निर्णय नं. ७३६४ - वकसपत्र वदर ।

निर्णय नं. ७३६४ ने.का.प.२०६१ अङ्क ४
संयुक्त इजलास
माननीय न्यायाधीश श्री दिलीप कुमार पौडेल
माननीय न्यायाधीश श्री अर्जुनप्रसाद सिंह
सम्वत २०५७ सालको दे.पु.नं. ६६५७
फैसला मितिः २०६१।४।२०।४
मुद्दाः–वकसपत्र वदर ।
पुनरावेदक
प्रतिवादीः मोरङ्ग जिल्ला विराटनगर उ.म.न.पा. वडा नं. ६ घर भई हाल का.जि.का.म.न.पा. वडा नं. ३३ ज्ञानेश्वर वस्ने वर्ष ७७ की रत्नदेवी गुरुङ्गको मु.स.गरी आफ्नो हकमा समेत मिना सिंह
विरुद्ध
प्रत्यर्थी
वादीः मोरङ्ग जिल्ला विराटनगर उ.म.न.पा. वडा नं.६ वस्ने वर्ष ४७ की तुलसी कुमारी सिंह
§ हालैदेखि वा शेषपछिको गरी वकसपत्रका २ रुप भए पनि तिनीहरुको उद्देश्य भनेको दातामा रहेको स्वामित्व प्राप्तकर्तामा हस्तान्तरण हुनु हो । शेषपछिको वकसपत्रमा दातालाई केही कारणले चित्त नवुझेमा वदर गर्ने हक रहे पनि उसले सो लिखत वदर नगरेसम्म त्यसको कानूनी मान्यता रहिरहन्छ । त्यस्तो वकसपत्र भएको अवस्थामा दाताको स्वामित्व प्राप्तकर्तामा हस्तान्तरण हुन्छ, यो स्वामित्व सम्वन्धी विधिशास्त्रीय सिद्धान्त पनि हो । तसर्थ दाताले स्वामित्व हस्तान्तरण गरीसकेपछि कहिले देखि प्राप्तकर्ताले सो सम्पत्तिको भोगचलन ग¥यो भन्ने कुरा गौण विषय हुन जाने ।
§ प्राथमिक विषय भनेको स्वामित्व परिवर्तन नै हो । प्रस्तुत विवादमा प्रतिवादी रत्नादेवी गुरुङ्गले छोरीहरुलाई शेषपछिको वकसपत्र गरी आफ्नो नाउँको जग्गाको स्वामित्व हस्तान्तरण गरेको अवस्था हुँदा लिखत पारित भएका मितिले २ वर्ष भित्र नालिस परेकोलाई ठाडै कानून विपरीत भन्न मिल्ने देखिदैन । तसर्थ वकसपत्र पारित भएका मितिले २ वर्ष भित्र दायर भएको नालिशलाई हदम्याद भित्र मानी इन्साफ गरेको पुनरावेदन अदालतको फैसलालाई कानून विपरीत र त्रुटीपूर्ण भन्न मिल्ने देखिन नआउने ।
§ सगोलमा रहेको कि.नं. १०३३ को सम्पत्तिलाई अंशियार वादीको मन्जुरी वेगर प्रतिवादी रत्नादेवी गुरुङ्गले आफ्नो विवाहित छोरीलाई गरिदिएको शेषपछिको वकसपत्रको लिखतले कानूनी मान्यता नपाउने हुँदा सो लिखत ३ भागको १ भाग वदर हुने नै देखियो । तसर्थ फिराद खारेज गर्ने गरेको शुरु मोरङ्ग जिल्ला अदालतको फैसलालाई उल्टी गरी वादी दावी वमोजिम ३ भागको १ भाग लिखत वदर हुने ठहर्याएको पुनरावेदन अदालत विराटनगरको मिति २०५६।६।६ को इन्साफ मिलेकै देखिंदा मनासिव ठहर्ने ।
(प्र.नं. १४)
पुनरावेदक प्रतिवादी तर्फवाटः विद्वान अधिवक्ता श्री बाबुराम कुंवर
प्रत्यर्थी वादी तर्फवाटः विद्वान अधिवक्ता श्री कृष्ण सापकोटा
अवलम्वित नजिरः
फैसला
न्या.दिलीपकुमार पौडेलः पुनरावेदन अदालत विराटनगरवाट २०५६।६।६ मा भएको फैसला उपर न्याय प्रशासन ऐन,२०४८ को दफा ९(१) (ग) वमोजिम प्रतिवादीको यस अदालतमा पुनरावेदन दायर हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य र ठहर यसप्रकार छ :–
२. हर कुमार सिंहका म फिरादी तथा प्रतिवादी रत्ना देवी समेत २ पत्नीहरु हौ । हामी एकासगोलमै हुँदा पतिको २०५० साल आश्विनमा मृत्यु भएको, हामी वीच अंशवण्डा नभएको, सौता रत्नादेवीवाट छोराको जायजन्म नभएको, म फिरादीवाट १ छोरा रवि कुमार सिंहको जायजन्म भएको र रत्ना देवीले सगोलको सम्पत्ति मेरो अंश हक मार्न एकलौटी जालसाजीपूर्णढंगले शेषपछिको वकसपत्र गरी निजका नाउको मोरङ्ग वि.न.पा. ८(क) कि.न. १०३३ का ०–१–१३ १÷२ मा घर समेत रहेकोमा घर नदेखाई ०५१।७।२१ गते र.नं. ३३५१ मा रु २,००,०००। मा निजकी विवाहित छोरी मनिका गुरुङ्ग र मिना सिंहलाई वतन समेत फरक लेखी लेखाई शेषपछिको वकसपत्र गरी दिई हामीलाई जानकारी नदिई गरेको लेनदेन व्यवहारको १० नं. वमोजिम सो लिखत वदर गरी पाउँ भन्ने समेत व्यहोराको फिरादपत्र ।
३. वादीको जग्गा साविक ७० सालको कायमी कि.नं. ७१ को सर्वे नापी हुँदा साविक सर्भे कि.नं. २१ को ०–५–१३ भित्रकै जग्गा भएको र सो ०–५–१३ म रत्नादेवीकी आमा विष्णुमाया गुरुङ्गको नाउमा तत्कालिन जग्गाधनी गोपी वल्लभ दासवाट राजिनामा गराई म छोरीलाई दाइजो दिनु भएको, मैले आफूखुसी गर्न पाउने मेरो दाइजो सम्पत्ति हो । पति हर कुमार सिंहले खरिद गरी दिनु भएको र मेरो दाइजो पेवावाट मोरङ्ग वखरी ८ अन्तरगत पर्ने मौजे शंकरपुरको ७० सालको कायमी कि.नं. ७१ को ०–५–१३ गोपीवल्लभ दाशवाट म रत्नादेवी गुरुङ्गको नाउमा २०३३।५।२।५ मा मो .वि.माल र.नं. २४९ वाट राजीनामा गराई लिएकी हुँ र सो मा मेरी आमा विष्णुमायाले नै खर्च हाली रहने वस्ने घरवनाई दिनु भएको हो, सो जग्गा विक्रि वितरण गरी कि.का.भै कि.नं. १०३३ मा ०–१–१३.१÷२ मेरो नाममा कायम रहेको र सो जग्गा आफूखुस गर्न पाउने गरी दुवै पक्ष वीच ०५१।७।१६ मा शर्त संम्झौता समेत भएकोले दावीको जग्गामा आफू जीवित हुँदा वेचविखन गर्न पाउने हक सुरक्षित राखी गरी छोरीलाई वकसपत्र शेष पछीको गरी दिएकीले वादील्ो दावी गर्न नपाउने हुँदा फिराद खारेज गरी पाउँ । यि वादी म रत्नादेवी संग सगोलमा कहिल्यै नवसेकी, लिखत प्रमाण हेर्दा पति हर कुमार सिंहको मृत्यु हुँदाको वखत ७१।७२ वर्षको उमेर भएको वादील्ो आफ्नो फिरादमा उमेर ०५१ सालमा ४३ वर्ष, ०५० सालमा ४० वर्ष देखिन्छ । यी वादी तुल्सी देवी र मेरो पति हर कुमारको उमेरमा लगभग ३०–३२ वर्ष फरक देखि त्यति फरकको उमेरको व्यक्तिसंग प्रत्यक्ष विवाह हुनु वा विवाहित पत्नी म हुँदाहुंदै मेरो स्वीकृति विना विवाह गर्नु हुन सक्ने होइन अर्थात मेरो पति र हर कुमार जीवित हुँदा यी वादी र मेरो पति वीचको सम्वन्ध मलाई थाहा जानकारीमा नगराई गुप्त राखी उजुर गर्ने हदम्याद वाँकी छैन भन्ने विश्वस्त भै सकेपछि मात्र आफू हर कुमार सिंहको पत्नी र मेरो निजी सम्पत्तिमा हकदार देखाउन यो प्रपंचपूर्णं नालेस गरेपनि हाल मात्र आफूलाई प्रकाशमा ल्याएको कानूतः निज वादी मेरो अंशको हकदार हुन वन्न नसक्ने स्पष्ट छ । विवाहित पत्नी भएको भए यो साल मिति गतेमा विवाह भएको हो, भन्न सक्नुपर्ने सो छैन । वादील्ो मेरो वाँकी रहेको सम्पत्ति समेत एकलौटी खान झुठ्ठा उजुर गरेकी हुन् । म मनिका गुरुङ्ग र म मिना सिंह एउटै वावु हर कुमार सिंह र आमा रत्ना देवीवाट जायजन्म भएका छोरीहरु हौं । आमा असक्त रोगी भएवाट र कोही हेरचाह गर्ने नभएवाट हामी दुवै छोरीले आमालाई काठमाडौंमा ल्याई सेवा गरी भारत वम्वई, मद्रास, काठमाडौं, आफ्नै खर्चवाट उपचार गराई आएकाले आमा खुसी भै विक्रि वेचविखन नगरी वाँकी रहन गएको निज आमाको निजी आर्जनको दावीको १०३३ को ०–१–१३ १÷२ हामी दुईटी छोरीलाई शेषपछिको वकसपत्र सम्म गरी दिनु भएको हो, भन्ने समेत व्यहोराको संयुक्त प्रतिउत्तर पत्र ।
४. उक्त २०५१।७।१६ को कागज देखे हेरे, सो कागजमा हामीहरु बीच सहीछाप भएको हो । सो सर्तहरु स्वीकार गर्दछौ भन्ने समेत व्यहोराको प्रतिवादी वारेस नगेन्द्र अधिकारीको वयान ।
५. उक्त २०५१।७।१६ को कागज दुवै बीच भएको हो, सो कागजको शर्त उल्लंघन गरी म समेतको अंश हक मार्ने नियतले विपक्षी रत्नाले सम्झौता कागज विपरीत शेषपछिको वकसपत्र गरी दिएकोले यो मुद्दा दिएको हो, सहीछाप मेरै हो भन्ने समेत व्यहोराको वादी वारेस कमल कुमार थापाको वयान ।
६. कानून वमोजिम पर्न नआएको प्रस्तुत फिरादवाट तथ्यमा प्रवेश गरी इन्साफ गर्न नमिल्ने हुँदा प्रस्तुत फिराद खारेज हुने ठहर्छ भन्ने समेत शुरु मोरङ्ग जिल्ला अदालतको मिति २०५४।३।३ को फैसला ।
७. लिखत अस्तित्वमा आएपछि पनि दानवकसको महलको ५ नं. को हदम्यादै शुरु नभएको भनी खारेज गरेको शुरुको फैसला त्रुटीपूर्ण हुँदा वदर उल्टी गरी पाउँ भन्ने समेत व्यहोराको वादीको पुनरावेदन ।
८. विवादित कि.नं. १०३३ को घर जग्गावाट वादीले ३ भागको १ भाग अंश पाउने ठहरी यसै लगाउको दे.पु.नं.१००० को अंश चलन मुद्दामा यस इजलासवाट आजै फैसला भएकोले सोही आधारमा ३ भागको १ भाग सम्मको दावीको लिखत वदर हुने ठहर्छ । वादी दावी खारेज गरेको मोरङ्ग जिल्ला अदालतको मिति २०५४।३।३ को फैसला मिलेको नदेखिंदा उल्टी हुने ठहर्छ भन्ने व्यहोराको पुनरावेदन अदालतवाट मिति २०५६।६।६ मा भएको फैसला ।
९. उक्त फैसलामा चित्त वुझेन । वकसपत्र लिखत वदर गराउने अवस्था भनेको दाता वाहेक अरुले दानवकसको ५ नं. वमोजिम वदर गराउन पाउने एकमात्र कानूनी उपचारको वाटो रहेकोमा सो ५ नं. मा दिन नहुने दानवकस दिएकोमा पाउनेको हक पुगी भोगचलन गरेको मितिले २ वर्ष भित्र नालिस नदिए लाग्न सक्दैन भन्ने उल्लेख भई प्रस्तुत मुद्दामा दाता जीवित रहेको हुँदा पाउनेको हकै नपुग्ने र त्यसरी हकै नपुगेको अवस्थामा कानून वमोजिमको हदम्याद शुरु नभै परेको फिरादलाई कानून अनुरुप मान्न मिल्दैन । सोही आधारमा प्रस्तुत मुद्दाको फिराद खारेज गर्ने गरेको शुरुको फैसलालाई वदर गरी इन्साफ गरेको पुनरावेदन अदालतको उक्त फैसला स.अ.वुलेटिन २०५६ पूर्णाङ्क १६४ पृष्ठ ९ मा प्रकाशित सम्वत २०५३ सालको दे.पु.नं. ३७४९ दिव्यादेवी ढुंगेल विरुद्ध सागरदेव ढुंगेल भएको मुद्दामा प्रतिपादित सिद्धान्त समेतको विपरीत हुँदा सो फैसला वदर गरी फिराद खारेज गरेको शुरु मोरङ्ग जिल्ला अदालतको फैसला कायम गरी पाउँ भन्ने समेत व्यहोराको प्रतिवादीको यस अदालतमा दायर भएको पुनरावेदन ।
१०. हाम्रो समेत हक लाग्ने विपक्षी रत्नादेवी गुरुङ्गको नाउको जग्गा घर नदेखाई हाम्रो मन्जुरी विना २०५१।७।२१ मा र.नं. ३३५१ वाट शेषपछिको वकसपत्र गरीदिएकाले उक्त वकसपत्र वदर गरी पाउँ भनी २०५१।८।१६ मा प्रस्तुत फिराद गरेको देखियो । दानवकसको ५ नं. मा दिन नहुने वकस दिएकोमा पाउनेको हक पुगी भोगचलन गरेको मितिले २ वर्ष भित्र नालिस नदिए लाग्न सक्तैन भनी व्यवस्था गरेको देखिन्छ । प्रस्तुत विवादित शेषपछिको वकसपत्र दिने रत्नादेवी गुरुङ्गको शेषपछि मात्र पाउने मनिका गुरुङ्ग र मीना सिंहको हक पुग्ने हुँदा सो हक पुगी निजहरुको भोगचलन गरेको २ वर्ष भित्र नालिस गर्नुपर्नेमा निजहरुको हकै नपुगेको अवस्थामा मिति २०५१।८।१६मा परेको नालिसवाट इन्साफको रोहमा प्रवेश गरी शुरु जिल्ला अदालतको खारेजी फैसला उल्टी गरी वादी दावी वमोजिम ३ भागको १ भाग सम्म लिखत वदर हुने गरेको पुनरावेदन अदालत विराटनगरको फैसलामा दानवकसको ५ नं. को त्रुटी भै फरक पर्ने देखिंदा छलफलको लागि अ.वं. २०२ नं. वमोजिम विपक्षीलाई झिकाई आएपछि नियम वमोजिम पेश गर्नु भन्ने यस अदालतवाट २०५९।३।३ मा भएको आदेश ।
११. नियम वमोजिम पेशी सूचीमा चढी निर्णयार्थ यस इजलास समक्ष पेश हुन आएको प्रस्तुत मुद्दामा पुनरावेदक प्रतिवादी तर्पmवाट विद्वान अधिवक्ता श्री वावुराम कुंवरले दान वकसको ५ नं. मा भएको कानूनी व्यवस्था अनुसार वकसपत्र पाउनेको हक पुगी भोगचलन गरेको २ वर्ष भित्र नालिस दिनु पर्नेमा प्रस्तुत विवादमा दाता रत्नादेवी फिराद पर्दाका अवस्थामा जीवितै रहेको हुँदा हदम्यादको प्रश्न उपस्थित भई वादीको फिराद खारेज हुनुपर्ने स्पष्ट हुँदाहुदै त्यस्तो फिरादलाई हदम्याद भित्रको भनी मान्यता दिई इन्साफ गरी वकसपत्र लिखत वदर हुने ठहर्याएको पुनरावेदन अदालतको फैसला त्रुटीपूर्ण र कानून विपरीत हुँदा वदर भई शुरुको फैसला कायम हुनुपर्छ भनी वहश गर्नुभयो । प्रत्यर्थी वादीतर्पmवाट विद्वान अधिवक्ता श्री कृष्ण सापकोटाले वकसपत्रको लिखत पारित भएपछि दाताको स्वामित्व हस्तान्तरण भई स्वभाविक रुपले पाउनेमा नै सर्ने हुँदा सो लिखत पारित भएकै मितिवाट हदम्याद गणना गरी नालिस परेको कुरालाई स्वीकार गरी सो फिराद दावी वमोजिम इन्साफ गरेको पुनरावेदन अदालत विराटनगरको फैसला कानून अनुरुप र न्यायसम्मत समेत हुँदा सदर हुनुपर्छ भनी गर्नु भएको वहस समेत सुनियो ।
१२. उपरोक्त वहश वुँदा समेतका शन्दर्भमा प्रतिवादीको पुनरावेदन जिकिर, यस अदालतवाट प्रत्यर्थी झिकाउंदा लिएका आधार वुँदा एवं शुरु, रेकर्ड र प्रमाण मिसिल समेत अध्ययन गरी हेर्दा यसमा पुनरावेदन अदालत विराटनगरवाट भएको फैसला मिले,नमिलेको र प्रतिवादीको पुनरावेदन जिकिर वमोजिम हुनुपर्ने नपर्ने सम्वन्धमा निर्णय गर्नुपर्ने हुन आयो ।
१३. निर्णयतर्पm विचार गर्दा, फिरादी तथा प्रतिवादी रत्नादेवी स्व. हर कुमार सिंहका २ पत्नी भई सगोलमै रहिरहेको अवस्थामा वादीको अंश हक मार्न जालसाजीपूर्वक रत्नादेवीले आफनो नाउको कि.नं. १०३३ को घर जग्गा निजको विवाहित छोरी मनिका गुरुङ्ग र मीना सिंहलाई २०५१।७।२१ गते र.नं. ३३५१ वाट शेषपछिको वकसपत्र पारित गरी दिएकोले सो लिखत वदर गरी पाउँ भन्ने वादी दावी र विवादित जग्गा आफूखुस गर्न पाउने सम्पत्ति हुँदा छोरीहरुलाई शेषपछिको वकसपत्र गरीदिएको र आमा अशक्त रोगी भई छोरीहरुले नै हेरचाह, स्याहारसंभार र औषधि उपचार समेत गराइरहेकोले रिझ वापत आमाको नाउंको सम्पत्ति वकसपत्र पाएकोले वदर हुनु नपर्ने भन्ने समेतको प्रतिउत्तर जिकिर भएकोमा दाताको शेषपछि मात्र लिखत क्रियाशील हुने भएकोले पाउनेको हक भएका मितिले २ वर्ष भित्र नालिस गर्नु पर्नेमा सो लिखत क्रियाशील नहुदै पर्न आएको नालिसवाट तथ्यमा प्रवेश गरी इन्साफ गर्न नमिल्ने हुँदा खारेज हुने ठहर्छ भनी शुरु जिल्ला अदालतवाट फैसला भई त्यस उपर वादीको पुनरावेदन पर्दा विवादित कि.नं. १०३३ को घर जग्गावाट वादी दावी वमोजिम ३ भागको १ भाग अंश पाउने ठहरी लगाउको अंश चलन मुद्दामा फैसला भएकोले सोही आधारमा विवादित लिखत ३ भागको १ भाग वदर हुने ठहरी पुनरावेदन अदालतवाट फैसला भइरहेको देखिन्छ । सो उपर प्रतिवादीको यस अदालतमा पुनरावेदन पर्न आई विवादित शेषपछिको वकसपत्रको लिखत क्रियाशील भएपछि मात्र हदम्याद शुरु भई सो हदम्याद भित्र नालिस दिनु पर्नेमा हदम्याद शुरु हुनु अगावै पर्न आएको नालिसवाट इन्साफ गर्न नमिल्ने भन्ने जिकिर लिएकोमा विवादित २०५१।७।२१ को शेषपछिको वकसपत्र दिने रत्नादेवी गुरुङ्गको शेषपछि मात्र पाउने मनिका गुरुङ्ग र मीना सिंहको हक पुग्ने हुँदा सो हक पुगी निजहरुले भोगचलन गरेको २ वर्ष भित्र नालिश गर्नुपर्नेमा निजहरुको हकै नपुगेको अवस्थामा २०५१।८।१६ मा परेको नालिसवाट इन्साफको रोहमा प्रवेश गरी इन्साफ गरेको पुनरावेदन अदालतको फैसलामा मुलुकी ऐन दान वकसको ५नं.को त्रुटी रहेको भन्ने आधारमा यस अदालतवाट प्रत्यर्थी झिकाउने आदेश भएको पाइयो ।
१४. सम्पत्ति कानूनमा वकसपत्र स्वामित्व हस्तान्तरण र सम्पत्ति आर्जनको एक महत्वपूर्ण माध्यम हो । हालैदेखि वा शेषपछिको गरी वकसपत्रका २ रुप भए पनि तिनीहरुको उद्देश्य भनेको दातामा रहेको स्वामित्व प्राप्तकर्तामा हस्तान्तरण हुनु हो । शेषपछिको वकसपत्रमा दातालाई केही कारणले चित्त नवुझेमा वदर गर्ने हक रहे पनि उसले सो लिखत वदर नगरेसम्म त्यसको कानूनी मान्यता रहिरहन्छ । त्यस्तो वकसपत्र भएको अवस्थामा दाताको स्वामित्व प्राप्तकर्तामा हस्तान्तरण हुन्छ, यो स्वामित्व सम्वन्धी विधिशास्त्रीय सिद्धान्त पनि हो । तसर्थ दाताले स्वामित्व हस्तान्तरण गरीसकेपछि कहिले देखि प्राप्तकर्ताले सो सम्पत्तिको भोगचलन ग¥यो भन्ने कुरा गौण विषय हुन जान्छ । प्राथमिक विषय भनेको स्वामित्व परिवर्तन नै हो । प्रस्तुत विवादमा प्रतिवादी रत्नादेवी गुरुङ्गले छोरीहरुलाई शेषपछिको वकसपत्र गरी आफ्नो नाउँको जग्गाको स्वामित्व हस्तान्तरण गरेको अवस्था हुँदा लिखत पारित भएका मितिले २ वर्ष नालिस परेकोलाई ठाडै कानून विपरीत भन्न मिल्ने देखिदैन । तसर्थ वकसपत्र पारित भएका मितिले २ वर्ष भित्र दायर भएको नालिशलाई हदम्याद भित्र मानी इन्साफ गरेको पुनरावेदन अदालतको फैसलालाई कानून विपरीत र त्रुटीपूर्ण भन्न मिल्ने देखिन आएन । अव सो मुद्दामा इन्साफ गरेतर्पm विचार गर्दा, विवादित लिखत वादी र प्रतिवादी रत्नादेवी गुरुङ्ग सगोलमा रहेकै अवस्थामा वादीको मन्जुरी वेगर प्रतिवादी रत्नादेवी गुरुङ्गले आफ्नो छोरी मनिका गुरुङ्ग र मीना सिंहलाई शेषपछिको वकसपत्र गरिदिएको देखिन्छ । सो वकसपत्रमा उल्लिखित विवादित कि.नं. १०३३ को सम्पत्ति समेत सगोलकै ठहरी वादी दावी वमोजम ३ भागको १ भाग वण्डा लाग्ने गरी यसै लगाउको दे.पु.नं. ६६५६ को अंश चलन मुद्दामा आज यसै इजलासवाट फैसला भएको अवस्था छ । सो फैसला समेतवाट सगोलमा रहेको sकि.नं. १०३३ को सम्पत्तिलाई अंशियार वादीको मन्जुरी वेगर प्रतिवादी रत्नादेवी गुरुङ्गले आफ्नो विवाहित छोरीलाई गरिदिएको शेषपछि वकसपत्रको लिखतको कानूनी मान्यता नपाउने हुँदा सो लिखत ३ भागको १ भाग वदर हुने नै देखियो । तसर्थ फिराद खारेज गर्ने गरेको शुरु मोरङ्ग जिल्ला अदालतको फैसलालाई उल्टी गरी वादी दावी वमोजिम ३ भागको १ भाग लिखत वदर हुने ठहर्याएको पुनरावेदन अदालत विराटनगरको २०५६।६।६ को इन्साफ मिलेकै देखिंदा मनासिव ठहर्छ। प्रतिवादीको पुनरावेदन जिकिर पुग्न सक्तैन । मिसिल नियमानुसार गरी वुझाई दिनु ।
उक्त रायमा म सहमत छु ।
न्या.अर्जुनप्रसाद सिंह
इति सम्वत २०६१ साल श्रावण २० गते रोज ४ शुभम.................