निर्णय नं. ९०३६ - कर्तव्य ज्यान

ने.का.प. २०७०, अङ्क ७
निर्णय नं.९०३६
सर्वोच्च अदालत, संयुक्त इजलास
माननीय न्यायाधीश श्री प्रकाश वस्ती
माननीय न्यायाधीश श्री ज्ञानेन्द्रबहादुर कार्की
०६६–CR–०७७४
फैसला मिति : २०७०।२।२९।४
मुद्दा :– कर्तव्य ज्यान ।
पुनरावेदक/प्रतिवादी : जिल्ला संखुवासभा, वाना गाउँ विकास समिति वडा नं. ४ घर भई हाल कारागार कार्यालय, संखुवासभा खाँदबारीमा कैदमा रहेका पुष्पबहादुर कार्की
विरुद्ध
प्रत्यर्थी/वादी : टीकाराम तामाङ्को जाहेरीले नेपाल सरकार
शुरू फैसला गर्ने :–
मा.जि.न्या. श्री शिवप्रसाद पराजुली
पुनरावेदन तहमा फैसला गर्ने :–
मा.न्या.श्री टेकराज नेपाल
मा.न्या.श्री शेषराज सिवाकोटी
§ उत्तेजनामा आई चोटमाथि चोट छाडिएको प्रमाणबाट पुष्टि भएको वारदातलाई ज्यानसम्बन्धी महलको ५ नं. मा वर्णित अन्तर्वस्तुको अभावमा भवितव्यको वारदात भन्न नमिल्ने ।
(प्रकरण नं.५)
§ घटित वारदातको प्रकृति, “ज्यान मार्नाको मनसाय रहेनछ, ज्यान लिनुपर्नेसम्मको इवी पनि रहेनछ, लुकी चोरीकन हानेको पनि रहेनछ उसै मौकामा उठेको कुनै कुरामा रिस थाम्न नसकी जोखिमी हतियारले हानेको वा विष खुवाएकोमा बाहेक साधारण लाठा, ढुङ्गा, लात मुक्का इत्यादिले हान्दा सोही चोट पीरले ऐनका म्यादभित्र ज्यान मरेमा” मुलुकी ऐन ज्यानसम्बन्धीको १४ नं. ले वर्णित गरेको अपराधको प्रकृतिभित्र पर्न आउने ।
§ एक पक्षले अर्को पक्षको कुनै खास व्यक्तिलाई मार्ने गरी पूर्व रिसइवीका साथ योजना नवनाएको वारदातलाई ज्यानसम्बन्धीको १३ नं. द्वारा परिभाषित गरिएको नियतवश वा मनसायपूर्वक गरिएको हत्याको संज्ञा दिन मिल्ने नभई ज्यानसम्बन्धीको १४ नं. अन्तर्गतको वारदात स्पष्ट हुने ।
(प्रकरण नं.७)
§ एक पक्षले अर्को पक्षलाई मार्ने गरी पूर्व रिसइवीका साथ योजना बनाएको र सोहीअनुरूप कार्य नगरेको, मार्नु पर्नेसम्मको मनसायको पूर्णतया अभाव रहेको र पूर्व योजना र तयारीबमोजिम घटना घटेको नभै दुई पक्षबीच तत्काल मृतकको घर जाने बिषयमा कुरा नमिलेको कारणबाट उठेको द्विपक्षीय विवादले कुटपीटको घटना भएकाले पूर्व रिसइवीको अभावमा आरोपित ज्यानसम्बन्धीको १३(३) नं. को कसूरदार मान्नु कानून र न्यायसङ्गत हुन नसक्ने ।
(प्रकरण नं.८)
पुनरावेदक/प्रतिवादीतर्फबाट : विद्वान अधिवक्ताद्वय हेमराज अधिकारी र राजन अधिकारी
प्रत्यर्थी/वादीतर्फबाट : विद्वान उपन्यायाधिवक्ता श्री भरतलाल शर्मा
अवलम्बित नजीर :
सम्बद्ध कानून :
§ मुलुकी ऐन, ज्यानसम्बन्धी महलको ५, १३(३) र १४ नं.
फैसला
न्या.प्रकाश वस्ती : न्याय प्रशासन ऐन, २०४८ को दफा ९ बमोजिम प्रतिवादीको तर्फबाट पुनरावेदन पर्न आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य एवं ठहर यस प्रकार छ :–
मिति २०६५।१२।२७ गते मेरो भाइ धनबहादुर तामाङ् वाना बिहीबारे बजार गएकोमा बिहानसम्म घर नआएको र मेरो जेठो दाजु आज बिहान ४.३० बजेतिर खेतमा पानी लगाउन भनी गैरीधाराको बाटो हुँदै जाँदा वाना ४ स्थित धारा (राइधार) आहाल मूलबाटोमा भाइलाई मृत अवस्थामा देखी घरमा फर्की आई मैलेसमेत थाहा पाई गई हेर्दा सोहीअनुसार देखेकाले के कसरी कसको कर्तव्यबाट निज भाइको मृत्यु भएको हो भनी बुझ्दा निज भाइ हिजो वाना बिहीबारे बजारबाट फर्की वाना आई वाना ३ स्थित कुमार राईको घरमा खुद्रा पसल गरी बस्ने जीवनप्रसाद तामाङ्को घरमा आई पुगेको र त्यहाँ रामप्रसाद तामाङ्, जनक राई, तीर्थकुमार लिम्बु, बाबुराम, धनबहादुर तामाङ्, टेकबहादुर तामाङ्, पर्शुराम तामाङ् र प्रतिवादी कार्की कान्छो भन्ने पुष्पबहादुर कार्कीसमेतका मानिसहरू भेला जम्मा भई कोही खेल्ने कोही हेर्ने भई तास खेली बसेको थाहा भयो । सो दिनको राति अन्दाजी ९/१० बजेपछि मृतक भाइ र पुष्पबहादुर कार्की दुईजनामात्र विवाद गर्दै तास खेली बसेका र सोपछि केही अघि पुष्पबहादुर कार्की र केही समयपछि मृतक भाइ एउटै बाटो भई आ–आफ्नो घर जाने भनी हिडेको घरवाला जीवनप्रसाद तामाङ्बाट थाहा भएको र घटनास्थलमा उल्लिखित सबै मानिसहरू भेलाजम्मा भए पनि प्रतिवादी पुष्पबहादुर कार्की नआएकोले घरमा गई बुझ्दा सो राति २ बजे घरमा पुगेको तर राति नै कुम्लो कुटुलो बोकी फरार भएको परिस्थितिजन्य अवस्थामा निजै प्रतिवादीले मेरो भाइलाई कर्तव्य गरी मारेको भन्ने यकीन हुन आएको हुँदा निज प्रतिवादीलाई मुलुकी ऐन, ज्यानसम्बन्धी महलबमोजिम हदैसम्म कारवाही गरिपाऊँ भन्नेसमेत टीकाराम तामाङ्को जाहेरी दरखास्त ।
जिल्ला संखुवासभा, वाना गाउँ विकास समिति वडा नं. ४ स्थित बाटोमा मृतक धनबहादुर तामाङ्को लास रहेको, सो लासको उत्तरतर्फ जमीनमा कागज च्यातिएको मसिनो टुक्रा रहेको, सोही स्थानमा रू.१० को नोटसमेत रहेको, सोदेखि पूर्वतर्फ सेतो प्लाष्टिकको झोला रहेको, सोदेखि पूर्वतर्फ नीलो फुस्रो नयाँ हाफपेन्ट रहेको, सो हाफपेन्टमा रगत लागी सुकेको, उक्त लास रहेको स्थानदेखि १० मीटर तल अलैची बारीमा २१ इञ्च लम्बाई, ८ इञ्च गोलाई भएको चिलाउने काठको दाउरा रहेको, सो डालो दाउरामा रगत लागी सुकेको, सो लासको केशमा रगतले भिजी सुकेको, बायाँ निधारमा २ इञ्च गोलाई, १ इञ्च गहिराइको चोट रहेको, बायाँ साइड चल्नीदेखि पछाडि टाउकोमा ६ इञ्च गोलाई, ४
गहिराईको चोट रहेको, सो चोटबाट सेतो गिदी जस्तो निस्किएको देखिएको, सो लासको हात, नाइटो तथा खाली शरीरमा टेकी माटो लागेको, सो लास नजिक पहेलो छालाको पर्स रहेको र उल्लिखित लाठी दाउरासमेत प्रहरीले बरामद गरी लगेको भन्नेसमेत व्यहोराको लासजाँच प्रकृति मुचुल्का ।
मेरो पति प्रतिवादी कार्की कान्छो भन्ने पुष्पबहादुर कार्की मिति २०६५।१२।२७ गते वाना बिहीबारे हटिया गएकोमा राति २ बजेमात्र घरमा आएका हुन् । म मूल घरदेखि पल्लो गुवालीमा सुतिरहेको अवस्थामा ढोका खोलेको थाहा पाएँ र राखी दिएको खाना थोरै मात्र खाई बाँकी थालमै छाडी सोही रातिदेखि कहाँ गएका हुन् सो कुरा मलाई थाहा छैन् भन्नेसमेत व्यहोराको प्रतिवादीकी पत्नी तारादेवी कार्कीले मौकामा गरेको कागज ।
मिति २०६५।१२।२७ गते १८.०० बजेको समयमा जिल्ला संखुवासभा, वाना ३ स्थित कुमार राईको घरमा मेरो खुद्रा पसल रहेको उक्त घरमा के कहाँबाट प्रतिवादी कार्की कान्छो भन्ने पुष्पबहादुर कार्की, मृतक धनबहादुर तामाङ् गाउँकै रामप्रसाद तामाङ्, जनक राई, तीर्थकुमार लिम्बु, बाबुराम, मनबहादुर तामाङ्, टेकबहादुर तामाङ्, पर्शुराम तामाङ्समेतका मानिसहरू भेला जम्मा भई तास खेली रहेकोमा ऐ. २२ बजेको समयमा प्रतिवादी र मृतकबीच वादविवाद भई प्रतिवादीलाई तिम्रो र मेरो कसको धेरै पैसा छ भनेको र प्रतिवादीले पनि मृतकलाई तिम्रो जति पैसा मेरो पनि छ भनी वादविवाद गरे । अन्य खेल्ने र हेर्ने मानिसहरू अब हामी तास खेल्दैनौँ भनी आ–आफ्नो घर गएका हुन । सोपश्चात् दुईजनामात्र रातको १ बजेसम्म तास खेली आफ्नो घर जाने भनी पहिला प्रतिवादी गएको र ५/१० मिनेटपछाडि मृतक गएकोमा भोलिपल्ट बिहान घटनास्थलमा धनबहादुर तामाङ्को मृत लास फेला परेको हो । उक्त घटनास्थलमा गाउँका अन्य मानिसहरू लास हेर्न आएका र प्रतिवादी सोही रातिदेखि भागी फरार भएकाले निजै प्रतिवादी कार्की कान्छो भन्ने पुष्पबहादुर कार्कीले मृतकलाई कर्तव्य गरी मारेकोमा पूर्ण विश्वास लाग्छ भन्नेसमेत व्यहोराको जीतमाया तामाङ्समेतका मानिसहरूले संयुक्त रूपमा गरिदिएको मौकाको कागज ।
“Death is due to Internal Cerebral Injury” भन्नेसमेत व्यहोराको मृतक धनबहादुर तामाङ्को शव परीक्षण प्रतिवेदन ।
मिति २०६५।१२।२७ गते बिहीबारको दिन परेको र वानामा बिहीबारे हटिया लाग्ने भएकोले म सो दिन बिहान ७.३० बजे घरबाट वाना बिहीबारे हटिया आई आफ्नो काम सकी घर फर्की जाँदा जीवनप्रसाद तामाङ्को खुद्रा पसलमा पुगी बस्दै गर्दा एकाएक गरी तीर्थकुमार लिम्बुसमेतका मानिसहरू र मृतक धनबहादुर तामाङ्समेत भेला जम्मा भई ऐ. १८ बजेदेखि तास खेल्न बसी खेल्दै गर्दा ऐ. २२ बजेको समयमा मृतक धनबहादुर तामाङ्ले पुष्पबहादुर र म मात्रै ठूलो खेलौं भनी मलाई भनेकोले मलाई रिस उठी तँसँग मात्र पैसा छ भनी केही छिन वादविवाद गरें । सो समयदेखि मृतक र ममात्र रू. १००।– र रू. ५००।– बोटे तास खेल्न थाल्यौं । सोपश्चात् अन्य साथीहरू आफू खेल्न नपाएपछि एकाएक गर्दै आफ्नो घरतर्फ लागे । मृतक र म मात्रै खेल्दै गर्दा सो राति त्यस्तै १ बजेपछि म अब खेल्दिन भन्दा निज मृतकले तँ मूलासँग पैसा भए पो खेल्छस् भनी हेपेर बोलेको, पहिला पहिला पनि निज मृतकले मलाई धन र बलको तुजुक देखाउने भएकाले यसलाई मारेर फालिदिन्छु भनी सोही ठाउँमा मनमनै योजना बनाई घर जान्छु भनी बाहिर निस्किएर जीवनप्रसाद तामाङ्को दाउराको हारबाट दाउरा निकाली निज मृतक आउने बाटो धारागैरीमा ढुकी बसेँ । मृतक आउनसाथ सो दाउराले टाउकोमा दुईपटक हिर्काई मारी भागेको हुँ भन्नेसमेत व्यहोराको प्रतिवादी कार्की कान्छो भन्ने पुष्पबहादुर कार्कीले अधिकारप्राप्त अधिकारीसमक्ष गरेको वयान ।
मेरो पति मृतक धनबहादुर तामाङ् मिति २०६५।१२।२७ गते बिहान एक्लै बिहीबारे हटिया गएकोमा रातिसम्म पनि घर आएका थिएनन् । ऐ. २८ गते घटनास्थलमा निज पति लडिरहेको भन्ने खबर पाई कान्छा छोरा टंकबहादुर तामाङ्लाई हेर्न पठाउँदा मृत अवस्थामा फेला परेकोले मृत लासलाई हेर्दा कुटपीट गरी कर्तव्यबाट मृत्यु भएको देखिन आएकोले बुझ्दा सो दिनको राति प्रतिवादी कार्की कान्छो भन्ने पुष्पबहादुर कार्कीसमेतसँग जीवनप्रसाद तामाङ्को घरमा भेला जम्मा भई तास खेलेका र प्रतिवादी कार्की कान्छो भन्ने पुष्पबहादुर कार्कीसँग विवादसमेत भएको, पहिला घर जान्छु भनी प्रतिवादी हिँडेका, पछि मेरा पति हिँडेकोमा घरमा आई नपुगेका, बिहान मृत अवस्थामा लास फेला परेको, मृतक पतिको लास जाँच मुचुल्का गर्दा रू. १०।– को नोट मात्र फेला परेको, निज पति बजार जाँदा गोरु किन्न र कपडासमेत लिनुपर्छ भनी रू. १५,०००।– बोकी जानु भएकोमा सामान खरीद गरेकोसमेत नपाइएको र हातमा लगाएको घडी नभएको हुँदा निज प्रतिवादीले कर्तव्य गरी मारी नगद रू. १५,०००।– र घडीसमेत लगेको हुँदा कर्तव्य ज्यानअन्तर्गत हदैसम्म कारवाही गरी मेरो नगद तथा सामानको क्षतिपूर्ति दिलाई भराई पाऊँ भन्नेसमेत व्यहोराको लक्ष्मी तामाङ्ले मौकामा गरेको कागज ।
मिति २०६५।१२।२८ गतेदेखि बिहान वाना ४ स्थित घटनास्थलमा मृतक धनबहादुर तामाङ्को लास फेला परेकाले गाउँ घरमा हल्ला हुँदा मसमेत घटनास्थलमा गई प्रत्यक्षरूपमा हेर्दा निजलाई कर्तव्य गरी मारिएको देखिन आएकोले कसले कर्तव्य गरी मारेका रहेछन् भनी बुझ्दा मिति २०६५।१२।२७ गते साँझ मृतक धनबहादुर तामाङ् र प्रतिवादी कार्की कान्छो भन्ने पुष्पबहादुर कार्कीसमेतका मानिसहरू जीवनप्रसाद तामाङ्को घरमा भेला जम्मा भई तास खेलेको र धेरैजना साँझमा भेला जम्मा भएता पनि मृतक धनबहादुर तामाङ् र प्रतिवादी पुष्पबहादुर कार्की मात्र अबेरसम्म तास खेली बसेको र तासमा हारजीत भएपछि सामान्य विवाद भएको, विवादपछि पहिला प्रतिवादी पुष्पबहादुर कार्की घर जान्छु भनी गएका, पछि मृतक धनबहादुर तामाङ् गएकोमा बाटो ढुकी प्रतिवादीले मृतकलाई कर्तव्य गरी मारेको भन्ने बुझिन आएको भन्नेसमेत व्यहोराको देवेन्द्र पौडेलसमेत पाँचजनाले गरी दिएको वस्तुस्थिति मुचुल्काको व्यहोरा ।
निज मृतकले पहिला तास खेल्दा १०/२० को नोट निकाली १० रूपैया बोट तास खेलेका थिए पछि एक्कासी रू. ५००।– को नोट निकाली बोट हालेकाले विवाद शुरू भई अन्य खेल्ने मानिसहरू आ–आफ्नो घरतर्फ गएका हुन् । मृतकको साथमा रू. ५००।–समेतको नोट देखेको हो । घडी लगाएका थिए थिएनन्, तास खेलेको सुरमा यकीन गरिन । मृतकको नगद र घडीसमेत मैले लगेको छैन भन्नेसमेत व्यहोराको प्रतिवादी कार्की कान्छो भन्ने पुष्पबहादुर कार्कीले अधिकारप्राप्त अधिकारीसमक्ष गरेको ततिम्वा बयान ।
मृतक बाबु धनबहादुर तामाङ् मिति २०६५।१२।२७ गते बिहान वाना बिहीबारे हटिया गएकोमा सो दिनको राति घरमा आउनु भएन । सधैँ खेल्ने र साथीहरूसँग बस्ने बानी भएकाले राति खोजखबर गरिएन । भोलिपल्ट बिहान लास फेला परेको भन्ने जेठो बुबा निमबहादुर तामाङ्ले घरमा आई जानकारी गराएकोले म तत्काल घटनास्थलमा गई हेर्दा कर्तव्यबाट मारिएको देखिएकोले मृतक र प्रतिवादी पुष्पबहादुर कार्कीसमेतका मानिस वाना ३ बस्ने जीवनप्रसाद तामाङ्को घरमा तास खेली बसेका, अन्य तास खेल्ने मानिसहरू पहिला नै आ–आफ्ना घरतर्फ गइसकेका थिए । अबेरसम्म प्रतिवादी र बुबामात्र वादविवाद गर्दै तास खेलेका र केही पहिला प्रतिवादी घर जान्छु भनी तास खेलेको घरबाट हिँडेका र केही बेरपछि निज मृतक बुबा हिडेको भोलिपल्ट लास फेला परेको र कर्तव्य गरी मारी सकेपश्चात् गोरु किन्न भनी मृतकले बोकेको नगद रू. १५,०००।– र हातमा बाँधेको घडी थान एकसमेत चोरी गरी लगेकोमा विश्वास लाग्छ भन्नेसमेत व्यहोराको टंकबहादुर तामाङ्ले मौकामा गरेको कागज ।
प्रतिवादी कार्की कान्छो भन्ने पुष्पबहादुर कार्कीले बरामद भई आएको दाउराले धनबहादुर तामाङ्को सम्वेदनशील अङ्ग टाउकोमा प्रहार गरी कर्तव्य गरी मारी मृतकको साथमा भएको नगद रू. १५,०००।– र विगो रू. ५०००।– बराबरको घडीसमेत चोरी गरी लगेको पुष्टि हुन आएको हुँदा निज प्रतिवादीलाई मुलुकी ऐन, ज्यानसम्बन्धी महलको १ नं. विपरीत १३(३) नं. अनुसारको कसूर अपराधमा ऐ.महलको १३(३) नं. बमोजिम सजाय हुन र प्रतिवादीले नगद रू. १५,०००।– र रू. ५,०००।– विगो बराबरको घडीसमेत चोरी गरी चोरीको महलको १ नं. विपरीत ऐ. को ४ नं. बमोजिमको कसूर अपराधसमेत गरेको हुँदा प्रतिवादीलाई ऐ. महलको १३(३) नं. बमोजिम सजाय हुन र चोरी गरी लगेको विगो रू. २०,०००।– ऐ. महलको १०(३) र २१ नं. बमोजिमको मृतकको श्रीमती लक्ष्मी तामाङ्लाई प्रतिवादीबाट दिलाई भराई पाऊँ भन्नेसमेत अभियोग पत्र ।
मिति २०६५।२।२७ गते बिहान खाना खाई बिहीबार बजार भर्न गएको थिएँ । हटिया भरी बेलुकी डाँडागाउँ भन्ने ठाउँको जीवन तामाङ्को किराना पसलमा गएँ । त्यहाँ साथीहरू टेकबहादुर गोले, निजको भाइ रामबहादुर लामा, गंगाबहादुर तामाङ् थिए । त्यहीँ गफगाफ गर्दागर्दै बेलुकीको ७ बजेको थियो । त्यसपछि मृतक धनबहादुर, तीर्थ सुब्वा, जनक राई, धनबहादुर तामाङ्, पर्शुराम तामाङ्, बाबुराम थापासमेतका मानिसहरू त्यहीँ आइपुगे । मनोरञ्जन गर्नका लागि तास खेलौँ भनी मृतक धनबहादुरले नै कुरा उठाई सबैको मञ्जूरी भई दुई खाल तास खेल्न बस्यौँ । तास खेल्ने हामी ९ जना थियौं । बाबुराम थापाले तास खेलेनन् । रातको १२ बजेसम्म तास खेली बस्यौं । अन्य ७ जना साथीहरू उठेर गए । म र मृतक धनबहादुर मात्र दुईजनाले १२.३० बजेसम्म तास खेल्यौं । म घर जान्छु भनी उठी दुवै जनाबीच भनाभन हुँदा तँसँग पैसा भए पो खेल्छस् भनी मृतकले भन्यो । म घर जान्छु भनी उठेर हिड्न खोज्दा माथि उक्लियो, म घरतर्फ लागें, ऊ पनि मेरो पछिपछि आई मेरो घर जाऊँ भनी नाडीमा समातेर तान्यो । म जान्न भन्दाभन्दै के कारणले जाँदैनस् भन्दै अगाडि पनि मलाई कहिलेकाहीँ लाने गरेको हुँदा सो दिन पनि उसैको घरतर्फ लागें । गैरीधारा भन्ने ठाउँमा पुगेपछि मलाई उसले एक्कासी लात्ताले हान्यो । म ५ फीट जति पर उछिट्टिएँ । मैले चिलाउनेको गोलो दाउरा भेट्टाएँ । त्यसपछि मलाई फेरि कुट्न भनी मृतक धनबहादुर आएकोले मैले सो दाउराले हानेँ । उजेली रात थियो । त्यो ठाउँमा अलिअलि छाहारी भएकोले मैले हानेका दाउराको चोट निजको टाउकोमा लागेछ । मैले टाउकोमा ताकेर हानेको होइन । टाउकोमा हानेपछि निज भूईंमा लडे । लड्दा ठाडो ढुङ्गामा टाउको (खप्पर) परेछ । निज लड्नेवित्तिकै डरले म घरतिर गएँ । घरमा पुगी छोरीलाई बोलाई खाना खाई धनबहादुर मर्यो भने गाउँका मान्छेले मलाई मार्छन् भनी डर लागी मनमा कुरा खेल्न थालेकोले म घरबाट अन्दाजी रातको २.३० बजे हिँडे । मिति २०६५।१२।२८ गते शुक्रबार धनबहादुर मर्यो अरे भन्ने सुनेँ । निज मेरै चोटको कारणले मरेका होलान् । मैले लास देखिन । मेरो छोरीले सो कुरा सुनाएपछि मिति २०६५।१२।२९ गते शनिबार बिहान ८.३० बजेतिर जिल्ला प्रहरी कार्यालय खाँदबारी पुगी आत्मसर्मपण गरेको हुँ भन्नेसमेत व्यहोराको प्रतिवादी कार्की कान्छो भन्ने पुष्पबहादुर कार्कीले शुरू अदालतमा गरेको बयान ।
बिहीबारे बजारबाट फर्किदा जीवन तामाङ्को किराना पसलमा मृतक र प्रतिवादीसमेतको भेटघाट भई तास खेली रातको १ बजेपछि घरतर्फ जान लाग्दा पुष्पबहादुर बाटो ढुकी चिलाउनेको डोलो दाउराले मेरो श्रीमान्लाई टाउकाको पछिल्तिर प्रहार गरी मारेका रहेछन् । प्रतिवादी प्रहरीमा आफैँ गई एक्लैले घटना घटाएको हो भन्ने बुझिएको हुँदा र नगद रू.१५,०००।– र घडीसमेत लगेकाले निजलाई कर्तव्य ज्यानअन्तर्गत हदैसम्म कारवाही गरी मेरो नगद तथा सामानको क्षतिपूर्तिसमेत दिलाई भराई पाऊँ भन्नेसमेत व्यहोराको मौकामा कागज गर्ने लक्ष्मी तामाङ्ले शुरू अदालतमा गरेको बकपत्र ।
मिति २०६५।१२।२७ गते वाना गाउँ विकास समिति वडा नं. ३ स्थित मेरो पसलमा मृतक धनबहादुर तामाङ्, कार्की कान्छो भन्ने पुष्पबहादुर कार्कीसमेतका मानिसहरू आई राति अबेरसम्म तास खेली रातको अं. १० बजेतिर अन्य मानिसहरू आ–आफ्नो घरतर्फ गएका र मृतक धनबहादुर र प्रतिवादी पुष्पबहादुर कार्की अरू एक डेढ घण्टासम्म खेली पहिला पुष्पबहादुर १५ मिनेटअगाडि र धनबहादुर १५ मिनेटपछाडि गएकोमा गैरीधारा भन्ने ठाउँमा धनबहादुर तामाङ्को मृत्यु भएको हल्लाखल्ला भई पुष्पबहादुरले नै मारेको भनी भोलिपल्ट हल्ला गरेकोले निजले मारेको विश्वास लाग्छ भन्नेसमेत व्यहोराको मौकामा कागज गर्ने जीतमाया तामाङ्ले शुरू अदालतमा गरेको बकपत्र ।
मिति २०६५।१२।२७ गते मेरो भाइ धनबहादुर बिहीबारे बजार गई फर्किदा बाटोको पसलमा तास खेलेर प्रतिवादी र मृतक रातको १ बजेसम्म बसेछन् । त्यसपछि प्रतिवादी आफ्नो घरतर्फ लागेछन् । केही समयपछि मेरो भाइ पनि घरतर्फ आउँदा बाटोमा प्रतिवादी चिलाउनेको दाउरा लिई मार्ने नियतले रूखको फेदमा लुकेर मेरो भाइको टाउकोमा हिर्काएछन् । भोलिपल्ट मान्छे मरेको भन्ने हल्ला भएपछि हेर्न जाँदा थाहा पाएकी हुँ । मृतक र प्रतिवादी तास खेलेका र सामान्य विवाद गरेको र निजले आफै प्रहरीसमक्ष आत्मसमर्पण गरेको हुँदा प्रतिवादीले मृतकलाई मारेको कुरामा मलाई विश्वास लाग्छ भन्ने व्यहोराको जाहेरवाला टीकाराम तामाङ्ले गरेको बकपत्र ।
मिति २०६५।१२।२८ गते बिहान वाना ४ स्थित घटनास्थलमा धनबहादुरको लास छ भनी सुनी सो स्थानमा गई हेर्दा मृतकलाई प्रतिवादी कार्की कान्छो भन्ने पुष्पबहादुर कार्कीले बरामद भएको दाउरासमेत लिई मार्ने नै मनसायले एकान्त ठाउँमा बाटो ढुकी मृतकलाई कर्तव्य गरी मारेकोमा मलाई पूर्ण विश्वास लाग्छ । पुष्पबहादुरबाहेक अन्य कसैप्रति शंका छैन भन्नेसमेत व्यहोराको वस्तुस्थिति मुचुल्काका व्यक्ति देवेन्द्र पौडेलले गरेको बकपत्र ।
मृतक र प्रतिवादी पहिलेदेखिका सँगै हिड्ने खाने साथीसाथी हुन् । त्यो दिन दुवैजना बजार गएर सँगै आएका हुन् । घटना मैले देखिन के कसरी भयो म जान्दिन । प्रतिवादी आफैँ प्रहरीसमक्ष साविती भएपछि मात्र हामीले निजले मारेको रहेछ भन्ने कुरा थाहा पायौं । मृतक रू. १५,०००।–नगदै बोकेर हिड्ने हैसियतका व्यक्ति होइनन् र घडी सामान्य खालको थियो भन्ने व्यहोराको प्रतिवादीका साक्षी बलबहादुर थापाले गरेको बकपत्र ।
मैले घटना घटेको देखिन । मृतक र प्रतिवादी सँगसँगै घर जाने क्रममा भनाभन हुँदा तुरून्तै रिस उठ्न गई चिलाउनेको डोलो दाउराले मृतकलाई हान्दा निजको मृत्यु भएको हो मारौँ भन्ने नियतले प्रतिवादीले हानेका होइनन् । घटना घट्नुपूर्व सँगसँगै खाने हिड्ने गर्दथे । मृतकको नगद र घडी यी प्रतिवादीले लगेका होइनन् भन्नेसमेत व्यहोराको प्रतिवादीका साक्षी भीमप्रसाद लिम्बुले गरेको बकपत्र ।
मिति २०६५।१२।२७ गते राति जीवन तामाङ्को घरमा तास खेल्ने क्रममा वादविवाद भएपछि प्रतिवादी पुष्पबहादुर कार्कीले धनबहादुर तामाङ्लाई रातको समयमा बाटो ढुकेर कर्तव्य गरी मारेकोमा पूर्ण विश्वास लाग्छ भन्नेसमेत व्यहोराको वस्तुस्थिति मुचुल्कामा बस्ने अम्बरबहादुर थापाले गरेको बकपत्र ।
प्रतिवादी पुष्पबहादुर कार्कीले धनबहादुर तामाङ्लाई लाठीले टाउकोमा प्रहार गरी मारी मुलुकी ऐन, ज्यानसम्बन्धी महलको १३(३) नं. बमोजिमको कसूर अपराध गरेको ठहर्छ । सो ठहर्नाले निजलाई सोही नं. बमोजिम सर्वस्वसहित जन्मकैद हुन्छ भन्ने व्यहोराको शुरू संखुवासभा जिल्ला अदालतको मिति २०६६।३।२१ को फैसला ।
शुरू जिल्ला अदालतले मलाई ज्यानसम्बन्धी महलको १३(३) नं. बमोजिम सर्वश्वसहित जन्मकैदको सजाय हुने ठहर गर्दा परिस्थितिजन्य प्रमाणको न्यायोचित् मूल्याङ्कन गरिएको छैन । अतः उक्त फैसला न्यायको रोहमा सो त्रुटिपूर्ण हुँदा बदर गरी उचित न्याय पाऊँ भन्नेसमेत व्यहोराको प्रतिवादी पुष्पबहादुर कार्कीको पुनरावेदन अदालत, धनकुटामा परेको पुनरावेदन पत्र ।
प्रस्तुत मुद्दामा ज्यानसम्बन्धी महलको १३(३) नं. तथा १४ नं.समेतको व्याख्यात्मक प्रश्न उपस्थित भएको परिप्रेक्ष्यमा शुरूको इन्साफ फरक पर्न सक्ने भई विचारणीय हुँदा छलफलका लागि अ.बं. २०२ नं. तथा पुनरावेदन अदालत नियमावली, २०४८ को नियम ४७ बमोजिम प्रत्यर्थी वादी पक्षलाई झिकाई नियमानुसार पेश गर्नु भन्ने पुनरावेदन अदालत, धनकुटाको २०६६।१०।२८ को आदेश ।
मृतक धनबहादुरको मृत्यु प्रतिवादी पुष्पबहादुरकै कर्तव्यबाट भएको तथ्य स्थापित हुन आई यी प्रतिवादीकै कर्तव्यबाट मृतकको मृत्यु भएकोमा विवाद देखिएन । मृतकले यी प्रतिवादीलाई लात्तीले हान्दा आफू उछिट्टिएको रिस र आवेशमा चिलाउनेको लाठीले हान्दा मृत्यु भएको देखिंदा ज्यानसम्बन्धीको ५ नं आकर्षित हुन सक्ने देखिएन । ज्यानसम्बन्धीको महलको १४ नं.आर्कषित हुन सक्छ सक्दैन भन्नेतर्फ विचार गर्दा यी प्रतिवादीले मृतकलाई साधारण चिलाउनेको लाठीले प्रहार गरेको देखिए पनि लासजाँच प्रकृति मुचुल्का र शव परीक्षण प्रतिवेदन हेर्दा मृतकको शरीरमा लागेको घा चोटको गाम्भीर्यता, चोट प्रहार, घटना वारदातको परिस्थिति र मनसाय तत्त्वसमेत समावेश भएको देखिँदा ज्यानसम्बन्धीको १४ नं. पनि आर्कषित हुन्छ भनी मान्न नमिल्ने हुँदा निज प्रतिवादीलाई ज्यानसम्बन्धीको १३(३) नं.बमोजिम सर्वश्वसहित जन्मकैदको सजाय हुने ठहर गरेको शुरू संखुवासभा जिल्ला अदालतको मिति २०६६।३।२१।१ को फैसला मिलेकै देखिँदा सदर हुने ठहर्छ भन्ने पुनरावेदन अदालत, धनकुटाको मिति २०६६।१२।१९।५ को फैसला ।
मृतकसँग निजको घर जाने क्रममा गैरीधारा भन्ने ठाउँमा पुगेपछि निजले एक्कासी मलाई लात्ताले हान्दा म ५ फीटजति पर उछिट्टिएँ र तत्काल त्यहाँ मैले लाठी भेट्टाएँ त्यसपछि फेरि मलाई कुटपीट गर्न आएपछि मैले पनि सोही दाउराले हानेँ । त्यस ठाउँमा रूखको छहारी भएकोले अँध्यारो थियो । मैले हानेको लाठी निजको टाउकोमा लागेछ मैले टाउकोमा हानेको होइन । त्यसपछि मृतक भूईंमा लडे टाउको ढुङ्गामा परेछ । टाउको ढुङ्गामा परी लागेको चोटको कारणले मृत्यु भएछ मैले हानेको चोटले होइन । मैले गरेको आपराधिक कार्यबाट मृतकको मृत्युको सम्भावना थियो थिएन भन्ने तथ्य र प्रमाणको मूल्याङ्कन गरिएको छैन । लास प्रकृति मुचुल्कामा मृतकको टाउकोपछाडिको चोटको प्रकृति कुच्चिएको भन्ने भएबाट मैले प्रहार गरेको लाठीको प्रहारबाट नभएको भन्ने पुष्टि हुन्छ । मृतक र मेरोबीच मार्नु मराउनु पर्ने कुनै कारण नै नभएको, केवल मृतक उछिट्टिएर लड्दा ढुङ्गामा परी ठोक्किएको कारणबाट नै भवितव्यमा परी मृतकको मृत्यु भई ज्यान गएको प्रस्तुत वारदातमा ज्यानसम्बन्धीको ५ नं. को अवस्था छ । भवितव्यको वारदातलाई कर्तव्य ज्यानको वारदात ठहर गरेको पुनरावेदन अदालतको फैसला ने.का.प. २०४४, नि.नं. ३२३९ पृ.१०४९ मा प्रतिपादित सिद्धान्तविपरीत हुँदा उक्त फैसला बदर गरी कठोर सजायबाट मुक्त गरिपाऊँ भन्ने प्रतिवादी पुष्पबहादुर कार्कीको यस अदालतमा परेको पुनरावेदन पत्र ।
यसमा पूर्व रिसइवीको अभाव, मार्नुपर्ने कुनै नियोजित षड्यन्त्रसमेत नदेखिएको, तास खेली छुट्टिन लाग्दा मृतकले हानेको लात्तीको कारण तत्काल रिस उठी सामान्य हतियार लाठा प्रयोगबाट मृत्यु भएकोमा सो कुरा प्रतिवादीले अदालतमासमेत स्वीकार गरेको हुँदा यस्तो आवेशप्रेरित अपराधमा ज्यानसम्बन्धी महलको १४ नं. अनुसार सजाय हुनुपर्नेमा सर्वश्वसहित जन्मकैद गरेको निर्णय कानून प्रतिकूल भई सर्वोच्च अदालतबाट स्थापित कानूनी मान्यता तथा व्याख्याविपरीत देखिँदा पुनरावेदन अदालतको निर्णय फरक पर्ने हुँदा अ.बं. २०२ नं.अनुसार नेपाल सरकारलाई सूचना दिई नियमानुसार पेश गर्नु भन्ने यस अदालतको मिति २०६८।२।११।४ को आदेश ।
नियमबमोजिम पेश हुन आएको प्रस्तुत मुद्दामा पुनरावेदक प्रतिवादीतर्फबाट विद्वान अधिवक्ताद्वय श्री हेमराज अधिकारी र श्री राजन अधिकारी तथा वादी नेपाल सरकारतर्फबाट विद्वान उपन्यायाधिवक्ता श्री भरतलाल शर्माले प्रस्तुत गर्नुभएको बहससमेत सुनी मिसिल अध्ययन गरी हेर्दा पुनरावेदन अदालत, धनकुटाको फैसला मिलेको छ छैन सोही विषयमा निर्णय दिनुपर्ने देखिन आयो ।
निर्णयतर्फ विचार गर्दा प्रतिवादी पुष्पबहादुर कार्कीले धनबहादुर तामाङलाई कुटपीट गरी कर्तव्य गरी मारेको हुँदा प्रतिवादीलाई मुलुकी ऐन, ज्यानसम्बन्धी महलको १३(३) नं.बमोजिम सजाय गरिपाऊँ भन्ने अभियोग माग दावी भएकोमा अभियोग माग दावीबमोजिम प्रतिवादीलाई ज्यानसम्बन्धीको १३(३) नं.बमोजिम सर्वश्वसहित जन्मकैदको सजाय हुने ठहर गरेको शुरू संखुवासभा जिल्ला अदालतको फैसला सदर गरेको पुनरावेदन अदालत, धनकुटाको फैसलाउपर प्रस्तुत वारदात भवितव्य हुँदा सोबमोजिम सजाय नगरी ज्यानसम्बन्धीको १३(३) नं.बमोजिम सजाय गरेको मिलेको छैन भनी प्रतिवादीको पुनरावेदन परी निर्णयार्थ पेश हुन आएको प्रस्तुत मुद्दामा निम्न विषयमा निर्णय दिनु पर्ने देखियो :–
(क) प्रस्तुत वारदात भवितव्य, आवेश प्रेरित वा मनसाय प्रेरितमध्ये कुन प्रकृतिको वारदात हो ?
(ख) अभियोग दावीबमोजिम प्रतिवादीलाई सजाय हुनुपर्ने हो होइन ?
(ग) पुनरावेदन अदालत, धनकुटाको फैसला मिलेको छ छैन ?
२. यसमा पहिलो प्रश्नतर्फ विचार गर्दा मिति २०६५।१२।२७ गते धनबहादुर तामाङ् वाना बिहीबारे बजार गएकोमा घर फर्की नआएको र जेठो दाजुले वाना ४ स्थित धारा (राइधार) आहाल मूल बाटोमा भोलिपल्ट मृत अवस्थामा देखी सो सम्बन्धमा निजको मृत्यु कसरी भएको हो भनी बुझ्दा वाना बिहीबारे बजारबाट फर्की वाना आई वाना ३ स्थित कुमार राईको घरमा खुद्रा पसल गरी बस्ने जीवनप्रसाद तामाङ्को घरमा आई पुगेको र त्यहाँ रामप्रसाद तामाङ्, जनक राई, तीर्थकुमार लिम्बु, बाबुराम, धनबहादुर तामाङ्, टेकबहादुर तामाङ्, पर्शुराम तामाङ् र प्रतिवादी कार्की कान्छो भन्ने पुष्पबहादुर कार्कीसमेतका मानिसहरू भेला जम्मा भई तास खेलेकोमा राति अन्दाजी ९/१० बजेपछि मृतक भार्इ र पुष्पबहादुर कार्की दुईजनामात्र विवाद गर्दै तास खेली एउटै बाटो भई आ–आफ्नो घर जाने भनी हिँडेकोमा धनबहादुर मृत अवस्थामा भेटिएकोले पुष्पबहादुर कार्कीले नै कर्तव्य गरी मारेको भनी टीकाराम तामाङले किटानी जाहेरी दिएको देखिन्छ । मृतक र प्रतिवादी राति १ बजेसम्म तास खेलेका र सँगै घर जान भनी हिँडेका हुन्, घर जानुपूर्व कोसँग धेरै पैसा छ भनी विवाद गरिरहेका थिए, निजले नै मृतकलाई मारेका हुन् भनी जीतमाया तामाङसमेतले मौकामा कागज गरेका छन् । त्यस्तै वस्तुस्थिति मुचुल्काका व्यक्तिहरू देवेन्द्र पौडेलसमेत ५ जनाले गरेको कागजमा २०६५।१२।२७ गते राति २२.०० बजेको समयमा मृतक र प्रतिवादीबीच कसको पैसा धेरै भन्ने विवाद भएको, निजहरू बीच विवाद भएपछि तास खेल्ने अन्य व्यक्तिहरू जनक राईसमेत ८ जना उक्त स्थानबाट हिँडेका र मृतक र प्रतिवादी राति १ बजेसम्म तास खेलेकोमा धनबहादुरको लास भोलिपल्ट भेटिएकोमा निज प्रतिवादी भागी गएकोले निजले नै मारेको हो भनी उल्लेख गरी मौकामा कागज गर्ने व्यक्तिहरू तथा वस्तुस्थिति मुचुल्काका व्यक्तिहरू जीतमाया तामाङ, देवेन्द्र पौडेल, बलबहादुर थापा र अम्बरबहादुर थापाले आफूहरूले लेखाएको व्यहोरा समर्थन हुने गरी अदालतमासमेत बकपत्र गरेको देखिन्छ । धनबहादुर तामाङको मृत्युको कारणमा “The cause of death is due to Internal Cerebral Injury” भनी शव परीक्षण प्रतिवेदनमा उल्लेख हुनुको अतिरिक्त प्रतिवादीले अनुसन्धान अधिकारीसमक्ष र अदालतमा गरेको बयानसमेतबाट यी प्रतिवादीले प्रहार गरेको दाउराको चोटको कारणबाट धनबहादुर तामाङ्को मृत्यु भएको भन्ने देखिन आएको छ ।
३. प्रस्तुत वारदात भवितव्यको वारदात हो भनी प्रतिवादीले शुरू अदालतमा बयान गर्दा र यस अदालतमा पुनरावेदन गर्दा उक्त कुराको जिकीर लिएको देखिन्छ । तर शुरू तथा पुनरावेदन अदालतबाट उक्त वारदात भवितव्य नभई कर्तव्य भएको ठहर गरेको छ । ज्यानसम्बन्धीको १३(३) नं. को अभियोगमा जिल्ला तथा पुनरावेदन अदालतबाट १३(३) नं.अनुसार सर्वश्वसहित जन्मकैद गर्ने निर्णय भएको छ । प्रतिवादीले लिएको ज्यानसम्बन्धीको ५ नं.को जिकीर तथा यस अदालतको पूर्व इजलासले झ.झि गर्दा प्रस्तुत वारदात ज्यानसम्बन्धीको १४ नं.अन्तर्गतको देखिने भन्नेलगायतका समग्र कानूनी प्रावधान र तथ्य प्रमाणका आधारमा यस वारदातका विषयमा निरोपण गर्नु पर्ने देखिन आएको छ । अब, प्रस्तुत वारदात कुन प्रकृतिको वारदात हो भन्ने सन्दर्भमा घटित तथ्य र प्राप्त प्रमाणको विवेचना गरी निरोपण गर्ने क्रममा सर्वप्रथमः प्रस्तुत वारदात भवितव्यको वारदात हो होइन भन्ने विवादित प्रश्नको निरोपण गर्नुपर्ने देखिएको छ । घटनाको प्रकृति हेर्दा जीवन तामाङ्को घरमा यी प्रतिवादी र मृतकसमेत अन्य व्यक्तिहरू सामूहिकरूपमा तास खेलेकोमा अन्य व्यक्तिहरू गएपछि यी दुईजना मृतक र अभियुक्त राति १ बजेसम्म तास खेलेका र पछि आफ्नो घर जान भनी हिंडेकोमा बीच बाटोमा पुगेपछि मृतकले यी प्रतिवादीलाई आफ्नो घर जाऊँ भनी प्रतिवादीको नाडीमा समाई तान्न खोज्दा प्रतिवादीले इन्कार गरेको कारण मृतकले यी प्रतिवादीलाई लात्तीले हानेको कारण नजिकै दाउरा भेट्टाई सोही दाउराले टाउकोमा प्रहार गर्दा सोही चोट पीडाबाट मृतकको मृत्यु भएको छ । यसरी घर जाने क्रममा मृतकले प्रतिवादीलाई आफ्नो घर लाने प्रयास गरेको र प्रतिवादीले इन्कार गरेको कारण मृतकले पनि धैर्यता गुमाई प्रतिवादीलाई लात्तीले हान्दा प्रतिकारस्वरूप यी प्रतिवादीले दाउराले प्रहार गर्दा धनबहादुर तामाङ्को मृत्यु भएको देखियो ।
४. “ज्यान लिने इवी लाग वा मनसाय नभै कसैले आफूले गरेको कर्तव्यले मानिस मर्ला भन्ने जस्तो नदेखिएको कुनै काम कुरा गर्दा त्यसैद्वारा केही भै कुनै मानिस मर्न गएकोमा” मुलुकी ऐन ज्यानसम्बन्धी महलको ५ नं.ले वर्णित गरेको अपराधको प्रकृतिभित्र पर्दछ । तर ज्यानसम्बन्धीको ५ नं. अन्तर्गत भवितव्यको वारदात ठहर्नका लागि निम्न तत्त्वहरूको विद्यमानता छ वा छैन भन्ने कुराको निरोपण हुनु पनि त्यत्तिकै आवश्यक छ–
(१) मृतक वा उसको परिवारसँग प्रतिवादीको पूर्व रिसइवी छ, छैन ?
(२) वारदात संयोगवश घटित भएको हो, होइन ?
(३) मानिस मर्न सक्ने सम्भावनाको स्थिति थियो थिएन, र
(४) परिणाम टार्न सक्ने अवस्था थियो वा थिएन ?
५. अब प्रस्तुत वारदातमा माथि विवेचित तत्त्वको विद्यमानता छ वा छैन भन्नेतर्फ हेर्दा मिति २०६५।१२।२७ गते राति १ बजेसम्म मृतक र प्रतिवादी दुबै पक्ष सँगसँगै तास खेली घर जाने क्रममा पनि केही मिनेटको अन्तरालमा जीतबहादुरको घरबाट हिँडे पनि बीच बाटोमा दुवै जना पुनः भेट भई मृतकले प्रतिवादीलाई आफ्नो घर लान इच्छा व्यक्त गरेको तर प्रतिवादीले इन्कार गरेपछि नाडीमा समाई बल गर्दा पनि इन्कार गरिरहेकोले मृतकले यी प्रतिवादीलाई लात्तीले प्रहार गरेपछि यसैका कारणबाट घटनाले परिवर्तित स्वरूप लिई धनबहादुर तामाङ्को मृत्यु हुन पुगेको छ । ताकेर नै लाठीले टाउकोमा पटक पटक प्रहार नगरेको भए मृत्यु हुने सम्भावना कम भई ज्यान जाने थिएन । यस तथ्यको पुष्टि शव परीक्षणबाट हुन्छ । किनकि मृतकलाई लाठीले टाउकोमा प्रहार गरिएको छ र त्यहीँ टाउकोको चोटको कारणबाट धनबहादुरको मृत्यु भएको छ । वारदात संयोगवश नघटेको, पहिलो चोटपछि चोट नथपेको भए बाँच्न सक्ने सम्भावना थियो । तर, उत्तेजनामा आई चोटमाथि चोट छाडिएको प्रमाणबाट पुष्टि हुन्छ । त्यसकारण प्रस्तुत वारदातलाई ज्यानसम्बन्धी महलको ५ नं. मा वर्णित अन्तर्वस्तुको अभावमा भवितव्यको वारदात भन्न मिलेन ।
६. वारदात घट्नुमा पनि घर जानेक्रममा एक पक्षले अनुरोध गर्ने र अर्को पक्षले इन्कार गर्ने क्रममा तत्काल एकापसमा विवाद सिर्जना भई पहिला मृतकले यी प्रतिवादीउपर लात्ती प्रहार गरेको र उक्त प्रहारबाट तत्काल आवेशमा आएका यी प्रतिवादीले आत्मनियन्त्रण गुमाई दाउराले टाउकोमा प्रहार गर्दा मरेको देखिन्छ । तास खेल्ने क्रममा सामान्य विवाद भए पनि सो विवाद साम्य भैसकेको भन्ने तथ्य मृतक र प्रतिवादीसँगै जानु र बीच बाटोमा पुगेपछि मृतकले नै यी प्रतिवादीलाई अनुरोध गरेको छ । प्रतिवादीले मृतकको घर जान इन्कार गरेपछि मृतकले यी प्रतिवादीउपर लात्ती प्रहार गरेपछि मात्र वारदातको जरिया सिर्जना भएको छ । मृतकले नै पहिला प्रहार गरेको छ । त्यसपछि मात्र प्रतिवादीले मृतकलाई आक्रमण गरेको छ । प्रतिवादीले धनबहादुरलाई मार्ने योजना बनाई प्रहार गरेको वा निजको ज्यान मार्ने गरी लुकी छिपी प्रहार गरेकोसमेत अवस्था छैन, धारिलो हतियार प्रयोग भएको भन्ने देखिँदैन ।
७. यस्तो अवस्थामा घटित वारदातको प्रकृति, “ज्यान मार्नाको मनसाय रहेनछ, ज्यान लिनुपर्नेसम्मको इवी पनि रहेनछ, लुकी चोरीकन हानेको पनि रहेनछ उसै मौकामा उठेको कुनै कुरामा रिस थाम्न नसकी जोखिमी हतियारले हानेको वा विष खुवाएकोमा बाहेक साधारण लाठा, ढुङ्गा, लात मुक्का इत्यादिले हान्दा सोही चोट पीरले ऐनका म्यादभित्र ज्यान मरेमा” मुलुकी ऐन ज्यानसम्बन्धीको १४ नं ले वर्णित गरेको अपराधको प्रकृतिभित्र पर्न आउँछ । धनबहादुरको ज्यान गएको तथ्यसँग सम्बन्धित वारदातमा दाउरा प्रयोग भएकोसम्म देखिन्छ. । प्रस्तुत वारदातको समग्र प्रकृतिको सूक्ष्म मनन् गरी हेर्दा एक पक्षले अर्को पक्षको कुनै खास व्यक्तिलाई मार्ने गरी पूर्व रिसइवीका साथ योजना बनाएको देखिँदैन । यस्तो अवस्थाको वारदातलाई ज्यानसम्बन्धीको १३ नं. द्वारा परिभाषित गरिएको नियतवश वा मनसायपूर्वक गरिएको हत्याको संज्ञा दिन मिल्ने नभई यो ज्यानसम्बन्धीको १४ नं. अन्तर्गतको वारदात भएको स्पष्ट देखिन्छ ।
८. प्रस्तुत वारदातको समग्र्र प्रकृतिको विश्लेषण गर्दा एक पक्षले अर्को पक्षलाई मार्ने गरी पूर्व रिसइवीका साथ योजना बनाएको र सोहीअनुरूप कार्य गरेकोसमेत देखिँदैन । मार्नु पर्नेसम्मको मनसायको पूर्णतया अभाव देखिन्छ । पूर्वयोजना र तयारीबमोजिम घटना घटेको पनि होइन । दुई पक्षबीच तत्काल मृतकको घर जाने बिषयमा कुरा नमिलेको कारणबाट उठेको द्विपक्षीय विवादले कुटपीटको घटना भएको देखिन्छ । पूर्व रिसइवीको अभावमा यी प्रतिवादीहरूलाई आरोपित ज्यानसम्बन्धीको १३(३) नं. को कसूरदार मान्नु कानून र न्यायसङ्गत हुन सक्क्तैन ।
९. अब, दोस्रो प्रश्नतर्फ विचार गर्दा १ नं. प्रश्नको निराकरण गर्ने क्रममा माथिका प्रकरणहरूमा प्रतिवादीले दाउराले प्रहार गरेको सोही प्रहार घातक सावित हुन गएको सम्बन्धमा विवेचना गरी सकिएको छ । यस्तो अवस्थामा प्रतिवादीलाई मुलुकी ऐन, ज्यानसम्बन्धी महलको ५ नं. विपरीत कसूर कायम हुनुपर्ने भन्ने प्रतिवादीतर्फका विद्वान कानून व्यवसायीको बहस जिकीर एवं प्रतिवादीको पुनरावेदन जिकीर तथा प्रतिवादीलाई आरोपित ज्यान सम्बन्धीको १३(३) नं.बमोजिम सजाय गरिपाऊँ भन्ने सो हदसम्मको वादी नेपाल सरकारको अभियोग दावी पुग्न सक्ने देखिएन ।
१०. यी प्रतिवादीमा मृतकलाई मार्नुपर्नेसम्मको पूर्व रिसइवी नरहेको, तास खेली घर जाने क्रममा मृतकले यी प्रतिवादीलाई लात्तीले हानेको कारण तत्काल आवेशमा आई दाउराले प्रहार गर्दा मृतक धनबहादुर तामाङ्को मृत्यु भएको देखिँदा प्रतिवादीको कसूर ज्यानसम्बन्धी महलको १४ नं. अन्तर्गतको देखिँदा सोही महलको १४ नं. बमोजिम प्रतिवादीलाई सजाय ठहर गर्नुपर्नेमा ज्यानसम्बन्धीको १३(३) नं.बमोजिम सर्वश्वसहित जन्मकैदको सजाय हुने ठहर गरेको संखुवासभा जिल्ला अदालतको मिति २०६६।३।२१ को फैसला सदर गरेको पुनरावेदन अदालत, धनकुटाको मिति २०६६।१२।१९ को फैसला मिलेको नदेखिँदा केही उल्टी भई प्रतिवादी कान्छो कार्की भन्ने पुष्पबहादुर कार्कीलाई ज्यानसम्बन्धीको १४ नं. को कसूरमा १० वर्ष कैद सजाय हुने ठहर्छ । ज्यानसम्बन्धीको १३ (३) नं.बमोजिम सजाय हुनुपर्ने भन्ने सो हदसम्मको अभियोग दावी तथा ज्यानसम्बन्धीको ५ नं.बमोजिम भवितव्य ठहर गर्नुपर्ने भन्ने सो हदसम्मको प्रतिवादीको पुनरावेदन जिकीर पुग्न सक्दैन । अरूमा तपसीलबमोजिम गर्नू ।
तपसील
यसमा माथि इन्साफ खण्डमा लेखिएबमोजिम पुनरावेदन अदालत, धनकुटाको मिति २०६६।१२।१९ को फैसला केही उल्टी भई प्रतिवादी कान्छो कार्की भन्ने पुष्पबहादुर कार्कीलाई ज्यानसम्बन्धी महलको १४ नं. बमोजिम १० वर्ष कैद सजाय हुने ठहरी फैसला भएकोले शुरू संखुवासभा जिल्ला अदालतले फैसलाको तपसील खण्डको देहाय १ र २ मा राखेको लगत कायम नरहने हुँदा उक्त लगत संशोधन गरी प्रतिवादी कान्छो कार्की भन्ने पुष्पबहादुर कार्की मिति २०६५।१२।३० देखि थुनामा रहेको देखिँदा सोही मितिबाट कैद कट्टा हुने गरी मिति २०७५।१२।२९ सम्म कैदमा राखी मिति २०७५।१२।३० मा कैदबाट मुक्त गरिदिन १० (दस) वर्ष कैदको लगत कसी असूल गर्नु भनी शुरू संखुवासभा जिल्ला अदालतमा लेखी पठाउनू...........१
फैसलाको जानकारी प्रतिवादीलाई सम्बन्धित कार्यालयमार्फत् दिई दायरीको लगत कट्टा गरी मिसिल नियमानुसार बुझाई दिनू.........................................................२
उक्त रायमा सहमत छु ।
न्या.ज्ञानेन्द्रबहादुर कार्की
इति संवत् २०७० साल जेठ २९ गते रोज ४ शुभम् –––––––––––––––––––––
इजलास अधिकृत :– दीपक ढकाल