निर्णय नं. ७३३४ - अ्श दर्ता चलन

निर्णय नं. ७३३४ ने.का..प.२०६१ अङ्क २
संयुक्त इजलास
माननीय न्यायाधीश श्री केदारप्रसाद गिरी
माननीय न्यायाधीश श्री खिलराज रेग्मी
सम्वत् २०५६ सालको दे.पु..नं. ६०८८
फैसला मितिः २०६०।१२।१८।४
मुद्दाः अंश दर्ता चलन ।
पुनरावेदक
वादीः जिल्ला धनुषा जनकपुर नगरपालिका वडा नं. २ मा वस्ने पवित्री देवी सुडिन समेत
बिरुद्ध
प्रत्यार्थी
प्रतिवादीः ऐ. ऐ. वस्ने विश्वनाथ नायक सुडी समेत
§ भारतमा वस्ने व्यक्तिहरुले सौतेनी मामला भएको स्थितिमा प्रतिवादी विश्वनाथलाई सम्पत्ति दिई नेपालमा व्यापार गर्न पठाए होलान् भनी व्यवहारतः मान्न सकिने स्थिति नभएको र प्रतिवादी विश्वनाथको नाममा रहेको जग्गा निजले नेपालको अंगिकृत नागरिकता लिए पश्चात खरिद गरेको देखिएवाट भारतमा वस्ने व्यक्तिहरुले नेपालको अंगिकृत नागरिकता लिएको व्यक्तिको नाममा जग्गा खरिद गर्न सगोलको सम्पत्तिवाट रकम पठाए होलान् भनी अनुमान गर्न नसकिने ।
§ नेपालमा प्रतिवादी विश्वनाथ नायकको नाममा रहेको सम्पत्ति निजको स्वआर्जनको भन्ने देखिन आएकोले त्यस्तो स्वआर्जनको सम्पत्तिमा अंशवण्डाको १८ नं. को व्यवस्था वमोजिम यी वादीहरुको अंश हक लाग्न नसक्ने भएवाट प्रतिवादी विश्वनाथ नायकको नाममा रहेको सम्पत्तिवाट अंश पाउँ भन्ने वादी दावी पुग्न नसक्ने ।
(प्र.नं. १३ र १४)
पुनरावेदक वादी तर्फवाटः
प्रत्यर्थी प्रतिवादी तर्फवाटः विद्वान अधिवक्ता श्री कलमनारायण दास
अवलम्वित नजिरः
फैसला
न्या.खिलराज रेग्मीः पुनरावेदन अदालत जनकपुरको मिति २०५१।१२।२२ को फैसला उपर वादी पक्षको यस अदालतमा मुद्दा दोहोर्याई पाउँ भन्ने निवेदन परी यस अदालतवाट मुद्दा दोहर्याई हेर्ने निस्सा प्रदान भएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य एवं ठहर यस प्रकार छ ।
२. प्रतिवादी मध्येको रामखेलावनको दुई स्वास्नी मध्ये जेठी स्वास्नीवाट प्रतिवादी विश्वनाथ नायक तथा कान्छी स्वास्नी वादी मध्येको म पवित्री देवीको कोखवाट वादी धर्मनाथ नायकको जन्म भएको हो । विश्वनाथको आमा परलोक भई सक्नु भएकोले सगोलको परिवारको अंश हक खाने हामी चार अंशियार छौ । घरको मुख्य व्यक्ति रामखेलावन भएकोले विश्वनाथ र रामखेलावनले व्यापार गर्ने भनेर सगोलको सम्पत्ति वेचविखन गरी व्यापारमै लगाउनु भई कारोवार विश्वनाथले चलाउने क्रममा सगोलको सम्पत्ति दवाउने तर्फ लागेकोले पारिवारिक एकतामा कलह भएको र रामखेलावन पनि जेठो छोरा तिर नै लागी दुवै जना मिली हामीलाई अंश नै नदिने इज्जत आमद अनुसार खान लाउन पनि नदिई २०४९।३।१५ मा घरवाट निकाला गरी दिएकोले विपक्षीवाट चल अचल सम्पत्तिको फाटवारी लिई चार खण्डको दुई खण्ड हाम्रो अंश छुट्याई दिलाई दर्ता चलन समेत गरी पाउँ भन्ने व्यहोराको फिराद पत्र ।
३. वादीहरुलाई मैले कुनै किसिमको दुःख दिएको छैन । सगोलवाट भएको सम्पत्तिमा सवैलाई मैले वरावर अंश दिन म तयार छु । व्यापारवाट आर्जित गरेको सम्पत्ति सगोलवाट नै आर्जन भएको छ । सो सगोलवाट आर्जन भएको सम्पत्तिमा मलाई अंश दिन कुन आपत्ति छैन भन्ने समेत व्यहोराको प्रतिवादी राम खेलावन नायकको प्रतिउत्तर पत्र ।
४. वादीहरु भारतको नागरिक भएकोले नेपालको जग्गा आफ्नो नाममा दर्ता गराई पाउन दावी गर्ने अधिकार वादीहरुलाई छैन । झुठ्ठा वतन देखाई अंश दर्ताको दावी गरकोले वादीहरुलाई हामीले अंश दिनुपर्ने होइन वादी दावी झुठ्ठा हो । झुठ्ठा दावीवाट फुर्सद पाउँ भन्ने समेत व्यहोराको प्रतिवादी विश्वनाथ नायक र रेनु देवी सुडी नायकको संयुक्त प्रतिउत्तर पत्र ।
५. धेरै अगाडि देखि नेपालमा आई अंगिकृत नागरिकता लिई प्रतिवादी विश्वनाथ आफैले आर्जेको सम्पत्ति उपर अंशवण्डाको १८ नं. समेतले प्रतिवादी रामखेलावन एवं वादीहरु समेतको हक हिस्सा लाग्न नसक्ने हुँदा वादी दावी पुग्न नसक्ने ठहर्छ भन्ने शुरु धनुषा जिल्ला अदालतको फैसला ।
६. धनुषा जिल्ला अदालतवाट भएको फैसला अन्यायपूर्ण र कानून विपरीतको भएकोले उक्त फैसला वदर गरी सगोलमा रहेको चल अचल श्रीसम्पत्तिको फाटवारी लिई चार खण्डको दुई खण्ड अंश छुट्याई दिलाई न्याय पाउँ भन्ने समेत व्यहोराको वादीहरुको पुनरावेदन अदालत जनकपुरमा परेको पुनरावेदन पत्र ।
७. शुरुको फैसला फरक पर्ने भएकोले अ.वं. २०२ नं. वमोजिम छलफलको लागि प्रत्यर्थीलाई झिकाउनु भन्ने पुनरावेदन अदालत जनकपुरको आदेश ।
८. प्रतिवादी विश्वनाथ नायकको नाममा रहेको सम्पत्ति स्वआर्जनको भन्ने देखिन आएको हुँदा त्यस्तो स्वआर्जनको सम्पत्तिमा अंशवण्डाको १८ नं. वमोजिम अंश लाग्न सक्ने नदेखिंदा शुरु जिल्ला अदालतवाट प्रतिवादी विश्वनाथ नायकको नाउँको सम्पत्तिवाट समेत अंश दिलाई पाउँ भन्ने वादी दावी पुग्न नसक्ने ठहर गरेको शुरु धनुषा जिल्ला अदालतको इन्साफ मनासिव भै सदर हुने ठहर्छ भन्ने पुनरावेदन अदालत जनकपुरको मिति २०५१।१२।२२ को फैसला।
९. विपक्षी विश्वनाथको नाममा रहेको सम्पत्ति निजले आफ्नो ज्ञान शिप प्रयासवाट आर्जन गरेको भन्ने प्रष्ट प्रमाण छैन । सो सम्पत्ति सगोलवाट आर्जन गरेको हो । त्यस्तो सगोलको सम्पत्तिलाई निजी आर्जन भन्नेले त्यसको सवुत पुर्याउनु पर्छ भनी प्रतिपादित नजिर छदाछदै सोको पालन नगरी वादी दावी पुग्न नसक्ने ठहर गरेको शुरु धनुषा जिल्ला अदालतको फैसलालाई सदर गरेको पुनरावेदन अदालत जनकपुरको फैसलामा कानूनको व्याख्यामा गंभीर त्रुटि हुनुको साथै सर्वोच्च अदालतवाट प्रतिपादित सिद्धान्त समेतको पालना नभएकोले मुद्दा दोहर्याई हेरी न्याय पाउँ भन्ने समेत व्यहोराको वादीहरुको यस अदालतमा परको निवेदन ।
१०. निजी आर्जनको सम्पत्ति हो भन्ने कुराको निश्चयको प्रमाण नभएको स्थितिमा वादी दावी नपुग्ने ठहर गरेको पुनरावेदन अदालत जनकपुरको फैसलामा अंशवण्डाको १८ नं. को व्याख्यामा गम्भीर त्रुटि भएको देखिँदा न्याय प्रशासन ऐन, २०४८ को दफा १२(१) को खण्ड (क) को आधारमा दोहर्याई हेर्ने निस्सा प्रदान गरिएको छ भन्ने यस अदालतको आदेश ।
११. नियम वमोजिम पेश भएको प्रस्तुत मुद्दाको मिसिल अध्ययन गरियो । प्रत्यर्थी विश्वनाथ नायक तर्फवाट विद्वान अधिवक्ता श्री कमल नारायण दासले मेरो पक्षले नेपालको अंगिकृत नागरिकता पाउनको लागि निवेदन दिंदा १७ बर्ष देखि नेपालमा वसेको भन्ने देखाएको छ । मिति २०३७।८।१२ मा निजलाई नागरिकता दिने निर्णय हुँदा निजको उमेर ३६ बर्षको छ । मेरो पक्षलाई कुन के कति सम्पत्ति दिएर नेपालमा व्यापार गर्न पठाएको भन्ने देखिदैन । मेरो पक्षले जगदम्वा वस्त्रालयमा काम गरी पाउने तलव जम्मा गरी ०–०–४–२ जग्गा खरिद गरेको हो। प्रमाण ऐन, २०३१ को दफा २६ वमोजिम वादीले सगोलको रकमवाट जग्गा खरिद गरेको भन्ने कुरा प्रमाणित गर्न नसकेकोले मेरो पक्षले निजी रुपमा आर्जन गरेको सम्पत्तिवाट अंश पाउँ भन्ने वादी दावी पुग्न नसक्ने ठहर गरेको शुरु जिल्ला अदालतको फैसलालाई सदर गरेको पुनरावेदन अदालत जनकपुरको फैसला मिलेको हुँदा सदर कायम रहनु पर्छ भन्ने समेत वहस प्रस्तुत गर्नु भयो ।
१२. उपरोक्त वहस समेतलाई विचार गरी मिसिल कागजात अध्ययन गरी वादी दावी पुग्न नसक्ने ठहर गरेको शुरु धनुषा जिल्ला अदालतको फैसलालाई सदर गरेको पुनरावेदन अदालत जनकपुरको फैसला मिले, नमिलेको सम्वन्धमा निर्णय दिनुपर्ने हुन आयो ।
१३. निर्णय तर्फ विचार गर्दा वादी प्रतिवादी समेत जम्मा ४ अंशियार भएकोमा प्रतिवादीहरुले अंश नदिई घरवाट निकाला गरेकोले चार खण्डको दुई खण्ड अंश पाउँ भन्ने वादी दावी भएकोमा प्रतिवादी मध्येको रामखेलावनले व्यापारवाट आर्जन गरेको सगोलको सम्पत्तिवाट अंश दिन कुनै आपत्ति छैन भन्ने व्यहोराको प्रतिउत्तर दिएको देखिन्छ भने प्रतिवादी विश्वनाथ नायकले वादीहरु भारतीय नागरिक भएको हुँदा आफूले नेपालमा आर्जन गरेको सम्पत्तिवाट वादीहरुलाई अंश दिनु पर्ने होइन भन्ने प्रतिउत्तर जिकिर लिएको देखियो । प्रस्तुत मुद्दामा वादी प्रतिवादीको नाता सम्वन्धमा कुनै विवाद नभई वस्तुत नेपालमा प्रतिवादी मध्येको विश्वनाथ नायकको नाममा दर्ता रहेको सम्पत्तिवाट वादीहरुले अंश पाउनु पर्ने नपर्ने भन्ने कुरामा विवाद रहेको देखियो । प्रतिवादी विश्वनाथ नायक भारतीय नागरिक भएकोमा पछि नेपालको अंगिकृत नागरिक भएको कुरा निजवाट पेश भएको नागरिकताको प्रमाणपत्रको प्रतिलिपिवाट देखिन्छ । वादीहरु र प्रतिवादी मध्येको रामखेलावन भारतीय नागरिक भएको कुरा वादीहरुकै साक्षीको वकपत्रवाट देखिन आयो । नेपालमा प्रतिवादी विश्वनाथ नायकको नाममा दर्ता रहेको सम्पत्ति सगोलको सम्पत्तिवाट खरिद गरेको भन्ने पुष्टि हुने कुनै प्रमाण वादी पक्षवाट पेश हुन सकेको देखिँदैन । प्रतिवादी रामखेलावनको दुइवटा श्रीमती भै जेठी तर्फवाट प्रतिवादी विश्वनाथ र कान्छी श्रीमती वादी पवित्री देवीवाट वादी धर्मनाथ नायकको जन्म भएको भन्ने कुरामा पनि विवाद भएको देखिदैन । भारतमा वस्ने व्यक्तिहरुले सौतेनी मामला भएको स्थितिमा प्रतिवादी विश्वनाथलाई सम्पत्ति दिई नेपालमा व्यापार गर्न पठाए होलान भनी व्यवहारत मान्न सकिने स्थिति भएन । प्रतिवादी विश्वनाथको नाममा रहेको जग्गा निजले नेपालको अंगिकृत नागरिकता लिए पश्चात खरिद गरेको देखिन्छ । भारतमा वस्ने व्यक्तिहरुले नेपालको अंगिकृत नागरिकता लिएको व्यक्तिको नाममा जग्गा खरिद गर्न सगोलको सम्पत्तिवाट रकम पठाए होलान भनी अनुमान गर्न सकिने अवस्था छैन । घरसारमा पंचायती वसाई वटवारा गरेको सन १९८०।६।१४ को कागजवाट वादी प्रतिवादी भिन्न भईसकेको भन्न देखिन आएको छ । सो व्यहोरालाई उल्लिखित परिप्रेक्ष्यमा असान्दर्भिक भन्न मिल्दैन ।
१४. उपरोक्त आधार प्रमाणवाट नेपालमा प्रतिवादी विश्वनाथ नायकको नाममा रहेको सम्पत्ति निजको स्वआर्जनको भन्ने देखिन आएकोले त्यस्तो स्वआर्जनको सम्पत्तिमा अंशवण्डाको १८ नं. को व्यवस्था वमोजिम यी वादीहरुको अंश हक लाग्न सक्ने भएन । अतः प्रतिवादी विश्वनाथ नायकको नाममा रहेको सम्पत्तिवाट अंश पाउँ भन्ने वादी दावी पुग्न नसक्ने ठहर गरेको शुरु धनुषा जिल्ला अदालतको फैसलालाई सदर गरेको पुनरावेदन अदालत जनकपुरको फैसला मिलेकै देखिँदा सदर हुने ठहर्छ । वादीहरुको पुनरावेदन जिकिर पुग्न सक्दैन । मिसिल नियमानुसार वुझाई दिनु ।
उक्त रायमा सहमत छु ।
न्या.केदारप्रसाद गिरी
इति सम्वत् २०६० साल चैत १८ गते रोज ४ शुभम्.....................