शब्दबाट फैसला खोज्‍नुहोस्

निर्णय नं. ३७६९ - दर्ता बदरसमेत

भाग: ३१ साल: २०४६ महिना: असार अंक:

निर्णय नं. ३७६९     ने.का.प. २०४६      अङ्क ३

 

संयुक्त इजलास

माननीय न्यायाधीश श्री पृथ्वीबहादुर सिंह

माननीय न्यायाधीश श्री रुद्रबहादुर सिंह

सम्वत् २०४३ सालको दे.डि.पु.नं. ६५१

फैसला भएको मिति : २०४६।२।१६।२ मा

पुनरावेदक/वादी : संभावी देवी मल्लको हकको मुद्दा सकार गरिएको र आफ्नो हकमा समेत का.न.पं. वडा नं. २२ पाकोटोल बस्ने विश्वबहादुर मल्ल

विरुद्ध

प्रत्यर्थी/प्रतिवादी : ऐ. का.न.पं. वडा नं. २२ बस्ने गणेशमान जोशीसमेत

मुद्दा : दर्ता बदरसमेत

(१)    खिचोला गर्न आएको मितिलाई नै थाहा पाएको मिति मान्नु पर्ने ।

(प्रकरण नं. १२)

पुनरावेदक/वादी तर्फबाट : विद्वान वरिष्ठ अधिवक्ता श्री लक्ष्मण अर्याल

प्रत्यर्थी/प्रतिवादी तर्फबाट : विद्वान वरिष्ठ अधिवक्ता श्री मुकुन्द रेग्मी

फैसला

न्या.पृथ्वीबहादुर सिंह

१.     म.क्षे.अ.को फैसला उपर पुनरावेदनको अनुमति प्रदान भई पेश हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त व्यहोरा यस प्रकार रहेछ ।

२.    हामीहरुको आमा संभावीदेवीले रोहिणीराजसंग राजीनामा गरी दिएको पाको टोलको ल.हात १६ को दक्षिणपट्टी मुख २ नाले ४ तले पक्की घर सो संगै पश्चिमपट्टि वन उत्तरपट्टी जोडिएको पूर्व मोहडाको लम्बाई हात १० को १ नाले कौसी भएको झिंगटी घर सो दक्षिण मुख्य घरदेखि उत्तरपट्टीको पूर्व पश्चिम चौडाई हात १५ उत्तर दक्षिण लम्बाई हात ३२ को चोक र सो चोकदेखि उत्तरतर्फको पूर्व पश्चिम हात २० उत्तर दक्षिण हात १२ को बगैंचा र सो बगैंचामा बनेको पूर्व पश्चिम हात ७ उत्तर दक्षिण हात ९ को १ तले चर्पी घलापात वा घर जग्गा हामीहरुका आमाले नै राजीनामा गरिलिएको पूर्व पश्चिम लम्बाई हात १७ को २ नाले ४ तले दक्षिण मुख्य घर र त्यसको पश्चिम पट्टिबाट उत्तर तर्फ जोडिएको पश्चिम मोहडा उत्तर दक्षिण लम्बाई हात ३ को १ नाले ४ तले पक्की झिंगटी घर र सो घरले चर्चेको लगापात समेत १९९१।१।१८ मा विपक्षका बाबु ख.वलमा र मेरा पिता जनकबहादुरका बीचमा साविक देखि पश्चिमतर्फ खुला झ्याल नभएकोमा खुला झ्याल ढोका राख्न नपाइयोस भनी उजूर गर्दा हाम्रो एकलौटी चोकतर्फ खुला झ्याल ढोका नराख्ने उज्यालोको लागि आँखीझ्यालसम्म राख्ने गरी का. म्यूनिसिपल्टिबाट मिलापत्र भएको हाम्रो हक भोगको पूर्व पश्चिम चौडाई २ फुट ९ इन्च उत्तर दक्षिण १८ फुट २ इन्चको जग्गा नापी हुँदा विपक्षीले कि.नं. १०१२ को कित्तामा समावेश गरी का.न.पं. वडा नं. २२ कि.नं. १०१२ गरी नपाएको पूर्वपश्चिम चौडाई फुट ९ इन्च उत्तर दक्षिण १८ फुट २ इन्चको पूर्व विपक्षको घरको किलाश पश्चिम हाम्रो निजी चोक उत्तर हाम्रै चर्पी र दक्षिण हाम्रै घर यति ४ किल्ला भित्रको मोल रु. २००।जाने जग्गाको खिचोला मेटाई हक कायम गरी १०१२ को पेटीको जग्गाको घरसम्मको लालपूर्जा बदर गरी हाम्रै कि.नं. १०११ मा उक्त जग्गा समावेश गरी दर्ता गरिपाउँ भन्ने समेत व्यहोराको फिराद दावी ।

३.    हाम्रो पेटी समेतको घर जग्गा हाम्रो नाउँमा नाप जाँच दर्ता भएको कुरा विपक्षहरुलाई मौकामै थाहा भएको हो । हाम्रो वार्डमा २०३४।३।२९ मा काम शुरु गरी २०३४।१२।९ मा नाप जाँच पूरा भएको हो भन्ने सर्वेको नक्शा ट्रेशले बताई रहेको छ । २०३४ सालमा नाप जाँच दर्ता भएको विषयलाई बदर गराई माग्ने दावी लिई २०३९।२।२।१ मा दिएको फिराद मुलुकी ऐन जग्गा मिच्नेको १८ नं., ज.प. को १७ नं. को हदको म्याद नाघी सकेको विषयमा इन्साफ तहकिकिात गर्न मिल्दैन । जग्गा नाप जाँच ऐन, २०१९ को दफा ८ बमोजिम ज.ध.द.प्र.पूर्जा प्राप्त गरेपछि तोकिएको अधिकारी समक्ष उजूरी गरी त्यहाँबाट ऐ. को दफा (३) अनुसार सुनाइएको पनि देखिँदैन । हाम्रो घरदेखि पश्चिम भागको हाम्रै घरको पेटी विपक्षको हुन कदापी सक्दैन सो पेटी हाम्रो घरको बलेनी भित्रै पर्छ । विपक्षहरुको होइन । पश्चिमतर्फ हाम्रो झ्यालहरु छन । विपक्षीहरुले प्रमाणमा दिनु भएको मिलापत्रमा नै पश्चिमका झ्यालहरु तर्फबाट हामीले प्रकाश उज्यालो लिन पाउने पनि लेखिएकै हुनाले पेटी हाम्रै रहेछ भन्ने प्रष्ट प्रमाणित हुन्छ भन्ने समेत व्यहोराको प्रतिउत्तर जिकिर ।

४.    प्रतिवादीको नाउँमा दर्ता भएको दर्ता लालपूर्जा बदर गरी हाम्रो गरिपाउँ, दर्ता समेत हाम्रै नाउँमा होस, खिचोला समेत मिटाई पाउँ भन्ने प्रतिवादीहरु उपरको वादी दावी पुग्न नसक्ने ठहर्छ भन्ने का.जि.अ.को मिति २०४०।८।१२ को फैसला ।

५.    काठमाडौं जिल्ला अदालतको उपरोक्त फैसला त्रुटिपूर्ण हुँदा सो उल्टी गरी मेरो वादी दावी अनुसार गरिपाउँ भन्ने समेत व्यहोराको संभावीदेवी मल्ल समेतको बा.अं.अ.मा परेको पुनरावेदन ।

६.    विवादित न.नं. ६ को पेटी प्रतिवादीको ठहर्‍याएको शुरुको इन्साफ बदर हुने ठहर्छ भन्ने समेत व्यहोराको बा.अं.को मिति २०४१।७।२६ को फैसला ।

७.    बा.अं.अ.को फैसला ज.प. को १७ नं. र ज.मि.को १८ जस्तो हदम्याद सम्बन्धी कानुनको प्रत्यक्ष गम्भीर त्रुटि गरी र लिन पर्ने प्रमाण नलिई देखादेखी खास प्रमाण छाडी इन्साफ तलमाथि गरी फैसला भएको हुँदा न्या.प्र.सु. ऐन, २०३१ को दफा १३(३) ख, , घ समेतको आधारमा पुनरावेदन गर्न अनुमति पाउँ र बा.अं.अ.को फैसला बदर गरिपाउँ भन्ने समेत व्यहोराको गणेशमान जोशी समेतको म.क्षे.अ.मा परेको निवेदन ।

८.    खारेज हुनेमा इन्साफ गरी विवाद पेटी वादीको ठहर्‍याएको बा.अं.अ.को फैसला कानुनी त्रुटिपूर्ण देखिँदा न्या.प्र.सु. ऐन, २०३१ को दफा १३(३) को खण्ड (ख) र (ग) को आधारमा पुनरावेदनको अनुमति प्रदान गरिएको छ । नियम बमोजिम गरी डिभिजनबेञ्चमा पेश गर्ने भन्ने समेत व्यहोराको म.क्षे.अ.को मिति २०४१।१२।६ को आदेश ।

९.    वादीको जग्गा प्रतिवादीहरुले कि.नं. १०१२ मा घुसाई नापी गराएको कुरा नापी हुँदा र दर्ता प्रमाणित हुँदाकै अवस्थामा थाहा भइसकेको मान्न पर्ने देखिँदा नापी भएको मिति २०३४।१०।२५ र दर्ता प्रमाणित मिति २०३७।९।२ बाट ज.प. को १७ र ज.मि.को १८ नं. को म्याद भित्र वादीको नालेश परेको देखिन नआएको वादीको नालेश खारेज गर्नु पर्नेमा शुरु का.जि.अ.को फैसला उल्टाई विवाद पेटीमा हक कायम गरेको बा.अं.अ.को फैसला गल्ती देखिँदा बदर हुन्छ यस्तोमा औचित्यमा प्रवेश गर्न परेन । वादीको नालेश खारेज हुने ठहर्छ भन्ने समेत म.क्षे.अ.को २०४३।६।७ को फैसला ।

१०.    म.क्षे.अ.को फैसला उपर चित्त नबुझी पुनरावेदनको अनुमतिको निवेदन परेकोमा २०३८।१२।१६ मा दर्ता पूर्जा प्राप्त गरेको मितिले १२० दिन र २०३८।१२।७ मा खिचोला गरेको मितिले ६ महीना भित्र नै फिराद परेको नदेखिँदा हदम्याद नाघेको भनी म.क्षे.अ.बाट भएको निर्णयमा ज.मि.को १८ नं.न. तथा जग्गा नाप जाँच ऐन, २०१९ को दफा ८(२) को त्रुटि हुँदा न्या.प्र.सु. ऐन, २०३१ को दफा १३(५)(ख) बमोजिम पुनरावेदनको अनुमति दिइएको छ भन्ने समेत यस अदालत संयुक्त इजलासको मिति २०४३।७।१४ को आदेश ।

११.    नियम बमोजिम दैनिक पेशी सूचीमा चढी पेश हुन आएको प्रस्तुत मुद्दाको मिसिल अध्ययन गरी पुनरावेदक वादी तर्फबाट रहनु भएका विद्वान वरिष्ठ अधिवक्ता श्री लक्ष्मण अर्याल तथा प्रत्यर्थी प्रतिवादी तर्फबाट रहनु भएका विद्वान वरिष्ठ अधिवक्ता श्री मुकुन्द रेग्मीले प्रस्तुत गर्नुभएको बहस जिकिर सुनी आज निर्णय सुनाउने तारेख तोकिएको रहेछ ।

१२.   निर्णयतर्फ विचार गर्दा यसमा विवादको पेटी प्रत्यर्थी प्रतिवादी मिति २०३८।१२।७ मा खिचोला गरेको र मिति २०३८।१२।१६ मा जग्गाधनी दर्ता पूमाणपूर्जा लिई थाहा पाएको भन्ने वादी दावी रहेको देखिन्छ । मुलुकी ऐन जग्गा मिच्नेको १८ नं. को व्यवस्था हेर्दा थाहा पाएको मितिले ६ महीना भित्र नालेश दिन पाउने व्यवस्था भएको पाइन्छ । खिचोला गर्न आएको मितिलाई नै थाहा पाएको मिति मान्नु पर्ने हुन आएकोले थाहा पाएको मितिले ६ महीना भित्रै फिराद परेको देखिँदा हदम्याद नाघेको भनी नालेश खारेज गर्ने गरेको म.क्षे.अ.को मिति २०४३।६।७ को निर्णय नमिलेबाट उक्त निर्णय बदर हुने ठहर्छ । अब कानुन बमोजिम इन्साफ गर्नु भनी सम्बन्धित पक्षहरुलाई तारेख तोकी सम्बन्धित मिसिल म.क्षे.अ.मा पठाई दिनु ।

 

उक्त रायमा म सहमत छु ।

 

न्या.रुद्रबहादुर सिंह

 

इति सम्वत् २०४६ साल ज्येष्ठ १६ गते रोज २ शुभम् ।

 

 

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु