शब्दबाट फैसला खोज्‍नुहोस्

निर्णय नं. ७३९९ - कर्तव्य ज्यान

भाग: ४६ साल: २०६१ महिना: असोज अंक:

निर्णय नं. ७३९९            ने.का.प.२०६१      अङ्क ६

 

संयुक्त इजलास

माननीय न्यायाधीश श्री मीनवहादुर रायमाझी

माननीय न्यायाधीश श्री खिलराज रेग्मी

सम्वत २०५८ सालको फौ.पु.नं. ..३०९१

सम्वत २०५९ सालको साधक नं. .. ३२४

फैसला मितिः२०५९।१०।२३।५

 

मुद्दाः कर्तव्य ज्यान ।

 

पुनरावेदक

प्रतिवादीः जिल्ला पाल्पा छहरा गा.वि.स. वा.नं. १ घर भै हाल कारागार शाखा पाल्पामा थुनामा रहेकी शान्ति वि.क.

विरुद्ध

प्रत्यर्थी

वादी छविलाल वि.क.को जाहेरीले श्री ५ को सरकार

 

वादीः छविलाल वि.क.को जाहेरीले श्री ५ को सरकार

विरुद्ध

प्रतिवादीः जिल्ला पाल्पा छहरा गा.वि.स. वा.नं. १ घर भै हाल कारागार शाखा पाल्पामा थुनामा वसेकी शान्ति वि.क.

 

§  दण्डको निर्धारणमा दण्डको प्रकृति र दण्डको हद दुवैको निर्धारण हुनुपर्ने हुन्छ । कुनै पनि देशले आफ्नो फौजदारी न्याय प्रशासनको खाका तयार गर्दा दण्डको उद्देश्य प्रति स्पष्ट हुनुको साथै दण्ड निर्धारण नीति स्पष्ट हुनु अत्यावश्यक पर्दछ । सजाय तोक्ने मापक निश्चित हुनु न्यायिक दृष्टिले वाच्छनीय मात्र नभएर संवैधानिक आवश्यकता पनि हो । समान स्थितिका अपराधीलाई समान अपराधको लागि वेग्लावेग्लै किसिमले फरक सजाय तोक्नु संवैधानिक नहुने ।

§  राष्ट्रको दण्ड नीतिको अभावमा न्यायपालिकाले नै विद्यमान दण्ड तोक्ने उपलव्ध विकल्पहरु र सजायको हदको चयन गर्दा समान अवस्थाका अपराधीहरुलाई समान प्रकृतिको दण्ड र समकक्षको हद तोक्ने दिशामा समान न्यायिक समझदारी वनाउनु पर्ने आवश्यकता देखिन आएको छ । तजवीजको प्रयोगलाई मार्गदर्शनद्वारा व्यवस्थित गर्नुपर्ने ।

§  अ.वं. १८८ नं. मा प्रयोग भएको भवितव्य हो कि भन्न हुने सम्मको शंका भएको अवस्थाको वारदात र अपराध गरेको अवस्थालाई विचार गरेर सजाय घटाउन सकिने व्यवस्था गरिएको देखिन आउछ । भवितव्यको शंका वस्तुनिष्ठ भन्दा आत्मनिष्ठ प्रकृतिको विषय हुँदा त्यसको प्रयोगमा आधार र कारण सामान्यतः खुल्न सक्ने स्थिति नहुँदा यो कम विचारणीय पक्ष देखिन्छ । अपराध गरेको अवस्था नै एउटा यस्तो पक्ष देखिन्छ जसभित्र अपराधको गाम्भीर्यता निर्धारण, सजायको मात्रा तथा मापदण्ड निश्चित गर्ने एउटा आधारको रुपमा लिई त्यसको स्वरुपलाई निश्चितता प्रदान गर्न सकिने।

(प्र.नं. २३ देखि २५)

§  शुरु र पुनरावेदन अदालतले अ.वं. १८८ नं. को प्रयोग गरी सजाय कम गर्नुपर्ने राय व्यक्त गरेकोमा एकातर्फ प्रतिवादीले अपराध स्वीकार गरी न्यायिक प्रक्रियामा सहयोग पुर्याएको अवस्था देखिन्छ भने अर्कोतर्फ इवी अदावत सहितको सुनियोजित हत्याको प्रस्तुत वारदात भन्ने देखिदैन । परपुरुषसंगको यौन सम्वन्धवाट गर्भ रहन गएकोमा निजले लैजान नमान्दा चिन्ताग्रस्त अवस्था रहेको, लोग्नेको घरका र माइतकाले हेला गरी सहारा नपाएको अवस्था, ग्रामिण समाजकी कच्चा उमेरकी स्वास्नीमानिसले परपुरुषको भनाइ र वहकावमा लागि सामाजिक लान्छनावाट वच्न जन्मेको वालकको हत्या गरेको स्थिति र अवस्था देखिन्छ । त्यसैले यस्तो स्थितिमा भएको वारदातको प्रकृति र स्वरुपलाई विचार गर्दा सजाय घटाउन सिफारिश भै आएको रायलाई वेमनासिव भन्न नमिल्ने ।

(प्र.नं.२७)

पुनरावेदक प्रतिवादी तर्फवाटः विद्वान अधिवक्ता श्री लिलामणि पौडेल

प्रत्यर्थी वादी तर्फवाटः

अवलम्वित नजिरः

 

फैसला

            न्या.खिलराज रेग्मीः न्याय प्रशासन ऐन, २०४८ को दफा ९(१) अन्तर्गत प्रतिवादीको तर्फवाट परेको पुनरावेदनको रोहमा तथा सोही ऐनको दफा १०(२) अन्तर्गत साधकको रोहमा दर्ता हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य एवं ठहर यसप्रकार छ :-

            २.    मेरो जेठो छोराकी श्रीमती शान्ति वि.क. ले मिति २०५६।७।१३ गते साँझको समयमा छोरा जातकको वच्चालाई पाल्पा छहरा वडा नं. ५ मा पर्ने रहेगैरा भन्ने स्थानमा लगी पुरेकी रहिछन् उक्त कुरा थाहा लाग्न आएपछि घटनास्थल सुरक्षित राखी जाहेर गर्न आएको छु निजलाई पक्राउ गरी कानून वमोजिम गरि पाउँ भन्ने समेत व्यहोराको छविलाल वि.क. को जाहेरी ।

            ३.    पाल्पा छहरा गा.वि.स. वडा नं. ५ स्थित पूर्व र उत्तरतर्फ रहेगैरा भन्ने खोल्सो, पश्चिममा वुट्यान, दक्षिण डाँडा कटेरीतर्फ जाने कच्ची मोटर सडक यति चार किल्ला भित्र रहेको वच्चा मरि पुरेको घटनास्थल, सो पुरेको शिशु वच्चाको लास खाल्टोवाट वाहिर निकाली हेर्दा टाउकोमा रौं आएको, मुखवाट रगत निस्की वायाँ औलासम्म लागेको, रुद्रघण्टी भन्दा केही तलनिर निलडाम देखिएको भन्ने समेत व्यहोराको लाश प्रकृति मुचुल्का ।

            ४.    श्वासप्रश्वास अवरुद्ध भै मस्तिष्कमा असर परी मृत्यु भएको भन्ने समेत व्यहोराको लाश जाँच प्रतिवेदन ।

            ५.    आज भन्दा ४।५ दिन अगाडि नर्मल डेलिभरी भएको वच्चा जन्माएको देखिन्छ भन्ने समेत व्यहोराको शान्ति वि.क. को शारीरिक परीक्षण प्रतिवेदन ।

            ६.    २०५५ वडा दशैमा मेरो श्रीमान भारतवाट घर आई फर्की गएपछि गाउँकै नारायण वहादुर वि.क. संग माया प्रेम वस्न गै २०५५ माघ ५ गते निज र मेरो यौन सम्पर्क भई महिनावारी रोकिएको कुरा नारायण वहादुरलाई भन्दा मैले तिमीलाई लैजान्न, वच्चा जन्मिएपछि मारी फाली दिनु भनी मसंग भनेका थिए । २०५६।७।१३ मा प्रसुतिको व्यथा लागी घरदेखि ५० मिटर टाढा वारीमा गएपछि वच्चा जीउदै जन्मियो, छोरा जातकको वच्चालाई मैले हातको मुक्काले ४।५ पटक हिर्काए, त्यसपछि मर्यो होला भनी कपडाले गलाम गुलुम पारी काखमा च्यापी रहेगैरा भन्ने स्थानमा लगि पहिल्यै खनिएको खाल्टोमा पुरेकी हुँ भन्ने समेत व्यहोराको प्र.शान्ति वि.क. को प्रहरीमा भएको वयान ।

            ७.    पाल्पा छहरा वडा नं. १ स्थित पूर्व झकवहादुर सुनारको वाँसको झ्याङ, पश्चिम वाँसकै झ्याङ, उत्तर वाटो, दक्षिण झकवहादुर सुनारको वारी यति चार किल्ला भित्र प्र.शान्ति वि.क. ले वच्चा जन्माई मारी फालेको भनी देखाएको घटनास्थल प्रकृति मुचुल्का ।

            ८.    प्र.शान्ति वि.क. ले २०५६।७।१३ गते छोरा जातक जीवित वच्चा जन्माई मारी रहेगैरा भन्ने स्थानमा लगी पुरेकी हुन् भन्ने थाहा पाई घटनास्थलमा जाँदा मास पुगेको छोरा जातको शिशु  वच्चा मृत अवस्थामा देखेका हौ । प्र.शान्ति वि.क. ले जन्माई मारी फालेकोमा पूर्ण विश्वास छ भन्ने समेत व्यहोराको अर्जुन वि.क. समेतका व्यक्तिहरुले गरि दिएको वस्तुस्थिति मुचुल्का ।

            ९.    प्र.शान्ति वि.क. तथा नारायण वहादुर वि.क. ले मु.ऐन ज्यान सम्वन्धी महलको १ नं. विपरीतको कसूर गरेको देखिन आएकोले आफूले  जन्माएको नवजात वच्चालाई मारी खाडलमा पुरी ज्यान लिने निज शान्ति वि.क. लाई मु. ऐन ज्यान सम्वन्धी महलको १३(३) नं. वमोजिमको कारवाही तथा सजाय हुन र परस्त्रीसंग शारीरिक सम्पर्क राखी गर्भ वोकाई निजलाई स्वीकार गर्नुको सटृा जन्मेको वखत मारी दिनु भनी ज्यान मार्न वचन दिने अर्को प्र. नारायण वहादुर वि.क. लाई सम्मानित अदालतवाट कानून वमोजिम झिकाई सोही ऐन १३(४) नं. वमोजिम कारवाही र सजाय हुन मागदावी लिइएको अभियोग पत्र ।

            १०.    श्रीमान भारत नोकरीतर्फ जानु भएपछि गाउँकै नारायण वि.क. संग प्रेम भै २०५५ माघमा करणी लिनुदिनु भई गर्भ रहेछ, २०५६।७।११ मा वच्चा जन्म भयो । मैले नारायणलाई गर्भ रहेको कुरा भन्दा जन्मे मारी फाल्दे भनेको कारण जीउँदै जन्मेको वच्चालाई ३।४ पटक मुड्किले मुखमा हानी मर्यो होला भनी रहेगैरामा भएको पहिल्यैको खाल्टोमा राखी पुरी दिएकी हुँ । मेरो लोग्नेको गर्भ नभएकोले मारेकी हुँ भन्ने समेत व्यहोराको प्र.शान्ति वि.क. को अदालतमा वयान ।

            ११.    आदेशानुसार जाहेरवाला छविलाल वि.क., तुलवहादुर वराल र रणवहादुर सुनारको वकपत्र भई मिसिल सामेल रहेको ।

            १२.   प्रतिवादी नारायण वि.क. फरार रहेकोले निजको हकमा मुलतवी राखी दिने, प्र. शान्ति वि.क. आरोपित कसूरमा प्रहरी र अदालतमा सावित रहेको र सो साविति किटानी जाहेरी, जाहेरवालाको अदालतमा वकपत्र समेतवाट पुष्टि भएकोले निजलाई अभियोग माग दावी अनुसार ज्यान सम्वन्धी महलको १३(३) नं. अनुसार सजाय हुने ठहर्छ । साथै यि प्रतिवादी २५ वर्षको जवान भएकी र निजको लोग्ने विदेश भएको कारण निज अन्य पुरुषसंग शारीरिक सम्वन्धमा फस्न पुगेकी र आफू समाजमा जीउन वाध्यतावस जातकलाई मारेको देखिन आएकोले निजलाई ज्यान सम्वन्धी महलको १३(३) नं. अनुसार सजाय गर्दा चर्को पर्ने चित्तमा लागेकोले निजलाई अ.वं. १८८ नं. अनुसार ५ वर्ष मात्र कैदको सजाय गर्नु न्यायसंगत हुने देखि यस मुद्दामा प्रतिवादीलाई ५ वर्ष मात्र सजाय हुन राय समेत पेश गर्ने ठहर्छ भन्ने समेत शुरु पाल्पा जिल्ला अदालतको फैसला ।

            १३.   लोग्नेले छाडी गएपछि प्र.नारायण वहादुरसंग यौन सम्पर्क भई गर्भ रहेको र निजलाई स्याहार्न भन्दा मन्जुर नगरेकोले मलाई पीर चिन्ता परी अस्वस्थ्य भै विरामी परी मिति २०५६।७।१ मा मृत वच्चा जन्मिई सो मृत वच्चालाई खनिराखेको खाल्टोमा पुरेकी र प्रसुतिको वेथा समेतले शरीर कमजोर भएको र परपुरुषसंग सम्पर्क राखेको कारण घरका र माइतका परिवार समेतले मलाई हेला गरेको, साहारा नपाएको वखत जेलमा वस्न पाए शरीरले सुविधा पाउने थियो भनी सोची राखेको अवस्थामा सिकाए अनुसार प्रहरीमा र अदालतमा एकै मिलान वयान गरेकी मात्र हुँ । अभियोग पत्रमा जनाएअनुसार मैले आफूले नै जन्माएको शिशुलाई आफैले कर्तव्य गरी मारेको होइन । कर्तव्य गरी मारेको देख्ने जान्ने प्रत्यक्षदर्शी गवाह समेत नभएको, शंकाको भरमा कर्तव्य गरी मारेकी हो भनी कसूर ठहर गरी फैसला गर्न नहुनेमा मलाई विना कसूर अभियोग लगाई शुरु अदालतले गरेको फैसला कानूनसंगत नहुँदा वदर गरी झुठ्ठा दावीवाट फुर्सद पाउँ भन्ने समेत व्यहोराको प्र.शान्ति वि.क. को पुनरावेदन अदालत वुटवलमा परेको पुनरावेदन ।

            १४.   प्र.नारायण वहादुर वि..क. को हकमा अ.वं. १९० नं. वमोजिम मुलतवी रहेकोले निजका हकमा केही वोलिरहनु  परेन । जाहेरवालाको वकपत्र समेतको मिसिल प्रमाणवाट प्र. शान्ति वि.क. को कर्तव्यवाट नवजात शिशुको हत्या हुन गएको प्रमाणित हुन आएकोले शुरु अदालतवाट प्र. शान्ति वि.क. लाई अभियोग वमोजिम ज्यान सम्वन्धी महलको १३(३) नं. वमोजिम सजाय हुने ठहर्याएको इन्साफ मनासिव हुँदा सदर हुने ठहर्छ । यौन सम्पर्क राख्दा गर्भ रहन गइ प्र.नारायण वि.क. को वहकाउमा लागी लोकलज्जावाट वच्न प्र.शान्ति वि.क. ले जातक वच्चाको हत्या गरेको देखिंदा निजलाई ज्यान सम्वन्धी महलको १३(३) नं. वमोजिम सजाय गर्दा चर्को पर्ने चित्तमा लागेकोले अ.वं. १८८ नं. वमोजिम शुरुले ५ वर्षको कैदको सजाय गर्ने व्यक्त राय मनासिव हुँदा निज प्र.शान्ति वि.क. लाई कैद वर्ष ५ को सजाय गर्दा न्यायसंगत हुने देखिई अ.वं. १८८ नं. वमोजिम छुटृै राय व्यक्त गरिएको छ भन्ने समेत व्यहोराको पुनरावेदन अदालत वुटवलको फैसला ।

            १५.   मेरो लोग्ने विदेशमा गएको अवस्थामा नारायणवहादुरसंग यौन सम्पर्क भै गर्भ रही मैले नारायण वहादुरलाई लग्नको लागि भन्दा निजले नमानेको कारणवाट दिन दिनैको चिन्ताले दुव्लाई कमजोर हुँदै गएको थिएँ । साथै घरमा धेरै काम गर्नुपर्ने गह्रौं भारी उचाल्नु वोक्नु पर्ने, कहिले काहीं भारी वोकी उठ्दा उठ्न नसकी पछारिने लड्ने गरेको कारण पेटमा भएको वच्चा मरेको अवस्थामा जन्मेको हो । प्रहरी र अदालतमा भएको साविति वयानको हकमा प्रहरीले पहिले देखि तयार पारी राखेको वयानमा डर धाकधम्की समेत देखाई सही गराएको हो । अदालतमा समेत प्रहरी नजिकै वसी हेरिरहेकाले उनीहरुले सिकाए वमोजिम नै वयान गरेको हुँ । प्रस्तुत वारदाता प्रत्यक्षदर्शी साक्षी छैन, अदालतले शंकाको भरमा मलाई सजाय गरेको छ । उक्त वुँदाहरुमा ध्यान नदिई पुनरावेदन अदालतले गरेको फैसला त्रुटिपूर्ण हुँदा वदर गरी अभियोग दावीवाट सफाइ पाउँ भन्ने समेत व्यहोराको पुनरावेदन ।

            १६.    पुनरावेदन अदालत वुटवलको च.नं. ८२५० मिति २०५९।१।१३ को पत्र साथ साधक जाँचको लागि मिसिल प्राप्त भै आएको ।

            १७.   नियम वमोजिम पेशी सूचीमा चढी निर्णयार्थ पेश हुन आएको प्रस्तुत मुद्दामा पुनरावेदक तर्फका विद्वान अधिवक्ता श्री लिलामणि पौडेलले प्रतिवादी शान्ति वि.क. ले घरको धेरै काम गर्नुपर्ने, गह्रौं भारी समेत वोक्नु उचाल्नु पर्ने भएको र भारी वोकी उठ्दा कहिले काँही पछारिने गरेको कारणले प्रतिवादीले जिउँदै जन्मेको वच्चा मारेको नभई मृत वच्चा जन्मेको अवस्था रहेको छ । प्रस्तुत वारदात देख्ने चश्मदिद गवाह छैन, यस्तो अवस्थामा कर्तव्य ज्यान जस्तो संगीन अपराधमा शंकाको भरमा सजाय गर्न नमिल्नेमा प्रतिवादीलाई शंकाको भरमा सजाय गर्ने गरेको पुनरावेदन अदालतको फैसला मिलेको नहुँदा वदर भै पुनरावेदक प्रतिवादीले अभियोग माग दावीवाट सफाइ पाउनु पर्छ भनी वहस प्रस्तुत गर्नुभयो ।

            १८.   विद्वान कानून व्यवसायीको वहस समेत सुनी मिसिल संलग्न कागजात अध्ययन गरी हेर्दा पुनरावेदन अदालतले गरेको इन्साफ मिलेको छ, छैन ? सो सम्वन्धमा निर्णय गर्नुपर्ने हुन   आयो ।

            १९.    निर्णयतर्फ विचार गर्दा शान्ति वि.क.ले वच्चा जन्माई मारी खाल्डोमा परेकीले सजाय गरी पाउँ भन्ने जाहेरी दरखास्त भै शान्ति वि.क. ले आफैले जन्माएको वच्चा मारी खाडलमा पुरेकीले निजलाई ज्यान सम्वन्धीको १३(३) नं. वमोजिम र प्रतिवादी नारायण वि.क. लाई सोही ऐनको १३(४) नं. वमोजिम सजाय गरी पाउँ भन्ने अभियोग मागदावी रहेको देखिन्छ । प्रतिवादी नारायण वि.क. शुरु देखिनै फरार रहेकोले निजको हकमा अ.वं. १९० नं. वमोजिम मुल्तवीमा राखी दिने, प्रतिवादी शान्ति वि.क. ले वच्चा जन्माई मारेको देखिदा निजलाई ज्यान सम्वन्धीको १३(३) नं. वमोजिम सजाय भै अ.वं. १८८ नं. वमोजिम ५ वर्ष मात्र कैदको सजाय गर्न उपयुक्त हुने भन्ने शुरु अदालतवाट भएको फैसलामा चित्त वुझेन भन्ने प्रतिवादीका तर्फवाट पुनरावेदन अदालत वुटवलमा पुनरावेदन परेकोमा शुरु अदालतवाट भएको अ.वं. १८८ नं. वमोजिमको राय सहितको फैसला सदर हुने ठह्याएको पुनरावेदन अदालतको फैसला उपर प्रतिवादीको तर्फवाट प्रस्तुत पुनरावेदन परी पेश हुन आएको र पुनरावेदन अदालत वुटवलवाट साधक जाँचको लागि समेत मिसिल प्राप्त भै आएको देखिन्छ ।

            २०.   प्रतिवादी शान्ति वि.क. को तर्फवाट पुनरावेदन पर्न आएको र निजको हकमा साधक जाँचको लागि समेत मिसिल प्राप्त भै आएको देखिएकोले यस्तो अवस्थामा अ.वं. २१५ नं. मा व्यवस्था भए अनुसार साधकको लगत कटृा गरी पुनरावेदनको रोहवाट मुद्दा हेर्नु पर्ने हुँदा साधकको लगत कटृा गरी दिएको छ ।

            २१.   पुनरावेदनको रोहमा विचारगर्दा प्रस्तुत मुद्दामा प्रतिवादी शान्ति वि.क. ले आफूले लोग्ने भारत गएको मौकामा नारायण वहादुरको गर्भ वोकी वच्चा जन्मेको र निज नारायण वहादुरले आफूलाई लैजान नमानेको हुँदा हात मुक्काले वच्चालाई हानी मारी खाल्डोमा पुरेको भनी अधिकार प्राप्त अधिकारी समक्ष र अदालतमा समेत वयान गरेको देखियो । श्वास प्रश्वास अवरुद्ध भै मस्तिष्कमा असर परी वच्चाको मृत्यु भएको र प्रतिवादी शान्ति वि.क.को शारीरिक परीक्षणवाट निजले वच्चा जन्माएको भन्ने परीक्षण प्रतिवेदनवाट देखिन आयो । यस स्थितिवाट विचार गर्दा प्रतिवादी शान्ति वि.क. ले वच्चा जन्माई मारी खाल्डोमा गाडेको भन्ने कुरामा कुनै शंका गर्नुपर्ने ठाउँ देखिन  आएन । अतः निज प्रतिवादी शान्ति वि.क. लाई अभियोग माग दावी वमोजिम ज्यान सम्वन्धीको १३(३) नं. अनुसार सजाय हुने ठहराएको शुरु फैसलालाई सदर गरेको पुनरावेदन अदालतको फैसला मनासिव हुँदा सदर हुने ठहर्छ । परन्तु निज प्रतिवादी शान्ति वि.क. लाई ज्यान सम्वन्धीको १३(३) नं. वमोजिम सजाय गर्दा चर्को पर्ने चित्तमा लागेकोले अ.वं. १८८ नं. वमोजिम शुरुले ५ वर्षको सजाय गर्ने व्यक्त राय मनासिव ठहराई पुनरावेदन अदालतवाट समेत सोही रायलाई समर्थन भई आएको रहेछ । अव उक्त राय अ.वं. १८८ नं. वमोजिम उपयुक्त छ छैन भनी हेर्नुपर्ने भएको छ । अ.वं. १८८ नं. ले मृत्यु दण्ड सर्वश्वसहित जन्मकैद वा जन्मकैद गर्नुपर्ने भएका मुद्दामा घटी सजाय तोक्दा अवलम्वन गर्ने आधार र प्रक्रियाहरुलाई निम्न वमोजिम व्यवस्था गरिएको पाइन्छ ।

 

क.    इन्साफ गर्नेका चित्तले भवितव्य हो कि भन्न हुने सम्मको शंका भएको अवस्थाको वारदात ।

ख.    अपराध गरेको अवस्था,

ग.    उल्लिखित स्थितिलाई विचार गर्दा ऐन वमोजिमको सजाय दिदा चर्को हुने चित्तले देखेमा,

घ.    चित्तले देखेको कारण सहितको खुलासा राय सहित साधक जाहेर गर्नुपर्ने,

            २२.   यसरी अ.वं. १८८ नं. ले जन्मकैद सम्मको सजाय घटाउदा अवलम्वन गर्नुपर्ने आधार र कारण न्यायकर्ताको न्यायिक विवेकमा छाडी दिएको देखिन आउँछ । के कस्तो आधार कारणलाई सजाय घटाउने वा ऐन वमोजिमको सजाय चर्को हुने भन्ने खुलासा स्थिति देखिदैन । केवल भवितव्य हो कि भन्ने शंका र अपराध गरेको अवस्थालाई विचार गर्ने सम्म भनिएको छ, त्यो पनि इन्साफ गर्ने कै चित्तले देखेमा मात्र प्रयोगको आधार हुन सक्दछ ।

            २३.   वस्तुतः अपराध गर्नेलाई कुनै प्रकारले शारीरिक मानसिक वा आर्थिक यातना वा दुःख भोग्न लगाउनु नै दण्ड मानिन्छ । अपराधीलाई दण्ड दिनुपर्ने विभिन्न कारणहरु छन । वदला लिनका लागि प्रतिकारात्मक दण्ड दिने, अपराध गर्न निरुत्साहित गर्न वा भय पैदा गर्न निरोधात्मक दण्ड दिने, अरु अपराध गर्न नदिनका लागि निवारणात्मक दण्ड दिने वा अपराध गर्नेलाई सुधारिने मौका दिने गरी सुधारात्मक दण्ड दिने भन्ने प्रचलित दण्ड प्रणालीहरु र कारण मध्ये कुनलाई प्राथमिकता दिने र आत्मसाथ गर्ने भन्ने विषय राज्यले अपनाउने दण्ड नीतिमा भरपर्ने कुरा हो । दण्डको निर्धारणमा दण्डको प्रकृति र दण्डको हद दुवैको निर्धारण हुनुपर्ने हुन्छ । कुनै पनि देशले आफ्नो फौजदारी न्याय प्रशासनको खाका तयार गर्दा दण्डको उद्देश्य प्रति स्पष्ट हुनुको साथै दण्ड निर्धारण नीति स्पष्ट हुनु अत्यावश्यक पर्दछ । सजाय तोक्ने मापक निश्चित हुनु न्यायिक दृष्टिले वाच्छनीय मात्र नभएर संवैधानिक आवश्यकता पनि हो । समान स्थितिका अपराधीलाई समान अपराधको लागि वेग्ला वेग्लै किसिमले फरक सजाय तोक्नु संवैधानिक हुदैन । असमानता विरुद्धको संवैधानकि प्रत्याभूति र कानूनको प्रयोजनमा भेदभाव नगरिने संवैधानिक संरक्षण दण्ड निर्धारणमा सोचिनु पर्ने आधारभूत तत्वहरु हुन ।

            २४.   सजाय तोक्ने मार्गदर्शन स्थापित गर्ने कर्तव्य प्रथमतः विधायिकाको नै हो । विधायिकाद्वारा कानून वनाएर सजायको चयन सम्वन्धी मार्गदर्शन प्रयोगमा ल्याउनु उपयुक्त र वान्छनीय हुन्छ किनकि त्यस्तो मार्गदर्शनवाट सजायको चयन गर्दा विविधता आउन सक्ने संभावनालाई न्यूनतम हदमा राख्दछ र सजायको चयन सम्वन्धी परिपाटीमा एकरुपता ल्याउन एउटा निश्चित मापदण्ड तयार हुन जान्छ । परन्तु हामी कहां दण्डको निर्धारण सम्वन्धी नीति स्पष्ट नभएर अन्यौलको स्थितिमा रहेको छ । त्यसैले राष्ट्रको दण्ड नीतिको अभावमा न्यायपालिकाले नै विद्यमान दण्ड तोक्ने उपलव्ध विकल्पहरु र सजायको हदको चयन गर्दा समान अवस्थाका अपराधीहरुलाई समान प्रक्रितिको दण्ड र समकक्षको हद तोक्ने दिशामा समान न्यायिक समझदारी वनाउनु पर्ने आवश्यकता देखिन आएको छ । तजवीजको प्रयोगलाई मार्गदर्शनद्वारा व्यवस्थित गर्नुपर्ने अवस्था छ।

            २५.   अव प्रस्तुत मुद्दामा राय व्यक्त भइ आएको अ.वं. १८८ नं. को प्रयोग कै सन्दर्भलाई हेरौं । अ.वं. १८८ नं. को प्रयोग सर्वश्वसहित जन्मकैद वा जन्मकैदको सजाय हुने अपराधमा हुन सक्ने व्यवस्था गरेर गम्भीर अपराधमा सजाय निर्धारण गर्न प्रक्रियामा न्यायिक स्वविवेकलाई स्थान दिएको पाइन्छ । यो अधिकारको प्रयोगमा अझसम्म पनि निश्चित सिद्धान्त वा मापदण्डको यथेष्ट विकास भएको पाइदैन । अ.वं. १८८ नं. मा प्रयोग भएको भवितव्य हो कि भन्न हुने सम्मको शंका भएको अवस्थाको वारदात र अपराध गरेको अवस्थालाई विचार गरेर सजाय घटाउन सकिने व्यवस्था गरिएको देखिन आउँछ । भवितव्यको शंका वस्तुनिष्ठ भन्दा आत्मनिष्ठ प्रकृतिको विषय हुँदा त्यसको प्रयोगमा आधार र कारण सामान्यतः खुल्न सक्ने स्थिति नहुँदा यो कम विचारणीय पक्ष देखिन्छ । अपराध गरेको अवस्था नै एउटा यस्तो पक्ष देखिन्छ जसभित्र अपराधको गाम्भीर्यता निर्धारण, सजायको मात्रा तथा मापदण्ड निश्चित गर्ने एउटा आधारको रुपमा लिई त्यसको स्वरुपलाई निश्चितता प्रदान गर्न सकिन्छ ।

            २६.   उल्लिखित अपराध गरेको अवस्थालाई विचार गरी सजाय घटाउन र दण्ड निर्धारण गर्नु पर्दा निम्न लिखित अवस्था र स्थितिलाई विचार गर्नु उपयुक्त देखिन्छ ।

 

क.    मार्नेसम्मको मनसाय राखी इवी अदावत लिई पूर्व योजना वनाई हत्या भएको छ, छैन ?

ख.    क्रुरता र यातनापूर्वकको हत्या,

ग.    अपराधको प्रकृति र मात्रा

घ.    अपराध गर्ने व्यक्तिको उद्देश्य र सामाजिक पृष्ठभूमि,

ङ.    अपराध हुन पर्ने परिस्थिति,

च.    अपराध गर्ने व्यक्तिको उमेर,

छ.    अपराध गर्ने व्यक्तिको शारीरिक, मानसिक, आर्थिक अवस्था र पारिवारिक स्थिति,

ज.    पीडित पक्षको राय वा भावना,

झ.    पीडित पक्ष वा समाजलाई हुन गएको हानी नोक्सानी,

ञ.    अपराधीको विगतको अपराधिक प्रवृत्ति,

ट.    अदालतमा साँचो कुरा गरी न्यायिक प्रक्रियालाई सहयोग गरे, नगरेको

ठ.    कसूर गरेमा पश्चातापको भाव आए, नआएको,

ड.    सुध्रेर भविष्यमा अपराध नगर्ने वाचा गरे वा नगरेको,

ढ.    कसैको वहकाव वा दवावमा अपराध गरे वा नगरेको,

ण.    यस्तै मुद्दाको तथ्यगत अवस्थावाट देखिने अन्य उपयुक्त कारणहरु,

 

 

            २७.   उल्लेखित परिप्रेक्ष्यमा प्रस्तुत मुद्दामा शुरु र पुनरावेदन अदालतले अ.वं. १८८ नं. को प्रयोग गरी सजाय कम  गर्नुपर्ने राय व्यक्त गरेको मनासिव छ, छैन भन्ने कुरातर्फ विचार गर्नुपर्ने भएको छ । एकातर्फ प्रतिवादीले अपराध स्वीकार गरी न्यायिक प्रक्रियामा सहयोग पुर्याएको अवस्था देखिन्छ भने अर्कोतर्फ इवी अदावत सहितको सुनियोजित हत्याको प्रस्तुत वारदात भन्ने देखिदैन । परपुरुषसंगको यौन सम्वन्धवाट गर्भ रहन गएकोमा निजले लैजान नमान्दा चिन्ताग्रस्त अवस्था रहेको, लोग्नेको घरका र माइतकाले हेला गरी सहारा नपाएको अवस्था, ग्रामिण समाजकी कच्चा उमेरकी स्वास्नीमानिसले परपुरुषको भनाइ र वहकावमा लागि सामाजिक लान्छनावाट वच्न जन्मेको वालकको हत्या गरेको स्थिति र अवस्था देखिन्छ । त्यसैले यस्तो स्थितिमा भएको वारदातको प्रकृति र स्वरुपलाई विचार गर्दा सजाय घटाउन सिफारिश भै आएको रायलाई वेमनासिव भन्न मिलेन । तसर्थ निज प्रतिवादी    शान्ति वि.क. लाई सर्वश्वसहित जन्मकैद गर्दा चर्को पर्ने देखिएकोले शुरु र पुनरोदन अदालतले ५ वर्ष मात्र कैद सजाय गर्न मनासिव हुने भनी व्यक्त गरेको राय न्यायको दृष्टिले मनासिव हुँदा सदर हुने ठहर्छ । अभियोगवाट सफाइ  पाउँ भन्ने प्रतिवादीको पुनरावेदन जिकिर पुग्न सक्दैन । अरु तपसिल वमोजिम गर्नु ।

 

तपसिल

माथि ठहर खण्डमा उल्लेख भए अनुसार प्रतिवादी शान्ति वि.क. लाई ज्यान सम्वन्धीको १३(३) नं. वमोजिम सजाय हुने भै अ.वं. १८८ नं. वमोजिम ५ वर्ष कैद हुने ठहराएकोले सोही वमोजिम ५ वर्षको कैदको लगत कसी कैद उपर गर्नु भनी शुरु पाल्पा

 

जिल्ला अदालतमा लेखी पठाई दिनु .... १

मिसिल नियमानुसार वुझाई दिनु ... १

 

उक्त रायमा सहमत छु ।

 

न्या.मीनवहादुर रायमाझी

 

इति सम्वत २०५९ साल माघ २३ गते रोज ५ शुभम् ....... ।

 

 

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु