शब्दबाट फैसला खोज्‍नुहोस्

निर्णय नं. ७३८८ - कर्तव्य ज्यान

भाग: ४६ साल: २०६१ महिना: असोज अंक:

निर्णय नं.७३८८           ने.का.प २०६१       अङ्क ६

 

पूर्ण इजलास

सम्माननीय प्रधानन्यायाधीश श्री गोविन्दवहादुर श्रेष्ठ

माननीय न्यायाधीश श्री रामनगिना सिंह

माननीय न्यायाधीश श्री शारदा श्रेष्ठ

सम्बत् २०६० सालको फौ.पू.इ.नं. १६

सम्बत् २०६१ सालको फौ.पू. इ.नं. .२०

फैसला मितिः २०६१।६।७।५

 

मुद्दाःकर्तव्य ज्यान ।

 

पुनरावेदक

प्रतिवादीः सोलुखुम्बू जिल्ला, वावै गा.वि.स. वार्ड नं. ८ वस्ने भाई किरांत राई 

विरुद्ध

प्रत्यर्थी

वादी तेजप्रसाद राईको जाहेरीले श्री ५ को सरकार 

 

वादीःश्री ५ को सरकार  

विरुद्ध

प्रतिवादीः भाई किरांत राई समेत

 

§  सामान्य उद्देश्य (Common intention) लिई कुनै गैरकानूनी काम गर्ने सामूहिक रुपमा योजना बनाई लक्ष्य प्राप्तिमा सामूहिक रुपले सहभागी भै योजनालाई परिणाममुखि बनाउने प्रत्येक व्यक्ति सामान्य रुपको अपराधी हुन जाने ।

§  कुनै गैरकानूनी कार्य गर्न सामान्य उद्देश्य लिई षडयन्त्रको भूमिका तयार गर्ने बेला देखि षडयन्त्र पूरा हुने बेलासम्म जति जना संलग्न रहेको हुन्छ ती सबैले मुख्य षडयन्त्रकारीको भूमिका निर्वाह गरेको हुन्छ र त्यस्तालाई मुख्य षडयन्त्रकारी नै मान्नुपर्ने ।

§  अरु किसिमसँग मत सल्लाहमा पसेकोमा मार्ने ठाउँमा गई अरु कुरा केही नगरी हेरी रहनेलाई र लेखिए देखि वाहेक अरु किसिमका मतलवीलाई ज्यान सम्बन्धीको १७ नं.को देहाय ३ आकर्षित हुने ।

(प्र.नं ३१ र ३२)

 

पुनरावेदक प्रतिवादीतर्फवाटःविद्वान अधिवक्ताहरु श्री हरिन्द्र राई, श्री डिल्ली मैनाली र श्री वश्वप्रकाश सिग्देल

प्रत्यर्थी वादीतर्फवाटःविद्वान उपन्यायाधिवक्ता श्री महेन्द्रवहादुर कार्की

अवलम्वित नजिरः

 

फैसला

            न्या.रामनगिना सिंहः सर्वोच्च अदालत नियमावली, २०४९ को नियम ३(१) (क) वमोजिम यस इजलास समक्ष पेश हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त व्यहोरा तथा निर्णय यसप्रकार छः

            २.    मिति २०५५।१।१८ गते अं. ९.३० बजेको समयमा जाहेरीमा उल्लेख भएका गोपाल राई समेतको मिलेमतोवाट प्रतिवादी भिमसेन राईले प्रतिवादीले ग्यान्जे राईको घरबाट वन्दुक ल्याई मेरो वावु ठिलवहादुर राईलाई गोली हानी मारेको हुँदा निजहरुलाई पक्राउ गरी कानून वमोजिम सजाय गरी पाउँ भन्ने व्यहोराको मिति २०५५।१।२० को जाहेरी दर्खास्त ।

            ३.    मृतक ठिलवहादुर राईको लास जाँच हुँदा गोली लागी पछाडिको भागवाट वायां पाता ढाडबाट गोली वाहिर निस्केको सो वाहेक अन्य चोट पटक नभएको भन्ने व्यहोराको मिति २०५५।१।२० को लाश प्रकृति मुचुल्का ।

            ४.    मिति २०५५।१।१८ गते वारदात भएको सुनेका हौं, के कस्ले निज मृतक ठिलवहादुर राईलाई गोली हानी हत्या गरेका हुन, निज मृतकको के को सँग रिसइवि थियो थाहा छैन भन्ने रामबहादुर कार्की र इन्द्रवहादुर वस्नेतको संयुक्त  कागज ।

            ५.    मिति २०५५।१।१७ गते साँझ अं. ६ बजेको समयमा म घांस काट्न जांदा पावै गा.वि.स. वडा नं. ९ वस्ने अं. वर्ष २८ को भिमसेन राई जंगलको छेउमा टाउकोमा तथा मुखमा पट्टी वांधी वन्दुक साथमा राखी वसिरहेकोले मैले चिनी सोध्दा निज   वोलेनन् । मिति २०५५।१।१८ गते निज भिमसेन राईले नै जाहेरवालाको वावु ठिलवहादुर राईलाई गोली हानी हत्या गरेको हुनुपर्दछ भन्ने व्यहोराको धनसेर राईको कागज ।

            ६.    मृतक ठिलवहादुर राईको गोली हानेकै कारणवाट मृत्यु भएको भन्ने मिति २०५५।१।२२ को जिल्ला स्वास्थ्य कार्यालयको शव परीक्षण प्रतिवेदन ।

            ७.    मिति २०५५।१।१७ गते ग्यान्जे राईको घरवाट भिमसेन राईले भरुवा वन्दुक लिएको र भोलीपल्ट मिति २०५५।१।१८ गते भिमसेन राई, गोपाल राई, भाई किरांत राई, वलवहादुर राई कुराकानी गरी गएका थिए । भिमसेन राईको हातमा वन्दुक थियो । उल्लेखित प्रतिवादीहरुले ठिलवहादुर राईलाई गोली हानी मारेको भनि सुनेको हुँ । म उक्त वारदातमा संलग्न छैन भन्ने व्यहोराको मिति २०५५।२।३ गतेको निरेन्द्र आङदम्वेको अधिकार प्राप्त अधिकारी समक्ष गरेको वयान ।

            ८.    मिति २०५५।१।१७ गतेका दिन पावै गा.वि.स. वडानं. ९ वस्ने ग्यान्जे राईसँग भिमसेन राईले भरुवा वन्दुक मागी भोलिपल्ट मिति २०५५।१।१८ गते साँझ ६,७ बजेको समयमा बलवहादुर राई, गोपाल राई, भाई किरांत राई, भिमसेन राई समेतका मानिस मेरो घरमा आई मलाई तथा मेरो छोरी निरेन्द्र आङदम्वेलाई आज ठिलवहादुर राईलाई खतम पार्नु पर्छ भन्दा म तथा छोरीले हामी आइमाई मानिसहरु त्यस्तो काममा जान्नौं भन्दा निजहरु मेरो घरवाट निस्की गएका थिए । निजहरुले नै ठिलवहादुर राईलाई गोली हानी हत्या गरेको हुनुपर्दछ । मेरो श्रीमान धनकुमार लिम्वू सो अवस्था घर गाउँमा छैनन र म तथा छोरी निरेन्द्र आङदम्वे समेत उक्त घटनामा संलग्न छैनौं भन्ने समेत व्यहोराको प्रतिवादी टिकाकुमारी लिम्वूको अधिकार प्राप्त अधिकारी समक्ष गरेको वयान ।

            ९.    प्रतिवादी वलवहादुर राई, भाई किरांत राई , गोपाल राई, भिमसेन राई समेत मेरो घरमा वन्दुक माग्न आएकोले मैले प्रतिवादी मध्येका भिमसेन राईलाई वन्दुक दिएको हुँ । उक्त कुरा मैले अन्य कोही कसैलाई भनिन् । मृतकलाई सोही मैले दिएको वन्दुकले भिमसेन राईले गोली हानी हत्या गरेको हो । उक्त वारदातमा म संलग्न छैन भन्ने प्रतिवादी भिमसेन ग्यान्जे राईको अधिकार प्राप्त अधिकारी समक्षको वयान । जाहेरीमा उल्लेख भएका भाई किरांत राई समेतको मिलेमतोवाट भिमसेन राईले जाहेरवालाको वावु ठिलवहादुर राईलाई पूर्व रिसइविको कारण समेतवाट गोली हानी हत्या गरी मारेकोमा मलाई पूर्ण विश्वास लाग्छ भन्ने समेत पर्खिमाया राईले गरिदिएको कागज ।

            १०.    जाहेरीमा लेखिएको मिति र समयमा जाहेरी प्रतिवेदनमा उल्लेख भएका प्रतिवादीहरुले मेरो श्रीमान् ठिलवहादुर राईलाई मिलेमतोवाट गोली हानी हत्या गरेको हो भन्ने वुझिएका चन्द्र माया राई, मृतककी श्रीमती र छोरी रुद्रमणी राईको संयुक्त कागज ।

            ११.    जाहेरीमा उल्लेख भएको मितिमा जाहेरीमा लेखिएका प्रतिवादी भिमसेन राईले प्रतिवादी मध्येका ग्यान्जे राईको घरवाट वन्दुक ल्याई गोपाल राई, भाई किरांत राई, धनकुमार लिम्वू टिकाकुमारी लिम्वू निरेन्द्र आङदम्वे समेतको मिलेमतोवाट प्रतिवादी मध्येका भिमसेन राईले गोली हानी मृतक ठिलवहादुर राईको मृत्यु भएको हो भन्ने बुझिएका जगतवहादुर राई समेतका मानिसहरुले लेखाई दिएको वस्तुस्थिति मुचुल्का ।

            १२.   मिसिल संलग्न आधार प्रमाणवाट खुम्वुवानको विरोध गर्‍यो भन्ने वहानामा जग्गा तथा मुद्दा मामिला सम्बन्धी पूर्व विवादको रिसइवि साधन गर्न योजनावद्ध रुपमा सरसल्लाह गरी वन्दुक लिने दिने कार्य गरी मानिसलाई गोली हान्दा मानिस मर्छ भन्ने कुराजानी बुझी थाहा पाई आफ्नो घरमा सांंझका समयमा खाना खांदै गरेका मृतक ठिलवहादुर राईलाई वन्दुकले गोली हानी कर्तव्य गरी प्रतिवादी भिमसेन राई, ग्यान्जे राई, टिकाकुमारी लिम्वू , निरेन्द्र आङदम्वे ,गोपाल राई, वलवहादुर राई, भाई किरांत राई, धनकुमार लिम्वू समेतले मारेको पुष्टि हुँदा प्रतिवादी भिमसेन राईलाई मुलुकी ऐन ज्यान सम्बन्धी महलको १ र १३(१) नं. को कसूरमा ऐ.ऐनको १३(१) नं. वमोजिम प्रतिवादी ग्यान्जे राईलाई ऐ.ऐनको १ र   १७(१) नं. को कसूरमा ऐ.ऐनको १७(१) वमोजिम प्रतिवादी निरेन्द्र आङदम्वे र टिकामया भन्ने टिकाकुमारी लिम्वूलाई  ऐ.ऐनको १ र १७(३) नं को कसूरमा ऐ. ऐनको १७(३) नं. वमोजिम र प्रतिवादी गोपाल राई, भाई किरांत राई, ,बलवहादुर राई, धनकुमार लिम्वूलाई ऐ.ऐनको १ र १३(४) नं. को कसूरमा ऐ. ऐनको १३(४)नंं वमोजिम हदैसम्म सजाय गरी पाउन माग दावी सहित सक्कल मिसिल तथा पक्राउ परी आएका प्रतिवादी टिका माया भन्ने टिकाकुमारी लिम्वू, निरेन्द्र आङदम्वे र ग्यान्जे राईलाई यसै अभियोग पत्रसाथ प्रस्तुत गरिएको छ । हाल फरार रहेका प्रतिवादी भिमसेन राई, गोपाल राई, भाई किरांत राई, वल वहादर राई र धनकुमार लिम्वूलाई कानून वमोजिम वारेन्ट जारी गरी पाउ भन्ने समेत व्यहोराको अभियोग पत्र ।

            १३.   मृतक ठिलवहादुर राईको लाश मेरो घरको बाटो हुँदै ल्याई म समेतलाई प्रहरीले पक्राउ गरी लास संगै सल्लेरी नयाँ वजार भन्ने ठाउँमा आईपुग्दा मिति २०५५।१।२१ गते मृतककै दाजु जगतवहादुर राईले मेरो भाई ठिलवहादुर राईलाई भिमसेन राईले नै गोली हानी कर्तव्य गरी मारेको हुन भन्ने सुनेको हुँ । मृतकलाई मार्नेमा मेरोे सहमति छैन । वस्तुस्थितिका मानिसहरु मेरो रिसइवि परेका मानिस हुन् । जाहेरी दर्खास्त र अभियोग दावी वमोजिम मैले कसूर अपराध गरेको होइन । निज मृतक गोली लागेर नै मरे जस्तो लाग्छ तर मेरो र मेरी आमा टिकाकुमारी लिम्बुको निजलाई मार्ने मराउनेमा कुनै मिलेमतो सरसल्लाह छैन, होइन । मेरो उपरको अभियोग दावीवाट सफाइ पाउ भन्ने समेत व्यहोराको प्रतिवादी निरेन्द्र आङदम्वेले अदालतमा गरेको वयान । .   १४.      मिति २०५५।१।१८ गते म मेरो घरमा सुतिरहेको थिएँ । मेरो घरमा ढाक्रे समेतका ६७ जना मानिस पनि वास वसेका थिए । सो रात मैले कुनै आवाज पनि सुनिन । सो घटना घटेको थाहा पाइन र शनिवारको दिन बेलुका प्रहरीले हामीलाई पक्रि ल्याई लाससंगै आउँदा नेलेको चांैकीमा वस्दा मेरो मितभाई प्रभुरामले भिमसेन राईले मारेको रहेछ भन्दा थाहा पाएको हुँ । मैले प्रहरीमा गरेको वयान मेरो स्वइच्छाले गरेको होइन, मलाई प्रहरीले पढछु भन्दा पनि नदिई डर देखाएर यहां सही गर भनेकाले ल्याप्चे सम्म गरी दिएकी हुँ र धनसेर राईलाई म सँग रिसइवि परेको हुँदा मलाई पोलेको होलान । वस्तुस्थितिमा किन मलाई समेत पोलेका हुन उनीहरु नै जानून । जाहेरी दर्खास्त झुठ्ठा हो । मृतक ठिलवहादुर राई मेरो भाई नाता पर्ने मानिस हुँदा मैले मार्नुपर्ने कुनै कारण नै छैन र मैल कुनै सहमति दिएको पनि छैन । मृतक ठिलवहादुरलाई म समेतको मिलेमतोवाट कर्तव्य गरी मैले नमारेको हुँदा अभियोग दावीवाट सफाइ पाउँ भन्ने समेत व्यहोराको प्र.टिकाकुमारी लिम्वूको अदालतमा गरेको वयान ।

            १५.   मिति २०५५।१।१८ गते राती म आफ्नै गोठमा थिए । जाहेरवाला तेजप्रसाद राईले मेरो वुवालाई गोली हानेर मार्‍यो अरे जाउन भन्दा म घटनास्थलमा आई हेर्दा मृतक रगतपच्छे अवस्थामा सिकुवामा लडाई राखेको देखेको हुँ । सो अवस्थामा कस्ले मार्‍यो खुलेन । पछि लाश वोक्न सघाई लगेर आउँदा वोगल भन्ने ठाउँमा भिमसेन राईले गोली हानी मारेको हो भनी जगतवहादुरलाई भन्थे । पावै गा.वि.स को काजी गिरीले मैले पैसा दिएकोमा २३ दिन यही वन्दुक राख म सँग पैसा छैन भनेकोले मैले घरको दलिनमा सिउरेर राखेको थिए । सो वन्दुक पहिले भिमसेन राईले माग्दा छैन भनि पठाएको थिएं । पछि हामी घरमा नभई केटाकेटी मात्र भएको वेलामा निजले चोरेर लगेका हुन । मैले भिमसेन राईलाई वन्दुक दिएको होइन र मेरो मृतक ठिलवहादुर राईलाई मार्नुमा कुनै सहमति थिएन । प्रहरीमा गरेको वयान मेरो स्वइच्छाले गरेको होइन, सही  चांही मेरो नै हो । यही गोलीले भिमसेनले मृतक ठिलवहादुर राईलाई मारेको अरे भन्ने सुनेको हुँ । मृतक ठिलवहादुर राईलाई म समेत भई मारेको होइन, त्यसो हुँदा अभियोग दावीवाट सफाइ पाउँ भन्ने समेत व्यहोराको प्र.ग्यान्जे राईले अदालतमा गरको वयान ।

            १६.    उक्त घटना भएको समयमा म ट्रेकिङमा काठमाडौंमा काम गर्थे । मिति २०५५।१।२० गते हामी ट्रेकिङ हिड्न शुरु गरी वालाजु वसपार्कवाट रात्री बस चढी ऐ. २१ गते पोखरा पुगेका हौं । हल्याण्डका २ जनालाई लिएर गएका हौं । म २०५२ साल देखि २०५४ साल सम्म लौन्ड्रीमा काम गरी बसेको, त्यस पछि म ट्रेकिङमा काम गरी वसेको थिए । घटना भएको दिन पनि म ट्रेकिङमा साथीहरुसँग काठमाडौंमा नै छु र म मिति २०५५।१।२८ गते कोठामा आइपुग्दा गाउँमा ठिलवहादुरलाई ग्यान्जे राईवाट वन्दुक ल्याई भिमसेन राईले गोली हानी मारे अरे भन्ने  मेरो साथी वलराम राईवाट थाहा पाएको हुँ । ठिलवहादुर मरेको सम्बन्धमा मलाई कुनै जानकारी नै छैन र पछि मलाई सहित पोली जाहेरी दिएको रहेछ । निज ठिलवहादुर राईसँग मेरो कुनै रिसइवि लडन्त भिडन्त केही भएको पनि होइन । मैले ठिलवहादुरलाई मार्नपर्ने कारण पनि छैन । सो घटना भएको समयमा म काठमाडौं ट्रेकिङमा काम गरी बसेको हुनाले र निजलाई को को भई के कसरी मारेका हुन मलाई सो सम्बन्धमा कुनै थाहा छैन र मैले कुनै कसूर अपराध नगरेको हुँदा अभियोग दावीवाट सफाइ पाउँ भन्ने समेत व्यहोराको प्र.भाई किरांत राईले अदालतमा गरेको वयान ।

            १७.   मृतक ठिलवहादुर राईलाई म समेत मिली कर्तव्य गरी मारे मराएको होइन । मिति २०५४।१२।२१ गते देखि म घरवाट रांगा व्यापारको सिलसिलमा ऐ.२५ गते लुक्ला पुगे । त्यसपछि म २ दिन सम्म लुक्ला मै वसें । त्यसपछि म जिरी गएर काठमाडौं पुगे गते थाहा भएन ।  काठमाडौ गएपछि जनिस अफिसवाट ट्रेकिङको लागि सिगाचुली गएं । हामी ६ जना २१ दिनको लागि ट्रेकिङ गएका थियौं र काठमाडौं अरु ट्रेकिङमा गएका थियौं र म मरो घर मिति २०५५।३।२७ गते मात्र आएको हुँ । मृतकको फोटो हेर्दा छातीमा गोली लागेर मरेको जस्तो लाग्छ । खास घटना भएको दिन म धौलागिरी अन्चलको सिगाचुली भन्ने ठाउँमा थिए । सो घटना भएको समयमा म घर गाउँमा नभएकोले को को भै के कसरी निज मृतक ठिलवहादुर राईलाई गोली हानी मारेका हुन सो सम्बन्धमा कुनै कुरा थाहा छैन र मैले कोही कसै सँग मिलेमतो गरको समेत होइन । मैले कुनै कसूर अपराध नगरको हुँदा अभियोग दावीवाट सफाइ पाउँ भन्ने समेत व्यहोराको प्रतिवादी वलवहादुर राईले अदालतमा गरको वयान ।

            १८.   प्रतिवादी मध्येका धनकुमार लिम्वू, गोपाल राई, भिमसेन राईका  नाउँमा जारी भएको वारेन्ट सहितको ७० दिने म्याद पूर्जि मिति २०५५।३।१३ मा तामेल भएको देखिएको र  सो तामेली म्यादमा समेत हाजिर हुन नआई म्यादै गुजारी बसेको ।

            १९.    प्रतिवादी भिमसेन राई, गोपाल राई र धनकुमार लिम्वू समेत ३ जनाको हकमा अ.वं. १९० नं. वमोजिम मुलतवी रहने र प्रतिवादी वलवहादुर राई र भाई किरांत राईले मृतक ठिलवहादुर राईलाई मार्ने वचन दिई  वारदातस्थलमा गएको देखिंदा प्रतिवादीहरु भाई किरांत राई र वलवहादुर राईलाई अभिोग दावी वमोजिम मुलुकी ऐन ज्यान सम्बन्धीको १३(४) नं. को कसूर गरेकोले ऐ. ऐनको १३(४) नं. वमोजिम जन्मकैदको सजाय हुने, प्रतिवादी भिमसेन राई समेतले मृतकलाई मार्न भनि वन्दुक मागेकोमा ज्यान मार्नको निमित्त जानी जानी आफ्नो साथमा रहेको वन्दुक दिई यी प्रतिवादी ग्यान्जे राईले ज्यान सम्बन्धीको १७(१) नं. वमोजिमको कसूर गरेकोले निज ग्यान्जे राईलाई ऐ.ऐनको १७(१) नं. वमोजिम १० (दश) वर्ष कैदको सजाय हुने र प्र.निरेन्द्र आङदम्वे र टिकाकुमारी लिम्वूले मृतकलाई मार्ने कुरा चाल पाई जाहेर नगरी वसेकोले ज्यान सम्बन्धी महलको २६ नं. को कसूर गरेकोले निजहरुलाई सोही नम्वर वमोजिम दुई दुई महिनाका दरले कैदको सजाय हुने ठहर्छ भन्ने शुरु सोलुखुम्व जिल्ला अदालतको मिति २०५६।५।१।३ को फैसला ।

            २०.   यसमा शुरुले गरेको फैसला त्रुटिपूर्ण भएकोले सो फैसला उल्टी गरी जन्मकैदको सजायवाट मलाई सफाइ दिलाई पाउँ भन्ने प्रतिवादी भाई किरांत राईको पुनरावेदन अदालतमा परेको पुनरावेदन   पत्र ।

            २१.   यि प्रतिवादीहरुद्वय टिकाकुमारी लिम्वू र निरेन्द्र आङदम्वेलाई अभियोग माग दावी ज्यान सम्बन्धी महलको १७(३) रहेकोमा ऐ.महलको २६ नं. वमोजिम जनही २।२ महिनामात्र कैद गर्ने गरी भएको शुरु फैसला त्रुटिपूर्ण भएको हुँदा सोही हदसम्म वदर गरी यी प्रतिवादीहरुलाई शुरु अभियोग मागदावी वमोजिम सजाय गरी पाउँ भन्ने वादी श्री ५ को सरकारको पुनरावेदन अदालतमा परेको पुनरावेदन   पत्र ।

            २२.   यसमा पुनरावेदक भाई किरांत राईले आरोपित कसूरमा इन्कार गरी अदालतमा वयान गरेको, पुनरावेदक प्रतिवादी भाई किरात राईकै वन्दुक प्रहारवाट ठिलवहादुरको मृत्यु भएको हो भन्ने प्रमाणवाट नदेखिएको, प्रहरीमा वयान गर्ने प्रीतवादीहरुको अदालतमा भएको वयान र ठाडो कागज गर्ने वादीका साक्षीहरु समेतको अदालतको वकपत्रवाट समेत अभियोग समर्थित हुन नसकेको स्थितिमा केवल पूर्व रिसइवि र प्रहरीमा भएको वायन कागजहरुको आधारमा मात्र कसूर गरेको ठहराएको शुरु इन्साफ फरक पर्न सक्ने हुँदा छलफलको लागि अ.वं. २०२ नं. वमोजिम बिपक्षी झिकाई पेश गर्नु भन्ने पुनरावेदन अदालतको मिति २०५६।११।२३।२ को   आदेश ।

            २३.   साक्षीहरुको वकपत्र समेतवाट प्रतिवादीहरु मध्येका भाई किरात राईले आरोपित कसूर गरेको शंकारहित रुपवाट प्रमाणित भइरहेको र निजले वारदात समय अर्थात २०५५।१।१८ गते अन्यत्र रहेको कुनै प्रमाण पनि पेश गर्न सकेको नदेखिएको र पुनरावेदन गर्दा पनि तत्सम्बन्धी कुनै प्रमाण पनि पेश गर्न सकेको नदेखिएको र पुनरावेदन गर्दा पनि तत्सम्बन्धी कुनै प्रमाणको उल्लेख गर्न वा पेश गर्न सकेको नदेखिंदा प्रतिवादी भाई किरात राईले आरोपित कसूर गरेको थप पुष्ट्याई भइरहेकोले निजलाई ज्यान सम्बन्धी महलको दफा १३(४) अनुसार सजाय गर्ने गरी जिल्ला अदालतवाट भएको फैसला मुनासिव छ । प्रतिवादी टिकाकुमारी लिम्वू र निरेन्द्र आङदम्वेको हकमा विचार गर्दा प्रतिवादी टिकाकुमारीले अनुसन्धानका क्रममा वयान गर्दा पनि ठिलवहादुरलाई मार्ने मतलवमा पसेको आरोपलाई स्वीकार गरेको देखिंदैन । उक्त दुवै प्रतिवादीहरुलाई ज्यान सम्बन्धीको २६ नं. अनुसार सजाय गरेपछि पुनरावेदन नपरेको तथ्यले फैसलावाट ठहरेको कसूर भन्दा अन्य कसूर गरेको भन्ने अनुमान गर्न मिल्दैन । अन्य प्रतिवादीहरुले ठिलवहादुरको ज्यान मार्न जाउँ भनेको कारणले मात्र टिकाकुमारी समेत ज्यान मार्ने मतलवमा पसेको भन्ने नतिजामा पुग्न नसकिने हुँदा आरोपित कसूर गरेको प्रमाणित हुन नसकी ज्यान सम्बन्धीको २६ नं. अनुसार टिकाकुमारी लिम्वू तथा निरेन्द्र आङदम्वेलाई सजाय गरेको जिल्ला अदालतको फैसला मुनासिव हुँदा सदर हुने ठहर्छ । यसतर्फ वादी श्री ५ को सरकारको पुनरावेदन जिकिर पुग्न सक्दैन भन्ने पुनरावेदन अदालत राजविराजको मिति २०५७।१।२८ को  फैसला ।

            २४.   फौज्दारी मुद्दामा अभियुक्तको कसूर प्रमाणित गर्ने भार वादी श्री ५ को सरकारको हुनेमा यो यस्तो हतियारले यसरी मृतक ठिलवहादुरलाई मारेको भन्ने कुनै ठोस प्रमाण प्रस्तुत हुन नसकेकोमा केवल शंका र अनुमानको भरमा प्रतिपादित नजिर सिद्धान्त विपरीत आरोपित कसूरमा कसूरदार ठहर्‍याउने गरी भएको शुरु फैसलालाई सदर गरेको पुनरावेदन अदालत राजविराजको फैसला त्रुटिपूर्ण हुँदा उक्त फैसला वदर गरी आरोपित कसूरवाट मुक्त गरी पाउँ भन्ने समेत प्रतिवादी भाई किरात राईको यस अदालत समक्ष पर्न आएको पुनरावेदन ।

            २५.   साथै प्रतिवादी वलवहादुर राईको उक्त पुनरावेदन अदालतको फैसला उपर पुनरावेदन नपरी उक्त अदालतको आदेश वमोजिम निजको हकमा साधक जाहेर भै पेश हुन आएको ।

            २६.   प्रतिवादीहरु वलवहादुर राई र भाई किरांत राईले मृतक ठिलवहादुरलाई मार्न वचन दिई वारदात स्थलमा गएको सम्म उल्लेख गरी निज प्रतिवादीहरुलाई ज्यान सम्बन्धी महलको १३(४) नं. वमोजिम जन्मकैदको सजाय गर्ने ठहराएको तर यो यसप्रकारले मार्ने वचन दिई मार्न संयोग पारी दिएको कार्य यी प्रतिवादी वलवहादुर राई र भाई किरात राईले गरेको भन्ने खुलाएको नपाइएको अवस्थामा सो फैसलालाई सदर गरेको पुनरावेदन अदालत राजविराजको मिति २०५७।१।८ को फैसला फरक पर्न सक्ने देखिंदा अ.वं. २०२ नं. बमोजिम महान्यायाधिवक्ताको कार्यालयलाई सूचना दिई नियम वमोजिम पेश गर्नु भन्ने समेत यस अदालत संयुक्त इजलासको २०६०।१।१८ को आदेश ।

            २७.   गोली प्रहार गर्ने प्रतिवादी भिमसेन राईसँग प्रतिवादी भाई किरांत राई वारदात स्थलमा गई कर्तव्य गर्न मद्दत गरेको, पूर्व रिसइवी देखिइएवाट भाई किरांत ज्यान मार्ने कार्यमा संलग्न रहेको देखिन्छ । मृतकको घरमा गई सहयोग गरी संयोग पारिदिएको स्थितिमा वन्दुकको गोलीवाट वारदात गर्दा मृतकको जीउमा हात हाल्ने क्रिया अनिवार्य हुन नसक्ने हुन्छ । मृतकलाई मार्नमा प्र.भाई किरांत संलग्न रहेको देखिंदा निजलाई ज्यान सम्बन्धीको १३ नं. को देहाय ४ अनुसार सजाय गर्ने गरी भएको शुरु इन्साफ सदर गरेको पु.वे.अ. को इन्साफ सदर हुने ठहर्छ । साधक जाहेर भई आएको प्रतिवादी वलवहादुर राई समेत भई कसूर गर्न वन्दुक माग्न गएका र मृतकको घरमा समेत वलवहादुर गएको र निज समेत वारदातमा संलग्न रहेको देखिन्छ । निजलाई ज्यान सम्बन्धीको १३ नं. को देहाय ४ बमोजिम जन्मकैदको सजाय गरेको शुरु इन्साफ सदर गरेको पुनरावेदन अदालतको फैसला मिलेको देखिंदा साधक सदर हुन्छ । प्रतिवादी भाई किरांत राई तथा वलवहादुरलाई ज्यान सम्बन्धीको १७ नं. को देहाय ३ बमोजिम ३ बर्ष मात्र कैद सजाय गर्ने माननीय न्यायाधीश श्री मीनवहादुर रायमाझीको रायसँग सहमत नहुँदा सर्वोच्च अदालत नियमावली, २०४९ को नियम ३(१) (क) बमोजिम पूर्ण इजलास समक्ष पेश गर्नु भन्ने समेत माननीय न्यायाधीश श्री हरिप्रसाद शर्माको राय ।

            २८.   ज्यान सम्बन्धीको १३(४) नं. आकर्षण हुन ज्यान मार्न निमित्त वचन दिने कार्य वा वारदात भै रहेको ठाउमा गई मार्नलाई संयोग पारि दिन मर्ने मानिसको जिउमा हात हाली पक्री समाति दिने कार्य हुन अनिवार्य हुन्छ । मृतकलाई प्रतिवादी भाई किरांत राई र वलवहादुर राईले त्यस्तो कार्य गरेको पुष्टी हुन सकेको देखिंदैन । यी प्रतिवादीको ज्यान मार्ने सहमति रहेकै कारणले मात्र ज्यान सम्बन्धीको १३(४) नं. आकर्षित हुन सक्ने देखिदैन  । ज्यान सम्बन्धीको १३(१) (२) र (३) को माग दावी नभएको र सो अवस्था विद्यमान नहुँदा उक्त दफा समेत आकर्षित हुन सक्ने देखिएन । पं्रतिवादी भिमसेनको हातमा वन्दुक रहेको यी प्रतिवादीको हातमा वन्दुक नरहेकोले यिनीहरुले वन्दुक प्रहार गरेको भन्ने पनि देखिंदैन । यी प्रतिवादी ज्यान मार्न मतलवमा पसेका तर मुख्य भै वचन पनि नदिएको, हतियार पनि नछोड्ने, जिउमा पनि नछुने मतलवी भएको देखिएको हुँदा निजहरुले ज्यान सम्बन्धीको १७(३) नं. को कसूर गरेको देखिंदा प्रतिवादी भाई किरांत राई र वलवहादुर राईलाई सोही नं. वमोजिम हदैसम्म ३ बर्ष कैद हुने ठहर्छ । जन्मकैदको सजाय हुने ठहर गरेको पुनरावेदन अदालतको इन्साफ केही उल्टी हुन्छ । प्रतिवादी भाई किरांत राई तथा वलवहादुर राईलाई ज्यान सम्बन्धीको १३(४) नं. बमोजिम जन्मकैद को सजाय हुने ठहर्‍याउनु भएका माननीय न्यायाधीश श्री हरिप्रसाद शर्माको रायसँग सहमत नहुँदा सर्वोच्च अदालत नियमावली, २०४९ को नियम ३(१) (क) बमोजिम पूर्ण इजलासमा पेश गर्नु भन्ने समेत माननीय न्यायाधीश श्री मीनवहादुर रायमाझीको राय ।

            २९.   नियम वमोजिम पेश हुन आएको प्रस्तुत मुद्दामा पुनरावेदक प्रतिवादी भाई किरांत राईकोतर्फवाट विद्वान अधिवक्ता त्रय श्री हरिन्द्र राई, डिल्ली मैनाली, बिश्व प्रकाश सिग्देलले ग्यान्जे राइले वन्दुक भिमसेनलाई दिएको तर भाई किरांतले वन्दुक लिएको होइन । घटनाको एकमात्र चश्मदित साक्षी रुद्रमणी राईले भाई किरांतले ज्यान सम्बन्धीको १३(४) नं. वमोजिमको कसूर गरेको भनेका छैनन् । निजले मानिसहरु आई मृतकलाई गोली हाने मृतक ढल्यो, मानिस चिनिन, मानिसहरु भागी गए भन्ने वकपत्र गरेका छन् । भाई किरांत घटनास्थलमा थियो भन्ने देखिने कुनै ठोस सवुद प्रमाण छैन । भाई किरांतले वन्दुक नचलाएको, वचन नदिएको, मार्नलाई संयोग पारिदिन हात हाल्ने, पक्रने समात्ने काम गरेको छैन । निजलाई संकासम्म जनाई पोल गरेको आधारमा कसूरदार मान्न मिल्दैन । निजले पूर्णरुपमा सफाइ पाउनु पर्दछ । कुनै आधारवाट घटनास्थलमा रहेको देखिन्छ भने पनि ज्यान सम्बन्धीको १७ नं. भन्दा वाहिर जान मिल्दैन भन्ने वहस प्रस्तुत गर्नुभयो । प्रत्यर्थी वादी श्री ५ को सरकारकोतर्फवाट उप न्यायाधिवक्ता श्री महेन्द्रवहादुर कार्कीले भाई किरांत लगायतका प्रतिवादी समेत भई ग्यान्जे राईसँग घटनाको अघिल्लो दिन वन्दुक मागेर लिई भोलीपल्ट मृतकलाई सोही वन्दुकले गोली हानेवाट मृतकको मृत्यु भएकोले ज्यान सम्बन्धीको १३(४) नं. अनुसारको संलग्नता रहेको मिसिल संलग्न सवुद प्रमाणवाट प्रमाणित भइरहेको अवस्था हुँदा पुनरावेदन अदालतको फैसला सदर गरिनु पर्दछ भनी वहस प्रस्तुत गर्नुभयो ।

३०.   आज निर्णय सुनाउन तोकिएको प्रस्तुत मुद्दामा विद्वान कानून व्यवसायीहरुको वहस जिकिर समेतलाई विचार गरी मिसिल अध्ययन गरी हेर्दा निम्न प्रश्नहरुमा निर्णय दिनुपर्ने हुन   आयो ।

 

(१)    प्रस्तुत मुद्दामा पुनरावेदक प्रतिवादी भाई किरांत राई, साधकवाट पेश हुन आएका अर्का प्रतिवादी बलवहादुर राई समेतको संलग्नता के कस्तो रुपमा रहेको देखिन्छ ?

(२)   पुनरावेदन अदालत राजविराजले गरेको फैसला मिलेको छ, छैन ?

(३)   पुनरावेदकको पुनरावेदन जिकिर पुग्छ , पुग्दैन ?

 

३१.   पहिलो प्रश्नतर्फ विचार गर्दा प्रतिवादी भाई किरांत राईको पुनरावेदनको रोह र प्रतिवादी बलवहादुर राईको साधकको रोहवाट हेर्दा मृतक ठिलवहादुर राईलाई मारेको अभियोगमा प्रतिवादी मध्येका भाई किरांत राई र वलवहादुर राईलाई ज्यान सम्बन्धीको १३(४) नं.अन्र्तगत कसूर कायम गरी अभियोग मांग दावी रहेकोमा शुरु जिल्ला अदालतले निजहरुलाई अभियोग माग दावी वमोजिम कसुदार ठहर्‍याई गरेको फैसला उपर निज भाई किरांत राईको पुनरावेदन अदालत राजविराजमा पुनरावेदन परेकोमा निजको हकमा शुरु इन्साफ सदर गरेको पुनरावेदन अदालतको फैसला उपर भाई किरांत राईको यस अदालतमा प्रस्तुत पुनरावेदन परेको र प्रतिवादी बलवहादुरको हकमा साधक जाहेर भइआएको देखिन्छ । प्रतिवादी भाई किरांत राईलाई र साधक जाहेर भई आएको प्रतिवादी वलवहादुर राईलाई ज्यान सम्बन्धीको १३ नं.को देहाय ४ अनुसार सजाय गरेको शुरु इन्साफ सदर गरेको पुनरावेदन अदालतको फैसला मनासिव देखिंदा सदर हुने ठहर्छ भन्ने माननीय न्यायाधीश श्री हरिप्रसाद शर्माको राय र प्रतिवादी भाई किरांत राई तथा वलवहादुर  राईलाई ज्यान सम्बन्धीको १७ नं. को देहाय (३) बमोजिम ३ बर्ष कैद हुने ठहर्छ । पुनरावेदन अदालतको फैसला केही उल्टी हुन्छ भन्ने माननीय न्यायाधीश श्री मीनवहादुर रायमाझीको राय भई मतैक्य नहुँदा सर्वोच्च अदालत नियमावली २०४९ को नियम ३(१) (क) बमोजिम प्रस्तुत मुद्दा पेश हुन आएको देखिन्छ । मिति २०५५।१।१८ गते मृतक ठिलवहादुर राईलाई भाई किरांत राई तथा वलवहादुर राई समेतका प्रतिवादीले पूर्व रिसइविको कारणवाट गोली हानी हत्या गरेकोले कार्वाही गरी पाउँ भन्ने किटानी जाहेरी दर्खास्त परेको देखिन्छ । लास जांच प्रतिवेदनमा गोली लागि मृत्यु भएको भन्ने व्यहोरा उल्लेख भएको देखिन्छ । प्रतिवादी मध्येका ग्यान्जे राईले आफू कसूरमा इन्कार रही प्रतिवादीहरु बलवहादुर राई, भाई किरांत राई, गोपाल राई, भिमसेन राई समेत निजको घरमा वन्दुक माग्न गएकोले प्रतिवादी मध्येका भिमसेन राईलाई वन्दुक दिएको र सोही वन्दुकले भिमसेन राईले ठिलवहादुरलाई गोली हानी हत्या गरेको भन्ने अधिकार प्राप्त अधिकारी समक्ष वयान गरेको देखिन्छ । प्रतिवादी टिकाकुमारी लिम्वूले आफू वारदात स्थलमा नगएको भन्दै मिति ०५५।१।१७ मा प्रतिवादी वलवहादुर, गोपाल राई, भाई किरांत राई, भिमसेन राई समेतका व्यक्ति आई ठिलवहादुरलाई आज खतम पार्नु पर्छ हिंड भनि भन्दा हामी आइमाई मानिस त्यस्तो काममा जान्नौं भन्दा निजहरु घरवाट निस्की गएका थिए । निजहरुले नै गोली हानी ठिलवहादुर राईलाई मारेको हुनुपर्दछ भनी अधिकार प्राप्त अधिकारी समक्ष वयान गरेको देखिन्छ । प्रतिवादी भिमसेन राईले मुखमा पट्टी वांधी वन्दुक लिई जंगलमा वसेको वेला भाई किरांत राई वलवहादुर राई समेत साथै बसेको देखेको भनी धनसेर राईले वयान गरि दिएको देखिन्छ । प्रतिवादी भाई किरांत राईले अदालतमा इन्कारी वयान गरेपनि अधिकार प्राप्त अधिकारी समक्ष गरेको वयानलाई अन्यथा देखाउन सकेको पाइदैन । उपरोक्त आधार प्रमाणवाट मृतक ठिलवहादुरलाई मार्नमा प्रतिवादी भाई किरांत राई, बलवहादुर राई, भिमसेन राई समेतको मिलेमतो रहेको देखिन्छ । खुम्वुवान मुक्ति मोर्चाको सदस्य नभएकोले वैचारिक मत भिन्नताको कारणले ठिलवहादुरलाई मार्न भनी प्रतिवादी ग्यान्जे राईको घरमा प्रतिवादी बलवहादुर राई भाई, किरांत राई, गोपाल  राई, भिमसेन राई समेत वन्दुक माग्न आएका मृतकलाई मार्न भनी मानिस भेला गर्ने उद्देश्यले टिकाकुमारी लिम्वूको घरमा गई निजलाई उत्पे्ररित गरेको र प्रतिवादीहरु सँग साथै घटनास्थलमा गएको तथा भिमसेन राईको हातवाट गोली प्रहार भै सो गोली को कारणवाट ठिलवहादुरको मृत्यु भएको देखिन आएवाट यि प्रतिवादीहरु मृतकलाई मार्ने मनसायले षडयन्त्रको सुत्रधारको रुपमा रहेको मिसिल संलग्न कागजातवाट देखिन आउँछ । ग्यान्जे राई र टिकाकुमारी लिम्वू अदालतमा इन्कार रहेपनि जाहेरवाला तेजप्रसाद राई, प्रत्यक्षदर्शी साक्षीहरु धनशेर राई, जितवहादुर राई, र रुद्रमणि राई समेतले अदालतमा गरेको वकपत्रवाट ग्यान्जे राई र टिकाकुमारी लिम्वूले अधिकार प्राप्त अधिकारी समक्ष गरेको वयानको पुष्टी भएको छ र निजहरुले अधिकार प्राप्त अधिकारी समक्ष गरेको वयानलाई अन्यथा मान्नुपर्ने कुनै आधार कारण पनि देखिंदैन । ज्यान मार्ने काममा मुख्य भई षडयन्त्र गर्नेलाई ज्यान सम्बन्धीको १६ नं. वमोजिम सजाय गर्ने कानूनी व्यवस्था रहेको देखिन्छ । नेपाल कानूनमा षडयन्त्रको परिभाषा गरेको देखिंदैन । अन्य देशको कानूमा षडयन्त्रको के कस्तो परिभाषा गरेको छ त्यसतर्फ हेर्दा षडयन्त्र (Conspiracy) को परिभाषा If two or more persons agree together to do something contrary to law, or wrongful and harmful towards another person or to use unlawful means in the carrying out of an object not otherwise unlawful, the persons who so agree commit the crime of conspiracy. so long as the design to do such an act rests on intention only it is not criminal, but as soon as two or more agree to carry it into effect then their act becomes punishable. Halsbury's Laws of England, 3rd .ed.Vol. 10 p.310. Indian Penal code sec.120A मा षडयन्त्रको परिभाषा Conspiracy is a combination or agreement between several persons to carry into effect a purpose harmful to some individual of to particular classes of people or to the public at large. उक्त देशहरुको कानूनमा गरिएको षडयन्त्रको परिभाषालाई मध्य नजर राखि हाम्रो कानूनमा भएको व्यवस्थासित दांजेर हेर्दा मूलभूत अन्तर देखिन्न । सामान्य उद्देश्य (common intention) लिई कुनै गैरकानूनी काम गर्ने सामूहिक रुपमा योजना बनाई लक्ष्य प्राप्तिमा सामूहिक रुपले सहभागी भै योजनालाई परिणाममुखि बनाउने प्रत्येक व्यक्ति सामान्य रुपको अपराधी हुन जान्छ । उल्लेखित परिभाषा अनुरुप मृतक ठिलवहादुर राईलाई मार्ने मनसायले यि प्रतिवादीहरु परस्पर मिली सल्लाह गरी योजना बनाई गैरकानूनी र दषित मनसायलाई पूरा गर्ने उद्देश्यले बन्दुक मागी ल्याएको, मानिसको बढी संलग्नता गराउने उद्देश्यले टिकाकुमारी लिम्बुको घरमा गई आफ्नो योजनामा संलग्न हुन अभिप्रेरित गरेको, बन्दुक लिई भिमसेन राई जंगलमा बसी रहेकोमा यिनिहरु पनि सँग साथमा रहेको, वारदात स्थलमा समेत गै योजना सफल पार्ने कार्यमा सहयोगी भूमिका निर्वाह गरी नियोजित षडयन्त्रलाई पूरा गर्न सहभागी भै लक्षित परिणाम हासिल गरे गराएको देखिन्छ । यसरी भाई किरांत राई र दलवहादुर राईले गरेको कार्य र निर्वाह गरेको भूमिकावाट निजहरुले मृतकको ज्यान मार्ने षडयन्त्र रची सामान्य रुपले शुरु देखि अन्त्यसम्म षडयन्त्रकारीको भूमिका निर्वाह गरेको देखिन्छ । कुनै पनि षडयन्त्रमा कति जना मख्य हुन्छ भन्ने ज्यान सम्बन्धीको १६ नं. मा उल्लेख भएको देखिंदैन । कुनै गैरकानूनी कार्य गर्न सामान्य उद्देश्य लिई षडयन्त्रको भूमिका तयार गर्ने बेला देखि षडयन्त्र पूरा हुने बेला सम्म जति जना संलग्न रहेको हुन्छ ती सबैले मुख्य षडयन्त्रकारीको भूमिका निर्वाह गरेको हुन्छ र त्यस्तालाई मुख्य षडयन्त्रकारी नै मान्नु पर्छ र भाई किरांत राई र बलवहादुर राईले आफ्नो संलग्नतावाट मुख्य षडयन्त्रकारी कै भुमिका निर्वाह गरेको देखिन्छ ।

३२.   अब दोस्रो प्रश्नतर्फ विचार गर्दा प्रतिवादी भाई किरांत राई र वलवहादुर राई उपर ज्यान सम्बन्धीको १३ नं. को देहाय ४ वमोजिम सजायको अभियोग माग दावी रहेको र उक्त दफामा जुनसुकै कुरा गरिकन पनि ज्यान मार्नमा वचन दिनेलाई वा वारदात भैरहेको ठाउँमा गै मार्नलाई संयोग पारिदिनानिमित्त मर्ने मनिसको जीउमा हात हाली पक्री समाति दिनेलाई जन्मकैद गर्नुपर्छ भन्ने व्यवस्था रहेको देखिन्छ । उक्त कानूनी व्यवस्था अनुसार प्रतिवादी भाई किरांत राई र वलवहादुर राईले मार्न निमित्त वचन दिने कार्य वा वारदात भैरहेको ठाउमा गई मार्नलाई संयोग पारिदिन मर्ने मानिसको जिउमा हातहाली पक्रि समाति दिने कार्य गरेको तथ्य कुनै कागज प्रमाणवाट पुष्टी हुन सकेको नदेखिंदा निजहरुको हकमा ज्यान सम्बन्धीको १३ नं. को देहाय ४ आकर्षित हुन सक्ने देखिंदैन । ज्यान सम्बन्धीको १७ नं को देहाय (३) बमोजिम सजाय हुने हो कि भन्नेतर्फ हेर्दा अरु किसिमसँग मत सल्लाहमा पसेकोमा मार्ने ठाउँमा गई अरु कुरा केही नगरी हेरी रहनेलाई र लेखिए देखि वाहेक अरु किसिमका मतलवीलाई ज्यान सम्बन्धीको १७ नं.को देहाय ३ आकर्षित हुने देखिन्छ । प्रतिवादी भिमसेन राई, भाई किरांत राई तथा वलवहादुर राई समेतका व्यक्तिहरुले खुम्वुवानको बिषयलाई लिई पूर्व रिसइवीको कारणवाट मृतकलाई मार्ने षडयन्त्र रची प्रतिवादी ग्याम्जे राईको घरमा वन्दुक माग्न गई वन्दुक लिई सवै जना सँग साथ गई वन्दुक प्रहार गरी मृतकलाई मारेको स्थिति विद्यमान रहेको देखिंदा प्रतिवादी भाई किरांत राई र वलवहादुर राईको हकमा ज्यान सम्बन्धीको १७ नं. को देहाय ३ आकर्षित हुन सक्ने देखिएन । माथि उल्लेख गरे अनुसार प्रतिवादी भाई किरांत राई र वलवहादुर राईले मृतकलाई वन्दुक प्रहार नगरेपनि निजलाई मार्ने षडयन्त्र गरी नियोजित षडयन्त्रको लक्ष प्राप्तिमा शुरु देखि अन्तसम्म प्रत्यक्ष  रुपमा सहभागी रही षडयन्त्रलाई परिणामुखी वनाउने प्रतिवादी भाई किरांत राई र वलवहादुर राईले ज्यान सम्बन्धीको १६. नं. अनुसारको कसूर गरेको प्रमाणित भएकोले सोही नं. वमोजिम जनही १० बर्ष कैद हुने ठहर्छ । संयुक्त इजलासका माननीय न्यायाधीशहरुले व्यक्त गर्नु भएको रायसँग सहमत हुन सकिएन । निज प्रतिवादीलाई ज्यान सम्बन्धीको १३ नं.को देहाय ४ वमोजिम सजाय गरेको शुरु इन्साफ सदर गरेको पुनरावदेन अदालत राजविराजको मिति ०५७।१।२८ को फैसला केही उल्टी हुन्छ । अरुमा तपसिल वमोजिम गर्नु ।

 

तपसिल

प्रतिवादी भाई किरांत राईके माथि इन्साफ खण्डमा लेखिए वमोजिम पुनरावेदन अदालतको फैसला केही उल्टी भई ज्यान सम्बन्धीको १६ नं. वमोजिम निजलाई १० बर्ष कैद हुने ठहरेकोले निज प्रतिवादी भाई किरांत राई हिरासतमा रहेको मिति ०५५।३।७ देखि कैद कट्टा हुने गरी लगत कसी १० वर्ष कैद ठेगी असुल गर्नु भनी शुरु जिल्ला अदालतमा लेखि पठाई दिनु ......१

प्रतिवादी वलवहादुर राईके माथि इन्साफ खण्डमा लेखिए वमोजिम निजलाई कैद वर्ष १० हुने ठहरेको र निज फरार रहेकोले निज थुनामा वसीसकेको दिन ।१।२३ (एक महिना तेइस दिन) कटाई वांकी  ९ बर्ष दश महिना ७ दिन कैदको लगत कसी असूल उपर गर्नु भनी शुरु जिल्ला अदालतमा लेखी पठाइ दिनु...          २

शुरु जिल्ला अदालतको फैसलाको तपसिल खण्डको दफा १ को लगत कट्टा गरी दिनु ...... ३

 

मिसिल नियमानुसार गरी बुझाई दिनु ........                  ४

 

उक्त रायमा सहमत छौ ।

 

प्र.न्या.गोविन्दवहादुर श्रेष्ठ

न्या.शारदा श्रेष्ठ

 

इति सम्बत् २०६१ साल आश्विन ७ गते रोज ५ शुभम् ......।

 

 

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु