निर्णय नं. ९०३५ - मोही नामसारी

ने.का.प. २०७०, अङ्क ७
निर्णय नं.९०३५
सर्वोच्च अदालत, संयुक्त इजलास
माननीय न्यायाधीश श्री सुशीला कार्की
माननीय न्यायाधीश श्री ज्ञानेन्द्रबहादुर कार्की
०६९–CI–०३७१
फैसला मिति :– २०७०।३।२१।६
मुद्दा :– मोही नामसारी ।
पुनरावेदक : जिल्ला बारा, गा.वि.स. अमरपट्टि वडा नं.५ बस्ने गजेन्द्रप्रसाद यादव
विरुद्ध
प्रत्यर्थी : जिल्ला बारा, गा.वि.स. अमरपट्टि, वडा नं.२ बस्ने तेतरी कनुईन
शुरू तहको निर्णय गर्ने :–
भूमि सुधार कार्यालय, बारा
पुनरावेदन तहमा फैसला गर्ने :–
मा.न्या.श्री बमकुमार श्रेष्ठ
मा.न्या.श्री शारङ्गा सुवेदी
§ कुनै पनि व्यक्तिका नाममा कायम भएको मोहीको हक समाप्त हुनका लागि भूमिसम्बन्धी ऐन, २०२१ र भूमिसम्बन्धी नियमहरू, २०२१ ले निर्धारित गरेको कानूनी प्रक्रियाहरू पूरा गरेकै हुनुपर्छ । जग्गाधनी प्रमाणपूर्जामा मोही उल्लेख भएको छैन वा मोहीले बाली बुझाएको प्रमाण पेश गरेको छैन वा जग्गा जोतेको छैन भन्ने जस्ता तर्कको आधारले मोही नामसारी मुद्दामा कुनै महत्व नराख्ने ।
§ मोहीले जग्गा सालसालै नकमाएको वा जग्गाको उब्जनी घट्ने गरी जग्गा बिगारेको वा कुत नबुझाई मोहीको हैसियतले पालना गर्नुपर्ने कुनैपनि दायित्व मोहीले पूरा नगरेको भन्ने जस्ता जिकीर जग्गाधनीले लिई कानूनबमोजिमको साधिकार निकायबाट मोहीको लगत कट्टा नगराएसम्म मोहीको हकमा कुनै असर नपर्ने ।
(प्रकरण नं.४)
§ कानूनबमोजिम मोहीको लगत कट्टा भएको प्रमाण पेश नगरी केवल मोहीले जग्गा नजोतेको वा बाली बुझाएको प्रमाण पेश नगरेको भन्ने जस्ता तर्कका आधारमा मोहियानी हकबाट निष्काशन हुन नसक्ने ।
(प्रकरण नं.५)
पुनरावेदकतर्फबाट : विद्वान अधिवक्ता पुष्पराम पौड्याल
प्रत्यर्थीतर्फबाट :
अबलम्बित नजीर :
सम्बद्ध कानून :
फैसला
न्या.सुशीला कार्की : न्याय प्रशासन ऐन, २०४८ को दफा (९)(१)(ग) नं. बमोजिम प्रतिवादीको तर्फबाट यस अदालतमा पर्न आएको प्रस्तुत पुनरावेदनको संक्षिप्त तथ्य एवं ठहर यस प्रकार छ :–
जिल्ला बारा, गा.वि.स. अमरपट्टि, वडा नं. २ कि.नं. २३ को ०–१९–० जग्गाको जग्गाधनी रामादेवी (गुरागाई) उपाध्याय र मोही मेरा पति भोथी साह कानु हुनु भई पतिले जग्गा जोती कमाई मोहीको दायित्व पूरा गर्दै आउनु भएको थियो । उक्त कि.नं.२३ को ज.वि.०–१९–० जग्गा साविक जग्गाधनी रामादेवीले मिति २०३१ सालमा राधामोहन प्रसाद यादवलाई, निज राधामोहनले मिति २०४०।११।११ मा राजेन्द्रप्रसाद महतोलाई, निज राजेन्द्रप्रसाद महतोले मिति २०४२।११।२० मा बरमदेव महरालाई र निज बरमदेवले ज.वि.०–१९–० मध्येबाट ०–६–० जग्गा गजेन्द्रप्रसाद यादवलाई बिक्री गरी दिनु भएको हुँदा सो कि.नं.२३ कित्ताकाट भै कि.नं.१८५ को ज.वि.०–६–० गजेन्द्रप्रसाद यादवका नाउँमा दर्ता भएको छ । मेरा पति भोथी साह कानु २०३५ सालमा आफ्नो कालगतिले परलोक हुनुभएको र मोहीका हकदारहरू छोरा हरिशचन्द्र साह कानु, हरिहर साह कानु र पत्नी म तेतरी कनुईनले सो जग्गा जोती कमाई मोहीको दायित्व पूरा गरी आएका छौं । जग्गा कित्ताकाट भै अलगअलग व्यक्ति जग्गाधनी भए पनि मोहियानी हकमा कुनै असर नपर्ने हुँदा साविक कि.नं.२३ कित्ताकाट भई हाल कायमी कि.नं. १८५ को ज.वि.०–६–० जग्गाको मोहियानी हक छोरा हरिहर साह कानु तथा हरिशचन्द्र साह कानुको मञ्जूरीनामाअनुसार मेरा नाउँमा मोही नामसारी गरी मोहोयानी हकको प्रमाण पत्र पाऊँ भन्नेसमेत व्यहोराको वादी तेतरी कनुईनको मिति २०६६।३।३० को फिराद दावी ।
वादीका पतिले कहिले पनि जग्गा जोतेका थिएनन् र वादीले पनि मोहीको हैसियतले जग्गा जोत्नु भएको छैन । जग्गा जोतेको भए उजूरीसाथ भरपाई पेश गर्नु पर्नेमा भरपाई पेश गर्न सक्नु भएको छैन । मेरा नाउँको जग्गाधनी प्रमाणपूर्जाको मोही महलमा मोहीको नाम उल्लेख नहुँदा मोही नामसारी हुनु पर्ने होइन भन्नेसमेत व्यहोराको प्रतिवादी गजेन्द्रप्रसाद यादवको मिति २०६६।६।२५ को प्रतिउत्तर पत्र ।
अमरपट्टि गा.वि.स.को च.नं. ५४ मिति २०६६।१०।७ को सिफारीशमा दावीको जग्गा, जग्गाधनीकै जोतभोगमा रहेको भनी उल्लेख भै आएको तथा वादीले दावी लिएको जग्गाको कुनै सालको जग्गाधनीलाई कुतवाली बुझाएको भरपाई पेश गर्न नसकेको देखिँदा वादी दावी पुग्न नसकी खारेज हुने ठहर्छ भनी शुरू भूमिसुधार कार्यालय, बाराबाट मिति २०६६।१२।५ मा भएको फैसला ।
वादी दावीको जिल्ला बारा, अमरपट्टि गा.वि.स. वडा नं. २, कि.नं.२३ को ०–१९–० जग्गाको विधिवत् मोही भोथी साह भएकोमा विवाद छैन । मूल कि.नं.२३ बाट कित्ताफोड भई कायम भएको कि.नं. १८५ को ०–६–० जग्गा र कि.नं. १८६ को ०–१३–० जग्गामध्ये कि.नं. १८६ को ०–१३–० जग्गाको सम्बन्धमा म वादी तेतरी कनुईन र प्रतिवादी बरमदेव महराबीच चलेको मोही नामसारी मुद्दामा भूमिसुधार कार्यालय, बाराले मिति २०६६।१२।५ मा मोही नामसारी हुने गरी फैसला गरेको छ भने कि.नं. १८५ को ०–६–० जग्गाको हकमा एउटै मिति २०६६।१२।५ मा मोही नामसारी नहुने गरी ऐ. कार्यालयबाट फैसला भएको छ । एउटै प्रकृतिको मोही नामसारी मुद्दामा भूमिसुधार कार्यालय, वाराले फैसला गर्दा एउटामा मोही कायम हुने तर प्रस्तुत मुद्दामा भने कायम नहुने निर्णय गरेको विषयमा आधार कारण नखुलाएको हुँदा उक्त त्रुटिपूर्ण फैसला बदर गरिपाऊँ भन्ने पुनरावेदकको पुनरावेदन अदालत, हेटौंडामा परेको पुनरावेदन जिकीर ।
वादीको दावी झूठा हो मैले मोहियानी जग्गा खरीद गरेको होइन । स्वतन्त्ररूपको जग्गा ०५८ सालमा खरीद गरेको हो । भूमिसम्बन्धी ऐन, २०२१ चौथो संशोधन मिति २०५३।९।२४ ले नयाँ मोही जन्मने कानूनी प्रावधान छैन । सम्पूर्ण प्रमाणहरूको मूल्याङ्कन गरी भूमिसुधार कार्यालय, बाराले वादी दावी खारेज हुने ठहर्याएको फैसला कानून एवं न्यायसङ्गत नै हुँदा विपक्षीको पुनरावेदन जिकीर र सम्मानित अदालतको प्रत्यर्थी झिकाउने आदेशानुसार इन्साफ हुनु पर्ने अवस्था छैन । शुरूको फैसला सदर गरिपाऊँ भन्नेसमेत व्यहोराको प्रतिवादी गजेन्द्रप्रसाद यादवको पुनरावेदन अदालत, हेटौंडामा परेको लिखित प्रतिवाद ।
यिनै वादीले प्रस्तुत मुद्दाको साथसाथै सो कि.नं. १८६ को ज.वि.०–१३–० जग्गाको समेत मोही नामसारी गरिपाऊँ भनी बरमदेव महरासमेत उपर मोही नामसारी मुद्दा दिएकोमा निज वादीका नाममा मोही नामसारी हुने गरी मिति २०६६।१२।५ मा शुरू भूमिसुधार कार्यालय, बाराबाट निर्णय भएको कागज प्रमाण मिसिल संलग्न पेश हुन आएको देखिएको छ । प्रस्तुत मुद्दाको दावीको कि.नं. १८५ को साविक कि.नं.२३ को ज.वि. ०–१९–० को दर्तावाला मोही भोथी साह कानु भएको तथ्यलाई शुरू कार्यालयले समेत स्वीकारै गरेको देखिन्छ भने उही भूमिसुधार कार्यालयबाट उही मिति २०६६।१२।५ मा कि.नं.१८६ को जग्गाको हकमा मोहियानी नामसारी हुने तर विवादित कि.नं. १८५ मा वादी दावी पुग्न नसकी खारेज हुने भनी भूमिसुधार कार्यालय, बाराबाट भएको निर्णय न्यायको मान्य सिद्धान्तकै प्रतिकूल देखिन्छ । अतः प्रतिवादी गजेन्द्रप्रसाद यादवका नाउँमा दर्ता रहेको कि.नं. १८५ को ज.वि. ०–६–० जग्गामा वादीका पति भोथी साहको नाउँमा कायम रहेको मोहियानी हक वादीका नाउँमा नामसारी हुने ठहर्छ भन्ने मिति २०६८।७।६ को पुनरावेदन अदालत, हेटौंडाको फैसला ।
साविक कि.नं.२३ ज.वि.०–१९–० को साविक जग्गाधनी रामादेवी उपाध्याय (गुरागाई) र दर्तावाला मोही भोथी साह कानु भएकोमा विवाद देखिँदैन भन्ने पुनरावेदन अदालतको फैसलामा उल्लेख भएतापनि फैसलामा र मोहीमा विवाद छ । किनभने दावीको जग्गाको साविक कि.नं.२३ को ज.वि.०–१९–० जग्गा, जग्गा नापजाँच ऐन, २०१९ बमोजिम सर्भे नापी हुँदा रामादेवी उपाध्यायको नाममा नापी भएको फिल्डबुकको किसानको महलमा भोथी साह कानू उल्लेख भएपनि भूमि प्रशासन ऐन, २०२४ लागू भएपछि जग्गा नापजाँचको आधारमा दर्ता स्रेस्ता खडा हुँदा ज.ध.रामादेवी उपाध्यायको नाममा स्रेस्ता कायम भएको र मोहीमा भोथी साह कानूको नाम उल्लेख नभई निजै जग्गाधनीको नाम उल्लेख भएको रहेछ । साविक जग्गाधनीले उक्त ससिमै जग्गा राधामोहन प्रसादलाई ०३७ सालमा मालपोत कार्यालय, बाराबाट बकसपत्र पारित गरे गराएको र राधामोहनले सोही ससिमै जग्गा मा.पो.का. बाराको र.नं.२७४० मिति २०४०।११।११ गते राजेन्द्रप्रसाद महतो कोइरीलाई राजीनामा लिखत पारित गरी दिनुभएको र राजेन्द्रप्रसाद महतोले बरमदेव महरालाई मा.पो.का. बाराको र.नं. ३११५ मिति २०४२।११।२० गते राजीनामा गरी दिएको अवस्था देखिन्छ । वरमदेव महराबाट म पुनरावेदक प्रतिवादीलाई साविक कित्ताफोड गरी मा.पो.का. बाराको र.नं.४५४४ मिति २०५८।९।१७ गते हाल कायम कि.नं. १८५ को ज.वि. ०–६–० जग्गा मूल्य रू.८०,०००।– मा खरीद गरी लिई सोही मितिदेखि भोगचलन गरी आएको छु । विपक्षीका पति भोथी साह कानु मोही हुँदो हो भने भोथी साह जीवित रहेकै अवस्थादेखि स्रेस्ता पूर्जामा साविक जग्गादेखि तह–तह हुँदै परिवर्तित हुँदै आएको उपरोक्त उल्लिखित पूर्वका जग्गाधनीहरूको नाउँबाट मोही कायम गराई लिन सक्नुपर्ने थियो । सो गरेको अवस्थासमेत छैन । तसर्थ, पुनरावेदन अदालत, हेटौंडाबाट मिति २०६८।७।६ मा भएको फैसला त्रुटिपूर्ण हुँदा प्रत्यर्थी झिकाई सो फैसला बदर गरिपाऊँ भन्ने मिति २०६९।५।५ मा पुनरावेदन अदालत, हेटौंडामार्फत् पुनरावेदक गजेन्द्रप्रसाद यादवको यस अदालतमा परेको पुनरावेदन जिकीर ।
नियमबमोजिम दैनिक पेशी सूचीमा चढी पेश भएको प्रस्तुत मुद्दाको पुनरावेदनसहितको मिसिल अध्ययन गरी पुनरावेदकतर्फका विद्वान अधिवक्ता श्री पुष्पराम पौड्यालले गर्नु भएको बहससमेत सुनियो ।
२. यसमा साविक कि.नं. २३ को ०–१९–० जग्गाको जग्गाधनी रामादेबी उपाध्याय र मोही मेरा पति भोथी साह कानु हुनुभएकोमा पतिको २०३५ सालमा मृत्यु भएपश्चात् उक्त जग्गा म फिरादी र छोराहरू समेत भई कमाई मोहीको दायित्व पूरा गर्दै आएका थियौं । उक्त कि.नं. २३ को जग्गा तहतह बिक्री हुँदै मिति २०४२।११।२० मा बरमदेव महराले खरीद गरी सो जग्गामध्येबाट कि.का. गरी कि.नं. १८५ को ०–६–० जग्गा विपक्षी गजेन्द्रप्रसाद यादवलाई बिक्री गरिदिनु भएको र पतिको मोही हक भएको साविक कि.नं. २३ को जग्गा कि.का. भई हाल कायम भएको कि.नं. १८५ को जग्गाको मोही हक मेरा नाममा नामसारी गरिदिन छोराहरूले समेत मञ्जूर गरेकाले विपक्षी नाउँ दर्ताको उक्त कि.नं. १८५ को जग्गाको मोही नामसारी गरिपाऊँ भन्ने फिराद दावी भै मोहीको हैसियतले वादीले जग्गा नजोतेको र जग्गाधनी प्रमाणपूर्जामा समेत मोही उल्लेख भएको अवस्था नहुँदा दाविबमोजिम मोही नामसारी हुने होइन भन्नेसमेत ब्यहोराको इन्कारी प्रतिउत्तर भएको प्रस्तुत मुद्दामा दावी पुग्न नसक्ने ठहराएको शुरू भूमिसुधार कार्यालयको निर्णय उल्टी हुने ठहराएको पुनरावेदन अदालत, हेटौडाको फैसला उपर पुनरावेदक प्रतिवादीको प्रस्तुत पुनरावेदन परेको देखियो । अतः पुनरावेदन अदालत हेटौँडाको फैसला मिलेको छ छैन र प्रतिवादी पुनरावेदकको जिकीर पुग्न सक्ने हो होइन यस सम्बन्धमा विचार गर्दा साविक कि.नं. २३ को जग्गा तहतह बिक्री हुँदै दाता बरमदेबबाट यी पुनरावेदक प्रतिवादीले कित्ता फोड गरी कि.नं. १८५ को ०–६–० जग्गा खरीद गरेकोमा विवाद छैन । मिसिल संलग्न प्रमाणहरूलाई दृष्टिगत गर्दा फिल्डबुक उतार, मोहीको १ नं. लगत तथा मोहियानी हकको प्रमाणपत्रको छायाँप्रतिहरू समेतबाट उक्त साविक कि.नं. २३ को जग्गाको मोही भोथी साह कानु रहेको देखिन्छ । उक्त कि.नं. २३ को जग्गा कि.का. भई कायम भएको कि.नं. १८५ र कि.नं.१८६ मध्ये कि.नं.१८६ को ०–१३–० जग्गा निज दाता बरमदेव यादवकै नाउँमा रही कि.नं. १८५ को ज.वि.०–६–० जग्गा यी पुनरावेदक प्रतिवादी गजेन्द्रप्रसाद यादवका नाउँमा कायम रहन गएको पाइन्छ । यसरी भोथी साह कानुको मोही हक भएको साविक कि.नं. २३ को जग्गा कि.का. भई अलगअलग व्यक्तिको नाममा हक सर्दै गएतापनि त्यस्तो मोही कायम भएको जग्गामा रहेको मोहीको हक भने स्वतः समाप्त हुने होइन । कुनै पनि व्यक्तिका नाममा कायम भएको मोहीको हक समाप्त हुनका लागि भूमिसम्बन्धी ऐन, २०२१ र भूमिसम्बन्धी नियमहरू, २०२१ ले निर्धारित गरेको कानूनी प्रक्रियाहरू पूरा गरेकै हुनुपर्छ । जग्गाधनी प्रमाणपूर्जामा मोही उल्लेख भएको छैन वा मोहीले बाली बुझाएको प्रमाण पेश गरेको छैन वा जग्गा जोतेको छैन भन्ने जस्ता तर्कको आधारले मोही नामसारी मुद्दामा कुनै महत्व राख्दैन । मोहीले जग्गा सालसालै नकमाएको वा जग्गाको उब्जनी घट्ने गरी जग्गा बिगारेको वा कुत नबुझाई मोहीको हैसियतले पालना गर्नुपर्ने कुनैपनि दायित्व मोहीले पूरा नगरेको भन्ने जस्ता जिकीर जग्गाधनीले लिई कानूनबमोजिमको साधिकार निकायबाट मोहीको लगत कट्टा नगराएसम्म मोहीको हकमा कुनै असर पर्ने अवस्था हुँदैन ।
३. प्रस्तुत मुद्दामा मोही नामसारी हुने नहुनेसम्बन्धी विवाद रहेको अवस्था हुँदा मोही नामसारी नहुनका लागि यी पुनरावेदक प्रतिवादी जग्गाधनीले विवादित जग्गाको कानूनबमोजिम साधिकार निकायबाट मोही लगत कट्टा भइसकेको भन्ने देखिनेसम्मको प्रमाण पेश गर्नुपर्ने हुन्छ । तर सो बमोजिमको प्रमाण यी पुनरावेदकले पेश गर्न सकेको मिसिलबाट देखिन आएन । कानूनबमोजिम मोहीको लगत कट्टा भएको प्रमाण पेश नगरी केवल मोहीले जग्गा नजोतेको वा बाली बुझाएको प्रमाण पेश नगरेको भन्ने जस्ता तर्कका आधारमा मोहियानी हकबाट मोहीको निष्काशन हुन सक्दैन । अतः यी पुनरावेदकले लिएका उक्त जिकीरहरूबाट प्रस्तुत मोहियानी नामसारी गरिपाऊँ भन्ने मुद्दामा कुनै नकारात्मक असर पर्न सक्ने देखिँदैन ।
४. यसका अतिरिक्त यिनै वादी तेतरी कनुईन र प्रतिवादी बरमदेव महरा भएको मोही नामसारी मुद्दामा साविक कि.नं. २३ को जग्गाबाटै कि.का. भई हाल कायम भएको कि.नं.१८६ को जग्गाको मोही यिनै वादीको पति भोथी साह कानुलाई स्वीकार गरी सो जग्गाको मोही हक निज मोहीको पत्नी यी वादी तेतरी कनुईनको नाउँमा नामसारी हुने गरी भूमिसुधार कार्यालय, बाराबाट मिति २०६६।१२।५ मा निर्णयसमेत भएको देखिन्छ । यसरी साविकमा मूल कित्ता कि.नं. २३ बाट कित्ता फोड भई कायम भएका कि.नं. १८५ र १८६ का जग्गामध्ये कि.नं. १८६ को जग्गाको मोही नामसारी हुने तर कि.नं. १८५ को हकमा बिनाआधार कारण जग्गाको मोही नामसारी हुन नसक्ने भन्नु कानूनको सरासर उल्लङ्घन हुनु हो ।
५. तसर्थ माथि विवेचित आधार प्रमाणहरूबाट विवादित कि.नं. १८५ को जग्गाको मोही नामसारी हुन नसक्ने ठहराएको शुरू भूमिसुधार कार्यालय, बाराको मिति २०६६।१२।५ को निर्णय उल्टी गरी दावीबमोजिम उक्त जग्गामा वादीका पति भोथी साह कानुको नाउँमा कायम भएको मोही हक निजको पत्नी वादी तेतरी कनुईनका नाउँमा नामसारी हुने ठहराएको पुनरावेदन अदालत, हेटौँडाको मिति २०६८।७।६ को फैसला मिलेकै देखिँदा सदर हुने ठहर्छ । प्रतिवादीको पुनरावेदन जिकीर पुग्न सक्क्तैन । दायरीको लगत कट्टा गरी मिसिल नियमानुसार बुझाई दिनू ।
उक्त रायमा सहमत छु ।
न्या.ज्ञानेन्द्रबहादुर कार्की
इति संवत् २०७० असार २१ गते ६ रोज शुभम् ––––––
इजलास अधिकृत – शकुन्तला कार्की