निर्णय नं. ७३५१ - हक निखनाई पाउँ ।

निर्णय नं.७३५१ ने.का.प.२०६१ अङ्क ३
संयुक्त इजलास
माननीय न्यायाधीश श्री चन्द्रप्रसाद पराजुली
माननीय न्यायाधीश श्री बद्री कुमार बस्नेत
सम्बत् २०५६ सालको दे.पु.नं.५२३५
फैसला मितिः २०६१।३।१७।५
मुद्दा : हक निखनाई पाउँ ।
पुनरावेदक
वादीः कास्की जिल्ला पोखरा उपमहानगरपालिका वडा नं.१५ बस्ने धर्मराज भण्डारी
बिरुद्ध
प्रत्यर्थी
वादीः ऐ.ऐ.घर भै हाल अर्मला गा.वि.स.वडा नं.६ बस्ने चन्द्र कुमारी भण्डारी समेत
§ अदालतबाट मिति २०५१।९।२ मा भै आएको नक्सा हेर्दा न.नं.२८ को मुल कुलोबाट न.नं.३७ को कुलोको पानी पहिले वादीको न.नं.३० को जग्गामा लाग्ने त्यसपछि मात्र निखनाई पाउँ भनी दावी लिएको न.नं.३५ को कि.नं.१७५८ को जग्गामा लाग्ने देखिंदा वादीको न.नं.३० को जग्गामा सिचाई गर्न दावीको कि.नं.१७५८ को जग्गाले कुनै असर पर्न सक्ने स्थिति देखिंदैन साथै न.नं.३५ को दावीको जग्गा र न.नं.३० को वादीको जग्गाको छुट्टाछुट्टै अस्तित्व रहेभएको देखिनुको साथै मुल कुलो न.नं.२८ को छेउ भै वादीको न.नं.३० को जग्गा भै सो देखि पूर्व विवादित कि.नं.१७५८ न.नं.३५ को जग्गा रहेभएको कुरा नक्साबाट देखिन आएको अबस्थामा दावीको न.नं.३५ को जग्गा भएर वादीको न.नं.३० को जग्गामा जानुपर्ने रहेछ भन्न मिल्ने अबस्था नदेखिने ।
§ दावीको न.नं.४३ को कि.नं.१७६२ को जग्गा भन्दा उत्तरतर्फ वादीको न.नं.४४ को कि.नं.१७६३ को जग्गा देखिई सो को पूर्वतर्फ न.नं.४६ को कुलो देखिई सो कुलो वादीको न.नं.४४ को जग्गा हुँदै दावीको न.नं.४३ को जग्गासम्म गएको देखिंदा वादीलाई आफ्नो खेतमा सिचाई गर्न दावीको न.नं.४३ को जग्गासँग कुनै सरोकार नै राख्नुपर्ने अबस्था नदेखिंदा वादीको पुनरावेदन जिकिरसँग सहमत हुनुपर्ने अबस्था नेदेखिने ।
§ वादीले आफ्नो जग्गामा सिचाई गर्दा दावीको कि.नं.१७५८ र १७६२ को जग्गाको सहयोग लिनुपर्ने र सन्धीसर्पन समेत परेको अबस्था नदेखिंदा उल्लेखित दुई कित्ता जग्गा वादीलाई लेनदेन व्यवहारको ११ नं.बमोजिम सन्धीसर्पन परेको भन्न नमिल्ने हुँदा हक निखनाई पाउँ भन्ने वादी दावी पुग्न नसक्ने ठहराएको पुनरावेदन अदालत पोखराको फैसला मिलेकै देखिंदा सदर हुने ।
(प्र.नं. १४ र १५)
पुनरावेदक वादी तर्फवाटः विद्वान अधिवक्ता श्री मातृकाप्रसाद निरौला
प्रत्यर्थी प्रतिवादी तर्फवाटः
अवलम्वित नजिरः
फैसला
न्या.चन्द्रप्रसाद पराजुलीः पुनरावेदन अदालत पोखराको मिति २०५५।८।२३ को फैसला उपर वादीको न्याय प्रशासन ऐन, २०४८ को दफा ९ बमोजिम यस अदालतमा पुनरावेदन पर्न आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य र निर्णय यसप्रकार छः-
२. विपक्षी चन्द्र कुमारीले म सँग अंश पाउने ठहरी वण्डा छुट्टयाइएका कास्की जिल्ला साविक छिनेडाँडा गा.पं.वडा नं.४ मा पर्ने कि.नं.१७५८ को क्षेत्रफल १–०–२–२ को कित्ता १ ऐ.को कि.नं.१७६२ को क्षेत्रफल १–०–१–२ को कित्ता ऐ.वडा नं.९ मा पर्ने कि.नं.१५२७ को क्षेत्रफल १–७–०–० को कित्ता १ ऐ.ऐ.मा पर्ने कि.नं.१५०७ क्षेत्रफल ०–१२–०–० र सो मा पर्ने आधि घर समेतको मिति २०५०।७।२५ मा दिने चन्द्र कुमारी भण्डारी लिने भक्तवहादुर थापा भै राजिनामा लिनुदिनु गरेको जग्गा मलाई सन्धीसर्पन पर्ने भएको हुँदा निखनाई पाउँ भन्ने सम्बन्धमा मालपोत कार्यालय कास्कीमा थैली धरौटी राखी निवेदन गरेकोमा सन्धीसर्पन पर्दैन भनी थैली बुझि लिन इन्कार गरेकाले प्रमाण बुझी इन्साफ दिनुपर्ने देखिन आएकोले ३५ दिन भित्र श्री कास्की जिल्ला अदालतमा नालेस गर्न जानु भनी मालपोत कार्यालय कास्कीले सुनाएको म्यादै भित्र फिराद गर्न आएको छु । विपक्षीहरुले लिनुदिनु गरेको थैली र रजिष्ट्रेशन दस्तुर विपक्षी मध्येका भक्तवहादुर थापालाई बुझाई उक्त जग्गाहरु मेरो नाउँमा निखनाई पाउँ भन्ने समेत व्यहोराको फिराद दावी रहेछ ।
३. विपक्षीको जग्गामा हाम्रो जग्गाको सांध जोडिएकोले मात्र दुःख दिने नियत लिनु भएको हो । उल्लेखित चारै कित्ताबाट विपक्षीलाई कुलो पानी निकास र घर समेतको कुनै सन्धीसर्पन पर्दैन । तसर्थ मिति २०५०।७।२५।२ को पारित राजिनामाको लिखत सदर कायम राखी झुठ्ठा फिराद दावीबाट अलग फुर्सद पाउँ भन्ने समेत व्यहोराको चन्द्र कुमारी भण्डारी र भक्तवहादुर थापा क्षेत्रीको संयुक्त प्रतिउत्तर जिकिर ।
४. आदेशानुसार बुझिएका वादीका साक्षी चिरञ्जिवी थापा, घनश्याम गौतम, बिन्दु कुमार थापा, अम्बरवहादुर थापा र प्रतिवादीका साक्षी भक्तवहादुर खड्का तथा तिर्थवहादुर वानियाको बकपत्रको साथै मिति २०५१।९।२ मा डोरबाट भै आएको नक्सा मुचुल्का समेत मिसिल संलग्न ।
५. राजिनामामा उल्लेखित चारै कि.नं.हरुको जग्गाको यी वादी सन्धीसर्पन पर्ने हकवाला देखिन आएको हुँदा लेनदेन व्यवहारको ११ नं.अनुसार वादी दावी अनुरुप वादी दावीको राजिनामाको थैली विपक्षी भक्तवहादुरलाई बुझाई जग्गा निखनाई लिन पाउने ठहर्छ भन्ने समेत व्यहोराको शुरु कास्की जिल्ला अदालतको २०५४।२।३० को फैसला ।
६. शुरु फैसलामा चित्त नबुझेकाले पुनरावेदन गरेका छौं । विपक्षीको जग्गा हामी पुनरावेदक प्रतिवादीको जग्गासँग आठो जोडिएको बाहेक कही कतै पनि विपक्षीलाई सन्धीसर्पन पर्न आउँदैन । विपक्षीलाई निकास बाटो वा कुलो पानीमा कुनै पनि प्रकारको अप्ठ्यारो र अवरोध खडा हुँदैन । त्यस्तो शुरु जिल्ला अदालतबाट प्रमाणको न्यायोचित मूल्याङ्कन नगरी हचुवा आधारमा सन्धीसर्पन पर्ने जग्गालाई सन्धीसर्पन पर्ने भने ठहर गरेको फैसला बदर गरी पाउँ भन्ने समेत व्यहोरा चन्द्र कुमारी भण्डारी र भक्तवहादुर थापा क्षेत्रीको एउटै पुनरावेदन पत्र ।
७. यसमा भएको नक्सा मुचुल्कामा प्रत्यर्थी वादीको जग्गालाई बाटो घाटो, तागोतगारो, पानीपधेरा, बन जंगल आदिबाट असजिलो अबस्था नपरी अलग अस्तित्व देखिएको परिप्रेक्ष्यमा शुरु जिल्ला अदालतको फैसला फरक पर्ने देखिंदा छलफलका लागि प्रत्यर्थी झिकाई नियमानुसार पेश गर्नु भन्ने समेत व्यहोराको पुनरावेदन अदालतको मिति २०५५।५।२३ को आदेश ।
८. कि.नं.१५०७ मा भएको घर जग्गा वादीले निखनी लिन पाउने साथै कि.नं.१५२७ को जग्गाको दुवै तिर वादीको जग्गा भै वादीको जग्गामा जान कि.नं.१५२७ भै जानुपर्ने हुँदा सो समेत निखनी लिने पाउने ठहर्छ सो बाहेक १७५८, १७६२ जग्गा वादीले निखनी लिन नपाउने देखिंदा सो समेत निखन्न पाउने ठहराएको शुरु कास्की जिल्ला अदालतको फैसला सो हदसम्म उल्टी हुने ठहर्छ भन्ने समेत व्यहोराको पुनरावेदन अदालत पोखराको फैसला ।
९. विपक्षी मध्येकी चन्द्र कुमारी मेरी खास अंशियार भएकीले निजको र मेरो जग्गा जहाँसुकै पनि सांधमा नै हुने अबस्था भएकोमा भै आएको नक्साबाट समेत कि.नं.१५७८ र १७६२ को जग्गा मेरो अति नै सन्धीसर्पन पर्ने हुँदा सो जग्गा समेत निखन्न पाउने भनी शुरु जिल्ला अदालतले गरेको फैसला न्यायको रोहमा उचित नै देखिंदा देखिदै पनि कि.नं.१५७८ र १७६२ को जग्गाको हकसम्ममा निखन्न नपाउने भनी गरेको पुनरावेदनको फैसला बदर गरी पाउँ भन्ने धर्मराज भण्डारीको पुनरावेदन पत्र ।
१०. यसमा प्रस्तुत विवादित जग्गा साविकमा अंश मुद्दाबाट प्रतिवादी मध्येकी चन्द्र कुमारीले प्राप्त गरेको जग्गा भएको तथा समग्र जग्गाको मूल्य समेत एकमुष्ट राखी मिति २०५०।७।२५ मा लिखित पास भै रहेको अबस्थामा सन्धीसर्पन पर्दैन भनी आंशिक रुपमा हक सफा गर्ने गरेको पुनरावेदन अदालत पोखराको इन्साफ फरक पर्ने हुँदा अ.वं.२०२ नं.बमोजिम विपक्षी झिकाई पेश गर्नु भन्ने यस अदालतको आदेश ।
११. नियम बमोजिम दैनिक मुद्दा पेशी सूचीमा चढी पेश हुन आएको प्रस्तुत मुद्दामा पुनरावेदकतर्फका विद्वान अधिवक्ता श्री मातृकाप्रसाद निरौलाले पुनरावेदक र विपक्षी मध्येकी चन्द्र कुमारी भण्डारी एकै अंशियार भै प्रत्येक कित्ताबाट अंश पाएको अबस्था मिसिलबाट पुष्टी भएकोमा दावीको प्रत्येक कित्ता पुनरावेदकको सन्धीसर्पन पर्ने भन्ने कुरा अदालतबाट भै आएको नक्सा समेतले प्रष्ट गरेको र चारै कित्ता जग्गाको बिक्री भए अनुसारको समुच्चा मूल्य राखी हक निखनाई पाउँन निवेदन परेकोले प्रत्येक कित्ता छुट्टाई निखन्न नपाउने भनी भन्न मिल्ने अबस्था समेत नहुँदा दावी बमोजिम सबै कित्ता जग्गा निखन्न पाउने ठहराएको शुरु जिल्ला अदालतको इन्साफ कायमै रहनु पर्नेमा कि.नं.१७५८ र १७६२ को जग्गा निखन्न नपाउने भन्ने ठहराएको पुनरावेदन अदालतको फैसला सो हदसम्म बदर भै शुरुकै फैसला कायम रहनु पर्दछ भनी गर्नु भएको बहस समेत सुनी मिसिल अध्ययन गरी हेर्दा पुनरावेदन अदालतले गरेको फैसला मिले नमिले सम्बन्धमा नै निर्णय दिनुपर्ने देखियो ।
१२. निर्णयतर्फ विचार गर्दा मेरो अंश छुट्टिएकी विपक्षी मध्येकी चन्द्र कुमारी भण्डारीले आफ्नो अंश हकको कि.नं.१०५८, १७६२, १५२७, १५०७ समेतको जग्गा विपक्षी मध्येका भक्तवहादुर थापा क्षेत्रीलाई बिक्री गरेकोले सो जग्गा मलाई सन्धीसर्पन पर्ने भै हकदार समेत भएकोले निखनाई पाउँ भनी थैली धरौट राखी मालपोत कार्यालयमा निवेदन दिएकोमा हक बेहकमा सुनाएकोले फिराद गरेको छु सो जग्गा निखनाई पाउँ भन्ने फिराद दावी भएकोमा वादीको जग्गाको साँधसम्म हाम्रो जग्गामा जोडिए पनि सन्धीसर्पन नपर्ने हुँदा निखन्न दिन पर्ने होइन भन्ने प्रतिउत्तर भै दावी बमोजिम निखन्न पाउने ठहराएको शुरु कास्की जिल्ला अदालतको फैसला केही उल्टी गरी दावीको चार कित्ता मध्ये कि.नं.१५०७ र १५२७ दुई कित्ता मात्र निखन्न पाउने कि.नं.१७५८ र १७६२ निखन्न नपाउने ठहराएको पुनरावेदन अदालतको फैसला उपर वादीको यस अदालतमा पुनरावेदन परेको देखियो ।
१३. यसमा पुनरावेदक वादी र विपक्षी प्रतिवादी चन्द्र कुमारी भण्डारी अंशियार भएबाट अंशियारको नाताले प्रतिवादीले वादी उपर अंश मुद्दा गरी फैसला बमोजिम अंश भाग प्राप्त गरेको कि.नं.१५०७, १५२७, १७५८ र १७६२ का जग्गाहरु विपक्षी मध्येका भक्तवहादुर थापा क्षेत्रीलाई बिक्री गरिदिएबाट चन्द्र कुमारीको नजीकको हकदार र बिक्री भएका जग्गाहरु सन्धीसर्पन पर्ने भनी वादी धर्मराज भण्डारीले विपक्षीहरु उपर हक निखनाई पाउँ भनी दिएको मुद्दामा शुरुले वादी दावी बमोजिम हुने ठहराई गरेको इन्साफलाई पुनरावेदन अदालतले केही उल्टी गरी दावीको ४ कित्ता मध्ये कि.नं.१५०७ र १५२७ मात्र निखन्न पाउने कि.नं.१७५८ र १७६२ मा दावी नपुग्ने ठहराएको फैसला उपर उक्त दुवै कित्ता समेत सन्धीसर्पन पर्ने हुँदा निखन्न पाउनुपर्ने भन्ने पुनरावेदन जिकिर लिएको देखिन्छ ।
१४. यसमा वादी दावी बमोजिमका जग्गाको हक निखनाई पाउने ठहराएको शुरु कास्की जिल्ला अदालतको फैसला केही उल्टी गरी कि.नं.१५०७ र १५२७ को जग्गा सम्ममा हक निखनाई पाउने कि.नं.२७५८ र १७६२ को हकमा दावी नपुग्ने भनी गरेको पुनरावेदन अदालतको फैसला उपर प्रतिवादीको यस अदालतमा पुनरावेदन परेको अबस्था नहुँदा सो कि.नं.१५०७ र १५२८ को हकमा केही बोलिरहनु परेन । जहाँसम्म कि.नं.१७५८ र १७६२ को जग्गाबाटै गएको कुलोबाट मेरो खेतमा सिंचाई हुने हुँदा सो जग्गा मेरो सन्धीसर्पन भित्रकै हो भन्ने पुनरावेदन जिकिरमा सम्बन्धमा विचार गर्दा अदालतबाट मिति २०५१।९।२ मा भै आएको नक्सा हेर्दा न.नं.२८ को मुल कुलोबाट न.नं.३७ को कुलोको पानी पहिले वादीको न.नं.३० को जग्गामा लाग्ने त्यसपछि मात्र निखनाई पाउँ भनी दावी लिएको न.नं.३५ को कि.नं.१७५८ को जग्गामा लाग्ने देखिंदा वादीको न.नं.३० को जग्गामा सिचाई गर्न दावीको कि.नं.१७५८ को जग्गाले कुनै असर पर्न सक्ने स्थिति देखिंदैन साथै न.नं.३५ को दावीको जग्गा र न.नं.३० को वादीको जग्गाको छुट्टाछुट्टै अस्तित्व रहेभएको देखिनुको साथै मुल कुलो न.नं.२८ को छेउ भै वादीको न.नं.३० को जग्गा भै सो देखि पूर्व विवादित कि.नं.१७५८ न.नं.३५ को जग्गा रहेभएको कुरा नकसाबाट देखिन आएको अबस्थामा दावीको न.नं.३५ को जग्गा भएर वादीको न.नं.३० को जग्गामा जानुपर्ने रहेछ भन्न मिल्ने अबस्था देखिंएन । साथै दावीको न.नं.४३ को कि.नं.१७६२ को जग्गा भन्दा उत्तरतर्फ वादीको न.नं.४४ को कि.नं.१७६३ को जग्गा देखिई सो को पूर्वतर्फ न.नं.४६ को कुलो देखिई सो कुलो वादीको न.नं.४४ को जग्गा हुँदै दावीको न.नं.४३ को जग्गासम्म गएको देखिंदा वादीलाई आफ्नो खेतमा सिचाई गर्न दावीको न.नं.४३ को जग्गासँग कुनै सरोकार नै राख्नुपर्ने अबस्था नदेखिंदा वादीको पुनरावेदन जिकिरसँग सहमत हुनुपर्ने अबस्था देखिएन ।
१५. तसर्थ, पुनरावेदन जिकिर बमोजिम वादीले आफ्नो जग्गामा सिचाई गर्दा दावीको कि.नं.१७५८ र १७६२ को जग्गाको सहयोग लिनुपर्ने र सन्धीसर्पन समेत परेको अबस्था नदेखिंदा उल्लेखित दुई कित्ता जग्गा वादीलाई लेनदेन व्यवहारको ११ नं.बमोजिम सन्धीसर्पन परेको भन्न नमिल्ने हुँदा हक निखनाई पाउँ भन्ने वादी दावी पुग्न नसक्ने ठहराएको पुनरावेदन अदालत पोखराको फैसला मिलेकै देखिंदा सदर हुने ठहर्छ । वादीको पुनरावेदन जिकिर पुग्न सक्दैन । मिसिल नियमानुसार बुझाई दिनु ।
उक्त रायमा सहमत छु ।
न्या. वद्रीकुमार वस्नेत
इति सम्बत् २०६१ साल असार १७ गते रोज ५ शुभम्–