निर्णय नं. ७३४० - लेनदेन, किर्ते जालसाजी ।

निर्णय नं.७३४० ने.का.प.२०६१ अङ्क ३
पूर्ण इजलास
सम्माननीय प्रधानन्यायाधीश श्री गोबिन्दवहादुर श्रेष्ठ
माननीय न्यायाधीश श्री भैरवप्रसाद लम्साल
माननीय न्यायाधीश श्री बलराम के.सी.
२०५७ सालको दे.पू.ई.नं. ...८६
फैसला मितिः २०६१।१।१०।५
मुद्दा :– लेनदेन, किर्ते जालसाजी ।
पुनरावेदक
प्रतिवादीः कपिलवस्तु जिल्ला उदयपुर गा.वि.स.वडा नं. ५ बस्ने तारा कुर्मीनी
विरुद्ध
प्रत्यर्थी
वादीः ऐ.ऐ. बस्ने मुन्नालाल कुर्मी
§ कारणीको हस्ता सही सद्दे हो भन्ने तथ्य स्वीकार गरेको अवस्थामा लिखतका अन्य कुरा झुठृा हो भन्ने पक्षले सो कुरा प्रष्ट रुपमा प्रमाणित नगरे सम्म सो लिखतको कुरालाई अरु आधारले खण्डित गर्न वा कमजोर पार्न नसक्ने ।
§ आफ्नो हकहितमा असर पर्ने कुनै कार्य कसैले गरेको रहेछ भने सो रोक्न वा बदर गराउनको लागि कानूनले निर्दिष्ट गरेको बाटो अपनाई आउनु पर्ने हुन्छ । सो तर्फ प्रतिवादी लागेको भन्ने देखिन आउँदैन । मुद्दाको तह तह निर्णय हुँदै गएको र त्यस तर्फ समयमै सजग नभई लिखतको आंशिक तथ्य स्वयं प्रतिवादीले स्वीकार गरिरहेको अवस्थामा अव आएर सो लिखत झुक्याई गरेको भनि लिएको जिकिर तर्कयुक्त र कानूनसम्मत समेत नभएबाट सो को विवेचना गर्नुपर्ने अवस्था र आधार रहेको नदेखिने ।
§ विवादको मिति २०४१।३।१५ को लिखत यी प्रत्यर्थी वादी र मृतक लल्लु कुर्मीका वीच भएको सद्दे सांचो व्यहोराको भएबाट सो अनुरुपको दायित्व यी पुनरावेदक प्रतिवादीले व्यहोर्नु पर्ने नै देखिन आउँदा शुरु फैसला उल्टी गरी दावी लिखत जालसाजी ठहराई वादी दावी पुग्न नसक्ने ठहराएको तत्कालीन पश्चिमान्चल क्षेत्रीय अदालतको फैसला उल्टी गरी दावी पुग्ने ठहर गरेको शुरु सदर गरेको यस अदालत संयुक्त इजलासको मिति २०४६।९।२३ को फैसलामा कुनै परिवर्तन गर्नुपर्ने अवस्था देखिन नआउने ।
(प्र.नं. २० देखि २२)
पुनरावेदक प्रतिवादी तर्फवाटः विद्वान अधिवक्ता श्री नेत्रध्वज कार्की
प्रत्यर्थी वादी तर्फवाटः विद्वान अधिवक्ता श्री कमलनारायण दास
अवलम्वित नजिरः
फैसला
प्र.न्या.गोविन्दवहादुर श्रेष्ठः यस अदालत संयुक्त इजलासको मिति २०४६।९।२३ को फैसला उपर परी यस अदालतमा सरी आएको विन्तिपत्रमा छानबिन भई न्याय प्रशासन ऐन, २०४८ को दफा ११(१) (ख) अन्तर्गत पुनरावलोकनको निस्सा भई पेश हुन आएको प्रस्तुत मुद्दाको व्यहोरा एवं ठहर यसप्रकार छ :–
२. विपक्षीको सासु र लोग्ने अघिनै स्वर्गे भै सकेको र विपक्षी तर्फ १ छोरी मात्र जायजन्म भई निजको पनि विवाह भैसकेबाट विपक्षीको एकाघर सगोलमा निज तथा निजका ससुरा लल्लु मात्र भएको, निज लल्लु र विपक्षीको अपुताली खाने नाती छोरा समेत कुनै सन्तान नहुँदा विपक्षीको ससुरा लल्लुले धर्मकर्म समेत गर्ने इच्छाले केही खेत बिक्री गर्न चाहेको भन्ने मलाई जानकारी भै निजसँग सम्पर्क गर्दा संलग्न राजिनामा अनुसारको कित्ता ७ को ज.वि. ४–१२–१६ जग्गा रु.६५,०००।– मा बिक्री गर्ने मोलतोल भै विपक्षीको ससुरा र म तौलिहवा आई ०४१।३।१५।५ मा लेखन्दास राम सिं कहारको घरमा बसी राजीनामा लेखाई सहीछाप गरी गनि गनाउ गरेको र पारित गर्न जांदा धेरै भिड भै अड्डाको समय समाप्त भै पारित हुन नसकेको र उक्त मितिदेखि उक्त राजिनामामा उल्लेख भएको जग्गा जोतकमोद गरी आएकोमा वर्षाको समय हुँदा आवत जावत मा असुविधा हुन गई पारित हुन पाएन । वर्षापछि पारित गर्न खोज्दा विपक्षीको ससुरा विरामी भई ०४१ साल मंसिरमा स्वर्गे भएकाले निजको अपुताली खाने विपक्षीलाई उक्त राजिनामा पारित गर्न अनुरोध गर्दा म राजीनामा पारित गर्दिन भनि जवाफ दिनु भै ०४१।१०।१ देखि जग्गामा समेत जोतभोग गर्न हटक गर्नु भएकोले उक्त राजिनामा रजिष्ट्रेशनको ५ नं.ले कपाली हुन गै लेनदेनको २ नं. अन्तर्गत फिराद गर्न आएको छु । विपक्षीबाट सांवा रु.६५,०००।– र सो को सैकडा १०।– ले हुने व्याज तथा कोर्ट फि समेत भराई पाउँ भन्ने समेत व्यहोराको फिरादपत्र ।
३. वादीको फिरादमा लेखिए बमोजिम मेरो ससुरा लल्लुले वादीबाट रुपैया लिई राजिनामा लिखत गर्नु भएको होइन । जग्गा भोग हटक गर्ने समेत प्रश्नै आउँदैन र मैले सांवा व्याज समेत दिनु पर्ने होइन । वादीको समस्त फिराद लेख झुटृा जालसाज प्रपन्च मात्र हो । यि वादीले म विधवा आइमाइको धन सम्पत्ति अनुचित तरिकाबाट हात पार्ने दुस्प्रयासबाट ससुरा अनपढ हुँदा झुटृा तरीकाले किर्ते गरी के वहनाले ससुराको सहीछाप गराई कागज गराएका हुन् । वादीबाट सक्कल कागज खिची हेर्न सुन्न पाउँ र सो कागजको सम्बन्धमा अ.वं. ७८, नं. बमोजिम कारवाही गरी विशेषज्ञबाट जांच समेत गराई पाउँ । ससुरा लल्लु कुर्मीले कि.नं. ३९२ को जग्गा हजारी लाल चौधरीलाई ०३६।११।८ मा र कि.नं. ७२७ को जग्गा वैजनाथ पासीलाई ०४०।१।२१ मा रजिष्ट्रेशन पारित गर्नु भएको, सो रजिष्ट्रेशन पारित गर्दा यि वादी र ससुरा समेत सँग हुँदा मेरो अनपढ ससुरालाई झुक्याई अरु कागजहरुमा समेत सहीछाप गराएका हुन् भन्ने हाल सुनेको हुँ । सक्कल कागज देख्न सुन्न पाएमा बयान गर्ने छु । मेरो ससुरा लल्लु ०४१।३।१५ गते घरै रहनु भएको हुँदा तौलिहवा गई गनिगनाउ राजिनामा गरेको भन्ने फिराद लेखले समेत झुठृा किर्ते जालसाजी राजिनामा खडा गरे गराएको भन्ने प्रष्ट छ । अतः वादीको झुठृा दावी पक्राउबाट फुर्सद गरी पाउँ भन्ने समेत व्यहोराको प्रतिउत्तर पत्र ।
४. वादीबाट पेश भएको रु. ६५,०००।– को ०४१।३।१५ को घरसारको राजिनामा मलाई देखाई पढी बांची सुनाउँदा देखें सुने । मेरो ससुरा अनपढ भएकाले वादी र लेखक साक्षी समेत मिली झुक्याई जालसाजीबाट राजिनामा गराएका हुन् । रुपैया लेनदेन भएको होइन । सो राजिनामामा लागेको सहीछाप विशेषज्ञबाट जांच गराई जालसाजी गरी राजीनामा गरे गराएमा वादीलाई सजायं समेत गरी पाउँ भन्ने समेत व्यहोराको प्रतिवादी तारा कुर्मीनीको बयान ।
५. प्रतिवादी तारा कुर्मीनीले गरेको बयान सुनाउँदा देखे सुनें । प्रतिवादीको बयान सबै झुठृा हो। सद्दे व्यवहारबाट रु. ६५,०००।– गनी गनाउ भै राजिनामा भएको हो भन्ने समेत व्यहोराको वादी मुन्नालाल कुर्मीको बयान ।
६. धनि मुन्नालाल ऋणी लल्लु कुर्मी भएको रु.६५,०००,– को राजिनामा सद्दे हो । प्रतिवादीले झुक्याई किर्ते जालसाजी गरी राजिनामामा सहीछाप गराएको हुन् भन्ने प्रतिउत्तर र बयान समेत झुठ्ठा हो । राजिनामा किर्ते जालसाजीबाट खडा गराएका हुन् भन्ने प्रतिवादीलाई सजायं गरी पाउँ भन्ने समेत व्यहोराको लेखक साक्षी राम सिं कहारले गरेको बयान ।
७. झुक्याई कागज गराएको भन्ने प्रतिवादी जिकिर छ । झुक्याएकोमा उजूर छैन । जालसाजी हो, भिडाई पाउँ भन्ने बयान भई सो अनुसार भिडाउँदा पछि भएको लिखतसँग सही भिडेकोले जालसाजी भन्न मिलेन । कागज सद्दे ठहर्छ । विगोको हकमा जग्गामा राजिनामा गरी लिएको कपाली भएको देखिंदा वादी दावी अनुसार भरी पाउने ठहर्छ भन्ने समेत व्यहोराको कपिलवस्तु जिल्ला अदालतको ०४३।१।१० को फैसला ।
८. उक्त फैसलामा चित्त नबुझाई प्रतिवादीको परेको पुनरावेदनमा पश्चिमान्चल क्षेत्रीय अदालतबाट झगडिया झिकाउने आदेश समेत भएको ।
९. विवादित मिति २०४१।३।१५।५ को लिखतको किनारामा रहेका लेखक साक्षीको नाम, थर, वतन लेखिएको अक्षरहरुको मसी र लिपीसँग अन्य व्यहोरामा लेखिएको मसी र लिपी सामान्य रुपमा हेर्दा फरक परेको, लेखक साक्षीमा उल्लेखित ‘राम‘ को ‘र‘ अक्षर तथा ‘३‘ र ‘७‘ का अंक अन्य लिखत व्यहोरामा उल्लेखित ‘र‘ तथा ‘३‘ र ‘७‘ सँग नमिलेको, काका भतिजा वीच लेनदेन भएकोमा लिखतमा हकदार कोही पनि साक्षी नराखिएको, लिखत रजिष्ट्रेशन गर्न मुख्य कारणी मरेपछि लेनदेनमा दावी लिई एक वर्ष नाघेपछि फिराद परेको समेत कारणबाट विवादको लिखत जालसाजको ठहर्दछ । लिखत सद्दे ठहर्याई विगो भराउने ठहर्याएको शुरु जिल्ला अदालतको इन्साफ बदर भै उल्टी हुन्छ भन्ने समेत व्यहोराको तत्कालीन पश्चिमान्चल क्षेत्रीय अदालतको मिति ०४५।२।३ को फैसला ।
१०. विवादित लिखत किर्ते जालसाजी भन्ने विपक्षी वादीले अ.वं. ७८ नं. बमोजिम बयान गर्दा समेत लिखतको यो यस्तो अक्षर अंक लिपी, टांका, मसीमा भिन्नता भएको कारणले यो यस्तो छ भनि दावी लिएको पाइदैन । यस्तो स्थितिमा क्षेत्रीय अदालतबाट फैसला गरिंदा वादी दावी भन्दा बाहिर गै फैसला गरिएको प्रष्ट छ । बिक्री भै सकेको कि.नं. पनि लिखतमा परेको, काका भतिजाको लेनदेनमा अन्य हकदार साक्षी नबसेको तथा ६५ वर्षको वृद्धले त्यति ठूलो रकम ऋण लिनु पर्ने मनासिव माफिकको कारण खुल्न नसेको भन्ने आधारमा विवादित लिखतलाई किर्ते जालसाजी ठहर्याएको प.क्षे.अ. को फैसलामा प्रत्यक्षतः गम्भीर कानूनी त्रुटी भएको हुँदा पुनरावेदनको अनुमति पाउँ भन्ने समेत व्यहोराको वादीको यस अदालतमा परेको निवेदन पत्र ।
११. पश्चिमान्चल क्षेत्रीय अदालतबाट ०४५।२।३।२ मा फैसला गर्दा सर्वोच्च अदालत निर्णय संग्रह पृष्ट १३९ मा प्रकाशित २०२४ सालको दे.पु.नं. ३०२ पु.प्र. कटकवहादुर प्रधान विरुद्ध गोपालवहादुर प्रधान भएको ऋण जालसाजी मुद्दामा प्रतिपादित सिद्धान्तको तथा किर्ते कागजको ३ नं.को व्याख्या सम्बन्धी त्रुटी गरेको देखिएकोले पुनरावेदनको अनुमति दिइएको छ भन्ने समेत व्यहोराको यस अदालत संयुक्त इजलासको मिति २०४५।१२।२।४ को आदेश ।
१२. क्षेत्रीय अदालतले फरक परेको भनी भनेका अंक र अक्षरहरु लेखकले दुई किसिमबाट लेख्ने गरेको सोही लिखतबाट देखिन आएबाट अंक र अक्षर नमिलेको भन्ने तर्क मिलेको देखिएन । विवादको ०४१।३।१५ को पारित नभएको राजीनामा लिखत जालसाजी ठहर्याएको पश्चिमाञ्चल क्षेत्रीय अदालतको फैसला उल्टी हुने ठहर्छ । वादी दावी अनुरुप भरी पाउने ठहर्याएको शुरु जिल्ला अदालतको इन्साफ मनासिव ठहर्छ भन्ने समेत व्यहोराको यस अदालत संयुक्त इजलासको मिति २०४६।९।२३ को फैसला ।
१३. क्षेत्रीय अदालतको फैसला उल्टी हुन्छ भनी मलाई हराई गरेको फैसलाले अन्याय परेको हुँदा विन्तिपत्र चढाएको छु । फैसला त्रुटीपूर्ण हुँदा सर्वोच्च अदालत पूर्ण इजलासबाट दोहर्याई हेरि दिनु भन्ने हुकुम प्रमाङ्गी बक्स पाउँ भनी न्यायिक समिति मार्फत श्री ५ महाराजाधिराजका हजूरमा प्रतिवादी तारा कुर्मीनीले चढाएको बिन्तिपत्र ।
१४. प्रतिवादी तारा कुर्मीनीले बयान गर्दा मिति खाली थियो पछिको मिति पारेका हुन् भनी उल्लेख गरेको देखिन्छ । क्षेत्रीय अदालतले फैसला गर्दा समेत साक्षी महलमा लेखिएका अक्षरको मसीसँग फरक परेकोलाई आधार लिएको स्थितिमा बादी प्रतिवादी बीच मुख नमिलेको ठहर गर्नुपर्ने तथ्यगत कुरामा विशेषज्ञ समेतको प्रमाण बुझी निर्णय गर्नुपर्नेमा सो नगरेको अ.वं. १८४ क, १८५ नं. र प्रमाण ऐन २०३१ को दफा ५४ को प्रमाण सम्बन्धी सिद्धान्तको त्रुटी देखिन आएकोले न्याय प्रशासन ऐन २०४८ को दफा ११(१) को खण्ड (ख) बमोजिम पुनरावलोकनको निस्सा प्रदान गरिएको छ भन्ने समेत व्यहोराको यस अदालत संयुक्त इजलासको मिति २०५३।२।१८ को आदेश ।
१५. विवादित राजीनामाको लिखतमा लागेको लल्लु यादवको सहीछाप र निजको सहिछाप लागेको मिसिल संलग्न लिखतको सहीछाप भिड्ने नभिड्ने सम्बन्धमा विशेषज्ञबाट परीक्षण गराउनु र क्षेत्रिय अदालतबाट भएको फैसला सहितको रेकर्ड मिसिल झिकाउनु भन्ने समेत व्यहोराको यस अदालत संयुक्त इजलासको मिति २०५९।६।२७ को आदेश ।
१६. विवादको लिखतको हस्ताक्षर परीक्षण गरी राय दिने विशेषज्ञलाई बुझी पेश गर्नु भन्ने समेत व्यहोराको यस अदालत संयुक्त इजलासको मिति २०६०।८।४ को आदेश ।
१७. २०४०।१।२१ को पारित राजिनामा र मिति २०४०।१।२१ को दरखास्त फाराममा भएको लल्लु कुर्मीको ल्याप्चे छापहरुसँग मिति २०४१।३।१५ को रजिष्ट्रेशन फाराममा दिनेको महलमा लागेको लल्लु कुर्मीको ल्याप्चे छापहरु आपसमा भिडी मिलेकोले सो आधार खुलाई राय दिएको भन्ने समेत व्यहोराको रेखा तथा लेखा विशेषज्ञ घनश्याम मुखियाले यस अदालतमा गरेको बकपत्र ।
१८. नियमानुसार पेश भएको प्रस्तुत मुद्दामा पुनरावेदक प्रतिवादी तारा कुर्मीनीको तर्फबाट विद्वान अधिवक्ता श्री नेत्रध्वज कार्कीले विवादको राजिनामामा पुनरावेदकलाई साक्षी राखिएको छैन। व्यहोरा सद्दे होइन । सद्दे व्यहोरा भएको भए लल्लु कुर्मी जीवित छंदै मुद्दा पर्नुपर्ने थियो । झुक्याई कागज गराएको हो । क्षेत्रीय अदालतको फैसला मिलेकै हुँदा सर्वोच्च अदालत संयुक्त इजलासको फैसला उल्टी हुनु पर्छ भन्ने समेत व्यहोराको र प्रत्यर्थी वादीका तर्फबाट विद्वान अधिवक्ता श्री कमल नारायण दासले झुक्याई कागज गराएको भन्ने उजूर छैन । सहीछाप लल्लु कै हो भन्नेमा विवाद छैन । विशेषज्ञको राय समेतबाट ल्याप्चे मिल्ने राय व्यक्त गरेको हुँदा सर्वोच्च अदालतले शुरु सदर गरेको फैसला मिलेकै छ । सदर हुनु पर्दछ भन्ने समेत व्यहोराको वहस जिकिर प्रस्तुत गर्नु भयो ।
१९. विद्वान कानून व्यवसायीहरुको उपर्युक्त बमोजिमको वहस जिकिर समेत सुनी बिचार गर्दा प्रस्तुत मुद्दामा विवादको लिखत प्रतिवादी तर्फको जिकिर बमोजिम झुक्याई गराएको हो होइन ? र वादी दावी बमोजिम भराई लिन पाउने ठहर गरेको शुरु फैसला सदर गरेको यस अदालत संयुक्त इजलासको फैसला मिलेको छ छैन ? सो सम्बन्धमा निर्णय दिनु पर्ने देखिन आयो ।
२०. निर्णयतर्फ बिचार गर्दा विवादको मिति २०४१।३।१५ को लिखत जालसाजीसँग भएको रकम लिनुदिनु भएको होइन भन्ने बयान र प्रतिउत्तर जिकिर यी पुनरावेदक प्रतिवादीको रहेको पाइन्छ । विवादको लिखत गरिदिने लल्लु कुर्मीको अन्य लिखतसँग भिडाई सो को हस्ताजांच गराउँदा विवादित लिखतको हस्तासँग निज लल्लु कुर्मीको हस्ता मिल्ने भिड्ने भन्ने विशेषज्ञको राय रहेको र लिखतको ल्याप्चे सही लल्लु कै हो भन्नेमा यी प्रतिवादी लिखत सुनी बयान गर्दा समेत सावितै रहेको देखिन आएको छ । यसरी कारणीको हस्ता सही सद्दे हो भन्ने तथ्य स्वीकार गरेको अवस्थामा लिखतका अन्य कुरा झुठृा हो भन्ने पक्षले सो कुरा प्रष्ट रुपमा प्रमाणित नगरे सम्म सो लिखतको कुरालाई अरु आधारले खण्डित गर्न वा कमजोर पार्न सक्दैन । अतः लिखत सद्दे ठहर गरे तर्फ अरु विवेचना गरिरहनु पर्ने अवस्था देखिन आउँदैन ।
२१. पुनरावेदक तर्फबाट झुक्याई कागज खडा गराएको भन्ने जिकिर इजलास समक्ष प्रस्तुत गरे पनि सो लिखत भएको कुरा थाहा पाएपछि समयमै झुक्याए तर्फ कुनै किसिमको उजूर बाजूर गर्न सकेको पाइदैन । आफ्नो हकहितमा असर पर्ने कुनै कार्य कसैले गरेको रहेछ भने सो रोक्न वा बदर गराउनको लागि कानूनले निर्दिष्ट गरेको बाटो अपनाई आउनु पर्ने हुन्छ । सो तर्फ प्रतिवादी लागेको भन्ने देखिन आउँदैन । मुद्दाको तह तह निर्णय हुँदै गएको र त्यस तर्फ समयमै सजग नभई लिखतको आंशिक तथ्य स्वयं प्रतिवादीले स्वीकार गरी रहेको अवस्थामा अव आएर सो लिखत झुक्याई गरेको भनि लिएको जिकिर तर्कयुक्त र कानूनसम्मत समेत नभएबाट सो को विवेचना गर्नुपर्ने अवस्था र आधार रहेको देखिदैन । अतः सो कागज झुक्याई गराएको भन्ने जिकिरसँग सहमत हुन सकिएन ।
२२. माथि गरिएको विवेचनाबाट विवादको मिति २०४१।३।१५ को लिखत यी प्रत्यर्थी वादी र मृतक लल्लु कुर्मीका वीच भएको सद्दे सांचो व्यहोराको भएबाट सो अनुरुपको दायित्व यी पुनरावेदक प्रतिवादीले व्यहोर्नु पर्ने नै देखिन आयो । अतः शुरु फैसला उल्टी गरी दावी लिखत जालसाजी ठहराई वादी दावी पुग्न नसक्ने ठहराएको तत्कालीन पश्चिमान्चल क्षेत्रीय अदालतको फैसला उल्टी गरी दावी पुग्ने ठहर गरेको शुरु सदर गरेको यस अदालत संयुक्त इजलासको मिति २०४६।९।२३ को फैसलामा कुनै परिवर्तन गर्नुपर्ने अवस्था देखिन आएन । सो फैसलाको तपसिल बमोजिम गर्नुपर्ने कार्य गर्नु भनी शुरु कपिलवस्तु जिल्ला अदालतमा लेखि पठाई निमानुसार गरी मिसिल बुझाई दिनु ।
उपर्युक्त रायमा सहमत छौं ।
न्या.भैरवप्रसाद लम्साल
न्या.वलराम के.सी.।
इति संवत् २०६१ साल वैशाख १० गते रोज ५ शुभम् ................... ।