शब्दबाट फैसला खोज्‍नुहोस्

निर्णय नं. ७३२९ - कर्तव्य ज्यान

भाग: ४६ साल: २०६१ महिना: जेष्ठ अंक:

निर्णय नं. ७३२९    ने.का..प.२०६१       अङ्क २

 

संयुक्त इजलास

माननीय न्यायाधीश श्री हरिश्चन्द्रप्रसाद उपाध्याय

माननीय न्यायाधीश श्री केदारप्रसाद गिरी

सम्बत २०५९ सालको फौ.पु.नं. ..३३३७

फैसला मितिः २०६०।७।२८।६

 

मुद्दाः कर्तव्य ज्यान ।

 

पुनरावेदक

प्रतिवादीः जिल्ला दाङ्ग सैघा गा.वि.स.वा.नं. ४ घर भै हाल कारागार शाखा तुलसीपुरमा थुनामा रहेका दलवहादुर खत्री

विरुद्ध

प्रत्यर्थी

वादीः वसन्धरी खत्रीको जाहेरीले श्री ५ को सरकार

 

§  प्रतिवादीले अदालतमा वयान गर्दा एउटा हात मुखदेखि तल चिउडोमा र अर्को हात टाउकोको पछाडि पट्टिको भागमा पकडी दायाँ वायाँ दुवैतिर वटारेको भनी उल्लेख गराएको  देखिन्छ । त्यसरी घाँटी जस्तो संवेदनशील अङ्गलाई टाउको र चिउडोमा समाई दायाँ वाँया वटारेको अवस्थामा मानिस मर्न सक्ने नदेखिने भन्न सकिने अवस्था नहुँदा चिउडो र टाउको समाई दायाँवाँया वटारेको कारण मानीस मर्न गएकोलाई भवितव्य पर्न गएको भन्न नमिल्ने ।

§  वारदातको ऐन मौकामा देख्ने कोही नभएको उक्त घटना करणी गर्न नदिएको एवं आफ्नो लिङ्ग र अण्डकोष अठ्याई दिएको रिसले टाउको वटारी दिएको भन्ने प्रतिवादीको भनाइ रहेको र निजले आफ्नो उक्त व्यहोरा वारदात पछि दाङ्ग सोडियारका मानवहादुर खत्री समेत सँग तत्काल मौकामा व्यक्त गरेको मिसिलवाट देखिदा मृतकलाई मार्न पूर्वतयारी नगरेको अवस्थाका अतिरिक्त मनसायको अभाव भएकै आधारमा पुनरावेदन अदालतवाट वादी दावी भन्दा घटी सजायँ गर्ने गरेको फैसला उपर वादी तर्फवाट पुनरावेदन परेको नदेखिएको हुँदा समेत प्रतिवादीको मृतकलाई मार्ने मनसाय नरहेको तथ्य स्थापित भैसकेको देखिने ।

§  लुकी चोरीकन हानेको अवस्था समेत नभै करणी गर्न नपाएको एवं मृतकले लिङ्ग र अण्डकोष अठ्याई दिएको कारण रिस उठी तत्काल घाँटी वटारी दिएको अवस्था देखिदा प्रतिवादी दलवहादुर खत्रीले वसन्ती खत्रीलाई ज्यान सम्वन्धी महलको १४ नं. का रीतसँग मारेको देखिने ।

(प्र.नं. १९ र २०)

 

पुनरावेदक प्रतिवादी तर्फवाटः

प्रत्यर्थी वादी तर्फवाटः

अवलम्वित नजिरः

 

फैसला

            न्या.केदारप्रसाद गिरीः पुनरावेदन अदालत तुल्सीपुरवाट मिति २०५८।१०।१४ मा भएको फैसला उपर न्याय प्रशासन ऐन, २०४८ को दफा ९ अन्तर्गत प्रतिवादी पक्षवाट पुनरावेदन पर्न आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य एवं निर्णय यस प्रकार रहेको छ :-

            २.    मिति २०५७।६।२५ मा छोरी ज्वाईले वोलाएकोले निजको घर गएको थिएं । साँझको खाना खाई म र सम्धिनी पिमा भण्डारी समेत निजको घरमा सुत्न गै भोलिपल्ट विहान ज्वाईको घरमा फर्कदा वाहिरवाट आग्लो लागि ढोका वन्द थियो । ढोका खोली हेर्दा मेरी छोरी वसन्ती मृत अवस्थामा सिरकले छोपिइरहेको देखेकोले ज्वाई दलवहादुरले नै कर्तव्य गरी मारेको स्पष्ट भएकोले कानून बमोजिम कारवाही गरी पाउँ भन्ने समेत व्यहोराको जाहेरी दर्खास्त ।

            ३.    बाँया साप्रामा कोतरिएको घाउ भएको, घाँटीको अवस्था लल्याकलुलुक गरी चारै तिर हल्लिने, घाँटीमा डामहरु नभएको भन्ने समेत व्यहोराको मिति २०५७।६।२७ को लाश प्रकृति मुचुल्का।

            ४.    छोरा दलवहादुर खत्रीले के कुन रिसइवीको कारण वुहारी वसन्तीलाई मारे यकिन खुलाउन सक्दिन भन्ने समेत व्यहोराको पिमा भण्डारीको कागज ।

            ५.    मृतकको घाँटी भाँच्चिएको जस्तो भएको र मृतकको श्रीमान दलवहादुर खत्री पनि घरमा नभएका हुँदा निजलेनै आफ्नो श्रीमती वसन्तीलाई कर्तव्य गरी मारेकोमा पूर्ण विश्वास लाग्छ भन्ने समेत व्यहोराको मानवहादुर वुढाथोकी, प्रेमवहादुर भण्डारी, टेकवहादुर कुवंर, वलवहादुर कुवर समेतको कागज ।

            ६.    घाँटी वटारिई स्वास प्रश्वास बन्द भै मृत्यु भएको हो भन्ने समेत व्यहोराको शव परीक्षण प्रतिवेदन ।

            ७.    मेरी श्रीमती वसन्तीले १०।१५ दिन अघि देखिनै मलाई करणी गर्न खोज्दा दिएकी थिइनन् सो दिन राति एक वजेको समयमा मलाई करणी गर्न मन लाग्यो करणी गर्न खोज्दा कुटाकुट भयो । श्रीमतिले मेरो लिङ्ग र अण्डकोष समाती मलाई मार्न खोज्दा फुत्काउन सफल भै रिस उठी अव यस्लाई नमारी छाड्दिन भनी श्रीमतीको चिउडो र टाउको सामाती वटारी दिंदा मृत्यु भएको हो भन्ने समेत व्यहोराको प्रतिवादी दलवहादुर खत्रीको अनुसन्धान अधिकारी समक्ष वयान ।

            ८.    मिति २०५७।६।२५ गते राती आफ्नो श्रीमतीलाई यौन सम्पर्क गर्न खोज्दा निजले नदिए पछि मुक्काले हानेको र श्रीमतीले लिङ्ग समाति दिएकीले रीसको आवेगमा मुक्काले हानी निजको घाँटी वटार्दा मरेकीले भागी आएको हुँ भनी दलवहादुरले भनेकोले प्रहरीलाई खवर गरी बुझाएको हौ भन्ने समेत व्यहोराको खिमवहादुर गिरी, मानवहादुर खत्री समेतको कागज ।

            ९.    प्रतिवादी दलवहादुर खत्रीले मुलुकी ऐन ज्यान सम्वन्धी महलको १ नं. र १३ (३) नं. अनुसारको कसूर गरेकोले निजलाई सोही ऐनको १३(३) नं. बमोजिम सजायँ गरी पाउँ भन्ने समेत व्यहोराको अभियोग पत्र ।

            १०.    वारदातको दिन राती करणी गर्न खोज्दा मृतक वसन्ती खत्रीले दिन्न भनी इन्कारी गरी लात्तिले हान्ने लुछाचुडी गर्ने गरेकी र मैले वल जफत गरी करणी गर्न भनी प्रयास गर्दागर्दै मुण्टो निमोठिन पुगेछ, सोही कारणवाट मृत्यु भएको हो । मृतकको मृत्यु मेरै कर्तव्यवाट भएको हो मलाई सजाय हुनुपर्ने हो भन्ने समेत व्यहोराको प्र. दलवहादुर खत्रीले जिल्ला अदालतमा गरेको वयान ।

            ११.    मृतक छोरीलाई प्रतिवादी दलवहादुरले मारेका हुन कुन रिसइवीका कारणले गर्दा मारेका हुन मलाई थाहा छैन भन्ने समेत व्यहोराको जाहेरवाली बसन्धरी खत्रीले गरेको वकपत्र ।

            १२.   प्रतिवादी दलवहादुर खत्रीले दावी अनुरुप ज्यान सम्वन्धीको १३(३) ले वर्णित कसूर गरेको नभै सोही महलको १४ नं. बमोजिमको कसूर गरेको देखिन आएकोले प्रतिवादीलाई १० वर्ष कैद हुने ठहर्छ भन्ने समेत व्यहोराको दाङ्ग देउखुरी जिल्ला अदालतको मिति ०५७।११।२९ को फैसला ।

            १३.   जिल्ला अदालतको फैसला मुलुकी ऐन ज्यान सम्वन्धी महलको ७ नं. तथा प्रमाण ऐन, २०३१ को दफा २५ समेतको प्रतिकूल हुँदा उल्टी गरी अभियोग दावीवाट फुर्सद दिलाई पाउँ भन्ने समेत व्यहोराको प्रतिवादीले पुनरावेदन अदालत तुल्सीपुरमा प्रस्तुत गरेको पुनरावेदन ।

            १४.   अभियोग दावी बमोजिम नगरी दाङ्ग देउखुरी जिल्ला अदालतवाट प्रतिवादीलाई ज्यान सम्वन्धी महलको १४ नं. बमोजिमको कसूर र सजायँ गर्ने गरेको फैसला चित्त वुझेन तसर्थ उक्त फैसला त्रुटिपूर्ण हुँदा अभियोग माग दावी बमोजिम सजायँ गरी पाउँ भन्ने समेत व्यहोराको वादी श्री ५ को सरकार तर्फवाट पु.वे.अ. तुल्सीपुरमा परेको पुनरावेदन पत्र ।

            १५.   प्रतिवादीलाई कैद वर्ष १० हुने ठहर्‍याई शुरु दाङ्गदेउखुरी जिल्ला अदालतले गरेको फैसला मिलेकै देखिंदा सदर हुने ठहर्छ । पुनरावेदक वादी प्रतिवादीको पुनरावेदन जिकिर पुग्न सक्दैन भन्ने समेत व्यहोराको पुनरावेदन अदालत तुल्सीपुरको मिति ०५८।१०।१४ को फैसला ।

            १६.    दाङ्ग देउखुरी जिल्ला अदालतको त्रुटिपूर्ण फैसला सदर गरेको पु.वे.अ. तुल्सीपुरको फैसला मुलुकी ऐन ज्यान सम्वन्धी महलको ६,, नं. तथा प्रमाण ऐन, २०३१ को दफा ५४ को प्रतिवन्धात्मक वाक्यांश समेतको प्रतिकूल हुँदा वदर उल्टी गरि झुठा अभियोग दावीवाट फुर्सद दिलाई पाउँ भन्ने समेत व्यहोराको प्रतिवादी पक्षवाट यस अदालतमा पर्न आएको पुनरावेदन ।

            १७.   नियम बमोजिम पेशी सूचीमा चढी पेश हुन आएको पुनरावेदन सहितको मिसिल कागजात अध्ययन गरी हेर्दा प्रस्तुत मुद्दामा पुनरावेदन अदालत तुल्सीपुरवाट मिति २०५८।१०।१४ मा भएको फैसला मिलेको छ छैन भन्ने सम्वन्धमा निर्णय दिनुपर्ने हुन आयो ।

            १८.   निर्णयतर्फ विचार गर्दा वसन्ती खत्रीलाई मारी मुलुकी ऐन ज्यान सम्वन्धी महलको १ नं. विपरीत कसूर गरेको अभियोगमा ऐ.को १३ (३) नं. बमोजिम प्रतिवादी दलवहादुर खत्रीलाई सजायँ गरी पाउन माग दावी रहेको यस मुद्दामा प्रतिवादीलाई ज्यान सम्वन्धी महलको १४ नं. बमोजिम १० वर्ष कैदको सजाय हुने गरेको शुरु दाङ्ग देउखुरी जिल्ला अदालतको फैसला सदर गर्ने गरी पुनरावेदन अदालत तुल्सीपुरवाट भएको फैसला उपर प्रतिवादीवाट पुनरावेदन परेको देखियो । पुनरावेदन अदालतवाट अभियोग माग दावी अनुसारको कसूर र सजायँ हुने नठहराई सोही महलको १४ नं. बमोजिम १० वर्ष कैद को सजायँ हुने ठहर्‍याएको शुरुको फैसला सदर गरे उपर वादी श्री ५ को सरकारको तर्फवाट यस अदालतमा पुनरावेदन पर्न आएको देखिएन । मृतक वसन्ती खत्रीको मृत्यु यी प्रतिवादीको कर्तव्यवाट भएको कुरा जाहेरी दर्खास्त शव परिक्षण प्रतिवेदन, लाश जाँच मुचुल्का तथा स्वयं प्रतिवादीको साविति वयान समेतवाट निर्विवाद प्रमाणित भैरहेको अवस्था छ । प्रतिवादीले यस अदालतमा पेश गरेको पुनरावेदन पत्रमा समेत सो सम्वन्धमा अन्यथा जिकिर लिएको देखिएन । निजले शुरु तथा पुनरावेदन अदालतवाट ज्यान सम्वन्धीको महलको १४ नं.अनुसारको कसूर र सजायँ गरेको मा आफ्नो कार्य उक्त १४ नं. अनुरुपको नभै सोही महलको ७ र ६ नं. अन्तर्गतको वारदात भएको भनी जिकिर लिएको देखिंदा अव निजको उक्त पुनरावेदन जिकिर सम्वन्धमानै विवेचना गर्नुपर्ने देखिन आएको छ ।

            १९.    प्रस्तुत मुद्दामा प्रतिवादी दलवहादुर खत्रीको कर्तव्यवाट वसन्ती खत्रीको मृत्यु हुन गएको कार्य ज्यान सम्वन्धी महलको ७ नं. को परिभाषा भित्र पर्छ पर्दैन भन्ने सम्वन्धमा विचार गर्दा उक्त नं.मा आफ्नो रक्षा शिक्षा गर्ने क्रममा केही गर्दा, आफ्नो धनमाल वचाउने उदेश्यले चोर डाँकालाई पक्राउ गर्न नसकिने अवस्थामा केही गर्दा, एवं आफ्नो जीउ वा जिम्मामा रहेको सरकारी मालको बचाउ निमित्त उसै मौकामा केही गर्दा जुलुमीको ज्यान मरेकोमा वात नलाग्ने व्यवस्था भएको देखिन्छ । पुनरावेदकले आफूले श्रीमतीलाई करणी गर्न लाग्दा करणी गर्न नदिई उल्टै लिङ्ग र अण्डकोष समाई मार्न खोजेको र तत्काल केही नगर्दा आफ्नो ज्यान जाने र हार गुहार माग्न सक्ने अवस्था र परिस्थिति नभएको भनी आफ्नो जिकिरमा उल्लेख गरेको पाइयो । यी प्रतिवादीले अदालत समक्ष वयान गर्दा आफूले वल जफत करणी गर्न भनी प्रयास गर्दागर्दै मुण्टो निमोठिन पुगेछ भनी लेखाई दिएको तथा अनुसन्धान अधिकारी समक्षको वयानमा श्रीमतीले समातेको लिङ्ग र अण्डकोष फुत्काउन सफल भै रिस उठी अव यस्लाई नमारी छाड्दीन भनी टाउको वटारी दिएको भनी लेखाई दिइको पाइन्छ । प्रत्यक्षदर्शी कोही नभएको प्रस्तुत वारदातमा  मृतकले प्रतिवादीको लिङ्ग र अण्डकोष समाएको वाहेक प्रतिवादीको ज्यानै जाने अन्य कृयाकलाप गरेको देखिदैन । मृतकले प्रतिवादीलाई मार्नु पर्ने हदसम्मको कारण वा रिसइवी रहेभएको स्वयं प्रतिवादीको वयान व्यहोरावाट समेत देखिन आउदैन । मृतक श्रीमतीले आफूलाई करणी गर्न नदिएको भनी प्रतिवादीले वयान गरेकोमा त्यसरी करणी गर्न नदिनकै लागि लगत्तै भारत जान लागेको आफ्नै लोग्नेलाई श्रीमती स्वयंले मार्न खोज्ने उदेश्य एवं क्षमता रहेको हुन्छ भन्ने कुरानै विश्वासप्रद देखिन आउँदैन । उल्लिखित ७ नं. मा ज्यान माराको वात लाग्नवाट दिएको उन्मुक्तिको शर्तहरु ज्यान लिने सम्मको जोरजुलुम भएको क्षण सम्म सिमित नरही जुलुमीलाई पक्राउ गर्न वा गुहार मद्दत माग्न नसकिने वा मागे पनि वखतमा मद्दत पुग्न नसक्ने वा त्यस्ताको पञ्जावाट भागी उम्की आफ्नो ज्यान बचाउन समेत फुर्सद नपाउने अवस्थामा आफूले केही नगरे आफ्नो ज्यान रहदैन भन्ने पूरा विश्वास हुनुपर्ने भन्ने समेत उल्लेख रहेको देखिन्छ । जस अनुसार वारदातको अन्तिम अवस्था सम्म आफ्नो मृत्यु विकल्प रहित अवस्थामा  पुगेको स्थितिमा मात्र अथवा आफ्नो ज्यान बाँच्न अन्य उपायनै नरहेको अवस्थामा मात्र केही गर्दा ज्यान मारेकोमा ज्यान माराको वात लाग्नवाट छुटकारा पाउन सक्ने हुन्छ। प्रस्तुत वारदातमा वारदात स्थल घरको पूर्वमा सिम्नी टोल उत्तरमा भोजवहादुर पुनःको घर दक्षिणमा मानवहादुर वुढाथोकीको घर रहेको घटनास्थल प्रकृति मुचुल्कावाट देखिएको हुँदा हार गुहार माग्न सक्ने स्थितिनै नरहेको अवस्था छैन, यसै गरी कुनै हात हतियार र मद्दतगार विनाको एक्लो आफ्नै पत्नीवाट उक्त ७ नं. मा उल्लेख भए बमोजिम ज्यान बाँच्ने वचाउने अन्य उपचारनै नभएको अवस्था सिर्जना भएको भन्ने पनि प्रतितलायक देखिन आउदैन । यसर्थ वारदातको अन्तिम घडि सम्म पनि आफ्नो ज्यान वचाउन सकिने अन्य विकल्प वाँकी नरहेको भन्ने देखिन नआए सम्म आफूले केही गर्दा कसैको ज्यान मर्न गएकोमा मुलुकी ऐन ज्यान सम्वन्धी महलको ७ नं. बमोजिम उन्मुक्ति पाउन नसक्ने हुँदा यस सम्वन्धी प्रतिवादी पुनरावेदकको जिकिर कानूनसँगत देखिएन । जहाँ सम्म उक्त वारदात ज्यान सम्वन्धीको ६ नं. को वारदात भएको भन्ने जिकिरको प्रश्न छ, सो सम्वन्धमा विचार गर्दा उल्लिखित ६ नं. को देहाय १ देखि ६ नं. मध्ये कुन चाही अवस्थामा के कति सजायँ हुनुपर्ने भनी पुनरावेदन पत्रमा स्पष्ट उल्लेख गरेको नपाइएता पनि श्रीमतीले करणी गर्न नदिई उल्टै लिङ्ग र अण्डकोष समाती अठ्याएकीले निजको हात हटाई करणी गर्न खोज्दा टाउको वटारिन गएको भनी पुनरावेदन पत्रकोप्रकरण ३ को (क) मा उल्लेख गरेको देखिन्छ । ज्यान सम्वन्धीको महलको ६ नं. अध्ययन गर्दा सोही महलको ५ नं. समेत अध्ययन गर्नुपर्ने हुन्छ । वस्तुतः उक्त ५नं. बमोजिम भवितव्य ठहर्ने विभिन्न अवस्थाको वर्णन नै ६ नं. भएको देखिन आउँछ भने ६ नं.बमोजिम सजायँ हुन उक्त कार्य ५ नं.मा उल्लेख भए बमोजिम भवितव्य भएको स्पष्ट हुनुपर्ने देखिन्छ । उक्त ५ नं. बमोजिम कुनै ज्यान गएको वारदात भवितव्य हुन ज्यान लिने इविलाग वा मनसाय नभएको हुनुपर्ने तथा आफूले गरेको कार्यवाट मानिस मर्ला जस्तो नदेखिएको हुनुपर्ने भन्ने देखिन्छ । मृतकलाई मार्नु पर्ने सम्मको रिसइवी तथा पूर्व तयारी रहेको भन्ने मिसिलवाट देखिन आउदैन । प्रतिवादीले ज्यान मार्ने मनसाय लिएको नदेखिएपछि निजको कार्यवाट मानिस मर्ला जस्तो नदेखिएको अवस्था थियो थिएन भन्ने तर्फ विश्लेषण गर्दा मृतकको मृत्यु घाँटी वटारिई स्वाश प्रश्वास वन्द भै भएको भन्ने शव परीक्षण प्रतिवेदनवाट देखिन्छ । यी प्रतिवादीले अदालतमा वयान गर्दा एउटा हात मुखदेखि तल चिउडोमा र अर्को हात टाउकोको पछाडि पट्टिको भागमा पकडी दायाँ वायाँ दुवैतिर वटारेको भनी उल्लेख गराएको देखिन्छ । त्यसरी घाँटी जस्तो संवेदनशील अङ्गलाई टाउको र चिउडोमा समाई दायाँ वाँया वटारेको अवस्थामा मानिस मर्न सक्ने नदेखिने भन्न सकिने अवस्था हुँदैन । तसर्थ चिउडो र टाउको समाई दायाँवाँया वटारेको कारण मानीस मर्न गएकोलाई भवितव्य पर्न गएको भन्न मिल्ने नदेखिँदा यस सम्वन्धी प्रतिवादीको जिकिर पुग्न सक्ने देखिएन ।

            २०.   अब प्रतिवादीको कार्य के कस्तो प्रकृतिको भएको र के कस्तो सजायँ हुने हो भन्ने सम्वन्धमा विचार गर्दा मृतक बसन्तीलाई मार्नु पर्ने सम्मको निज र यी प्रतिवादी बीच पूर्व रिसइवी रहेको मिसिलवाट देखिन आउँदैन । पूर्व रिसइवी रहेको भन्ने वादीको दावी रहेको पनि देखिदैन । वारदातको दिन पछि अर्थात मिति ०५७।६।२९ मा कमाई गर्न भारत तर्फ जाने अवस्थामा भेटघाट गर्न मृतककै आमा प्रतिवादीको शाशुलाई समेत वोलाएको अवस्था छ । मृतक र प्रतिवादीका वीच रातिको खाना खाने वेला सम्म सम्वन्ध नराम्रो भएको भन्ने पनि मिसिलवाट देखिदैन । वारदातको ऐन मौकामा देख्ने कोही नभएको उक्त घटना करणी गर्न नदिएको एवं आफ्नो लिङ्ग र अण्डकोष अठ्याई दिएको रिसले टाउको वटारी दिएको भन्ने प्रतिवादीको भनाइ रहेको र निजले आफ्नो उक्त व्यहोरा वारदात पछि दाङ्ग सोडियारका मानवहादुर खत्री समेत सँग तत्काल मौकामा व्यक्त गरेको मिसिलवाट देखिन्छ । मृतकलाई मार्न पूर्वतयारी नगरेको अवस्थाका अतिरिक्त मनसायको अभाव भएकै आधारमा पुनरावेदन अदालतवाट वादी दावी भन्दा घटी सजायँ गर्ने गरेको फैसला उपर वादी तर्फवाट पुनरावेदन परेको नदेखिएको हुँदा समेत प्रतिवादीको मृतकलाई मार्ने मनसाय नरहेको तथ्य स्थापित भै सकेको देखिन आयो । प्रस्तुत वारदातमा कुनै हात हतियार प्रयोग भएको देखिदैन । लुकी चोरीकन हानेको अवस्था समेत नभै करणी गर्न नपाएको एवं मृतकले लिङ्ग र अण्डकोष अठ्याई दिएको कारण रिस उठी तत्काल घाँटी वटारी दिएको अवस्था देखिन्छ । यसर्थ उल्लिखित आधार प्रमाणवाट प्रतिवादी दलवहादुर खत्रीले वसन्ती खत्रीलाई ज्यान सम्वन्धी महलको १४ नं. का रीतसँग मारेको देखिन आयो ।

            २१.   तसर्थ प्रस्तुत मुद्दामा प्रतिवादी दलवहादुर खत्रीले श्रीमती बसन्ती खत्रीलाई मारी मुलुकी ऐन ज्यान सम्वन्धी महलको १४ नं. को कसूरमा सोही नं. बमोजिम १०(दश) वर्ष कैदको सजाय गर्ने गरेको शुरु दाङ्ग देउखुरी जिल्ला अदालतको फैसला सदर गर्ने गरेको पुनरावेदन अदालत तुल्सीपुरको इन्साफ मिलेकै देखिंदा सदर हुने ठहर्छ । पुनरावेदक प्रतिवादीको पुनरावेदन जिकिर पुग्न सक्दैन दायरीवाट यस मुद्दाको लगत कट्टा गरी मिसिल नियमानुसार गरी वुझाई दिनु ।

 

दुवै जना भई निर्णय सुनाई सकेपछि दस्तखत हुन अगाडी सहयोगी मा.न्या.श्री हरिश्चन्द्रप्रसाद उपाध्याय परलोक हुनु भएकोले दस्तखत हुन नसकेको व्यहोरा प्रमाणित गर्दछु ।

 

न्या.केदारप्रसाद गिरी

 

इति संवत् २०६० साल कार्तिक २८ गते रोज ६ शुभम्...........................

 

 

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु