शब्दबाट फैसला खोज्‍नुहोस्

निर्णय नं. ७४०० - लिखत दर्ता बदर दर्ता

भाग: ४६ साल: २०६१ महिना: असोज अंक:

निर्णय नं. ७४००    ने.का.प.२०६१       अङ्क ६

 

संयुक्त इजलास

माननीय न्यायाधीश श्री शुसिला सिंह सिलु

माननीय न्यायाधीश श्री खिलराज रेग्मी

सम्वत २०५५ सालको दे.पु.नं. ५२२५

फैसला मितिः२०६१।३।२५।६

 

मुद्दा :लिखत दर्ता बदर दर्ता

 

पुनरावेदक

प्रतिवादीः मोरङ जिल्ला वनीगामा गा.वि.स. वडा नं. १ बस्ने विष्णुलाल गिरी

विरुद्ध

प्रत्यर्थी

वादी : मोरङ जिल्ला तेत्तरिया गा.वि.स. वडा नं. २ बस्ने कृष्णलाल सरदार थारु समेत

 

§  अदालतबाट चलन पूर्जी पाएको मध्ये दर्ता हुन नसकेको जग्गा प्रतिवादी पन्नालालले राजिनामा गरी बेचिसकेको कुरा स्वभावतः चलन पूर्जी पाइसकेपछि मात्र थाहा हुन आएको हुनाले सो कि.नं. ८४ मध्येको केही जग्गा शुरुमा पन्नालालले शिवलाल र तुलसा गिरीलाई ०३३।११।२७ मा राजिनामा लिखत गरी दिएको कुरा वादीहरुले समयमा नैं थाहा पाइसकेको भन्न नमिल्ने ।

§  अंश सम्वन्धी मुद्दाको अदालती निर्णयमा वण्डापत्र नै वदर हुने ठहर भएकोले विवादित जग्गामा पन्नालालको नै स्वामित्व रहेको ठहरिन नआउने ।

      (प्र.नं. १५)

§  अदालतको चलन पूर्जीबाट कानून बमोजिम चलन पाएको आफ्नो हक र स्वामित्वको जग्गाका सम्बन्धमा आफूले थाहा पाएको मितिले कानूनको म्यादभित्र दायर गरेको फिराद दावी हदम्याद नाघि परेको भन्न नमिल्ने ।

§  पुनरावेदक प्रतिवादी समेतले वादीहरुले दायर गरी अंश पाउने ठहर भएको विवादित जग्गा समेत तायदातीमा परेको उल्लेखित अंश मुद्दाहरुको फैसला वदर मुद्दामा वादीको दावी वमोजिम नहुने ठहरी फैसला भएको भन्ने प्रमाण मिसिलवाट देखिएको अवस्थावाट पनि यस मुद्दाका वादीहरुको अंश मुद्दाको फैसला वमोजिम प्राप्त हक सुरक्षित रहेको मान्नु पर्ने ।

§  फैसला वदर मुद्दावाट पनि वादीहरुको अंश मुद्दावाट प्राप्त हक सुरक्षित हुन गई प्रस्तुत मुद्दाको वादीको दावी खम्वीर हुन जाने ।

      (प्र.नं. १८)

 

पुनरावेदक प्रतिवादी तर्फवाटःविद्वान अधिवक्ताहरु श्री शम्भु थापा, श्री भीमवहादुर ढकाल, श्री हरिकृष्ण कार्की र श्री जानकीप्रसाद गिरी

प्रत्यर्थी वादी तर्फवाटःविद्वान अधिवक्ताद्वय श्री गोपाल गुरागाई र श्री वालकृष्ण न्यौपाने

अवलम्वित नजिरः

 

फैसला

            न्या.सुशीला सिंह सिलुः न्याय प्रशासन ऐन, २०४८ को दफा १२(१) को खण्ड (क) र (ख) बमोजिम पुनरावेदन अदालत विराटनगरको मिति ०५१।१०।३ को फैसला उपर मुद्दा दोहोर्‍याई पाउँ भनि पर्न आएको निवेदनमा मुद्दा दोहोर्‍याउने निस्सा पाई दायर हुन आएको प्रस्तुत पुनरावेदनको संक्षिप्त तथ्य एवं ठहर प्रकार छ :

२.    स्व. पिता पति भुटाई सरदार थारुका ३ पत्नीमा जेठी लखी, माइली चन्द्रावति र कान्छी म फिरादी जमुना देवी हौं । जेठीको १ मात्र छोरा ठक्कु सरदार थारु, माइलीका ४ छोरामा जेठा पन्नालाल, माइला फिराशलाल, साहिला पन्चलाल र कान्छा लछनलाल सरदार थारु हौं । पिता पतिको ०३२ सालमा स्वर्गारोहण भएपछि विपक्षीहरुले हामीलाई मंजुरीनैं नलिई मिति २०१७।१।७ मा  अंशवण्डा पास गरी लिंदा उक्त लेखत बदर गरी १० अंश भागको ४ भाग अंश पाउँ भनि दे.नं. ५०९ मा नालेश गरेकोमा नाबालक संरक्षक भै नालेश गरेको नदेखिएको १० भागको १ भाग म जमुनादेवीले अंश पाउने ठहराई पूर्वाञ्चल क्षेत्रीय अदालत धनकुटाबाट ०३७ सालमा भएको फैसला सर्वोच्च अदालत समेतबाट ०४१।३।१९ गते अन्तिम फैसला भएको । ३ भाइ छोराको अंश नछुटिृएकोले १० भागको ३ भाग अंश पाउँ भनि मुद्दा परी १० भागको ३ भाग अंश छुट्टयाई दिने ठहरी ०३९।१०।६ मा मोरङ जिल्ला अदालतबाट फैसला भै फैसला बमोजिमका अंश छुट्याई पाउँ भनि हामीहरुको दरखास्त परी गोगरा थरुनीले पेश गरेको ०३८।८।२ को तायदातीमा उल्लेखित पन्नालाल सरदार नाउँ दर्ताको मोरङ तेतरिया वडा नं. १(ग) कि.नं. ८४ को ज.वि. ३१३० मध्ये ११५१५ जग्गा जमुना देवीको अंश भागको र कि.नं. ८४ को बाँकी जग्गा २८ कृष्णलाल सरदार समेत ३ भाइको अंश भागको भनि चलन पूर्जी पाई सो अनुसारको जग्गा दर्ता गरी पाउँ भनि मालपोत कार्यालय मोरङमा निवेदन दिंदा जग्गा दर्ता नभएबाट ०४६।१।२८ मा मालपोतबाट नक्कल लिई हेर्दा कि.नं. ८४ को जग्गा मध्ये भूमि प्रशासन कार्यालय मोरङबाट ०३३।१२।२७ मा धनी विपक्षी शिवलाल र तुलसा देवी गिरी आसामी पन्नालाल सरदार भई ०१३० कि.नं. ८५ मा दर्ता भएको र बाँकी जग्गा कि.नं. ८६ कायम भई विपक्षी पन्नालाल सरदारको नाउँमा कायम भई उक्त कि.नं. ८५ को जग्गा पनि शिवलाल र तुलसा देवी गिरीले ०३८।१०।१५ मा विपक्षी गोगरी थरुनीलाई पारित गरी निजले २०३९।३।२० मा विष्णुलाललाई विक्री गरी निजको नाउँमा दर्ता  रहेको थाहा हुन आएकोले सारै अन्यायमा परी फिराद गर्न आएका हौं । अतः विपक्षीको कि.नं. ८४ लाई कित्ताकाट गरी कायम भएको कि.नं. ८५ को ०१३० को सबै लिखत दर्ता बदर गरी मोरङ जिल्ला अदालतको  ०४२।१२।१७ को चलन पूर्जी अनुसार हाम्रा नाउँमा दर्ता गरी चलन समेत चलाई पाउँ भन्ने समेत व्यहोराको मिति ०४७।४।१२।५ को फिरादपत्र ।

३.    वादीहरुले प्रतिवादी पन्नालाल समेत उपर दिएको अंश मुद्दा र वादीहरुले अंश पाउने ठहर फैसला भएको साथै वादीहरुको अंश हकको जग्गा पन्नालालले शिवलाल, तुलसा समेतलाई पास बिक्री गरेको कुरा मलाई थाहा जानकारी नभएको, प्रतिवादी मध्येकै गोगरी थरुनीका नाममा दर्ता रहेको निजका हकभोगको जग्गा तेतरिया गा.वि.स. वडा नं. १(ग) कि.नं. ८५ को ०१३० जग्गा सुपथ मूल्य दिई ०३९।३।२० मा पारित गरी लिई मेरो हक भोग चलन दर्ताको जग्गा लिखत दर्ता बदर गरी पाउँ भन्ने वादीको हकै नपुग्ने दावीको फिराद खारेज गरी पाउँ भन्ने समेत व्यहोराको मिति ०४६।१०।५ को प्र. विष्णुलाल गिरीको प्रतिउत्तरपत्र ।

४.    मैले ०३८।१०।१५ गते शेरबहादुर चौहानबाट निजको एकलौटी हकभोगको जग्गा खरिद गरी लिएकाले र कसैले पनि आफ्नो हकभोगको जग्गा खरिद बिक्री गर्न पाउने कानूनी हक हुँदा र दावीको कि.नं. ८५ को जग्गा वर्तमान अवस्था मेरो नाउँमा दर्ता समेत नहुँदा दावी अनुसार दर्ता बदर कायम समेत नहुने कुरा स्पष्ट छ । वादी दावीबाट अलग फुर्सद गराई पाउँ भन्ने समेत व्यहोराको प्रतिवादी गमनी थरुनीको मिति ०४७।३।१० को प्रतिउत्तरपत्र ।

५.    प्र. शिवलाल गिरी, तुलसादेवी गिरी पन्नालाल सरदार थारु, शेरबहादुर चौहान, पुष्पबहादुर चौहानले म्यादभित्र प्रतिउत्तर नगरी गुजारी बसेका रहेछन् ।

६.    वादी दावी अनुसारको कि.नं. ८४ को जग्गा कित्ताकाट भई विभिन्न व्यक्तिहरुको नाउँमा रजिष्टे«शनबाट दर्ता भई गमनी थरुनीबाट मिति ०३९।३।२० मा विष्णुलाल गिरीले रजिष्टेशन पारित गरी लिएको कि.नं. ८५ को ०१३० जग्गा वादीहरुको अंश हकको भई ०१७।१।७ को वण्डापत्र नै बदर भएकोले पन्नालालले बिक्री गरेको सदर नहुने र मुद्दा परी फैसला बमोजिम अंश भराई अंश छुट्याई चलन लिई वादीहरुको नाउँमा दर्ता हुने देखिएको हुँदा उपरोक्त कारणबाट लिखत दर्ता बदर हुने र वादीहरुका नाउँमा दर्ता हुने समेत ठहर्छ भन्ने् समेत व्यहोराको शुरु मोरङ जिल्ला अदालतको मिति ०४८।१२।३।२ को फैसला ।

७.    शुरु जिल्ला अदालतको इन्साफ प्रति चित्त बुझेन । हदम्याद नाघी दर्ता भएको फिरादबाट वादी दावी अनुसार लिखत बदर दर्ता कायम समेत हुने ठहर गरी भएको शुरु इन्साफ त्रुटीपूर्ण हुँदा शुरु इन्साफ बदर गरी हदम्याद र हकदैया विहीन वादीको फिराद खारेज गरी पाउँ भन्ने समेत व्यहोराको मिति ०४९।२।२९।५ को प्रतिवादीको पुनरावेदनपत्र ।

८.    यस्मा वादी दावी बमोजिम लिखत दर्ता बदर हुने र वादीहरुका नाउँमा दर्ता समेत हुने ठहराई शुरु मोरङ जिल्ला अदालतले गरेको फैसला मिलेकै देखिंदा सदर हुने ठहर्छ भन्ने व्यहोराको पुनरावेदन अदालत विराटनगरको मिति ०५१।१०।३ को फैसला ।

९.    पुनरावेदन अदालत विराटनगरको फैसला त्रुटीपूर्ण भएकोले न्याय प्रशासन ऐन, २०४८ को दफा १२(१) को खण्ड (क)(ख) को अवस्था विद्यमान हुँदा मुद्दा दोहोर्‍याई पाउँ भन्ने समेतको प्रतिवादीको निवेदन जिकिर ।

१०.    प्रस्तुत मुद्दामा मिति ०३३।११।२६ को लिखत बदर गरी पाउँ भनि मिति ०४६।४।१२ मा फिराद परेको देखिन्छ । फिरादपत्रमा जग्गा पजनीको १७ नं. समेत उल्लेख भएको र पुनरावेदन अदालतले थाहा पाएको मितिबाट हदम्याद कायम हुने भन्ने आसय व्यक्त गरेको पाइन्छ । लिखत बदर मुद्दा लेनदेन व्यवहारको ४० नं. को विषय भएको हुँदा लिखत भएको मितिले २ वर्षभित्र नालेश गर्नुपर्नेमा जग्गा पजनीको १७ नं. अन्तर्गत थाहा पाएको मितिबाट म्यादभित्र फिराद परेको मानी लिखत बदर मुद्दामा जग्गा पजनीको १७ नं. प्रयोग गरेको कानूनको व्याख्यात्मक त्रुटी देखिंदा न्याय प्रशासन ऐन, २०४८ को दफा १२(१)(क) अनुसार मुद्दा दोहोेर्‍याई हेर्ने निस्सा प्रदान गरिएको भन्ने व्यहोराको यस अदालतको आदेश ।

११.    नियम बमोजिम आजको दैनिक मुद्दा पेशी सूचीमा चढी पेश हुन आएको प्रस्तुत मुद्दामा पुनरावेदन प्रतिवादीतर्फबाट उपस्थित विद्वान अधिवक्ताहरु श्री भिमबहादुर ढकाल, श्री शम्भु थापा, श्री हरिकृष्ण कार्की र श्री जानकीप्रसाद गिरीले अंश मुद्दामा तायदाती माग्ने आदेश हुनुभन्दा अघि नै भएको लिखत तायदातीमा पार्दैमा बदर नहुने पछि परेको फैसला बदर मुद्दाले अघिको मुद्दालाई असर नगर्ने, वण्डा हुँदा सम्पत्ति अंशियारका नाउँमा हुनुपर्ने, लेनदेनको १० नं. ले जग्गा पजनीको १७ नं. र जग्गा मिच्नेको १८ नं. लाई निष्क्रिय गराउन नसक्ने, एउटा कानूनी व्यवस्थालाई निष्क्रिय गराउने गरी अर्को कानूनको व्याख्या र प्रयोग हुन नसक्ने, वादीहरुको अंश भागमा परेको जग्गा अन्यत्र गइसकेको अवस्थामा अन्य अंशियारहरुसँग भएको सम्पत्तिबाट वादीहरुले आफ्नो भाग लिन सक्ने अवस्था समेत भएकोले लिखत बदर हुने ठहराएको शुरु फैसला सदर गरेको पुनरावेदन अदालतको त्रुटीपूर्ण फैसला बदर भै उल्टी हुनुपर्छ भनि तथा प्रत्यर्थी वादीतर्फबाट उपस्थित विद्वान अधिवक्ता द्वय श्री गोपाल गुरागाई र श्री वालकृष्ण न्यौपाने, हेमन्त गिरी समेतले दायर गरेको दे.दा.नं. १२६४, १२६३ को फैसला बदर मुद्दामा दावी नपुग्ने गरी फैसला भएको, अदालतको फैसला निष्क्रिय हुने गरी निर्णय गर्न नहुने, ०३३।६।२ मा मानो छुट्टिएको मिति कायम भएको, लेनदेन व्यवहारको १० नं. सगोलको अंशियारको हकमा आकृष्ट हुने र मानो छुट्टिएपछि भएको लिखतको हकमा आकृष्ट नहुने हुँदा शुरु मोरङ जिल्ला अदालतको फैसला सदर गरेको पुनरावेदन अदालत विराटनगरको फैसला सदर कायम हुनुपर्छ भनि गर्नु भएको बहस जिकिर समेत सुनी मिसिल संलग्न कागज प्रमाणको अध्ययन गर्दा वादी दावी बमोजिम लिखत दर्ता बदर हुने र वादीहरुको नाउँमा दर्ता समेत हुने ठहराएको शुरु मोरङ जिल्ला अदालतको फैसला सदर गरेको पुनरावेदन अदालत विराटनगरको मिति ०५१।१०।३ को फैसला मिलेको छ, छैन निर्णय दिनुपर्ने देखियो ।

१२.   निर्णयतर्फ विचार गर्दा यसमा, लिखत बदर मुद्दा पर्नुभन्दा पहिले यिनै प्रत्यर्थी वादीहरुले यी पुनरावेदकका मूलदाता पन्नालाल समेतका अरु अंशियारहरु उपर ०१७।१।७ को वण्डापत्र बदर गरी अंश भाग छुट्याई पाउँ भनि दिएको अंश मुद्दामा ०४१।३।१९ मा सर्वोच्च अदालतको अन्तिम फैसलाबाट वादी जमुना देवीको हकमा १० भागको १ भाग अंश पाउने ठहर्‍याएको र निज जमुनादेवीका छोराहरु कृष्णलाल, वलराम र हरिलाललाई पनि अंशियारहरु ठहर्‍याई निज ३ जना भाइहरुको बीच अंश नछुट्टिइसकेकोले निजहरुलाई १० भागको ३ भाग अंश छुट्याई दिने ठहर गरेको मिति २०३९।१०।६ को मोरङ जिल्ला अदालतको फैसला अन्तिम भएको स्थितिमा जमुनादेवी, कृष्णलाल, बलराम र हरिलाल चारै जनाले अंश पाउने कुरामा विवाद देखिन आएन । यसको साथै तायदाती फाँटवारी बमोजिम निजहरुको अंश भागमा पर्ने सम्पत्तिको ०४२।११।१९ मा मोरङ जिल्ला अदालतबाट चलन पूर्जी पाएको कुरामा पनि विवाद देखिन आएन ।

१३.   चलन पूर्जी पाएपछि अनुसारको सम्पत्ति हाम्रो नाउँमा दर्ता गरी पाउँ भनि वादीहरुले मालपोत कार्यालयमा निवेदन दिएकोमा पूर्जी पाएको मध्येको साविक पन्नालालको नाममा दर्ता रहेको कि.नं. ८४ को जग्गा दर्ता हुन नसक्दा खोजतलास गरी नक्कल सारी हेर्दा उक्त जग्गा तहतह कित्ताकाट तथा स्वामित्व सर्ने क्रम हुँदै उक्त जग्गाका केही भाग हाल कि.नं. ८५ को ०१३० जग्गा विष्णुलाल गिरीका नाम दर्ता रहेको देखिनाले उक्त लिखतहरु बदर गरी अदालतको फैसला र चलन पूर्जी अनुसार हाम्रा नाममा दर्ता गरी पाउँ भन्ने वादीहरुको मोरङ जिल्ला अदालतमा फिराद परकोमा प्रतिवादी विष्णुलाल गिरीले कि.नं. ८५ को ०१३० जग्गा मैले सुपथ मूल्य तिरी ०३६।३।२० मा पारित गरी लिएको हुनाले फिराद दावी पुग्न सक्दैन भन्ने प्रतिवादी जिकिर रहेको यस मुद्दामा लिखत बदर गरी प्रत्यर्थी वादीहरुको नाममा दर्ता गर्ने ठहर्‍याएको मोरङ जिल्ला अदालतको फैसलालाई पुनरावेदन अदालत विराटनगरले सदर गरेको रहेछ ।

१४.   पुनरावेदन अदालत विराटनगरको फैसला मिल्छ मिल्दैन भन्नेतर्फ विचार गर्दा माथि उल्लेख भएझै अंश मुद्दाका वादी प्रतिवादीहरु एकअर्काका दश अंशियार कायम भई यस लिखत बदर मुद्दाका वादी बनेका अरु अंश मुद्दाका वादीहरु ४ जनाले जम्मा १० भागको ४ भाग अंश पाउने गरी फैसला भएको र तायदाती बमोजिम निजहरुको अंश भागमा पर्ने सम्पत्तिको मोरङ जिल्ला अदालतबाट चलन पूर्जी पाएको कुरामा पनि विवाद देखिन आएन ।

१५.   यसरी चलन पूर्जी पाएको जग्गाको लिखत बदर गरी आफ्नो नाममा दर्ता गरी पाउँ भनि वादीहरुले दिएको फिराद कानूनको म्याद नाघिसकेपछि मात्र परेको भन्ने पुनरावेदक प्रतिवादीको जिकिरतर्फ विचार गर्दा  अदालतबाट चलन पूर्जी पाएको मध्ये दर्ता हुन नसकेको जग्गा प्रतिवादी पन्नालालले राजिनामा गरी बेचिसकेको कुरा स्वभावतः चलन पूर्जी पाइसकेपछि मात्र थाहा हुन आएको हुनाले सो कि.नं. ८४ मध्येको केही जग्गा शुरुमा पन्नालालले शिवलाल र तुलसा गिरीलाई ०३३।११।२७ मा राजिनामा लिखत गरी दिएको कुरा वादीहरुले समयमा नैं थाहा पाइसकेको भन्न मिलेन । यस्तो दावीको प्रमाण पनि प्रतिवादीहरुले पुर्‍याउन सकेको छैन । वादीहरुले अंश भाग पाउने निर्णय जमुनाका हकमा सर्वोच्च अदालतको फैसलाले ०४१।३।१९ को मितिमा मात्र र कृष्णलाल, बलराम र हरिलालका हकमा अन्तिम हुन गएको मोरङ जिल्ला अदालतको ०३९।१०।६ को फैसलाबाट मात्र कायम हुन आएको भएतापनि जमुनादेवीले ०३३।६।३ मा अंश मुद्दा दायर गर्ने वित्तिकै विवादमा पर्न गइसकेको थियो र सोभन्दा पछि ०३३।११।२७ को मितिमा मात्र पन्नालालले राजिनामा गरिदिएको देखिन्छ । अंश सम्वन्धी मुद्दाको अदालती निर्णयमा २०१७।१।७ को वण्डापत्र नै वदर हुने ठहर भएकोले उक्त विवादित जग्गामा पन्नालालको नै स्वामित्व रहेको ठहरिन आएन ।

१६.    कानूनमा नालेश दिन पाउने हदम्यादको व्यवस्था गरिनुको मुख्य आधार नैं के हो भने आफ्नो हकको प्रचलन गराउन जागरुक रहने व्यक्तिलाई मात्र न्यायकर्ताले मद्दत गर्न सक्छ, यथोचित समयमा फिराद नदिने अर्थात् आफ्नो हकको रक्षा प्रति नैं उदासिन रहने व्यक्तिका हकमा निजले चित्त बुझाई चुपलागि बसेको भन्ने ठानी न्यायकर्ताले न्याय दिन आउँदैन भन्ने सिद्धान्तको आधार हो । व्यक्तिहरु आफ्नो हक अधिकार प्रति सजग रहोस् भनि गरिएको यो हदम्यादको व्यवस्थाको व्याख्या यान्त्रिक रुपले गर्न मिल्दैन । आफूलाई थाहै नदिई आफूलाई अंशियार नबनाई अरु अंशियारहरुको मिलेमतोमा वण्डापत्र पारित गरिसकेको कुरा थाहा पाएपछि वण्डापत्र बदर गरी अंश छुट्याई पाउन फिराद दायर गरेको यस मुद्दाका वादीहरुले त्यस बेलादेखि नै निरन्तर अदालतको ढोका घच्घच्याई रहेको देखिन्छ । किनभने वादी जमुनादेवीले २०५३।६।३ मा फिराद दायर गर्दां छोराहरु कृष्णलाल सरदार समेतका हकमा दायर गरेको देखिदा पछि अन्तिम ठहर मिति २०४१।३।१९ मा हुँदा जमुना देवीका हकमा मात्र इन्साफ भएपनि विवादित लिखतहरु उल्लेखित फिराद परेको मिति र  मानो छुटिृएको २०३३।६।२ को मिति कयाम भन्दा पछि तयार भएको भन्ने देखिदा मुद्दा पर्दापर्दैको अवस्था लिखत भएको भन्ने देखियो । साथै कृष्णलाल सावालक भएपछि निज र अरु नावालकको हकमा समेत पुनः अंश मुद्दा २०३७।११।८ मा दायर भई ०३९।१०।६ मा फैसला भएको पनि देखिन्छ ।

१७.   यसरी मुद्दा पर्दा पर्दैको लिखित देखिन आएको अवस्था हुँदा पुनरावेदक तर्फवाट प्रस्तुत ने.का.प. २०४५ नि.नं. ३३८५ को सिद्धान्त प्रस्तुत मुद्दासंग असान्र्दिक भै आकर्षित हुने देखिन आएन । वरु मुद्दा पर्दा पर्दै गरिएको दर्तालाई प्रमाण मान्न नमिल्ने भन्ने ने.का.प.२०२८, नि.नं. ५८३ को सिद्धान्त प्रासंगिक देखिन आउँछ ।

१८.   फेरि लिखत बदर सम्बन्धी यस मुद्दामा राजिनामा लिखतद्वारा जग्गा लिने दिनेका सम्बन्धमा सो कार्य लेनदेन कार्य भएतापनि वादीहरुले चलन पूर्जी पाएको जग्गा भोग गर्न पाउने कुरा समावेश भएको विवाद भने अंशको विवाद हो । यस स्थितिमा अदालतको चलन पूर्जीबाट कानून बमोजिम चलन पाएको आफ्नो हक र स्वामित्वको जग्गाका सम्बन्धमा आफूले थाहा पाएको मितिले कानूनको म्यादभित्र दायर गरेको फिराद दावी हदम्याद नाघि परेको भन्ने मिल्ने देखिएन । फिरादीहरुलाई न्याय पाउने अधिकार र मौकाबाट वंचित गर्न मिल्दैन । यसका अतिरिक्त यी पुनरावेदक प्रतिवादी समेतले वादीहरुले दायर गरी अंश पाउने ठहर भएको विवादिनत जग्गा समेत तायदातीमा परेको उल्लेखित अंश मुद्दाहरुको फैसला वदर गरी पाउँ भनी परेको दे.नं १२६४, १२६३ को फैसला वदर मुद्दामा वादीको दावी वमोजिम नहुने ठहरी फैसला भएको भन्ने प्रमाण मिसिलवाट देखिएको अवस्थावाट पनि यस मुद्दाका वादीहरुको अंश मुद्दाको फैसला वमोजिम प्राप्त हक सुरक्षित रहेको मान्नु पर्ने देखिन आउँछ । उक्त अंश मुद्दावाट प्राप्त हुन आएको विवादित लिखतको जग्गामा वादीहरुको हक दावी लाग्ने नै देखिन आयो । किनकी अदालतवाट भएको अन्तिम फैसला क्रियाशील हुनुपर्दछ निष्क्रिय हुने गरी फैसला गर्न पनि मिल्दैन । त्यसैले फैसला वदर मुद्दावाट पनि वादीहरुको अंश मुद्दावाट प्राप्त हक सुरक्षित हुन गई प्रस्तुत मुद्दाको वादीको दावी खम्वीर हुन पुगेको अवस्था छ ।

१९.    तसर्थ उल्लेखित आधार कारणहरुवाट वादी दावी वमोजिम लिखत दर्ता बदर गरी वादीहरुका नाममा दर्ता हुने ठहर्‍याएको शुरु मोरङ जिल्ला अदालतको फैसला सदर गरेको पुनरावेदन अदालत विराटनगरको फैसला मिलेकै देखिंदा सदर हुने ठहर्छ । मिसिल नियमानुसार गरी बुझाइदिनु ।  

 

उक्त रायमा सहमत छु ।

 

न्या.खिलराज रेग्मी

 

 

इति सम्बत २०६१ साल आषाढ २५ गते रोज ६ शु्भम्.........

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु