदेश जारी गरिपाउँ

भाग: ३१ साल: २०४६ महिना: जेष्ठ अंक:

निर्णय नं. ३७४०    ने.का.प. २०४६      अङ्क २

 

संयुक्त इजलास

माननीय न्यायाधीश श्री पृथ्वीबहादुर सिंह

माननीय न्यायाधीश श्री रुद्रबहादुर सिंह

सम्वत् २०४४ को रि.नं. १६४०

आदेश भएको मिति : २०४५।११।१५।१ मा

निवेदक : पर्सा जिल्ला पार्सेनी विर्ता गा.पं. वा.नं. ७ बस्ने दिनानाथप्रसाद साह

विरुद्ध

विपक्षी : कृषि औजार कारखाना लि. वीरगंजसमेत

विषय : उत्प्रेषण लगायत जो चाहिने उपयुक्त आदेश जारी गरिपाउँ

(१)    संस्थानमा कर्मचारीको नियुक्ति, बढुवा र सजायँ सम्बन्धी सामान्य सिद्धान्तको दफा ६.८.१ बमोजिम कारवाही गरी निवेदकलाई सेवाबाट हटाएको भन्ने कतैबाट देखिन नआएको स्थितिमा निवेदकलाई कानुन बमोजिम प्रशासनिक कारवाही गरी अवकाश दिएको भन्न नमिल्ने ।

(प्रकरण नं. ७)

निवेदक तर्फबाट : विद्वान अधिवक्ता श्री चुडामणीराज सिंह मल्ल, विद्वान अधिवक्ता श्री सुनिल    अधिकारी

विपक्षीतर्फबाट : विद्वान अधिवक्ता श्री दमन ढुंगाना

आदेश

न्या.पृथ्वीबहादुर सिंह

१.     नेपालको संविधानको धारा १६।७१ अन्तर्गत पर्न आएको प्रस्तुत रिटनिवेदनको संक्षिप्त व्यहोरा यस प्रकार रहेछ ।

२.    म कृषि औजार कारखानाको सहायक स्तर पाँचौ तहको वरिष्ठ बिक्री सहायक पदमा २०४१।१।१९ को निर्णयानुसार नियुक्ति पाई सेवा गर्दै आएकोमा मिति २०४३।६।२१ को निर्णयानुसार शाखा कार्यालय नेपालगंजमा काम गर्ने गरी काजमा खटाइएकोले २०४३।७।११ मा हाजिर भएपछि अचानक बिरामी परेकोले सोको जानकारी हुलाकबाट २०४३।७।१३ मा रजिष्ट्री गरी पठाएको र त्यसपछि पनि बारबार जानकारी पठाउँदै आएकोमा २०४३।७।१२ देखि शाखा कार्यालय नेपालगंजमा किन हाजिर हुन नजानु भएको हो ७ दिन भित्र स्पष्टीकरण दिनु होला भन्ने उल्लेख गरिएको २०४३।१२।१९ को एक मात्र स्पष्टीकरण ०४३।१२।२९ मा प्राप्त भएकोले स्वास्थ्य लाभ हुनासाथ हाजिर हुन आउने छु भनी ०४४।१।२ मा हुलाक मार्फत स्पष्टीकरण पठाएको थिएँ । मैले विरामी परेकोले कार्यालयमा उपस्थित हुन असमर्थ भएको र स्वास्थ्य लाभ हुनासाथ हाजिर हुनेछ भनी दिएको स्पष्टीकरणको कुनै वास्तै नगरी तपाई ०४३।७।१२ देखि बिना सूचना कार्यालयमा अनुपस्थित रहनु भएकोमा काममा बाधा परिरहेको व्यहोरा उल्लेख गरी तपाईको घर ठेगानामा हाजिर हुन आउनु भनी बारम्बार पत्र पठाउँदा समेत अटेर गरी हाजिर हुन नआउनु भएको र कारखानाको कर्मचारी नियमावली, २०४० को परिच्छेद ३ को दफा १५ को १ बमोजिम त्यसरी गयल हुने कर्मचारीको तलब कट्टा गर्ने वा सजायँ गर्न सकिने तथा कर्मचारी नियमावली परिच्छेद ३ को दफा ९ अनुसार कुनै पनि कर्मचारीले नोकरी अवधिभरमा केवल १ वर्षमा नबढाई वेतलबी वा असाधारण बिदा पाउन सक्ने व्यवस्था भएकोमा तपाई सो भन्दा बढी अवधि गैरहाजिर हुनुभएको हुँदा ०४४।४।१९ को निर्णयानुसार ०४४।४।१९ देखि नै लागू हुने गरी कारखानाको सेवाबाट स्वतः अवकाश दिइएको छ भन्ने उल्लेख गरी ०४४।४।२८ मा पत्र प्राप्त हुन आएकोले उक्त निर्णय उपर पुनरावेदन दिएको ०४४।८।७ को निर्णयानुसार खारेज गरिएको छ भनी ०४४।८।१४ मा पत्र प्राप्त भएको र नियमावलीको दफा ८.८.८, ६.६.८(१)(२)(३) बमोजिम सेवाबाट अवकाश दिंदा दिनु पर्ने सफाईको मौका समेत नदिई दफा ६.५.२ बमोजिम अनाधिकृत व्यक्तिबाट भएको उक्त गैरकानुनी  निर्णयहरुले मेरो संविधान प्रदत्त मौलिक हकमा आघात पर्न गएको हुँदा नेपालको संविधानको धारा १६।७१ बमोजिम उत्प्रेषणको आदेश जारी गरी उक्त निर्णयहरु बदर गरी पुनःनिवेदकलाई सेवामा बहाल गराउनु भन्ने परमादेशको आदेशसमेत जारी गरिपाउँ भन्ने रिटनिवेदन ।

३.    विपक्षीहरुबाट लिखितजवाफ मगाउने भन्ने ०४४।९।१२ मा भएको यस अदालत एक न्यायाधीशको इजलासको आदेश ।

४.    निवेदक कारखानाको नियमावली बमोजिम स्पष्टीकरण सोद्धा समेत हाजिर हुन नआएकोले र कृषि औजार कारखाना वीरगंजको कार्यालय प्रमुख र संस्था प्रमुख समेत महाप्रबन्धक नै भएको हुँदा महाप्रबन्धकको निर्णयबाट निजलाई स्वतः अवकाश दिएको कानुन अनुकूल नै हुँदा रिट खारेज गरिपाउँ भन्ने लिखितजवाफ ।

५.    नियम बमोजिम दैनिक पेशी सूचीमा चढी पेश हुन आएको प्रस्तुत रिटनिवेदनमा फाइल संलग्न कागजहरु अध्ययन गरी निवेदकतर्फका विद्वान अधिवक्ता श्री चुडामणीराज सिंह मल्लले निवेदकलाई नियमावली बमोजिमको प्रकृया नअपनाई प्राकृतिक न्यायको विपरीत अनाधिकृत व्यक्तिको निर्णयबाट सेवाबाट हटाएको गैरकानुनी छ । निवेदकतर्फकै विद्वान अधिवक्ता श्री सुनिल अधिकारीले निवेदकलाई कार्यालय प्रमुखको निर्णयले हटाएको नहुँदा उक्त निर्णय गैरकानुनी छ भन्ने तथा विपक्षी तर्फका विद्वान अधिवक्ता श्री दमन ढुंगानाले निवेदक गैरहाजिर भएको हुँदा विभागीय कारवाही नगरी स्वतः सेवाबाट हटाइएको कानुन अनुकूल नै छ भनी गर्नुभएको बहस समेत सुनियो ।

६.    अब प्रस्तुत निवेदनमा निवेदक माग बमोजिमको आदेश जारी गर्नु पर्ने नपर्ने के रहेछ सो को निर्णय दिनु पर्ने हुन आएको छ ।

७.    निर्णयतर्फ विचार गर्दा यसमा निवेदकलाई कृषि औजार कारखानाको सेवाबाट अवकाश दिएकोमा विवाद देखिँदैन । कृषि औजार कारखानाले गैरकानुनी तवरबाट सेवाबाट अवकाश दियो भन्ने निवेदकको भनाई भएकोमा कानुन बमोजिम नै सेवाबाट अवकाश दिएको हो भन्ने लिखितजवाफबाट देखिन्छ । अब निवेदकलाई सेवाबाट दिएको अवकाश कानुन अनुकूल छ छैन भन्ने तर्फ हेर्दा कारखानाको कर्मचारी सेवा शर्त नियमावली, २०४० को नियम ३.९ मा तमाम नोकरी अवधि भरमा १ वर्षसम्म वेतलवी विदा पाउन सक्नेछन भन्ने व्यवस्था भएको पाइन्छ । नियम ३.१५ मा नियमावली बमोजिम बिदा नलिई गयल हुने कर्मचारीलाई गयल गरी तलब कट्टा गर्न वा सजायँ गर्न सकिने छ भन्ने उल्लेख भएको देखिन्छ । निवेदकलाई बिदा लिन पाउने अवधि भन्दा बढी समय अनुपस्थित भएको भनी अवकाश दिएको छ । नियमावलीको अवकाश सम्बन्धी कानुनी व्यवस्था हेर्दा नियम ६(१) मा ६० वर्ष उमेर पुगेका कर्मचारी र नियम ६(२) मा कुनै कर्मचारी बहाल रहेको पदको सेवा कारखानालाई आवश्यक नदेखिएमा वा सो पद नै खारेज भएमा मात्र अवकाश दिन सकिने उल्लेख भएको देखिन्छ । सो व्यवस्था मुताविक निवेदकलाई सेवाबाट अवकाश दिएको देखिन आएन । निवेदकलाई विभागीय कारवाही गरी हटाएको हो की भन्नलाई नियमको ८.१ मा विभागीय कारवाही सामान्य सिद्धान्त अनुसार हुनेछ भन्ने उल्लेख भएको र संस्थानमा कर्मचारीहरुको नियुक्ति बढुवा र सजायँ सम्बन्धी कारवाही सामान्य सिद्धान्तको ६.८ मा सजायँ सम्बन्धी कार्यविधि तोकिएको छ । ऐ. ६.८.१ मा कर्मचारीलाई सजायँको आदेश दिनु अघि कारवाही गर्न लागिएको कारण उल्लेख गरी आफ्नो सफाई पेश गर्ने मौका दिनुपर्दछ भन्ने उल्लेख भएको पाइन्छ । सो बमोजिम कारवाही गरी निवेदकलाई सेवाबाट हटाएको भन्ने कतैबाट देखिन नआएको यस स्थितिमा निवेदकलाई कानुन बमोजिम प्रशासकीय कारवाही गरी अवकाश दिएको भन्न मिल्ने देखिन आएन । तसर्थ नियम ३.१५ बमोजिम गरेको नदेखिएकोले निवेदकलाई सेवाबाट अवकाश दिने गरी ०४४।४।१९ मा गरिएको निर्णय तथा ०४४।८।१४ को पुनरावेदन खारेज गर्ने गरेको समेत निर्णय गैरकानुनी हुँदा उत्प्रेषणको आदेशद्वारा बदर गरी दिएको छ । पुनः कानुन बमोजिम गर्नु भन्ने विपक्षीका नाउँमा परमादेशको आदेश समेत जारी हुने ठहर्छ । मिसिल नियमानुसार गरी बुझाई दिनु ।

 

उक्त रायमा म सहमत छु ।

 

न्या. रुद्रबहादुर सिंह

 

इति सम्वत् २०४५ साल फाल्गुण १५ गते रोज १ शुभम् ।

 

 

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु