शब्दबाट फैसला खोज्‍नुहोस्

निर्णय नं. ३७४६ - खुन डाँका

भाग: ३१ साल: २०४६ महिना: जेष्ठ अंक:

निर्णय नं. ३७४६    ने.का.प. २०४६      अङ्क २

 

संयुक्त इजलास

माननीय न्यायाधीश श्री हरगोविन्द सिंह प्रधान

माननीय न्यायाधीश श्री महेशरामभक्त माथेमा

सम्वत् २०४३ सालको फौ.पू.नं. ५०१

फैसला भएको मिति : २०४५।११।१७।५ मा

पुनरावेदक/वादी : कारीयाही थरुनीको जाहेरीले श्री ५ को सरकार

विरुद्ध

विपक्षी/प्रतिवादी : जि.सप्तरी सिस्वा गा.पं. वा.नं. ८ बस्ने बुद्धिलाल चौधरी थारुसमेत

मुद्दा : खुन डाँका

(१)    ज्यानसम्बन्धीको १३ नं. अन्तर्गतको दावी नलिई मुख्य अभियुक्त को हो भन्ने ठहर गर्न नसकिनेमा ऐ. का १७(१) नं. बमोजिम अभियुक्तहरुलाई सजायँ गर्ने प्रहरी प्रतिवेदन माग दावी नमिल्ने ।

(प्रकरण नं. १७)

(२)   ज्यान सम्बन्धीको १७(१) नं. बमोजिम सजायँ गर्ने माग दावी भएकोमा सो नै कायम हुन नसकेको स्थितिमा अभियुक्तहरु वारदात स्थलमा गएको तथा वारदात भएको भन्ने देखिन आएन, खुन वारदात पश्चात डाँका पनि भयो होला की भन्न पनि दशीको समेत अभाव रहेको तथा घटनास्थल प्रकृति मुचुल्का, सरजमीन समेतबाट डाँका वारदात भएको पत्यारलायक नदेखिँदा डाँका गरेको समेत नठहर्ने ।

(प्रकरण नं. १७)

पुनरावेदक/वादी तर्फबाट : विद्वान सहन्यायाधिवक्ता श्री बलराम के.सी.

प्रतिवादी तर्फबाट : विद्वान अधिवक्ता श्री कोमलप्रकाश घिमिरे

फैसला

न्या.हरगोविन्द सिंह प्रधान

१.     पूर्वाञ्चल क्षे.अ.को २०४३।३।१५।१ को फैसला उपर वादी श्री ५ को सरकारतर्फबाट पुनरावेदन दायर हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त व्यहोरा यस प्रकार छ :

२.    २०४० साल ज्येष्ठ ८ गतेका राती लोग्ने मागेन चौधरी घरमा नरहेको अवस्था २०।२२ जना डाँकाहरु भाला लाठी बन्दूक लिई मेरो घरमा आउँदा कुकुर कराएको आवाजबाट निन्द्राबाट ब्यूँझी बाहिर निस्कदा बुद्धिलाल चौधरी, नारायण चौधरी, शैनीचौधरी, पाचुचौधरी, बन्हु चौधरीलाई चिनें । डाँकाहरुले सासू सोमनीलाई मारी बिगो रु. १७,३२०।को धनमाल डाँका गरी लगे, डाँकाहरु पक्राउ गरी कारवाही गरिपाउँ भन्ने समेत कारीयाही थरुनीको २०४०।२।१२ को जाहेरी दर्खास्त ।

३.    मर्ने सोमनीको कान काटी चिरेको, पेटमा ठाउँ ठाउँमा भाला लागी आन्द्रा भुँडी निस्केको, कालो रगत भएको भन्ने लाश प्रकृति मुचुल्का ।

४.    मैले खुन डाँका गरेको होइन, २०४०।२।८ गतेका दिन रात म राजविराजमा छु । ०४०।२।९ गते घर गाउँमा पुगेपछि हजूरआमा पर्ने सोमनी इनारमा लडी सोही ८ गते मृत्यु भइन् भन्ने सुनें भन्ने समेतको बुद्धिलालको इन्कारी कागज ।

५.    बुझिएका सरजमीन १२ जनामध्ये ६ जनाले बुद्धिलाल समेतलाई चिनेका हौं । डाँका भएको हो, सोमनीलाई हतियार प्रयोग गर्दा देखेनौं भन्ने ६ जनाको भनाई र डाँका भएको होइन, सोमनी इनारमा लडी मरेकी हुन् । मरेको लाशमा भाला, खुर्पि जस्ता हतियार प्रयोग गरी जाल प्रपंच रची रिसइवी साध्ने उद्देश्यले यस प्रकारको उजूरी दिएका हुन् । जाहेरीमा किटान भएका बुद्धिलाल समेत सबैजना चालचलन राम्रो भएका व्यक्ति हुन् तिनीहरुले डाँका खुन गरेका होइनन् भन्ने ६ जनाको भनाई भएको जना १२ को सरजमीन मुचुल्का । संकलित सबूद प्रमाणबाट विरुद्ध खण्डमा लेखिएका मानिसहरुले हातहतियार प्रहार गरी मुलुकी ऐन चोरीको ६ नं. बमोजिम कसूर गरी मर्ने सोमनीलाई ज्यान सम्बन्धीको १ नं. को कसूर गरेको प्रमाणित हुन आएकोले निजहरु उपर चोरीको १४(४) नं. बमोजिम कारवाही भई यसैले मारेको भन्ने अहिले सम्म संकलित प्रमाणबाट खुल्न नआएकोले निजहरु उपर ज्यान सम्बन्धीको १७(१) बमोजिम समेत कारवाही भई सजायँ हुन र डाँका भएको बिगो रु. १७,३२०।जाहेरवालीलाई प्रतिवादीहरुबाट दिलाई भराई पाउँ भन्ने समेतको प्रहरी प्रतिवेदन र प्रतिवादीहरु उपर डाँका गरेतर्फ सजायँको दावीमा प्रहरीको राय समर्थन गर्दै सोमनीवती मारे तर्फ जाहेरवालाको जाहेरी दर्खास्त र सरजमीन व्यहोराबाट नै बुद्धिलालको हातमा भाला थियो भन्ने समेत मात्र उल्लेख भएको देखिँदा प्र.बुद्धिलाल उपर ज्यान सम्बन्धीको १७(१) अनुसार सजायँ भई अन्य प्रतिवादीहरुका हकमा ज्यान सम्बन्धीको १३(३) अनुसार सजायँ हुन समेत अनुरोध गर्दछु भन्ने स.स.अ. तथा स.स.अ.को छुट्टै राय ।

६.    २०४०।२।८ गते ७।८ बजे घरायसी कामको लागि घरबाट राजविराज हिंडी १२।१ बजे पुगी रा.वि.न.पं. वार्ड नं. ६ को तारणीप्रसाद चौधरीको घरमा गई त्यो रात त्यही बसी भोलिपल्ट ३ बजे घर पुगेको हुँ । वारदात मितिमा मैले डाँका गरेको र सरीक भएको छुइन । सोमनीको मृत्यु इनारमा मुख धुन जाँदा चिप्लोमा लडी टाउकोमा चोट लागी भएको हो भन्ने सुनेको हुँ । जाहेरवालाको लोग्ने मागेन चौधरीसंग ५ वर्ष अघिदेखि झै झगडाको रिसइवी भई सो साध्न मलाई फसाउनको निमित्त मात्र हो । जाहेरवालाको घरमा डाँका वारदात भएको पनि होइन र जाहेरी अनुसार सरजमीनमा किटानी बकी लेखी दिने व्यक्तिहरु जाहेरवाली र मागेन चौधरी पक्षका मानिसहरु हुन् भन्ने समेत व्यहोराको प्र.बुद्धिलाल चौधरीले स.जि.अ.मा गरेको इन्कारी बयान ।

७.    ०४०।२।८ गते म आफ्नै घरमा छु । अरु प्र.हरु पनि गाउँ घरमै थिए । प्र.बुद्धिलाल आफ्नो घरायसी कामले राजविराज गएका र भोलिपल्ट ३ बजे घरमा आएको प्र.बुद्धिलालले भनेबाट जानेको हुँ । वारदातको समयमा म समेत भई सोमनीवतीलाई मारी खुन डाँका समेत गरेको होइन छैन र सो समयमा जाहेरवालाको घरमा डाँका भएको होइन । सोमनीको मृत्यु इनारमा मुख धुँदा खुट्टा चिप्ली टाउको ठोकिई भएको हो भन्ने सुनेको हुँ । रिसइवीबाट झुठ्ठा जाहेरी दर्खास्त दिएका र सरजमीनमा बस्ने मानिसहरु जाहेरवाली र मागेनका मानिसहरु हुन् मेरो विरोधीका मानिसहरु भएकाले रिसइवीले गर्दा झुठ्ठा उजूरी दिएका हुन् भन्ने समेत व्यहोराको पाँचु चौधरीले स.जि.अ.मा गरेको बयान ।

८.    ०४०।२।८ गते म मेरै घरमा छु र बुद्धिलाल बाहेक अरु प्र.हरु गाउँ घरमै देखेको हुँ । जाहेरवाला मेरो हजुरआमा र सोमनी बुढी आमा (बजै) मेरो बाबु बुद्धिलालको हजुरआमा नाताको भएबाट मैले मेरो बुबा र अन्य प्रतिवादीहरु समेत भई जाहेरवालीको घरमा डाँका गर्ने र सोमनीलाई मार्नु पर्ने कुनै कारण छैन । इनारमा मुख धुँदा खुट्टा चिप्ली लडी टाउको ठोकिई सोमनीको मृत्यु भएको र डाँका समेत भएको होइन मेरो बुबासंगको झै झगडा रिसइवीको कारणबाट यो झुठ्ठा जाहेरी र सरजमीनका व्यक्तिले पोल गरेका हुन् भन्ने समेत व्यहोराको नारायण चौधरीले स.जि.अ.मा गरेको बयान ।

९.    २०४०।२।८ गते दिन रात म गाउँ घरमा नै छु । प्र.बुद्धिलाल बाहेक अन्य प्र.हरु गाउँ घरमै थिए । वारदात भएको राती म समेत भई जाहेरवालीकी सासू सोमनीवतीलाई खुन गरी डाँका समेत गरे गराएको होइन जाहेरवालाको घरमा डाँका वारदात भएको छैन । इनारमा मुख धुँदा खुट्टा चिप्लिई टाउको ठोकिई मृत्यु भएको हो । जाहेरवालीको पतिलाई खसी चोरीको मुद्दा दिएको थिएँ । सोही रिसइवीबाट झुठ्ठा जाहेर दिएका र सरजमीनका व्यक्तिहरु मागेन पक्षको हुँदा झुठ्ठा पोल गरेका हुन् भन्ने समेत व्यहोराको प्र.बन्हु चौधरीले स.जि.अ.मा गरेको बयान ।

१०.    २०४०।२।८ गते दिन रात म आफ्नै गाउँ घरमा छु । प्र.बुद्धिलाल बाहेक जाहेरवाला लगायतका अन्य प्रतिवादीहरु गाउँ घरमै थिए । ०४०।२।८ को राती जाहेरवालीकी सासू सोमनीलाई मारी खुन गरी म समेतले डाँका गरे गराएको होइन छैन । इनारमा चिप्ली टाउकोमा चोट समेत लागेकोले बेहोस भएको कुरा गाउँलेबाट सुनी वारदात स्थलमा गई सोमनीलाई घरभित्र उठाई लगेको र घरतर्फ फर्की आएँ केही समय पछि मरेको खबर सुनें । आन्द्रा समेत कसरी निस्क्यो जाहेरवाला नै जानुन् । माछा मुद्दामा साक्षी बकी दिएकोले झुठ्ठा जाहेरी दिएका र सरजमीनका मानिसहरु मेरा विरोधी भएकाले झुठ्ठा पोल गरेका हुन् भन्ने समेत प्र.शैनी चौधरीले स.जि.अ.मा गरेको बयान ।

११.    वादीले उल्लेख गरे बमोजिम प्रतिवादीहरुको भाला प्रहारबाट मृतक सोमनीवतीको मृत्यु भएको रहेनछ भन्ने देखिएकोले वादीले प्रतिवादीहरु विरुद्ध दिएको सोमनीवतीलाई कर्तव्य गरी मारेको भन्ने दावी झुठ्ठा ठहर्छ । घटनास्थलमा लाश प्रकृति मुचुल्काबाट वारदात स्थलको प्रकृति चित्रणबाट सरजमीनका साक्षीहरुले उल्लेख गरे सरह तोडफोड समेत नदेखिएकोले जाहेरवाली करियाहीदेवी र सरजमीनका व्यक्तिहरुले डाँका गरी फर्की जाँदै गर्दा डाँकाहरुले बालेको टर्चलाइटको उज्यालोबाट चिनेको भनी गरेको बकपत्र । घटनास्थल प्रकृति मुचुल्कामा वर्णित अवस्था भन्दा भिन्न अवस्थाको वर्णन गरेको देखिँदा तथ्ययुक्त सबूदको अभावमा प्र.हरुले सफाई पाउने ठहर्छ भन्ने समेत व्यहोराको सप्तरी जिल्ला अदालतको २०४१।४।१० को फैसला ।

१२.   शुरु जि.अ.को उक्त फैसलामा चित्त बुझेन प्रहरी प्रतिवेदन तथा स.स.अ. को राय बमोजिम प्रतिवादीहरुलाई सजायँ गरिपाउँ भन्ने समेत व्यहोराको वादी श्री ५ को सरकारतर्फबाट पू.क्षे.अ.मा पुनरावेदन परेकोमा सबूद प्रमाणबाट डाँका वारदात भएको प्रमाणित हुन नआएको र प्रतिवादीहरुले ज्यान सम्बन्धीको १७(१) नं. को ऐनको कसूर गरेको भन्ने प्रहरी प्रतिवेदन माग दावीको अवस्था मिसिलबाट नदेखिँदा शुरु जिल्ला अदालतको इन्साफ मनासिब छ भन्ने समेत व्यहोराको पूर्वाञ्चल क्षेत्रीय अदालतको मिति २०४३।३।१५।१ को फैसला ।

१३.   पू.क्षे.अ.को उक्त फैसलामा चित्त नबुझी वादी श्री ५ को सरकारतर्फबाट यस अदालतमा पर्न आएको पुनरावेदन ।

१४.   मृतक सोमनीवतीको पोष्ट मार्टम रिपोर्ट हेर्दा कर्तव्यबाट मृत्यु भएको देखिन आउँछ यस्तो अवस्थामा वारदात नै भएको प्रमाणित हुन नआएको भनी पू.क्षे.अ. समेतबाट प्रतिवादीहरुलाई सफाई दिने ठहर्‍याई भएको फैसला मिलेको नदेखिँदा अ.बं. २०२ नं. समेत बमोजिम छलफलको निमित्त प्रतिवादीहरुलाई झिकाई आएपछि नियम बमोजिम पेश गर्नु भन्ने यस अदालत संयुक्त इजलासको २०४४।१२।१७।४ को आदेश ।

१५.   मृतक सोमनीवतीको लाश पोष्टमार्टम गर्ने २ जना डाक्टरहरुलाई उपस्थित गराई पेश गर्नु भन्ने यस अदालत संयुक्त इजलासको २०५४।५।२।४ को आदेश बमोजिम डा. मंगलचन्द जैन तथा डा.कुसुमलता मिश्र उपस्थित भई बकपत्र गरेका ।

१६.    नियम बमोजिम दैनिक पेशी सूचीमा चढी इजलास समक्ष पेश हुन आएको प्रस्तुत मुद्दामा पु.वे. वादी श्री ५ को सरकार तर्फका विद्वान सहन्यायाधिवक्ता श्री बलराम के.सी. तथा प्रतिवादीतर्फका विद्वान अधिवक्ता कोमलप्रकाश घिमिरेले गर्नुभएको बहस जिकिर समेत सुनी पुनरावेदन सहितको मिसिल अध्ययन गरी पू.क्षे.अ. बाट भएको फैसला मिले नमिलेको के रहेछ भनी निर्णयतर्फ विचार गर्दा प्रस्तुत मुद्दामा २०४०।२।८ गते राती मागेन चौधरीको घरमा डकैती गरी मृतक सोमनी थरुनीलाई कर्तव्य गरी मारी डाँकाहरु भागी गएबाट कारवाही गरिपाउँ भन्ने समेतको जाहेरी दर्खास्त समेतका आधारमा डकैतीतर्फ चोरीको महलको ६ नं. बमोजिम र खुनतर्फ यसैले मारेको भनी खुल्न नआएकोले बुद्धिलाल चौधरी समेतका ५ जनाहरु उपर ज्यान सम्बन्धीको १७(१) नं. बमोजिम सजायँ हुन प्रहरीको राय भएकोमा डकैतीतर्फ प्रहरीको राय समर्थन गर्दै प्र.मध्येका बुद्धिलाललाई ज्या.सं. को १७(१) बमोजिम र अन्य प्र.हरु ४ जना उपर ज्या.सं. को १३(३) बमोजिम सजायँको माग गरी स.अ.बाट छुट्टै राय भई प्रतिवेदन दायर भएकोमा प्रहरीको राय बमोजिम सम्पूर्ण प्रतिवादीहरु उपर पुर्पक्ष गर्ने आदेश भई कारवाही थालनी भएकोमा तथ्ययुक्त सबूद प्रमाणको अभावमा प्र.हरुले सफाई पाउने ठहर्‍याएको सप्तरी जि.अ.को फैसलालाई सदर गरेको पू.क्षे.अ.को फैसला उपर श्री ५ को सरकारको पुनरावेदन परेको पाइन्छ ।

१७.   मृतक सोमनीवतीको शरीरका विभिन्न भागमा घाउचोटहरु भएको भन्ने समेत लाश प्रकृति मुचुल्काबाट देखिन्छ भने पोष्टमार्टम रिपोर्ट अनुसार टाउकोको चोट बाहेक अन्य शरीरका विभिन्न भागका घाउचोटहरु मृत्यु भइसकेपछि भए गरेका चोट हुन् र मृतकको मृत्युको कारण टाउकोमा चोट लाग्न गई Cereberal haemarage बाट भएको भन्ने देखिन्छ । उक्त कुराहरु सो लाश Postmortem गर्ने डाक्टरहरुले यस अदालतमा आई बकपत्र गर्दा पनि पुष्टि गरेका छन् । टाउकोमा लागेको घाउ कसको चोटले हुन गएको हो भन्ने कुरा प्रमाणित हुन नसकी प्रतिवादीहरु उपर ज्यान सम्बन्धीको १७(१) नं. बमोजिमको सजायँ माग दावी लिई प्रहरी प्रतिवेदन पर्न आएको छ । जाहेरवालीले आफ्नो जाहेरी दर्खास्तमा सैनी र बुद्धिलालले मृतकलाई चोट छोडेको भनी भनेकी छन् भने अदालतमा आई बकपत्र गर्दा आफूलाई आँगनमा समाई राख्ने तीन जना व्यक्तिहरु मध्ये सैनी र बुद्धिलाल भएको र अन्य २ जनाले मृतकलाई चोट छोडेको भन्ने समेत भनेबाट जाहेरवालीको भनाइहरु नै एक आपसमा बाझिएका छन् । विद्वान सहन्यायाधिवक्ताले आफ्नो बहसको सिलसिलामा मृतकलाई टाउकोमा चोट छोडी मरी सकेपछि शरीरमा थप घाउहरु अभियुक्तहरुले नै पार्न सक्दछन भन्दै नाक कान काट्ने आँखा झिक्ने जस्ता क्रियाहरुको उदाहरण दिनु भएकोमा प्रस्तुत वारदातमा मृतकको हुलिया (Indentity) मेट्ने काम नभएको मर्नेको शरीरमा बढी से बढी घाउहरु पार्ने काम भएकोले उक्त उदाहरण यहाँ सान्दर्भिक भएन । अभियुक्तहरु र जाहेरवालीको परिवार बीच मुद्दा परेको कारण रिसइवी रहेको देखिएकोले अभियुक्तहरुलाई फसाउने उद्देश्यले मरी सकेपछि मृतकका शरीरमा त्यतिका बनावटी घाउहरु पार्नु पर्ने अवस्था पर्न सक्छ, सरजमीनका अधिकांश व्यक्तिहरुले मृतक इनारमा लडी टाउकोमा चोट लागी मरेको भन्ने लेखाएको तथ्यलाई Postmortem Report ले पनि समर्थन गरेको छ, यदि शरीरका अन्य घाउहरु मृत्युपूर्व नै लागेका भए मृत्युको कारण अरु पनि हुन सक्दथ्यो । कर्तव्य गरी मारेमा अभियुक्तहरु इन्कार रहेका तथा अन्य तथ्ययुक्त सबूद प्रमाण समेतबाट अभियुक्तहरुले ज्यान मारेको देखिँदैन । कर्तव्यबाट ज्यान मर्न गएको ज्यान सम्बन्धीको १३ नंं. बमोजिम सजायँ हुने कसूर अपराध भए मात्र सो ज्यान मार्नालाई मतलवमा पस्ने अरु अभियुक्तको लागि ज्यान सम्बन्धीको १७ नं. बमोजिम सजायँ हुन सक्ने हो अन्यथा सो १७ नं. प्रयोग हुने अवस्था नपर्ने भन्ने समेत नि.नं. ७४० ने.का.प. २०३० पृष्ट १३७ मा प्रकाशित श्री ५ को सरकार विरुद्ध हुन्ते कार्की भएको कर्तव्य ज्यान मुद्दामा यस अदालत फुलबेञ्चबाट सिद्धान्त समेत प्रतिपादित भएको देखिँदा तथ्यबाट कर्तव्य ज्यानको वारदात भएको भन्ने देखाएकोमा ज्यान सम्बन्धीको १३ नं. अन्तर्गतको दावी नलिई मुख्य अभियुक्त को हो भन्ने ठहर गर्न नसकिनेमा ऐ. को १७(१) नं. बमोजिम अभियुक्तहरुलाई सजायँ गर्ने प्रहरी प्रतिवेदन माग दावी मिल्ने देखिँदैन ।

१८.   यसै गरी डाँकातर्फ विचार गर्दा जुन ज्यान मार्‍यो भन्ने मुख्य दावी भए पनि ज्यान सम्बन्धीको १७(१) नं. बमोजिम सजायँ गर्ने माग दावी भएकोमा सो नै कायम हुन नसकेको यस स्थितिमा अभियुक्तहरु वारदात स्थलमा गएको तथा वारदात भएको भन्ने देखिन आएन । खुुन वारदात पश्चात डाँका पनि भयो होला की भन्न पनि दशीको समेत अभाव रहेको तथा घटनास्थल प्रकृति मुचुल्का, सरजमीन समेतबाट डाँका वारदात भएको पत्यारलायक नदेखिँदा डाँका गरेको समेत ठहर्दैन । तसर्थ अभियुक्तहरुलाई सफाई दिने गरेको शुरु इन्साफ सदर गरेको पू.क्षे.अ.को इन्साफ मनासिब ठहर्छ । वादी श्री ५ को सरकारको पुनरावेदन जिकिर पुग्नसक्दैन । मिसिल नियम बमोजिम गरी बुझाई दिनु ।

 

उक्त रायमा म सहमत छु ।

 

न्या.महेशरामभक्त माथेमा

 

इति सम्वत् २०४५ साल फाल्गुण १७ गते रोज ५ शुभम् ।

 

 

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु