शब्दबाट फैसला खोज्‍नुहोस्

निर्णय नं. ७३३० - निखनाई पाउ

भाग: ४६ साल: २०६१ महिना: जेष्ठ अंक:

निर्णय नं. ७३३०    ने.का..प.२०६१       अङ्क २

 

संयुक्त इजलास

माननीय न्यायाधीश श्री भैरवप्रसाद लम्साल

माननीय न्यायाधीश श्री राम नगिना सिंह

सम्बत् २०५६ सालको दे. पु. नं. ५८००

फैसला मितिः २०६०।३।२।२

 

मुद्दा :निखनाई पाउँ ।

 

पुनरावेदकः काठमाडौं जिल्ला काठमाडौं महानगरपालिका वडा नं. ३० ज्याठा बस्ने आशा प्रजापतिको मु. स. गर्ने ऐ. ऐ. बस्ने अष्ट बहादुर प्रजापति

बिरुद्ध

प्रत्यर्थी

प्रतिवादीः ऐ. ऐ. बस्ने बेखामाँया प्रजापति समेत

 

§  दानबकसको ३ नं. मा कसैले केही व्यहोरासँग आफ्नो हक छाडी अरुको हक लाग्ने गरी एकैघरमा आधा वा केही खण्ड सो घर वा घरले चर्चेको जमीन दानबकस गरी दिई पाएको रहेछ र पाउनेले आफूले पाएको वा दिनेले आफूले दिएदेखि बाँकी अर्कोलाई दिए भने अघि दिने वा अघिबाट दिनेको सोही ठाउँमा बस्ने हकवालाले र दिनेले बाँकी अर्कालाई दानबकस गरी दिए भने पाउने वा सोही ठाउँमा बस्ने उसका हकवालाले लिन पाउने व्यवस्था गरेको पाइने ।

§  प्रस्तुत मुद्दामा हालै देखिको बकसपत्रबाट गरी दिएको विवादको जग्गा दाताले बकस गरी पाएको नभई अंश वापत पाएको हुँदा दानबकसको ३ नं. आकर्षित हुने अवस्था नदेखिदा दानबकसको ३ नं. को आधारमा विवादित घरजग्गा निखनी पाउँ भन्ने वादी दावी पुग्न नसक्ने ठहर गरेको शुरु काठमाडौं जिल्ला अदालतको फैसलालाई सदर गरेको पुनरावेदन अदालत पाटनको फैसला मिलेको देखिदा सदर हुने ।

(प्र.नं. १४)

 

पुनरावेदक वादी तर्फवाटः विद्वान अधिवक्ताहरु श्री शंभु थापा र श्री मोहनवहादुर वन्जारा क्षेत्री

प्रत्यर्थी प्रतिवादी तर्फवाटः विद्वान अधिवक्ताद्वय श्री विजय प्रसाद मिश्र र श्री विजय प्रधान

अवलम्वित नजिरः

 

आदेश

            न्या.भैरवप्रसाद लम्सालः पुनरावेदन अदालत पाटनको मिति २०५४।९।२८ को फैसला उपर वादी पक्षको यस अदालतमा मुद्दा दोहोर्‍याई पाउँ भन्ने निवेदन परी मुद्दा दोहोर्‍याई हेर्ने निस्सा प्रदान भएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य एवं ठहर यसप्रकार छ :

            २.    धनपतीका दुई छोरामा जेठो म आशा प्रजापति, कान्छो विपक्षी बेखामाँयाको पती सानु प्रजापति हकवाला भएको अंशवण्डा हुनुभन्दा अगाडि एउटै घर जग्गा भएको र नापनक्सा हुँदा का.न.पा. वडा नंं. ३० को कि.नं. ५७ को क्षेत्रफल ०२ सानु प्रजापतिको भागमा र कि.नं. ६८ को म फिरादीको नाममा नापनक्सा भै रहेको घरजग्गा मध्ये कि.नं. ५७ को मेरो घरसँग जोडिएको घरजग्गा मिति २०५१।११।११ गते दिने सानु प्रजापति बकस पाउने कुल बहादुर प्रजापति र सनाखत साक्षीमा बेखामाँया प्रजापति भई हा. व. को लिखत कायम भएको मूल्य रु. ८१,१००।र रजिष्ट्रेशन दस्तुर रु. १२,१६५।गरी जम्मा रु. ९३,२६५।वरावरको मूल्य राखी लेनदेन गरेको लिखतको आधारमा म हकवालाले धरौटी रकम निजहरुलाई दिलाई दान बकस ३ नं. बमोजिम म फिरादीलाई दिलाई पाउँ भन्ने समेतको वादी दावी रहेछ ।

            ३.    बादी आशा प्रजापति र म प्रतिवादीको पतिको बीचमा २०४९ चैत्र १७ गते घरायसी वण्डा पत्र भई आफूखुस गर्न पाउने घरजग्गालाई विपक्षीले निखन्न  पाउने होइन, राजिनामा लिएको जग्गासम्म सन्धीसर्पन पर्ने व्यक्तिले निखनी लिन  पाउने सम्म रहने व्यवस्था रहेको हुन्छ । बकसपत्र लिए दिएको कुरा निखन्न पाउँ भन्ने वादी दावी अ.वं. ८२ नं. तथा दान बकसको ३ नं. विपरीतको फिराद खारेजभागी छ भन्ने प्रतिवादी मध्येको बेखामाँयाको प्रतिउत्तर पत्र ।  

४.    दाता बेखामाँया प्रजापति र सानु प्रजापतिलाई म प्रतिवादी कुल बहादुरले हरेक कुरामा सहयोग गरी हालसम्म मैले नैं पालनपोषण गरी रिझाई आएको कारणले मलाई हालको बकसपत्रको लिखत पारीत गरी दिएका हुन् । २०४९ सालमा मेरो दाता र विपक्षी बीच अंशवण्डा भएको हो । आफ्नो हक लाग्ने सम्पत्ति आफू खुश गर्न पाउने हुँदा दाता सानुले कानूनी प्रक्रिया पूरा गरी मलाई हा. व. गरी दिएको हुँदा फिराद खारेजभागी छ । वादीलाई दानबकसको ४ नं. बमोजिम हदैसम्म सजाय समेत गरी लिखतलाई कायम राखी फिरादबाट फूर्सद पाउँ भन्ने कुल बहादुरको प्रतिउत्तरपत्र ।

५.    अंशबाट पाएको घर हा. व. गरी दिएको अवस्थामा उक्त दानबकसको ३ नं. अनुसार निखनाई लिन पाउने अवस्था उक्त ऐनले गरेको नदेखिदा मिति २०५१।११।११ मा लिखत भैं २०५१।११।१४ मा पास भएको हा. व. को लिखतअनुसारको घर विपक्षीलाई धरौट रकम लिई उक्त घर फिरादीलाई दिलाई दिने गरी इन्साफ पाउँ भन्ने फिराद दावी पुग्न नसक्ने ठहर्छ भन्ने समेत व्यहोराको काठमाडौं जिल्ला अदालतको मिति २०५३।८।५ को फैसला ।

६.    एउटै घरलाई आधा आधा हक हिस्सा गरी भोगी रहेकोमा त्यस्तो खण्डभोग गर्ने दुई पक्ष मध्ये एकले अर्कोलाई आपसमा हा. व. गरी दिनु गर्नु बाहेक अन्यलाई हा. व. गरी दिन नपाउने मनसाय उक्त दान बकसको महलको ३ नं. को हो । ऐनको उक्त मनसायलाई गलत अर्थ लगाई गरेको काठमाडौं जिल्ला अदालतको फैसला त्रुटीपूर्ण हुँदा सो बदर गरी शुरु फिराद र पुनरावेदन दाबी बमोजिम गरी पाउँ भन्ने पुनरावेदक वादीको पुनरावेदन अदालत पाटनमा परेको पुनरावेदन पत्र ।

७.    यसमा बादी प्रतिवादीका पति सानु प्रजापतिको बीचमा भएको २०४९ सालको वण्डापत्रमा एकै घरजग्गा वण्डा गरी लिए पाएको देखिएको परिप्रेक्ष्यमा शुरुको फैसला फरक पर्न सक्ने हुँदा अ.वं. २०२ नं. तथा पुनरावेदन अदालत नियमावली, २०४८ को नियम ४७ बमोजिम विपक्षी झिकाई आएपछि वा अवधि नाघेपछि नियमानुसार पेश गर्नु भन्ने पुनरावेदन अदालत पाटनको आदेश ।

८.    शुरु काठमाडौं जिल्ला अदालतबाट वादी दावी पुग्न नसक्ने गरी भएको फैसला मिलेको देखिदा सदर हुने ठहर्छ भन्ने पुनरावेदन अदालत पाटनको मिति २०५४।९।२८ को  फैसला

९.    कि.नं. ५७ को जग्गामा रहेको विवादित घर र मेरो घर एउटा नाल, एउटै कोठा र एउटै गारो भएकोले उल्लेखित पाताल घरको समयमा मर्मत नभएको खण्डमा मेरो हाल बसोबास गरी बसेको घरलाई समेत असर पर्ने अवस्था भएकोले ऐन कानून तथा सिद्धान्त समेतको विपरीत गरी शुरु काठमाडौं जिल्ला अदालत र पुनरावेदन अदालत पाटनको फैसला बदर गरी माग दावी बमोजिम सो कि.नं. ५७ को घरजग्गा निखनाई पाउँ भन्ने समेत व्यहोराको वादीको यस अदालतमा परेको निवेदन ।

१०.    आशा प्रजापतिको र बेखामाँयाको एउटै घर अंशबाट आधा आधा पाई भोगचलन रहेकोमा बेखामाँयाले आफ्नो अंश हकको आधा घर बकसपत्र गरी हक छाडेकोमा आधा घरवाला वादीले मोल दिई लिन पाउँ भनी दिएको फिराद दावीमा दान बकसको ३ नं. बमोजिमको पूर्वावस्था नभएको भनी बादी दावी नपुग्ने गरेको फैसलामा दान बकसको ३ नं. को व्याख्यात्मक त्रुटी रहेकोले न्याय प्रशासन ऐन, २०४८ को दफा १२(१)(क) अन्तर्गत दोहोर्‍याई हेर्ने निस्सा प्रदान गरिएको छ भन्ने यस अदालतको आदेश ।

११.    नियम बमोजिम पेश भएको प्रस्तुत मुद्दाको मिसिल अध्ययन गरी पुनरावेदक तर्फबाट विद्वान अधिवक्ताद्वय श्री शम्भु थापा र श्री मोहन बहादुर वञ्जारा क्षेत्रीले बकसपत्र गरी दिने बेखामाँयाको पति र मेरो पक्ष दाजुभाइ भएको कुरामा विवाद छैन । एउटै घर आधा आधा पाएकोले सन्धीसर्पन परेको छ । एउटै घरको आधा भाग अरुलाई हक छाडी दिदा अप्ठ्यारो पर्ने भयो । यस स्थितिमा बादी दावी बमोजिम निखन्न दिनु पर्नेमा बादी दावी पुग्न नसक्ने ठहर गरेको शुरु र पुनरावेदन अदालतको फैसला उल्टी हुनुपर्छ भन्ने समेत बहस प्रस्तुत गर्नुभयो ।

१२.   प्रत्यर्थी कुल बहादुर प्रजापतिको मु.स. गर्ने धन बहादुर प्रजापति तर्फबाट विद्वान अधिवक्ताद्वय श्री विजयप्रसाद मिश्र र श्री विजय प्रधानले नापी हुँदा छुट्टाछुट्टै कित्ता कायम भएकोले एउटै घर मान्न मिल्दैन । मेरो पक्षको दाताको हक बकसपत्रबाट श्रृजित नभई अंश वापत प्राप्त भएको हो । तेश्रो पक्षमा हक हस्तान्तरण भई सकेको छ । दुबै घरको मोहडा सडक भएकोले सन्धीसर्पन पर्दैन । बादी दावी बमोजिम निखन्न दिनुपर्ने अवस्था नभएकोले बादी दावी पुग्न नसक्ने ठहर गरेको शुरु जिल्ला अदालत र पुनरावेदन अदालतको फैसला मिलेको हुँदा सदर हुनुपर्छ भन्ने समेत बहस प्रस्तुत गर्नुभयो ।

१३.   उपरोक्त बहस समेतलाई दृष्टिगत गरी आफ्नो भाइ सानु प्रजापतिले हालै देखिको बकसपत्र गरी हक छाडी दिएको विवादको कि.नं. ५७ को घरजग्गा आफ्नो घरसँग जोडिएकोले लिखतमा कायम भएको मूल्य मबाट दिलाई दानबकसको ३ नं. बमोजिम सो घरजग्गा दिलाई पाउँ भन्ने समेत बादी दावी र आफ्नो हक लाग्ने सम्पत्ति बकसपत्र गरी दिएकोमा निखन्न पाउने होइन भन्ने व्यहोराको प्रतिउत्तर जिकिर भएको प्रस्तुत मुद्दामा बादी दावी पुग्न नसक्ने ठहर गरेको शुरु काठमाडौं जिल्ला अदालतको फैसलालाई सदर गरेको पुनरावेदन अदालत पाटनको फैसला मिले, नमिलेको सम्बन्धमा निर्णय दिनुपर्ने हुन आयो ।

१४.   निर्णय तर्फ विचार गर्दा बादी दावीको विवादित घरजग्गा सानु प्रजापतिले अंश वापत प्राप्त गरी निजले मिति २०५१।११।११ मा कुल बहादुर प्रजापतिलाई हालै देखिको बकसपत्र गरी दिएको कुरामा कुनै विवाद भएको पाइएन । त्यसरी सानु प्रजापतिले बकसपत्र गरी दिएको घरजग्गा निखनी पाउँ भनी बादीको फिराद मुलुकी ऐन, दानबकसको ३ नं. अन्तर्गत दायर भएको देखिन्छ। दानबकसको ३ नं. मा कसैले केही व्यहोरासँग आफ्नो हक छाडी अरुको हक लाग्ने गरी एकैघरमा आधा वा केही खण्ड सो घर वा घरले चर्चेको जमीन दानबकस गरी दिई पाएको रहेछ र पाउनेले आफूले पाएको वा दिनेले आफूले दिएदेखि बाँकी अर्कोलाई दिए भने अघि दिने वा अघिबाट दिनेको सोही ठाउँमा बस्ने हकवालाले र दिनेले बाँकी अर्कालाई दानबकस गरी दिए भने पाउने वा सोही ठाउँमा बस्ने उसका हकवालाले लिन पाउने व्यवस्था गरेको पाइन्छ । प्रस्तुत मुद्दामा हालै देखिको बकसपत्रबाट गरी दिएको विवादको जग्गा दाताले बकस गरी पाएको नभई अंश वापत पाएको हुँदा दानबकसको ३ नं. आकर्षित हुने अवस्था देखिएन । यस स्थितिमा दानबकसको ३ नं. को आधारमा विवादित घरजग्गा निखनी पाउँ भन्ने वादी दावी पुग्न नसक्ने ठहर गरेको शुरु काठमाडौं जिल्ला अदालतको फैसलालाई सदर गरेको पुनरावेदन अदालत पाटनको फैसला मिलेको देखिदा सदर हुने ठहर्छ । बादीको पुनरावेदन जिकिर  पुग्न  सक्दैन ।  मिसिल

नियमानुसार बुझाई दिनु ।

 

उक्त रायमा म सहमत छु ।

 

न्या.रामनगिना सिंह

 

इति सम्बत् २०६० साल असार २ गते रोज २ शुभम्..................

 

 

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु