निर्णय नं. ३७७७ - लिखत बदर

निर्णय नं. ३७७७ ने.का.प. २०४६ अङ्क ३
संयुक्त इजलास
माननीय न्यायाधीश श्री सुरेन्द्रप्रसाद सिंह
माननीय न्यायाधीश श्री हिरण्येश्वरमान प्रधान
सम्वत् २०४४ सालको दे.पु. नं. ८३५
सम्वत् २०४४ सालको देवानी विविध नं. ४०
फैसला भएको मिति : २०४५।१२।१८।४ मा
पुनरावेदक/वादी : विराटनगर न.पं. वडा नं. १४ बस्ने सीतादेवी साहु तेलीसमेत
विरुद्ध
प्रतिवादी : ऐ. ऐ. बस्ने रामदास साहु तेलीसमेत
मुद्दा : लिखत बदर
(१) जुन जग्गा प्र.ले खरिद गरी लिएको हो सोही जग्गामा विवाद निरोपण भइसकेको घर बनाइएको स्थिति अवस्थालाई अन्यथा भन्न मान्न नसकिने ।
(प्रकरण नं. ११)
(२) कुनै पनि विवादको निरुपण गर्दा समुचा विवादलाई नै दृष्टिगत गरी निरुपण गर्नु पर्ने, दावी मध्ये आंशिक रुपबाट निर्णय गर्दा त्यो कानुन अनुकूल नै भए पनि वास्तवमा कानुनसंगत नभएको जस्तो आभास पर्ने ।
(प्रकरण नं. ११)
(३) वादीको मन्जूरी नलिएको भन्ने समेत आधारमा घर माथि निजको हक कानुनतः स्थापित हुने, सोही घर रहेको जग्गा सम्बन्धमा निजको हक स्थापित हुन नसक्ने स्थिति पनि देखिँदैन साथै घर रहेको जग्गा बिक्री गर्न निजको मन्जूरी लिएको स्थिति अवस्थामा लिखतमा लेखिएको घर रहेको जग्गामा यी वादी पुनरावेदकको हक हुन नसक्ने भन्ने देखिन नआउने ।
(प्रकरण नं. ११)
पुनरावेदक तर्फबाट : विद्वान वरिष्ठ अधिवक्ता श्री रतनलाल कनौडिया
फैसला
न्या.हिरण्येश्वरमान प्रधान
१. पूर्वाञ्चल क्षेत्रीय अदालतको इन्साफ जाँची पाउँ भनी वादीले श्री ५ महाराजाधिराज सरकारका जुनाफमा चढाएको बिन्तिपत्रमा भई आएको हुकुम प्रमांगी र सोही अदालतको फैसला उपर पुनरावेदन गर्ने अनुमति पाउँ भनी यिनै वादीले दिएको निवेदनमा पुनरावेदनको अनुमति समेत प्रदान भई पेश हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य एवं जिकिर यस प्रकार देखिन्छ ।
२. विपक्षी मध्येका रामदास म सीताको लोग्ने, दिपक र विनोदको बाबु हुन । हाम्रो अंशबण्डा भएका छैन । म सीतादेवीको दाइजो गहना समेत बिक्री गरी पतिका नाउँमा जग्गा खरिद गरी घर बनाई बसी आएकोमा, कुटपिट गरी खान लगाउन समेत नदिएकोले अंश मुद्दा दायर गरी कारवाहीयुक्त अवस्थामा छ । उपरोक्त बमोजिम जग्गा खरिद गरी ०–१–१४१२ जग्गामा बनेको घर पति तथा बाबुले विपक्षी सुरेशप्रसादलाई घरसारको राजीनामा लिखत गरी दिनु भएकाले, सो सगोलको घर जग्गा बाहेक आफ्नो कुनै जग्गा नभएको जुन घर हाम्रो समेत अंश हक लाग्ने भएकोले हाम्रो मन्जूरी बेगर भएको लिनु दिनु सदर नहुने कारण पिता रामदाशको अंश हकको लिखत सदर नै राखी हाम्रो ३ भाग घर जग्गाको हकमा लिखत बदर गरी सोही लिखतको आधारमा भएको दर्ता समेत बदर गरिपाउँ भन्ने समेत व्यहोराको फिराद दावी ।
३. रामदास नाम दर्ताको घर जग्गा निजले आफू खुस गर्न पाउने सोही कारण निजले मलाई बिक्री गरी दिएको हुँदा वादी दावी गैरकानुनी हो भन्ने समेत व्यहोराको सुन्दरप्रसादको प्रतिवादी जिकिर र प्र.रामदासबाट प्रतिवाद नभएको ।
४. दावीको जग्गामा अंशबण्डाको १९(२) नं. र लेनदेन व्यवहारको १० नं. समेतले प्र.रामदासले वादीहरुको मन्जूरी बेगर पनि आफूखुस गर्न पाउने हुँदा वादी दावी पुग्न सक्दैन भन्ने समेत व्यहोराको मोरङ जिल्ला अदालतको फैसला ।
५. दावीको घर जग्गा रामदासको निजी आर्जनको हो भन्ने बिना सबूद निजी आर्जन ठहराएको कानुनसंगत नहुँदा बदर गरी हक इन्साफ पाउँ भन्ने समेत व्यहोराको वादीको कोशी अञ्चल अदालतमा परेको पुनरावेदन ।
६. वादी दावी पुग्न नसक्ने ठहर्याएको शुरुको इन्साफ मनासिब देखिँदा पुनरावेदन जिकिर पुग्न सक्दैन भन्ने समेत कोशी अञ्चल अदालतको फैसला ।
७. कानुनी त्रुटिपूर्ण फैसलालाई सदर गरेको कोशी अञ्चल अदालतको फैसला समेत बदर गरी दावी बमोजिम न्याय पाउँ भनी पुनरावेदन गर्ने अनुमति पाउन वादी पक्षबाट परेको निवेदनमा अनुमति प्रदान भएको र लिखतमा उल्लेखित जग्गा प्र.रामदासले २०३१।१०।२३ मा रामेश्वरी तेलीनीबाट राजीनामा पारित गरी लिएको देखिएकोले रामदासकै पालामा आर्जेको पाइने, सोही कारण अंशबण्डाको १९(२) नं. ले आफूखुस गर्न पाउने, ठहर गरेको सम्मको इन्साफ मनासिब ठहर्छ, जग्गामा भएको घरको सम्बन्धमा २०३१।१०।२३ पश्चात नै बनेको देखिएकोले सो घर सगोलको हुँदा सोको बिक्री गर्दा हक पुग्नेको मन्जूरी लिन पर्ने कारण हुँदा छोराहरुको उमेर नपुगेकोले सीतादेवीको मन्जूरी लिएको नदेखिएकाले राजीनामाको घरको ४ खण्डको १ खण्ड सम्मको लिखत बदर हुन पर्ने ठहर गर्नु पर्नेमा सो नगरेको फैसला बदर हुने ठहर्छ भन्ने समेत व्यहोराको पूर्वाञ्चल क्षेत्रीय अदालतको फैसला ।
८. वादी दावीमा घर जग्गा साथ साथै उल्लेख भएको तर घरलाई सगोलको भनी जग्गालाई रामदासकै आर्जन ठहर गरी जग्गामा हक नपुग्ने ठहर गरेको पूर्वाञ्चल क्षेत्रीय अदालतको इन्साफ कानुन अनुकूल नहुँदा पूर्वाञ्चल क्षेत्रीय अदालतको फैसला उपर पुनरावेदनको अनुमति पाउँ भनी वादी तर्फबाट पर्न आएको निवेदनमा अनुमति पनि प्राप्त भएको देखिन्छ ।
९. पूर्वाञ्चल क्षेत्रीय अदालतको कानुनी त्रुटिपूर्ण फैसला जाँच गरी पाउन हुकुम प्रमांगी बक्स पाउँ भनी यिनै वादीले श्री ५ महाराजाधिराज सरकारका जुनाफमा चढाएको बिन्तिपत्रमा भई आएको प्रमांगी बमोजिम यस अदालतको विविध लगतमा दर्ता भई पेश हुन आएको पाइन्छ ।
१०. यसरी नियम बमोजिम पेश हुन आएकोमा पुनरावेदक तर्फबाट उपस्थित विद्वान वरिष्ठ अधिवक्ता श्री रतनलाल कनौडियाले प्रस्तुत गर्नुभएको बहस समेत सुनियो । प्रस्तुत विषयमा मुख्यतः पूर्वाञ्चल क्षेत्रीय अदालतको इन्साफ कानुनसंगत छ छैन भनी हेर्न पर्ने हुन आएको छ ।
११. यसमा वादी दावी बमोजिम लिखतमा लेखिएको घरको हकमा ४ खण्डको १ खण्डमा वादी सीतादेवीको हक कायम हुने र सो हदसम्मको लिखत दर्ता समेत बदर हुने ठहर गरी भएको पूर्वाञ्चल क्षेत्रीय अदालतको फैसला उपर सो हदसम्म विवाद रहेको पाइँदैन । जुन जग्गा प्र.रामदासले मिति २०३१।१०।२३ मा खरिद गरी लिएको हो सोही जग्गामा विवाद निरोपण भइसकेको घर बनाइएको स्थिति अवस्थालाई अन्यथा भन्न मान्न सकिने पनि देखिँदैन । प्रस्तुत मुद्दामा मुख्यतः घर र जग्गाकै सम्बन्धमा पुनरावेदन जिकिर केन्द्रित रहेको पाइन्छ । तर घर बनेको जग्गा माथि वादी सितादेवीको हक हुन सक्ने नसक्ने के हो ? सो सम्बन्धमा उक्त अदालतबाट कुनै निरोपण गर्ने प्रयास नै भएको पाइएन । कुनै पनि विवादको निरुपण गर्दा समुचा विवादलाई नै दृष्टिगत गरी निरुपण गर्नु पर्ने हुन्छ । दावी मध्ये आंशिक रुपबाट निर्णय गर्दा त्यो कानुन अनुकूल नै भए पनि वास्तवमा कानुनसंगत नभएको जस्तो आभास पर्दछ । तसर्थ प्रस्तुत मुद्दामा वादी दावी बमोजिमको घर जग्गा समेतको विषयमा निर्णय भएको पाइएन । यस सम्बन्धमा विद्यमान कानुनी व्यवस्था समेतलाई मिसिल संलग्न प्रमाणको आधारमा मध्यनजर राखी हेर्दा, वादी पुनरावेदकहरु र प्र.रामदास एकासगोलका अंशियार हुन् भन्ने कुरामा विवाद देखिँदैन, साथै यी वादीहरुले यी प्रतिवादी रामदाससंग अंश पाउने कुरोको ठहर आजै यसै इजलासबाट यिनै वादी प्रतिवादी बीच चलेको दे.नं. ८३४ को अंश मुद्दामा भइसकेको हुँदा यस सम्बन्धमा अन्य विचार गरी रहन पनि परेन । परिणामतः जहाँसम्म लिखतमा लेखिएको घर बनेको जग्गाको सम्बन्धमा विचार गर्दा २०३१।१०।२३ मा प्र.रामदासले खरिद गरेको जग्गामा नै सो विवादित घर बनेको देखिन्छ । जुन घर जग्गा प्र.रामदासले राजीनामाद्वारा बिक्री वितरण गरी दिइसकेको पाइन्छ । तर वादी सीतादेवीको मन्जूरी नलिएको भन्ने समेत आधारमा घर माथि निजको हक कानुनतः स्थापित हुने सोही घर रहेको जग्गा सम्बन्धमा निजको हक स्थापित हुन नसक्ने स्थिति पनि देखिँदैन । साथै घर रहेको जग्गा बिक्री गर्न निज सीतादेवीको मन्जूरी लिएको भन्ने पनि पाइँदैन । यस स्थिति अवस्थामा लिखतमा लेखिएको घर रहेको जग्गामा यी वादी पुनरावेदक सीतादेवीको हक हुन नसक्ने भन्ने देखिन नआउँदा, पुनरावेदन दावी बमोजिम लिखतमा लेखिएको घरले ओगटेको जग्गामा यी पुनरावेदक वादी सीतादेवीको ४ खण्डको १ खण्ड हक कायम हुने देखिँदा सो हदसम्म क्षेत्रीय अदालतको फैसला कानुनसंगत देखिन आएन । तसर्थ लिखतमा लेखिएको घर, सो घरले ओगटेको जग्गा समेतमा पुनरावेदक वादी सीतादेवीको हक लाग्ने हुँदा सो हदसम्म ४ खण्डको १ खण्ड लिखत दर्ता समेत बदर हुने हुँदा पूर्वाञ्चल क्षेत्रीय अदालतको इन्साफ केही उल्टी हुने ठहर्छ । अरुमा तपसीलमा लेखिए बमोजिम गर्नु ।
तपसील
पुनरावेदक वादी सीतादेवी साहु तेली दावीको ०३४।३।२७ को राजीनामामा उल्लेखित जग्गामा समेत ४ खण्डको १ खण्ड लिखत र दर्ता बदर हुने ठहरेकाले बदर भए जति जग्गा आफ्नो नाउँमा दर्ता गरिपाउँ भनी दर्खास्त दिए कानुन बमोजिम दर्ता गरी दिनु भनी सम्बन्धित कार्यालयमा लेखी पठाउन का.जि.अ.मा लेखि पठाउनु...१
मिसिल नियमानुसार गरी बुझाई दिनु....१
उक्त रायमा म सहमत छु ।
न्या.सुरेन्द्रप्रसाद सिंह
इति सम्वत् २०४५ साल फाल्गुण १८ गते रोज ४ शुभम् ।