निर्णय नं. ७३७३ - लेनदेन ।

निर्णय नं.७३७३ ने.का.प.२०६१ अङ्क ४
संयुक्त इजलास
माननीय न्यायाधीश श्री खिलराज रेग्मी
माननीय न्यायाधीश श्री हरिजंग सिजापती
सम्वत २०५६ सालको दे.पु.नं. ... ५९००
फैसला मितिः २०६१।४।२९।६
मुद्दाः– लेनदेन ।
पुनरावेदक
प्रतिवादी जिल्ला सिराहा गा.वि.स. गोविन्दपुर वडा नं. ९ बस्ने पुलकीत महतोको छोरा बर्ष ४७ को वौयलाल महतो कोइरी
बिरुद्ध
विपक्षी
वादी ऐ. ऐ. वडा नं. ७ बस्ने राम कुमार महतो
§ साहु असामी वनी अचल सम्पत्ति वाहेकको रुपैयाँ लेनदेनको कपाली तमसुकी रुपैयाँको लिखतको बिषयमा दाबी लिने सम्बन्धमा लेनदेन व्यवहारको २ नं. मा व्यवस्था भएको पाइने र त्यसमा दावी लिने हदम्याद १० बर्ष कायम रहेको पाइन्छ । रजिष्ट्रेशन पारित हुन नसकेको राजीनामाको लिखतको सम्बन्धमा रजिष्ट्रेशनको ६ नं. ले कपाली सरह दावी लिन पाउने व्यवस्था गरेको र कपालीको हकमा लेनदेन व्यवहारको २ नं. ले १० बर्ष भित्र नालेस लाग्ने हुंदा उक्त कपाली सरहको राजीनामा पारित हुन नसकेको लिखतको हकमा पनि उल्लेखित लेनदेन व्यवहारको २ नं. को हदम्याद नै आकर्षित हुने ।
§ लेनदेन व्यवहारको ४० नं. मा यस महलमा अन्यत्र हदम्याद लेखिएको वा हदम्याद लाग्दैन भनेको कुरामा वाहेक अरुमा भए गरेको मितिले दुई बर्ष भित्र नालिस नदिए लाग्न सक्दैन भन्ने व्यवस्था भएको पाइने र उल्लेखित रजिष्ट्रेशनको ६ नं. र लेनदेन व्यवहारको २ नं. को कानूनी व्यवस्था बमोजिम रजिष्ट्रेशन पारित हुन नसकेको राजीनामाको हकमा २ बर्षको हदम्याद आकर्षित हुने देखिदा अन्यत्र हदम्यादको व्यवस्था भएको प्रस्तुत विवाद देखिन आएकोले प्रस्तुत मुद्दामा लेनदेन व्यवहारको ४० नं. आकर्षित हुने नभै सो को हदम्याद लाग्ने नदेखिने ।
§ यस अदालतवाट घरसारमा खडा भएको राजीनामा लिखत पारित नभए कपाली सरह हुने र कपाली भएपछि सो मा उजुर गर्ने हदम्याद लेनदेन व्यवहारको २ नं. ले १० बर्षको हदम्याद हुने भन्ने सिद्धान्त प्रतिपादन भै रहेको पाइन्छ । त्यसैले प्रस्तुत मुद्दामा लेनदेन व्यवहारको २ नं. को हदम्याद आकर्षित हुने र सो अनुरुप दायर भएको फिरादलाई म्याद नाघी दायर भएको भन्न नमिल्ने ।
§ विशेषज्ञद्वारा भरपाइ परीक्षण गराइएकोमा भरपाइमा भएको ल्याप्चे छापहरु, मसी ज्यादा भई रेखाहरु प्रष्ट नबुझिने भएकोले नमूना लिएको ल्याप्चे संग तुलना गर्न नसकिने भन्ने राय व्यक्त भै आएको भन्ने देखिन्छ । यसप्रकार भरपाइको ल्याप्चे छापहरुको रेखाहरु प्रष्ट नदेखिने भनिएको र भरपाइलाई इन्कार गरी वादी र भरपाइ गरी दिने भनिएको विलट महतोले वयान गरेको अबस्थामा त्यस्तो भरपाइलाई प्रमाणयोग्य मान्न नमिल्ने ।
§ सांवा व्यांज प्रतिवादीले बुझाएको प्रमाणित हुन नआएको र लिखत बमोजिमको जग्गा वादी पक्षले भोग गरेको भन्ने प्रतिवादी जिकिर नहुंदा रजिष्ट्रेशनको ६ नं. ले कानून बमोजिमको व्यांज समेत कपाली सरह भराई लिन पाउने नै देखिदा उल्लेखित आधार कारणवाट वादी दावी बमोजिमको सांवा व्यांज वादीले प्रतिवादीवाट भरी पाउने ठहर्याएको पुनरावेदन अदालत राजविराजको ०५६।१।१६ को फैसला मिलेकै देखिदा सदर हुने ।
(प्र.नं. १५ देखि १७)
पुनरावेदक प्रतिवादी तर्फवाटः विद्वान अधिवक्ता श्री विजयकुमार राय
विपक्षी वादी तर्फवाटः
अवलम्वित नजिरः ने.का.प. २०५२, पृष्ठ ३८१, ने.का.प. २०५६, पृष्ठ ५३
फैसला
न्या.खिलराज रेग्मीः न्याय प्रशासन ऐन, २०४८ को दफा ९ अन्तर्गत पुनरावेदन अदालत राजविराजको ०५६।१।१६ को फैसला उपर यस अदालत समक्ष पुनरावेदक प्रतिवादीको तर्फबाट पुनरावेदन पर्न आएको प्रस्तुत मुद्दाको सँक्षिप्त तथ्य एवं ठहर यसप्रकार छ :–
२. विपक्षीले आफ्ना नाम दर्ताको जि सि. गा. वि. स. गोविन्दपुर वा. नं. ९(क) कि. नं. ५१ को ०–५–० मध्ये पश्चिमबाट ०–४–० जग्गा पारित गरी दिने शर्त राखी म संग मिति ०४९।१।११ गते रु १२,०००।– बुझी राजीनामाको लिखत गरी दिएकोमा सो जग्गा पारित गरी नदिएको र सांवा व्यांज माग गर्दा समेत नदिएकोले उक्त सांवा व्यांज र कोर्ट फि. समेत विपक्षीबाट दिलाई भराई पाउँ भन्ने समेतको फिराद पत्र ।
३. विपक्षीको दाबी बमोजिम मैले विपक्षीसंग जग्गा विक्री गर्ने शर्त राखी सुक्री विक्री राजीनामा लिखत गरी दिएको भएता पनि विपक्षीको दाबीको सांवा व्यांज विपक्षीका संगोलका वावुलाई मिति ०५१।१२।२४ गते बुझाई सकेकोले विपक्षीको दाबी बमोजिमको सांवा व्यांज मैले विपक्षीलाई पुनः तिर्नु बुझाउनु पर्ने छैन हैन । विपक्षीको म उपरको कुनै पनि दाबी पुग्नु पर्ने हैन के कस्तो तमसुकको आधारमा मुद्दा दिएका हुन् ? दाबीको तमसुक अ. वं. ७८ नं. बमोजिम देखाई सुनाई पाउँ भन्ने समेत व्यहोराको प्रतिउत्तर जिकिर ।
४. लिखतमा भएको सहीछाप मेरै हो तर मैले उक्त लिखत बमोजिमको सांवा तथा व्यांज समेत मिलाई जम्मा रु १३,७००।– वादीका पिता विलट महतोलाई तिरी बुझाई मिति ०५१।१२।२४ मा भरपाइ समेत लिई सकेको हुनाले सांवा व्यांज वादीलाई तिर्नपर्ने हैन भन्ने समेत प्र. वौयलाल महतोले मिति ०५३।१२।२५ मा गरेको बयान ।
५. प्र. ले हालसम्म वादीलाई सांवा व्यांज बुझाएको छैन । साथै प्र. ले पेश गरेको भरपाइमा भएको सहीछाप विलटको होइन । सो भरपाइ किर्ते हो भन्ने समेत वादीको वा. राम आषिश महतोको मिति ०५३।१२।२५ गतेको बयान ।
६. भरपाइमा भएको सहीछाप मेरो होइन । प्र. ले कुनै पनि मितिमा रुपैयाँ बुझाएको छैन र मैले निजलाई कुनै भरपाइमा सहीछाप गरी दिएको समेत छैन । उक्त भरपाइ जालसाजीवाट तयार भएको हो भन्ने समेत अ. वं. १३९ नं. बमोजिम बुझिएको विलट महतोले मिति ०५४।१।३० मा गरेको बयान ।
७. उक्त मितिको भरपाइ सद्दे व्यवहारको हो सो भरपाइ यस मुद्दाका वादी राम कुमारको वावु वौएलालले वादीसंग ऋण लिए वापत रुपैयाँ बुझाई गरी दिएको हो मेरै सामु वादीका पिता विलटले रुपैयाँ बुझी भरपाइ गरी दिएकोले सो सद्दे हो, जालसांज होइन, भन्ने समेत उक्त भरपाइका साक्षी नन्दीलाल महतोले मिति ०५४।८।२६ गते अदालतमा गरेको बयान ।
८. यसमा प्रस्तुत फिराद लेनदेन व्यवहारको हदम्याद नघाई आएको र वादीका बाबुलाई रुपैया बुझाई सो को भरपाइ समेत पेश भएबाट वादी दावी पुग्न नसक्ने ठहर्छ भन्ने सिराहा जिल्ला अदालतको मिति ०५४।९।२० गतेको फैसला ।
९. राजीनामाको लिखतलाई शर्तनामाको लिखत भनी व्याख्या गरी २ बर्षे हदम्याद लगाई दाबी नपुग्ने भनी गरेको शुरुको फैसला त्रुटीपूर्ण हुंदा सो बदर गरी फिराद दाबी बमोजिम गरी पाउं भन्ने पुनरावेदन जिकिर ।
१०. यसमा सर्वोच्च अदालतको ने. का. प. ०५२ पृष्ठ ३८१ नि. नं. ५०९९ को सिद्धान्त विपरीत शुरुले गरेको निर्णय फरक पर्ने देखिदा अ. वं. २०२ नं. बमोजिम प्रत्यर्थी झिकाई पेश गर्नु भन्ने पुनरावेदन अदालतको मिति ०५५।९।८ को आदेश ।
११. लेनदेन व्यवहारको ४० नं. को हदम्याद लाग्ने भनि शुरु सिरहा जिल्ला अदालतले वादी दावी नपुग्ने ठहराई गरेको मिति २०५४ साल पौष २० गतेको फैसला नमिलेकोले सो फैसला उल्टी भई वादी दावी बमोजिम प्रतिवादीवाट वादीले सांवा व्यांज रुपैयाँ भरी पाउने ठहर्छ भन्ने पुनरावेदन अदालत राजविराज सप्तरीको मिति २०५६।१।१६।५ को फैसला ।
१२. उक्त फैसला उपर मलाई चित्त बुझेन । हदम्याद विहीन दायर भएको फिराद खारेज गरी पाउँ । मैले साँवा व्यांज बुझाई विपक्षीका एकासंगोलका पिताले गरी दिनु भएको भरपाइलाई मान्यता नदिई शुरु फैसला उल्टाई गर्नु भएको पुनरावेदन अदालत राजविराजको पैसलामा गम्भीर त्रुटी भएकोले सो त्रुटीपूर्ण फैसला बदर गरी शुरु जिल्ला अदालतवाट भएको न्यायीक इन्साफ सदर गरी पाउँ भन्ने समेतको पुनरावेदक प्रतिवादीको तर्फवाट यस अदालत समक्ष दायर हुन आएको पुनरावेदन ।
१३. नियम बमोजिम दैनिक पेशी सूचीमा चढी यस इजलास समक्ष पेश हुन आएको प्रस्तुत मुद्दामा पुनरावेदक प्रतिवादीका तर्फवाट उपस्थित विद्वान अधिवक्ता श्री विजय कुमार रायले पुनरावेदन अदालत राजविराज सप्तरीले शुरु जिल्ला अदालतले गरेको फैसलालाई उल्टी गरी वादीको सांवा व्यांज भरी पाउने गरी गरेको फैसला मिलेको छैन । वादीलाई बुझाउनु पर्ने रकम निज वादी घरमा नभएकोले एका घरमा वस्ने मुख्य मानिस नै निजका वावु विलट महतोलाई बुझाएको हो । रकम बुझाउंदाको साक्षी नन्दीलाल स्वयंले रकम बुझाएको कुरालाई भरपाइलाई समर्थन हुनेगरी बकिदिएका छन्, तसर्थ यस्तो अबस्थामा पुनरावेदन अदालतको फैसला उल्टी गरी वादीदावी नपुग्ने गरी गरेको शुरु जिल्ला अदालतको फैसला सदर कायम हुनु पर्दछ भनि बहस प्रस्तुत गर्नुभयो ।
१४. विद्वान अधिवक्ताको बहसका साथै मिसिल कागजातहरु समेत अध्ययन गरी हेर्दा मिति २०४९।१।११ ले आज सम्मको जम्मा अवधि ४ बर्ष ३ महिना २४ दिन व्यांज र सांवा रु.१२,०००।– व्यांज समेत गरी जम्मा हुन आउने रकम रु १७,१८२।९२ विपक्षीबाट दिलाई भराई पाउँ भन्ने नै मूख्य दाबी जिकिर भएको र वादीसंग लिएको ऋण रकम र सो को व्यांज समेत जम्मा रु १३,७००।– विपक्षी घरमा नभएकोले निजका पिता विलटलाई भरपाइका साक्षी नन्दीलालको रोहवरमा बुझाई सकेको र तमसुक माग्दा हाल अलमलिएको छ फेलापरेको छैन भनि आलटाल गरेको र हाल विपक्षीले सोही तमसुकलाई आधार बनाई मलाई दुःख हैरानी दिने नियतले म उपर मुद्दा दिएकोले त्यस्तो झुठ्ठा मुद्दा खारेज गरी पाउँ भन्ने समेतको प्रतिउत्तर जिकिर भएको प्रस्तुत मुद्दामा शुरु सिराहा जिल्ला अदालतले वादी दाबी नपुग्ने भनी गरेको फैसला उपर पुनरावेदन पर्दा पुनरावेदन अदालत राजविराजले शुरु जिल्ला अदालतको फैसला उल्टी गर्दै वादी दावी पुग्ने गरी गरेको फैसला उपर चित्त नबुझी यी पुनरावेदक प्रतिवादीको तर्फवाट यस अदालत समक्ष पुनरावेदन पर्न आएको पाइन्छ ।
१५. पुनरावेदन अदालत राजविराजले गरेको इन्साफ मिलेको छ, छैन ? र पुनरावेदन जिकिर पुग्ने नपुग्ने के हो ? भनि निर्णयतर्फ विचार गरी हेर्दा शुरुले लेनदेन व्यवहारको ४० नं. को हदम्याद लाग्ने भनी सो को म्याद नघाई आएको भन्ने समेत आधारमा वादी दावी नपुग्ने गरी फैसला गरेको पाइन्छ । यस परिप्रेक्ष्यमा प्रस्तुत मुद्दामा राजीनामा लिखत रजिष्ट्रेशन पारित हुन नसकेकोमा लेनदेन व्यवहारको ४० नं. को हदम्याद लाग्ने हो वा लेनदेन व्यवहारको २ नं. को हदम्याद आकर्षित हुने हो ? भन्ने प्रश्न उपस्थित हुन गएको छ । वादी दावीको लिखत राजीनामा पारित गर्नुपर्ने घरायसी लिखत भएको कुरामा विवाद रहेन । रजिष्ट्रेशन पारित हुन नसकेको कारण कपाली सरह सांवा व्यांजमा दावी गरी फिराद परेको देखिन्छ । रजिष्ट्रेशनको ६ नं. ले रजिष्ट्रेशन गराउनु पर्ने घरायसको लिखत रजिष्ट्रेशन गराई लिन सकेको रहेनछ भने त्यस्तो लिखतवाट कुनै अचल सम्पत्ति पक्री दाबी गरेको नालेस लाग्न सक्दैन । थैली परेकोमा सो थैली र लिखत बमोजिमको सम्पत्ति भोग गर्न नपाएकोमा भोग गर्न नपाए जतिको कानून बमोजिमको व्यांज समेत साहुले कपाली सरह भराई लिन पाउंछ भन्ने व्यवस्था गरेको देखिन्छ । साहु असामी वनी अचल सम्पत्ति वाहेकको रुपैयाँ लेनदेनको कपाली तमसुकी रुपैयाँको लिखतको बिषयमा दाबी लिने सम्बन्धमा लेनदेन व्यवहारको २ नं. मा व्यवस्था भएको पाइने र त्यसमा दावी लिने हदम्याद १० बर्ष कायम रहेको पाइन्छ । रजिष्ट्रेशन पारित हुन नसकेको राजीनामाको लिखतको सम्बन्धमा रजिष्ट्रेशनको ६ न.. ले कपाली सरह दाबी लिन पाउने व्यवस्था गरेको र कपालीको हकमा लेनदेन व्यवहारको २ नं. ले १० बर्ष भित्र नालेस लाग्ने हुंदा उक्त कपाली सरहको राजीनामा पारित हुन नसकेको लिखतको हकमा पनि उल्लेखित लेनदेन व्यवहारको २ नं. को हदम्याद नै आकर्षित हुने देखियो ।
१६. जहांसम्म लेनदेन व्यवहारको ४० न.. को हदम्याद प्रस्तुत विवादमा आकर्षित हुन्छ कि भन्ने प्रश्न छ । लेनदेन व्यवहारको ४० नं. मा यस महलमा अन्यत्र हदम्याद लेखिएको वा हदम्याद लाग्दैन भनेको कुरामा वाहेक अरुमा भए गरेको मितिले दुई बर्ष भित्र नालिस नदिए लाग्न सक्दैन भन्ने व्यवस्था भएको पाईने र उल्लेखित रजिष्ट्रेशनको ६ नं. र लेनदेन व्यवहारको २ नं. को कानूनी व्यवस्था बमोजिम रजिष्ट्रेशन पारित हुन नसकेको राजीनामाको हकमा २ बर्षको हदम्याद आकर्षित हुने देखिदा अन्यत्र हदम्यादको व्यवस्था भएको प्रस्तुत विवाद देखिन आएकोले प्रस्तुत मुद्दामा लेनदेन व्यवहारको ४० नं. आकर्षित हुने नभै सो को हदम्याद लाग्ने देखिएन । यस्तै प्रश्न समावेश भएको ने. का. प. ०५२ नि. नं. ५०९९, पृ. ३८१ तथा ने. का. प. ०५६ नि. नं. ६६५८ पृ. ५३ लेनदेन मुद्दाहरुमा पनि यस अदालतवाट घरसारमा खडा भएको राजीनामा लिखत पारित नभए कपाली सरह हुने र कपाली भएपछि सो मा उजुर गर्ने हदम्याद लेनदेन व्यवहारको २ नं. ले १० बर्षको हदम्याद हुने भन्ने सिद्धान्त प्रतिपादन भै रहेको पाइन्छ । त्यसै प्रस्तुत मुद्दामा लेनदेन व्यवहारको २ नं. को हदम्याद आकर्षित हुने र सो अनुरुप दायर भएको फिरादलाई म्याद नाघी दायर भएको भन्न मिलेन ।
१७. अव सांवा व्यांज भरी पाउने नपाउने के हो ? भन्ने सम्वन्धमा विचार गर्दा लिखत भएको कुरालाई प्रतिवादीले स्वीकारै गरेको पाइदा लिखतको कुरामा अरु विचार गरी रहनु परेन । जहांसम्म लिखत बमोजिम सावा व्यांज वादीका वावु विलट महतोलाई तिरी बुझाई निजवाट ०५१।१२।२४ मा भरपाइ समेत लिएको भन्ने प्रतिवादी जिकिर एवं बयानको प्रश्न छ, वादीले सो भरपाइलाई कीर्ते जालसाजी भनी बयान गरेको र बुझिएका बादीका वावु विलट महतोले रुपैयाँ बुझाएको छैन र भरपाइमा सहीछाप गरी दिएको छैन भनी बयान गरी दिएको पाइन्छ । विशेषज्ञद्वारा भरपाइ परीक्षण गराइएकोमा भरपाइमा भएको ल्याप्चेछापहरु, मसी ज्यादा भई रेखाहरु प्रष्ट नबुझिने भएकोले नमूना लिएको ल्याप्चे संग तुलना गर्न नसकिने भन्ने राय व्यक्त भै आएको भन्ने देखिन्छ । यसप्रकार भरपाइको ल्याप्चे छापहरुको रेखाहरु प्रष्ट नदेखिने भनिएको र भरपाइलाई इन्कार गरी वादी र भरपाइ गरी दिने भनिएको विलट महतोले वयान गरेको अबस्थामा त्यस्तो भरपाइलाई प्रमाणयोग्य मान्न मिलेन । यसप्रकार सांवा व्यांज प्रतिवादीले बुझाएको प्रमाणित हुन नआएको र लिखत बमोजिमको जग्गा वादी पक्षले भोग गरेको भन्ने प्रतिवादी जिकिर नहुंदा रजिष्ट्रेशनको ६ नं. ले कानून बमोजिमको व्यांज समेत कपाली सरह भराई लिन पाउने नै देखिदा उल्लेखित आधार कारणवाट वादी दावी बमोजिमको सांवा व्यांज वादीले प्रतिवादीवाट भरी पाउने ठहर्याएको पुनरावेदन अदालत राजविराजको ०५६।१।१६ को फैसला मिलेकै देखिदा सदर हुने ठहर्छ ।
मिसिल नियमानुसार गरी बुझाई दिनु ।
उक्त रायमा म सहमत छु ।
न्या.हरिजंग सिजापती
इति सम्वत २०६१ साल श्रावण २९ गते रोज ६ शुभम् ........