निर्णय नं. ३७४८ - कर्तव्य ज्यान

निर्णय नं. ३७४८ ने.का.प. २०४६ अङ्क २
संयुक्तइजालस
माननीय न्यायाधीश श्री बब्बरप्रसाद सिंह
माननीय न्यायाधीश श्री हिरण्येश्वरमान प्रधान
सम्वत् २०४५ सालको फौ.सा.नं. ७८
फैसला भएको मिति : २०४५।११।२७।६ मा
वादी : सन्ते मिजारको जाहेरीले श्री ५ को सरकार
विरुद्ध
प्रतिवादी : जि.दैलेख नाउँले कटुवाल गा.पं. वडा नं. २ बस्ने काले कामीसमेत
मुद्दा : कर्तव्य ज्यान
(१) आफूमाथि हमला गर्नेसित चक्कु खोसी सकेर पनि फेरि सोही चक्कु प्रहार गरेको देखिन आएकोले यस्तो अवस्थामा अभियुक्तलाई ५ वर्ष मात्र कैद गर्ने भनी व्यक्त गरेको राय मनासिब देखिन नआउने तर पूर्व योजनाबाट वारदात भएको नदेखिई मृतककै कारणबाट सो वारदात घट्न गएको देखिन आएकोले शुरु जि.अ.ले दावी बमोजिम ज्यान सम्बन्धीको १३(१) बमोजिम सर्वश्वसहित जन्मकैद नगरी १० वर्ष मात्र कैद गर्ने गरी राय दिएको मनासिब ठहर्ने ।
(प्रकरण नं. १६)
फैसला
न्या.हिरण्येश्वरमान प्रधान
१. मध्यपश्चिमाञ्चल क्षेत्रीय अदालतबाट साधक जाहेर भई पेश हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त विवरण यस प्रकार छ ।
२. २०४२।८।११ गते राती छोरा गगने कामीले कोखाको बीचमा आफैंले चक्कुले हानी सो चोटबाट ऐ. १३ गते निजको मृत्यु भएकोले कानुन बमोजिम गरिपाउँ भन्ने समेत सन्ते मिजारको २०४२।८।१८ को जाहेरी दर्खास्त ।
३. मृतकको छातीको बायाँ कोखाको दूधको छेउ ४ इञ्च लम्बाई ५ इञ्च गहिरो १ इञ्च गोलाई भएको घाउ भएको भन्ने समेत लाश प्रकृति मुचुल्का ।
४. २०४२ कात्तिक महीनामा मेरो गोरुले सन्ते कामीको कोदो खाई दिएको कारण सन्तेको छोरा गगने समेतले म समतेलाई कुटपिट गरेको थियो र पछि सन्तेको घरमा सभा बसेकोमा अरुसंग मेल मिलाप भयो गगने नमिलेकोले र विवाद हुँदा हुँदै निजले चक्कु निकाली मेरो कठालो समातेकोले मैले निजको चक्कु समातेको हात समात्न खोज्दा निजको छातीमा चक्कु रोपिन गई घाइते हुँदा ऐ. मार्ग १३ गते निज गगनेको मृत्यु भएको हो भन्ने समेत काले कामीले प्रहरीमा गरेको कागज गगने र काले कामीको झगडा विवाद हुँदा गगने रिसाई चक्कु निकालेको र काले कामीले चक्कु झम्टिदाँ गगनेको छातीमा चक्कु रोपिन गई मृत्यु भएको हो भन्ने समेत नन्दराम थापाले प्रहरीमा गरेको कागज ।
५. गगने कामी र काले कामीको झगडा हुँदा गगनेले समातेको चक्कु कालेले झम्टिदा गगनेको छातीमा रोपिन गई सोही चोटबाट गगनेको मृत्यु भएको हो भन्ने समेत काले कामीले प्रहरीमा गरेको कागज ।
६. २०४३ कार्तिक औंशीको रातमा कालेको गोरुले मेरो कोदो खाएकोमा गगने र कालेको झगडा भएको र २०४२।८।१२ गतेका दिन मेरो घरमा सभा हुँदा गगने र काले रिसाई समातासमात गर्दा छोरा गगनेले चक्कु निकाल्दा कालेले सो चक्कु समाई लिई गगनेको छातीमा धस्यो र गगने घाइते भई ऐ. १३ गते मृत्यु भएको हो भन्ने जाहेरवाला सन्ते मिजारले प्रहरीमा गरेको कागज ।
७. २०४२।८।१२ गते गगनेले आफैं चक्कुले छातीमा हानी घाइते भई मरेको भन्ने सुनेका हौं आँखाले देखेनौं भन्ने समेतको सरजमीन मुचुल्का ।
८. मिलापत्र हुने कुरामा विवाद झगडा हुँदा गगनेले साथमा लिएको चक्कु काले कामीले गगनेको छातीमा धसी सोही चोटबाट निज गगने कामीको मृत्यु भएकोले प्र.काले कामीलाई ज्यान सम्बन्धीको १३(१) अनुसार सजायँ हुन र कर्तव्य परी मरेको कुरा थाहा पाई जाहेर प्रकाश नगर्ने गा.स.स. पदमबहादुर थापा, नवराज थापा, गा.स.स. तुल्से कामी, भाले कामी, नन्दराम थापा, धर्मराज थापा, दलबहादुर कामी, कने कामी, दिले कामी, चाउटे कामी, सन्ते मिजार कामी समेतलाई ऐ. २५ नं. अनुसार सजायँ हुनु पर्ने भन्ने समेत व्यहोराको संयुक्त प्रहरी प्रतिवेदन ।
९. मेरो गोरुले गगनेको कोदो बाली खाएकोमा निजसंग झगडा कुटपिट भएको र त्यसै विषयमा २०४२।८।१२ मा मिलापत्र गराउँदा गगनेले आफ्नो पाकेटबाट चक्कु निकाली म माथि आई लाग्दा निज गगनेले हानी हाल्छ की भन्ने सोची निजको चक्कु समात्न खोज्दा निज (साविक पेज नंं २५६) गगनेकै हातबाट सो चक्कु निजको कोखामा रोपिन गई सोही चोटबाट भोलिपल्ट निजको मृत्यु भएको हो । निजलाई मैले मार्ने नियतले हात समाई झट्का दिएको होइन भन्ने समेत प्र.काले कामीले अदालतमा गरेको बयान ।
१०. २०४२।८।१२ गते गगने र कालेका बीच झगडा हुँदा गगनले समाएको चक्कु काले कामीले खोसी गगनेको बायाँ कोखामा हानी रगताम्मे बनाएको हो । चक्कुले हान्दा जोरसंग हानेको हो वा के हो थाहा छैन भन्ने चाउरे कामी, तुल्सीवीर कामी, दिले कामी, धर्मराज थापा, नन्दराम थापा, सन्ते मिजार कामी समेतले अदालतमा गरेको एकै मिलानको पृथक पृथक बयान ।
११. काले कामीसंग झगडा हुँदा आफ्नो रिसले गगने कामीले चक्कु निकाली आफ्नो छातीमा आफैंले हानी सोही चोटबाट निजको मृत्यु भएको हो भन्ने समेत प्र.भाले कामी, मोटो कामी, पदमबहादुर थापा, नवराज थापा समेतले अदालतमा गरेको एकै मिलानको पृथक पृथक बयान ।
१२. गगने कामी मर्यो भन्ने २०४२।८।१३ गते सुनेको हुँ के भई मर्यो थाहा पाइन भन्ने समेत प्र.कर्ने कामीले अदालतमा गरेको बयान ।
१३. प्रतिवादी काले कामीले मृतक गगने कामीको हातबाट चक्कु खोसी निज गगनेलाई प्रहार गरी सोही चोटबाट मृतक गगने कामीको मृत्यु भएको पुष्टि हुन आएकोले प्र.काले कामीलाई ज्या.सं. को १३(१) अनुसार सर्वश्वसहित जन्मकैद हुन्छ । तापनि घटनास्थल र परिस्थितिलाई विचार गर्दा उक्त कैदको सजायँ चर्को पर्न जाने हुँदा अ.बं. १८८ नं. अनुसार १० वर्ष कैद हुन्छ । अन्य प्रतिवादीहरुले सफाई पाउने ठहर्छ भन्ने समेत दैलेख जिल्ला अदालतको मिति २०४३।१२।२१ को जाहेरी फैसला ।
१४. प्र.काले कामीलाई सजायँ कम गर्ने र अन्य प्र.हरुलाई सफाई दिने ठहर्याएको शुरु जि.अ.को फैसला त्रुटिपूर्ण हुँदा बदर गरी प्रहरी प्रतिवेदन दावी अनुसार गरिपाउँ भन्ने समेत श्री ५ को सरकारतर्फबाट पुनरावेदन परेकोमा प्र.काले कामीलाई १८८ नं. अनुसार कैद वर्ष ५ हुन राय प्रस्तुत गरिन्छ र अरु प्र.हरुलाई सफाई दिने ठहर्याएको शुरु इन्साफ मनासिब ठहर्छ भन्ने समेत भेरी अञ्चल अदालतको फैसला ।
१५. भेरी अञ्चल अदालतको उक्त फैसला उपर साधक निकासाका लागि मिसिल मध्य पश्चिमाञ्चल क्षेत्रीय अदालतमा पठाएकोमा भेरी अञ्चल अदालतको राय सहितको जाहेरी फैसला मनासिब छ साधक निकासाका लागि यो फैसला सहितको मिसिल सर्वोच्च अदालतमा पठाई दिनु भन्ने समेत व्यहोराको म.प.क्षे.अ.को फैसला ।
१६. नियम बमोजिम दैनिक पेशी सूचीमा चढी साधक जाहेर भई इजलास समक्ष पेश हुन आएको प्रस्तुत मुद्दामा म.प.क्षे.अ.को फैसला सहितको मिसिल अध्ययन गरी हेर्दा यसमा म.प.क्षे.अ. ले अभियुक्त काले कामीलाई दावी बमोजिमको अपराध गरेको ठहर्याई सोही बमोजिम सजायँ गर्ने गरेको शुरुको सदर गरेको अञ्चल अदालतको इन्साफ सदर गरी अ.बं. १८८ नं. अन्तर्गत अभियुक्तलाई ५ वर्ष मात्र कैद गर्ने गरेको देखियो । तर मुद्दाको तथ्यहरुबाट जुन वारदातमा मर्नेको मृत्यु हुन गएको छ सो वारदात अभियुक्तको कारणबाट भएको नदेखिई मर्नेले नै अभियुक्तसंग झगडा गर्न गएको कारणबाट भएकै भए पनि जाहेरवाला र अरु चस्मदिद व्यक्तिहरुको बकपत्रबाट मर्ने गगनेको हातमा रहेको चक्कु अभियुक्तले खोसी मर्ने गगने उपर प्रहार गरेको भन्ने देखिन आएकोले त्यस्तो आफू माथि हमला गर्ने गगनेसित आफूले चक्कु खोसी सकेर पनि फेरि सोही चक्कु आफूले गगने उपर प्रहार गरेको देखिन आएकोले यस्तो अवस्थामा अभियुक्तलाई ५ वर्ष मात्र कैद गर्ने भनी व्यक्त गरेको राय मनासिब देखिन आएन । तर अभियुक्तको पूर्वयोजनाबाट वारदात भएको नदेखिई मृतककै कारणबाट सो वारदात घट्न गएको देखिन आएकोले शुरु दैलेख जि.अ.ले दावी बमोजिम ज्या.सं. को १३(१) बमोजिम सर्वश्वसहित जन्मकैद नगरी १० वर्ष मात्र कैद गर्ने गरी राय दिएकोसम्म मनासिब ठहर्छ । नियम बमोजिम साधकको लगत काटी मिसिल बुझाई दिनु ।
उक्त रायमा म सहमत छु ।
न्या.बब्बरप्रसाद सिंह
इति सम्वत् २०४५ साल फाल्गुण २७ गते रोज ६ शुभम् ।