शब्दबाट फैसला खोज्‍नुहोस्

निर्णय नं. ७३२० - जिउ मास्ने बेच्ने

भाग: ४६ साल: २०६१ महिना: बैशाख अंक:

निर्णय नं. ७३२०    ने.का.प.२०६१       अङ्क १

 

संयुक्त इजलास

माननीय न्यायाधीश श्री चन्द्रप्रसाद पराजुली

माननीय न्यायाधीश श्री मिनवहादुर रायमाझी

सम्बत् २०५९ सालको फौ.पु.नं.३२३५

फैसला मितिः २०६०।१२।२७

 

मुद्दा : जिउ मास्ने बेच्ने ।

 

पुनरावेदक

प्रतिवादीः जिल्ला नवरपरासी पिठौली गा.वि.स.वडा नं.२ घर भै हाल कारागार शाखा सदरखोरडिल्लीबजारम थुनामा रहेको खजुर भन्ने भिमसेन परियार

बिरुद्ध

प्रत्यर्थी

विपक्षीः जितवहादुर परियारको जाहेरीले श्री ५ को सरकार

 

§  तहकिकात अनुसन्धानको सिलसिलामा भए गरेका काम कारवाहीलाई अदालतमा आई समर्थन गरेको अबस्थामा सो कुरालाई प्रमाण ऐन, २०३१ को दफा १८ बमोजिम बकपत्रलाई प्रमाण लिन मिल्ने व्यवस्था गरेको देखिने प्रहरी समक्ष गरेको प्रतिवादीको साविती बयानलाई पीडित समेतको बयान बकपत्रबाट समर्थित भई रहेको देखिनुका साथै अदालत समक्षको प्रतिवादीको बयान समेतबाट निजैले फकाई पीडितहरुलाई बम्बै पुर्‍याएको भन्ने देखिन आई पीडितलाई प्रतिवादीले ललाई फकाई भारतको बम्बैमा पुर्‍याई बिक्री गरेको पुष्टि भइरहेको अबस्थामा जानीजानी पीडित केटीहरुलाई बिक्री गर्न भनी फकाई भारत लगेको होइन भन्ने समेत कुराको पुनरावेदन जिकिरले कानूनले निषेध गरिएको आपराधिक कार्य गर्ने प्रतिवादीले आफूले गरेको अपराधबाट उन्मुक्ति पाउने भनी भन्न नसकिने ।

(प्र.नं. १५)

 

निवेदक तर्फवाट

विपक्षी तर्फवाटः

अवलम्वित नजिरः

 

आदेश

न्या.चन्द्रप्रसाद पराजुलीः विशेष अदालत काठमाडौंको मिति २०५९।१०।१५ को फैसला उपर विशेष अदालत ऐन, २०५९ को दफा १७ बमोजिम प्रतिवादीको पुनरावेदन परी पेश भएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य र निर्णय यसप्रकार छ :

२.    मेरो बहिनी भुमा परियार र गाउँकै ऐ.वडा नं.१ बस्ने अमृता नेपालीलाई विरगञ्जमा सुइटर बुन्ने समेतको राम्रा काम लगाई दिन्छु भनी विभिन्न किसिमको बहाना समेत देखाई लोभलालच समेतमा पारी प्रतिवादी भिमसेन परियारले मिति २०५०।९।२८ गते घरबाट भगाई लगी भारतको बम्बई स्थित वेश्यालयमा भा.रु.८०,०००।मा बिक्री गरी जिउ मास्ने बेच्ने कार्य नियन्त्रण ऐन, विपरीत कसूर अपराध गरेको हुँदा निज प्रतिवादी भिमसेन परियार र निजका सहयोगी मतियार अन्य दुई रवि राई भन्ने र गोपाल राई समेतलाई पक्राउ गरी कारवाही गरी पाउँ भन्ने समेत व्यहोराको जितवहादुर परियारको किटानी जाहेरी ।

३.    मेरी बहिनी भुमा परियार गाउँकै अमृता नेपाली मिति २०५०।९।२८ गतेदेखि हराएको हुँदा खोजतलास गरी पाउँ भन्ने समेत व्यहोराको जितवहादुर परियारले दिएको हुलिया निवेदन ।

४.    प्रतिवादी भिमसेन परियारले म तथा भुमा परियारलाई विरगञ्जमा लगि राम्रो सुईटर बुन्ने समेतको काम लगाई दिन्छु, धेरै पैसा कमाईन्छ, यस्तो दुःख गरी बस्नु पर्दैन भनी विभिन्न किसिमको लोभ लालच समेत देखाई मिति २०५०।९।२८ गते नारायणगढ हुँदै नेपालको सिमाना कांकडभिट्टाबाट बोर्डर कटाई भारतको बम्बै स्थित वेश्यालयमा लगि भा.रु.८०,०००।म बिक्री गरेको र अं.४ वर्ष म उक्त वेश्यालयमा वेश्याको काम गरी जण्डिस समेतको रोग मलाई लागि सो वेश्यालयबाट मलाई फिर्ता गरेको हुँदा निज प्रतिवादी आएका अबस्था उजुर गर्ने गरी बसेकी थिएँ। निज प्रतिवादीले रवि राई र गोपाल राई नाम बताउने अन्य दुई जना सहयोगी मतियार समेत लिई गएको थियो भन्ने समेत व्यहोराको पीडित अमृता नेपालीको बयान ।

५.    मैले २०४८ सालदेखि काठमाडौं स्थित पुरानो बानेश्वरमा रहेको गार्मेन्टमा कपडा सिलाउने समेतको काम गर्ने हुँदा सो गार्मेन्टमा खासै पैसा नहुने र गाउँका केटीहरुलाई भारतको वेश्यालयमा लगी बिक्री गरेमा धेरै पैसा कमाइन्छ भन्ने सुनी थाहापाई सो गार्मेन्टमा काम गर्ने हेटौंडा घर भएको नाम रवि राई र गोपाल राई हो भनी बताउने दुवैजनासँग सरसल्लाह गरी निजहरुलाई नारायणगढमा राखी घरमा आई गाउँकै जाहेरवालाको बहिनी भुमा परियार र अमृता नेपालीलाई विरगञ्जम सुईटर बुन्ने समेतको राम्रो नोकरी लगाई दिन्छु भनी विभिन्न किसिमको लोभ लालच देखाई गाँउबाट प्रगतिनगर हुँदै नारायणगढ पुर्‍याई कांकडभिट्टाबाट बोर्डर कटाई भारतको बम्बै पुर्‍याई सो स्थानमा रहेको वेश्यालयमा जनही रु.४०,०००।मा दुवै जनालाई भा.रु.८०,०००।मा बिक्री गरी साथमा गएका रवि राई, गोपाल राईलाई जनही भा.रु.१०।१० हजार दिई बिक्री गरेको हुँ भन्ने समेत व्यहोराको प्रतिवादी भिमसेन परियारको बयान कागज ।

६.    प्रतिवादी खजुरे भन्ने भिमसेन परियारले जाहेरवालाको बहिनी भुमा परियार र अमृता नेपालीलाई विभिन्न किसिमको लोभ लालच समेत देखाई भारतको बम्बैमा लगी सो स्थानमा रहेको बेश्यालयमा रु.८०,०००।मा बिक्री गरेको कुरा गाउँघरमा स्वीकारेको हुँदा निज प्रतिवादी भिमसेन परियार समेतले जाहेरवालाको बहिनी भुमा परियार र अमृता नेपालीलाई विभिन्न लोभ लालच समेत देखाई भारतको बम्बै स्थित वेश्यालयमा बिक्री गरेको हुँदा निजहरुलाई कानून बमोजिम कारवाही होस् भन्ने समेत व्यहोराको चुनीलाल शर्मा पौडेल समेतले लेखाई दिएको बस्तुस्थिती मुचुल्का ।

७.    प्रतिवादी भिमसेन परियार समेतले जाहेरवालाको बहिनी भुमा परियार र अमृता नेपालीलाई विभिन्न किसिमको लोभ लालच समेत देखाई भारतको बम्बै पुर्‍याई भा.रु.८०,०००।बिक्री गरेको हो भन्ने समेत व्यहोराको सुकमाया नेपालीको कागज ।

८.    मिसिल संलग्न कागजातबाट प्रतिवादी भिमसेन परियारले जिउ मास्ने बेच्ने कार्य नियन्त्रण ऐन, २०४३ को दफा ४ को देहाय (क) को कसूर अपराध गरेकोले उक्त कसूरमा प्रतिवादी खजुरे भन्ने भिमसेन परियारलाई ऐ.ऐनको दफा ८(१) बमोजिम कैद सजायं गरी ऐ.ऐनको दफा ८(५) बमोजिमको ने.रु.१,२८,०००।थप सजायं समेत गरी पाउन मागं दावी लिई विशेष अदालतमा दायर हुन आएको अभियोग पत्र ।

९.    मिति २०५०।९।२८ गते तिर म काठमाडौं लगजरी गार्मेन्ट पुरानो बानेश्वर काम गर्दा यसै गार्मेन्टमा काम गर्ने रवि राई र गोपाल राईले २/३ जना केटी भए खोज भनेकोले मैले गार्मेन्टमा काम गर्ने मेरो गाउँको भुमा परियार र अमृता नेपालीलाई दार्जलिङ जाउँ सुईटर ल्याई यहाँ बेच्नुपर्छ, नाफा हुन्छ । मेरो गार्मेन्टमा काम गर्ने रवि राई र गोपाल राईले पैसा लगानी गर्न र सुईटर ल्याए वापत हामी सबेलाई १०/१० हजार रुपियां दिन्छु भनेकोले ति दुवै केटीहरु भुमा परियार र अमृता नेपाली मेरो विश्वासमा र भरमा परी हिड्नलाई राजी भए त्यसपछि २०५०।९।२८ गते नारायणघाट हुँदै कांकडभिट्टाको बाटो भई भारत पस्यौ र उनीहरुको भारतको ट्रेनमा चढाई बम्बै पुर्‍याए भन्ने समेत व्यहोराको प्रतिवादी खजुरे भन्ने भिमसेन परियारले विशेष अदालतमा गरेको बयान ।

१०.    पीडित अमृता नेपालीको किटानी जाहेरी र प्रमाणित बयान । प्रतिवादीको प्रहरी र अदालतमा भएको बयान समेतका तत्काल प्राप्त प्रमाणबाट निजलाई जिउ मास्ने बेच्ने कार्य नियन्त्रण ऐन, २०४३ को दफा १० र विशेष अदालत ऐन, २०५९ को दफा ७(ङ) बमोजिम थुनामा राख्नु पर्ने पर्याप्त र मनासिब आधार कारण भएबाट पछि मुद्दामा ठहरे बमोजिम हुने गरी निज खजुरे भन्ने भिमसेन परियारलाई थुनुवा पूर्जी दिई थुनामा राख्नु र वादीका गवाहहरु र देख्ने भनेका गवाह र प्रमाणहरु बुझी नियमानुसार पेश गर्नु भन्ने समेत व्यहोराको विशेष अदालतको मिति २०५९।४।१३ को आदेश पर्चा ।

११.    विशेष अदालतको आदेशानुसार पीडित अमृता नेपाली, जाहेरवाला जितवहादुर परियार र वस्तुस्थिति मुचुल्कामा बस्ने वादीका गवाह तुलसा गुरुङले विशेष अदालतमा गरिदिएको बकपत्र मिसिल सामेल रहेको ।

१२.   प्रतिवादी खजुरे भन्ने भिससेन परियारलाई जिउ मास्ने बेच्ने कार्य नियन्त्रण ऐन, २०४३ को दफा ८(१) बमोजिम कैद वर्ष १२ (बाह्र) र ऐ.ऐनको दफा ८(५) बमोजिम रु.१,२८,०००।– (एक लाख अठ्ठाइस हजार) जरिवाना समेत हुन्छ भन्ने विशेष अदालत काठमाडौंको मिति २०५६।१०।१५ को फैसला ।

१३.   मैले जानीजानी पीडित केटीहरुलाई बिक्री गर्न भनी फकाई भारत लगेको होइन भन्ने अदालतको बयानमा स्पष्ट रुपमा उल्लेख गरेको हुँदाहुँदै जिउ मास्ने बेच्ने कार्य नियन्त्रण ऐन, २०४३ को दफा ४   (क) को कसूर गरेको भनी कैद र जरिवाना समेत गर्ने गरेको विशेष अदालतको फैसला त्रुटीपूर्ण छ । प्रहरी समक्षको मेरो स्वेच्छा विपरीतको बयानलाई प्रमाण ग्रहण गर्न मिल्दैन । केटी बेच्ने योजना बनाउन मेरो संलग्नता रहेको र बिक्री गरी आएको रकम खाएको भन्ने कुनै कुरा नदेखिएको स्थितिमा मलाई सजायं गर्न मिल्दैन । अभियोग दावीबाट सफाइ पाउँ भन्ने समेत व्यहोराको प्रतिवादी खजुरे भन्ने भिमसेन परियारको यस अदालतमा परेको पुनरावेदन पत्र ।

१४.   नियम बमोजिम दैनिक पेशी सूचीमा चढी पेश भएको प्रस्तुत मुद्दामा प्रतिवादीको  परेको पुनरावेदन सहितको मिसिल कागजात अध्ययन गरियो ।

१५.   विशेष अदालत काठमाडौंले यी प्रतिवादीलाई सजायं गर्ने गरेको फैसला उपर पुनरावेदन परेको प्रस्तुत मुद्दामा इन्साफतर्फ विचार गर्दा प्रतिवादी खजुरे भन्ने भिमसेन परियारले भुमा परियार र अमृता नेपालीलाई ललाई फकाई भारत बम्बै स्थित वेश्यालयमा लगि बिक्री गरी जिउ मास्ने बेच्ने (कार्य नियन्त्रण) ऐन, २०४३ को दफा ४ को देहाय (क) को कसूर अपराध गरेको भन्ने आधारमा ऐ.ऐनका दफा ८(१) बमोजिम कैद सजाय र ऐ.८(५) बमोजिम थप सजाय समेत गराई पाउन वादी श्री ५ को सरकारको अभियोग दावी रहेको देखिन्छ । प्रतिवादीले अदालतमा बयान गर्दा पीडितहरु भुमा परियार र अमृता नेपालीलाई सुईटरको व्यापार गर्ने भनी विश्वासमा पारी आफुले बम्बै पुर्‍याएको र मेरो अज्ञानताले म मार्फत ती दुई केटीहरु भारतको बम्बैको वेश्यालमा बेचिन पुगे । साथमा गएका रवि राई र गोपाल राईले म समेतलाई ठगी बिक्री गरे भन्ने उल्लेख गरेको देखिन्छ अदालत समक्षको उपरोक्त व्यहोराको बयानबाट पनि यी पुनरावेदक प्रतिवादीले पीडितहरुलाई भारत बम्बैसम्म पुर्‍याएको भन्ने कुरामा विमति रहेको देखिदैन । आफु ले पीडितहरुलाई बम्बैमा बिक्री गरेको होइन भन्ने प्रमाण प्रतिवादीले गुजार्न सकेको देखिंदैन । पीडित मध्येकी अमृता नेपालीले अनुसन्धान तहकिकातको क्रममा मौकामा गरेको अदालतबाट प्रमाणित बयानमा प्रतिवादी खजुरे भन्ने भिमसेन परियारले आफु हरुलाई ललाई फकाई भारतको वेश्यालयमा लगि निज समेतले जनही भा.रु. ४०,०००।का दरले बिक्री गरेका भनी उल्लेख गरेको र उक्त कुरालाई पुनः अदालतमा बकपत्र गर्दा समेत समर्थन गरिदिएको देखिन्छ । त्यस्तै जाहेरवाला जितवहादुर परियारले पनि आफु ले दिएको जाहेरी व्यहोरालाई समर्थन गर्दै अदालतमा आई बकपत्र गरि दिएको देखिन्छ । यसरी तहकिकात अनुसन्धानको सिलसिलामा भए गरेका काम कारवाहीलाई अदालतमा आई समर्थन गरेको अबस्थामा सो कुरालाई प्रमाण ऐन, २०३१ को दफा १८ बमोजिम उक्त बकपत्रलाई प्रमाण लिन मिल्ने व्यवस्था गरेको देखिन्छ । यसका अतिरिक्त प्रहरी समक्ष गरेको प्रतिवादीको साविती बयानलाई पीडित समेतको बयान बकपत्रबाट समर्थित भई रहेको देखिनुका साथै अदालत समक्षको प्रतिवादीको बयान समेतबाट निजैले फकाई पीडितहरुलाई बम्बै पुर्‍याएको भन्ने     देखिन आई पीडित अमृता नेपाली र भुमा परियारलाई यिनै प्रतिवादीले ललाई फकाई भारतको बम्बैमा पुर्‍याई बिक्री गरेको पुष्टि भइरहेको अबस्थामा जानीजानी पीडित केटीहरुलाई बिक्री गर्न भनी फकाई भारत लगेको होइन भन्ने समेत कुराको पुनरावेदन जिकिरले कानूनले निषेध गरिएको आपराधिक कार्य गर्ने प्रतिवादीले आफूले गरेको अपराधबाट उन्मुक्ति पाउने भनी भन्न सकिने अबस्था आएन ।

१६.    अतः पुनरावेदक प्रतिवादी खजुरे भन्ने भिमसेन परियारलाई अभियोग मागं दावी बमोजिमको कसूरदार ठहराई सो वापत कैद सजायं र जरिवाना समेत गर्ने गरेको विशेष अदालतको फैसला मनासिबै देखिंदा सदर हुने ठहर्छ । प्रतिवादीको पुनरावेदन जिकिर पुग्न सक्दैन। थुनामा रहेका प्रतिवादीलाई फैसलाको जानकारी दिई मिसिल नियमानुसार बुझाई दिनु ।

 

उक्त रायमा सहमत छु । 

 

न्या.मीनबहादुर रायमाझी

 

 

इति सम्बत २०६० साल चैत्र २७ गते रोज  शुभम्––––––––––––

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु