निर्णय नं. ७३४६ - कर्तव्य ज्यान ।

निर्णय नं.७३४६ ने.का.प.२०६१ अङ्क ३
संयुक्त इजलास
माननीय न्यायाधीश श्री दिलीपकुमार पौडेल
माननीय न्यायाधीश श्री रामनगिना सिंह
संवत् २०५९ सालको फौ.पु.नं. ३०७१
फैसला मितिः२०६०।१२।६।६
मुद्दाः कर्तव्य ज्यान ।
पुनरावेदक
प्रतिवादीः जि.झापा गौरादह गा.वि.स.वा.नं. २ घर भै हाल कारागारशाखा मोरङ्गमा थुनामा रहेका खड्ग वहादुर दर्जी
विरुद्ध
प्रत्यर्थी
वादीः पदम वहादुर दर्जीको जाहेरीले श्री ५ को सरकार
§ आफ्नै श्रीमतीलाई खुकुरी जस्तो जोखिमपूर्ण हतियारले प्रहार गरे पश्चात प्रतिवादी स्वयंले निजलाई उपचार गर्ने वा वचाउने उद्देश्यले कुनै उपाय अवलम्वन गर्ने प्रयास गरेको अवस्था पनि मिसिलवाट देखिन नआई आफु फरार रही पछि पक्राउ परेको स्थितिमा ज्यान सम्वन्धीको १३(१) नं. बमोजिमको कसूर कायम गरी सोही नम्वर बमोजिम सर्वश्वसहित जन्मकैदको सजायँ हुने गरेको शुरु र पुनरावेदन अदालत समेतको फैसला अन्यथा देखिन नआउँने ।
§ ज्यानै मार्नुपर्नेसम्मको रिसइवि भै पूर्व योजना र तयारी गरेको अवस्था समेत नदेखिनुका साथै प्रतिवादी र मृतक दुवैले मदिरा सेवन गरेको अवस्था दुईजना वीच बादविवाद भएको स्थितिमा खुकुरी प्रहार गरेको परिस्थिति समेतलाई मध्यनजर गर्दा अ.वं. १८८ नं. बमोजिम पुनरावेदन अदालतले १० वर्ष कैद हुने भनि व्यक्त गरेको राय भन्दा अझ कम सजायँ हुनुपर्छ भनी प्रतिवादीले लिएको जिकिर र विद्वान कानून व्यवसायीको वहस जिकिर समेतसंग सहमत हुन नसकिने ।
(प्र.नं. १९)
पुनरावेदक प्रतिवादी तर्फवाटःविद्वान अधिवक्ता श्री रामप्रसाद अर्याल
प्रत्यर्थी वादी तर्फवाटः
अवलम्वित नजिरः
फैसला
न्या.दिलीपकुमार पौडेलः पुनरावेदन अदालत विराटनगरवाट मिति २०५९।१।१६ मा भएको फैसला उपर न्याय प्रशासन ऐन, २०४८ को दफा ९ अन्तर्गत प्रतिवादी तर्फवाट पुनरावेदन पर्न आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य एवं निर्णय यसप्रकार रहेको छ :–
२. मिति २०५८।४।२८ गते राती मेरो दाजु खडग वहादुर दर्जीले आफ्नै श्रीमती काली दर्जीलाई खुकुरीले गर्दनमा प्रहार गरी घाईते बनाएकोले घाइते काली दर्जीको उपचार हुंदाहुंदै मृत्यु भएकोले कानून बमोजिम कारवाही गरी पाउँ भन्ने समेत व्यहोराको पदमवहादुर दर्जीको जाहेरी ।
३. रुद्रघाँटी सम्म उपचारको क्रममा टाँका लगाएको टाउकोमा टाँका लगाएको घाटीमा ४ वटा टाका लगाई सिलाई गरेको अवस्थामा रहेको भन्ने समेत व्यहोराको मृतक काली दर्जीको लाश प्रकृति विवरण ।
४. डाँगीहाट १ स्थित पूर्वमा केराको वोट पश्चिम खेतवारी उत्तर दक्षिण बाटो यती ४ किल्ला भित्रको पर्ने वाटोमा काली दर्जी भन्ने फुलमाया दर्जीलाई काटेको भन्ने घटनास्थल प्रकृति मुचुल्का ।
५. मोरङ्ग डाँगीहाट १ स्थित पूर्वमा बाटो पश्चिममा धानखेत उत्तरमा सानो दह दक्षिण सिसौको बोट यती ४ किल्ला भित्र खेतमा हिड्दा खुट्टा गाडीने हिलो सो खेतमा काली भन्ने फुलमाया दर्जीलाई प्रतिवादी खडग वहादुर दर्जीले खुकुरीले काटी घाईते वनाएको फुलमायालाई काट्न प्रयोग गरेको खुकुरी वरामद भएको भन्ने समेत व्यहोराको खुकुरी वरामदी मुचुल्का ।
६. श्रीमती काली भन्ने फुलमाया दर्जीलाई खुकुरीले काटी मारी फरार रहेको हो । मदिरा जाँड खाएको श्रीमतीसंग विवाद हुंदा खुकुरीले काटी मारेको र भागेको हो भन्ने समेत व्यहोराको अधिकार प्राप्त अधिकारी समक्ष खड्ग वहादुर दर्जीको वयान ।
७. प्रतिवादी खड्ग वहादुर दर्जीले आप्mनो श्रीमतीलाई खुकुरीले काटी लडाई मरणासन्न अवस्थामा छाडेको, गाउलेहरुले उपचारको लागि एम्वुलेन्सद्वारा धरान घोपा क्याम्पमा लगी उपचार गराउँदा गराउदै फुलमाया दर्जीको मृत्यु भएको भन्ने समेत व्यहोराको वस्तुस्थिति मुचुल्का ।
८. अभियुक्त खड्गवहादुर दर्जीले श्रीमतीलाई खुकुरीले काटी फरार रहेको र म समेतले उपचार गराउन लैजादा धरान अस्पतालमा मृत्यु भएको हो भन्ने समेत व्यहोराको घनश्याम दर्जी र विर वहादुर तामाङ्ग समेतले गरि दिएको छुट्टाछुट्टै कागज ।
९. प्रतिवादी खड्गवहादुर दर्जीले आफ्नै श्रीमती काली भन्ने फुलमाया दर्जीलाई मिति २०५८।४।२८ गते खुकुरीले काटी सोही पीरले मिति ०५८।४।३० गते मरेकोले मु.ऐन ज्यान सम्वन्धी महलको १ नं. अनुसारको कसूर गरेको पुष्टी हुन आएकोले निज खडग वहादुर दर्जीलाई सोही महलको १३ नं. को देहाय १ अनुसार सजायँ हुन माँग दावी लिई मिसिल मानिसलाई यसै अभियोगपत्रसाथ पेश गरिएको छ भन्ने अभियोगपत्र ।
१०. मिति २०५८।४।२८ गते वेलुका ७.३० वजेको समयमा मैले रिसको वेग थाम्न नसकी २ चोटी श्रीमती काली दर्जीको गर्धनमा खुकुरीले प्रहार गरी हत्या गरेको हुँ भन्ने समेत व्यहोराको प्रतिवादी खडग वहादुर दर्जीले अदालतमा गरेको वयान ।
११. Cause of death is due to hemorrhage shock produced by chop wounds भन्ने समेत व्यहोराको शव परीक्षण प्रतिवेदन ।
१२. यि प्रतिवादी खड्गवहादुर दर्जीले आफ्नै श्रीमतीलाई खुकुरी प्रहार गरी मारेको देखिन आएकोले प्रतिवादीलाई अभियोग माग दावी बमोजिम ज्यान सम्वन्धी महलको १३ (१) नं. बमोजिम सर्वस्वसहित जन्मकैद हुने ठहर्छ । अपराधको अवस्था हेर्दा जोखिम हतियार भए पनि पीडितलेनै निकालेर ल्याएकी र रक्सीको शुरमा श्रीमतीले लगाएको लान्छनाको आवेशमा आएकोवाट अपराध घटन गएको र सो कुरालाई प्रतिवादीले लुकाउने ढाँटने काम नगरी व्यक्त गरेको देखिंदा ठहर बमोजिम सजायँ गर्दा चर्को हुने लागेकाले प्रतिवादीलाई १० (दश) वर्ष कैद सजायको लागि अ.वं. १८८ नं. बमोजिम राय व्यक्त समेत गरिएको मिति २०५८ साल भाद्र २८ गतेको मोरङ्ग जिल्ला अदालतको फैसला ।
१३. म वाट भएको कार्य अपराधिक मनसाय थिएन मैले वयान गर्दाका वखत मेरो श्रीमतीलाई ज्यान मार्छु भन्ने आसयले प्रहार गरेको नभै तत्काल रिस उठेर वाझाबाझ गर्दा श्रीमतीलेनै खुकुरी दिई लौ मार भनेको रिस थाम्न नसकी प्रहार गरेको भनी वयान गरेको छु । त्यसलाई स्वीकारोक्ति मात्र भनिन्छ । फौज्दारी न्यायमा साविति र स्वीकारोक्ति वेगलवेगल कुरा हुन । एकाध तथ्यको स्वीकारोक्तिलाई पुरै अपराधमा साविति भएको भन्ने कुरालाईनै मुख्य आधार लिई सवूद प्रमाण समेत नवुझी अदालती वन्दोवस्तको १८४ (क) नं. विपरीत र फौजदारी न्यायको सिद्धान्त विपरीत भएको शुरुको फैसला गल्ती हुंदा वदर गरी अभियोग दावीवाट सफाइ पाउँ भन्ने समेत व्यहोराको प्रतिवादीको पुनरावेदन अदालत विराटनगरमा पुनरावेदन पत्र ।
१४. मृतक काली दर्जीको मृत्यु प्रतिवादी खडवहादुर दर्जीकै कर्तव्यवाट भएको यस स्थितिमा निजलाई ज्यान सम्वन्धी महलको १३ (१) नं. बमोजिम सर्वस्व सहित जन्मकैद हुने ठहराई अ.वं. १८८ नं. अनुसार दश वर्ष कैद गर्ने राय समेत लगाएको मोरङ्ग जिल्ला अदालतको फैसला मिलेकै देखिंदा मनासिव हुने ठहर्छ भन्ने समेत व्यहोराको पुनरावेदन अदालत विराटनगरको मिति ०५९।१।१६ को फैसला ।
१५. मनसाय तत्वको अभाव रहेको रिस थाम्न नसकी आवेशमा आई साथै आत्मरक्षा गरे भएको क्रममा समेत घटना भएको हुंदा अ.वं. १८८ नं. को समुचित प्रयोग गर्नुपर्नेमा सो नगरेको त्रुटीपूर्ण फैसला उल्टाई इन्साफ पाउँ भन्ने समेत व्यहोराको प्रतिवादी तर्फवाट यस अदालतमा परेको पुनरावेदन पत्र ।
१६. नियम बमोजिम पेशी सूचीमा चढी पेश हुन आएको प्रस्तुत मुद्दामा पुनरावेदक प्रतिवादीका तर्फवाट उपस्थित रहनु भएका विद्वान अधिवक्ता श्री रामप्रसाद अर्यालले प्रतिवादी तथा मृतक दुवैले मादक पदार्थ सेवन गरेको अवस्थामा मृतकलेनै खुकुरी समाएको स्थितिमा वचाउ गर्ने उद्देश्य समेत लिई सोही खुकुरी प्रहार गर्दा मृतकको मृत्यु भएको हो प्रतिवादीले इमान्दारीपूर्वक भएको व्यहोरा वयान गरेको हुंदा अझ उदारता पूर्वक अ.वं. १८८ नं. बमोजिम कम सजाय हुन अनुरोध छ भनी गर्नु भएको वहस सुनियो ।
१७. पुनरावेदन सहितको मिसिल कागजात अध्ययन गरी विद्वान कानून व्यवसायीको वहस जिकिर समेत मध्यनजर गर्दा प्रस्तुत मुद्दामा पुनरावेदन अदालत विराटनगरवाट भएको फैसला मिले नमिलेको के रहेछ भनी निर्णय गर्नुपर्ने हुन आयो ।
१८. यसमा श्रीमती काली भन्ने फुलमाया दर्जीलाई खुकुरी प्रहार गरेको चोटवाट निजको मृत्यु भएको हुंदा मुलुकी ऐन ज्यान सम्वन्धी महलको १ नं. विपरीतको कसूरमा १३(१) नं. बमोजिम सजायँको मागदावी लिई अभियोगपत्र दायर भएको यस मुद्दामा अभियोग माग बमोजिमको कसूरमा प्रतिवादी खड्गवहादुर दर्जीलाई सर्वस्वसहित जन्मकैदको सजाय हुने ठहराई अ.वं. १८८ नं. बमोजिम १० वर्ष कैद गर्ने राय समेत व्यक्त गरेको शुरु मोरङ्ग जिल्ला अदालतको फैसला सदर गर्ने गरेको पुनरावेदन अदालत विराटनगरको फैसला उपर प्रतिवादी पक्षवाट यस अदालतमा पुनरावेदन पर्न आएको रहेछ ।
१९. मृतक काली भन्ने फुलमाया दर्जीलाई आफुले प्रहार गरेको खुकुरीको चोटबाट वि.पि. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचार गर्दागर्दैको अवस्थामा मृत्यु भएको हो भन्ने व्यहोरामा प्रतिवादीले अनुसन्धानको क्रममा एवं शुरु अदालत समक्ष समेत सावित भै वयान गरेको, निजको वयान व्यहोरालाई समर्थन गर्ने गरी अनुसन्धानको क्रममा बुझिएका व्यक्तिले कागज गरिदिएको एवं शव परीक्षण प्रतिवेदनमा घाँटीको पछाडि दायाँ पट्टी Rt. Parital Region घाँटीको अगाडि पट्टी समेत काटिएको विभिन्न नापका घाउ भएको र मृत्युको कारणमा काटिएको घाउवाट अत्यधिक रक्तश्राव भै मृत्यु भएको भन्ने व्यहोरा उल्लिखित शव परीक्षण प्रतिवेदन समेतले पुष्टि गरेकै देखिंदा यी प्रतिवादीको कर्तव्यले मृतकको मृत्यु भएको हो भन्ने तथ्यमा विवाद देखिएन । प्रतिवादीले आप्mनो कर्तव्यले मृतकको मृत्यु भएको होइन भनी पुनरावेदनपत्रमा समेत जिकिर लिएको नभै मृतकलेनै कुट्न काट्नकै लागि खुकुरी लिएको देखेर खुकुरी खोसी आप्mनो रिसलाई कावु गर्न नसकी निजको खुकुरीको प्रहारवाट वच्नको लागि पनि मैले निज मृतकलाई खुकुरी प्रहार गरेको हुंदा १३ (१) नं. बमोजिम सजाय हुनुपर्ने होइन अ.वं. १८८ नं. को समुचित प्रयोग होस भन्ने सम्म जिकिर लिएको देखिन्छ । त्यसरी मृतकलेनै काट्न मार्न खुकुरी लिई जाइ लागेको भनि पुनरावेदन जिकिर लिने प्रतिवादीले सोको कुनै सवूत प्रमाण गुजार्न सकेको देखिदैन भने प्रत्यक्षदर्शी कोही नभएको यस वारदात सम्वन्धमा शुरु अदालत समक्ष वयान गर्दा समेत उसैले मलाई खुकुरी दिई “लु काट वजिया” भनेकोले मैले पनि सोही खुकुरीले २ चोटी हिर्काएको भनी वयान गरेको देखिन्छ । आफ्नै श्रीमतीलाई खुकुरी जस्तो जोखिमपूर्ण हतियारले प्रहार गरे पश्चात प्रतिवादी स्वयंले निजलाई उपचार गर्ने वा वचाउने उद्देश्यले कुनै उपाय अवलम्वन गर्ने प्रयास गरेको अवस्था पनि मिसिलवाट देखिन नआई आफु फरार रही पछि पक्राउ परेको स्थितिमा ज्यान सम्वन्धीको १३(१) न. बमोजिमको कसूर कायम गरी सोही नम्वर बमोजिम सर्वश्व सहित जन्मकैदको सजायँ हुने गरेको शुरु र पुनरावेदन अदालत समेतको फैसला अन्यथा देखिन आएन । तर ज्यानै मार्नुपर्नेसम्मको रिसइवि भै पूर्व योजना र तयारी गरेको अवस्था समेत नदेखिनुका साथै प्रतिवादी र मृतक दुवैले मदिरा सेवन गरेको अवस्था दुईजना वीच बादविवाद भएको स्थितिमा खुकुरी प्रहार गरेको परिस्थिति समेतलाई मध्यनजर गर्दा अ.वं. १८८ नं. बमोजिम पुनरावेदन अदालतले १० वर्ष कैद हुने भनि व्यक्त गरेको राय भन्दा अझ कम सजायँ हुनुपर्छ भनी प्रतिवादीले लिएको जिकिर र विद्वान कानून व्यवसायीको वहस जिकिर समेत संग सहमत हुन सकिएन । तसर्थ अभियोग माग दावी बमोजिम प्रतिवादी खड्गवहादुर दर्जीलाई ज्यान सम्वन्धी महलको १३(१) नं. बमोजिम सर्वस्वसहित जन्मकैदको सजाय हुने ठह¥याई मृतक र प्रतिवादी दुवै जनाले मादक पदार्थ सेवन गरेको र वादविवाद भएको झोकमा मृतकलेनै ल्याएको खुकुरीले प्रहार गरेको समेत अवस्थामा अ.वं. १८८ नं. अनुसार १० वर्ष कैद गर्ने राय व्यक्त गरेको शुरु मोरङ्ग जिल्ला अदालतको फैसला सदर गर्ने गरेको पुनरावेदन अदालत विराटनगरको मिति ०५९।१।१६ को फैसला मा असहमति जनाउन पर्ने अवस्था नहुंदा सदर हुने ठहर्छ । पुनरावेदक प्रतिवादीको पुनरावेदन जिकिर पुग्न सक्तैन । दायरीवाट यस मुद्दाको लगत कट्टा गरी मिसिल नियमानुसार वुझाई दिनु।
उक्त रायमा म सहमत छु ।
न्या.रामनगिना सिंह
इति सम्वत् २०६० साल चैत्र ६ गते रोज ६ शुभम्.....................