निर्णय नं. ३७४५ - उत्प्रेषण

निर्णय नं. ३७४५ ने.का.प. २०४६ अङ्क २
संयुक्त इजलास
माननीय न्यायाधीश श्री गजेन्द्रकेशरी बास्तोला
माननीय न्यायाधीश श्री महेशरामभक्त माथेमा
सम्वत् २०४३ सालको रिट नं. १८७४
आदेश भएको मिति : २०४५।१२।२१।२ मा
निवेदक : धनकुटा जिल्ला धनकुटा न.पं. वार्ड नं. ७ बस्ने प्रमिला जोशी
विरुद्ध
प्रत्यर्थी : लोकसेवा आयोग पूर्वाञ्चल क्षेत्रीय कार्यालय, धनकुटासमेत
विषय : उत्प्रेषण
(१) विज्ञापन गरिएको पद प्राविधिक भएकोले प्राविधिक कामको लागि चाहिने प्राविधिक योग्यताको माग गरेको विज्ञापन उचित होइन भन्न नसकिने ।
(प्रकरण नं. ११)
(२) विज्ञापन गर्दा चाहिने योग्यता सम्बन्धमा त्रुटि भएमा सच्याउन नपाइने भन्न नमिल्ने ।
(प्रकरण नं. ११)
(३) विज्ञापन नै रद्द भएकोमा दर्खास्तको मान्यता रहिरहेको भन्न नसकिने ।
(प्रकरण नं. ११)
(४) निवेदकको निवेदन नै नपरेको विज्ञापनका सम्बन्धमा पहिलो रद्द भइसकेको विज्ञापनमा दर्खास्त दिएकै आधारमा विवाद उठाउन पाउने अधिकार निवेदकलाई प्राप्त छ भन्न सकिने कुनै कानुनी आधार रहे भएको नपाइने ।
(प्रकरण नं. ११)
(५) योग्यता नै नपुगेको र दर्खास्त नै नभएको निवेदकलाई अन्तर्वार्तामा सामेल नगराइएको आधारमा सो विज्ञापनलाई गैरकानुनी भन्न नमिल्ने ।
(प्रकरण नं. ११)
निवेदक तर्फबाट : विद्वान अधिवक्ता श्री बालकृष्ण न्यौपाने
प्रत्यर्थी तर्फबाट : विद्वान सहन्यायाधिवक्ता श्री सामन्तसिंह बोगटी
आदेश
न्या.गजेन्द्रकेशरी बास्तोला
१. नेपालको संविधानको धारा १६।७१ अन्तर्गत दर्ता हुन आएको प्रस्तुत निवेदनको संक्षिप्त व्यहोरा एवं निर्णय यस प्रकार छ :–
२. विपक्षी एकीकृत स्वास्थ्य सेवा विकास परियोजना पूर्वाञ्चल क्षेत्रीय तालिम केन्द्र धनकुटाले आवश्यक शैक्षिक योग्यता आई.ए. वा सो सरह उत्तीर्ण गरी सम्बन्धित काममा अनुभव प्राप्त गरेको भनी विज्ञापन ०४१।७।१७ गते प्रकाशित गरेकोमा म निवेदक तोकिएको योग्यता प्राप्त व्यक्ति भएकोले निवेदन दिएकोमा सो विज्ञापनको अन्तर्वार्ता स्थगित भएको सूचना विपक्षी परियोजना क्षेत्रीय तालिम केन्द्रबाट अन्तर्वार्ताको अघिल्लो दिन प्रकाशित गरियो । त्यसपछि ०४२।१०।६ मा उक्त केन्द्रबाट तथ्यांक सहायक पदपूर्तिको ०४१।७।१७ को विज्ञापन रद्द गरिएको सूचना प्रकाशित गरी ०४२।१०।७ मा प्राविधिक कर्मचारीको आवश्यकता भनी पुनः सूचना प्रकाशित गरियो । सो सूचना बमोजिम दर्खास्त दिन जाँदा म निवेदकलाई तपाइको पहिल्यैको निवेदन छ पुनः दर्खास्त दिनु पर्दैन भनियो । तोकिएको अन्तर्वार्ताको दिन विपक्षी केशवप्रसाद र राधेश्यामको मात्र अन्तर्वार्ता लिई मेरो अन्तर्वार्ता लिइएन । सो उपर लोकसेवा आयोग पूर्वाञ्चल क्षे.कार्यालयमा उजूरी दिएकोमा विपक्षी लोकसेवा आयोगले शैक्षिक योग्यता नमिलेको कारणले विज्ञापन रद्द गरिएकोमा यस कार्यालयबाट कारवाही गर्न नमिल्ने भन्ने जानकारी गराइयो ।
३. एकपटक दर्खास्त स्वीकृत गरी सकेपछि सो दर्खास्त रद्द गर्ने र विज्ञापन रद्द गर्न सक्ने अधिकार विपक्षी परियोजना क्षे.का.लाई छैन । त्यसरी रद्द गरिएको लोकसेवा आयोग कार्यविधि नियम, ०२७ को नियम १० को प्रतिकूल छ । लोकसेवा आयोग दिग्दर्शन, ०३६ को परिच्छेद ८ को दफा (ई) को नियम ५ अनुसार हरेक विज्ञापन गो.प.मा प्रकाशित गर्नुपर्नेमा २०४२।१०।७ को विज्ञापन सो बमोजिम गो.प.मा प्रकाशित पनि भएको छैन । ०४१।७।१७ को विज्ञापन बमोजिमको म निवेदिकाको शैक्षिक योग्यता हुँदाहुँदै सो विज्ञापन योग्यता नमिलेको कारणले रद्द भएकोले यसकार्यालयबाट कारवाही गर्न नमिल्ने भन्ने विपक्षी लोकसेवा आयोग पूर्वाञ्चल क्षेत्रीय कार्यालयको निर्णय पनि गैरकानुनी छ । यस प्रकार विपक्षीहरुबाट गरिएको उल्लेखित काम कारवाहीबाट म निवेदिकाको संवैधानिक हक हितमा असर परेकोले उत्प्रेषणको आदेशद्वारा विज्ञापन स्थगित गरेको ०४१।९।२ को पत्र विज्ञापन रद्द गरेको विपक्षी कार्यालयको ०४२।१०।६ को पत्र र विपक्षी लोकसेवा आयोग क्षे.का.को ०४३।६।९ को पत्र र विपक्षी कार्यालयको मिति ०४२।१०।७ विज्ञापन नं. २।०४२–४३ विज्ञापन लगायत विपक्षी निकायहरुको उल्लेखित सम्पूर्ण कामकारवाही बदर गरी ०४१।७।१७ को गो.प.मा प्रकाशित विज्ञापनबमोजिम स्वीकृत भएका दर्खास्त वालालाई कानुन बमोजिम अन्तर्वार्ता लिई नियुक्ति दिनु भन्ने परमादेशको आदेश समेत जारी गरिपाउँ साथै ०४२।१०।७ को विज्ञापन बमोजिमको कारवाही प्रस्तुत निवेदनको किनारा नलागेसम्म नगर्नु भन्ने अन्तरिम आदेश समेत जारी गरिपाउँ भन्ने समेत जिकिर रहेको निवेदन ।
४. यसमा प्रत्यर्थीहरुबाट लिखितजवाफ झिकाई आएपछि वा अवधि नाघेपछि नियम बमोजिम पेश गर्नु भन्ने समेत यस अदालत एक न्यायाधीशको इजलासको मिति ०४३।७।२४।४ को आदेश ।
५. कुनै पनि पद आवश्यक छ छैन भन्ने कुरा सो पदको न्यूनतम शैक्षिक योग्यता के कामको लागि के कति चाहिन्छ भन्ने कुराहरु तोक्न सक्ने अधिकार सम्बन्धित निकायमा सुरक्षित रहन्छ । सम्बन्धित निकायले विज्ञापन निकालेमा त्यसमा छूट हुन गएका कुरा सच्याई पुनः विज्ञापन निकाल्न सकिंदैन भन्ने कुरा कुनै पनि दुष्टिकोणबाट मिल्ने कुरा होइन । शैक्षिक योग्यता तथा पद समेतको निर्धारण तथा आवश्यकताको कुरा व्यक्ति विशेषको हक अधिकारको नभई सम्बन्धित निकायको क्षेत्राधिकारको कुरा हो । तसर्थ विधिपूर्वक भए गरेको कुरामा रिट जारी हुनु पर्ने होइन खारेज गरिपाउँ भन्ने समेत एकिकृत सामुदायिक स्वास्थ्य सेवा विकास परियोजनाको लिखितजवाफ ।
६. यस केन्द्रले ०४१।७।१७ मा गरेको विज्ञापनमा तोकिएको योग्यता आई.ए.वा सो सरह उत्तीर्ण गरी सम्बन्धित विषयमा अनुभव प्राप्त भन्ने रहेकोमा सो योग्यता हेरफेर भएको हुँदा उक्त विज्ञापन रद्द गरी पुनः विज्ञापन गरिएको हो । निवेदिकाले पहिलो विज्ञापनमा दिएको दर्खास्त सो विज्ञापन रद्द भएपछि दर्खास्त कायमै रहने अवस्था रहेन र दोश्रो विज्ञापनका लागि निवेदिकाबाट दर्खास्त पनि परेको छैन । पछिल्लो विज्ञापन अनुसार सो पदमा उम्मेदवार हुन गणित वा तथ्याड्ढ विषय लिई आई.ए. वा सो सरह योग्यता हुनु पर्ने भन्ने कुरा निवेदिकालाई थाहा हुँदा हुँदै पनि सो तथ्यलाई लुकाई रिट क्षेत्रमा प्रवेश गरेकोले रिट खारेजभागी छ । दर्खास्त नै नपरेको तथा आवश्यक न्यूनतम शैक्षिक योग्यता नै नपुगेको व्यक्तिको अन्तर्वार्ता लिने भन्ने प्रश्न नै उठदैन । विज्ञापन गराउन पाउने निकायलाई सो विज्ञापन रद्द गर्ने अधिकार पनि हुन्छ । विज्ञापन रद्द गरेको लोकसेवा आयोगको दिग्दर्शन विपरीत छैन । पछिल्लो सूचनाको जानकारी निवेदिकालाई नभएको हैन । विज्ञापन गोरखापत्रमा प्रकाशित गर्नु पर्ने व्यवस्था पनि लोकसेवा आयोगको दिग्दर्शनमा छैन । उक्त पछिल्लो विज्ञापन लोकसेवा आयोग पूर्वाञ्चल क्षेत्रीय कार्यालयबाट समर्थन समेत प्राप्त भइसकेकोले यस निकायको सो सम्बनधी सम्पूर्ण काम कारवाही कानुनी नभएको तथा उक्त काम कारवाहीबाट निवेदिकाको कुनै पनि संवैधानिक हक हनन् नभएको हुँदा रिटनिवेदन खारेज गरिपाउँ भन्ने समेत एकिकृत सामुदायिक स्वास्थ्य सेवा विकासपरियोजना पूर्वाञ्चल क्षे.ता.केन्द्र धनकुटाका का.मु.प्रमुख क्षेत्रीय तालिम अधिकृतको लिखितजवाफ ।
७. पूर्वाञ्चल क्षेत्रीय स्वास्थ्य तालिम केन्द्र धनकुटाको ०४१।७।१७ को तथ्याड्ढ सहायकको प्रथम विज्ञापनको सम्बन्धमा प्रमुख जिल्ला अधिकारी धनकुटाको राय नमिलेकोले उक्त पदको अन्तर्वार्ता स्थगित गरी तथ्याड्ढ सहायक पदको योग्यता गणित वा तथ्याड्ढ लिई आई.ए. वा सो सरह उत्तीर्ण भएको भन्ने एकिकृत सामुदायिक स्वास्थ्य सेवा विकास परियोजनाको मिति ०४२।८।१६।१ को पत्रबाट निर्धारित भई आएकोले दोश्रो पटक विज्ञापन गरिएको भन्ने कुरा सो तालिम केन्द्रको पत्रबाट देखिन्छ । यस्तो अवस्थामा निवेदकको कुनै हक कसरी हनन् भयो भन्ने कुरा निवेदकबाटै खुलाउन सकेको नहुँदा रिट खारेज हुनुपर्दछ । तालिम केन्द्रको केन्द्रीय कार्यालयबाट कुनै पनि विज्ञापन गोरखापत्रमा आइन्दा प्रकाशित नगराउने आदेश आएको कारण दर्शाई गोरखापत्रमा विज्ञापन प्रकाशित नगराएको व्यहोरा तालिम केन्द्रबाट प्राप्त हुन आएको र त्यससम्बन्धमा तालिम केन्द्रबाट गोरखापत्रमा सूचना प्रकाशित गरिरहँदा अनावश्यक ढिलाई हुन जाने र कार्यालयको बजेटको सीमितता विचार गर्दा समेत अनावश्यक खर्च हुन जाने भएकोले स्थानीय जनसम्पर्क हुने कार्यालयहरुमा सूचना टाँस गरेमा पर्याप्त प्रचार हुने व्यावहारिक अवस्था देखी यस कार्यालयले आइन्दालाई सूचना प्रकाशित गर्दा भइरहेको परिपत्रानुसार गर्ने गरी प्रत्यायोजित अधिकार बमोजिम अग्रिम कारवाही गर्नु हुन यो एकपटकलाई समर्थन गरिएको पत्र तालिम केन्द्रलाई पठाइएको थियो । निवेदिकाको सो विज्ञापन अनुसारको योग्यता नै नपुगेकोले र निजको संविधान प्रदत्त कुनै पनि हक अधिकारको हनन् यस आयोगबाट नभएकोले रिटनिवेदन खारेज होस भन्ने समेत लोकसेवा आयोग पूर्वाञ्चल क्षेत्रीय कार्यालयको लिखितजवाफ ।
८. प्रत्यर्थीहरु केशवप्रसाद घिमिरे तथा राधेश्याम श्रेष्ठले लिखितजवाफ नदिई अवधि नघाई बसेको ।
९. नियमबमोजिम दैनिक पेशीसूचीमा चढी पेश हुन आएको प्रस्तुत निवेदनमा निवेदक तर्फबाट उपस्थित वि. अ.श्री बालकृष्ण न्यौपाने तथा प्रत्यर्थीतर्फबाट उपस्थित वि.सहन्यायाधिवक्ता श्री सामन्तसिंह बोगटीको बहस समेत सुनी यसमा निवेदकको मागबमोजिमको आदेश जारी हुने नहुने के रहेछ निर्णय दिनुपर्ने हुनआयो ।
१०. यसमा विपक्षीहरुबाट भएको विज्ञापन रद्द गर्ने काम कार्यवाही एवं म निवेदकलाई पछिल्लो विज्ञापन अनुसार भएको अन्तर्वार्तामा सम्मिलित नगराउने काम कारवाही गैरकानुनी भएकोले बदर गरिपाउँ भन्ने समेत निवेदन जिकिर एवं विज्ञापन रद्द गर्ने तथा पुनः विज्ञापन गरिएको कारवाही कानुन अनुरुप नै भएको छ भन्ने समेत लिखितजवाफ देखिन्छ ।
११. ०४१।७।१७ मा गरिएको विज्ञापन रद्दगरिएको भन्ने कुरा फाइल र लिखितजवाफबाट देखिन आयो । उक्त विज्ञापनमा माग गरिएको पदको लागि चाहिने आवश्यक न्यूनतम योग्यता पूर्वाञ्चल क्षेत्रीय तालिम केन्द्र धनकुटालाई एकिकृत सामुदायिक स्वास्थ्य सेवा विकास परियोजना केन्द्रीय कार्यालयबाट सच्याई निर्धारण गरिएको जानकारी प्राप्त भएको आधारमा पहिलो विज्ञापन रद्द गरी पछिल्लो विज्ञापन गरेको देखिन्छ । पछिल्लो विज्ञापन स्थानीय जनसम्पर्क हुने ठाउँमा टांस भइरहेको कुरा पनि देखिन्छ । त्यस सम्बन्धमा सो पछिल्लो विज्ञापनलाई एकपटकलाई समर्थन गरिएको छ भनेर लोकसेवा आयोग पूर्वाञ्चल क्षेत्रीय कार्यालय धनकुटाले समर्थन जनाएको पनि फाइलबाट देखिन आयो । विज्ञापन गरिएको पद प्राविधिक भएकोले प्राविधिक कामको लागि चाहिने प्राविधिक योग्यताको माग गरेको विज्ञापन उचित होइन भन्न सकिने होइन । विज्ञापन गर्दा चाहिने योग्यता सम्बन्धमा त्रुटि भएमा सच्याउन नपाइने भन्न पनि मिलेन । निवेदकले पहिलो विज्ञापनमा दर्खास्त दिएको छ तापनि सो विज्ञापन नै रद्द भएकोले निजको दर्खास्तको मान्यता रहिरहेको भन्न सकिने अवस्था रहेन । अर्को तर्फ ०४२।१०।७ मा गरिएको विज्ञापनमा गणित वा तथ्याड्ढ लिई आई.ए. वा सो सरह भनी योग्यता तोकिएकोमा निवेदकबाट सो विज्ञापनमा पनि दर्खास्त दिएको भन्ने जिकिर लिन सकेको पाइँदैन भने सो बमोजिमको योग्यता भएको भनी निवेदकबाट दावी लिन सकेको समेत देखिँदैन । निवेदकको निवेदन नै नपरेको विज्ञापनका सम्बन्धमा पहिलो रद्द भइसकेको विज्ञापनमा दर्खास्त दिएकै आधारमा विवाद उठाउन पाउने अधिकार निवेदकलाई प्राप्त छ भन्न सकिने कुनै कानुनी आधार रहे भएको पाइएन । योग्यता नै नपुगेको र दर्खास्त नै नभएको निवेदकलाई अन्तर्वार्तामा सामेल नगराइएको आधारमा सो ०४२।१०।७ को विज्ञापनलाई गैरकानुनी भन्नमिलेन ।
१२. निवेदक तर्फबाट प्रस्तुत नजीर वटुकमान मल्ल वि. लोकसेवा आयोग समेत रिट नं. १५२३ आदेश मिति ०४१।२।८ को सम्बन्धमा विचार गर्दा नजीरमा निवेदकको अन्तर्वार्ता समेत लिइएको पाइन्छ तर प्रस्तुत निवेदनमा अन्तर्वार्ता लिइएको छैन । नजीरमा विज्ञापन रद्द गरिएको छैन, निवेदकलाई उम्मेदवार हुन नसक्ने मात्र भनिएको छ । प्रस्तुत निवेदनमा विज्ञापन नै रद्द गरिएको छ । यसबाट प्रस्तुत विवादमा उक्त नजीरको तथ्य फरक हुनुको कारणले आकर्षित हुन सक्ने भएन । अतः प्रत्यर्थीहरुबाट भए गरेको काम कारवाहीलाई गैरकानुनी मान्न नमिलेको हुँदा निवेदकको माग बमोजिम आदेश जारी गर्न मिलेन रिटनिवेदन खारेज हुने ठहर्दछ । फाइल नियम बमोजिम गरी बुझाई दिनु ।
उक्त रायमा म सहमत छु ।
न्या. महेशरामभक्त माथेमा
इति सम्वत् २०४५ साल चैत्र २१ गते रोज २ शुभम् ।