निर्णय नं. ३७५९ - जालसाजी
निर्णय नं. ३७५९ ने.का.प. २०४६ अङ्क ३
संयुक्त इजलास
माननीय न्यायाधीश श्री सुरेन्द्रप्रसाद सिंह
माननीय न्यायाधीश श्री रुद्रबहादुर सिंह
सम्वत् २०४३ सालको फौ.पु.नं. ५८१
फैसला भएको मिति : २०४६।१।१२।३ मा
पुनरावेदक/वादी : हेटौंडा न.पं. वडा नं. १ बस्ने तरनानी श्रेष्ठ
विरुद्ध
विपक्षी/प्रतिवादी : ऐ. वडा नं. १० बस्ने गणेशलाल श्रेष्ठसमेत
मुद्दा : जालसाजी
(१) हस्तान्तरण गरेको कुरा अंश मुद्दा दायर भई प्रत्यवादी परेपछि मात्र खुल्न आउँछ भने सो भन्दा अघि सो कुरा वादीलाई जानकारी नहुनु अस्वाभाविक भन्न मिल्ने देखिन्न । यस्तो स्थिति र अवस्थामा लिखत भएको मितिबाट हदम्यादको गणना गर्दा वास्तविक रुपबाट न्यायिक दृष्टिले लापरवाही साथ हदम्याद गुजारेको भन्न न्यायोचित नदेखिने ।
(प्रकरण नं. १२)
पुनरावेदक तर्फबाट : विद्वान अधिवक्ता श्री बालकृष्ण न्यौपाने
विपक्षीतर्फबाट : विद्वान अधिवक्ता श्री बच्चुसिंह खड्का
अवलम्बित नजीर : ने.का.प. २०३१, नि.नं. ७१४
फैसला
न्या.सुरेन्द्रप्रसाद सिंह
१. मध्यमाञ्चल क्षेत्रीय अदालतको फैसला उपर पुनरावेदनको अनुमति प्राप्त गरी निर्णयार्थ यस इजलास समक्ष पेश हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त विवरण निम्नानुसार छ ।
२. मेरो ससूरा बुद्धिमानको २ छोरामा जेठा म फिरादीका पति भिमलाल, कान्छा विपक्षी मध्येका गणेशलाल हुन् । निज लोग्नेबाट मेरो ४ छोरा २ छोरीको जन्म भएको । जि.मकवानपुर ७२ नं. मौजे हेटौंडाको साविक कि.नं. १३६ को तुल्सीमाया श्रेष्ठका नाउँमा दर्ता भएको ०–०–१० धुर जग्गा खरिद गरी घर बनाई देवर समेत साथमा बसी आएको अवस्था २०२४ सालमा लोग्ने परलोक हुनुभएको । २०३७।१०।१ गते देखि अलग बसेको हुँदा अंश पाउँ भनी फिराद गरेकोमा विपक्षीहरुले प्रतिवाद गर्दा उक्त घडेरी जग्गा आनन्दकृष्ण गोर्खालीसंग बकस पाएको बण्डा हुन नपर्ने भनी जिकिर लिई बकसपत्र भनेको कागज मलाई नसुनाएकाले जालसाजी मुद्दामा फिराद गर्नु पर्ने भयो । रु. २५,०००।– मा आनन्दकृष्णलाई बिक्री गरी त्यसपछि रु. ४ हजारमा धनकुमारीलाई बकस आएको व्यवहारको कागज खडा गरेको पूर्ण जालसाजी व्यवहार छ । यदि आनन्दकृष्ण सो घर जग्गामा भोगचलन छ भनी भन्न खोज्नु हुन्छ भने सर्वे नापी फिल्ड बुकमा घर जग्गा निजको नाउँमा छैन । म समेतको हक मेट्ने उद्देश्यबाट मेरो छोरा माधवको नामबाट अर्कै व्यक्तिले कीर्ते साक्षी बसी विपक्षीहरुले जालसाज गरेको हुँदा धनी आनन्दकृष्ण, ऋणी गणेशलाल श्रेष्ठ भएको २०३५।७।२८ को राजीनामा कागज १, बकस दिने भनिएको आनन्दकृष्ण, लिने धनकुमारी भई २०३७।३।२ को हालैको बकसपत्र कागज समेत कीर्ते कागजको ३ नं. बमोजिम जालसाज ठहराई मतियार समेतलाई सजायँ गरिपाउँ भन्ने समेत व्यहोराको फिरादपत्र ।
३. २०३५।७।२८ को लिखत विधिवत पारीत भएको हो । विपक्षीका एकासगोलका छोरा माधव श्रेष्ठ समेत साक्षी बसेका छन् । राजीनामा र बकसपत्र लिखत बेग्ला बेग्लै मितिका हुनाले फिराद बेग्लाबेग्लै दर्ता हुनुपर्ने हो । विपक्षीलाई २०३५।७।२८ को राजीनामा विषयमा थाहा भइसकेको छ र सो मितिले हदम्याद नाघी फिराद दायर भएकोले खारेज गरिपाउँ । यसै अदालतबाट अंश मुद्दामा विवादित घर जग्गा अंश बापत नपाउने ठहर फैसला भएकोले यो फिराद गरेको हो भन्ने समेत व्यहोराको गणेशलाल, धनकुमारी, आनन्दकृष्ण समेतको संयुक्त प्रतिउत्तरपत्र ।
४. २०३५।७।२७ गते गणेशलालबाट आनन्द कृष्णलाई रजिष्ट्रेशन पास गरी दिएको जालसाजी होइन, सो लिखतहरु मैले मेरो हातले दाखिल खारिज गरेको पनि होइन भन्ने समेतको फणिन्द्रराज रिजालको बयान ।
५. मकवानपुर मालबाट २०३५।७।२८ मा पास भएको धनी आनन्दकृष्ण, ऋणी गणेशलाल श्रेष्ठ भएको लिखतमा म साक्षी बसेको छैन म मालमा गएको छैन भन्ने समेतको माधवलाल श्रेष्ठको बयान ।
६. कीर्ते कागजको १८ नं. को हदम्याद नाघी दायर हुन आएको प्रस्तुत फिराद अ.बं. १८० नं. बमोजिम खारेज हुने ठहर्छ भन्ने समेत व्यहोराको २०४१।१।७ को शुरु मकवानपुर जिल्ला अदालतको फैसला ।
७. उक्त फैसलामा चित्त बुझेन शुरुको खारेजी फैसला बदर गरी फिराद दावी अनुसार सजायँ समेत गरिपाउँ भन्ने समेत व्यहोराको वादीको मध्यमाञ्चल क्षेत्रीय अदालतमा परेको पुनरावेदन ।
८. वादी दावी खारेज गर्ने गरेको शुरुको इन्साफ मिलेकै देखिँदा मनासिब ठहर्छ भन्ने समेत व्यहोराको मध्यमाञ्चल क्षेत्रीय अदालतको २०४३।४।२२ को फैसला ।
९. म.क्षे.अ.को फैसला उपर पुनरावेदनको अनुमति पाउँ भनी वादीको यस अदालतमा परेको निवेदनमा, अंश मुद्दाको प्रतिउत्तर परेको अवस्थामा बकसपत्र भएको कुरा थाहा भएको र प्रस्तुत मुद्दामा लिखत भएको मितिलाई मुद्दा गर्नुपर्ने कारण परेको मिति मान्न नमिल्ने समेत हुँदा कीर्ते कागजको १८ नं. को हदम्याद भित्रै परेको प्रस्तुत मुद्दा खारेज गर्ने गरेको म.क्षे.अ. को फैसलामा सार्वजनिक महत्वको विषयमा उक्त १८ नं. को प्रत्यक्ष त्रुटि भएको देखिँदा न्या.प्र.सु. ऐन, २०३१ को दफा १३(५)(ख) अनुसार पुनरावेदन गर्न अनुमति दिइएको छ भन्ने समेतको यस अदालतको २०४३।७।२६ को आदेश ।
१०. नियम बमोजिम पेश हुन आएकोमा पुनरावेदक तर्फबाट उपस्थित विद्वान अधिवक्ता श्री बालकृष्ण न्यौपानेले र विपक्षी तर्फबाट उपस्थित विद्वान अधिवक्ता श्री बच्चुसिंह खड्काले प्रस्तुत गर्नुभएको बहस जिकिर समेत सुनियो । यसमा मुख्यतया क्षेत्रीय अदालतले गरेको इन्साफ मिले नमिलेको के रहेछ, सो विषयमा निर्णय दिन पर्ने देखिन आयो ।
११. म समेतको हक मेट्ने उद्देश्यबाट जालसाजीद्वारा प्रतिवादीहरुको मिलेमतोबाट मिति २०३५।७।२५ मा राजीनामा र मिति २०३७।३।२ मा बकसपत्र गरी लिनु दिनु गरेको जुन कुरा यिनै विपक्षीहरु उपर मैले दायर गरेको अंश मुद्दामा विपक्षीहरुले फिरादको प्रतिउत्तरबाट जानकारी थाहा हुन आएको हुँदा उक्त राजीनामा र बकसपत्रलाई जालसाजी ठहर गरी सजायँ समेत गरिपाउँ भनी मिति २०३९।११।१७ मा प्रस्तुत मुद्दाको फिराद दायर भएको देखिन्छ ।
१२. प्रस्तुत मुद्दाको फिराद कीर्ते कागजको महलको १८ नं. को हदम्याद भित्र नपरेको भन्ने निर्णयाधार रहेको छ, त्यसतर्फ हेर्दा घरको मुख्य कारणी प्र.गणेशलाल भइरहेको वादी निजसंग सगोलमा रहँदाकै अवस्था मिति ०३५।७।२८ मा निजले उक्त जग्गा प्र.आनन्द कृष्णलाई राजीनामा लेखी दिई पुनः ०३७।३।२ मा गणेशलालकी श्रीमती प्र.धनकुमारीले बकसपत्र गराई लिएको देखिन्छ । जुन कुरा यी वादीले यिनै प्रतिवादीहरु उपर दायर गरेको अंश मुद्दामा प्रतिवादीहरुले प्रतिवादीका उल्लेख गरेको जिकिर लिई मिति २०३८।३।२५ मा परेको प्रतिउत्तरबाट जानकारी हुन आएको भन्ने वादीले मुख्य जिकिर लिई २०३५।७।२८ को राजीनामा तथा ०३७।३।२ को हालैदेखिको बकसपत्र लिखतलाई जालसाजीबाट गरे गराएमा सजायँ गरिपाउँ भनी मिति ०३९।११।१७ मा फिराद परेको पाइन्छ । लिखत भएको मितिबाट वादीलाई थाहा भएको भन्ने कानुनयुक्त ठोस प्रमाण प्रतिवादीबाट दिन देखाउन र पुष्टि गर्न सकेको समेत पाइँदैन । वादी प्रतिवादी एकासगोलमै रहे बसेको अवस्था प्रतिवादीबाट उक्त हस्तान्तरण गर्ने व्यवहार गरेको पाइन्छ । यी कुरा अंश मुद्दामा दायर भई प्रतिवादी परेपछि मात्र खुल्न आउँछ भने सो भन्दा अघि सो कुरा वादीलाई जानकारी नहुनु अस्वाभाविक भन्न मिल्ने पनि देखिन्न । यस्तो स्थिति र अवस्थामा लिखत भएको मितिबाट हदम्यादको गणना गर्दा वास्तविक रुपबाट न्यायिक दृष्टिले लापरवाही साथ हदम्याद गुजारेको भन्न न्यायोचित देखिएन । यसको अतिरिक्त प्रस्तुत मुद्दामा लिखत भएको मिति देखि मुद्दा गर्नु पर्ने कारण परेको मिति मान्न ने.का.प. २०३१ नि.नं. ७१४ मा प्रतिपादित सिद्धान्त अनुकूल हुने पनि देखिएन । त्यस कारण प्रस्तुत लिखत भएको जानकारी अंश मुद्दामा यी प्रतिवादीहरुले फिराएका प्रतिवादी लेख व्यहोराबाट वादीलाई जानकारी हुन आएको हुँदा कीर्ते कागजको १८ नं. को हदम्याद २ वर्ष भित्र प्रस्तुत मुद्दाको फिराद दायर नभएको भनी खारेज गर्ने गरेको मध्यमाञ्चल क्षेत्रीय अदालतको फैसला कानुन तथा उक्त उल्लेखित प्रतिपादित सिद्धान्त समेतको अनुकूल नभएको हुँदा वादी दावी खारेज गर्ने गरेको मध्यमाञ्चल क्षेत्रीय अदालतको फैसला बदर गरी दिएको छ । उपस्थित पक्ष विपक्षीलाई तारेख तोकी दे.पु.नं. ६९८ को यिनै पक्ष विपक्षीका बीचमा परेको अंश मुद्दा समेत साथै राखी कानुन बमोजिम सबूद प्रमाण समेत जो बुझ्नु पर्ने बुझी निर्णय गर्नु भनी मिसिल शुरु मकवानपुर जिल्ला अदालतमा पठाई दिनु ।
उक्त रायमा म सहमत छु ।
न्या. रुद्रबहादुर सिंह
इति सम्वत् २०४६ साल बैशाख १२ गते रोज २ शुभम् ।