निर्णय नं. ३७४४ - भाडा दिलाई घर खाली, जालसाज

निर्णय नं. ३७४४ ने.का.प. २०४६ अङ्क २
संयुक्त इजलास
माननीय न्यायाधीश श्री गजेन्द्रकेशरी बास्तोला
माननीय न्यायाधीश श्री हरगोविन्द सिंह प्रधान
सम्वत् २०४५ सालको दे.पु.नं. ९३५
फैसला भएको मिति : २०४५।१२।१०।५ मा
पुनरावेदक/वादी : जि.मोरङ दादर वैरिया गा.पं. वार्ड नं. ३ बस्ने गयासरी राजवंशी
विरुद्ध
विपक्षी/प्रतिवादी : ऐ. ऐ. बस्ने दुधराज राजवंशीसमेत
मुद्दा : भाडा दिलाई घर खाली, जालसाज
(१) कुनै पनि हक हस्तान्तरण गरिएको घर पारित छैन भन्ने अधिकार घरको दातालाई मात्र हुन्छ, त्यस्तो हक अधिकारको विषयमा प्रश्न उठाई आउने र अर्काको जग्गामा घर बनाउन स्वीकृतिसम्म नलिई मैले सो घर बनाएको हुँ भन्ने दावी लिने व्यक्तिलाई सो सम्बन्धमा विवाद उठाउने अधिकार नहुने ।
(प्रकरण नं. २२)
(२) वादीले आफ्नो दातासंग लिएको घरसारको राजीनामा दाताले स्वीकारी रहेकै अवस्थामा घरसंघाको पुर्जीको आधार लिई त्यस्तो घरका सम्बन्धमा विवाद उठाउने अधिकार प्रतिवादीको हुन सक्ने भन्न नमिल्ने ।
(प्रकरण नं. २२)
(३) एकाको जग्गामा अर्को व्यक्ति गई जग्गाको हकवालासंग स्वीकृतिसम्म नलिई घर बनाउन सक्ने स्थित नहुने ।
(प्रकरण नं. २२)
पुनरावेदक तर्फबाट : विद्वान वरिष्ठ अधिवक्ता श्री शम्भुप्रसाद ज्ञवाली
विपक्षीतर्फबाट : विद्वान अधिवक्ता श्री शम्भु थापा
फैसला
न्या.गजेन्द्रकेशरी बास्तोला
१. पूर्वाञ्चल क्षेत्रीय अदालतको फैसला उपर पुनरावेदनको अनुमति पाई पेश हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त विवरण एवं निर्णय निम्नानुसार छ :–
२. मेरा नाउँको दादरवैरिया गा.पं. वार्ड नं. ३(ख) कि.नं. ३३६ को बिगाहा ०–१–१५ मा जग्गा दाता हिरामोति राजवंशीले बनाएको घर थान २ समेत मलाई ०३३।२।१२।३ मा रु. ९००१।– मा उक्त घर थान २ मलाई बिक्री राजीनामा लेखी दिएको र सो घर भएको जग्गा पनि सोही मितिमा पास गरी दिएकोले मेरा नाममा दर्ता भई भोगी आएकोमा विपक्षीले ०३४।२।१ गते घर भाडामा लिएको भाडा साल साल बुझाउँदै आएको र भर्पाई मैले दिने गरी आएकोमा ०३८ साल ज्येष्ठ महीनादेखि भाडा नबुझाएको र ०४०।९।१।५ का दिन प्रमाणका मानिस लिई गई भाडा दिई घर खाली गरी दिनोस आफैं बस्छु भन्दा भाडा पनि दिन्न घर खाली पनि गर्दिन भनी जवाफ दिएकाले घर खाली गरी भाडा दिनोस भनी ३५ दिने सूचना ०४०।१०।३ मा हुलाकद्वारा पठाई खाली समेत नगरेबाट नालेश गर्न आएकोछु । ०३८ साल ज्येष्ठ १ गतेदेखि आज फिराद दायर भएका मितिसम्मको महीना १ के रु. १००।– ले २।१० को घर भाडा रु. ३,४००।– दिलाई भराई घर समेत खाली गराई पाउँ भन्ने ०४०।११।३० को फिरादपत्र ।
३. हिरामोति राजवंशीसंग घर बनाई बस्नका लागि जग्गा माग्दा सा.रै.नं. १०७ को ६–१–१० मध्येबाट ०–६–१० राजीनामा दिने भई सर्भे नापी लागू नहुँदै ०२७।९।२३ मा राजीनामा लिखत गर्दा नापीमा दादरवैरिया गा.पं. वार्ड नं. ३(ख) कि.नं. १६० मा परी नापी भएको ०–८–५ मध्ये पूर्वतर्फको जग्गा दाताले नापी ०–६–१० छुट्याई दिएका सो अनुसार काशीदेवीका नाउँमा पारित भएको सो जग्गामा घर बनाउन अघिको ऐ. वार्ड नं. ६ को घर भत्काई ०२७।१०।१६ गते गा.पं. को सिफारिश पाई ०२७ साल फाल्गुण देखि घर बनाउँदा काठ नपुगी घरसंघाको पुर्जी इजाजत अनुसार ०२८ साल आषाढ भरमा लम्बा १६ चौडा १३ हात तख्ताको बार टिनको छाना हाली ५।५ हातको बुर्जा निकाली २ तल्ले खम्बे घर १ सो घरदेखि पश्चिम केही आगन छोडी आगनको पश्चिमपट्टि दाता हिरामोतीले आफूलाई बाँकी राखेको जग्गा मान सराई १४८ हातको बाँसको टाटी टालीको छाना हाली धान राख्ने गोदाम घर १, धान राख्ने गोदाम घर उत्तर साइडमा परेवा पाल्ने टायलको छानो लगाई सानो छाप्रो घर १, टिनको छानो भएको घरका उत्तर पूर्वमा फुसको छाना राखी चौपाया राख्ने गुहाली घर १ समेत जम्मा घर ५ तयार गरी परिवार समेत अहिलेसम्म बसोवास गरी आएको छ, घर बसोवास गरेपछि आफूले मानी आएका देवताको स्थान टुवेल समेत आसपासमा छ, कि.नं. १६० कि.का. हुँदा सो जग्गा कि.नं. ३३६ हिरामोतीको नाममा दर्ता थियो । ३३५ को जग्गा मध्ये पूर्वतर्फ ०–२–० जग्गा गुदमा अन्धुनलाई ०३५।१२।२० मा राजीनामा दिंदा कि.नं. ३३५ कि.का. भई कि.नं. ३९५ अन्धुन गुदमाका नाउँमा बाँकी ०–४–१० कि.नं. ३९६ श्रीमती काशीदेवीका नाउँमा दर्ता कायम छ । उक्त कि.नं. ३३६ को र १५६ को समेत जग्गा हिरामोतीबाट फिरादीले ०३३।२।१२ मा राजीनामा गराई लिएको रैछ । २०४० साल पौष महीनामा फिरादीका पतिसंग भेट हुँदा तपाईको धन्सार घर, भान्सा घर परेवा राख्ने घर मेरो कि.नं. ३३६ को जग्गामा पर्दोरहेछ भन्दा मैले ०२७ सालमा जग्गा घरबास गरी आएको तपाईले पछि राजीनामा गराइलिएकोले म घर हटाउँदिन भनेकोले सोही कारणबाट रिसाई यो फिराद गरेका हुन । फिराद लेखबमोजिम भाडामा लिइबसेको होइन । दावीको सक्कल लिखत देख्नसुन्न पाए कीर्ते जालसाजी के हो बयान गर्ने छु । एकदिन जग्गा र सो जग्गामा बनेको घर समेत राजीनामा लिएको भए घर जग्गाको एउटै राजीनामा हुने थियो । घरको बिक्रीनामा पारित नभएको, हाल जालसाज गरी पेश गरेको भन्ने देखिएकै छ, घर घडेरी अचल सम्पत्ति हक छुटाई लिंदा रजिष्ट्रेशनको १ नं. ले पारित हुनपर्ने सो नहुँदा ऐ.को ७ नं.ले उजूर गर्न तहकिकात हुन नसक्ने घर जग्गाहरुको केही भाग फिरादीले राजीनामा लिएका र कि.नं. ३३६ भित्र परेको देखिँदा पनि फिरादीले राजीनामा लिनु भन्दा अघि हिरामोतिले नै घर बनेका जग्गा मलाई दिई मैले घर बनाई बसी भोग चलन गरेको हुँदा सो घर र घरले चर्चेको जग्गा मेरो हकभोग कायम नै हुने हुँदा नाप नक्शा सबूद प्रमाण बुझी विपक्षीका उजूरीबाट अलग गरिपाउँ भन्ने प्रतिउत्तरपत्र ।
४. हिरामोतिबाट मेरा नाउँमा जग्गा राजीनामा लिंदा हातले नापी छुट्याई लिएको जग्गामा सानो ठूलो गरी ५ घर बनाई बसी भोग चलन गरेको र राजीनामा अनुसार कि.नं. १६० कि.का. भई कि.नं. ३३५ मा ०–६–१० मेरा नाउँमा दर्ता भएको मध्ये पूर्वतर्फ खाली ज.वि. ०–२–० गुदमा राजवंशी समेतलाई राजीनामा दिंदा कि.नं.३३५ कि.का. भई कि.नं. ३९६ मा ज.वि. ०–४–१० मेरा नाउँमा दर्ता कायम छ । कि.नं. ३३६ को जग्गा फिरादीले लिई भोग चलन गरेको ०२८ सालमै आफ्नो परिश्रमबाट म र मेरा पति घर बनाई बसेका हौं भन्नेसमेत अ.बं. १३९ नं. बमोजिम बुझिएको काशीदेवी राजवंशीको बयान ।
५. ०३३।२।१३।३ को रु. ९००१।– को सक्कल लिखत हेरें देखें । फिरादीका पति बोलो राजवंशीले तपाईको धंसार, परेवा राख्ने घर, भान्सा घरहरु मेरो कि.नं. ३३६ मा पर्दोरहेछ, सो हटाउ भन्दा हामीले वास्ता नगर्दा सो घरहरु आफ्नो गराउन फिरादी गयासरी, बोलो राजवंशी र हिरामोतिको मिलोमतो यो बिक्रीनामा खडा गरी फिराद गरेकाले लिखत कलमी अन्तरसाक्षी समेतलाई जालसाज गरेमा सजायँ गरिपाउँ भन्ने समेत प्र.दुधराजको बयान ।
६. जालसाज भनी प्रतिवादीले गरेको बयान झुठ्ठा हो । सद्दे साँचो लिखतलाई जालसाज भनेकोमा प्रतिवादीलाई नै सजायँ गरिपाउँ भन्ने समेत वादी वा.बोलो राजवंशीको बयान ।
७. मिति ०३३।२।१२।३ को लिखत कलमी अन्तरसाक्षी समेतलाई बुझ्ने आदेशानुसार बयान गर्ने अन्तरसाक्षी पूरणलाल राजवंशीले लिखतको व्यहोरा सद्दे साँचो हो भनी बयान गरेको ।
८. उल्लेखित लिखतका साक्षी हरिप्रसाद उपाध्याय, उमालाल राजवंशीको बयानबाट समेत जालसाजीबाट लेखत खडा भएको होइन । सद्दे साँचो व्यवहार हो भनी बयान गरेको देखिएको ।
९. मेरा नाउँ दर्ता जि.मोरङ दादरवैरिया गा.पं. वार्ड नं. ३(ख) कि.नं. ३३६ को ०–१–१५ जग्गा ०३३।२।१२।३ का दिन भू.प्र.का.मा पास गरी सोही मितिमा वादी गयासरीको लोग्ने बोलो राजवंशीले मलाई उक्त जग्गा भएको घर पूर्व बिटाको २ तल्ले १ र पश्चिम बिटाको घर १ समेत थान २ मलाई नै बिक्रीनामा गरी दिनोस् भन्दा मोरङ मालपोत अगाडि बसी रु. ९००१।– लिई बिक्रीनामा सहिछाप गरेको हुँ भन्ने समेत बुझिएको हिरामोति राजवंशीको वा.महेशप्रसाद महतोको बयान ।
१०. उल्लेखित बयान गर्ने लिखतका साक्षी कारणी समेतलाई तारेखमा राखिएको ।
११. मिति ०३३।२।१२।३ को सक्कल बिक्रीनामा कागजको व्यहोरा सद्दे साँचो हो, हिरामोतिले रु. ९००१।– लिई घर थान २ बिक्रीनामा गरी दिएको हुँदा व्यवहार जालसाजी होइन भन्ने समेत जालसाज तर्फका प्र.बोलो राजवंशीकै बयानमै निज समेत तारेखमा रहेका ।
१२. वादीले पेश गरेको ०३३।२।१२।३ को धनी गयासरी ऋणी हिरामोति राजवंशी भएको रु. ९००१।– को छोडपत्र लिखत प्रतिवादीले जालसाजी लिखत खडा गरेको भनी बयान गरेको सो झुठ्ठा दावी लिई बयान गरेको ठहर्ने र आफ्नो हक नभई वादीका नाउँमा दर्ता हुन आएका जग्गामा प्रतिवादीले घर बनाउने अवस्था नदेखिने सो घरहरु प्रतिउत्तर जिकिर बमोजिम प्रतिवादीले चलन गरेको प्रष्ट हुन आउने र भाडाको सम्बन्धमा भाडा बुझाउँला भन्ने कबूलियत छ भन्ने र भाडा बुझाउने गरी आएको प्रमाण वादी तर्फबाट पुग्न नआएकोले भाडा तर्फको दावा वादी तर्फबाट प्रमाणित हुन नसकेकोले भाडा दिलाई पाउँ भन्नेतर्फ वादीले पुग्न नसक्ने दावी लिएको ठहर्ने र घर खाली गराई पाउँ भन्ने तर्फ उल्लेख गरिए अनुसार वादी प्रतिवादीले जग्गावालासंग घर बनाउन इजाजत लिएको देखिन नआएको र उल्लेखित राजीनामाबाट वादीले लिएका जग्गामा घर भएको उल्लेख भएको समेतबाट दावा उचित रहेनछ भन्न भएन । उल्लेखित कि.नं. ३३६ का जग्गामा भएको घर प्रतिवादीले खाली गरी दिनु पर्ने समेत ठहर्छ भन्ने समेत मोरङ जिल्ला अदालतको ०४१।१०।९।३ को फैसला ।
१३. शुरुको इन्साफमा चित्त बुझेन । शुरुको इन्साफ सजायँ उल्टाई झुठ्ठा दावाबाट फुर्सद गराइपाउँ भन्ने समेत काशीदेवी, दुधराजको पुनरावेदन ।
१४. यसमा कि.नं. ३३६ को वादी दावीको घर १ को हकमा पनि वादी दावी अनुसार गयासरीले बनाएको र पारित राजीनामा भित्र पारी लिएको समेत देखिएन र प्रमाणित हुन आएन तसर्थ प्रतिवादीलाई घरबाट उठाई पाउँ भन्ने वादीको दावी प्रस्तुत विवादबाट ठेगान लगाउन नमिल्ने भएकोले सो दावी ठहर्न सक्दैन । सो ठहराई गरेको शुरुको फैसला उल्टी हुने ठहर्छ र कि.नं. ३३६ को अन्य घरहरुको सम्बन्धमा वादी दावी नहुँदा त्यसतर्फ विचारै गर्न परेन भन्नेसमेत व्यहोराको मिति ०४२।८।११।३ मा को.अं.अ.ले गरेको फैसला ।
१५. कोशी अञ्चल अदालतको फैसला उपर चित्त बुझेन पुनरावेदनको अनुमति पाउँ भन्ने समेत व्यहोराको निवेदन परेकोमा पुनरावेदनको अनुमति दिइएको छ भन्ने समेत पूर्वाञ्चल क्षेत्रीय अदालतको मिति ०४४।५।२३ को आदेश ।
१६. कि.नं. ३३६ मा देखिएका भान्साघर १, वैठनारा घर–१, दाउरा राख्ने घर–१ समेत जम्मा घर ३ र ति घरले चर्चेको पूर्वपट्टिका जग्गाहरु समेतमा प्रतिवादीको हक पुग्ने हुँदा घरतर्फ भाडा दिलाई पाउँ भन्ने वादी दावी पुग्न सक्दैन । कि.नं. ३३६ मा रहेको उक्त तीन घरको उत्तर दक्षिण र पश्चिमतर्फका जग्गाहरु भने गयासरी राजवंशीकै हक कायम हुने हुँदा नक्शा नं. ३ र ४ को सीमानासम्म आफ्नो भोगको आधारमा हक देखाउने प्र.काशीवतीले सो जग्गामा खिचोला गरेको ठहर्छ भन्ने समेत पूर्वाञ्चल क्षेत्रीय अदालतको मिति ०४४।५।२३ को फैसला ।
१७. विवादित घरहरु मेरो पारित मिति ०३३।२।१२ को खरिदी लिखत परेको कुरामा विवाद छैन । मेरो राजीनामा लिखत भित्र उक्त घरहरु रहे भएको कुरामा स्वयं विपक्षीले स्वीकार गरेका छन् र यस कुरालाई अदालतले समेत मानेको छ र अदालतबाट भई आएको नक्साबाट समेत सो कुरा देखिन आएको छ । यस्तो स्थितिमा जग्गा एउटाको र घर अर्काको ठहराउने गरेको क्षेत्रीय अदालतको फैसला पूर्णतः लिखत र रजिष्ट्रेशनको १ नं. विपरीत हुँदा पुनरावेदनको अनुमति पाउँ भन्ने समेत व्यहोराको गयासरी राजवंशीको यस अदालतमा परेको निवेदन ।
१८. यसमा वादी दावीको जग्गा कि.नं. ३३६ को हो र निजले राजीनामा गरी लिंदा घर समेत राजीनामा लेखिएको देखिन्छ । सो लिखतलाई अन्यथा भन्न र निर्णयमा लेख्न सकेको पनि पाइँदैन । यस्तो अवस्थामा जग्गा एक पक्षको र घर अर्को पक्षको ठहराई निर्णय गरेको पाइन्छ । यस्तो स्थितिमा महमूद साह मियाँ विरुद्ध महमद हासिम मियाँ समेत भएको जग्गा मिची घर बनायो घर भत्काई बिगो भराई चलन चलाई पाउँ भन्ने मुद्दामा सर्वोच्च अदालत डिभिजनबेञ्चबाट ०३४, ने.का.प. ४७ अंक २ मा प्रकाशित प्रतिपादित सिद्धान्त विपरीत गरी गरेको देखिन आएकोले प्रस्तुत निवेदनमा पुनरावेदनको अनुमति दिइएको छ भन्ने समेत यस संयुक्त इजलासको मिति ०४५।१।२८ को आदेश ।
१९. नियम बमोजिम दैनिक पेशी सूचीमा चढी पेश हुन आएको प्रस्तुत मुद्दामा पुनरावेदक तर्फबाट उपस्थित विद्वान वरिष्ठ अधिवक्ता श्री शम्भुप्रसाद ज्ञवाली तथा विपक्षीतर्फबाट उपस्थित विद्वान अधिवक्ता श्री शम्भु थापाले गर्नुभएको बहस समेत सुनी प्रस्तुत मुद्दामा क्षेत्रीय अदालतको इन्साफ मिले नमिलेको के रहेछ भन्ने नै निर्णय दिनु पर्ने हुन आयो ।
२०. यसमा मेरो हक भोगको जग्गामा बनेको घरमा भाडामा बसी आएका विपक्षीहरुले ०३८ ज्येष्ठदेखि भाडा नबुझाएकोले बाँकी भाडा दिई घर खाली गरी दिन भन्दा भाडा पनि नदिने र घर पनि खाली नगर्ने जवाफ दिए पछि ३५ दिने सूचना गर्दा पनि घर खाली नगरेकोले भाडा दिलाई घर खाली गराई पाउँ भन्ने समेत फिराद दावी एवं मेरो घर विपक्षीको कित्तामा पर्दछ तर सो घर विपक्षीले सो कित्ता राजीनामा लिनु पूर्व नै बनेको र मैले भोगी आएको हो भाडामा लिई बसेको होइन । विपक्षीको उजूरीबाट अलग फुर्सद गरिपाउँ भन्ने समेत प्रतिउत्तर जिकिर रहेकोमा क्षेत्रीय अदालतबाट विवादको घर र सो घरले चर्चेको पूर्व पट्टिको जग्गा प्रतिवादीको कायम गरी बाँकी जग्गा वादीको नै हुने ठहर्याई फैसला भएको देखिन्छ ।
२१. प्रतिवादीले आफ्नो भनी दावी गरेका तीनवटै घरहरु वादीले कि.नं. ३३६ मा परेको भन्ने कुरामा कुनै विवाद छैन । वादीको विवादको सो कित्ता ०३३।२।१२ मा राजीनामा गरी लिएको र सोही दिन वादीले घर खरिद गरेको भनी भएको घरसारको कागजमा वादीका दाताले घर दिएको कुरा स्वीकारेको पनि देखिन्छ । वादीको उक्त घरमा अधिकार रहेको प्रमाण स्वरुप सो घरसारको लिखत रहेको पाइन्छ । प्रतिवादीले तत्कालिन दातासंग घर बनाउन स्वीकृति लिएको कुरा प्रमाणित गर्न सकेको पाइएन भने निजको घरसंघाको पुर्जीको आधारमा घर जग्गा निजकै भन्न मिल्ने देखिएन ।
२२. कुनै पनि हक हस्तान्तरण गरिएको घर पारित छैन भन्ने अधिकार घरको दातालाई मात्र हुन्छ । त्यस्तो हक अधिकारको विषयमा प्रश्न उठाई आउने र अर्काको जग्गामा घर बनाउन स्वीकृतिसम्म नलिई मैले सो घर बनाएको हुँ भन्ने दावी लिने व्यक्तिलाई सो सम्बन्धमा विवाद उठाउने अधिकार हुँदैन । वादीले आफ्नो दातासंग लिएको घरसारको राजीनामा दाताले स्वीकारी रहेकै अवस्थामा घरसंघाको पुर्जीको आधार लिई त्यस्तो घरका सम्बन्धमा विवाद उठाउने अधिकार प्रतिवादीको हुनसक्ने भन्न मिल्न आएन । एकाको जग्गामा अर्को व्यक्तिलाई जग्गाको हकवालासंग स्वीकृतिसम्म नलिई घर बनाउन सक्ने स्थिति नहुने हुँदा विवादको कि.नं. ३३६ मा प्रतिवादीले घर बनाएको भन्न सकिने अवस्था रहेन तसर्थ उक्त विवादका घरहरु प्रतिवादीले खाली गरिदिनु पर्ने ठहर्दछ । प्रतिउत्तर जिकिरबाट विवादका घरहरु प्रतिवादीले चलन गरिरहेको पनि स्पष्ट छ । भाडा बुझाउने सम्बन्धमा भएका प्रमाणहरु वादी पक्षबाट पेश हुन नआएकोले उक्त दावी वादीले प्रमाणित गर्न नसकेको हुँदा भाडा दिलाई पाउँ भन्ने तर्फसम्म वादी दावी पुग्न सक्दैन । पूर्वाञ्चल क्षेत्रीय अदालत धनकुटाको मिति ०४४।५।२३ को इन्साफ गल्ती हुँदा बदर हुन्छ । शुरु जिल्ला अदालतको इन्साफ मनासिब ठहर्दछ । अरुमा तपसील बमोजिम गर्नु ।
तपसील
पुनरावेदक । वादी गयासरी राजवंशीले माथि इन्साफ खण्डमा लेखिए बमोजिम घरको भाडा तर्फ दावी पुग्न नसक्ने ठहरेकाले सो तर्फको कोर्ट फी रु. १५६।– प्रतिवादीबाट भराई दिई रहन परेन । घर खाली गराई पाउँ भन्ने तर्फ राखेको कोर्ट फी रु. १०।– पूर्वाञ्चल क्षेत्रीय अदालतमा पुनरावेदन गर्दा राखेको कोर्टफी रु. २४।९० मध्ये रु. १।५० र सर्वोच्च अदालतमा दाखिल गरेको कोर्ट फी रु. २४।९० मध्ये रु. १।५० समेत जम्मा कोर्ट फी रु. १३।– प्रतिवादीबाट वादीले भराई पाउने हुँदा सो रुपैयाँ भराई जग्गा घर समेत चलन चलाई पाउँ भनी कानुनको म्यादभित्र वादीको दर्खास्त परे प्रतिवादीले कोशी अञ्चल अदालतमा पुनरावेदन दायर गर्दा धरौट बापत र.नं. १६१ मिति ०४१।११।११ मा राखेको रु. १०।– बाट र बाँकीमा ऐन नियमानुसार गरी प्रतिवादीबाट भराई दिई कानुन बमोजिम प्रतिवादीबाट घर खाली गराई चलन चलाई दिनु भनी शुरु मोरङ जिल्ला अदालतमा लगत दिन काठमाडौं जिल्ला अदालतमा लगत दिनु..........१, क्षेत्रीय अदालतको मिति ०४४।५।२३ को फैसलाले कस्न पठाएको लगत कट्ट गर्नु भनी शुरु मोरङ जिल्ला अदालतमा लगत दिन काठमाडौं जिल्ला अदालतमा लगत दिई प्रस्तुत मुद्दाको दायरी लगत कट्टा गरी नियमानुसार गरी मिसिल बुझाई दिनु...........२
उक्त रायमा म सहमत छु ।
न्या.हरगोविन्द सिंह प्रधान
इति सम्वत् २०४५ साल चैत्र १० गते रोज ५ शुभम् ।