निर्णय नं. ७३६९ - उत्प्रेषण परमादेश ।

निर्णय नं. ७३६९ ने.का.प. २०६१ अङ्क ४
संयुक्त इजलास
माननीय न्यायाधीश श्री मीनवहादुर रायमाझी
माननीय न्यायाधीश श्री बलराम के.सी.
सम्बत् २०५९ सालको रिट नं.३५३३
आदेश मितिः २०६१।४।२२।६
विषय : उत्प्रेषण परमादेश ।
निवेदकः का.म.न.पा.वडा नं.१३ बस्ने रामजी दमाई
बिरुद्ध
विपक्षीः भूमिसुधार कार्यालय काठमाडौं समेत
§ निवेदक रामजी दमाईको दावीको जग्गाको मोही हक समाप्त भएको अबस्था नदेखिएको र निजले पूर्ण कुमारीलाई २०२२।१२।११ मा गरिदिएको लिखतमा घर सम्म भन्ने उल्लेख भएको सो लिखत व्यहोराबाटै देखिएकोमा सो लाई अन्यथा भन्न सकिने अबस्था देखिएन । साथै पूर्ण कुमारीबाट होमनाथ समेतले २०३१।१२।११ मा राजिनामा गरी लिंदा सोही रामजी दमाईसँग उक्त २०२२।१२।११ को लिखत बमोजिम प्राप्त घर राजिनामा गरी लिएको भन्ने सोही २०३१।१२।११ को लिखत व्यहोराले नै पुष्टि गरिहेको अबस्थामा रामजी दमाईले उक्त लिखतमा उल्लेखित घर बाहेक जग्गा समेत बिक्री गरेको भनी सम्झन मिल्ने अबस्था नदेखिने ।
§ भूमि सम्बन्धी ऐनको दफा ३१क मा कुनै जग्गाका सम्बन्धमा यो परिच्छेद बमोजिमको मोहियानी हकको प्राप्ति वा मोहियानीहकको तेरो मेरो सम्बन्धी पर्न आएको झगडाको निर्णय तोकिएको अधिकारीले गर्ने छ भन्ने भएको व्यवस्था बमोजिम मोहीको विवाद सम्म भूमिसुधार अधिकारीले हेर्न पाउनेमा मोहीको तेरोमेरो विवादको निरुपण नगरी अधिकारै नभएको जग्गामा हक बेहक गरी गरेको फैसला कानून अनुकूल नहुँदा बदर हुने ।
(प्र.नं. १२ र १३)
निवेदक तर्फवाटःविद्वान अधिवक्ता श्री वालकृष्ण चौलागाई
विपक्षी तर्फवाटः विद्वान का.मु.नायव महान्यायाधिवक्ता श्री पुष्पराज कोइराला र विद्वान अधिवक्ता श्री टिप्पणी प्रसाद निरौला
अवलम्वित नजिरः
आदेश
न्या.मीनवहादुर रायमाझीः नेपाल अधिराज्यको संविधान, २०४७ को धारा २३,८८(२) बमोजिम यस अदालतमा परेको निवेदनको संक्षिप्त व्यहेरा र आदेश यसप्रकार छ :–
२. का.जि. चपली भद्रकाली गा.वि.स.वडा नं. ९(ग) कि.नं. ८ को ०–१५–० जग्गाको जग्गाधनी रम्भा देवी गोरखाली र मोही म निवेदक भएकोमा उक्त जग्गा छुट्टाई पाउँ भनी जग्गाधनीको निवेदन परेको र सडकपट्टी दुवै पक्षको मोहडा बराबर हुने गरी पश्चिमपट्टीबाट मेरो भाग लिई जग्गा छाड्न मन्जुर भएको भनि मैले प्रतिउत्तर दिएकोमा विपक्ष होमनाथ र भोलानाथ रेग्मी भन्ने टुल्कप्रसाद रेग्मीले सोही जग्गाको २०३२।१२।१६ मा पूर्ण कुमारीबाट फार्छे राजिनामा लिएको आधारमा मोही लगत कट्टा गरी हामीहरुका नाममा मोही कायम गरी पाउँ भनी निवेदन परेको र मैले पूर्ण कुमारीलाई २०२२।१२।११ मा घर मात्र बिक्री गरेको छु । मोही जग्गा बिक्री हुन सक्ने कानूनी व्यवस्था नहुँदा बिक्री गरेको होइन भन्ने समेत प्रतिउत्तर दिएको छु पूर्ण कुमारीलाई घर बिक्री गरेपछि सो घर देखि उत्तरतर्फ २ वटा नयाँ पक्की घर बनाई विपक्षीहरुलाई वहालमा बस्न दिएको छु । साविक जग्गाधनी शेरवहादुरको शेषपछि निजको छोरीले म उपर मोही निष्काशन गरी पाउँ भन्ने मुद्दा दिए पनि मोही निष्काशन नभै मेरो मोही हक यथावत कायम रहेको छ ।
३. विपक्षी भूमिसुधार कार्यालयले विपक्षीहरुको २०३२।१२।१६ को पूर्ण कुमारीबाट लिएको फार्छे राजिनामाको आधारमा मेरो मोही हक कट्टा गरी पाउँ भनी परेको निवेदनमा विवादको घर रामजी दमाईले २०२२।१२।११ मा पूर्ण कुमारीलाई हक हस्तान्तरण गरिसकेपछि जग्गाको मोही हकको स्थायी प्रमाण पत्र पाउँ भनी यस कार्यालयलाई गुमराहमा पारी २०४३।२।२१ मा प्राप्त गरेको मोहियानी हकको प्रमाण पत्रको कुनै अस्तित्व नरहेबाट झुठ्ठा व्यहोरा लेखेबाट मलाई भूमि सम्बन्धी ऐन, २०२१ को दफा ५८ बमोजिम रु.१०१।– जरिवाना हुने र विवादको जग्गा विपक्ष होमनाथ लुइटेल र टुल्कप्रसाद भन्ने भोला रेग्मीको नाममा संयुक्त हक कायम हुने र उक्त कि.नं.८ को ०–१५–० जग्गालाई कित्ताकांट गरी दामासाहीले व्यहोर्ने गरी पूर्व पश्चिम चिरा पारी उत्तर घर भएकोतर्फ आधा घर जग्गा होमनाथ लुइटेल र टुल्कप्रसादका नाममा संयुक्त आधा भाग र बाँकी दक्षिणतर्फको जग्गाधनी रम्भा देवी गोर्खालीका नाममा कायम रहने गरी २०५९।१।४ मा निर्णय भएबाट यो निवेदन गर्न आएको छु ।
४. दावीको जग्गाको मोही हक मेरो कायमै रहेको र पूर्ण कुमारीलाई मैले घरसम्म बिक्री गरेको कुरा लिखतले नै बोली रहेको अबस्थामा मोहीलाई घर भएको जग्गा बाहेक बिक्री गर्न सक्ने अधिकार नै कानूनले नदिएको अबस्थामा सो को मूल्याङ्कन नगरी मेरो नामको मोहियानी हक समाप्त गरी विपक्ष रम्भादेवीलाई जग्गाधनी र होमनाथ र टुल्कप्रसादलाई मोही कायम गरी जग्गा समेत बाँडफाँड हुने गरी भएको भूमिसुधार कार्यालयको निर्णयबाट निवेदकको सम्पत्ति सम्बन्धी संवैधानिक हकमा आघात परेकोले उक्त मिति २०५९।१।४ को निर्णय र सो आधारमा भए गरेका काम कारवाही उत्प्रेषणको आदेशद्वारा बदर गरी मेरो मोहियानी हकको जग्गा मेरा नाममा दा.खा.गरी दिनु भनि परमादेशको आदेश समेत जारी गरी पाउँ भन्ने निवेदन ।
५. यसमा निवेदकको माग बमोजिमको आदेश किन जारी हुन नपर्ने हो ? बाटाका म्याद बाहेक १५ दिन भित्र लिखित जवाफ पेश गर्नु भनी विपक्षीका नाउँमा १५ दिने सूचना म्याद जारी गरी पठाउनु भन्ने समेत यस अदालतको आदेश ।
६. कि.नं.८ को जग्गा मोहीको हैसियतले बाँडफाँड गरी पाउँ भनि रामजी दमाईको परेको निवेदनमा विवादको जग्गा पूर्ण कुमारबिाट हामीले प्राप्त गरेकोले हाम्रा नाममा दा.खा. गरी मोही भाग छुट्टाई पाउँ भनी होमनाथ र टुल्कप्रसादको छुट्टै निवेदन परेकोमा साविक मोही रामजी दमाईले पूर्ण कुमारीलाई दावीको घर, वारी, जग्गा २०२२।१२।११ बिक्री गरेको र सोही जग्गा होमनाथ समेतले खरिद गरेको देखिएबाट जग्गाधनी हालको मोही होमनाथ समेतको नाममा वण्डा भएकोले न्यायसंगत निर्णय बदर हुनुपर्ने अबस्था नहुँदा रिट खारेज गरी पाउँ भन्ने समेत व्यहोराको भूमिसुधार कार्यालय काठमाडौंको लिखित जवाफ ।
७. दावीको जग्गा निवेदकले पूर्ण कुमारीलाई २०२२।१२।११ मा फार्छे राजिनामा गरिदिएको र २०३१।१२।११ मा फार्छे राजिनामाबाट पूर्ण कुमारीले हामीलाई हक छाडी दिएपछि हामीले तत्कालिन पञ्चायतको सिफारिश बमोजिम घर मर्मत गरी बसी आएका छौं । एक पटक आपूmले विधिवत रुपमा बिक्री गरेको कुरा पछि होइन भनी विपक्षीले भन्न प्रमाण ऐन, २०३१ को दफा ३४बमोजिम विवन्धित हुने भएको र हामीले मोही हक खरिद गरिसकेपछि जग्गाधनीलाई वाली बुझाएको, हाम्रो हक भोग बसोबास भएको भन्ने कुरा सर्जमिनले पुष्ठी गरेको समेतका आधारबाट भूमिसुधार कार्यालयले हाम्रो मोही हक कायम गरी जग्गा बाँडफाँड गर्ने गरेको निर्णय कानूनसंगत हुँदा रिट खारेज गरी पाउँ भन्ने समेत व्यहोराको होमनाथ लुइटेल र टुल्कप्रसाद भन्ने भोला रेग्मीको संयुक्त लिखित जवाफ ।
८. मालपोत कार्यालय चावहिल र महाँकाल गा.वि.सेले म्याद गुजारी बसेको ।
९. नियम बमोजिम दैनिक मुद्दा पेशी सूचीमा चढी पेश हुन आएको प्रस्तुत निवेदनमा निवेदकतर्फका विद्वान अधिवक्ता श्री बालकृष्ण चौलागाईले निवेदक दावीको जग्गाको मोही भएकोमा विवाद नभएको र निजको मोही हक समाप्त भएको कुरा मिसिल संलग्न कुनै प्रमाणबाट पुष्टि नभएको र विवादको मिति २०२२।१२।११ को लिखतमा घरसम्म बिक्री गरेको भन्ने उल्लेख भएबाट विपक्षीहरुका नाममा मोही हक कायम गरी मोही र जग्गाधनी बीच जग्गा बाँडफाँड गर्ने गरेको भूमिसुधार कार्यालयको निर्णय बदर हुनुपर्दछ भन्ने र विपक्षी होमनाथ तथा टुल्कप्रसाद रेग्मीको तर्फबाट उपस्थित विद्वान अधिवक्ता श्री टिप्पणीप्रसाद निरौलाले निवेदकले मोही हक बिक्री गरेको व्यक्तिसँग हामीले खरिद गरी उक्त जग्गा मोहीको हैसियतले कमाई जग्गाधनीलाई बाली बुझाई जग्गाधनी समेतको सहमतिमा जग्गा बाँडफाँडको निवेदन दिई जग्गा बाँडफाँड भएको हुँदा रिट खारेज हुनुपर्दछ भन्ने र विपक्षी भूमिसुधार कार्यालय काठमाडौंको तर्फबाट विद्वान का.मु.नायव महान्यायाधिवक्ता श्री पुष्पराज कोइरालाले निवेदकको मोही हक समाप्त भै विपक्ष मध्येका होमनाथ तथा टुल्कप्रसादको नाममा मोहियानी हक कायम भएकोमा जग्गाधनी समेतले अन्यथा भन्न नसकेको र दुवैको सहमति बमोजिम जग्गा बाँडफाँड भएको हुँदा रिट खारेज हुनुपर्दछ भनी गर्नु भएको बहस समेत सुनी मिसिल अध्ययन गरी हेर्दा निवेदन माग बमोजिमको आदेश जारी हुनुपर्ने हो होइन, सोही सम्बन्धमा नै निर्णय दिनुपर्ने देखियो ।
१०. निर्णयतर्फ विचार गर्दा, मेरा नाममा जोत कायम भएको का.जि.चपली भद्रकाली गा.वि.स.वडा नं.९(ग) कि.नं.८ को ०–१५–० जग्गामा रहेको घर मात्र २०२२।१२।११ मा मैले पूर्ण कुमारीलाई फार्छे गरिदिएको र निजबाट होमनाथ र टुल्कप्रसाद समेतले खरिद गरी लिएकोमा उक्त मैले गरिदिएको २०२२।१२।११ को लिखतमा घरसम्म उल्लेख भएको व्यहोरालाई जग्गा समेत भन्ने पारी सोही आधारमा मेरो मोही हक टुटाई होमनाथ समेतका नाममा मोहियानी हक कायम गराई जग्गाधनी र निजहरु समेतको मिलेमतोमा जग्गा बाँडफाँडको निर्णय समेत गराएकोले भूमिसुधार कार्यालय काठमाडौंको उक्त जग्गा बाँडफाँडको निर्णय बदर गरी पाउँ भन्ने समेत मुख्य निवेदन व्यहोरा देखियो।
११. नापीको समयमा कि.नं.८ को ०–१५–० जग्गाको जग्गाधनी रम्भा देवी गोर्खाली र मोहीमा निवेदक रामजी दमाई जनिएकोमा मोही निवेदक रामजी दमाईले २०२२।१२।११ मा पूर्ण कुमारी उपाध्यायलाई पूर्व काले दमाईको जग्गा पश्चिम रामको जग्गा उत्तर सडक दक्षिण बलरामको जग्गा यति ४ किल्ला भित्रको आठ आना जग्गामा बनेको का.इ.मण्डीखाटारको २ नाले २ तले लम्वाई हात १६ चौडाई हात ११ को कच्ची टायल छाना भएको घर मात्र फार्छे गरिदिएको देखिन्छ । सोही फार्छे बमोजिम प्राप्त घर पूर्ण कुमारीबाट यी विपक्षी होमनाथ र टुल्कप्रसाद रेग्मीले २०३१।१२।११ गते फार्छे राजिनामा गरी लिंदा लिखतको हक भोग भएको व्यहोराको महलमा मैले काठमाडौं माल मार्फत रामजी दमाईसँग फार्छे गरिदिएको घर भन्ने व्यहोरा उल्लेख भएको पाइन्छ ।
१२. निवेदक रामजी दमाईको दावीको जग्गाको मोही हक समाप्त भएको अबस्था नदेखिएको र निजले पूर्ण कुमारीलाई २०२२।१२।११ मा गरिदिएको लिखतमा घर सम्म भन्ने उल्लेख भएको सो लिखत व्यहोराबाटै देखिएकोमा सो लाई अन्यथा भन्न सकिने अबस्था देखिएन । साथै पूर्ण कुमारीबाट होमनाथ समेतले २०३१।१२।११ मा राजिनामा गरी लिंदा सोही रामजी दमाईसँग उक्त २०२२।१२।११ को लिखत बमोजिम प्राप्त घर राजिनामा गरी लिएको भन्ने सोही २०३१।१२।११ को लिखत व्यहोराले नै पुष्टि गरिहेको अबस्थामा रामजी दमाईले उक्त लिखतमा उल्लेखित घर बाहेक जग्गा समेत बिक्री गरेको भनी सम्झन मिल्ने अबस्था देखिएन ।
१३. रामजी दमाईको मोही हक कायमै राखी जग्गा बाँडफाँडमा जग्गाधनीको निवेदन परेपछि निवेदकले आफ्नो प्रतिउत्तर समेत दिई विचाराधिन रहेको अबस्थामा सोही जग्गाको मोही हक दावी गर्ने विपक्षी होमनाथ र टुल्कप्रसाद समेतको जग्गा बाँडफाँडमा निवेदन परेपछि मोही हकमा नै तेरो मेरोको प्रश्न उठेको यस अबस्थामा दुवै पक्षको प्रमाण बुझी मोहीको विवादको निरुपण गर्नुपर्नेमा सो नगरी जग्गामा रामजी दमाइको हक दावी पुग्न सक्ने देखिदैन भनी जग्गामा नै हकबेहक निर्णय गरेको देखियो । भूमि सम्बन्धी ऐनको दफा ३१क मा कुनै जग्गाका सम्बन्धमा यो परिच्छेद बमोजिमको मोहियानी हकको प्राप्ति वा मोहियानीहकको तेरो मेरो सम्बन्धी पर्न आएको झगडाको निर्णय तोकिएको अधिकारीले गर्ने छ भन्ने भएको व्यवस्था बमोजिम मोहीको विवाद सम्म भूमिसुधार अधिकारीले हेर्न पाउनेमा मोहीको तेरोमेरो विवादको निरुपण नगरी अधिकारै नभएको जग्गामा हक बेहक गरी गरेको फैसला कानून अनुकूल नहुँदा बदर हुन्छ ।
१४. अब कानून बमोजिम जे जो प्रमाण बुझ्नु पर्ने हो बुझी मोही विवादको टुङ्गो लगाई मोहीको जग्गा बाँडफाँडको निर्णय गर्नु भनी विपक्षी मध्येका भूमिसुधार कार्यालय काठमाडौंका नाममा परमादेशको आदेश समेत जारी हुने ठहर्छ । आदेशको जानकारी महान्यायाधिवक्ताको कार्यालय मार्फत विपक्षी भूमिसुधार कार्यालयलाई दिई मिसिल नियमानुसार बुझाई दिनु ।
उक्त रायमा सहमत छु ।
न्या.वलराम के.सी.
इति सम्बत् २०६१ साल श्रावण २२ गते रोज ६ शुभम्––––––