निर्णय नं. ३७६४ - बन्दीप्रत्यक्षीकरण

निर्णय नं. ३७६४ ने.का.प. २०४६ अङ्क ३
संयुक्त इजलास
माननीय न्यायाधीश पृथ्वीबहादुर सिंह
माननीय न्यायाधीश श्री हरगोविन्द सिंह प्रधान
सम्वत् २०४६ सालको रि.नं. १३३८
आदेश भएको मिति : २०४६।२।२६।५ मा
निवेदक : सदर खोर शाखा डिल्लीबजारमा थुनामा रहेको विनोदकुमार सोनी
विरुद्ध
विपक्षी : श्री ५ को सरकार त्रिभुवन विमानस्थल भन्सार कार्यालयसमेत
विषय : बन्दीप्रत्यक्षीकरण
(१) विदेशी विनिमय नियमित गर्ने ऐन, २०१९ बमोजिम ९ महीना कैद भइसकेपछि पुनः भन्सार ऐन, २०१९ बमोजिम भएको सो भन्दा घटी कैद थप गर्न नमिल्ने ।
(प्रकरण नं. ८)
निवेदक तर्फबाट : विद्वान अधिवक्ता श्री शिवकुमार श्रेष्ठ
विपक्षीतर्फबाट : विद्वान सहन्यायाधिवक्ता श्री खगेन्द्र बस्न्यात
अवलम्बित नजीर : दुखितलाल हाडी विरुद्ध झापा जिल्ला अदालत समेत भएको बन्दी प्रत्यक्षीकरणको रिटमा (ने.का.प. २०४५, अंक ४, पृ. ३११, नि.नं. ३४१३) सर्वोच्च अदालत पूर्ण इजलासबाट सिद्धान्त प्रतिपादित ।
आदेश
न्या.पृथ्वीबहादुर सिंह
१. नेपालको संविधानको धारा १६।७१ अन्तर्गत पर्न आएको प्रस्तुत रिटनिवेदनको संक्षिप्त व्यहोरा यस प्रकार रहेछ ।
२. म निवेदक सहितका विरुद्धमा श्री ५ को सरकार अर्थ मन्त्रालय राजश्व अनुसन्धान महाशाखाले विदेशी मुद्रा अवैध कारोबार गरी सुन भारत निकासी गर्न लागेको सम्बन्धी मुद्दा बागमती विशेष अदालतमा विदेशी विनिमय ऐनको दफा ४, ५ को विपरीत काम गरेको हुनाले सो ऐनको दफा १७(१) बमोजिम सजायँ गरिपाउँ भनी आरोपपत्र दायर गरिएकोमा उक्त आरोपपत्रमा सुन निकासी सम्बन्धी मुद्दा त्रि.वि. भन्सार कार्यालय भन्सार ऐन अन्तर्गत कारवाही हुने कुरा उल्लेख थियो । म निवेदक २०४५।३।२६ देखि थुनामा रही मुद्दाको पुर्पक्ष गरी आएकोमा बा.वि.अ.ले २०४५।१०।१७ गतेमा निवेदकलाई कैद महीना नौ र जरिवाना रु. १,२२,०५५।– गर्ने गरी निर्णय भयो । प्रत्यर्थी नं. १ ले सुन चोरी निकासी गर्न लागेको मुद्दा खडा गरी भन्सार ऐन, २०१९ को दफा ३४(८)(क) को कसूरदार ठहराई निवेदकलाई ६० दिन कैद र जरिवाना रु. १,७९,८१०।– गर्ने गरी मिति २०४५।१२।२५ मा निर्णय गरेको रहेछ । जरिवाना तिर्न तयार छु तर बा.वि.अ. को फैसला बमोजिमको कैद भुक्तान भएको मिति देखि लागू हुने गरी थप कैद सजायँ गरेको कानुनी त्रुटिपूर्ण छ । मुलुकी ऐन दं.स. को ४१ नं. अनुसार पनि कैद ठेकिएकोमा कैद भुक्तान हुन नपाउँदै अर्को कलममा कैद ठेक्नु पर्ने भयो भने अघि ठेकिएको कैद भन्दा पछि ठेकिएको कलमको हद घटिरहेछ भने थप कैद ठेक्नु पर्दैन भन्ने व्यवस्था रहेको साथै ने.का.प. ०४३ पृ. २३, ८३० मा समेत पहिलेको भन्दा घटी कैद सजायँ गर्दा कैद खाप्न नपाउने प्रष्ट व्यवस्था गरेको छ । अतः म निवेदकले बा.वि.अ.ले तोकेको अधिकतम कैद भुक्तान गरी सकेको हुँदा मलाई लागेको जरिवाना बुझी प्रत्यर्थी नं. १ को निर्णय अनुसार गैरकानुनी थुनाबाट रिहाई गर्ने गरी बन्दीप्रत्यक्षीकरणको आदेश जारी गरिपाउँ भन्ने समेत रिटनिवेदन ।
३. विपक्षीहरुबाट लिखितजवाफ मगाउनु भन्ने समेत यस अदालत एक न्यायाधीशको इजलासको आदेश ।
४. बागमती विशेष अदालतको मिति २०४५।४।२४ को मिति देखि (ख) श्रेणीको सिधा खान दिई थुनामा राखिएको हो । निजलाई कैद महीना ९ र जरिवाना रु. १,२२,०५५।– भई आएको थियो । त्रिभुवन विमानस्थल भन्सार कार्यालयको मिति २०४५।१२।२५ को पत्रले निजलाई सुन चोरी निकासी मुद्दामा ६० दिन कैद र बिगो रु. १,७२,८१०।– भई आएको थियो । अतः अरुले पाए सरहको सुविधा दिई राखिएको हुँदा रिटनिवेदन खारेज गरिपाउँ भन्ने समेत जेलर जिल्ला कार्यालय सदरखोर शाखा डिल्लीबजारको लिखितजवाफ ।
५. विपक्षी निवेदक समेत भएको सुन भारत चोरी निकासी गर्न गराउन यू.एस. डलर र सुन लिनु दिनु गरिरहेको अवस्थामा पक्राउ भई कारवाही चलेकोमा डलरको हकमा विदेशी विनिमय (नियमित गर्ने) ऐन, २०१९ अनुसार बागमती विशेष अदालतले कैद महीना नौ र जरिवाना रु. १,२२,०५५।– भई २०४५।१०।१७ मा फैसला भएको सुन भारत निकासी गर्न लागेकोमा यस कार्यालयबाट ६० दिन कैद र १,७२,८१०।– जरिवाना भई २०४५।१२।२५ मा फैसला भएको विदेशी विनिमय नियमित गर्ने ऐनको दफा १७(१) अनुसार विदेशी विनिमय जफत भई २ वर्षसम्म कैद वा २ हजार जरिवाना हुने र सुनचोरी निकासी मुद्दामा भन्सार ऐन, २०१९ को संशोधन सहित दफा ३४ उपदफा ८(क) अनुसार ५ वर्ष सम्म कैद र बिगो बमोजिम जरिवाना हुने व्यवस्था भएको विदेशी विनिमय नियमित गर्ने ऐन, २०१९ को दफा १७(१) ले हुने सजायँ भन्दा भन्सार चोरी निकासी मुद्दामा भन्सार ऐनले बढी सजायँ हुने भएको देखिँदा अदालतको फैसला बमोजिम कैद भुक्तान भएको मिति देखि लागू हुने गरी रिट निवेदकलाई उपरोक्त बमोजिम कैद दिन ६० र जरिवाना रु. १,७२,८१०।– गरिएकोमा सो कुरालाई स्वीकार गरिसकेको देखिएकाले यस कार्यालयको २०४५।१२।२५ को फैसला कानुन अनुरुप नै भएको हुँदा रिटनिवेदन खारेज गरिपाउँ भन्ने समेत त्रिभुवन विमानस्थल भन्सार कार्यालयको लिखितजवाफ ।
६. नियम बमोजिम दैनिक पेशी सूचीमा चढी पेश हुन आएको प्रस्तुत रिटनिवेदनको फाइल अध्ययन गरी रिटनिवेदकका तर्फबाट रहनु भएको विद्वान अधिवक्ता श्री शिवकुमार श्रेष्ठ तथा विपक्षी कार्यालयको तर्फबाट खटिई उपस्थित हुनुभएका विद्वान सहन्यायाधिवक्ता श्री खगेन्द्र बस्न्यातले प्रस्तुत गर्नुभएको बहस जिकिर समेत सुनियो ।
७. अब प्रस्तुत रिटनिवेदनमा निवेदकको माग बमोजिमको आदेश जारी गर्न मिल्ने हो, होइन सोको निर्णय दिनु परेको छ ।
८. निर्णयतर्फ विचार गर्दा यसमा निवेदकलाई यू.एस. डलर अवैध कारोबार गरेको अभियोगमा बागमती विशेष अदालतबाट विदेशी विनिमय (नियमित गर्ने) ऐन, २०१९ अनुसार कैद महीना ९ र जरिवाना रु. १,२२,०५५।– गरी मिति २०४५।१०।१७ मा फैसला भएको साथै सोही वारदातमा बरामद भएको सुन चोरी निकासी मुद्दामा त्रि.बि. स्थल भन्सार कार्यालयबाट भन्सार ऐन, २०१९ अनुसार कैद दिन ६० र जरिवाना रु. १,७२,८१०।– गर्ने गरी उक्त कैद बा.बि.अ.को फैसला बमोजिमको कैद भुक्तान भएको मितिदेखि लागू हुने गरी भनी मिति २०४५।१२।२५ मा फैसला गरेको देखिन्छ । निवेदक पुर्पक्षको लागि मिति २०४५।३।२६ देखि थुनामा रही आएको पाइन्छ । मुलुकी ऐन दं.स. ४१ नं. को व्यवस्था हेर्दा अघि ठेकिएको कैद भन्दा पछि ठेक्ने कलमको हद घटिरहेछ भने थप कैद ठेक्नु पर्दैन भन्ने व्यवस्था रहेको साथै दुखितलाल हाँडी विरुद्ध झापा जिल्ला अदालत समेत भएको बन्दी प्रत्यक्षीकरणको रिटमा (ने.का.प. २०४५ अंक ४, पृ. ३११, नि.नं. ३४१३) अघि ठेकिएको कैद भन्दा पछि ठेक्ने कलमको कैद हद घटि भएमा थप कैद ठेक्नु नपर्ने भन्ने स.अ.पूर्ण इजलासबाट नजीर समेत प्रतिपादन भएको पाइन्छ । अतः यसमा निवेदकलाई विदेशी विनिमय नियमित गर्ने ऐन, २०१९ बमोजिम ९ महीना कैद भइसकेपछि पुनः भन्सार ऐन, २०१९ बमोजिम भएको सो भन्दा घटी कैद दिन ६० थप गर्न नमिल्ने भएकोले सो कैद बा.वि.अ.को फैसलाले लागेको कैद भुक्तान भएको मितिदेखि लागू हुने गरी भनी गरेको त्रि.वि. स्थल भन्सार कार्यालयको मिति २०४५।१२।२५ को फैसला मिलेको देखिएन । तसर्थ सो दिन ६० कैद भुक्तान भएको मिति देखि लागू हुने भनी गरेको लगत सच्याई जरिवानाको हकमा कानुन बमोजिम गर्नु भनी विपक्षी त्रिभुवन विमानस्थल भन्सार कार्यालयको नाउँमा परमादेशको आदेश जारी हुने ठहर्छ । जानकारीको लागि आदेशको प्रतिलिपि विपक्षी कार्यालयमा पठाउन म.न्या.का. मार्फत पठाई फाइल नियम बमोजिम गरी बुझाई दिनु ।
उक्त रायमा म सहमत छु ।
न्या.हरगोविन्द सिंह प्रधान
इति सम्वत् २०४६ ज्येष्ठ २६ गते रोज ५ शुभम् ।