शब्दबाट फैसला खोज्‍नुहोस्

निर्णय नं. ३७४३ - लेनदेन जालसाज

भाग: ३१ साल: २०४६ महिना: जेष्ठ अंक:

निर्णय नं. ३७४३    ने.का.प. २०४६      अङ्क २

 

संयुक्त इजलास

माननीय न्यायाधीश श्री पृथ्वीबहादुर सिंह

माननीय न्यायाधीश श्री हरगोविन्द सिंह प्रधान

सम्वत् २०४४ सालको दे.पु.नं. ८८५

फैसला भएको मिति : २०४६।१।१४ मा

पुनरावेदक/वादी : जि. सिरहा हरकट्टी गा.पं. वार्ड नं. ७ बस्ने सबूरदेवी यादवनीसमेत

विरुद्ध

विपक्षी/प्रतिवादी : ऐ. ऐ. बस्ने केशरवति यादवनी

मुद्दा : लेनदेन जालसाज

(१)    सहिछाप गरेको देखिए पनि वास्तविक रुपमा लेनदेन नभएको देखिन आएबाट तमसुक बमोजिमको थैली भराई पाउँ भन्ने वादी दावा पुग्न नसक्ने ।

 (प्रकरण नं. १५)

(२)   लेनदेन नै नभएकोमा लेनदेन भएको तमसुक खडा गरेको हुँदा जालसाजी गरेको हैन भन्न   नसकिने ।

(प्रकरण नं. १६)

पुनरावेदन वादी तर्फबाट : विद्वान वरिष्ठ अधिवक्ता श्री कुञ्जविहारी प्रसाद सिंह

विपक्षी प्रतिवादी तर्फबाट : विद्वान अधिवक्ता श्री पवनकुमार ओझा

फैसला

न्या.पृथ्वीबहादुर सिंह

१.     पूर्वाञ्चल क्षेत्रीय अदालतको फैसला उपर पुनरावेदनको अनुमति प्राप्त गरी पेश हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त व्यहोरा यस प्रकार रहेछ ।

२.    विपक्षीको स्वर्गीय पति भगिरथ यादवले घर खर्च गर्न भनी म संग रु. ५२,२०१।बुझी लिई सो को ब्याज लगाई साँवा ब्याज समेत २०३८ साल पौष मसान्त सम्ममा बुझाउने गरी ०३८ साल बैशाख २ गतेमा रीतपूर्वकको कपाली तमसुक लेखी मलाई दिनुभयो र भाका बाद साँवा ब्याजको हुने थैली बुझाई दिनुहोस् भनी निज भगिरथ यादवलाई बराबर तरतागेता गर्दा टारवार गरी सो थैली बुझाउन नपाउँदै निजको ०३९ साल श्रावण १२ गतेका दिन आफ्नो कालगतिले मृत्यु भयो । निजको काजकृया खतिउपति खाने विपक्षी श्रीमती नै हुनाले मेरो साँवा ब्याज समेत बुझाउनु होस भनी विपक्षीलाई भन्दा नबुझाई पचाउने नियत गरेकाले लेनदेन व्यवहारको २ नं. बमोजिम विपक्षी उपर फिराद गर्न आएको छु । मेरो प्रमाण बुझी साँवा रु. ५२,२०१।को लिखत मिति ०३८।१।२ गतेले आज ०३९।९।१२ गते सम्म १।८।१० को हुने दसौंद ब्याज रु. ८,८४५।१० र साँवा समेत जम्मा रु. ६१,०४६।१० र अन्तिम भरी भराउ मिति सम्मको हुने ब्याज समेत विपक्षीबाट दिलाई भराई पाउँ भन्ने समेत वादीको फिरादपत्र ।

३.    मेरा पति भगिरथ यादवले विपक्षीसंग ०३८।१।२ गतेका दिन कर्जा लिनु भएको र अन्य कुनै दिन समयमा कर्जा लिनु भएको छैन, होइन र पतिले आफ्नो होस हवास राजीखुशीबाट कुनै किसिमको लिखत विपक्षीलाई गरिदिनु भएको छैन । तसर्थ वादी दावीको रकम मैले, विपक्षीलाई बुझाउन पर्ने छैन । मेरो पति भगिरथ यादवको मृत्यु ७१ वर्षको उमेरमा ०३९ सालमा भएको हो । पित्तमा पत्थर र क्यान्सरबाट पिडीत हुनुहुन्थ्यो, वहाँको दुई पत्नीमा जेठी खैकी यादवनी र कान्छी म हुँ । खैकीबाट ५ छोरीमा जेठी सबुरदेवी मेरो सौतेनी छोरी हुन् जेठीबाट पुत्र नभएपछि निज पतिले २५ साल ज्येष्ठ महीनामा म संग विवाह गरेको मेरो गर्भबाट पनि छोरी ३ भएका विपक्षीको पति अर्थात् जुवाई रामप्रसाद यादव कृषि शाखामा जे.टि. पदमा कार्यरत छन् । राजविराजमा लोग्ने भगिरथ यादवलाई दरभंगा लिएर जान जुवाई रामप्रसादलाई सहयोगको रुपमा लिएर गएको पछि घर आएपछि पतिसंग केही जग्गा भाग मागेकोमा दिन नसक्ने कुरा गरेकोमा कुनै पनि तहबाट सम्पत्ति हत्याउने नियत वहाँहरुले लिनु भएको रहेछ । विपक्षी मेरामा भएका अवस्था विपक्षी सबुरदेवी निजको पति रामप्रसाद, सबुरदेवी, ठकाई यादव, रामनारायण यादव १, लक्ष्मण राय अमात समेत मिली ऋण तिर्न वारेशनामा भनी पोखरीमा लुगा धुन गएको मौका पारी पति भगिरथको ऋणीमा सहिछाप गराएका छन् । मेरा पतिको मरणासन्न अवस्थामा झुक्याई जालसाजीबाट सहिछाप गराएछ मलाई शंका लागी मैले जिल्ला कार्यालयमा निवेदन दिएकी छु । जालसाजी लिखत सहिछाप गरेकाले सो जालसाजी लिखत बदर गरी झुठ्ठा दावाबाट फुर्सद गरिपाउँ भन्ने समेत केशरवतीको प्रतिउत्तर ।

४.    लिखतमा भएको रेखात्मक लेखात्मक सहिछाप देखी पहिचान गरें त्यही छाप समेत भगिरथ यादवकै हो तर वादीबाट भगिरथ यादवले कुनै रकम कर्जा सापट लिएको छैन र भगिरथले वादीको नाउँमा प्रस्तुत लिखत राजीखुशीले होसहवासमा गरिदिएको होइन । प्रस्तुत कपाली तमसुक जालसाजी हो भन्ने समेत प्र.वा. शेखरकुमारको बयान ।

५.    प्रतिवादीको बयान झुठ्ठा हो । प्र.को लोग्ने भगिरथ यादवले वादीसंग थैली ५२,२०१।कर्जा लिई ०३८।१।२ गतेमा कपाली तमसुक लेखी दिएको सद्दे हो । दावा बमोजिमको बिगो भराई पाउँ भन्ने समेत वादीको बयान ।

६.    प्रतिवादीको बयान सुनें, वादी दावीको लिखतमा भगिरथ यादवले गरिदिएको सहिछाप हो । तर भगिरथ यादवले आफ्ना होसहवासमा लिखतमा सहिछाप गरेको छैन भन्ने होइन भगिरथ यादवले वादीको रुपैयाँ लिई आफ्ना राजीखुसी अवस्थामा लिखतमा सहिछाप गरेका हुन् । जालसाज गरेको होइन छैन । झुक्याई सहिछाप गरेको छैन भन्ने समेत रामनारायण, रामप्रसाद, ठकाई समेतको वा.उग्रनारायणको बयान ।

७.    मैले जालसाज गरेको छैन । लिखत सम्म मेरा हस्ताक्षरबाट लेखिएको हो । वादी प्रतिवादी मेरा जान पहिचानका मानिस हुन् र म लेखनदास काम गर्ने हुँदा मलाई कपाली तमसुक लेखी दिनुहोस भन्दा कपाली तमसुक सम्म लेखी दिएको हो । सो तमसुकमा कस्ले कसरी कहाँ ऋणीको सहिछाप गराए मलाई थाहा छैन । मैले र मेरो रोहवरमा सहिछाप भएको छैन, होइन भने समेत लक्ष्मण राय अमातको वारेश शिवचरणले गरेको बयान ।

८.    प्रस्तुत मुद्दामा वादी दावी अनुसार कारोबार गरिएको भनिए तापनि ऋणीको घर लिखत भएको भनिएकोले उक्त ठाउँको साक्षी हुनुपर्ने सो समेत नभई उक्त कुराको प्रष्टीकरण दिंदा साक्षीले गोरु किन्न जाँदा साक्षी बसेको भन्ने पाइएको छ, सबुरदेवीको कुनै गवाही उपस्थित नभएको रामप्रसादले जिल्ला कार्यालयमा लेनदेन कारोबार नभएको भनि निजले स्वीकार गरी कागज गरिदिएको र भगिरथको लिखत सहिछाप र विवादित लिखतको सहिछाप हेर्दा स्वतः फरक परेको देखिएकाले स्वभाविक रुपमा भएको नदेखिएको तथा बाबु छोरीमा साधारण औकातको छोरीले तेतिको ठुलो रुपैयाँ आफूभन्दा धनी बाबुलाई ब्याजको लोभले कारोबार गरेको भन्ने कुरा उपरोक्त कारणबाट सत्य प्रतित देखिँदैन । यसो हुँदा उक्त वादी दावी लिखत जालसाज ठहर्छ । वादी दावी बमोजिमको रुपैयाँ प्रतिवादीबाट भराई पाउँ भन्ने वादी दावी पुग्न सक्दैन भन्ने समेत शुरु सिरहा जिल्ला अदालतको ०४१।९।९ को फैसला ।

९.    वादी दावीको लिखत जालसाज ठहराई गरेको शुरु जिल्ला अदालतको फैसलामा हाम्रो चित्त बुझेन । सो फैसलामा बाबु छोरीमा पनि ठूलो रकम लेनदेन गरेको होला भन्ने कुरा पत्यार नपर्ने भन्ने जस्ता बुँदा छन् । अर्को साक्षीको भनाई लिएको लिखतले प्रमाणित भइरहेको कुरामा मौखिक भनाई आधार लिएको छ । अर्को जिल्ला कार्यालयमा रामप्रसादले लेनदेन नभएको भनी स्वीकार गरी कागज गरेको भनिएको छ तर कागज गरेको छैन । वादी दावी बमोजिमको साँवा ब्याज प्रतिवादीले तिर्नु बुझाउनु पर्ने गरी शुरु फैसला उल्टाई पाउँ भन्ने समेत वादीको पुनरावेदनपत्र ।

१०.    विवादित तमसुक जालसाज हुन् भन्न सकिने सबूदको अभाव देखिन्छ । तसर्थ शुरु इन्साफ मिलेको नदेखिएकाले छलफलको लागि अ.बं. २०१ नं. बमोजिम विपक्षी झिकाई आएपछि नियम बमोजिम पेश गर्नु भन्ने आदेश ।

११.    अरु शुरु जि.अ.को इन्साफ सदर हुने ठहर्छ प्र.रामप्रसादको हकमा जालसाज ठहराएको सम्म शुरु अदालतको फैसला केही उल्टी हुने ठहर्छ भन्ने समेतको पू.क्षे.अ.को फैसला ।

१२.   पू.क्षे.अ.को फैसलामा कानुनी त्रुटि हुँदा पुनरावेदनको अनुमति पाउँ भन्ने समेतको पुनरावेदक वादीहरुको यस अदालतमा निवेदन परी संयुक्त इजलास समक्ष पेश हुँदा पुनरावेदनको अनुमति दिइएको छ भन्ने आदेश भई पुनरावेदनको लगतमा दर्ता भएको रहेछ ।

१३.   नियम बमोजिम दैनिक मुद्दा पेशी सूचीमा चढी पेश हुन आएको प्रस्तुत मुद्दामा पुनरावेदक वादीहरुका तर्फबाट रहनु भएका विद्वान वरिष्ठ अधिवक्ता श्री कुञ्जविहारी प्रसाद सिंहले र विपक्षी प्रतिवादी तर्फबाट उपस्थित विद्वान अधिवक्ता श्री पवनकुमार ओझाले गर्नुभएको बहससमेत सुनियो ।

१४.   अब प्रस्तुत मुद्दामा पू.क्षे.अ.को इन्साफ मनासिब वा बेमनासिब के रहेछ भन्ने कुराको निर्णय दिनु परेको छ ।

१५.   निर्णयतर्फ विचार गर्दा यसमा विपक्षीको स्वर्गीय पति भगिरथले घर खर्च गर्न भनी म संग रु. ५२,२०१।बुझी लिई सो को साँवा व्याज २०३८ साल पौष मसान्त सम्ममा बुझाउने गरी २०३८।१।२ मा कपाली तमसुक लेखी दिएकोमा भाका पछि नबुझाउँदै ०३९।४।१२ मा भगिरथको मृत्यु भएको र विपक्षीले नबुझाएबाट सो दिलाई भराई पाउँ भन्ने वादीको दावी भएकोमा मेरा पतिले विपक्षीसंग कर्जा लिनु भएको छैन । होसहवास राजीखुशीबाट विपक्षीलाई लिखत गरीदिनु भएको छैन । २०३९ सालमा ७१ वर्षको उमेरमा पतिको मृत्यु भएको हो । विपक्षी सवुरदेवी समेत मिली ऋण तिर्न वारेसनामा भनी पोखरीमा लुगा धुन गएको मौका पारी पति भगिरथको ऋणीमा सहिछाप गराएका छन् । पति मरणासन्न रहेका बखत झुक्याई जालसाजीबाट सहिछाप गराएका हुन् भन्ने समेतको केशरवती यादवनीको प्रतिउत्तर परेको देखिन्छ । सर्वप्रथम भगिरथ यादवले वादीहरुबाट ऋण लिए नलिएको के रहेछ भनी हेर्दा मिति ०३८।१।२ को तमसुकमा लागेको सहिछाप लोग्नेको हो भनी स्वीकार गरे पनि कृषि विकास बैंकको र साझा संस्था लिमिटेडको कर्जा तिर्न वारिसनामा बनाएको भनी उक्त कपाली तमसुक गराएको भन्ने प्रतिवादीको भनाई देखिन आएको छ । लिखत भएको मितिमा भगीरथ यादव ६९ वर्षको भएको र निजलाई कडा रोग लागेको देखिन आएको छ । निजका २ पत्नी भएका र दुवैपट्टी छोरा सन्तान नभएको देखिन्छ । निजलाई यस्तो स्थितिमा रु. ५२,२०१।को धनराशी कर्जा लिनु परेको कारण खुल्दैन । त्यसमा प्रतिवादी केशरवती साक्षी समेत बसेको पनि पाइँदैन । होस ठेगान नभएको अवस्थामा तमसुक गरेको भन्ने प्रतिउत्तर जिकिर भएकोलाई लिखतमा भागिरथको नाम भाइगरत भन्ने उल्लेख हुनुले पनि पुष्टि गर्दछ । लिखतमा लेखक साक्षी रहेका लक्ष्मण राय अमातको वारेश शिवचरणले मेरो सामुन्नेमा थैली लेनदेन भएको होइन तमसुकसम्म मसौदा गरी दिएको भनी बयान गरेका छन् । अतः भागीरथले नै सहिछाप गरेको देखिए पनि वास्तविक रुपमा लेनदेन नभएको देखिन आएबाट तमसुक बमोजिमको थैली भराई पाउँ भन्ने वादी दावी पुग्न सक्दैन ।

१६.    उक्त बनाइएको तमसुक जालसाजी हो होइन भन्ने तर्फ हेर्दा लेनदेन नै नभएकोमा लेनदेन भएको तमसुक खडा गरेको हुँदा जालसाजी गरेको हैन भन्न सकिने स्थिति छैन । के कसले जालसाजी गरेका हुन् भन्ने तर्फ हेर्दा उक्त तमसुक गराई लिनमा वादी सबुरदेवीको मुख्य हात देखिन्छ । ठकाई यादव र रामनारायण यादव त्यस्तो लिखतमा साक्षी बसेको देखिँदा निजहरुको त्यसमा हात रहेनछ भन्न मिलेन । सवुरदेवी, ठकाई यादव र प्र.रामनारायणले जालसाजी गरेको देखिँदा जालसाजी गरेको ठहर्‍याएको पू.क्षे.अ.को इन्साफ मनासिब देखिँदा सदर हुने ठहर्छ । पुनरावेदकहरुको पुनरावेदन जिकिर पुग्न सक्दैन । तपसीलका कुरामा तपसील बमोजिम गर्नु ।

तपसील

माथि इन्साफ खण्डमा लेखिए बमोजिम पू.क्षे.अ.को इन्साफ सदर ठहर भएकोले अ.बं. २०३ नं. बमोजिम देहायका व्यक्तिलाई देहाय बमोजिम थप जरिवाना हुने हुँदा कानुन बमोजिम गरी असूल गर्नु भनी शुरु सिरहा जिल्ला अदालतमा लगत दिन का.जि.अ.त.मा लेखी पठाई दिनु...१सबुरदेवी यादवनी के रु. १३०।५०, ठकाई यादव के रु. १३०।५०, रामनारायण यादव के रु. १३०।५० मिसिल नियम बमोजिम गरी बुझाई दिनु...१

 

उक्त रायमा म सहमत छु ।

 

न्या.हरगोविन्द सिंह प्रधान

 

इति सम्वत् २०४६ साल बैशाख १४ गते रोज शुभम् ।

 

 

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु