शब्दबाट फैसला खोज्‍नुहोस्

निर्णय नं. ७३६३ - नक्सा विपरीत घर निर्माण ।

भाग: ४६ साल: २०६१ महिना: श्रावण अंक:

निर्णय नं.७३६३           ने.का.प.२०६१               अङ्क ४

 

संयुक्त इजलास

माननीय न्यायाधीश श्री दिलीप कुमार पौडेल

माननीय न्यायाधीश श्री हरिजंग सिजापती

सम्वत २०५७ सालको दे.पु.नं. ७५९०

फैसला मितिः २०६१।४।२८।५

 

मुद्दाः नक्सा विपरीत घर निर्माण ।

 

पुनरावेदक

प्रतिवादीः का.जि.का.म.न.पा. वडा नं. ९ वत्तीसपुतली वस्ने शुभद्रा दाहाल

विरुद्ध

प्रत्यर्थी

वादीः ऐ.वडा नं ८ वस्ने नारायण डंगोल

 

§  आफ्नो जग्गाको दायरा भन्दा वढि सांध सिमानाको अन्य व्यक्तिको जग्गातर्फ घरको सुरक्षार्थ भनि टप निकाल्न मिल्छ भन्न नमिल्ने ।

§  अर्काको जग्गाको माथि टप निकाली छतको पानीको निका संधियारको जग्गामा खसाल्दा जग्गावालालाई मर्का पर्दैन भन्न पनि नमिल्ने ।

§  आफूले नगरपालिकामा घर निर्माणको लागी नक्सा पास गर्न भनि दिएको नक्साको आधार प्रकार र जग्गाको प्रकृति अनुसार नै नगरपालिकाले तोकेको मापदण्ड भित्र रही घर निर्माण गर्नुपर्ने दायित्व रहेकोमा प्रतिवादीले सो को विपरीत वादीको जग्गातर्फ वर्षादको पानीवाट आफ्नो घर जोगाउन भनि वढिटप निकालेको देखिंदा नक्सा र प्राविधिकले पेश गरेको प्रतिवेदनवाट वढि देखिएको टपको हदसम्म भत्काउन पर्ने होइन भन्न नसकिने ।

§  नगरपालिकाको प्रमुखले जरिवाना वा घर वा घरको केही हिस्सा भत्काउने मध्ये कुनै एक मात्रको सजाय गर्न पाउने  देखिंन्छ । तर प्रस्तुत मुद्दामा नगर प्रमुखले दुवै किसिमको अर्थात वढी देखिएको टप भत्काई दिने र रु .३०००। जरिवाना गर्ने गरी दोहोरो सजाय गर्न नमिल्ने ।

(प्र.नं. १४ र १५)

 

पुनरावेदक प्रतिवादी तर्फवाटः

प्रत्यर्थी वादी तर्फवाटः

अवलम्वित नजिरः

 

फैसला

न्या.दिलीपकुमार पौडेलः पुनरावेदन अदालत पाटनको मिति २०५७।६।४ को फैसला उपर न्याय प्रशासन ऐन, २०४८ को दफा ९(१) वमोजिम प्रतिवादी पक्षको पुनरावेदन पर्न आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य तथा ठहर यसप्रकार छ :

२.    मेरो काठमाडौं मालपोत कार्यालयमा दर्ता रहेको जग्गा सिट नं. १०२११०७१३ कि.नं.२५२ को जग्गा मा सोही सिट नं १०२१११३ कि.नं.१९५ को क्षे.फ.०० को जग्गाधनी सुभद्रा दाहालले घर निर्माण गर्दा नक्सा वमोजिम नगरी नक्सा विपरीत टप निकाली घर निर्माण गरेको र नकसा विपरीत गरेको तर्फ कि.नं.२५२ तर्फको नक्सा वमोजिम गराई पाउनका लागि यो निवेदन पेश गरेको छु भन्ने व्यहोराको नारायण डंगोलले का.म.न.पा. वडा नं ९ मा दिएको ०५४।१।२७ को उजुरी निवेदन  । साइट चेक गरी पेश गर्नु भन्ने सोही मितिमा तोक आदेश भएको ।

३.    यस वडा नं. ९ कार्यालयवाट सम्वन्धित ठाउँमा गई वस्तु स्थिति निरीक्षण गर्दा निवेदनमा उल्लेखित ठाउमा निज सुभद्रा दाहालले कि.नं.२५२ को जग्गा तर्फ जग्गा नछोडी अनुमानित ९ इन्च देखि १ फिट सम्मको टप निकाली घर निर्माण गरेकोले आवश्यक कारवाहीको लागि प्रतिवेदन पेश गरेको छु भन्ने का.म.न.पा. ९ वडा का वडाअध्यक्षले का.म.न.पा. मा पेश गरेको प्रतिवेदन ।

            ४.    यसमा प्राविधिक निरीक्षण गराई प्रतिवेदन पेश गर्नु भन्ने का.म.न.पा. वाट भएको आदेशानुसार प्रतिवादीले ३ तल्ला घर निर्माण गरेको र तेश्रो तला निर्माण गर्दा ६ इन्च टप वढी वादीको जग्गामा निकालेको देखिन्छ  भन्ने समेत व्यहोराको मिति २०५४।४।३० को प्राविधिक प्रतिवेदन ।

            ५.    विपक्षी नारायण डंगोलले भनेको कि.नं.१९५ को क्षे.फ. ८ आना जग्गा मैले २०४६ सालमा खरीद गरेको र नगर विकास तथा का.म.पा. को स्वीकृतिमा उक्त जग्गामा १ वर्ष अगाडि घरको नक्सा पास गरी निर्माण कार्यको प्रारम्भ गरेको छु । उक्त जग्गा खरीद गर्नासाथ कम्पाउण्डवाल लगाउन नसकी करीव ४ वर्ष सम्म त्यसै रहेको र सो अवधि भरी विपक्षी नारायण डंगोलले मेरो स्वीकृति वेगर नै खेती लगाउदै आउनु भएको थियो घर निर्माणको समयमा थाहा नरहेको हुँदा मेरो संधियार नारायण डंगोल लगायतका परिवारका सदस्यहरुले मेरो निर्माण कार्यमा संलग्न ज्यामी मिस्त्रीलाई हप्काउने लगाएको गाह्रो भत्काउने जस्ता कार्य समेत गर्नु भएको छ । मेरो निर्माणाधीन घर पिलर सिस्टमको भएको र सो पिलर वर्षाको पानील्ो नभिजोस भनि करीव ३४ इन्चको छत मात्र निकालेको हो । यसमा विपक्षी नारायण डंगोलले उठाएको उजुरीमा जग्गा मिचेको भन्दा छतको विषयलाई प्राथमिकता दिएवाट पनी विपक्षीको मनसाय स्पष्ट  हुन्छ। यसमा विपक्षीको जग्गा लालपुर्जा अनुसार नपुग भएका म मेरो घरको छत भत्काएर पुर्याई दिन्छु । वढि भए पर्खाल लगाई दिन्छु । का.म.न.पा.ले छानविन गरोस भन्ने सुभदं्रा दाहालले का.म.पा समक्ष दिएको लिखित जवाफ समेतको विवरण ।

            ६.    प्रतिवादीले वादीको जग्गा तर्फ दोश्रो तला ढलान गर्दा ३ इन्च र तेश्रो तला ढलान गर्दा ६ इन्च टप निकालेको भन्ने समेत व्यहोरा जनाई मिति २०५४।४।३० मा प्रतिवेदन पेश भएकोले टप न.पा. ऐन, २०४८ को दफा ६२(२) वमोजिम भत्काई दिने तथा प्रतिवादीले पेश गरेको पास नक्सा विपरीत घर वनाएकोले रु ३०००। तीन हजार जरीवाना गर्ने ठहर्छ भन्ने समेत काठमाडौं महानगरपालिकाको मिति २०५५।१।८ को ठहर निर्णय ।

            ७.    का.म.न.पा.वाट अनुमानको भरमा भएको फैसला त्रुटीपूर्ण रहेको हुँदा उक्त फैसला वदर गरी विपक्षीको झुठ्ठा दावीवाट फुर्सद पाउँ भन्ने समेत व्यहोराको पुनरावेदन अदालतमा परेको प्रतिवादीको पुनरावेदन जिकिर ।

            ८.    नगरपालिका ऐन, २०४८ को दफा ६१(२) मा लेखिएको कुन अवस्था परी सो भत्काउने आदेश गरीएको हो स्पष्ट नभै सो निर्णय विचारणीय हुँदा छलफलका लागि विपक्षी झिकाउनु भन्ने पुनरावेदन अदालतको मिति २०५६।१।२४ को आदेश ।

            ९.    अ.व.१७१ नं. वमोजिम नाप नक्सा गरी पेश गर्नु भन्ने पुनरावेदन अदालतवाट भएको आदेशानुसार नाप नक्सा भै मिसिल संलग्न  रहेको ।

            १०.    प्रतिवादीले वादीको जग्गा तर्फ टप निकाली घर वनाएकोमा कुनै विवाद नदेखिंदा टप भत्काउने सम्म काठमाडौं महानगरपालिकाको निर्णय कानून संगतनै देखिएको र ऐन विपरीतको कार्य गरेको भनि रु.३०००। जरिवाना गरेको निर्णयवाट दोहोरो सजाय पर्ने हुँदा सो जरिवाना गरेको हदसम्म का.म.न.पा.को फैसला केही उल्टी भै जरिवाना नलाग्ने ठहर्छ भन्ने पुनरावेदन अदालत पाटनको मिति २०५७।६।४ को फैसला ।

            ११.    उक्त फैसलामा चित्त  वुझेन । मेरो जम्मा जग्गा रोपनी ०० भएकोमा हाल घर कम्पाउण्डले चर्चेको २६१३ स्क्वार फिट छ । जवकि आठ आना जग्गाको २७३८ फिट हुनुपर्ने हो । हाल १२५ स्क्वाएर फिट कमि हुँदा मेरो जग्गा भित्रै रहने गरी टप निकालेको हुँ । न.पा.वाट नक्सा पास गर्दा समेत उत्तरतर्फ टप निकाल्न स्वीकृत पाई सोही नक्सा अनुसार घर निर्माण गरेको हुँ । प्राविधिकले पेश गरेको हचुवा प्रतिवेदनको भरमा विपक्षीको जग्गा मैले नमिचेको , खिचोला नगरेको केवल आफ्नो कि.नं. १९५ को जग्गामा घर निर्माण गरेको र घरको गाह्रो नभिजोस भनि टप लगाएको सम्ममा विपक्षीको जग्गा पुगेन वा खिचोला भयो भनि भन्न नसकेको स्थितिमा पनि टप भत्काउने गरी भएको शुरुको फैसला सदरै कायम राखेको पुनरावेदन अदालतको टप भत्काउने हदसम्मको फैसला वदर गरी न्याय इन्साफ पाउँ भन्ने समेतको प्रतिवादीको यस अदालतमा पर्न आएको पुनरावेदन पत्र ।

            १२.   नियम वमोजिम पेशी  सूचीमा चढी पेश हुन आएको प्रस्तुत मुद्दामा पुनरावेदक प्रतिवादी सुभद्रा दाहालले मैले विपक्षीको जग्गा मिची घर नबनाएको आफ्नो जग्गाको  साँध सिमानाभित्रै बनाएको, घरमा गारो नभिजोस भनि सुरक्षाको लागि टप राखेको छ । विपक्षीको जग्गा नपुग भएको मा खिचोला भयो भन्न नसकेको अवस्थामा टप भत्काउने गरेको निर्णय त्रुटीपूर्ण हुंदा पुनरावेदन अदालतको फैसला उल्टी गरी पाउँ भनि गरेको भनाइ जिकिर समेत सुनी मिसिल अध्ययन गरी हेर्दा टप भत्काउने गरी गरेको शुरु सदर गरेको पुनरावेदन अदालतको फैसला मिलेको छ छैन ? र पुनरावेदन जिकिर बमोजिम हुनुपर्ने हो होइन? भन्ने सम्बन्धमा निर्णय दिनुपर्ने देखिन आयो ।  

            १३.   निर्णयतर्फ विचार गर्दा का.म.न.पा.वडा नं ९ कि.नं.१९५को ज.रो.००को जग्गाधनी सुभद्रा दाहालले घर निर्माण गर्दा नक्सा विपरीत टप निकाली घर निर्माण गरेकाले नक्सा वमोजिम गराई पाउँ भन्ने निवेदकको दावी भएको र निवेदकले आफ्नो जग्गा मिचेको भनि भन्न नसकेको र छतको कुरालाई प्राथमिकता दिई मलाई दुःख दिने नियतले झुठ्ठा उजुरी गरेका हुन भन्ने सुभद्रा दाहालको प्रतिवाद भएको प्रस्तुत मुद्दामा शुरु काठमाडौं महानगरपालिकाको नक्सा विपरीत घर वनाएको ठहर गरी टप भत्काई दिने र रु३,०००। जरिवाना हुने ठहराएको निर्णय उपर प्रतिवादीको पुनरावेदन पर्दा पुनरावेदन अदालतले प्रतिवादीलाई दोहोरो सजाय भएकाले जरिवानाको हद सम्म का.म.न.पा.को फैसला केही उल्टी गरी जरिवाना नलाग्ने र टप भत्काउने तर्फको निर्णय सदर गरेको फैसला उपर यस अदालतमा प्रतिवादीको पुनरावेदन परेको देखियो ।

            १४.   प्रतिवादीले वादीको लालपुर्जा अनुसारको जग्गा नपुग भएमा घरको निस्किएको छत र पेटी भत्काएर पनि पु¥याई दिन्छु भनि प्रतिउत्तर तथा पुनरावेदन पत्रमा जिकिर लिएतापनि काठमाडौं महानगरपालिकाको आदेशवाट निरीक्षणको लागि प्राविधिक खटाई पठाएकोमा प्रतिवादीले ३ तल्ला घर निर्माण गरेको र तेश्रो तल्ला निर्माण गर्दा वादीको जग्गातर्फ ६ इन्च वढि टप निकालेको भन्ने प्राविधिकले प्रतिवेदन दिएको देखिन्छ । त्यस्तै प्रतिउत्तरमा पिलर सिष्टमको घरमा वर्षादको पानीले नभिजोस भनि ३।४ इन्चको छतमात्र निकालेको हो भनी स्वीकार गरेको स्थितिमा वादीको जग्गा नपुग भए वा मैले जग्गा खिचोला गरेको ठहरेमा मेरै जग्गावाट पु¥याई दिन्छु भन्ने प्रतिवादी पुनरावेदकले आफूवाट भएको त्रुटी स्वीकार गरेको देखिन्छ । घरको जग जो भएको आफ्नो जग्गाको क्षेत्रफलको सिमान्तवाट नै उठाएको र तला थप्दै जाँदा छतको पानी घरको पिलर वा गाहारोमा नपरी पिलर  र गारो सुरक्षित राख्ने उद्देश्यले तला थप्दै गर्दा टप र छत पनि सोही मुताविक वादीको जग्गा तिर वढी निकालेको देखिन आयो । जुन कुरा प्रतिवादी स्वयंले स्वीकार गरेको देखिन्छ । आफ्नो जग्गाको दायरा भन्दा वढि सांध सिमानाको अन्य व्यक्तिको जग्गातर्फ घरको सुरक्षार्थ भनि टप निकाल्न मिल्छ भन्न मिलेन । अर्काको जग्गाको माथि टप निकाली छतको पानीको निकास संधियारको जग्गामा खसाल्दा सो जग्गावालालाई मर्का पर्दैन भन्न पनि मिलेन । आफूले नगरपालिकामा घर निर्माणको लागि नक्सा पास गर्न भनि दिएको नक्साको आधार प्रकार र जग्गाको प्रकृति अनुसार नै न.पा.ले तोकेको मापदण्ड भित्र रही घर निर्माण गर्नुपर्ने दायित्व रहेकोमा प्रतिवादीले सो को विपरीत वादीको जग्गातर्फ वर्षादको पानीवाट आफ्नो घर जोगाउन भनि वढि टप निकालेको देखिंदा नक्सा र प्राविधिकले पेश गरेको प्रतिवेदनवाट वढि देखिएको टपको हदसम्म भत्काउन पर्ने होइन भन्न सकिएन ।

            १५.   नगरपालिका ऐन, २०४८ को दफा ६४ (२) मा कसैले यस ऐन वमोजिम नक्सा पास नगराई वा नक्सा पास गराए पनि पास भएको नक्सा वमोजिम घर नवनाएमा त्यस्तो व्यक्तिलाई प्रमुखले वढीमा दशहजार रुपैयासम्म जरिवाना गर्न वा घर भत्काउन आदेश दिन सक्ने छ भन्ने कानूनी व्यवस्था भएको पाइन्छ । उक्त कानूनी व्यवस्थाको सन्दर्भमा विचार गर्दा नगरपालिकाको प्रमुखले जरिवाना वा घर वा घरको केही हिस्सा भत्काउने मध्ये कुनै एक मात्रको सजाय गर्न पाउने देखिंन्छ । तर प्रस्तुत मुद्दामा नगरप्रमुखले दुवै किसिमको अर्थात वढी देखिएको टप भत्काई दिने र रु .३०००। जरिवाना गर्ने गरी दोहोरो सजाय गर्न मिल्ने देखिदैन ।

१६.    अतः शुरु काठमाडौं महानगरपालिकाले प्रतिवादीलाई प्राविधिक प्रतिवेदनवाट वढी देखिएको टप भत्काई दिने र रु.३०००।जरिवाना गर्ने गरेको निर्णयलाई केही उल्टी गरी जरिवाना समेत गर्दा प्रतिवादीलाई दोहोरो सजाय पर्ने देखि जरिवानाको हदसम्म केही उल्टी गरी नलाग्ने र टप भत्काउने निर्णय सदर गरेको पुनरावेदन अदालत पाटनको मिति २०५७।६।४ को फैसला मिलेकै देखिंदा सदर हुने ठहर्छ । प्रतिवादीको पुनरावेदन जिकिर पुग्न सक्तैन । मिसिल नियमानुसार वुझाई दिनु ।

 

उक्त रायमा म सहमत छु ।

 

न्या. हरिजंग सिजापति

 

इति सम्वत २०६१ साल श्रावण २८ गते रोज ५ शुभम .....................

 

 

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु