निर्णय नं. ७३८९ - बन्दीप्रत्यक्षीकरण

निर्णय न. ७३८९ ने.का.प.२०६१ अङ्क ६
पूर्ण इजलास
माननीय न्यायाधीश श्री हरिप्रसाद शर्मा
माननीय न्यायाधीश श्री दिलीपकुमार पौडेल
माननीय न्यायाधीश श्री बलराम के.सी.
सम्बत् २०६१ सालको फौ.पू.इ.नं. ....१९
फैसला मितिः २०६१।६।७।५
मुद्दा :– बन्दीप्रत्यक्षीकरण ।
पुनरावेदक
निवेदकः काठमाडौं जिल्ला जोरपाटी गा.वि.स.वडा नं. ६ घर भै हाल का.म.न.पा.वडा नं. २९ सामाखुसी वस्ने नावालक विवेक चालिसे समेत
विरुद्ध
प्रत्यर्थी
बिपक्षीः काठमाडौं जिल्ला जोरपाटी गा.वि.स. वडानं. ६ वस्ने सत्यवती चालिसे समेत
§ नावालक छोराछोरीलाई मेरो संरक्षकत्वमा पालनपोषण शिक्षादिक्षा गरी आएकोमा बिपक्षीहरुले अपहरण गरी लगी बलजफ्ती बन्दी बनाएको भनी प्रस्तुत विवाद उठेको र उपरोक्त सम्बन्ध विच्छेद र गाली बेइज्जती मुद्दाहरु समेतवाट निज मन्जु चालिसे अद्यापि कोही कसैसंग विवाह नगरी रहे बसेको देखिन आएको स्थितिमा नावालकहरुको आमा मन्जु चालिसे प्राकृतिक र कानूनी संरक्षक (Natural and legal guardian) हुँदाहुँदै प्रत्यर्थी बजै नाताकी सत्यवती चालिसेले पुनरावेदिका मञ्जु चालिसेको नावालक छोराछोरीलाई आफ्नो आमाको संरक्षकत्वबाट वन्चित गरी जन्माउने आमालाई भेटघाट गर्न सम्म पनि नदिई घरमा सीमित गरी राखेबाट निज नावालक बच्चाहरुको कानूनले प्रदान गरेको हिडडुल गर्न पाउने लगायतका स्वतन्त्रताको हक गैरकानूनी तरिकाले अपहरण हुनुका अतिरिक्त आफ्नो आमाको संरक्षकत्वबाट पालनपोषण हुन पाउने हकवाट समेत वन्चित हुन गएको देखिने ।
(प्र.नं. १६)
§ वन्दीप्रत्यक्षीकरणको प्रयोजनको लागि खान लाउन नदिई गैरकानूनीरुपले कानून विपरीत प्रहरीले नै थुनामा राखेको हुनुपर्छ भन्ने मात्र नभै कसैलाई कसैले घरमा नजरवन्द राख्नु, इच्छा विपरीत कसैलाई कसैले कोही संग भेटघाट गर्न नदिई बन्धक वनाई आवत – जावत, हिंडडुल, घुमफिर, ओहोर–दोहोर, वन्द गरी भेटघाट तथा हिडडुलको अधिकारमा सीमित गर्नु वा प्रतिवन्ध लगाउनु, House Arrest वा कुनै क्षेत्रको Area वा टोल वा जिल्ला वा क्षेत्र आदिको हद तोकी कानून विपरीत ओहोर दोहोर हिडडुलमा लगाइएको प्रतिवन्धले समेत पनि वैयक्तिक स्वतन्त्रता अपहरण हुने ।
§ नावालकलाई आमा पुनरावेदिकासंग भेटघाट गर्न नदिई घरमा राखेबाट पनि यी नावालकहरु आमा मन्जु चालिसेको संरक्षकत्वमा रही पालनपोषण शिक्षादिक्षा गर्न पाउने कानूनी हकवाट गैरकानूनी रुपबाट वन्चित हुनु परेको देखिन आएको हुँदा आमा मञ्जु चालिसेको मंजुरी विना निजको संरक्षकत्वमा रहेका नावालकहरुलाई बिपक्षीले वलजफ्ती लगिराखेको र टेलिफोनबाट कुरा गर्न सम्म नदिने र स्कूलमा समेत आमालाई भेट गर्न नदिने अमानवीय कार्य भएको समेत देखिनाले निज नावालक छोराछोरीको स्वतन्त्रता सम्बन्धी हक अपहरण भएको देखिने ।
§ नावालक छोराछोरीको आमा मन्जु चालिसे निजहरुको संरक्षक देखिन आएको स्थितिमा आमा हुँदाहुँदै हजूरआमा सत्यवती चालिसेलाई संरक्षकत्वको अधिकार भएको भन्न नमिल्ने ।
§ संरक्षकत्व प्रदान गर्न पाउने अधिकार भएकी त्यस्ता नावालकरुको आमा मन्जु चालिसेको मंजुरी बेगर हजूरआमा सत्यवती चालिसेले नावालकहरुलाई निजहरुको आमासंग भेटघाट गर्न समेत नदिई आफ्नो घरमा लगिराखेको क्रियालाई गैरकानूनी कार्य मान्नु पर्ने ।
(प्र.नं. १८ देखि २०)
पुनरावेदक निवेदकतर्फवाटः विद्वान अधिवक्ता श्री सतिसकृष्ण खरेल
प्रत्यर्थी विपक्षीतर्फवाटः विद्वान अधिवक्ता बालकृष्ण न्यौपाने
अवलम्वित नजिरः ने.का.प. २०५१, नि.नं. ४९५४, पृ. ६०२
फैसला
न्या.हरिप्रसाद शर्माः पुनरावेदन अदालत पाटनको मिति २०५७।१०।२७ को फैसला उपर परेको पुनरावेदनमा संयुक्त इजलासका माननीय न्यायाधीशहरु वीच मतैक्य हुन नसकी सर्वोच्च अदालत नियमावली, २०४९ को नियम ३(१)(क) अनुसार पेश हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य र निर्णय यसप्रकार छ : –
२. नेविनाथको नाती मणिराम चालिसेको छोरा का.जि.जोरपाटी गा.वि.स. वडा नं ६ वस्ने शशिराम चालिसेसंग म मन्जुको मिति २०४५।१०।२१ मा विवाह भै मिति २०४७।३।१७ मा छोरा विवेक र मिति २०४९।७।२४ मा छोरी विविका चालिसेको जायजन्म भयो । मेरो पति शशीराम चालिसे पागल हुनुहुन्छ । मलाई झुक्याई निज पागलसंग विवाह गरिएको थियो । केही वर्ष यता निज पुरै पागल भई घाँटी थिच्न समेत आई मिति २०५४।१।१० गते विहान खान लाउन नदिई घरवाट निकाला गरी दिएकोले ज्याला मजदुरी गरी वाल वच्चाको शिक्षा दिक्षा गर्दै आइरहेकी छु । मिति २०५७।६।८ मा मेरो सासू समेतसंग जोरपाटी गा.वि.स.अध्यक्षको रोहवरमा छोराछोरी म मन्जु चालिसेसंग रही पालनपोषण गर्ने कागज समेत भएको छ । मेरो पति शशिराम चालिसेसंग सम्वन्धविच्छेद हुने ठहर्याई काठमाडौं जिल्ला अदालतवाट मिति २०५७।८।१५ गते फैसला भएको छ । लोग्नेस्वास्नीको महलको ३ नं. तथा वालवालिका सम्वन्धी ऐन, २०४८ को दफा ४(१) वमोजिम वच्चावच्चीको संरक्षण गर्ने अधिकार म मन्जु चालिसेमा रहेको छ । यस्तैमा मिति २०५७।८।२०गते विहान ९.०० वजे तिर वच्चाको मुख हेरौं र कागज पत्र समेत गरौं भनी प्रहरी चौकी वसुन्धरामा जाउँ भनी उपरोक्त विपक्षीहरु समेत आई नावालक विवेक र विविकालाई अपहरण गरी विपक्षी मध्येका दिवाकर चालिसे तथा सत्यवतीको घरमा गैरकानूनी वन्दी वनाई थुनामा राखिएको हुँदा आवश्यक खानतलासी पुर्जी समेत जारी गरी छोरा विवेक चालिसे र छोरी विविका चालिसेलाई विपक्षीहरुको गैरकानूनी थुनावाट मुक्त गरी दिनु भनी वन्दीप्रत्यक्षीकरणको आदेश जारी गरी पाउँ भन्ने निवेदन माग दावी ।
३. यसमा के कसो भएको हो ? निवेदकको माग वमोजिम वन्दीप्रत्यक्षीकरणको आदेश किन जारी हुनु नपर्ने हो ? यो आदेश जारी हुन नपर्ने कारण भए मिति २०५७।८।२६।२ का दिन विपक्षी नं. १ र ४ का नाउँमा लिखित जवाफ सहित नावालक विवेक र विविका चालिसेलाई यस अदालतमा लिई उपस्थित हुन र अन्य विपक्षीका नाउँमा लिखित जवाफ पेश गर्नु भनी यो आदेश र निवेदनको प्रतिलिपि साथै राखी म्याद सूचना जारी गरी मिति २०५७।८।२६।२ का दिन नियमानुसार पेश गर्नु भन्ने पुनरावेदन अदालत पाटनको मिति २०५७।८।२१ को आदेश ।
४. विपक्षीको रिट निवेदन झुठ्ठा हो । नावालक विवेक चालिसे र विविका चालिसे आफ्नो पिता र हजुरआमासंग आफू जन्मेको घरमा वसेका छन् । २०५७ सालको दशैको छुट्टी भए सम्मको लागि वच्चा लान्छु भनी पछि सम्वन्धविच्छेदको फैसला समेत गराएको भन्ने सुनेको हो । विपक्षीले वच्चालाई अपरिचित ठाउँमा राखी यातना समेत दिएकोले भागेर घरमा आएको भन्ने सुनेका छौ । आफू जन्मेको घरमा पिता र हजुरआमासंग रहेको वच्चालाई वन्दी भन्न नमिल्ने हुँदा निवेदन खारेज गरी पाउँ भन्ने विपक्षीहरु रवि चालिसे, गीता चालिसे, प्रल्हाद चालिसे, रमा चालिसे, अच्युतराम चालिसे, सुरेन्द्र चालिसे, शंकरकुमार अधिकारी, विनोद चापागाईको संयुक्त लिखित जवाफ ।
५. विपक्षीको निवेदन झुठ्ठा हो । विपक्षीलाई निवेदन दिने हकदैया छैन भने अर्कोतर्फ वच्चाको पिता तथा वडा प्रहरी कार्यालयलाई विपक्षी वनाएको छैन । नावालक विवेक चालिसे र विविका चालिसे निजको पिता तथा हजुरआमा सत्यवती चालिसेको संरक्षणमा वसेकोले गैरकानूनी थुना र कव्जा भन्न मिल्दैन । विपक्षी मन्जुको र शशिराम चालिसेसंगको मिति २०५७।९।१५ मा काठमाडौं जिल्ला अदालतवाट सम्वन्धविच्छेद हुने गरी फैसला भएको छ । मिति २०५४।१।१० देखि आफ्नो छोराछोरी र घर समेत छोडी माइतीमा समेत नवसी मनकामना मा.वि. जोरपाटीमा शिक्षक काम गर्ने श्याम मौर्य भन्ने केटासंग विपक्षीले विवाह गरी सकेकीले विपक्षीलाई यो निवेदन दिने हकदैया र अधिकार छैन । दशैको स्कूल छुट्टीको समयमा माइतीमा समेत नलगी वेपत्ता पारी वच्चाको पढाई समेत विगारेकोले वच्चा राजीखुसी र मन्जुरीले हाम्रो जिम्मामा आएका हुन् । विपक्षीको ज्यामी कामको आयस्ताले वच्चालाई पढाउन तथा पालनपोषण हुन सक्दैन । विवेक र विविका आफ्ना वावु र एकाघरको हजुरआमा समेतको संरक्षक भएको अवस्थामा पोइल गएकी विपक्षीलाई नावालकको संरक्षक हुने हैसियत र अधिकार छैन । दुवै पक्षको रोहवरमा वच्चाको कागज गरी पाउँ र निवेदन खारेज गरी पाउँ भन्ने विपक्षी सत्यवती चालिसे र दिवाकर चालिसेको लिखित जवाफ ।
६. २०५७।८।१९ मा विवाहको कुरा चली सोधपूछ गर्दा मैले विवाह गरें र मन्जु मेरी श्रीमति हुन भन्ने कुरा हामी १०, १२ जनाका वीचमा श्याम मौर्यले भनेका हुन् भन्ने समेतको जगन्नाथ देवकोटाले पुनरावेदन अदालतको आदेशानुसार गरेको वयान ।
७. निवेदकाको आफ्नै निवेदन व्यहोरावाट २०५७।८।१५ मा आफ्नो लोग्नेसंग सम्वन्धविच्छेद गरी वसेको व्यहोरा उल्लेख छ । २०५८।८।३०मा यस अदालतको संयुक्त इजलासमा छलफल हुँदा विवेक चालिसे र विविका चालिसेलाई इजलास समक्ष उपस्थित गराइएको, इजलासवाट निजहरुसंग जानकारी लिंदा आफूहरुलाई अपहरण नगरेको, आफ्नो घरमा हजुरआमासंग रहेको, स्कूलमा पढिरहेको समेत व्यहोरा इजलाशलाई अवगत गराइएको समेत तथ्य छ । अपहरण गरिएको भनिएको वच्चावच्ची आफ्नो घरमा आफ्नै सम्पतिद्वारा पोषित छन् । घरमा वावु पागल भए तापनि हजुरआमा सत्यवती चालिसेको संरक्षणमा रहेका हुन् र वच्चावच्ची स्कूलमा अध्ययन गरिरहेको अवस्था सरस्वती सेकेन्डरी स्कूलको रेकर्डवाट देखिएको हुँदा निवेदकको दावी वमोजिम अपहरण गरी वलजफ्ती वन्दी वनाई राखेको भन्न सकिने अवस्था नभएवाट वन्दीप्रत्यक्षीकरणको आदेश जारी हुने स्थितिको अभावमा प्रस्तुत निवेदन खारेज हुने ठहर्छ भन्ने पुनरावेदन अदालत पाटनको मिति २०५७।१०।२७ को फैसला ।
८. वन्दीप्रत्यक्षिकरणको निवेदन दिनु भन्दा अगावै वडा अध्यक्षको रोहवरमा २०५७।६।८ मा भएको हामीहरुको कागजवाट नावालक वच्चाहरु म संग रहेको पुष्टि हुन्छ । यसै गरी मैले दिएको २०५७।६।१० को सम्वन्धविच्छेदको निवेदनमा नै वच्चाहरु म संग रहेको उल्लेख छ । मैले दिएको वन्दीप्रत्यक्षीकरणको निवेदनको प्रकरण ३ वाट पनि सत्यवतीले २०५७।८।२०मा अपहरण गरी कव्जामा लिएको पुष्टि हुन्छ । नावालक वच्चाहरुको पिता पागल भएको कुरा विपक्षीहरु लगायत अदालत समेतले स्वीकार गरेको छ । सम्वन्धविच्छेद भएपछि मुलुकी ऐन, लोग्नेस्वास्नीको महलको ३(२) नं. अनुसार नावालक वच्चा पाल्ने अधिकार मलाई रहेको छ । यसैगरी वालवालिका सम्वन्धी ऐन, २०४८ को दफा ४ एवं २२ अनुसार नावालक वच्चाहरुको संरक्षण गर्न पाउने अधिकार आमामा रहेकोमा सम्वन्धविच्छेद हुँदैमा पोइल गएको सम्झन मिल्दैन ।
९. वच्चाहरु हजुरआमा सत्यवती चालिसेसंग पहिलेदेखि नरहेको, २०५७।८।२० देखि विपक्षीहरुले वन्दी वनाउनु भन्दा अगाडिको मितिको स्कूलको सम्पूर्ण कागजपत्रहरु म संग रहेको फोटो कपी यसैसाथ पेश गरेकी छु । मेरो संरक्षण कव्जामा रहेका वच्चाहरुलाई विपक्षीहरुले वलजफ्ती आफ्नो कव्जामा लिई अपहरण गरेको कार्य नै गैरकानूनी वन्दी वनाएको पुष्टि हुन्छ । अतः मेरो नावालक छोराछोरीहरु विवेक चालिसे र विविका चालिसेलाई वलजफ्ती म कानूनी संरक्षक आमाको सहमति विना कव्जा गरी वन्दी वनाएको हुँदा वन्दी नवनाएको ठहराएको पुनरावेदन अदालत पाटनको मिति २०५७।१०।२७ को फैसला उल्टी गरी पाउँ भन्ने निवेदिकाको यस अदालतमा पर्न आएको पुनरावेदन पत्र ।
१०. मुलुकी ऐन लोग्नेस्वास्नीको महलको ३ को देहाय २ मा पाँच वर्ष देखि माथिका नावालकलाई पोइल नगएको अवस्थामा आमाले आफै पाल्न चाहेमा निजैले र निजले पाल्न नचाहेमा वावुले पाल्नु पर्ने कानूनी व्यवस्था रहेको देखिन्छ । प्रस्तुत विवादमा पुनरावेदिकाले आफैले पाल्ने चाहना व्यक्त गरेको स्थितिमा विपक्षी मध्येकी सत्यवतीको कव्जामा रहेका नावालकहरुले आफ्नी आमाको साथमा नवस्ने भनी इच्छा व्यक्त गरेको भन्ने प्रमाण समेतको अभाव रहेको स्थितिमा निवेदिकाको निवेदन खारेज गर्ने गरेको पुनरावेदन अदालत पाटनको आदेश विचारणीय हुँदा अ.वं.२०२ नं.वमोजिम छलफलको लागि विपक्षीहरुलाई झिकाई आएपछि वा म्याद नाघेपछि नियमानुसार गरी पेश गर्नु भन्ने यस अदालत संयुक्त इजलासको मिति २०५९।८।६ को आदेश ।
११. बालबालिकाहरुलाई थुनछेक गरी वन्दी नवनाई शिक्षादिक्षा अध्ययन गरिरहेका वालवालिकाहरु कस्को संरक्षणमा राख्ने भनी निर्णय गर्ने बिषयवस्तु पनि वन्दीप्रत्यक्षीकरणको बिषयवस्तु भन्दा वाहिरको कुरा हो । यस्तो विवादको कुरालाई वन्दीप्र्रत्यक्षीकरणको कुरा भित्र नराखी शुरु जिल्ला अदालतवाट हेरिने मुद्दाको क्षेत्राधिकार भित्र राखेको पाइन्छ । यस्तो विवादको निष्कर्षमा पुग्न मुद्दाको अति सुक्ष्म प्रमाणहरु केलाई हेर्नुपर्ने अवस्था देखिंदा वन्दीप्रत्यक्षीकरणको आदेश जारी गर्न मिलेन । रिट निवेदन खारेज गर्ने गरेको पुनरावेदन अदालत पाटनको आदेश मनासिव ठहर्छ , पुनरावेदन जिकिर पुग्न सक्दैन भन्ने समेत माननीय न्यायाधीश श्री भैरवप्रसाद लम्सालको राय र मुलुकी ऐन लोग्नेस्वास्नीको महलको ३ नं. को देहाय २ वमोजिम नावालक विवेक र विविकाको संरक्षणको अधिकार आमा मन्जुमा रहने हुँदा आमा मन्जु चालिसेको संरक्षणवाट हटाई निजहरुको हजुरआमाले आफ्नो संरक्षणमा राखेको कुरा गैरकानूनी देखिनाले निवेदन खारेज गरेको पुनरावेदन अदालत पाटनको निर्णय वदर भै बिपक्षीहरुको नियन्त्रणबाट मुक्त गरी आमा मन्जु चालिसेको जिम्मा लगाई दिनु भन्ने वन्दीप्रत्यक्षीकरणको आदेश जारी हुने ठहर्छ । निवेदन खारेज हुने ठहराएको माननीय न्यायाधीश श्री भैरबप्रसाद लम्सालको रायसंग सहमत हुन नसकेकोले सर्वाेच्च अदालत नियमावली , २०४९ को नियम ३(१) (क) अनुसार पूर्ण इजलासमा पेश गर्नु भन्ने समेत माननीय न्यायाधीश श्री सुशिला सिंह शिलुको छुट्टै राय सहितको २०६०।१०।२३।६ को फैसला ।
१२. नियम वमोजिम पेशी सूचिमा चढी पेश हुन आएको प्रस्तुत मुद्दाको पुनरावेदन सहितको मिसिल अध्ययन गरी पुनरावेदक निवेदकतर्फवाट विद्वान अधिवक्ता श्री सतीशकृष्ण खरेलले नावालक छोराछोरीको संरक्षक मुलुकी ऐन लोग्नेस्वास्नीको महलको ३ नं. ले मेरो पक्ष आमा मंजु चालिसे हुने भन्ने स्पष्ट छ । लोग्ने शशीराम पागल भएको र ज्यान मार्ने सम्मको कार्य गरी मेरो पक्षलाई खान लाउन नदिई घरबाट निकाला गरे पनि आफ्नो बालबच्चाको संरक्षण गरेकी छु भनी मेरो पक्ष मन्जुले दिएको सम्बन्ध विच्छेद मुद्दामा प्रतिउत्तर लगाउंदा मेरो पक्षलाई संरक्षक नभएको वा संरक्षकले संरक्षण नगरेकोले बिपक्षीले आफै संरक्षक हुन पाउँ भनेको अवस्था छैन । गाली वेइज्जती मुद्दावाट मेरो पक्षको गाली वेइज्जती ठहर भएबाट मेरो पक्ष पोइल पनि नगएको र अर्को विवाह पनि नगरेको पुष्टि भैरहेको हुँदा मेरो पक्ष आमाको संरक्षकत्ववाट वच्चाहरु झिकेर लान पाउने होइन । तसर्थ वन्दीप्रत्यक्षीकरणको रिट जारी गर्ने गरेको माननीय न्यायाधीश श्री सुशीला सिंह शिलुको राय सदर हुनुपर्छ भन्ने बहस गर्नु भयो । प्रत्यर्थीतर्फवाट विद्वान अधिवक्ता श्री बालकृष्ण न्यौपानेले बालबालिका संग सम्बन्धित विवाद वालवालिका ऐन, २०४८ लागू भइसकेको स्थितिमा सो ऐन वमोजिम गठन भएको जिल्ला अदालतले मात्र विवाद निरोपण गर्न सक्छ । बालबालिका ऐन, २०४८ लागू भएपछि लोग्नेस्वास्नीको महलको ३ नं. निष्प्रयोजित भएको छ । वालवालिका ऐन लागू भएको सन्दर्भमा सो ऐनले वालवालिकाको हित गर्नमा मात्र निर्दिष्ट गरेको र बिपक्षी मन्जु चालिसेको आयश्रोत ज्यालामजदूरी मात्र भएकोले यी बालबालिकाको उचित पालनपोषण शिक्षादिक्षा हुन गाह्रो छ, जुन हजुरआमा सित रहेकोमा राम्रो हुन्छ । वावु पागल भएपनि निजको पनि संरक्षक हजुरआमाले संरक्षकत्व प्रदान गरेको अवस्था छ, रिट क्षेत्रबाट प्रस्तुत बिषयवस्तु हेर्न मिल्दैन । तसर्थ रिट खारेज गरेको पुनरावेदन अदालत पाटनको निर्णय सदर गरेको माननीय न्यायाधीश श्री भैरवप्रसाद लम्सालको राय सदर हुनुपर्छ भनी गर्नु भएको बहस समेत सुनियो
१३. विद्वान कानून व्यवसायीहरुको बहस सुनी निर्णयतर्फ विचार गर्दा, शशीराम चालिसेसंग २०४५।१०।२१ मा विवाह भै २०४७ सालमा छोरा विवेक र २०४९ सालमा छोरी विविकाको जन्म भएको थियो । पति शशीराम चालिसे पागल भएको कारण मलाई घांटी थिच्ने कुटपिट गर्ने गरी मिति २०५४।१।१०गते घरबाट निकाली दिएकोले ज्याला मजदूरी गरी आफ्नो बाल वच्चाको शिक्षादिक्षा आफैले गरी आएकी छु । पतिसंग मेरो सम्बन्ध विच्छेद हुने ठहरी फैसला भएको पनि छ । यस्तैमा मेरो लोग्ने पट्टीबाट बिपक्षीहरुको हुलले २०५७।८।२० गते मेरो नावालक छोराछोरीको अपहरण गरी सासू सत्यवती चालिसेको घरमा मलाई भेटघाट गर्न नदिई वन्दी वनाएकोले वन्दीप्रत्यक्षीकरणको आदेश जारी गरी पाउँ भन्ने निवेदन माग दावी भएकोमा लिखित जवाफमा नावालक विवेक चालिसे र विविका चालिसे निजको पिता तथा हजुरआमा सत्यवती चालिसेको संरक्षणमा बसेकोले गैरकानूनी थुना र कब्जा भन्न मिल्दैन । श्याम मौर्य भन्ने केटासंग बिपक्षीले विवाह गरी सकेकीले बिपक्षीलाई यो निवेदन दिने हकदैया छैन । दशैंको स्कूल छुट्टीको समयमा माईतीमा समेत नलगी बेपत्ता पारी वच्चाको पढाई समेत विगारेकोले वच्चा राजीखुशी र मंजुरीले हाम्रो जिम्मामा आएका हुन् । बिपक्षीको ज्यामी कामको आयस्ताले वच्चालाई पढाउन तथा पालनपोषण हुन सक्दैन । आफ्नो वावु र एकाघरको हजुरआमा समेत संरक्षक भएको अवस्थामा पोेइल गएकी बिपक्षीलाई नावालकको संरक्षक हुने हैसियत र अधिकार नहुँदा रिट निवेदन खारेज गरी पाउँ भन्ने समेत लिखित जवाफ रहेको छ । प्रस्तुत मुद्दाबाट देहाय बमोजिमको बिषयमा निर्णय गर्नु पर्ने देखियो :–
(१) वावु आमाको सम्बन्ध विच्छेद भएको अवस्थामा विद्यमान नेपाल कानूनले नावालक छोराछोरीको पालनपोषण, रेखदेख र संरक्षणमा वावु आमा मध्ये कसलाई प्राथमिक अधिकार प्रदान गरेको छ ?
(२) सम्बन्ध विच्छेद भएको वावु वा आमा मध्ये कुनै एकले नावालक छोराछोरीलाई बलजफ्ती कब्जामा लिई वावु वा आमालाई भेटघाट गर्न नदिई आफ्नो नियन्त्रणमा राखेकोमा वन्दीप्रत्यक्षीकरणको रिट जारी हुन सक्छ, सक्दैन ? र छोरा बुहारीको सम्बन्ध विच्छेद भएको अवस्थामा नाती नातीनीको संरक्षक हजुरआमा हुन पाउने वा नपाउने ?
१४. पहिलो प्रश्नतर्फ विचार गर्दा, छोराछोरी हुने वावु आमाको वैवाहिक सम्बन्ध विधिवत विच्छेद भएमा पांच वर्ष मुनिका नावालकलाई पाँच वर्ष उमेर नपुगेसम्म आमाले आफैले पाल्न चाहेमा आमाले पाल्न पाउने, यदि आमाले पाल्न नचाहेमा मात्र वावुले पाल्न पाउने व्यवस्था गरी आमाले पाल्न चाहेमा प्राथमिक अधिकार मुलुकी ऐन लोग्नेस्वास्नीको महलको ३ देहाय १ नं. ले आमालाई नै दिएको देखिन्छ । यसै गरी सम्बन्ध विच्छेद भई आमाले अर्को विवाह नगरेको अवस्थामा पनि आमाले नै पाल्न चाहेमा आमालाई नै छोराछोरी पाल्न पाउने प्राथमिक अधिकार सोही ऐनको ३ को देहाय २ नं. ले प्रदान गरेको देखिन्छ । बालबालिकाको हित संरक्षणको लागि बनेको बिशेष ऐन बालबालिका सम्बन्धी ऐन, २०४८ हो । उक्त ऐनको दफा २२ मा वावु आमा मानसिक अशक्तताको कारण बालकको पालनपोषण तथा रेखदेख गर्न नसक्ने भएमा मात्र त्यस्तो बालकलाई पालनपोषणको लागि संरक्षकको नियुक्ति हुने व्यवस्था भएको देखिन्छ । प्रस्तुत मुद्दामा यी पुनरावेदिकाको पति मानसिक रोगले पीडित भै छोराछोरीको पालनपोषण तथा रेखदेख गर्न नसक्ने अवस्थामा भएको तर नाबालकलाई जन्माउने आमा यी पुनरावेदिका मानसिक एवं शारीरिक रुपमा तन्दुरुस्त भएको मात्र होइन, आफूले जन्माएको दुवै छोराछोरीलाई पाल्न मानसिक एवं आर्थिकरुपले समेत सक्षम एवं प्रयत्नरत रहेको भन्ने देखिन आएको छ ।
१५. प्रस्तुत विवादमा नावालकहरुको वावु शशीराम, आमा मन्जु र हजुरआमा सत्यवती भएकोमा विवाद देखिंदैन । प्रचलित कानून अनुसार वालवालिकाको वावु, आमा जीवित र तन्दुरुस्त भए सम्म अरुले संरक्षकत्वको अधिकार नपाउने र नावालकको पालनपोषण गर्नुपर्ने कर्तव्य र दायित्व पनि कानूनले बाबु आमालाई नै तोकी दिएको देखिन्छ । नावालकहरु पहिले आमा मंजु चालिसेको संरक्षकत्वमा रही शिक्षादिक्षा एवं पालनपोषण गरेको भन्ने प्रस्तुत मुद्दाको रिट निवेदन र मन्जु चालिसेले पति शशीरामसंग सम्बन्ध विच्छेदको मुद्दा दिंदा त्यसमा पनि नावालकहरुको निजले नै पालनपोषण संरक्षण गरेको भन्ने देखिन्छ । सो सम्बन्ध विच्छेद मुद्दामा पुनरावेदकको पति तथा नावालक छोराछोरीको वावु शशीराम चालिसेकोतर्फवाट प्रतिउत्तर दिन जोरपाटी गा.वि.स. को सिफारिश सहित छोरा शशीराम केही समयदेखि बहुलाएको कारण अ.वं.८३ नं.को सुविधा लिई पुनरावेदिकाको सासू तथा शशीराम चालिसेको आमा सत्यवती चालिसेले छोराकोतर्फबाट प्रतिउत्तर लगाएकोले नावालकहरुको वावु शशीराम चालिसे मानसिक रोग लागि बहुलाएको कारण छोराछोरीको पालनपोषण गर्न असमर्थ रहेको भन्ने देखिन्छ । मिति २०५७।६।८ मा जोरपाटी गा.वि.स. को वडाध्यक्षको रोहवरमा भएको सम्बन्ध विच्छेदको कागजमा नावालकहरु आमा मन्जु चालिसेसंग वस्ने र छोराछोरीको पालनपोषण पुनरावेदिका आमाले नै गर्ने गरी प्रत्यर्थीको समेत मंजुरी भएको देखिन्छ । सम्बन्ध विच्छेद मुद्दामा मन्जु चालिसेले नावालकहरु आफ्नो संरक्षकत्वमा रहेको उल्लेख गरेकोेमा त्यसमा शशीरामको संरक्षक बनी आमा सत्यवती चालिसेले प्रतिउत्तर लगाउंदा पनि नावालकहरुको संरक्षक मन्जु चालिसे होइन भनी उल्लेख सम्म गर्न सकेको देखिंदैन र सो सम्बन्ध विच्छेद हुने ठहरी अन्तिम रहेको समेत मिसिलबाट देखिन्छ ।
१६. यिनै पुनरावेदिका मन्जु चालिसेले यिनै प्रत्यर्थी सत्यवती चालिसे समेत उपर म कसैसंग पोइल पनि नगएको र विवाह पनि नगरेकोलाई पोइल गएको समेत भनी गाली बेइज्जती गरी बन्दीप्रत्यक्षीकरण मुद्दामा लिखित जवाफ लगाएको भनी दिएको गाली वेइज्जती मुद्दामा गाली वेइज्जती गरेको ठहर भै सो पनि अन्तिम भएर रहेको उक्त गाली बेइज्जती मुद्दाहरुबाट देखिन आएको समेत छ । नावालक छोरा विवेक २०४७ सालमा र छोरी विविका २०४९ सालमा जन्मेका भनेबाट निजहरु ५ बर्ष भन्दा बढी उमेरका देखिन आएका छन् । मुलुकी ऐन लोग्नेस्वास्नीको महलको ३ नं. को देहाय २ मा पाच वर्ष देखि माथिका नावालकलाई आमाले अर्को विवाह नगरेको अवस्थामा आमाले आफैले पाल्न चाहेमा निजैले र निजले पाल्न नचाहेमा वा आमाले अर्को विवाह गरेको अवस्थामा मात्र वावुले पाल्नुपर्छ भन्ने स्पष्ट कानूनी व्यवस्था भइरहेको देखिन्छ । नावालक छोराछोरीलाई मेरो संरक्षकत्वमा पालनपोषण शिक्षादिक्षा गरी आएकोमा बिपक्षीहरुले अपहरण गरी लगी बलजफ्ती बन्दी बनाएको भनी प्रस्तुत विवाद उठेको र उपरोक्त सम्बन्ध विच्छेद र गाली बेइज्जती मुद्दाहरु समेतवाट निज मन्जु चालिसे अद्यापि कोही कसैसंग विवाह नगरी रहे बसेको देखिन आएको स्थितिमा नावालकहरुको आमा मन्जु चालिसे प्राकृतिक र कानूनी संरक्षक (Natural and legal guardian) हुँदाहुँदै प्रत्यर्थी बजै नाताकी सत्यवती चालिसेले पुनरावेदिका मञ्जु चालिसेको नावालक छोराछोरीलाई आफ्नो आमाको संरक्षकत्वबाट वन्चित गरी जन्माउने आमालाई भेटघाट गर्न सम्म पनि नदिई घरमा सीमित गरी राखेबाट निज नावालक बच्चाहरुको कानूनले प्रदान गरेको हिडडुल गर्न पाउने लगायतका स्वतन्त्रताको हक गैरकानूनी तरिकाले अपहरण भएको मात्र होइन , आफ्नो आमाको संरक्षकत्वबाट पालनपोषण हुन पाउने हकवाट समेत वन्चित हुन गएको देखिन्छ ।
१७. अब दोश्रो प्रश्नतर्फ विचार गर्दा, पुनरावेदिकाको छोराछोरीलाई सासू सत्यवतीले आमासंग भेट गर्न नदिने गरेको भन्ने प्रमाणित भएको छ । पुनरावेदिकाको छोरा विवेक २०४७ सालमा र छोरी विविका २०४९ सालमा जन्मेको भन्ने देखिन्छ । आज फैसला हुँदाको मिति सम्म पनि पुनरावेदिकाको छोराछोरी दुवै नावालक रहेको देखिन्छ । छोराछोरीलाई पठन–पाठनको लागि स्कूलमा पढाउन घर बाहिर पठाउने वाहेक सत्यवतीले आमा पुनरावेदिकासंग भेटघाट गर्न समेत नदिने गरेको भन्ने पुनरावेदिकाको आरोपमा लिखित जवाफमा सो खण्डन हुन् नसक्नुको साथै सुनुवाईको दिन कानून व्यवसायीको बहस पुरा भएपछि इजलास समक्ष पुनरावेदिका तथा निजको सासू दुवैसंग वास्तविकताको वारेमा जानकारी माग्दा पुनरावेदिकाको छोराछोरीलाई आमासंग भेटघाट बन्द गरी घरमा सीमित गरी राख्ने गरेको भन्ने आरोपमा सासू सत्यवतीवाट कुनै खण्डन नभई सो हदसम्म पुनरावेदिकाको भनाइलाई स्वीकारै गरेको पाइयो ।
१८. वन्दीप्रत्यक्षीकरणको प्रयोजनको लागि खान लाउन नदिई गैरकानूनीरुपले कानून विपरीत प्रहरीले नै थुनामा राखेको हुनुपर्छ भन्ने होइन । कसैलाई कसैले घरमा नजरवन्द राख्नु, इच्छा विपरीत कसैलाई कसैले कोही संग भेटघाट गर्न नदिई बन्धक वनाई आवत – जावत, हिंडडुल, घुमफिर, ओहोर–दोहोर, वन्द गरी भेटघाट तथा हिडडुलको अधिकारमा सीमित गर्नु वा प्रतिवन्ध लगाउनु, House Arrest वा कुनै क्षेत्रको Area वा टोल वा जिल्ला वा क्षेत्र आदिको हद तोकी कानून विपरीत ओहोर दोहोर हिडडुलमा लगाइएको प्रतिवन्धले पनि वैयक्तिक स्वतन्त्रता अपहरण गर्दछ । प्रस्तुत मुद्दामा पुनरावेदिकाको छोराछोरीलाई बज्यै नाताकी सत्यवतीले घरबाट स्कूल र स्कूलवाट घर आउने जाने स्वतन्त्रतामा मात्र सीमित गरी नावालक बच्चा एवं आमाको इच्छा विपरीत आमासंग भेटघाट गर्न र सो प्रयोजनको लागि हिडडूल गर्न पनि प्रतिवन्ध लगाएको भन्ने प्रमाणित भएको हुँदा पुनरावेदिकाको छोराछोरीको स्वतन्त्रतापूर्वक एवं आफ्नो इच्छानुसार हिडडूल गर्ने हकवाट वन्चित भएकोमा विवाद छैन ।
१९. मेरो संरक्षकत्वमा पालन पोषण शिक्षादिक्षा गरिरहेका नावालक छोराछोरीलाई बिपक्षीहरुले अपहरण गरी लगी घरमा वन्दी वनाएको भन्दै वडाध्यक्ष समेतको रोहवरमा नावालकहरुको मैले पालनपोषण समेत गर्ने गरी कागज समेत भएको र पालनपोषण समेत गरेको भन्ने समेत निवेदनमा उल्लेख गरेकोमा प्रत्यर्थीले सोलाई अन्यथा केही भन्न सकेकोे देखिंदैन । सो कागजमा प्रत्यर्थी समेतको मंजुरी भएको देखिन्छ भने यिनै पुनरावेदिकाले पति शशीरामसंग सम्बन्ध विच्छेद मुद्दा दिंदा नावालक छोराछोरी आफ्नो संरक्षकत्वमा रहेको उल्लेख गरेकोमा सोमा शशीरामको संरक्षक बनी आमा सत्यवतीले प्रतिउत्तर लगाउंदा पनि नावालकहरुको संरक्षक मन्जु चालिसे होइन भनी उल्लेख गर्न सकेको देखिंदैन । तर व्यवहारमा नावालकलाई आमा पुनरावेदिकासंग भेटघाट गर्न नदिई घरमा राखेबाट पनि यी नावालकहरु आमा मन्जु चालिसेको संरक्षकत्वमा रही पालनपोषण शिक्षादिक्षा गर्न पाउने कानूनी हकवाट गैरकानूनी रुपबाट वन्चित हुनु परेको देखिन आएको हुँदा आमा मञ्जु चालिसेको मंजुरी विना निजको संरक्षकत्वमा रहेका नावालकहरुलाई बिपक्षीले वलजफ्ती लगि राखेको र टेलिफोनबाट कुरा गर्न सम्म नदिने र स्कूलमा समेत आमालाई भेट गर्न नदिने अमानवीय कार्य भएको समेत देखिनाले निज नावालक छोराछोरीको स्वतन्त्रता सम्बन्धी हक अपहरण भएको देखिन्छ । यसरी व्यक्तिले व्यक्तिलाई लगी राखेकोमा व्यक्ति–व्यक्ति पक्ष, बिपक्ष भएको बिषय वन्दीप्रत्यक्षीकरणको रिट क्षेत्र भित्र पर्न आउने कुरा यसै अदालतको पूर्ण इजलासवाट प्रशन्नध्वज प्रधान विरुद्ध भक्तध्वज प्रधान भएको (ने.का.प. २०५१, नि.न.. ४९५४, पृष्ठ ६०२) वन्दी— प्रत्यक्षीकरणको रिटमा स्थापित भैरहेकोवाट प्रस्तुत विवादमा पनि वन्दी प्रत्यक्षीकरणको रिट क्षेत्र आकर्षित नहुने भन्न मिल्दैन ।
२०. माथि गरिएको विवेचनावाट नावालक छोराछोरीको आमा मन्जु चालिसे निजहरुको संरक्षक देखिन आएको स्थितिमा आमा हुँदाहुँदै हजूरआमा सत्यवती चालिसेलाई संरक्षकत्वको अधिकार भएको भन्न मिलेन । संरक्षकत्व प्रदान गर्न पाउने अधिकार भएकी त्यस्ता नावालकरुको आमा मन्जु चालिसेको मंजुरी बेगर हजूरआमा सत्यवती चालिसेले नावालकहरुलाई निजहरुको आमासंग भेटघाट गर्न समेत नदिई आफ्नो घरमा लगिराखेको क्रियालाई गैरकानूनी कार्य मान्नु पर्ने हुन्छ ।
२१. तसर्थ निवेदन खारेज गर्ने गरेको पुनरावेदन अदालत पाटनको निर्णय बदर गरी नावालकहरु विवेक र विविकालाई बिपक्षीहरुको नियन्त्रणवाट मुक्त गरी आमा मन्जु चालिसेको जिम्मा लगाइदिने गरी वन्दीप्रत्यक्षीकरणको आदेश जारी हुने ठहराएको माननीय न्यायाधीश श्री सुशिला सिंह शिलुको राय सदर हुने ठहर्छ । विपक्षीले नावालक वच्चाहरु विवेक चालिसे र विविका चालिसेलाई काठमाडौं जिल्ला अदालतको रोहवरमा निवेदिका आमा मन्जु चालिसेलाई जिम्मा लगाइदिनु भनी फैसलाको प्रतिलिपि समेत साथै राखी काठमाडौं जिल्ला अदालतमा लेखी पठाई दिनु । मिसिल नियमानुसार गरी बुझाई दिनु ।
उक्त रायमा सहमत छौं ।
न्या.दिलीपकुमार पौडेल
न्या.वलराम के.सी.
इति सम्बत् २०६१ साल आश्विन ७ गते रोज ५ शुभम् ....................................।