शब्दबाट फैसला खोज्‍नुहोस्

निर्णय नं. ७३५२ - घर खाली चलन ।

भाग: ४६ साल: २०६१ महिना: असार अंक:

निर्णय नं.७३५२           ने.का.प.२०६१       अङ्क ३

 

संयुक्त इजलास

माननीय न्यायाधीश श्री चन्द्रप्रसाद पराजुली

माननीय न्यायाधीश श्री बद्री कुमार बस्नेत

सम्बत् २०५६ सालको दे.पु.नं.५७८७

फैसला मितिः २०६१।३।३१।५

 

मुद्दा : घर खाली चलन ।

 

पुनरावेदक

प्रतिवादीः  बारा जिल्ला साविक पिप्राढी हाल परिवर्तित तेल कुवा गा.वि.स.वडा नं.४ बस्ने गौरी शंकर गिरी

बिरुद्ध

विपक्षी

वादीः बारा जिल्ला पिप्राढी गा.वि.स.वडा नं.१ बस्ने राम तपस्या यादव

 

§  प्रस्तुत विवादको तथ्यमा दावी बमोजिमको घरजग्गा वादीका दाता जेदु राउत कुर्मीले यिनै पुनरावेदक उपर दिएको घर खाली चलन मुद्दामा जिती पाएकोमा विवाद नभएको र ऐनले निर्दिष्ट गरेको म्याद भित्र फैसला कार्यान्वयन हुन नसके पनि सो जग्गा हालसम्म विपक्षी वादीकै हकभोगमा देखिएकोमा पुनरावेदकले सो जग्गामा आफुले २०२५ सालमा घर बनाएको भन्ने जिकिर लिएपनि सो जग्गाको हकभोग स्वामित्व प्रमाणित गराउन नसकेबाट निजको पुनरावेदन जिकिरसँग सहमत हुन सक्ने अबस्था नभएबाट दावी बमोजिम घर खाली गरी चलन चलाई पाउने ठहराएको पुनरावेदन अदालत हेटौंडाको फैसला मिलेकै देखिंदा सदर हुने ।

(प्र.नं. १५)

 

पुनरावेदक प्रतिवादी तर्फवाटः विद्वान अधिवक्ताद्वय श्री शम्भु थापा र श्री कृष्ण थापा

विपक्षी वादी तर्फवाटः

अवलम्वित नजिरः

 

फैसला

            न्या.वद्रीकुमार वस्नेतः पुनरावेदन अदालत हेटौंडाको मिति २०५३।१०।२१ को फैसला उपर न्याय प्रशासन ऐन, २०४८ को दफा १२ बमोजिम प्रतिवादीको मुद्दा दोहोर्‍याई पाउँ भनी परेको निवेदनमा दोहोर्‍याउने निस्सा प्राप्त भै पुनरावेदनमा दर्ता हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य र निर्णय यसप्रकार :

२.    असगनीको नाम दर्ताको कि.नं. १३ को ज.वि.०४ मध्ये दक्षिणतर्फबाट ज.वि.०३ र सो मा भएको फूसको घर थान ४ समेत २०४७।४।१० मा राम अश्रेले गरिदिएको बकसपत्र बमोजिम तथा २०४८।२।२६ को जदु राउतले गरी दिएको राजिनामा बमोजिम उक्त घर जग्गा मेरो हकको भै मैले विपक्षीहरुलाई बस्न भनी वहालमा दिएकोमा उक्त घरजग्गा आफैलाई चाहिएकोले खाली गरि दिन लिखित सूचना दिंदा पनि खाली गरी नदिएकोले उक्त घर थान ४ बाट खाली गराई चलन चलाई पाउँ भन्ने समेत व्यहोराको फिराद दावी ।

३.    उक्त जग्गामा २०२५ साल देखि घर बनाई बसोबास गरी आएको छु । वादी दावी अनुसार किरायामा बसेको छैन र घर खाली गरि दिन भनेको समेत छैन । आफ्नो परिश्रमबाट फूसको घर निर्माण गरी बसी आएको सम्बन्धमा गाउँ विकास समितिको प्रमाणित र औरैया हेल्थ पोष्टको घर नम्बर दर्ता प्रमाण समेत पेश गरेको छु । उक्त मैले बनाएको घर खाली चलन समेत दिन गर्न पर्ने छैन भन्ने समेत व्यहोराको प्रतिउत्तर जिकिर ।

४.    वादीको साक्षी देमन राउत, प्रतिवादीको साक्षी मैरो राउत, समेतको बकपत्र भै मिसिल संलग्न रहेको । विवादित जग्गाको फिल्डबुक उतार तथा राम अश्रेले २०४७।४।१० मा गरी दिएको हालैको बकसपत्र तथा जदु राउतले २०४८।२।२२ मा गरिदिएको राजिनामा प्रतिलिपि समेत प्राप्त भै मिसिल संलग्न रहेको । औरैया हेल्थ पोष्टको ग्रास स्वास्थ्य रजिष्टर प्रतिलिपि प्राप्त भै मिसिल संलग्न रहेको ।

५.    वादी जदु राउत प्रतिवादी गौरी शंकर भएको कि.नं.१३२१÷०४३ को घर खाली मुद्दाको प्रमाण मिसिल साथै  रहेको ।

६.    विवादित जग्गाको नाप नक्सा समेत भै मिसिल संलग्न रहेको ।

७.    साविक जग्गाधनी जदु राउत अहिरले यिनै प्रतिवादी माथि घर खाली मुद्दा दिंदा घर खाली गराउने ठहराई शुरु बारा जिल्ला अदालतले मिति २०४३।३।१० मा गरेको फैसलालाई श्री नारायणी अंचल अदालतले मिति २०४४।९।१२ मा सदर गरेकोमा पुनरावेदन अनुमति प्रदान गर्न नमिल्ने गरी श्री मध्यामान्चल क्षेत्रीय अदालतबाट नि.नं.५५९ मिति २०४५।११।२२ मा निर्णय भएको प्रमाण मिसिलबाट देखिएकोले प्रतिवादीले २०२५ साल देखि घर बनाई बसी आएको भन्न मिलेन । दावी बमोजिम घर खाली गरी दिनु पर्ने समेत ठहर्छ भन्ने शुरु बारा जिल्ला अदालतको फैसला।

८.    जदु राउतले म उपर दिएको मुद्दामा जो जस्तो फैसला भए पनि सो फैसला अनुसार चलन नचलाई म्याद गुजारी बसेबाट उक्त जग्गामा मेरो भोग कायमै रहेको अबस्थामा वादीले सो जग्गा लिन सक्ने अबस्था नहुँदा शुरुबाट घर खाली गरी दिनु पर्ने ठहर्‍याएको फैसला त्रुटीपूर्ण हुँदा बदर गरी पाउँ भन्ने समेत व्यहोराको प्रतिवादीको पुनरावेदन पत्र ।

९.    शुरु जिल्ला अदालतबाट गराएको नक्सामा वादीको भोगमा रहेको जम्मा घरजग्गाको क्षेत्रफल वादीले बकसपत्रमा राजिनामाबाट पाएको जग्गा भन्दा बढी भएको र झगडा जनिएको न.नं.१ समेत जोड्ने हो भने अरु बढी जग्गा वादीको देखिन आउने भएको र कि.नं.१३ मा न.नं.२ को जग्गाको उत्तरतर्फ न.नं.१ मा झगडा जनिएको र उक्त कि.नं.१३ को उत्तरतर्फ वादीले घर जग्गा प्राप्त नगरेको भन्ने फिरादको पेटबोलीबाट समेत देखिन आएको र सो जिल्ला अदालतको पूर्व मिति २०४३।३।१०।३ को इन्साफ कार्यान्वयन समेत भएको नदेखिएकोले उक्त जिल्ला अदालतको प्रस्तुत मुद्दामा भएको घर खाली गरी दिनु पर्ने ठहर्‍याएको इन्साफ फरक पर्ने भएकोले अ.वं.२०२ नं.बमोजिम विपक्षी झिकाउने भन्ने पुनरावेदन अदालतको आदेश ।

१०.    दावीको जग्गा र घरहरु वादीलाई जदु राउतले मिति २०४८।२।२६ मा गरिदिएको राजिनामाको जग्गा हो भन्ने कुरामा विवाद नभएको र वादीको दाता जदु राउत र यि पुनरावेदक बीच यसै विषयमा मुद्दा चली वादी दावी बमोजिम ठहरी भएको फैसला तत्कालीन नारायणी अंचल अदालत र मध्यमान्चल क्षेत्रीय अदालत समेतबाट सदर ठहरीएबाट उक्त जग्गामा वादीका दाता जदु राउतको हक देखिएकोमा सो फैसला कार्यान्वयन नभएको भन्ने आधारले मात्र दावी नपुग्ने भन्न नमिल्ने हुँदा वादी दावी बमोजिम हुने ठहराएको शुरु जिल्ला अदालतको फैसला सदर हुने ठहर्छ भन्ने समेत व्यहोराको पुनरावेदन अदालत हेटौंडाको फैसला ।

११.    वादी दावी बमोजिम पहिले भएको फैसला दण्ड सजायको ४३ नं.को हदम्याद भित्र कार्यान्वयन नभएको अबस्थामा सोही फैसलालाई आधार मानी निर्णय गर्न नमिल्ने साथै पहिलेको मुद्दामा जिती पाएको घर र हालको मुद्दामा जिती पाएको घर नै फरकफरक हुँदा सो तथ्यलाई मनन नगरी पुनरावेदन अदालतबाट भएको फैसला बदर गरी पाउँ भन्ने गौरी शंकर गिरीको मुद्दा दोहोराई पाउँ भन्ने निवेदन ।

१२.   यसमा निवेदक गौरी शंंकर गिरीका दाता जदु राउतले यिनै निवेदक उपर दिएको घर खाली गराई पाउँ भन्ने मुद्दामा यी निवेदकबाट घर खाली गराई लिन पाउने ठहरी फैसला भएको र सो फैसला अनुसार दण्ड सजायको ४३ नं.बमोजिम उक्त कानूनको म्याद भित्र सो घर चलन चलाई माग्ने तर्फ कुनै कारवाही चलाएको नदेखिएको र हाल आएर उक्त जदु राउत समेतबाट राजिनामा पास गरी हक गराई लिने यी प्रत्यर्थी वादीको परेको फिराद दावीबाट उक्त घर समेत चलन चलाउने ठहराएको पुनरावेदन अदालत हेटौंडाको फैसलामा दण्ड सजायको ४३ नं.को त्रुटी र दयालक्ष्मी श्रेष्ठ बिरुद्ध भक्ती देवी श्रेष्ठ भएको हक कायम मुद्दामा कुनै पनि फैसला कार्यान्वयन नगराइदा सो फैसलाको औचित्य निश्चित समय भित्र समाप्त हुने देखिन्छ भने त्यस्तो फैसला कार्यान्वयन गर्नु गराई माग्नु पर्ने पक्षले आफ्नो दायित्व पुरा नगरे उक्त फैसला बमोजिमको निजको हक रही रहेको भन्न सकिने अबस्था नरहने (ने.का.प.२०४६, अंक १, नि.न.३७१२, पृष्ठ ९३) भन्ने सिद्धान्त सर्वोच्च अदालतबाट प्रतिपादिन भैरहेको देखिंदा सो प्रतिपादित सिद्धान्तको विपरीत भएको देखिएकोले न्याय प्रशासन ऐन, २०४८ को दफा १२ को उपदफा १ को क र ख को अबस्था विद्यमान रहेको हुँदा प्रस्तुत मुद्दा दोहोराउने निस्सा प्रदान गरिएको छ भन्ने यस अदालतको मति २०५६।६।१२ को आदेश ।

१३.   नियम बमोजिम दैनिक मुद्दा पेशी सूचीमा चढी पेश हुन आएको प्रस्तुत मुद्दामा पुनरावेदन सहितको मिसिल अध्ययन गरी पुनरावेदकको छलफल सुनी विपक्षीतर्फका विद्वान अधिवक्ता क्रमशः शंभु थापा र कृष्ण थापाले वादीका दाता र यिनै पुनरावेदक बीच यही घर खाली गराई पाउँ भनी परेको मुद्दामा वादीका दाताले दावी बमोजिम घर खाली गरी पाउने ठहरी भएको फैसला अन्तिम भएर रहेबाट पुनरावेदकको दावीको घरमा हक रहेछ भनी भन्न मिल्ने अबस्था नभएको र दाताबाट वादीले पाएको घर चलन गर्न नदिएबाट पुनरावेदक उपर परिवर्तित स्थितिमा यो मुद्दा दिएको हुनाले पहिलेको मुद्दाले यो मुद्दालाई असर पार्ने होइन । पहिलेको मुद्दाको फैसला कार्यान्वयन नभए पनि पछि आएको मुद्दाबाट वादी दावी बमोजिम हुने ठहरी यसै अदालतको पूर्ण इजलासबाट फैसला भै सिद्धान्त समेत प्रतिवादन भैरहेको स्थिति हुँदा निस्सा प्रदान हुँदा उल्लेखित नजिर प्रस्तुत मुद्दामा प्रासंगिक छैन । तसर्थ पुनरावेदन अदालतको फैसला नै सदर कायम हुनुपर्दछ भनी गर्नु भएको बहस समेत सुनी दावी बमोजिम घर खाली चलन पाउने ठहराएको पुनरावेदन अदालत हेटौंडाको फैसला मिले नमिले सम्बन्धमा नै निर्णय दिनुपर्ने  देखियो ।

१४.   निर्णयतर्फ विचार गर्दा, असभगनीका नाउँ दर्ताको कि.नं.१३ को ०४ मध्ये दक्षिण तर्फबाट ज.वि.०३ र सो मा भएको फूसको घर थान ४ समेत राम आश्रेय र जदु राउतले गरिदिएको राजिनामा बमोजिम मेरो हक भएकोमा विपक्षीलाई बहालमा बस्न दिंदा आफैलाई चाहिएबाट खाली नगरी दिएकोले खाली गराई चलन चलाई पाउँ भन्ने वादी दावी भएकोमा उक्त जग्गामा २०२५ सालदेखि घर बनाई बसोबास गरिआएको छु । घर खाली गरी दिनु पर्ने होइन भन्ने प्रतिवादी भै दावी बमोजिम हुने ठहराएको शुरु फैसला सदर गरेको पुनरावेदन अदालतको फैसला उपर प्रतिवादीको दोहोराई पाउँ भनी पर्न आएको निवेदनमा दोहोराउने निस्सा प्राप्त भै प्रस्तुत मुद्दा पुनरावेदनमा दर्ता हुन आएको देखियो ।

१५.   यसमा असभगनीको नाममा नापी भएको ऐलानी मिन्ही ०४ जग्गा मध्ये दक्षिणतर्फबाट ०३ जग्गा र सो मा भएको फूसको घर ४ समेत राम आश्रेयले मिति २०४७।४।७ मा गरिदिएको बकसपत्र र २०४८।२।२६ मा जदु राउतले गरिदिएको राजिनामा बमोजिम वादीको नाममा कायम हुन आएको र सो घरमा प्रतिवादीलाई बहालमा बस्न दिएकोमा आफैलाई चाहिएकोले विपक्षीले नछोडेबाट घर खाली गराई चलन चलाई पाउँ भनी वादीको पर्न आएको फिरादमा प्रतिवादीले वादीको हक हुन आएको लिखतलाई अन्यथा भन्न नसकी केवल २०२५ सालमा नै उक्त जग्गामा आफुले घर बनाई आएको भन्ने जिकिरसम्म लिएको देखिन्छ । यही वादीका दाता जदु राउत र प्रतिवादी बीच चलेको यही घर जग्गाको सम्बन्धमा घर खाली चलन मुद्दामा वादीका दाताले दावी बमोजिम घर खाली गरी चलन समेत चलाई पाउने ठहराएको फैसलाहरु अन्तिम भएर रहेकोमा यी पुनरावेदकले अन्यथा भन्न सकेको देखिंदैन । जहाँसम्म उक्त फैसला दण्ड सजायको ४३ नं.को म्याद भित्र कार्यान्वयन हुन नसकेबाट सो फैसला स्वतः निष्क्रिय भएको मानिने भन्ने पुनरावेदन जिकिर छ सो सम्बन्धमा पुनरावेदक वादी विश्वम्भर नाथको मु.स.गर्ने चन्द्र शेखर मिश्र प्रतिवादी आचार्य नाथ मिश्र भएको अंश मुद्दामा पहिले भएको फैसला कार्यान्वयन नभएपनि पहिलो मुद्दाबाट जिती पाएको सम्पत्ति अन्यथा नभएसम्म सोही विषयमा दोश्रो मुद्दा दिन अ.वं.८५ दण्ड सजायको ४६ नं.को विपरीत हुने भनी भन्न नमिल्ने भनी यस अदालत पूर्ण इजलासबाट (ने.का.प.२०५७, अंक १२, पृष्ठ ८११) मा नजिर सिद्धान्त समेत प्रतिपादन भएको देखिएकोले प्रस्तुत विवादको तथ्यमा पनि दावी बमोजिमको घर जग्गा वादीका दाता जेदु राउत कुर्मीले यिनै पुनरावेदक उपर दिएको घर खाली चलन मुद्दामा जिती पाएकोमा विवाद नभएको र ऐनले निर्दिष्ट गरेको म्याद भित्र फैसला कार्यान्वयन हुन नसके पनि सो जग्गा हालसम्म विपक्षी वादीकै हक भोगमा देखिएकोमा पुनरावेदकले सो जग्गामा आफुले २०२५ सालमा घर बनाएको भन्ने जिकिर लिएपनि सो जग्गाको हक भोग स्वामित्व प्रमाणित गराउन नसकेबाट निजको पुनरावेदन जिकिरसँग सहमत हुन सक्ने अबस्था नभएबाट दावी बमोजिम घर खाली गरी चलन चलाई पाउने ठहराएको पुनरावेदन अदालत हेटौंडाको फैसला मिलेकै देखिंदा सदर हुने ठहर्छ। प्रतिवादीको पुनरावेदन जिकिर पुग्न सक्दैन । मिसिल नियमानुसार बुझाई दिनु ।

 

उक्त रायमा सहमत छु ।

 

न्या.चन्द्रप्रसाद पराजुली

 

इति सम्बत् २०६१ साल आषाढ ३१ गते रोज ५ शुभम्––––––––

 

 

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु