निर्णय नं. ९०३३ - मोही लगत कट्टा

ने.का.प. २०७०, अङ्क ७
निर्णय नं. ९०३३
सर्वोच्च अदालत, संयुक्त इजलास
माननीय न्यायाधीश श्री सुशीला कार्की
माननीय न्यायाधीश श्री प्रकाश वस्ती
२०६७–CI–१६२९
फैसला मिति :– २०७०।३।१४।६
मुद्दा : मोही लगत कट्टा ।
पुनरावेदक/वादी : का.जि.का.म.न.पा.वडा नं.१६ बालाजु बस्ने लक्ष्मण श्रेष्ठ
विरुद्ध
प्रत्यर्थी/प्रतिवादी : का.जि.का.म.न.पा.वडा नं.१६ बालाजु टौडोल बस्ने माइली बलामी
शुरू फैसला गर्ने :–
श्री भूमिसुधार कार्यालय काठमाडौं
पुनरावेदन तहमा फैसला गर्ने :–
मा.न्या.श्री तेजबहादुर के.सी.
मा.न्या.श्री प्रकाशकुमार ढुंगाना
§ भूमिसम्बन्धी ऐन कानूनअन्तर्गतको अनुसूची, नापी, फिल्डबुक र राजीनामा समेतमा मोहीकारूपमा अंकित व्यक्तिका नाममा सामान्य फरक पर्दैमा मोही होइनन् भन्न नमिल्ने ।
§ राजीनामासमेतका लिखतमा मोही जनिएपछि मोही रहेको स्वीकार गरियो भन्न मिल्दैन । । हक भन्ने कुरा कानून अनुसार मात्र प्राप्त हुन्छ र हकको विस्थापन पनि कानूनबाट मात्र हुने ।
(प्रकरण नं.२)
§ छोरीका हकमा एकासगोलमा रहनु भनेकै अविवाहित रहनु हो । विवाहपछि छोरीको बाबुआमासँगको एकासगोलको भन्ने हैसियत टुट्दछ । एउटै घरमा रहनु नै एकासगोल हुनु होइन । नाता सम्बन्ध पर्ने प्रत्येक व्यक्ति एकासगोलमा रहेको हुन सक्दैन । एकासगोल एउटा कानूनी हैसियत हो । परिवारका प्रत्येक व्यक्ति एकासगोलमा नरहन सक्दछन् । एकासगोल साम्पत्तिक हक र दायित्वसँग सम्बन्धित रहने अवस्था हो ।
§ एकै परिवारमा रहेकै व्यक्तिसमेत अंश लिई वा अंश छोडपत्र गरी वा सम्बन्ध विच्छेद गरी अलग भएपछि निजको एकासगोल भन्ने हैसियत टुट्छ । आमाको हेरचाह मैले नै गर्दथेँ । विवाह घर छोडेर माइतीमै आएर बसेकी थिएँ, मृत आमाको हक खाने मबाहेक कोही छैन भन्ने जिकीरले कसैलाई एकासगोलको मान्न मिल्दैन । एउटै घरमा बस्नु नै एकासगोलमा रहनु होइन ।
(प्रकरण नं.६)
§ ऐनको परिभाषा खण्डले कसैलाई अधिकार दिदैंन । ऐनमा दिइने परिभाषा खण्ड सो ऐनका दफाहरूलाई व्याख्या गर्नका लागि सहायकसम्म हुन्छन् । मृत मोहीकी एक मात्र हकदार भएको नाताले निजको हक आफूमा सर्नु पर्ने सारवान दावी गर्न यो परिभाषाको व्यवस्था कसैको पनि हकाधिकारको स्रोत बन्न नसक्ने ।
(प्रकरण नं.७)
§ कानून जुन मितिबाट लागू हुन्छ भनी ऐनमा उल्लेख भएको हुन्छ, सोही मितिबाट त्यो ऐनमा भएका प्रावधानहरू लागू भएको मान्नुपर्ने ।
(प्रकरण नं.८)
§ कानूनी हकको जन्म निवेदन वा फिराद वा दर्खास्त वा दावी गरेको मितिमा बहाल कानूनका आधारमा हुने होइन । हक भनेको सारवान् कुरा हो । कारण परेको वा घटना घटेको वा कुनै काम भएको दिनमा बहाल कानूनकै आधारमा हकको स्थापना वा विस्थापना हुन्छ । त्यसैको आधारमा अपराध हुने वा नहुने तथा हक प्राप्त हुने वा नहुने यकीन हुने ।
§ जुनबेला कारण परेको हुन्छ त्यसैबेला प्रचलनमा रहेको कानूनले त्यसलाई सम्बोधन गर्ने हो । २०४५ सालमा आमाको देहान्त भएको कारणबाट निजको नामको मोहियानी आफूमा सर्नुपर्ने दावीका हकमा २०४५ सालमै बहाल रहेको कानूनकै सीमामा रहनु पर्ने ।
(प्रकरण नं.९)
§ कसैको मृत्यु भएपछि निजको स्वामित्व तथा भोगाधिकारसम्बन्धी साम्पत्तिक हकको पनि निजसँगै मृत्यु हुन्छ । सम्पत्ति कहिल्यै पनि स्वमित्वबिहीन रहँदैन । साम्पत्तिक हक कानूनबमोजिमको हकदारमा स्वामित्ववालाको मृत्यु सँगसँगै सर्दछ । सम्पत्तिमा हक रहेको व्यक्तिको मृत्यु भएको क्षणमा बहाल रहेको कानूनअनुसार हक सर्ने वा नसर्ने वा कसमा सर्ने भन्ने कुरा निरोपित हुन्छ । २०५३ सालमा भएको संशोधनले सिर्जना गरेको हक २०४५ सालमै प्राप्त हुन नसक्ने ।
(प्रकरण नं.१०)
§ मोहीको मृत्युपश्चात् मात्र एकासगोलका छोरीमा पनि मृत मोहीको मोहियानी हक सर्नसक्ने कानूनी व्यवस्था भएको रहेको देखिएको अवस्थामा उक्त कानून संशोधनपूर्व नै मृत्यु भैसकेका मोहीको मोहियानी हक नामसारी हुने ठहर हुन नसक्ने ।
(प्रकरण नं.११)
पुनरावेदक/वादी तर्फबाट : विद्वान वरिष्ठ अधिवक्ता नारायणबल्लभ पन्त र विद्वान अधिवक्ता जगदिशचन्द्र पाण्डे
प्रत्यर्थी/प्रतिवादी तर्फबाट : विद्वान वरिष्ठ अधिवक्ता श्यामप्रसाद खरेल र अधिवक्ता रामनारायण विडारी
अबलम्बित नजीर :
सम्बद्ध कानून :
§ भूमीसम्बन्धी ऐन, २०२१ को दफा २(ख) र २६ (१)(ग)
फैसला
न्या.प्रकाश वस्ती : पुनरावेदन अदालत, पाटनको मिति २०६७।९।२९।५ को फैसलाउपर न्याय प्रशासन ऐन, २०४८को दफा ९ बमोजिम वादीका तर्फबाट यस अदालतमा पुनरावेदन दायर हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य ठहर यस प्रकार छ :–
हामीहरूका नाममा दर्ता रहेको २०६४ सालमा साविकका जग्गाधनी हिरामान डंगोलबाट राजीनामा गरी लिएको साविक का.जि.बालाजु वडा नं.६, कि.नं.२० को क्षे.फ.०–११–२–० भै हाल नयाँ नापीमा का.जि. नगर वडा नं. १६ सिट नं. १०२–०९८३–०६ कि.नं.६७ क्षे.फ.२९०.०० वर्गमीटर कायम भएको जग्गा विगत ३५/४० वर्षदेखि हामीहरूले नै सो जग्गा मोहीबापत कमाई आएको र सो जग्गाको कुतबालीसमेत साविक जग्गाधनीलाई बुझाई आएको स्रेस्ता पूर्जामा जनिएको, मोहीको ३५/४० बर्षअघि नै मृत्यु भैसकेको र निजभन्दा अघि नै निजको पतिको मृत्यु भएको हुँदा उल्लिखित जग्गा कहिल्यै निज तथा निजको परिवारले जोतभोग नगरेको नापीको समयमा अन्य उनाउ व्यक्ति ठूली भन्ने माया बलामीको नाम लेखिनसम्म गएको हो । ठूली भन्ने माया बलामीको एकमात्र छोरीको जायजन्म भएकोमा आजभन्दा ४०/४५ वर्ष पहिले नै मकवानपुर जिल्ला, कुलेखानी खड्बुतिर विवाह भै गएको तथा निजले कहिल्यै जोतभोग नगरेको र विवाह भै गएकी छोरी कानूनबमोजिम हकवालासमेत नभएको र निज तथा निजकी आमासमेतले कहिल्यै सो जग्गा जोतभोग नगरेको नापीको समयमा भूलबश उनाउ व्यक्तिको नाम टिपिन गएको हो, न हिजो निजकी आमा मोही थिइन्, न विपक्षी आज सो कित्ता जग्गाको मोही हुन सक्छिन् । स्रेस्ता पूर्जाको मोही महलमा जनिएको उनाउ व्यक्तिको नाम कट्टा गरिपाऊँ भन्नेसमेत व्यहोराको रिता श्रेष्ठ र लक्ष्मण श्रेष्ठको संयुक्त निवेदनपत्र ।
साविक का.जि.गा.वि.स. बालाजु वडा नं. ६ कि.नं.२० को क्षे.फ. ०–११–२–० र ऐ.ऐ. वडा नं.६ को कि.नं.८७ को क्षे.फ. ०–०–२–० कित्ता जग्गा दोहोरो नापनक्सा हुँदा कायमी का.जि.का.म.न.पा.वडा नं.१६ सिट नं.१०२–०९८३–०६ को कि.नं.६७ क्षे.फ.२९०.०० वर्गमीटर जग्गाको साविक मोही म निवेदिकाकी स्व.आमा ठूली भन्ने सन्तमाया बलामी भएको तथ्यमा विवाद नभएको, उक्त कित्ता जग्गाको साविक मोहीको स्वर्गबास भएपश्चात् उक्त कित्ता जग्गा म निवेदिकाले मोहीको हैसियतले भोगचलन गरी आएको जग्गा हो । उक्त कित्ता जग्गाको साविक मोही रहेको तथ्यमा विवाद नरहेको र साविक मोहीको कानूनी हकदार म निवेदिका रहेको तथ्यसमेत विवाद नरहेको र उक्त कित्ता जग्गा म निवेदिकाले भूमिसम्बन्धी ऐन, २०२१ को दफा २(ख) बमोजिम हालसम्म भोगचलन गरी आएको र उक्त कित्ता जग्गाको साविक जग्गाधनीबाट हाल मात्र विपक्षीले उक्त कित्ता जग्गाको साविकलाई स्वीकार गरी जग्गाधनीको हक हिस्सासम्म विपक्षीले हाल लिएको तथ्यलाई विपक्षीहरूले विवादित कित्ता जग्गा लिखत पारित गरी लिँदाको अवस्थामा नै पारित लिखतमा नै मोही महलमा मेरो स्व.आमा ठूली भन्ने सन्तमाया बलामी हालसम्म अन्तिमरूपमा रहेको अवस्थामा हाल आएर उक्त कित्ता जग्गाको साविक मोहीको हकवाला छैन भनी केवल जग्गाधनीको विपक्षीको हक हिस्सासम्म खरीद गरी लिएको विपक्षीहरूले हाल आएर म साविक मोहीको विधिवत् हकवाला छँदाछँदै हकवाला छैन भनी मैले कमाएको जग्गालाई विपक्षीहरूले कमाएको भनी लिएको दावी झूठ्ठा हो । साविक मोहीको एकमात्र हकदार म भएकोमा विवाद नभएको विपक्षीहरूको हकहितमा असर पर्ने कुनै पनि कार्य मबाट नभएको र कुनै किसिमको हानि नोक्सानीसमेत विपक्षीहरूमा नभएको केवल जग्गाधनीको हक हिस्सासम्म विपक्षीको कायम रहेकोमा मेरो विवाद नरहेको अवस्थामा मैले मोहीको हैसियतले निर्वाह गर्नुपर्न दायित्व र जिम्मेवारी बहन गरी उक्त कित्ता जग्गाको २०६५ सालसम्मको बालीसमेत यस कार्यालयमा धरौटी राखेको अवस्थामा केवल मलाई अनावश्यक दुःख दिने कुनियत चिताई प्रतिशोधको भावना राखी विपक्षीहरूले दायर गरेको हकदैयाबिहीन कपोलकल्पित तथ्यहीन कानूनी बलबिहीन निवेदन पत्रलाई अ.बं.१८० नं. बमोजिम खारेज हुने ठहरी फैसला गरी उक्त कित्ता जग्गा साविक मोहीको नामबाट म निवेदिकाको नाममा मोही नामसारी हुने गरी इन्साफ पाऊँ भन्नेसमेत व्यहोराको माईली बलामीको प्रतिउत्तर पत्र ।
पेश भएको गा.वि.स.को सिफारिश, स्रेस्ताको विवरण, फिल्ड बुक, २ नं. अनुसूची, निवेदन माग, स्थलगत सर्जमीन मुचुल्काबाट देखिएको विवरण, निवेदिका माईली बलामीले पेश गरेको नाता प्रमाण र वारेसले पेश गरेको वारेसनामा कागजबाट निजको विवाह भएको देखियो र सर्जमीन मुचुल्काबाट सो जग्गामा जग्गाधनीको जोतकमोद रहेको देखिँदा का.जि.बालाजु, वडा नं.६ कि.नं.२० को क्षे.फ. ०–११–२–० भिडी नयाँ नापीमा नगर १६ सि.नं. १०२–०९८३–०६ कि.नं.६७ को क्षे.फ. २९०.०० ब.मी.जग्गाको मोही ठूली भन्ने सन्तमाया बलामीको नाम भूमिसम्बन्धी ऐन, २०२१ को दफा २६(१)(ग) बमोजिम मोही लगत कट्टा हुने ठहर्छ भन्नेसमेत व्यहोराको भूमिसुधार कार्यालय, काठमाडौंको मिति २०६६।३।११ को निर्णय ।
दावीको जग्गाको साविक जग्गाधनी सुदर्शनमान सिंह डंगोल र मोही ठूली भन्ने सन्तमाया बलामी भई नापनक्सा भई आमा सन्तमायाको मृत्युपश्चात् मैले नै मोहीको हैसियतले जोतभोग घरबास गरी बसेकी छु । आमाको मृत्युपश्चात् भूमिसम्बन्धी ऐन, २०२१ को दफा २६ बमोजिम मोही नामसारी हुने नजिकको हकदार म पुनरावेदकमात्र भएको अवस्थामा मेराविरुद्धमा खडा गरिएको सर्जमीनलगायतका कागजातहरूबाट म पुनरावेदकको विवाह भैसकेको र जग्गा जग्गाधनीले नै कमोद गरेको भन्ने काल्पनिक आधार लिई मोही लगत कट्टा हुने भनी गरेको भूमिसुधार कार्यालयको निर्णय त्रुटिपूर्ण हुँदा बदर गरी मोही आमा सन्तमायाबाट मेरो नाममा मोही नामसारी हुने गरी न्याय पाऊँ भन्नेसमेत व्यहोराको प्रतिवादीको पुनरावेदन पत्र ।
भूमिसम्बन्धी ऐन, २०२१ को दफा २६(१) ले गरेको कानूनी व्यवस्थाको परिप्रेक्ष्यमा शुरू भूमिसुधार कार्यालय, काठमाडौंले मिति २०६६।३।११ मा गरेको निर्णय विचारणीय भई फरक पर्न सक्ने देखिँदा छलफलको लागि प्रत्यर्थी झिकाई आएपछि वा अवधि नाघेपछि नियमानुसार पेश गर्नु भन्ने यस अदालतको मिति २०६७।३।३१ को आदेश ।
आमाको मृत्युपश्चात् छोरी माईली बलामीको नाउँमा मोही लगत कायम हुनुपर्नेमा मोही ठूली भन्ने सन्तमाया बलामीको नाम मोही लगतबाट कट्टा गरेको शुरू भूमिसुधार कार्यालयको निर्णयलाई अन्यथा मान्न सकिएन, मोही ठूली भन्ने सन्तमाया बलामीको नाम भूमिसम्बन्धी ऐन, २०२१ को दफा २६ (१) (ग) बमोजिम मोही लगत कट्टा हुने ठहर्याएको शुरू भूमिसुधार कार्यालय, काठमाडौंको मिति २०६६।३।११ को फैसला मिलेको नदेखिँदा उल्टी हुने भई मोही ठूली भन्ने सन्तमाया बलामीको छोरी माईली बलामीको नाममा मोही लगत कायम हुने ठहर्छ भन्ने मिति २०६७।९।२९।५मा भएको पुनरावेदन अदालत, पाटनको फैसला ।
२ नं.अनुसूची, ज.ध.प्रमाणपूर्जा र फिल्डबुकमा एकै नाम नरही फरकफरक नाम उल्लेख भएको देखिँदा मोही शंकास्पद छ । नापी हुँदाको अवस्थामा फिल्डबुकमा ठूली भन्ने सन्तमाया बलामी उल्लेख भएबाट शंकास्पदरूपमा मोहीको नाम उल्लेख रहेको तथापि निजलाई नै मोही मान्ने हो भने पनि निजको मिति २०४७ सालभन्दा अगावै नै परलोक भैसकेको अवस्थामा तत्कालीन अवस्थामा मोहीको हकदार पति, पत्नी, छोरा हुने र तत्कालीन अवस्थामा छोरीले मोहियानी पाउने कानूनी व्यवस्था नरहेको एवं संशोधनको सुविधा निज छोरीले पाउन नसक्ने र लैङ्गिक समानता कायम गर्ने केही नेपाल ऐन संशोधन गर्ने ऐन, २०६३ ले भूमिसम्बन्धी ऐन, २०२१ को दफा २६(१) मा रहेको एकासगोल भन्ने वाक्यांशलाई संशोधन नगरेको अवस्थामा विवाह भई गएकी छोरीले मोहियानी हक प्राप्त गर्न नसक्ने अवस्थामा र निजले उक्त जग्गा मोहीको हैसियतले नकमाएको हुँदा पुनरावेदन अदालत, पाटनबाट मोहीको लगत कायम हुने ठहर्याएको मिति २०६७।९।२९ को फैसला अ.ब.१८४ क प्रमाण ऐन, २०३१ को दफा ३, ५४ को भूमिसम्बन्धी ऐन, २०२१ को दफा २(ख) २६(१), एवं ने.का.प.२०६३ को अङ्क ५ पृष्ठ ६१४ मा प्रकाशित नजीरसमेतको विपरीत हुँदा पुनरावेदन अदालत, पाटनको उक्त फैसला बदर उल्टी गरी शुरू भूमिसुधार कार्यालय, काठमाडौंको मिति २०६६।३।११ को फैसला सदर कायम र मोहीको लगत कट्टा गरिपाऊँ भन्नेसमेत व्यहोराको वादीको तर्फबाट यस अदालतमा पर्न आएको पुनरावेदन पत्र ।
यसमा यसै लगाउको २०६७–CI–१६३० मा आज यसै इजलासबाट अ.ब. २०२ नं. बमोजिम प्रत्यर्थी झिकाउने आदेश भएको र प्रस्तुत मुद्दा पनि उक्त मुद्दासँग अन्तप्र्रभावी भएकोले प्रस्तुत मुद्दामा समेत अ.ब.२०२ नं. बमोजिम प्रत्यर्थी झिकाई आएपछि वा अवधि नाघेपछि नियमानुसार पेश गर्नु भन्ने यस अदालत संयुक्त इजलासको मिति २०६८।१२।२४।६ को आदेश ।
नियमबमोजिम आजको दैनिक मुद्दा पेशी सूचीमा चढी इजलाससमक्ष पेश हुन आएको प्रस्तुत मुद्दाको सम्बन्धित मिसिल अध्ययन गरी पुनरावेदक वादीका तर्फबाट उपस्थित विद्वान वरिष्ठ अधिवक्ता श्री नारायणबल्लभ पन्त र विद्वान अधिवक्ता श्री जगदिशचन्द्र पाण्डेले २ नं. अनुसूची फिल्डबुक र ज.ध.प्रमाणपूर्जामा फरकफरक नाम भएकोले मोही हो भन्ने कुरा नै शंकास्पद छ फिल्डबुकमा जनिएका मोही ठूली भन्ने सन्तमायाको मृत्यु हुँदा विवाहिता छोरीमा मोहियानी हक जाने कानूनी व्यवस्था थिएन । भूमिसम्बन्धी ऐन, २०२१ मा चौथो संशोधन भएपश्चात् मात्र मोहियानी हकको हकवाला छोरी पनि हुनसक्ने कानूनी व्यवस्थाको प्रादुर्भाव भएको देखिन्छ । लैङ्गिक समानता कायम गर्ने केही नेपाल ऐन, २०६३ ले छोराछोरीमा विभेद नगरी छोरा भन्ने शव्दले छोरीलाई पनि जनाउने गरी समान अधिकारको भागिदार बनाएको मात्र हो । कानूनले नै एकसगोलका भनी उल्लेख गरेको अवस्थामा विवाहिता छोरीलाई एकसगोलको मान्न मिल्ने देखिँदैन । विवाहिता छोरीका नाउँमा मोहियानी हक नामसारी हुने भनी मोही लगत कट्टा नगर्ने ठहर्याएको पुनरावेदन अदालत, पाटनको फैसला कानून एवं नजीरसमेतले त्रुटिपूर्ण भै बदरभागी हुँदा बदर उल्टी गरिपाऊँ भनी बहस प्रस्तुत गर्नु भयो । यसै गरी प्रत्यर्थी प्रतिवादीका तर्फबाट उपस्थित विद्वान वरिष्ठ अधिवक्ता श्री श्यामप्रसाद खरेल र अधिवक्ता रामनारायण विडारीले ठूली भन्ने सन्तमाया फिल्डबुकमा उल्लिखित साविक मोही भएकोमा विवाद छैन । निज सन्तमायाको एकमात्र छोरी माइली बलामी भएबाट निज नै सन्तमायाको हकवाला भएको कुरा पनि निर्विवाद छ । निजले विवादित भनिएको जग्गा हालसम्म अनवरतरूपमा भोगचलन गरिआइरहेकी छन् । जग्गाधनीको हक हिस्सासम्म खरीद गरी लिएका विपक्षीले मोही हक पनि पाउँछ भन्नु न्यायोचित् हुन सक्दैन । मोहीको हैसियतले निभाउनु पर्ने दायित्व एवं कर्तव्य निभाई आएको अवस्थामा आमाको नाउँको मोहियानी हक आमाको मृत्युपछि एकमात्र हकवाला छोरीको नाउँमा मोही नामसारी हुने कानूनसम्मत् निर्णय सदर कायम हुनुपर्दछ भनी गर्नु भएको बहससमेत सुनियो ।
उल्लिखित बहस जिकीरहरू समेतलाई दृष्टिगत गरी पुनरावेदन अदालत, पाटनको फैसला मिले नमिलेको के छ भनी इन्साफतर्फ विचार गर्दा विवादित जग्गा २०६४ सालमा साविकका जग्गाधनी हिरामान डंगोलबाट राजीनामा गरी लिएको साविक का.जि.बालाजु ६ को कि.नं.२० को क्षे.फ.०–११–२–० को हाल नयाँ नापीमा नगर १६ को सिट नं.१०२–०९८३–०६ को कि.नं.६७ क्षे.फ.२९०.०० वर्गमीटर कायम भएको जग्गाको मोही लगत कट्टा हुनुपर्ने हो वा होइन भन्ने सन्दर्भमा निर्णय दिनु परेको छ ।
२. प्रस्तुत मुद्दामा शुरू भूमिसुधार कार्यालय, काठमाडौंबाट जोत लगतकट्टा हुने भनी निर्णय भएकोमा सोउपर पुनरावेदन परी कारवाही हुँदा शुरू भूमिसुधार कार्यालय, काठमाडौंको फैसला उल्टी भै जोत लगतकट्टा नहुने ठहरी पुनरावेदन अदालत, पाटनबाट फैसला भएकोमा सोउपर यस अदालतमा प्रस्तुत पुनरावेदन पर्न आएको देखियो । भूमिसम्बन्धी ऐन कानूनअन्तर्गतको अनुसूची, नापी, फिल्डबुक र राजीनामा समेतमा मोहीकारूपमा अंकित व्यक्तिका नाममा सामान्य फरक पर्दैमा निज मोही होइनन् भन्न मिल्दैन । समस्त लिखतमा मोही जनिन्छ भने त्यो व्यक्ति दावीकर्ता होइन भने अर्को को हो देखाउने दायित्व जग्गाधनीको हो । राजीनामासमेतका लिखतमा मोही जनिएपछि मोही रहेको स्वीकार गरियो भन्न मिल्दैन । हक भन्ने कुरा कानून अनुसार मात्र प्राप्त हुन्छ र हकको विस्थापन पनि कानूनबाट मात्र हुन्छ । मृत मोहीको हक निजको हकवाला एकमात्र छोरी रहेको अवस्थामा सो हक छोरीमा सर्न सक्छ वा सक्दैन ? के कस्तो अवस्थामा सर्न सक्दछ भन्ने प्रश्न नै यस मुद्दाको केन्द्रीय विषयवस्तु हो ।
३. प्रस्तुत मुद्दामा भूमिसम्बन्धी ऐन, २०२१ को हालको दफा २६(१) न भएका दुई संशोधनपछिको व्यवस्था र साविक व्यवस्थाबीचको विभेद र यस मुद्दामा कुन व्यवस्था प्रयोग हुने हो भन्ने प्रश्नको निर्क्यौल हुनुपर्ने अवस्था रहेको छ । सोतर्फ विचार गर्दा भूमिसम्बन्धी ऐन, २०२१ को दफा २६(१) को साविक व्यवस्थामा “यस परिच्छेद्का अन्य दफाहरूको अधीनमा रही मोहीले कमाई आएको जग्गामा मोहीसम्बन्धी निजको हक निजपछि निजको पति, पत्नी वा छोराहरूमध्ये जग्गावालाले पत्याएको व्यक्तिलाई प्राप्त हुनेछ” भन्ने व्यवस्था रहेको थियो । भूमिसम्बन्धी ऐन, २०२१ को २०५३।९।२४ मा भएको संशोधन पछिको दफा २६(१) मा “यस परिच्छेद्को अन्य दफाहरूको अधीनमा रही मोहीले कमाई आएको जग्गामा मोहीसम्बन्धी निजको हक निजपछि निजको एकासगोलको पति, पत्नी, छोरा, आमा, बाबु, धर्मपुत्र, पैतीस वर्ष पुगेकी अविवाहित छोरी, छोरा बुहारी, नाति, नातिनी बुहारी वा दाजुभाईहरू मध्ये जग्गावालाले पत्याएको व्यक्तिलाई प्राप्त हुनेछ” भन्ने कानूनी व्यवस्था गरियो । यसरी मोहियानी सर्न सक्ने साविक निर्धारित नातामा, पति, पत्नी, छोराहरू मात्र रहेकोमा चौथो संशोधनबाट मृतक मोहीको छोरीमा जग्गाधनीले रोजेको खण्डमा मोहियानी सर्न सक्ने व्यवस्था गरेको पाइन्छ ।
४. यस सम्बन्धमा भूमिसम्बन्धी ऐन, २०२१ उपरोक्त चौथो संशोधनपछि जारी लैङ्गिक समानता कायम गर्ने केही नेपाल ऐन, संशोधन गर्ने ऐन, २०६३ ले भूमिसम्बन्धी ऐन, २०२१ को दफा २६(१) मा पुनः संशोधन गरेको छ । उक्त संशोधनले दफा २६(१) को मोही रोज्न सक्ने संरचना यसरी हुन पुगेको छ, “यस परिच्छेद्को अन्य दफाहरूको अधीनमा रही मोहीसम्बन्धी निजको हक निजपछि निजको एकासगोलका पति, पत्नी, छोरा, छोरी, आमा, बाबु, धर्मपुत्र, धर्मपुत्री, छोरा, बुहारी, नाति, नातिनी, नातिनी बुहारी, दाजु, भाइ वा दिदी बहिनीहरूमध्ये जग्गावालाले पत्याएको व्यक्तिलाई प्राप्त हुनेछ ।” यस पछिल्लो संशोधनले गरेको परिवर्तनमा ‘३५ वर्ष पुगेकी अविवाहिता छोरी’ भन्ने शव्द झिकी ‘छोरी’ भन्ने शव्द मात्र कायम राखेको छ ।
५. यसरी हाल कायम मृत मोहीको मोहियानी हक जग्गावालाले रोजेमा जुनसुकै हैसियत भएकी छोरीलाई हक प्राप्त हुने हो कि भन्ने तर्फ विचार गर्दा लैङ्गिक समानतासम्बन्धी ऐनले मोहियानी हक सर्न सक्ने विविध नाताहरूमा नियन्त्रक शब्दकारूपमा रहेको ‘एकासगोल’ भन्ने शब्दलाई यथावत् राखेको छ । भूमिसम्बन्धी ऐन, २०२१ को दफा २६(१) मा रहेको ‘एकासगोल’ भन्ने शब्द यस ऐनले हटाएको देखिँदैन । यो शब्द मोही रोज्न सकिने सबै नाताहरूको नियन्त्रक पदावलिका रूपमा यथावत् कायम छ । मोही हक सर्ने नाताहरूको सूची संशोधनले फराकिलो बनाएको र पैंतीस वर्ष पुगेकी अविवाहित छोरी भन्ने प्रकृतिलाई छोरीसम्ममा सीमित राखेको भए पनि मृत मोहीको एकासगोलमा नरहेका व्यक्तिमा मोही हक नसर्ने कानूनी व्यवस्था यथावत् छ ।
६. छोरीका हकमा एकासगोलमा रहनु भनेकै अविवाहित रहनु हो । विवाहपछि छोरीको बाबुआमासँगको एकासगोलको भन्ने हैसियत टुट्दछ । एउटै घरमा रहनु नै एकासगोल हुनु होइन । नाता सम्बन्ध पर्ने प्रत्येक व्यक्ति एकासगोलमा रहेको हुन सक्दैन । एकासगोल एउटा कानूनी हैसियत हो । परिवारका प्रत्येक व्यक्ति एकासगोलमा नरहन सक्दछन् । एकासगोल साम्पत्तिक हक र दायित्वसँग सम्बन्धित रहने अवस्था हो । विवाहित छोरीलाई हाम्रो कानूनी प्रणालीले बाबुआमाको सम्पत्तिबाट अंश पाउन सक्ने हैसियत प्रदान गरेको छैन । एकै परिवारमा रहेकै व्यक्तिसमेत अंश लिई वा अंश छोडपत्र गरी वा सम्बन्ध विच्छेद गरी अलग भएपछि निजको एकासगोल भन्ने हैसियत टुट्छ । आमाको हेरचाह मैले नै गर्दथेँ । विवाह घर छोडेर माइतीमै आएर बसेकी थिएँ, मृत आमाको हक खाने मबाहेक कोही छैन भन्ने जिकीरले कसैलाई एकासगोलको मान्न मिल्दैन । एउटै घरमा बस्नु नै एकासगोलमा रहनु होइन ।
७. प्रस्तुत मुद्दाकी प्रतिवादी माइली वलामी मोही सन्तमायाको विवाहिता छोरी रहेको देखिन्छ । निजलाई आमा सन्तमायाको एकासगोलमा रहेको मान्न मिल्दैन । मोही जनिएकी आमा सन्तमायासँग एकासगोलमा नरही मकवानपुर जिल्लामा विवाह गरी गएकी व्यक्तिले काठमाडौं बालाजुको जग्गाको भूमिसम्बन्धी ऐन, २०२१ को दफा २(ख) बमोजिम कमाई आएको भन्न व्यावहारिक देखिँदैन । सो जग्गा आफूले कमाएको कुनै भरपर्दो प्रमाण पनि निजले पेश गर्न सकेको स्थिति छैन । लगाउको जोत नामसारी मुद्दाको अध्ययन गर्दा यस मुद्दाकी प्रत्यर्थीले भूमिसम्बन्धी ऐन, २०२१ को दफा २(ख) समेतका आधारमा मोही नामसारीको दावी गरेको अवस्था छ । दफा २(ख) ले मोहीको परिभाषासम्म दिन्छ । ऐनको परिभाषा खण्डले कसैलाई अधिकार दिदैंन । ऐनमा दिइने परिभाषा खण्ड सो ऐनका दफाहरूलाई व्याख्या गर्नका लागि सहायकसम्म हुन्छन् । मृत मोहीकी एक मात्र हकदार भएको नाताले निजको हक आफूमा सर्नु पर्ने सारवान दावी गर्न यो परिभाषाको व्यवस्था कसैको पनि हकाधिकारको स्रोत बन्न सक्दैन ।
८. कानून जुन मितिबाट लागू हुन्छ भनी ऐनमा उल्लेख भएको हुन्छ, सोही मितिबाट त्यो ऐनमा भएका प्रावधानहरू लागू भएको मान्नुपर्ने हुन्छ । हक भन्ने कुरा केवल कानूनको क्रियाशील दफाले दिन सक्ने कुरा हो । त्यो कानूनको जन्मका साथसाथै त्यसले दिएको हक सम्बन्धित व्यक्तिमा प्रत्याभूत हुन्छ । भूमिसम्बन्धी ऐन, २०२१ को चौथो संशोधन २०५३।९।२४ मा भएको छ । यसै संशोधनले भूमिसम्बन्धी ऐन, २०२१ को दफा २६(१) मा मोहीको मृत्युपछि जग्गाधनीले मोही रोज्न पाउने नाताका व्यक्तिहरूको परिधि फराकिलो पारेको छ । लैङ्गिक समानता कायम गर्ने केही नेपाल ऐन, संशोधन गर्ने ऐन, २०६३ ले छोरीका हकमा झन फराकिलो बनाएको छ । यो चौथो संशोधनले दिएको अधिकार २०५३।९।२४ भन्दा अघि नरहेको अवस्थामा यस मितिलाई समयसीमा मान्नुपर्ने हुन्छ । लगाउको जोत नामसारी मुद्दामा स्वर्गीय आमाको मोहियानी यस मुद्दाकी प्रत्यर्थी माइली बलामीले दावी गर्दा संशोधित ऐन आइसकेकोले यस ऐनले प्रदान गरेको हक पाउनु पर्ने त होइन भन्ने पक्षमा पनि यस अदालतको ध्यानाकृष्ट भएको छ ।
९. कानूनी हकको जन्म निवेदन वा फिराद वा दर्खास्त वा दावी गरेको मितिमा बहाल कानूनका आधारमा हुने होइन । हक भनेको सारवान् कुरा हो । कारण परेको वा घटना घटेको वा कुनै काम भएको दिनमा बहाल कानूनकै आधारमा हकको स्थापना वा विस्थापना हुन्छ । त्यसैको आधारमा अपराध हुने वा नहुने तथा हक प्राप्त हुने वा नहुने यकीन हुन्छ । २०४५ सालमा विवादित जग्गाको मोही रहेकी आमाको मृत्यु भएको स्वयं दावीकर्ता छोरीले पुनरावेदन अदालतमा चढाएको पुनरावेदनको प्रकरण २ (ग) मार्फत् अदालती प्रक्रियामा लिखितरूपमा स्वीकार गरेको अवस्था छ । त्यसैले २०४५ सालमै कायम रहेको कानूनको आधारमा प्रस्तुत विवादको परख गर्नुपर्ने हुन्छ । त्यस वेला विद्यमान भूमिसम्बन्धी ऐन, २०२१ को दफा २६(१) मा छोरीमा मोहियानी हक सर्न सक्ने व्यवस्था थिएन । जुनबेला कारण परेको हुन्छ त्यसैबेला प्रचलनमा रहेको कानूनले त्यसलाई सम्बोधन गर्ने हो । २०४५ सालमा आमाको देहान्त भएको कारणबाट निजको नामको मोहियानी आफूमा सर्नुपर्ने दावीका हकमा २०४५ सालमै बहाल रहेको कानूनकै सीमामा रहनु पर्ने हुन्छ ।
१०. कसैको मृत्यु भएपछि निजको स्वामित्व तथा भोगाधिकारसम्बन्धी साम्पत्तिक हकको पनि निजसँगै मृत्यु हुन्छ । सम्पत्ति कहिल्यै पनि स्वमित्वबिहीन रहँदैन । साम्पत्तिकहक कानूनबमोजिमको हकदारमा स्वामित्ववालाको मृत्यु सँगसँगै सर्दछ । त्यसैले कानूनमा नामसारी गराउने हदम्याद नराखिएको हो । केवल तोकिएको समयावधिभित्र नामसारी नगराए अतिरिक्त शुल्कसम्म लाग्न सक्दछ । तसर्थ, सम्पत्तिमा हक रहेको व्यक्तिको मृत्यु भएको क्षणमा बहाल रहेको कानूनअनुसार हक सर्ने वा नसर्ने वा कसमा सर्ने भन्ने कुरा निरोपित हुन्छ । २०५३ सालमा भएको संशोधनले मात्र सिर्जना गरेको हक २०४५ सालमै प्राप्त हुन सक्ने अवस्था रहँदैन । यसै गरी २०६३ सालको संशोधनले त प्रत्यर्थीलाई न कुनै लाभ दिएको छ न यो लागू नै हुन्छ ।
११. माथि विवेचित बुँदा प्रमाणहरूसमेतको आधारमा साविक दर्तावाला मोहीको मृत्यु हुँदा लागू रहेको कानूनी प्रावधानको आधारमा मात्र मोही लगत कट्टा हुने नहुने वा नामसारी हुने नहुने कुराको निर्णय हुनुपर्ने देखिन्छ । मोहीको मृत्युपश्चात् मात्र एकासगोलका छोरीमा पनि मृत मोहीको मोहियानी हक सर्नसक्ने कानूनी व्यवस्था भएको रहेको देखिएको अवस्थामा उक्त कानून संशोधनपूर्व नै मृत्यु भैसकेका मोहीको मोहियानी हक नामसारी हुने ठहर हुन सक्ने अवस्था रहेन ।
१२. भूमिसम्बन्धी ऐन, २०२१ को दफा २६(१)(ग) बमोजिम मृत मोहीलाई जग्गा कामाउन छाडी बेपत्ता भएको स्थिति मान्नुपर्ने कुराका अतिरिक्त लगाउको मोही नामसारी मुद्दामा आजै यसै इजलासबाट मृत आमाको मोहियानी हक छोरीका नाताले यस मुद्दाकी प्रतिवादीमा नामसारी नहुने फैसला भएको अवस्था छ । यस परिप्रेक्ष्यमा विवादका कित्ताबाट मोही लगत कट्टा हुने ठहर्याएको भूमिसुधार कार्यालय, काठमाडौंको कानूनसम्मत फैसला उल्टी हुने ठहर्याएको पुनरावेदन अदालत, पाटनको फैसला कानूनी त्रुटियुक्त भएबाट बदर भै उल्टी हुने ठहर्छ । फलस्वरूप वादीहरुको स्रेस्तापूर्जाको मोही महलमा जनिएको प्रतिवादी माइली बलामीको स्व.आमा ठूली भन्ने माया बलामीका नामको जोत लगत कट्टा हुने ठहर्छ । अरुमा तपसील बमोजिम गर्नू ।
तपसील
माथि इन्साफ खण्डमा लेखिएबमोजिम पुनरावेदन अदालत, पाटनको फैसला उल्टी हुने ठहरी मोही लगत कट्टा हुने ठहरेकोले भूमिसुधार कार्यालयको निर्णय कायम रहने भएबाट पुनरावेदन अदालत, पाटनको मिति २०६७।९।२९।५ को फैसलाले राख्ने गरेको लगत राख्न नपर्ने हुँदा मोही ठूली भन्ने सन्तमाया बलामीको छोरी माइली बलामीको नामको मोही लगत कट्टा गरिदिनु भनी भूमिसुधार कार्यालय, काठमाडौंमा लेखी पठाई दिनू ...............१
दायरीको लगत कट्टा गरी मिसिल नियमानुसार गरी बुझाई दिनू ..................................१
उक्त रायमा सहमत छु ।
न्या.सुशीला कार्की
इति संवत् २०७० साल असार १४ गते रोज ६ शुभम् .
इजलास अधिकृत :– लालकाजी श्रेष्ठ