शब्दबाट फैसला खोज्‍नुहोस्

निर्णय नं. ७३४१ - लागू औषध ।

भाग: ४६ साल: २०६१ महिना: असार अंक:

निर्णय नं. ७३४१    ने.का.प.२०६१       अङ्क ३

 

पूर्ण इजलास

माननीय न्यायाधीश श्री हरिप्रसाद  शर्मा

माननीय न्यायाधीश श्री अनुपराज शर्मा

माननीय न्यायाधीश श्री रामप्रसाद श्रेष्ठ

सम्बत् २०५८ सालको फौ.पू.ईं.नं. ८,,१०

फैसला मितिः २०६१।३।३।५

 

मुद्दा :लागू औषध ।

 

पुनरावेदक

प्रतिवादीः भारत विहार राज्य नरकटियागंज घर भै हाल केन्द्रिय कारागार शाखा काठमाडौंमा थुनामा रहेको सुवोध कुमार उर्फ पप्पु

विरुद्ध

प्रत्यर्थी

वादीः प्र.ना.उ.डेग वहादुर जि.सि.समेतको प्रतिवेदनले श्री ५ को सरकार 

 

पुनरावेदक

प्रतिवादीः जिल्ला मोरङ दर्वेसा गा.वि.स. वडानं. ९ घर भई हाल केन्द्रिय कारागार शाखा त्रिपुरेश्वर, काठमाडौमा थुनामा रहेको वर्ष ३१ को रमेश कडरिया

विरुद्ध

प्रत्यर्थी

वादीः प्र.ना.उ. डेग वहादुर जि.सि.समेतको प्रतिवेदनले श्री ५ को सरकार

 

पुनरावेदक

प्रतिवादीः भारत, विहार जमुई रेलवामा जन्म भै जिल्ला सिराहा, सिराहा नगरपालिका वडा      नं. १ मा स्थायी वसोवास गर्दै आई हाल केन्द्रिय कारागार शाखा, त्रिपुरेश्वर  काठमाडौंमा थुनामा रहेको वर्ष ४७ को वैजनाथ गुप्ता

विरुद्ध

प्रत्यर्थी

वादीः  प्र.ना.उ. डेग वहादुर जि.सि. समेतको प्रतिवेदनले श्री ५ को सरकार

 

§  लागू औषध (नियन्त्रण) ऐन विशेष प्रकृतिको ऐन भएको र विशेष प्रकृतिको ऐनले गरेको व्यवस्था सोही अनुरुप कार्यान्वयन भएको हुनुपर्छ । लागू औषध (नियन्त्रण) ऐन, २०३३ को दफा १२ को व्यवस्थाले सो ऐनको दफा ४ ले निषेधित गरिएका कार्य गरेको भन्ने देखिन आएमा निषेधित कार्य गरेको आरोपित व्यक्तिले वरामद भएको लागू औषध वा पदार्थ यो यति कारणले ऐन सम्मत तरिकाले राखेको भन्ने कुराको पुष्टि गर्ने कार्य वा प्रमाणको दायित्व त्यसरी निषेधित वस्तु राख्ने व्यक्तिमा नै रहने

§  अनुसन्धान तहकिकातवाट कसैको शरीर, कोठा वा साथवाट वरामद भएको पदार्थ निषेधित तवरवाट खरिद विक्री ओसारपसार आदि गरेको वा सो गर्न भनी संचय गरेको देखिन आएमा केवल अदालतको वयानमा सजायको भागी हुन नपरोस् भनी स्वइच्छाले वरामदी लागू औषध आफ्नो होइन कहाँवाट आयो भन्ने जस्ता कथन राखी आरोपित कसूरमा इन्कारी हुँदैंमा संकलित सवुद प्रमाण र घटनाको कडीवाट पुष्टी भइरहेको विषय वस्तुलाई अन्यथा भनी अनुमान गर्न नमिल्ने ।

§  अनुसन्धानका क्रममा भएका बयान, बरामदी मुचुल्काका मानिस र प्रतिवेदकहरुको यी प्रतिवादीहरुको रोहवरमा सो लागू औषध वरामद गरिएको हो भन्ने बकपत्र, बरामद भएको घरको घरधनी समेतको कागज समेतका प्रमाणबाट आरोपित सबै प्रतिवादीहरु बरामद भएको लागु औैषध विदेश भारतबाट खरिद गरी लिई आई नेपालमा बिक्री वितरण गर्ने प्रयोजनका लागि संचय ओसारपसार समेतको कार्य गर्नमा समान रुपले लागेको भन्ने कुरा पुष्टि भइरहेको    देखिने ।

§  पुनरावेदक प्रतिवादीहरु सुवोध कुमार उर्फ पप्पु रमेश कडरिया र वैजनाथ गुप्ता समेतका प्रतिवादीहरुले बरामद भएको लागू औषध, लागू औषध (नियन्त्रण) ऐन, २०३३ को दफा  ४ को खण्ड (घ)(ङ)(च) मा वर्णित कार्य गरेको शिद्ध हुन आएकोले सो अभियोगमा दावी बमोजिम  सोही ऐनको दफा   १४(१) (छ) (३) बमोजिम जनही १५ वर्ष कैद र ५ लाख रुपैयाँ जरिवाना हुने ठहर गरेको शुरु जिल्ला अदालतको फैसला सदर गरेको पु.वे.अ. को फैसला मिलेकै देखिंदा सदर हुने ।

(प्र.नं. ४६ र ४७)

 

पुनरावेदक प्रतिवादी तर्फवाटः विद्वान वरिष्ठ अधिवक्ता श्री कृष्णप्रसाद भण्डारी विद्वान अधिवक्ताहरु श्री भीमवहादुर ढकाल, श्री शेष महम्मद अव्वास, श्री जीवनप्रसाद उपाध्याय श्री गुरुप्रसाद वराल र श्री कृष्णप्रसाद सापकोटा

प्रत्यर्थी वादी तर्फवाटः विद्वान सहन्यायाधिवक्ता श्री दिनेशहरी अधिकारी

अवलम्वित नजिरः

 

फैसला

            न्या.हरिप्रसाद शर्माः पुनरावेदन अदालत पाटनको मिति २०५७।११।१६ को फैसला उपर न्याय प्रशासन ऐन, २०४८ को दफा ९(१)(ख) अन्तर्गत परेको पुनरावेदनमा संयुक्त इजलासका माननीय न्यायाधीश वीच मतैक्य हुन नसकी सर्वोच्च अदालत नियमावली, २०४९ को नियम ३(१) (क) अन्तर्गत पेश हुन आएको प्रस्तुत मुद्दाको व्यहोरा एवं ठहर यसप्रकार छ :

            २.    मिति २०५२।१२।२० गते पुतलीसडक स्थित वैजनाथ गुप्ताको मारुती कन्सर्न नामक दोकान कोठा भित्र निज वैजनाथ गुप्ता, रमेश कडरिया, वीरेन्द्रप्रसाद रमानिया समेत वसेको डस्नाको विचमा रहेको कालो कलरको द्यभभ द्यबप भन्ने हातमा भुण्ड्याउने सानो ह्याण्ड व्याग रहेको सो को तलासी लिंदा झोलाभित्र सेतो नरम प्लास्टिकले वेरिएको अवस्थामा कपडाको पोका रहेको सो प्लास्टिक हटाई हेर्दा सेतो कपडामा नौ ठाउँमा  ठठठ भन्ने छाप लागेको पोका रहेको सो पोकाको प्याक सिल एक ठाउँबाट सानो प्वाल पारी खोली हेर्दा भित्र खैरो हेरोइन फेला परेको तौली हेर्दा १ के.जी. १० ग्राम रहेको, तत्काल सोधपुछ गर्दा सो लागू औषध खैरो हेरोइन विक्री गर्न खरिद गर्ने पार्टीको प्रतिक्षामा बसेको, भन्ने निजहरुको भनाई भएको समेत अवस्थामा उक्त लागू औषध बरामद भई मानिस समेत पक्राउ गरिएको हो भन्ने समेत व्यहोराको मिति २०५२।११।२० को बरामदी मुचुल्का ।

            ३.    बरामद भएको लागू औषध हेरोईन भारतबाट वीरेन्द्रप्रसाद र सुवोध कुमारले ल्याई रमेश कडरिया, वैजनाथ, विरेन्द्र रमानिया, समेत ३ जना भई विक्री गर्न ग्राहकको प्रतिक्षामा बसेको र सो कार्यमा संलग्न सुवोध कुमार समेत निजहरुले भनेको ठाउँ निलगिरी गेष्ट हाउसवाट पक्राउ भएकोले निजहरु र सो लागू औषध समेत साथै पेश गरेका छौं । लागू औषध (नियन्त्रण) ऐन, २०३३ अनुसार कार्यवाही गरी पाउ भन्ने समेत व्यहोराको प्र.ना.उ. डेकवहादुर जि.सी. समेतको प्रतिवेदन ।

            ४.    प्रतिवादी सुवोध कुमार र विरेन्द्रप्रसाद समेत भई ल्याएको उक्त बरामद भएको लागू औषध  खैरो हेरोईन विक्री वितरण गर्ने सिलसिलामा गेष्ट हाउसमा मंजित सिं सरदारलाई पनि नमुना दिएको भन्ने खुल्न आई निज मंजित सिं को डेरा तलासी लिंदा डेरा कोठाबाट १५० मिलीग्राम लागू औषध खैरो हेरोइन बरामद भएको र मानिस समेत पक्राउ परेको भन्ने समेत व्यहोराको मिति २०५२।१२।२२ को बरामदी मुचुल्का ।

            ५.    बरामद भएको १ किलो १० ग्राम लागू औषध खैरो हेरोइन मिति २०५२।१२।२० गते मेरो मारुती कन्सर्नबाट रमेश कडरिया, विरेन्द्रप्रसाद रमानिया र म समेतको साथबाट बरामद भएको हो । उक्त लागू औषध रमेश कडरिया र विरेन्द्रप्रसाद रमानियाले विक्री गर्न भनी मेरो दोकानमा ल्याएका हुन् । सो लागू औषध निजहरुले भारतबाट ल्याएको भनी बताएका थिए । पक्राउ पर्नु भन्दा अगाडि २०५२।१२।१६ गते रमेश कडरियासँग भेट हुँदा निजले भारतबाट २ जना भारतीयले १ किलो लागू औषध खैरो हेरोइन ल्याएका छन, विक्री गर्नु पर्‍यो, राम्रो फाईदा हुन्छ, नाफाबाट आएको बांडी खाउँला भनेका र कुमार भन्ने व्यक्तिसँग परिचय गराएकोले र कुमार भन्ने व्यक्तिले म पार्टी मिलाउँछु भनेकाले मैले रमेश कडरियालाई मेरो दोकानमा आउनु त्यहीं कुरा गरौंला भनेको थिएँ । यस्तैमा ऐ.१८ गते निज रमेश मेरो दोकानमा आई अलिकति नमूना छोडेर गएकोले पूर्व चिनेका जाइलो भन्ने केटीलाई नमूना दिई पठाएको थिएँ । यसैमा ऐ.१९ गते बेलुका वीरेन्द्र मेरो दोकानमा आई उक्त लागू औषध हेरोइन १ किलोको रु. ६,००,०००।मा दिने शर्त भएपछि ऐ.२० गते विहान रमेश समेत दुवै जना भई कुमार भन्नेलाई भेटी उक्त लागू औषध १ किलोको रु. ७ लाख ५० हजारमा लिने भए मेरो दोकानमा आउनु भनी कुरो भए पछि उक्त बरामद भएको लागू औषध रमेश र विरेन्द्रले साथमा ल्याई मेरो दोकानमा बसेको अवस्था पार्टी ल्याउने भनेका कुमारले सादा पोसाकमा प्रहरी ल्याई पक्राएका हुन भन्ने समेत व्यहोराको अनुसन्धान अधिकारी समक्ष प्रतिवादी वैजनाथ गुप्ताले गरेको वयान ।

            ६.    बरामद भएको लागू औषध खैरो हेरोइन विरेन्द्र र सुवोध उर्फ पप्पुले भारतबाट ल्याएका हुन । उक्त लागू औषध रु ६ लाखमा विक्री गरीदेउ भनेकाले वैजनाथ गुप्ता म र विरेन्द्र समेत भई वैजनाथ कै मारुती कन्सर्न अफिसमा बसी विक्री गर्न ग्राहकको प्रतिक्षामा बसेको  अवस्थामा उक्त लागू औषध खैरो हेरोइन सहित प्रहरीले वरामद गरी हामीलाई समेत पक्राउ गरेको हो भन्ने समेत व्यहोराको अनुसन्धान अधिकारी समक्ष प्रतिवादी रमेश कडरियाले गरेको वयान ।

            ७.    बरामद भएको लागू औषध हेरोइन भारतको नयाँ दिल्ली पहाडगंज वस्ने विरमानी सिन्धी भन्ने व्यक्तिले यो लागू औषध हेरोइन नेपालमा विक्री गरे राम्रो व्यापार हुन्छ । मलाई यसको ५ लाख ल्याई देउ, बढि आएको तिमी लेउ, तिमीलाई म घर बनाई दिन्छु । विवाह गरीदिन्छु भनेकोले दिल्लीवाट उक्त लागू औषध लिई भारत विहार नरकटियागंज वस्ने सुवोध कुमारको घरमा आई निज सुवोध कुमार र म भई काठमाडौं आई रमेशसँग सुवोधले भेटी उक्त लागू औषध देखाए पछि रमेश र वैजनाथ समेत भई विक्री गर्न ग्राहक खोजी गर्दै रहेको अवस्थामा प्रहरीले पक्राउ गरी वरामद गरेको हो भन्ने समेत व्यहोराको अनुसन्धान अधिकारी समक्ष प्रतिवादी वीरेन्द्रप्रसाद रमानियाले गरेको वयान ।

            ८.    बरामद भएको लागु आषध खैरो हेरोइन रमेश र बुटवल ससुराली भएका जे.पी. गुप्ताले मगाएको, विरेन्द्रप्रसादले दिल्लीमा गई मेरो घरमा लागू औषध लिएर आएपछि म पनि संगै विक्री गर्न भनी काठमाडौं आउँदा जे.पी. गुप्तासँग भेट नभएकोले रमेशसँग भेट भई कुरा गरी विरेन्द्रले ग्राहक खोजी विक्री भएपछि मलाई पाँच हजार दिउँला भनेको थिए । सोही सिलसिलामा रमेश, विरेन्द्र, वैजनाथ समेत भई उक्त लागू औषध विक्री गर्न लाग्दा प्रहरीले पक्राउ गरेको हो भन्ने समेत व्यहोराको अनुसन्धान अधिकारी समक्ष प्रतिवादी सुवोध कुमार उर्फ पप्पुले गरेको वयान ।

९.    सुवोध कुमार र रमेश २०५२।१२।११ गते मेरो सुन्धारा स्थित अचार पसलमा आई सोही ठाउँमा भएको मेरो आफ्नो पंजावी गेष्ट हाउसमा बसी हामीले लागू औषध खैरो हेरोइन ल्याएका छौं । विक्री गर्नु पर्‍यो तपाईले पनि खरिद गर्ने ग्राहक  खोज्नु होस भनेकाले मैले यस बारेमा कुरा नगर भनी पठाएको थिए । त्यसको  २ दिन पछि म कोठामा खाना खान गएको अवस्थामा सुवोध कुमार मेरो डेरामा आई हाल बरामद भएको कागजमा पुरिया पारेको १५० मिलिग्राम नमुना देखाउनु होला र पार्टीले मन पराएमा खबर हामीलाई गर्नुहोस, राम्रो फाईदा हुन्छ भनी छोडेकाले राखेको हुँ भन्ने समेत व्यहोराको अनुसन्धान अधिकारी समक्ष प्रतिवादी मंजित सरदारले गरेको वयान ।

१०.    बरामद भएको लागू औषध कपडाको थैलो समेत १ किलो १० ग्राम थैलीको तौल कटाई १ किलो लागू औषध खैरो हेरोइन कायम भएको,९ ग्राम नमुना झिकी वांकी रहेको ९९१ ग्राम जलाई नष्ट गरिएको भन्ने मिति २०५२।१२।३० को मुचुल्का ।

            ११.    मेरो घरको तेश्रो तला वैजनाथ गुप्ताले भाडामा लिई मारुती कन्सर्न गरी आएका थिए । यस्तैमा २०५२।१२।२० गते वैजनाथ समेतका प्रतिवादीलाई १ किलो १० ग्राम लागू औषध खैरो हेरोइन सहित पक्राउ गरेको खबर थाहा पाए पछि म पनि उपस्थित भई मुचुल्कामा दस्तखत गरेको हुँ । निज गुप्ताले मारुती कन्सर्न नामबाट कपडाको व्यापार गर्दथिए । लागू औषधको कारोबार गर्दछन् भन्ने मलाई थाहा थिएन । हाल मात्र थाहा पाएको हुँ भन्ने समेत व्यहोराको घर धनी चरित्र विक्रम राणाले गरी दिएको कागज ।

            १२.   लागू औषध (नियन्त्रण) ऐन, २०३३ (संशोधन सहित) को दफा ४ को खण्ड (घ)(ङ) र  (च) अनुसारको कसूर यी प्रतिवादीहरुले गरेको पुष्टी भएकोले सो कसूरमा सोही ऐनको दफा १४(१) को खण्ड (छ) (३) बमोजिम प्रतिवादीहरुलाई सजाय हुनु मागदावी लिई पेश भएको अभियोगपत्र ।

            १३.   बरामदी मुचुल्कामा उल्लेख गरेको लागू औषध मबाट वरामद भएको होइन । को कसबाट कहाँबाट वरामद भयो मलाई थाहा छैन । वरामद भएको व्याग समेत मेरो होइन भन्ने समेत व्यहोराको प्रतिवादी रमेश कडरियाले अदालत समक्ष गरेको वयान ।

            १४.   मेरो पसलबाट लागू औषध वरामद भएको होइन । उक्त लागू औषध कहाँबाट वरामद भएको हो मलाई थाहा छैन भन्ने समेत व्यहोराको प्रतिवादी वैजनाथ गुप्ताले अदालत समक्ष गरेको वयान ।

            १५.   बरामदी मुचुल्कामा उल्लेख गरेको लागू औषध मबाट वरामद भएको होइन । को कसबाट कहाँबाट वरामद भयो मलाई थाहा छैन । वरामद भएको व्याग समेत मेरो होइन भन्ने समेत व्यहोराको प्रतिवादी  वीरेन्द्रप्रसाद रमानियाले अदालत समक्ष गरेको वयान ।

            १६.    बरामदी मुचुल्कामा उल्लेख गरेको लागू औषध मबाट वरामद भएको होइन । को कसबाट कहाँबाट वरामद भयो मलाई थाहा छैन । मिति २०५२।१२।२२ को  वरामदी मुचुल्कामा उल्लेख भएको व्यहोरा झुठा हो । व्याग को कसबाट वरामद भएको हो, थाहा छैन भन्ने समेत व्यहोराको प्रतिवादी मंजित सीं सरदारले अदालत समक्ष गरेको वयान ।

            १७.   बरामदी मुचुल्कामा उल्लेख गरेको लागू औषध मबाट वरामद भएको होइन । को कसबाट कहाँबाट वरामद भयो मलाई थाहा छैन । लागू औषधको कारोवार नगरेकोले सजाय हुनुपर्ने होइन भन्ने समेत व्यहोराको प्रतिवादी सुबोध कुमार उर्फ पप्पुले अदालत समक्ष गरेको वयान ।

            १८.   प्रतिवादी मंजित सिंह सरदारको मिति २०५५।५।२४ मा कालगतिले मृत्यू भएको भनि कारागार शाखा काठमाडौंको च.नं. ७०८ मिति २०५५।५।२४ को पत्र प्राप्त भै मिसिल सामेल रहेको  ।

            १९.    मंजित सीं बाट लागू औषध वरामद भएको भन्ने कुरा झुठा हो भन्ने समेत व्यहोराको निजका साक्षी जिवन पाठक र केवलीप्रसाद सिवाकोटीले गरेको वकपत्र ।

            २०.   अभियोग दावी अनुसारको कसूर निजले गरेको जस्तो लाग्दैन  भन्ने समेत व्यहोराको रमेश कडरियाको साक्षी विरेन्द्र पाठकले गरेको वकपत्र ।

            २१.   रमेश कडरियाले लागू औषध विक्री गरेको हो जस्तो लाग्छ भन्ने समेत व्यहोराको निजका साक्षी गोकुलराज सुवेदीले गरेको वकपत्र ।

             २२.   वैजनाथ गुप्ताको पसलबाट उक्त मितिमा लागू औषध वरामद भएको छैन भन्ने समेत व्यहोराको निजका साक्षी महमद असफामले गरेको वकपत्र ।

            २३.   २०५३।१।२५ गते प्रहरीमा कागज गर्ने म नै हुँ । सो कागजमा लेखिएको ठीक हो भन्ने समेत व्यहोराको प्रहरीमा कागज गर्ने व्यक्ति चरित्र विक्रम राणाले अदालतमा गरेको बकपत्र ।

            २४.   वरामदी मुचुल्काको सही मेरो हो । मंजित सीं सरदारको कोठाबाट लागू औषध वरामद भएको ठीक हो भन्ने समेत व्यहोराको  प्र.ना.नि. कृष्णप्रसाद त्रिपाठीले गरेको वकपत्र ।

            २५.   मैले प्रतिवेदन दिएको हो । वरामदी मुचुल्काको सही मेरो हो । वरामदी मुचुल्कामा सम्पूर्ण कुरा उल्लेख गरेको छु भन्ने समेत व्यहोराको प्र.ना.नि.राम वहादुर वस्नेतले गरेको वकपत्र ।

२६.   वरामदी मुचुल्काको सही मेरो हो । वरामदी मुचुल्का को व्यहोरा ठीक छ  भन्ने समेत व्यहोराको वरामदी मुचुल्काका मानिस रियजुदिन, भाइराम खड्गी समेतले गरेको वकपत्र ।

२७.   प्रतिवादीका साक्षी जीवन पाठक, विरेन्द्र पाठक,गोकुल राम सुवेदी, प्रसाद सिवाकोटी महमद असफामले उक्त मितिको प्रहरी बरामदीको मुचुल्का झुठ्ठा हो निजहरुले सफाई पाउनु पर्छ भनी गरेको वकपत्र ।

२८.   प्रहरीमा कागज गर्ने चरित्र विक्रम राणाले प्रहरीमा गरि दिएको मेरै भनाई बमोजिम लेखिएको हो भनि वकपत्र अदालतमा गर्नु भएको रहेछ ।

२९.   प्र.स.नि. कृष्णप्रसाद त्रिपाठी, प्र.ना.नि. रामबहादुर वस्नेतले हामीले प्रतिवेदन दिएका हौं सहि हाम्रो हो भन्ने समेत व्यहोराको वकपत्र अदालतमा गरेको ।

३०.   वरामदी मुचुल्काको मानिस रियाजुद्धिन भाईराम खत्रीले प्रहरीले गरेको वरामदी मुचुल्काको व्यहोरा र सहि हाम्रो हो भन्ने समेत व्यहोराको वकपत्र अदालतमा गरेको रहेछ ।

            ३१.   प्रतिवादीहरु सुवोध कुमार उर्फ पप्पु, विरेन्द्रप्रसाद रमानिया, वैजनाथ गुप्ता, रमेश कडरियालाई अभियोग माग दावी अनुसार लागू औषध (नियन्त्रण) ऐन, २०३३ को दफा १४(१)(छ)(३) अनुसार जनही पन्ध्र वर्ष कैद र पाँच लाख रुपैया जरिवाना हुने ठहर्छ भन्ने समेत व्यहोराको काठमाडौं जिल्ला अदालतको मिति २०५७।१।२१।४ को फैसला ।

३२.   शुरु जिल्ला अदालतवाट मौकाको कागजलाई मात्र आधार बनाई गरेको शुरुको फैसला उल्टी गरी सफाई पाउँ भन्ने समेत व्यहोराको प्रतिवादी वैजनाथ गुप्ताको पुनरावेदन अदालत पाटनमा परेको पुनरावेदन पत्र ।

३३.   जो सँग लागू औषध वरामद भएकै छैन र सो कारोबारमा संलग्न भएको पनि कतैबाट देखिंदैन, त्यस्तो व्यक्तिलाई सजाय गर्नु फौज्दारी न्यायको सिद्धान्त बिपरित हुन्छ । तसर्थ शुरुको फैसला उल्टी गरी अभियोगवाट सफाई पाउँ भन्ने समेत व्यहोराको प्रतिवादी रमेश कडरियाको पुनरावेदन अदालत पाटनमा परेको पुनरावेदन पत्र ।

            ३४.   सह अभियुक्तको पोल र प्रहरी सावितीको भरमा कसूरदार कायम गर्न मिल्दैन । प्रतिपादित कानूनी सिद्धान्तको समेत पुनरावेदकको हकमा विल्कुलै वेवास्ता गरी भएको शुरुको फैसला उल्टी गरी सफाई पाउँ भन्ने समेत व्यहोराको प्रतिवादी सुवोधकुमार उर्फ पप्पुको पुनरावेदन अदालत पाटनमा परेको पुनरावेदन पत्र ।

            ३५.   अधिकार प्राप्त अधिकारी समक्षको साविती मेरो ईच्छा विरुद्धको हो । अपराधमा संलग्नता भएको कुरा प्रमाणीत हुन नसकेको हुँदा शुरुको फैसला त्रुटि पूर्ण छ । उल्टी गरी सफाई पाउनु पर्दछ भन्ने समेत व्यहोराको प्रतिवादी विरेन्द्रप्रसाद रमानियाको पुनरावेदन अदालत पाटनमा परेको पुनरावेदन पत्र ।

            ३६.   अधिकार प्राप्त अधिकारी समक्ष भएको प्रतिवादीहरुको साविती, सह अभियुक्तको पोल तथा बरामदी मुचुल्का समेतका कारणवाट प्रतिवादीहरुले कसूर अपराध गरेको पुष्टि हुन आएको देखिंदा प्रतिवादीहरुलाई अभियोग दावी वमोजिम सजाय हुने ठहर्‍याएको शुरु काठमाडौं जिल्ला अदालतको फैसला मिलेकै देखिंदा सदर हुने ठहर्छ भन्ने समेत व्यहोराको पुनरावेदन अदालत पाटनको मिति २०५७।११।१६को फैसला ।

            ३७.   पुनरावेदन अदालत, पाटनबाट शुरु काठमाडौं जिल्ला अदालतको फैसलालाई सदर गर्ने गरी भएको फैसला अ.वं. १८४क नं., प्रमाण ऐन, २०३१ को दफा २५ र वर्णित नजीर समेतको बिपरीत भएको हुँदा सो फैसला उल्टाई पुनरावेदन जिकिर बमोजिम सफाई दिलाई न्याय इन्साफ गरी पाउँ भन्ने समेत व्यहोराको प्रतिवादी सुवोध कुमार उर्फ पप्पुको यस अदालतमा परेको पुनरावेदन पत्र ।

            ३८.   पुनरावेदन अदालत, पाटनवाट मिति २०५७।११।१६ मा मलाई १५ बर्ष कैद र ५ लाख रुपैयाँ जरिवाना गर्ने गरेको फैसला त्रुटीपूर्ण एवं अन्यायपूर्ण भएको हुँदा उक्त फैसला वदर गरी मेरो पुनरावेदन माँग बमोजिम न्याय निरोपण गरी पाउँ भन्ने समेत व्यहोराको प्रतिवादी रमेश कडरियाको यस अदालतमा गरेको पुनरावेदन पत्र ।

            ३९.   मलाई अभियोग माग दावी अनुसार १५ बर्ष कैद र ५ लाख रुपैयाँ जरिवाना हुने ठहर्‍याई काठमाडौं जिल्ला अदालतवाट भएको फैसला सदर गरी पुनरावेदन अदालत पाटनबाट भएको फैसला त्रुटीपूर्ण हुँदा उक्त फैसला वदर गरी म निर्दोष हुँदा अभियोग दावीवाट सफाई पाउँ भन्ने समेत व्यहोराको प्रतिवादी  वैजनाथ गुप्ताको यस अदालतमा परेको पुनरावेदन पत्र ।

            ४०.   प्रतिवादीहरुको वयानवाट प्रतिवादीहरु समानस्तरको  कसूरदार नदेखिएको अवस्थामा निजहरुलाई समानस्तरको कसूर कायम गरी सजाय गरेको पुनरावेदन अदालत पाटनको फैसला फरक पर्ने देखिंदा अ.वं. २०२ नं. बमोजिम छलफलको लागि महान्यायाधिवक्ताको कार्यालयलाई सूचना दिई नियमानुसार पेश गर्नु भन्ने समेत व्यहोराको यस अदालतको मिति २०६०।४।२३ को आदेश ।

            ४१.   प्रतिवादी सुवोध कुमार र वीरेन्द्र कुमार रमानियाले भारतवाट लागू औषध ल्याई सन्चय एवं विक्री गर्ने कार्यमा संलग्न भएको देखिंदा निजहरुको हकमा शुरुले अभियोग दावी वमोजिम सजाय गर्ने ठहर्‍याएको फैसला सदर गरेको पुनरावेदन अदालत पाटनको फैसला मिलेकै हुँदा सदर हुने ठहर्छ । प्रतिवादी रमेश कडरिया र वैजनाथ गुप्ताको हकमा निजहरु लागू औषध ओसार पसारमा संलग्न रहेको नदेखिएको र विक्री वितरणको कार्यमा पनि प्रत्यक्षतः संलग्न भएको नभई वीरेन्द्र रमानीया र सुवोध कुमारले भारतवाट ल्याएको लागू औषध खरिद विक्री गर्ने कार्यमा आफ्नो कोठालाई उपयोग गर्न दिएको एवं प्रतिवादी रमेश कडरियाले ग्राहकको खोजी गरी विक्री वितरणको कार्यमा सहयोग सम्म गरेको देखिंदा निजहरु सो लागू औषध विक्री वितरणको मतियार सम्म देखिंदा लागू औषध (नियन्त्रण) ऐन, २०३३ को दफा १७ बमोजिम सजाय हुने ठहर गर्नु पर्नेमा अभियोग दावी वमोजिम सजाय हुने ठहर्‍याएको फैसला त्रुटीपूर्ण हुँदा उल्टी हुन्छ । प्रतिवादी वैजनाथ गुप्ता र सुवोध कुमारका हकमा माननीय न्यायाधीश श्री बलिराम कुमारको रायसँग सहमत हुन नसकेकोले सर्वोच्च अदालत नियमावली, २०४९ को नियम ३(१) (क) अनुसार निर्णयको लागि पूर्ण इजलासमा पेश गर्नु भन्ने  समेत व्यहोराको माननीय न्यायाधीश श्री गोपालप्रसाद खत्रीको राय ।

            ४२.   प्रतिवादी वैजनाथ गुप्ताले लागू औषध (नियन्त्रण) ऐन, २०३३ को दफा ४ को खण्ड  (घ) (ङ) (च) को कसूर गरेको देखिंदा ऐ.ऐनको दफा १४(१) को (छ) को खण्ड (३) बमोजिम सजाय हुुने फैसला सदर हुने ठहर्छ । प्रतिवादी सुवोध कुमारको हकमा निजको साथबाट लागू औषध वरामद भएको देखिंदैन । विक्री वितरणमा संलग्न भएको तथ्य् पनि देखिन  नआई नाफा वाँडी खान सहमत भएको भन्ने देखिएको अवस्थामा निजलाई मतियार ठहर गरी लागू औषध  (नियन्त्रण) ऐन, २०३३ को दफा १७ बमोजिम सजाय हुनुपर्नेमा मुख्य कसूरदार ठहरगरी अभियोग दावी वमोजिम सजाय गर्ने गरेको शुरु फैसला सदर गरेको पुनरावेदन अदालत पाटनको फैसला त्रुटीपूर्ण हुँदा उल्टी हुने ठहर्छ । निजको हकमा सम्म माननीय न्यायधीश श्री गोपालप्रसाद खत्रीको रायसँग सहमत हुन नसकेकोले सर्वोच्च अदालत नियमावली, २०४९ को नियम ३(१) (क) अनुसार निर्णयको लागि पूर्ण इजलासमा पेश गर्नु भन्ने समेत व्यहोराको माननीय न्यायाधीश श्री वलिराम कुमारको राय सहितको यस अदालत संयुक्त इजलासको मिति २०६०।५।२६ को फैसला ।

४३.   नियमानुसार पेश भएको प्रस्तुत मुद्दामा पुनरावेदक प्रतिवादी सुवोध कुमार उर्फ पप्पुको तर्फवाट विद्वान अधिवक्ता श्री गुरुप्रसाद वरालले सुवोधवाट लागू औषध वरामद भएको छैन । वरामदी मुचुल्कामा निजको उपस्थिती छैन । निजका हकमा लागू औषध (नियन्त्रण) ऐन २०३३ को दफा १७ को व्यवस्था समेत आकर्षित हुने अवस्था नहुँदा सफाई पाउनु पर्दछ भन्ने समेत व्यहोराको र पुनरावेदक प्रतिवादी वैजनाथ गुप्ताको तर्फवाट विद्वान वरिष्ठ अधिवक्ता श्री कृष्णप्रसाद भण्डारी, विद्वान अधिवक्ता त्रय भीम वहादुर ढकाल, शेख महम्मद अव्वास, जीवनप्रसाद उपाध्याय समेतले निजको पसलवाट लागू औषध वरामद भएको हो । लागू औषध निजले वसार पसार गरेको संचय गरेको छैन । माग वमोजिमको कसूर निजले नगरेको हुँदा मतियार सम्म ठहर गरेको माननीय न्यायाधीश श्री गोपालप्रसाद खत्रीको राय सदर हुनुपर्छ भन्ने समेत व्यहोराको वहस जिकिर प्रस्तुत गर्नुभयो । पुनरावेदक प्रतिवादी रमेश कडरियाको तर्फवाट विद्वान अधिवक्ता श्री कृष्णप्रसाद सापकोटाले निज मतियार सम्म हुन् भन्ने कुरामा संयुक्त इजलासका वीच मत भिन्न भएको छैन । निजवाट लागू औषध वरामद नभएको हुँदा लागू औषध (नियन्त्रण) ऐन, २०३३ को दफा १२ अनुरुपको प्रमाण पुर्‍याउने भार निजको हकमा लागु हुँदैन । संयुक्त इजलासवाट सो ऐनको दफा १७ बमोजिम सजाय गर्ने गरेको निर्णय मिलेकै हुँदा सदर हुनुपर्दछ भन्ने समेत व्यहोराको  र प्रत्यर्थी वादी श्री ५ को सरकारको तर्फवाट विद्वान सह न्यायाधिवक्ता श्री दिनेशहरि अधिकारीले बरामद भएको लागू औषध खरिद गरी ल्याई विक्री गर्ने भन्ने सम्बन्धमा सबै प्रतिवादीहरुको संलग्नता रहेको छ । वीरेन्द्र र सुवोध नै खरिद गरी लिई आएको र रमेश, वैजनाथ समेतको संलग्नतामा विक्री गरी नाफा खाने उद्देश्यले ग्राहक खोजि गरेको र सोही  सिलसिलामा विरेन्द्र सहित रमेश, वैजनाथ पक्राउ परी निजहरुले देखाएको ठाउँवाटै सुवोध समेत पक्राउ परेको हुँदा निजहरु सवैको समान किसिमको संलग्नता रहेको समान रुपले पुष्टी हुन आएको छ । अनुसन्धानको क्रममा सवै प्रतिवादीहरु खरिद संचय र विक्री गरेमा सावित छन् । सो साविती वयान स्वइच्छाले गरेको होइन भन्ने निजहरुको कथन पुष्टी हुने आधार प्रमाण पेश गर्न सकेका छैनन् । निजहरुको साविती वयानलाई वरामदी मुचुल्काका मानिसहरुको वकपत्र समेतवाट पुष्टी गरेको अवस्था हुँदा सवै प्रतिवादीहरुलाई मांग अनुरुप सजाय हुनुपर्दछ भन्ने समेत व्यहोराको वहस जिकिर प्रस्तुत गर्नुभयो ।

            ४४.   आज निर्णय सुनाउन तोकिएको प्रस्तुत मुद्दामा दुवै तर्फका विद्वान कानून व्यवसायीहरुको बहस जिकिर र सम्बन्धित मिसिल कागजात समेत अध्ययन गरी निर्णय तर्फ विचार गर्दा प्रतिवादीहरु वैजनाथ गुप्ता, विरेन्द्रप्रसाद रमानिया, रमेश कडरिया, सुवोध कुमार उर्फ पप्पु र मंजित सिं सरदारलाई लागू औषध (नियन्त्रण) ऐन, २०३३ को दफा ४ को खण्ड (घ)(ङ) र (च) अनुसारको कसूर अपराधमा सोही ऐनको दफा १४(१) को खण्ड (छ)ं (३) वमोजिम सजाय हुन माँग दावी लिई अभियोगपत्र दायर भएको देखिन्छ । सो अभियोगपत्र अनुसार निज प्रतिवादीहरु मध्ये प्रतिवादी मंजित सिं सरदार मुद्दा फैसला हुनुपूर्व निजको मृत्यु भएकोले निजका हकमा केही वोलीरहन परेन भनी अन्य प्रतिवादीहरुका हकमा माग दावी अनुरुप कसूर गरेको ठहर गरी जनही १५ वर्ष कैद र ५ लाख रुपैया जरीवाना हुने ठहर गरेको शुरु फैसला उपर उल्लेखित ४ जना प्रतिवादीहरुको पुनरावेदन अदालत पाटनमा पुनरावेदन परेकोमा पुनरावेदन अदालत पाटनवाट शुरु फैसला सदर भए उपर सुवोध कुमार उर्फ पप्पु, रमेश कडरिया र वैजनाथ गुप्ताको यस अदालतमा पुनरावेदन परी पेश हुँदा संयुक्त इजलासका माननीय न्यायाधीशहरु प्रतिवादीहरु मध्ये कोही मूल वा मुख्य अभियुक्त र कोही मतियार भन्ने निक्र्यौलमा पुगी सजाय ठहरमा संयुक्त इजलासका वीच रायमा मतैक्य नभई निर्णयका लागी प्रस्तुत मुद्दा यस इजलास समक्ष पेश हुन आएको देखिन्छ ।

            ४५.   घटनाको वस्तुस्थिति र यी प्रतिवादीहरुको कसूरमा संलग्नता के कस्तो रहेछ भन्ने  कुरा अनुसन्धान तहकिकातवाट देखिएका तथ्य र निजहरु उपरको दावी समेतको रोहमा विश्लेषण हुने बिषय हो । प्रस्तुत मुद्दामा मुल कडीको रुपमा रहेको वरामदी मुचुल्का, जाहेरी प्रतिवेदन र यी प्रतिवादीहरुको वयान कागजात अध्ययन गर्दा काठमाडौ का.म.न.पा.वडा नं. ३१ स्थित पुतली सडक शंकर देव क्याम्पस अगाडी रहेको कुसुम राणाको घरमा भाडामा लिई मारुती कन्सर्न कपडाको होलसेल पसल खोली कपडाको कारोवार गर्ने वैजनाथ गुप्ताले आफनो पसल कोठामा भारत नरकटियागंज घर भएका सुवोध कुमार, भारत, दिल्ली तिर घर भएका वीरेन्द्रप्रसाद रमनिया, मोरङ्ग तिर घर भएका रमेश कडरिया समेतका व्यक्तिहरु लागू औषध खैरो हेरोइनको कारोवार गर्दैछन् भन्ने विशेष सुराकी प्राप्त हुन आएको तत्कालै निजहरु वसेको घर डेरा पसल खानतलासी गर्दा निजहरु डस्ना माथि वसीरहेका र निजहरुको वीचमा रहेको, कालो कलरको द्यभभ द्यबप  भन्ने हातमा झुण्ड्याउने सानो ह्याण्ड व्याग रहेको, सो झोला तलासी लिंदा झोला भित्र सेतो नरम प्लाष्टिकले वेरिएको अवस्थामा कपडाको पोका रहेको, सो पोकाको प्वाल सिल एक ठाउँवाट प्वाल पारी खोली हेर्दा भित्र खैरो हेरोइन १ के.जी. १० ग्राम फेला परेको भनी प्रतिवादीहरु वैजनाथ गुप्ता, रमेश कडरिया, विरेन्द्रप्रसाद रमानिया र सो घरका मालिक, वडा अध्यक्ष र अन्य व्यक्ति समेतको रोहवरमा वरामदी मुचुल्का भएको र सो मुचुल्कामा नै सुवोध कुमार भोटेवहाल स्थित निल गिरी गेष्टहाउसमा वसेको भन्ने समेत व्यहोरा उल्लेख भएको देखिन्छ । सो वरामदी मुचुल्काका प्रतिवादीहरुले खुलाई दिएको स्थानवाटै प्रतिवादी सुवोध कुमार पक्राउ भएको भन्ने व्यहोरा जाहेरी प्रतिवेदन समेतवाट खुलेको पाइन्छ । मौका वारदात मै पक्राउ परेका यी प्रतिवादीहरुको वयान हुँदा प्रतिवादी वैजनाथ गुप्ताले पक्राउ पर्नु ४ दिन अघी प्रतिवादी रमेश कडरियासँग पशुपती गौशालामा भेट भई निज रमेशले २ जना भारतीयले लागू औषध ल्याएका छन् विक्री गरे राम्रो फाइदा हुन्छ भनेकाले मेरो दोकानमा आउनु भनी आफूले भने अनुसार ०५२।१२।१८ गते रमेश कडरिया आई अलिकति नमूना दिई विक्री तपाईको दोकानमा नै गर्नुपर्ला भनेकाले विक्री गर्ने ठाउँ दिन मन्जूर गरेको र रु.७ लाख ५० हजारमा विक्री भएमा आफूले ७५ हजार रुपैया पाउने हुँदा सो अनुरुप ग्राहक तय गरेको भनी सो लागू औषध आफ्नो पसलमा राख्न मन्जुर गरी विक्री गर्न समेत सहमत भएको देखिन आउँछ । प्रतिवादी रमेश कडरियाको वयान हेर्दा वरामद भएको लागू औषध खैरो हेरोइन वीरेन्द्रप्रसाद रमानिया र सुवोध कुमार उर्फ पप्पुले भारतवाट ल्याएका, सो १ किलो १० ग्राम लागू औषध ७ लाख ५० हजार रुपैयाँमा आफू समेत भई विक्री गर्न लाग्दा एकैसाथ पक्राउ परेको, भोटे वहाल स्थित निलगिरीमा वसेका विरेन्द्र र सुवोधले आफूलाई लागू औषध विक्री गरेमा धेरै नाफा हुन्छ, १ किलोको २५ हजार कमिशन दिन्छु भनी सो को नमुना समेत दिएकाले चिन्हेका प्रतिवादी वैजनाथ गुप्ताकहाँ गई कुरा गरेको भनी सो लागू औषध विक्री गर्ने प्रयोजनको लागि नमूना समेत लिई प्रतिवादी रमेश कडरिया, वैजनाथ गुप्ता काँहा आफू गएमा सावित देखिन्छन् । त्यसै गरी प्रतिवादी वीरेन्द्रप्रसाद रमानियाले सो लागू औषध भारत नयाँ दिल्ली पहाडगंज सव्जी मन्डी वस्ने विर्मानी सिन्धी नाम गरेको व्यक्तिले नेपालमा यो लागू औषध हेरोइनको राम्रो व्यापार हुन्छ, नेपालमा लगी विक्री गर मलाई रु.५ लाख ल्याइदेउ वढी आएको तिमीले लिनु म घर वनाई दिन्छु, विवाह गराई दिन्छु भनेकाले लिई भारत विहार नरकटियागंजमा वस्ने सुवोध कुमार उर्फ पप्पुको घरमा आई काठमाडौंमा आई रमेश कडरियासँग सुवोध कुमारले भेटी वैजनाथ गुप्ता समेत भई विक्री गर्न ग्राहक खोजेको हो भनी सो लागू औषध विदेश भारतवाट खरिद गरी ओसार पसार संचय विक्रि गर्ने कार्यमा समेत आफू संलग्न भएको कुरा निज वीरेन्द्र प्रसादको वयान कागजवाट खुलेको देखिन्छ भने वीरेन्द्र रमानियाले व्यक्त गरेको तथ्य पुष्टी हुने कुरालाई समर्थन हुने व्यहोराको वयान गरी प्रतिवादी सुवोध कुमार उर्फ पप्पु समेत सो कार्यमा संलग्न भएको भन्ने कुरालाई स्वीकार गरेको देखिन्छ । मृतक प्रतिवादी मन्जित सरदारको वयान हेर्दा ०५३।१२।२२ गतेका दिन प्रतिवादीहरु मध्ये सुवोध कुमार उर्फ पप्पु र रमेश कडरिया मेरो सुन्धारा स्थित अचार पसलमा आई भेटेका र सोही स्थानमा रहेको मेरो पन्जावी गेष्ट हाउसमा वसी हामीले लागू औषध खैरे हेरोइन ल्याएका छौं ग्राहक खोज्नुहोस् भनेका, सो को भोलीपल्ट सुवोध कुमार एक्लै आई १ पुरिया स्याम्पल .(नमूना ) ल्याई मलाई दिई ग्राहक खोज्नु भनी राखी गएका भनी यी प्रतिवादीहरु सुवोध कुमार र रमेश कडरिया वरामद लागू औषध विक्री गर्ने गराउने कार्यमा सक्रिय रहेका तथ्य पुष्टी हुने गरी पोली वयान गरेको देखिन आउँछ ।

            ४६.   वरामद भएको भनिएको पदार्थको परीक्षण प्रतिवेदनमा सो पदार्थ  Narcotic drug diacetylmorphine (Heroin) भन्ने उल्लेख भएवाट सो वरामदी वस्तु लागू औषध खैरो हेरोइन रहेको तथ्यमा विवाद छैन । लागू औषध (नियन्त्रण) ऐन, २०३३ लागू औषधको खेती, उत्पादन, निर्माण, खरिद विक्री, सन्चय, ओसार पसार, सेवन तथा निकासी पैठारीमा नियन्त्रण गर्न बनेको देखिन्छ । सो ऐनको दफा ४ को खण्ड (घ) (ङ) (च) ले लागू औषधको विक्री वितरण गर्न, लागू औषधको निकासी वा पैठारी गर्न र लागू औषध खरिद, सन्चय वा ओसार पसार गर्न निषेध गरेको छ । त्यस्तो विक्री वितरण, निकासी पैठारी, सन्चय समेत गर्न निषेधित  गरिएको लागु पदार्थ कसैको साथमा फेला परेमा सो लागु पदार्थ यो ऐन र यस ऐन अन्तर्गत वनेको नियम वा जारी गरिएको आदेश वमोजिम प्राप्त गरेको वा राखेको  हो भन्ने कुराको प्रमाण निजले पेश गर्नुपर्ने छ । त्यस्तो प्रमाण पेश गर्न नसकेमा र अन्यथा प्रमाणित भएमा वाहेक निजले यस ऐन अन्तर्गत सजाय हुने अपराध गरेको मानिनेछ भन्ने व्यवस्था सोही ऐनको दफा १२ ले गरेको देखिन आउँछ । लागू औषध (नियन्त्रण) ऐन विशेष प्रकृतिको ऐन भएको र विशेष प्रकृतिको ऐनले गरेको व्यवस्था सोही अनुरुप कार्यान्वयन भएको हुनुपर्छ । सो दफा १२ को व्यवस्थाले सो ऐनको दफा ४ ले निषेधित गरिएका कार्य गरेको भन्ने देखिन आएमा निषेधित कार्य गरेको आरोपित व्यक्तिले वरामद भएको लागू औषध वा पदार्थ यो यति कारणले ऐन सम्मत तरिकाले राखेको भन्ने कुराको पुष्टि गर्ने कार्य वा प्रमाणको दायित्व त्यसरी निषेधित वस्तु राख्ने व्यक्तिमा नै रहने हुन्छ । अनुसन्धान तहकिकातवाट कसैको शरीर, कोठा वा साथवाट वरामद भएको पदार्थ निषेधित तवरवाट खरिद विक्री ओसार पसार आदि गरेको वा सो गर्न भनी संचय गरेको देखिन आएमा केवल अदालतको वयानमा सजायको भागी हुन नपरोस् भनी स्वइच्छाले वरामदी लागू औषध आफ्नो होइन कहाँ वाट आयो भन्ने जस्ता कथन राखी आरोपित कसूरमा इन्कारी हुँदैंमा संकलित सवुद प्रमाण र घटनाको कडीवाट पुष्टी भइरहेको विषय वस्तुलाई अन्यथा भनी अनुमान गर्न मिल्दैन । प्रस्तुत वारदातमा प्रतिवादी वीरेन्द्र रमानिया देखि मंजित सरदारको अनुसन्धानका क्रममा भएका बयान, बरामदी मुचुल्काका मानिस र प्रतिवेदकहरुको यी प्रतिवादीहरुको रोहवरमा सो लागू औषध वरामद गरिएको हो भन्ने बकपत्र, बरामद भएको घरको घरधनी समेतको कागज समेतका प्रमाणबाट आरोपित सबै प्रतिवादीहरु बरामद भएको लागु औैषध विदेश भारतबाट खरिद गरी लिई आई नेपालमा बिक्री वितरण गर्ने प्रयोजनका लागि संचय ओसार पसार समेतको कार्य गर्नमा समान रुपले लागेको भन्ने कुरा  पुष्टि भइरहेको देखिन्छ । अदालतमा प्रतिवादीहरुको इन्कारी रहे पनि यी प्रतिवादीहरुलाई प्रहरीले अन्य कुन के कारणले आफूहरुलाई पोलेको, त्यसरी आरोपित गर्न अनुसन्धान अधिकारी उद्यत हुनु पर्ने अवस्था किन आयो ? सो लागू औषध निजहरुबाट बरामद नभएको भए को ? कहांबाट कसरी बरामद भयो भन्ने कुरा नदेखाई अनुसन्धानबाट क्रमवद्ध रुपमा सबै प्रतिवादीहरु सो निषेधित पदार्थ बिक्री वितरण समेतको कार्यमा लागेको पुष्टि भई रहेको अवस्थामा अन्यथा निर्णय गर्नु पर्ने वा निजहरुको संलग्नतामा पृथक अवस्था रहेको भन्ने अनुमान गर्नु पर्ने कारण प्रतिवादीहरुले देखाउन सकेको पाइदैन ।

४७.   शुरु काठमाडौं जिल्ला अदालतको निर्णय सदर गरेको फैसला उपर वीरेन्द्रप्रसाद रमानियाको पुनरावेदन नपरेको हुँदा निजका हकमा अव केही विवेचना गरी रहनु पर्ने अवस्था देखिदैन । पुनरावेदक प्रतिवादीहरु सुवोध कुमार उर्फ पप्पु, रमेश कडरिया र वैजनाथ गुप्ता समेतका प्रतिवादीहरुले उपरोक्त विवेचनाबाट बरामद भएको लागू औषध लागू औषध (नियन्त्रण) ऐन, २०३३ को दफा  ४ को खण्ड (घ)(ङ) (च) मा वर्णित कार्य गरेको शिद्ध हुन आएकोले सो अभियोगमा दावी बमोजिम  सोही  ऐनको दफा १४(१)(छ)(३)  बमोजिम जनही १५ वर्ष कैद र ५ लाख रुपैयाँ जरिवाना हुने ठहर गरेको शुरु जिल्ला अदालतको फैसला सदर गरेको पुनरावेदन अदालत पाटनको फैसला मिलेकै देखिंदा सो फैसला सदर हुन्छ । पुनरावेदक प्रतिवादीहरुको पुनरावेदन जिकिर पुग्न सक्दैन ।

४८.   संयुक्त इजलासका माननीय न्यायाधीशहरु मध्ये माननीय न्यायाधीश श्री गोपालप्रसाद खत्रीले रमेश कडरिया र वैजनाथ गुप्तालाई मतियार र माननीय न्यायाधीश श्री बलिराम कुमारले सुवोध कुमार उर्फ पप्पुलाई मतियार मानी लागू औषध (नियन्त्रण) ऐन, २०३३ को दफा  १७ बमोजिम सजायं हुने भनी व्यक्त गरेको दुवै राय मिलेको नदेखिंदा सो रायसँग सहमत हुन सकिएन । शुरु फैसलाको तपसिलको लगत बमोजिमकै कैद जरीवाना असूल गर्नु भनी शुरु काठमाण्डौ जिल्ला अदालतमा लेखी पठाई नियमानुसार मिसिल बुझाई दिनु ।

 

उपर्युक्त रायमा सहमत छौं ।

 

न्या.अनुपराज शर्मा

न्या.रामप्रसाद श्रेष्ठ

 

इति सम्बत् २०६१ साल असार ३गते रोज ५ शुभम् .............. ।

 

 

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु