निर्णय नं. ७३२१ - अंश दपोट

निर्णय नं. ७३२१ ने.का.प.२०६१ अङ्क १
संयुक्त इजलास
माननीय न्यायाधीश श्री मीनवहादुर रायमाझी
माननीय न्यायाधीश श्री सुशिला सिंह शिलु
सम्वत् २०५५ सालको दे.पु.नं. .५०८१
फैसला मितिः २०६०।१०।१२।२
मुद्दा :– अंश दपोट ।
पुनरावेदक
वादीः जिल्ला नवलपरासी जमुवार्ड गा.वि.स. वडा नं ६ वस्ने गुणेन्द्रवहादुर चौधरी समेत
विरुद्ध
प्रत्यर्थी
प्रतिवादीः ऐ.ऐ. वस्ने लक्ष्मी नारायण चौधरी
§ विवादित सम्पति पैतृक सम्पति नभएकाले तायदाती फांटवारीमा पेश नगरिएको भन्ने प्रतिवादीको प्रतिउत्तर जिकिर देखिएतापनि दावीको सम्पति निजी आर्जनको हो भन्ने कुनै प्रमाण प्रतिवादीले पेश दाखेल गर्न सकेको नदेखिएको अवस्थामा प्रमाण ऐनको दफा ६(क) अनुसार अन्यथा प्रमाणित नभएसम्म एकाघर संगका अंशियारहरु मध्ये जुनसुकै अंशियारको नाउँमा रहेको सम्पति सगोलको सम्पति हो भनी अनुमान गर्नुपर्ने हुँदा निजी आर्जन भन्ने कुराको प्रमाणको अभावमा विवादित सम्पति प्रतिवादीको निजी आर्जनको रहेछ भनि मान्न मिल्ने नदेखिने ।
§ प्रतिवादीको छूट जग्गा दर्ता गरी पाउँ भन्ने निवेदन मालपोत कार्यालय नवलपरासीमा २०४५।६।१६ मा परेको मिसिल संलग्न निवेदनको प्रतिलिपिवाट देखिन आएको र सो निवेदनवाट उक्त अंश नाउँसारी मुद्दाको फिराद गर्नु अगाडि देखि नै विवादित कित्ताका जग्गा प्रत्यर्थी प्रतिवादीको भोग नियन्त्रणमा रहेको तथ्य स्थापित हुन आएको स्थितिमा आफ्नो भोग नियन्त्रणमा रहेको दर्ताको कारवाई समेत उठी सकेको सगोलको वण्डा हुनु पर्ने जग्गा तायदाती नदिएको अवस्था भएको र पछि दर्ता भै सकेपछि उक्त जग्गा बिक्री गरेको तथ्यवाट प्रतिवादीको दपोट गर्ने उद्देश्य नरहेको भनी मान्न सकिने अवस्था नरहेवाट प्रतिवादीले दावीका कित्ता जग्गा दपोट गरेको ठहर्ने ।
(प्र.नं. १३)
पुनरावेदक वादी तर्फवाटः विद्वान अधिवक्ता श्री रामवन्धु शर्मा
प्रत्यर्थी तर्फवाटः विद्वान अधिवक्ता श्री गुरुप्रसाद वराल र श्री ज्ञानेन्द्रप्रसाद अधिकारी
अवलम्वित नजिरः
फैसला
न्या.मीनवहादुर रायमाझीः न्याय प्रशासन ऐन, २०४८ को दफा ९ वमोजिम पुनरावेदन अदालत वुटवलको फैसला उपर पर्न आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य र ठहर यसप्रकार छ :–
२. हामी वादी प्रतिवादी वीच अघि चलेको अंश मुद्दामा प्रतिवादीले तायदाती फांटवारी पेश गर्दा लक्ष्मी नारायण थारुका नाउँमा दर्ता रहेको जि.न.प. मनरी गा.वि.स. वडा नं. १ कि.नं. २१ को ज.वि. ०–२–१५ ऐ. कि.नं. ३७ को ज.वि. १–११–० समेतका २ कित्ता जग्गा तायदाती फांटवारीमा नदेखाई लुकाई दवाई राखेको र उक्त २ कित्ता जग्गा मध्ये कि.नं. ३७ को १–११–० मनरी गा.वि.स. वडा नं. १ वस्ने लक्ष्मी देवी चौधरीलाई मिति २०५०।२।४ मा राजिनामा गरी दिएका रहेछन् । सो कुरा २०५०।८।८ मा मालपोत कार्यालय परासीवाट निजका नाउँको दर्ता श्रेस्ताको नक्कल उतारी लिंदा थाहा पाएको हुँदा सो कि.नं. ३७ को १–११–० जग्गाको लिखत वदर मुद्दाको फिराद दायर गरेको छु र विपक्षीले तायदाती फांटवारीमा नदेखाई लुकाई छिपाई राखेको कि.नं. २१ र ३७ को जग्गाको लक्ष्मी नारायण चौधरकिो नाउँको दर्ता वदर गरी हाम्रा नाउँमा दा.खा. नामसारी गरि फिराद दायर गर्दा राखेका कोर्टफि समेत विपक्षीवाट भराई पाउँ भन्ने समेत व्यहोराको फिराद दावी ।
३. मावली बाजे रुद्र नारायणले मलाई दिएको रुपैंयावाट मनरी वस्ने निरमल भगतवाट ११–१३–५ जग्गा मेरा नाउँमा खरिद गरि लिएको र आमाको मृत्युपछि वावुले अर्की सौतेनी आमा ल्याई सोही खेतीवाट जीवन गुजारा गरेका थियौं । पछि जग्गा टाढा पर्न गएकोले उक्त जग्गा मध्ये ९–१९–१० जग्गा २०२२ सालमा बिक्री गरि जुमुवार्ड गा.वि.स.वडा नं. ५ मा ५–१३–० जग्गा खरिद गरी लिएको र वण्डा नलाग्ने जग्गा हुँदा अंश मुद्दाको तायदाती फांटवारी पेश गर्दा उक्त जग्गा उल्लेख नगरेको हुँदा झुठृा फिराद दावीवाट फुर्सद पाउँ भन्ने समेत व्यहोराको प्रतिउत्तर पत्र ।
४. यसमा वादी प्रतिवादीका साक्षीका वकपत्र भै मिसिल सामेल रहेछ ।
५. यसमा लगाउको लिखत वदर मुद्दा र अंश मुद्दाको प्रमाण मिसिल शुरु मिसिल साथ रही पेश हुन आएको रहेछ ।
६. तायदाती फांटवारीमा कुनै कुरा उल्लेख नै नगरी दवाए छिपाएको देखिएकोले उक्त जग्गा वादीहरुका नाउँमा एकलौटी दर्ता दा.खा. नामसारी गरि दिनु पर्ने ठहर्छ भन्ने शुरु नवलपरासी जिल्ला अदालतको फैसला ।
७. शुरुको फैसला अ.वं. १८५ नं. को भावना विपरीत भएको छ । दावी लिइएको जग्गा दाइजोवाट खरिद गरिएको जग्गा हो । कानूनी सिद्धान्त तथा परम्परा विपरीत भएको शुरुको फैसला त्रुटिपूर्ण हुँदा वदर गरी इन्साफ पाउँ भन्ने समेत पुनरावेदन ।
८. यसमा शुरु फैसला फरक पर्न सक्ने देखिंदा अ.वं. २०२ नं. वमोजिम विपक्षी झिकाई नियमानुसार पेश गर्नु भन्ने पुनरावेदन अदालतको आदेश ।
९. दावीको जग्गा अंश नामसारी मुद्दामा २०४६ सालमा तायदाती फांटवारी दाखिल गरे पश्चात २०५० सालमा मात्र दर्ता भएको देखिएको र तायदाती पेश गर्दाको अवस्थामा नै पुनरावेदक प्रतिवादीका नाममा नरहेको जग्गा अंश दपोट गरेको ठहर्याई भएको शुरु नवलपरासी जिल्ला अदालतको फैसला त्रुटिपुर्ण देखिंदा उक्त फैसला उल्टी भई प्रतिवादीले अंश दपोट गरेको ठहर्दैन भन्ने समेत व्यहोराको पुनरावेदन अदालत वुटवलको फैसला ।
१०. विवादित जग्गा पुराना दर्ताका जग्गा हुन् । हामीलाई अंश हकवाट मार्ने नियतले २०४६ सालमा अंश मुद्दामा तायदाती पेश गर्दा लुकाएका हुन् । त्यस्तो जग्गालाई पछि दर्ता भएको भनी दपोट नठहर्ने भनी गरेको पुनरावेदन अदालतको फैसला त्रुटिपुर्ण हुँदा उल्टी गरी शुरु फैसला सदर कायम गरी पाउँ भन्ने समेत व्यहोराको वादीको यस अदालतमा परेको पुनरावेदन ।
११. दावीको जग्गा तायदाती फांटवारीमा नदेखाएकोमा विवाद छैन । मानो छुटिृएको मिति पश्चात आर्जन गरेको तथा २०५० सालमा मात्र दर्ता भएको भन्ने पनि जिकिर नभएको अवस्थामा दपोट नठहर्याएको पुनरावेदन अदालतको फैसला फरक पर्ने देखिंदा अ.वं. २०२ नं. वमोजिम छलफलका लागि विपक्षी झिकाई नियम वमोजिम पेश गर्नु भन्ने समेत व्यहोराको यस अदालतको मिति २०५९।१२।७ को आदेश ।
१२. नियम वमोजिम मुद्दा पेशी सूचिमा चढी पेश हुन आएको प्रस्तुत मुद्दाको मिसिल संलग्न कागजात अध्ययन गरी पुनरावेदक वादीका तर्फवाट उपस्थित विद्वान अधिवक्ता श्री रामवन्धु शर्माले विवादित जग्गा प्रतिवादीको निजी आर्जनको जग्गा होइन । पुरानो लगतको जग्गा दर्ता गर्नसम्म छूट भएकोमा छूट जग्गा दर्ता गर्ने कारवाई अंश मुद्दामा फिराद गर्नु अघि नै चलिसकेको अवस्थामा अंश मुद्दामा तायदाती फांटवारी पेश नगरेपछि दपोट ठहर्याउनु पर्नेमा विवादित जग्गा अंश मुद्दा परिसकेपछि दर्ता भएको भन्नेसम्म आधारमा दपोट नठहराएको पुनरावेदन अदालतको फैसला त्रुटिपुर्ण हुँदा वदर हुनुपर्छ भन्ने र प्रत्यर्थी वादीका तर्फवाट उपस्थित विद्वान अधिवक्ता श्री गुरुप्रसाद वराल र ज्ञानेन्द्रप्रसाद अधिकारीले विवादित जग्गा अंश लाग्ने पैतृक सम्पति होइन । अंश मुद्दामा तायदाती दिने अवस्थामा विवादित जग्गा दर्ता नै भै नसकेकोले त्यस्तो जग्गाको तायदाती नदिइएको हुँदा दपोट नठहर्याएको पुनरावेदन अदालतको फैसला सदर हुनुपर्छ भनी गर्नु भएको वहस जिकिर समेत सुनी पुनरावेदन अदालत वुटवलको फैसला मिले, नमिलेको के रहेछ हेरी निर्णय दिनु पर्ने देखियो ।
१३. निर्णय तर्फ विचार गर्दा हामी वादी र प्रतिवादी वीच चलेको अंश नामसारी मुद्दामा प्रतिवादीले तायदाती फांटवारी पेश गर्दा कि.नं. २१ को ज.वि. ०–२–१५ र कि.नं. ३७ को ज.वि. १–११–० समेतको दुई कित्ता जग्गा फांटवारीमा नदेखाई लुकाई छिपाई राखेकोले हाम्रो हक कायम गरी विपक्षीको नाउँको दर्ता वदर गरी हाम्रो नाउँमा नामसारी दाखेल खारेज गरी पाउँ भन्ने समेत व्यहोराको फिराद दावी र दावीको कित्ता जग्गा मैले मावलीवाट पाएको अरुको अंश नलाग्ने सम्पति भएकोले फांटवारीमा पेश नगरेको हो । फिराद दावी झुठृा हो भन्ने प्रतिवादी भएको प्रस्तुत मुद्दामा शुरु नवलपरासी जिल्ला अदालतले वादी दावी वमोजिम दपोट ठहर्याएको फैसला पुनरावेदन अदालतवाट उल्टी भए उपर वादीको यस अदालतमा पुनरावेदन परी पेश हुन आएको देखियो ।
१४. यि वादी र प्रतिवादी वीच अघि चलेको अंश नामसारी मुद्दामा दाविको कि.नं. २१ र ३७ समेतका जग्गाहरु प्रतिवादीले तायदाती फांटवारीमा पेश नगरेको तथ्यमा विवाद रहेन । विवादित सम्पति पैतृक सम्पति नभएकाले तायदाती फांटवारीमा पेश नगरिएको भन्ने प्रतिवादीको प्रतिउत्तर जिकिर देखिएतापनि दावीको सम्पति निजी आर्जनको हो भन्ने कुनै प्रमाण प्रतिवादीले पेश दाखेल गर्न सकेको मिसिलवाट देखिन आउँदैन । प्रमाण ऐनको दफा ६(क) अनुसार अन्यथा प्रमाणित नभएसम्म एकाघर संगका अंशियारहरु मध्ये जुनसुकै अंशियारको नाउँमा रहेको सम्पति सगोलको सम्पति हो भनी अनुमान गर्नुपर्ने हुँदा निजी आर्जन भन्ने कुराको प्रमाणको अभावमा विवादित सम्पति प्रतिवादीको निजी आर्जनको रहेछ भनि मान्न मिल्ने देखिएन । विवादित सम्पति उक्त अंश नामसारी मुद्दाको तायदाती फांटवारी पेश गर्दा प्रतिवादी लक्ष्मी नारायणको नाउँमा दर्ता नै भै नसकेकोले फांटवारीमा पेश नभएको हो भन्ने प्रत्यर्थीका विद्वान कानून व्यवसायकिो जिकिर रहेकोमा प्रतिवादीको छूट जग्गा दर्ता गरी पाउँ भन्ने निवेदन मालपोत कार्यालय नवलपरासीमा २०४५।६।१६ मा परेको मिसिल संलग्न निवेदनको प्रतिलिपिवाट देखिन आउँछ । सो निवेदनवाट उक्त अंश नाउँसारी मुद्दाको फिराद गर्नु अगाडि देखि नै विवादित कित्ताका जग्गा प्रत्यर्थी प्रतिवादीको भोग नियन्त्रणमा रहेको तथ्य स्थापित हुन आयो । यस स्थितिमा आफ्नो भोग नियन्त्रणमा रहेको दर्ताको कारवाई समेत उठी सकेको सगोलको वण्डा हुनु पर्ने जग्गा तायदाती नदिएको अवस्था भएको र पछि दर्ता भै सकेपछि उक्त जग्गा बिक्री गरेको तथ्यवाट प्रतिवादीको दपोट गर्ने उद्देश्य नरहेको भनी मान्न सकिने अवस्था नरहेवाट प्रतिवादीले दावीका कित्ता जग्गा दपोट गरेको ठहर्छ । दपोट नठहराएको पुनरावेदन अदालतको फैसला उल्टी भै शुरु फैसला सदर हुने ठहर्छ । अरु तपसील वमोजिम गर्नु ।
तपसील
माथि इन्साफ खण्डमा उल्लेख भए वमोजिम दपोट ठहराएको पुनरावेदन अदालत वुटवलको फैसला उल्टी भै शुरु फैसला सदर हुने ठहरेकोले पुनरावेदन अदालतको फैसलाले दावीका जग्गा प्रतिवादीका नाउँमा दा.खा. नामसारी गर्न नपर्ने भनी कायम गरेको लगत कटृा गरी शुरु अदालतको फैसलाले लगत कायम गरे अनुरुप दावीका जग्गा नामसारी दा.खा. गरि पाउँ भनि वादीले ऐनका म्याद भित्र दरखास्त दिए वादीका नाउँमा नामसारी दा.खा. गरि दिनु भनी सम्वन्धित कार्यालयमा लेखी पठाउनु भनी शुरु जिल्ला अदालतमा लेखी पठाउनु .... १
वादीले शुरु अदालतमा फिराद दायर गर्दा राखेको कोर्ट फि रु १६७।– र यस अदालतमा पुनरावेदन दर्ता गर्दा राखेको कोर्ट फि रु २५।– प्रतिवादीवाट भराई पाउँ भनी ऐनका म्याद भित्र दरखास्त दिए नियमानुसार भराई दिनु ....... १
मिसिल नियमानुसार वुझाई दिनु ..१
उक्त रायमा सहमत छु ।
न्या.शुसिला सिंह सिलु
इति सम्वत् २०६० साल माघ १२ गते रोज २ शुभम् ....... .।