शब्दबाट फैसला खोज्‍नुहोस्

निर्णय नं. ७४०८ - भ्रष्टाचार

भाग: ४६ साल: २०६१ महिना: कार्तिक अंक:

निर्णय नं.७४०८     ने.का.प.२०६१               अङ्क ७

 

संयुक्त इजलास

माननीय न्यायाधीश श्री हरिप्रसाद शर्मा

माननीय न्यायाधीश श्री खिलराज रेग्मी

संवत् २०५५ सालको फौ.पु.नं.  .....२०३८

फैसला मितिः २०६०।१२।२।२

 

मुद्दा :भ्रष्टाचार ।

 

पुनरावेदक

प्रतिवादीः जिल्ला ताप्लेजुङ्ग  म्याङलुङ गाउँ विकास समिति वडा नं. ७ वस्ने तत्कालिन डिपो कार्यालय, पाँचथर गोपेटारका क्लर्क खेमप्रसाद ढुङ्गाना

विरुद्ध

विपक्षी

वादीः  नेपाल खाद्य संस्थान शाखा कार्यालय, पाँचथरको पत्रले श्री ५ को सरकार 

 

§  सामान नै नहेरी श्रेस्ताअनुसार वुझेको हुँ भन्ने प्रतिवादीको भनाइबाट नै लापरवाही गरेको तथ्य स्थापित हुन आउने ।

§  लापरवाही गरेको तथ्यमा सावित भएपछि आफ्नो जिम्मामा रहेको सामानको उचित संरक्षण र व्यवस्थापन गर्नुपर्ने कानूनी दायित्वबाट निजले उन्मुक्ति पाउन सक्ने अवस्था नदेखिने

§  लापरवाही गरेको कारणबाट संस्थाको जिन्सी हिनामिना भै हानी नोक्सानी पुर्याएको कार्यलाई भ्रष्टाचारको कसूर मानिने कानूनी व्यवस्था भएकोले प्रतिवादीले कसूरबाट सफाइ पाउनु पर्दछ भनी लिएको जिकिर र यस अदालतबाट विपक्षी झिकाउँदा उदृत गरिएको नजिर समेत प्रस्तुत विवादको सन्दर्भमा उपयुक्त र ग्रहणयोग्य नदेखिने ।

                         

पुनरावेदक प्रतिवादीतर्फवाटः विद्वान सहन्यायाधिवक्ता श्री पुष्पराज कोइराला

विपक्षी वादीतर्फवाटः

अवलम्वित नजिरः

 

फैसला

            न्या.हरिप्रसाद शर्माः पुनरावेदन अदालत इलामको मिति २०५३।१०।१५ को फैसला उपर न्याय प्रशासन ऐन, २०४८ को दफा ९(१) को खण्ड (ग) वमोजिम पुनरावेदन परी पेश हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य र ठहर यसप्रकार छ :-  

            २.    यस शाखा कार्यालय अन्तर्गतको डिपो कार्यालय गोपेटारमा कार्यरत क्लर्क श्री खेमप्रसाद ढुङ्गाना त्यस डिपो कार्यालयमा कार्यरत भै कारोवार गर्दा निज जिम्मा रहेको खाद्यान्न मिति २०५०।२।३० र २०५०।३।३१ मा डिपो प्रमुख राजलालप्रसाद शाहलाई वरवुझारथ गर्दा खाद्यान्न एवं वोरा धरौटी भएको हुँदा संस्थानको विक्री मूल्यअनुसार हुने रकम रु. ९०,८०७। मध्ये यस कार्यालयमा निजले वैंक दाखिला गरेको रकम र तलवबाट कटृा भएको रकम रु. १२५३०।६७ कटृा गरी वाँकी रकम रु. ७८२७५।३३ भ्रष्टाचारमा कारवाही चलाई असूल उपर गरी दिनुहुन भनी नेपाल खाद्य संस्थान शाखा कार्यालय पाँचथरको मिति २०५०।५।६ को जिल्ला प्रशासन कार्यालय पाँचथर फिदिमलाई लेखेको पत्र ।

            ३.    अरुवा आउ वाँस चामल ४६६.३० क्विण्टल, उसिना र मोटा चामल ३९.४५ क्वीन्टल वरवुझारथ गर्दा त्यस मध्ये अरुवा आउ वांस चामल ५३.३७ क्वीण्टल र उसिना मोटा चामल ३१.५९ क्वीण्टल वुझाउंदा घटी बुझाएको हुँ । म चामलको रुपैया दाखिला गर्न ७ दिन १५ दिनमा पाँचथर फिदिममा आउने जाने गर्थें । सो अवस्थामा डिपो प्रमुख वावुराम अधिकारीलाई चावी दिने गरेको थिएंँ । सो अवस्थामा म गोदाममा गई के कति खाद्यान्न छ भनी हेरिन । विश्वासमा थिएँ । तत्काल गोदाम खाली गर्न सकिने अवस्था पनि थिएन । मैले तत्कालिन डिपो प्रमुख वावुराम अधिकारीबाट ४८५ क्वीण्टल खाद्यान्न चामल २०४८ माघमा गोदामको खाता हेरी खाताअनुसार सही गरी बुझी लिएको हुं । मैले निज वावुरामलाई चावी दिंदा विश्वासमा दिएको हुँ । यस्मा कारवाही भएमा तिर्न मन्जुर छु । मैले मासेको चामल मध्येबाट नेपाल बैंक लिमिटेड, फिदिममा तलव कटृा गरी १२५३१।६७ पैसा जम्मा गरी सकेको छु । वोराहरुको मूल्य ठहरे वमोजिम वुझाउन तयार छु । मेरो जिम्माको खाद्यान्न चामल मैले सवै राजलाल शाहलाई वुझाई सकेको छु भन्ने समेत व्यहोराको प्रतिवादी खेमप्रसाद ढुङ्गानाले मिति २०५०।५।६ र २०५०।५।७ मा जिल्ला प्रशासन कार्यालय पाँचथरमा गरेको वयान ।

            ४.    यस कार्यालय अन्तर्गत गोपेटार डिपोमा तत्कालिन क्लर्क खेमप्रसाद ढुङ्गानाले खाद्यान्न हिनामिना गरेको रु. ७८,२७५।३३ भ्रष्टाचारमा कारवाही चली रहेकोमा निज यस संस्थानको सेवामा कार्यरत भएको अवधि आ.व. २०४८।२०४९ मा खाद्यान्न कारोवार गर्दा धरौटी देखिएको खाद्यान्न मध्ये नियमानुसार मिन्हा दिई खाद्यान्नको हुने रकम रु. १७,१२४।६० समेत असूल उपरको लागि जिल्ला प्रशासन कार्यालय पाँचथरलाई अनुरोध गर्ने निर्देशन हाम्रो प्रधान कार्यालयबाट प्राप्त हुन आएकोले उल्लिखित रकम निज खेमप्रसाद ढुङ्गानासंग असूल उपर गराई दिनु हुन भनी मिति २०५०।६।१४ मा नेपाल खाद्य संस्थान शाखा कार्यालय पाँचथरले जिल्ला प्रशासन कार्यालय पाँचथरलाई लेखेको पत्र ।

            ५.    सो डिपो गोपेटारमा कार्यरत डिपो प्रमुख केदार नेपालसंग मैले खाद्यान्न बुझी लिंदा खाताअनुसार खाद्यान्न ३०.०० क्वीण्टल मात्र बुझी लिएपछि गोदाम खोली हेर्दा ६.०० क्वीण्टल मात्र रहेछ । सो वारेमा के भो त भनी केदार नेपाललाई सोध्दा अलि कति खाद्यान्नको रकम म संगछ । नपुग तलव भत्ता लिएर रकम वुझाई दिन्छु भनी हामी दुवैजना फिदिम आयौं र हाकिम हुनु हुँदो रहेनछ तलव भत्ता लिन पाइएन । केदार नेपाल घरतिर लाग्नु भयो । निजसंग मैले कुनै रकम लिईन । पछिबाट हाकिम आएपछि निज केदार नेपाल आउनु भएको थिएन । मैले फिदिमको हाकिमसंग खातामा ३० क्वीण्टल रहेछ, सोअनुसार वुझें । गोदाम हेर्दा ६ क्वीण्टल मात्र रहेछ भन्दा तपाईहरु आफै मिल्नुहोस म पनि भनी दिउँंला भन्नु भएको थियो । केदार नेपालसंग मेरो भेट भएन । वर्ष भरी कारोवार गरी आषाढ मसान्तमा खाता वन्द हुँदा त्यहाँ २४ क्वीण्टल चामल घटी देखियो । वाँकी १७ क्वीण्टल मेरो नाममा नभई रमेश ढुङ्गाना भनी वेरुजु आएको थियो । म आफुले खाई मासेको थिईन । वर वुझारथ गर्दा विश्वासले खातामा आम्दानी भएअनुसार वुझें । गोदाम सो अवस्थामा नहेरेको मेरो गल्तीको कारणले मैले तिर्नुपर्ने ठहरिएको सम्म हो । मैले खाई मासेको होइन भन्ने मिति २०५०।८।१३ मा प्रतिवादी खेमप्रसाद ढुङ्गानाले जिल्ला प्रशासन कार्यालय, पाँचथरमा गरेको वयान ।

            ६.    निज खेमप्रसाद ढुङ्गाना आफु कार्यरत डिपोमा रहँदा खाद्यान्न र वोराको जम्मा रु. ९५३९९।९३ वरावरको रकम हिनामिना गरेको हुँ भनी वयान स्विकार गरेको हुँदा र सम्वन्धित निकायबाट निजले आफ्नो जिम्मा रहेको खाद्यान्न र वोरा समेत हिनामिना गरेको हुँदा कारवाही गरी पाउँ भनी लेखी आएकोले निज खेमप्रसादले भ्रष्टाचार निवारण ऐन, २०१७ को परिच्छेद २ को दफा १३ वमोजिमको कसूर मिसिलबाट पुष्टी हुन आएकोले निजलाई सोही ऐनको दफा २०(३) वमोजिम कारवाही गरी परिच्छेद २ को दफा १३ वमोजिम हदैसम्मको माग दावी लिइ पाँचथर जिल्ला अदालतमा मुद्दा दायर गर्न रायसाथ त्यहाँबाट प्राप्त भएको सक्कलै मिसिल फिर्ता पठाइएको भनी जिल्ला सरकारी वकील कार्यालय पाँचथर फिदिमको मिति २०५०।१०।१० को जिल्ला प्रशासन कार्यालय, पाँचथरलाई लेखेको पत्र ।

            ७.    हालसम्मको अनुसन्धान तहकिकातबाट प्राप्त हुन आएका प्रमाण कागजातहरु अध्ययन गरी अभियोगतर्फ विचार गर्दा नेपाल खाद्य संस्थान शाखा कार्यालय पाँचथर फिदिमको पत्र निज खेमप्रसाद ढुङ्गानाले मिति २०५०।५।६, २०५०।५।७ र २०५०।८।१३ गते वयान गर्दा आफ्नो जिम्मा रहेको खाद्यान्न तथा बोराहरु समेतको जम्मा रु.९५३९९।९३ वरावरको रकम हिनामिना गरेको कुरा आफुले स्वयं स्विकार गरेको जिल्ला न्यायाधीशको अनुमति लिई म्याद थप गरी २०५०।५।७ को आदेशानुसार थुनामा राखी जिल्ला तेह्रथुम म्याङलुङ २ वस्ने सूर्य नारायण ढुङ्गानाका नामको कि.नं. १०४ र कि.नं. १०२ का जग्गाहरु जेथा धरौटी राखी मिति २०५०।५।१३ देखि तारेखमा राखिएको निज अभियुक्त जिम्मा रहेको हिनामिना गरेको खाद्यान्न तथा वोराहरु विवरण र प्रमाणित प्रतिलिपिहरु नेपाल खाद्य संस्थान शाखा कार्यालय, पाँचथर फिदिमको मिति २०५०।८।२५ को पत्रसाथ प्राप्त हुन आएको जिल्ला सरकारी वकिल कार्यालय पाँचथर फिदिमको मिति २०५०।१०।१० को पत्रबाट भ्रष्टाचार निवारण ऐन, २०१७ को परिच्छेद २ को दफा १३ वमोजिम हदैसम्मको माग दावी लिई पाँचथर जिल्ला अदालतमा मुद्दा दायर गर्न पठाएको राय समेतको आधारमा निज अभियुक्त खेमप्रसाद ढुङ्गानालाई भ्रष्टाचार निवारण ऐन, २०१७ को परिच्छेद २ को दफा १३ वमोजिम कसूर गरेको कुरा पुष्टि हुन आएकोले सोही ऐनको दफा २०(३) वमोजिम विभागीय कारवाहीको लागि भविष्यमा सरकारी नोकरीको लागि अयोग्य ठहरीने गरी कारवाहीको लागि लेखी सकिएको हुँदा भ्रष्टाचार निवारण ऐन, २०१७ को परिच्छेद २ को दफा १३ वमोजिमको कसूर गरेकोले सोही ऐनको परिच्छेद ५ को दफा २४(१) मा भएको व्यवस्थाअनुसार सोही ऐनको दफा २९ वमोजिम विगो र विगो वमोजिमको जरिवाना र दफा १३ वमोजिम हदैसम्मको सजाय हुन निज खेमप्रसाद ढुङ्गानालाई र सवुद प्रमाण रहेको मिसिल समेत अदालत समक्ष पेश गरेको छु भन्ने मिति २०५०।१०।१७ को अभियोगपत्र ।

            ८.    म च्याङथापु डिपो कार्यालयबाट २०४७ साल पौष महिनामा डिपो कार्यालय गोपेटारमा सरुवा भई आएँं । गोपेटारमा डिपो प्रमुख केदार नेपाल हुनुहुन्थ्यो । उहाँको सरुवा पाँचथर दसमी आरुवोटेमा भएकोले निज जिम्मा रहेको उसिना मसिनो चामल ३० क्वीण्टल र ठुलो वोरा २३ सय थान बुझी लिएँ । मैले केदार नेपालसंग खाद्यान्न सामानहरु वुझ्दा गोदाममा गएर सामान र चामल हेरी भरपाइ गरी दिएको नभै विश्वासले भरपाइ गरी दिएं । उहाँ गएपछि गोदाम हेर्दा चामल ६ क्वीण्टल र वोरा २३ सय थान थियो । त्यसपछि मैले संस्थान शाखा प्रमुख, विवेश कुमार कुँवरसंग आइ कुरा गर्दा ६ क्वीण्टल मात्र चामल भए त्यतिनै चामलको पैसा जम्मा गर्नु । वाँकी २४ क्वीण्टलको सर्टेज माग गर्न सिफारिश पठाई दिउँला भन्नु भएकोले मैले सर्टेजको माग गरी पठाएकोमा ७ क्वीण्टल माफी आयो र अरु वाँकीको पैसा तिर्नु भन्ने प्रधान कार्यालय काठमाडांैबाट आएकोले १७ क्वीण्टल चामलको रु. १७१२४।६० पैसा म भन्दा अगाडिको डिपो हाकिम केदार नेपालले नै खाई मासी मलाई झुक्याई भरपाइ सम्म गराएको हुँदा मैले तिर्नु पर्ने नभै केदार नेपालले तिर्नु पर्ने हो । केदार नेपाल पछाडि वावुराम अधिकारी डिपो प्रमुख भै आउनु भयो । म सहायकको रुपमा काम गरेको थिएं । चामल आइरहेको थियो । उहाँले अरुवा चामल तपाईले वुझ्नु होस, उसिना चामल म वुझुँला भन्नु भएकोले सवै चामल मैले ३६, ३७ सय क्वीण्टल बुझी गोदाममा राखिएको थियो । त्यसवेला वावुरामले च्याङथापु डिपोमा ढुवानी गरेको चामल बाटोमा रेखदेख गर्न मौखिक आदेश दिएकोले म सहायक कर्मचारीको हैसियतमा हाकिमले भनेको कुरा मान्न वाध्य भै च्याङथापु तिर गएको थिएँ । सवै गोदामको चावी डिपो प्रमुखले नै राख्ने हुँदा उनले सो चामल के कसो गरी विक्रि वा हिनामिना गरे उनैले जान्ने हुँदा निजबाट असूल उपर गरी पाउँ । तसर्थः विगो रु. ७८२७५।३३ पनि मैले हिनामिना नगरेकोले सो दावी समेतबाट सफाइ पाउँ । मैले वावुरामबाट बुझिलिएको ४८५ क्वीण्टल चामल पनि उल्लेख गरिएको ३६, ३७ सय क्वीण्टल भित्र कै चामल हुँदा केही दिन विदा जाँदा मैले वुझे पनि विदाबाट आएपछि सवै रकमको उक्त चामल निजै वावुरामलाई जिम्मा दिएको हुँदा निजैबाट असूल उपर गरी पाउँ । सानो वोरा १०२ थान पनि वावुराम अधिकारी जिम्मा नै हुँदा मैले तिर्नु पर्ने होइन । मैले खाद्य संस्थानको रकम हिनामिना गरेको नहुँदा अभियोगपत्र म विरुद्धको हो । जिल्ला प्रशासन कार्यालय पाँचथरमा २०५०।५।६ मा र २०५०।८।१३ मा वयान गर्दा मेरो विरुद्धमा लेखिएको हो । मैले कुनै कसूर नगरेको हुँदा अभियोग प्रतिवेदन दावी वमोजिम सजाय नहोस । तत्कालिन डिपो प्रमुख केदार नेपाल र वावुराम अधिकारीलाई बुझी निजहरुबाट विगो असूल उपर गरी सफाइ पाउँ भन्ने मिति २०५०।१०।१८ को प्रतिवादी खेमप्रसाद ढुङ्गानाले अदालतमा गरेको वयान ।

            ९.    म २०४८ सालमा डिपो कार्यालय गोपेटारमा डिपो प्रमुख भै गएको हुँ । मैले त्यहांका डिपो प्रमुख केदार नेपाल जिम्मा रहेका मध्ये एकिन गर्न सकिन अंन्दाजी दुई अढाई सय क्वीण्टल अरुवा चामल र सो मा कस्ती वोरा वुझे । पछि पटक पटक प्राप्त हुन आएका बिभिन्न किसिमका चामल वोराहरु प्रमुखको हैसियतले म र कहिले खेमप्रसादले वुझ्ने गरेका थियौं । कोठा सानो भएकाले ६।७ वटा गोदाममा चामल राखेको थियो । म साथै खेमप्रसाद आलोपालो गरी घर अथवा विभिन्न ठाउँमा काजमा जाने गरेका थियौं । ४ वटा गोदामको चावी म संग र अरु गोदामको चावी निज खेमप्रसाद संग रहने गरेको थियो । आलोपालो गरी जाँदा आफु जिम्मा रहेको गोदामबाट चामल खर्च गर्ने गरेको थियो । अनुकूलता हेरी आएको चामल जो सुकैले पनि वुझ्ने गरेका थियौं । मैले खेमप्रसादलाई मौखिक आदेशबाट च्याङ्थापु पठाई निजबाट चावी लिई निज जिम्मा रहेको चामल र वोराहरु हिनामिना गरेको छैन । म सरुवा भै धनकुटा जाँदा मेरो जिम्मा रहेको जिन्सी नगदी मेरो ठाउमा आउनु भएका राजलालप्रसाद साहलाई वरवुझारथ गरी साक्षी निज खेमप्रसादलाई राखेको छु । वादी दावीअनुसार हिनामिना गरेको छैन भन्ने बुझीएका वावुराम अधिकारीले अदालतमा गरेको मिति २०५१।१०।६ को वयान ।

            १०.    नेपाल खाद्य संस्थान ऐन, २०२१ अन्तर्गत स्थापित एउटा कानूनी व्यक्ति भएकोले यसको हक अधिकार र दायित्व व्यक्ति सरह नै रहन्छ । त्यस्तो कानूनी व्यक्तिले आफ्नो मातहतका कुनैपनि कर्मचारीले संस्थानको सम्पत्ति हिनामिना गर्यो भने निज उपर अन्य प्रचलित कानून वमोजिम कारवाही गरी विगो असूल उपर गर्न सक्ने नै देखिएकोले भ्रष्टाचार निवारण ऐन नै अवलम्वन गर्नुपर्ने एक मात्र विकल्परहित उपाय होइन र सो वमोजिम कारवाही गर्न मिल्ने पनि देखिदैन । सर्वोच्च अदालतबाट प्रतिपादित सस्थानको रकम भ्रष्टाचार गरेमा संस्थाले कानूनअनुसार असूल उपर गरी लिन सक्ने भै भ्रष्टाचार गरेको ठहर्याई सजाय समेत गरेको नमिल्ने भन्ने सिद्वान्तबाट पनि प्रतिवादीले संस्थानको सम्पत्ति हिनामिना गरेको हुँदा विगो भराई सजाय गरी पाउँ भन्ने श्री ५ को सरकारको माग दावी पुग्न सक्दैन । प्रतिवादिले आरोपित कसूरबाट सफाइ पाउने ठहर्छ भन्ने समेत व्यहोराको पाँचथर जिल्ला अदालतको मिति २०५२।५।२५।१ को फैसला ।

            ११.    सर्वोच्च अदालतबाट प्रतिपादित कतिपय नजिरहरुबाट समेत संस्थानको सम्पत्ति हिनामिना भएकोमा भ्रष्टाचार निवारण ऐन आकर्षित हुनेछ भन्ने स्पष्ट हुँदाहुँदै भ्रष्टाचार निवारण ऐन अन्तर्गत कारवाही गर्न नमिल्ने ठहर्याएको पाँचथर जिल्ला अदालतको फैसला सरासर कानूनी त्रुटीपूर्ण हुँदा सो वदर गरी शुरु माग दावी वमोजिम प्रतिवादीलाई सजाय होस भन्ने समेत व्यहोराको वादी श्री ५ को सरकारको पुनरावेदन अदालत, इलाममा परेको पुनरावेदन पत्र ।

१२.   भ्रष्टाचार निवारण ऐन वमोजिम कारवाही गर्न नमिल्ने भनी गरेको सुरुको फैसला फरक पर्न सक्ने देखिंदा अ.वं. २०२ नं. वमोजिम प्रत्यर्थी झिकाई नियमानुसार पेश गर्नु भन्ने पुनरावेदन अदालत, इलामको मिति २०५३।२।२३।४ को आदेश ।

१३.   प्रतिवादी खेमप्रसाद ढुङ्गाना निर्दोष रहेछन् भन्न सकिने स्थिति नदेखिंदा शुरु जिल्ला अदालतले संस्थानको सम्पत्ति हिनामिना भएको सम्बन्धमा प्रचलित कानून वमोजिम कारवाही हुन सक्ने भनी भ्रष्टाचार निवारण ऐनमा कारवाही चल्न नसक्ने ठहराएको फैसला मिलेको देखिएन । सर्वोच्च अदालत फुलवेन्चबाट ने.का.प. २०४८ अंक ९ पृष्ठ ४७२ मा प्रतिपादित सिद्धान्त समेतबाट प्रतिवादिलाई भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा १३ को कसूरमा ऐ. ऐनको दफा २९(२) वमोजिम विगो भराई विगो वमोजिम जरिवाना हुने ठहर्छ भन्ने समेत पुनरावेदन अदालत, इलामबाट मिति २०५३।१०।१५ मा भएको फैसला ।

            १४.   नजीर अमान्य घोषित नभएसम्म सो नजीरलाई मान्नु पर्दछ । खाद्य संस्थानका कर्मचारीबाट भएको हानी नोक्सानी असूल गर्ने भन्ने कानूनी प्रावधान भएबाट खाद्य संस्थानको कर्मचारीबाट भएको हानी नोक्सानी विभागीय कारवाही अन्तर्गत असूल गर्नुपर्ने स्पष्ट छ । संस्थानको काम कुराको सम्बन्धमा श्री ५ को सरकारले हस्तक्षेप गरी गरेको नालेसबाट इन्साफ हुन नसक्ने हुँदा खारेजभागी छ । मैले विशेष प्रहरी समक्ष वयान गर्दा गोदामको चावी डिपो प्रमुख वावुराम अधिकारीलाई वुझाउने गरेकोमा निजलाई समेत बुझी वयान लिई निज उपर समेत कारवाही चलाउन नालेस गरिनुपर्नेमा गरिएन । मैले खाताअनुसार वरवुझारथ गरेर  लिए पनि सो खाद्यान्न मैले बुझ्नु अगाडि नै नभएको हुँदा मैले मासेको हिनामिना गरेको भन्न मिल्ने देखिदैन । यी सवै कुरालाई वेवास्ता गरी गरिएको पुनरावेदन अदालत, इलामको फैसला त्रुटीपूर्ण हुँदा उल्टाई झुठृा दावीबाट फुर्सद पाउँ भन्ने समेत प्रतिवादी खेमप्रसाद ढुङ्गानाको यस अदालतमा परेको पुनरावेदन पत्र ।

            १५.   पुनरावेदक प्रतिवादी खेमप्रसाद ढुङ्गानाको अदालतमा भएको वयानमा केदार नेपालको नाउँको वेरुजु समेत गाभिएको भ्रष्टाचार मध्येको केही विगो निजको तलवबाट कटृा गरी असूलउपर भईसकेको कुरा सुरु जाहेरी प्रतिवेदनबाट देखिएको, निज प्रतिवादिको नामको वेरुजु वरवुझारथको क्रममा देखिएको र निजले विश्वासमा परी बुझिलिएको स्टोरको (सर्टेज) घटी खाद्यान्नको विगो आफुले वुझाउनु पर्ने कुरा समेत स्वीकार गरेको देखिंदा भ्रष्टाचारको कसूर प्रमाणित हुनको लागि मनसाय तत्वको साथै वदनीयतपूर्ण क्रियाबाट कार्य कारण भएको भन्ने प्रष्ट रुपमा देखिनु पर्ने हुन्छ । यी तत्वको अभावमा भएका क्रियालाई हानी नोक्सानीको आधारबाट मात्रै भ्रष्टाचार गरेको न्यायिक दृष्टिकोणले ठहर गर्न उपयुक्त हुने देखिदैन भनी यस अदालतको पूर्ण इजलासबाट मिति २०५४।७।२८।५ (ने.का.प. २०५४, अंक १०, नि.नं. ६४४८, पृष्ठ ५५३) मा सिद्धान्त समेत प्रतिपादित भइरहेको देखिंदा सो समेतको परिप्रेक्ष्यमा पुनरावेदन अदालत, इलामले पुनरावेदक प्रतिवादीलाई अभियोग दावीअनुसार कसूरदार ठहर गर्ने गरी गरेको फैसला फरक पर्ने देखिंदा अ.वं. २०२ नं. वमोजिम छलफलको लागि महान्यायाधिवक्ताको कार्यालयलाई सूचना दिई नियम वमोजिम पेश गर्नु भन्ने समेत यस अदालतबाट मिति २०५९।३।२८ मा भएको आदेश ।

            १६.    चारथान साँचो डिपो प्रमुख जिम्मा रहेको सर्टेज समेतका सामान नहेरी नबुझी एक जना निरिह मानिसलाई जिम्मा लाइनु, साँचो चांहि अरुनै संग हुनुले यो भ्रष्टाचार सम्बन्धी मुद्दा जानी वुझी तयार गरी पेश गरिएको मात्र हो भन्ने देखिन्छ । यस मुद्दाका अभियुक्तको वद्नीयततत्व देखिंदैन । अतः ने.का.प. २०५४ अंक १० पृष्ठ ५५३ मा प्रतिपादित सिद्धान्त समेतको आधारमा पुनरावेदन अदालत इलामको फैसला वदर गरी पाँचथर जिल्ला अदालतको फैसला कायम गरीपाउँ भन्ने समेत पुनरावेदक खेमप्रसाद ढुङ्गानाकोतर्फबाट अधिवक्ता रामप्रसाद संभवले यस अदालतमा प्रस्तुत गर्नुभएको लिखित वहसनोट ।

            १७.   डिपो प्रमुख वावुराम अधिकारीले प्रतिवादी खेमप्रसादलाई के कति पटक कुन कुन अवधिको लागि कहाँ के कस्तो कामको लागि खटाएको हो स्पष्ट देखिने अभिलेखको प्रमाणित प्रतिलिपि सम्वन्धित खाद्य संस्थानको तत्कालीन डिपो कार्यालय पाँचथर गोपेटारबाट झिकाई आएपछि नियमानुसार पेश गर्नु भन्ने समेत यस अदालतबाट मिति २०६०।८।९ मा भएको आदेश।

            १८.   नियमानुसार दैनिक पेशी सूचीमा चढी पेश हुन आएको प्रस्तुत मुद्दामा वादी श्री ५ को सरकारकातर्फबाट सहन्यायाधिवक्ता श्री पुष्पराज कोइरालाले मौकामा र अदालतमा समेत गरेको प्रतिवादीको वयानबाट धान चामल वोरा हिनामिना गरेको देखिएको स्थितिमा वदनीयत छैन भन्न मिल्दैन भनी वहस जिकिर प्रस्तुत गर्नु भयो ।

            उक्त वहस जिकिर एवं मिसिल संलग्न कागजात अध्ययन गरी शुरु फैसला उल्टी गरी प्रतिवादीले भ्रष्टाचार गरेको ठहर्याएको पुनरावेदन अदालत, इलामको फैसला मिले नमिलेको के रहेछ ? सो सम्बन्धमा निर्णय दिनु परेको छ ।

            १९.    शाखा कार्यालय फिदिम अन्तर्गतको डिपो कार्यालय गोपेटारमा कार्यरत क्लर्क श्री खेमप्रसाद ढुङ्गानाले खाद्यान्न कारोवार गर्दा रु.९०८०७। मूल्य वरावरको खाद्यान्न एवं वोरा घटी भएको देखिएकोले निजले दाखिल गरेको रकम र तलवबाट कटृा भएका रकम रु.१२५३१।६७ कटृी गरी वाँकी रु.७८,२७५।३३ भ्रष्टाचारमा कारवाही चलाई असूल उपर हुन अनुरोध छ भन्ने समेत नेपाल खाद्य संस्थान शाखा कार्यालय फिदिमले जिल्ला प्रशासन कार्यालय पाँचथरलाई लेखेको पत्रको आधारमा प्रस्तुत मुद्दाको कारवाही प्रारम्भ भएको पाइन्छ । प्रतिवादी खेमप्रसाद ढुङ्गानाले अधिकार प्राप्त अधिकारी समक्ष वयान गर्दा डिपो प्रमुख वावुराम अधिकारीबाट खाद्यान्न चामल वर वुझारथ गर्दा खाद्यान्न चामल नहेरी खाता हेरी खाताअनुसार बुझी लिएको हुँ । निज वावुरामलाई आफनो जिम्मा रहेको खाद्यान्न गोदामको चावी दिंदा खाद्यान्न चामल समेत हेरी वुझाउनु पर्ने थियो, तर म विश्वासमा परी निजलाई चावी दिएको हुँदा मैले गल्ती गरेको हुँ । यस्मा कारवाही भएमा म तिर्न मन्जुर छु भनी वयान गरेको देखिन्छ । त्यसै गरी निज प्रतिवादीले अदालतमा वयान गर्दा डिपो प्रमुख केदार नेपाल सरुवा हुँदा खाद्यान्न वुझ्दा सामान र चामल हेरी भरपाइ गरी दिएको नभै विश्वासले भरपाइ गरी दिएको हुँदा निज नेपालले झुक्याई भरपाइ गराएको हुँदा निजैले तिर्नुपर्ने हो । केदार नेपाल पछाडि वावुराम अधिकारी डिपो प्रमुख भै आएपछि संस्थानमा आएको सवै चामल मैले वुझेको उहाँको आदेशानुसार चामल बाटोमा रेखदेख गर्न च्याङथापु तिर गएको र विदामा वसेको वेलामा समेत गोदामको चावी निज वावुरामले नै लिई चामल विक्री वा हिनामिना गरेकोले निजबाट नै असूल उपर गरी पाउँ भन्ने व्यहोरा उल्लेख गरेको देखिन्छ । अधिकार प्राप्त अधिकारी र अदालत समक्ष प्रतिवादीले गरेको वयान व्यहोराबाट समेत आफु कार्यरत डिपोमा प्राप्त चामल वोरा आफुले बुझी लिएको भन्ने तथ्य स्वीकार गरेको देखिन्छ । यसरी बुझीलिएको सामानहरु साविक र हालका डिपो प्रमुखहरुले विक्री र हिनामिना गरेको हुँदा निजहरुबाट असूल उपर गरी पाउँ भनी निजले आफ्नो वयानमा जिकिर लिएको पाइन्छ । मैले हिनामिना गरेको होइन । डिपो प्रमुखहरुबाट विक्री र हिनामिना भएको हो भन्ने जिकिरलाई समर्थन गराउन कुनै ठोस प्रमाण प्रस्तुत गर्न सकेको देखिदैन ।

२०.   भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा १३ मा कुनै राष्ट्रसेवकले आफ्नो ओहदाको वा सो सम्बन्धी काम कुरा गर्दा राष्ट्रिय वा सार्वजनिक सम्पत्ति वा आफ्नो जिम्मा वा नियन्त्रणमा रहेको राष्ट्रको वा श्री ५ वा श्री ५ को सरकारको वा सरकारी मान्यता प्राप्त कुनै संस्थाको चल अचल सम्पत्ति लापरवाही वा वद्नीयत वा जालसाजी गरी हिनामिना, हानी नोक्सानी वा दुरुपयोग गरे गराएमा वा मासेमा वा निजी प्रयोगमा लगाएमा वा त्यस्तो गर्ने गराउने प्रयत्न गरेमा निजलाई कसूरको मात्राअनुसार कैद वा जरिवाना वा दुवै सजाय गरी हिनामिना, हानी नोक्सानी वा दुरुपयोग गरेमा वा मासेको वा मास्न  दिएको सम्पत्ति पनि निजबाट असूल गरीनेछभन्ने व्यवस्था रहेको पाइन्छ । सो दफामा रहेको कानूनी व्यवस्थाबाट लापरवाही गरी संस्थालाई हानी नोक्सानी गरे गराएमा त्यस्तो व्यक्तिलाई कैद वा जरिवाना वा दुवै सजाय गरी विगो समेत असूल गर्न सक्ने देखिन्छ । यी प्रतिवादी नेपाल खाद्य संस्थानमा कार्यरत राष्ट्रसेवक रहेको भन्ने कुरामा विवाद देखिदैन । निजले  गोदाममा रहेको चामल र बोरा जाँचवुझ र गन्ती केही नगरी विश्वासमा परी बुझी लिएको र त्यस्ता सामान रहेको गोदामको साँचो आफु अन्यत्र जाँदा र विदामा वस्दा समेत डिपो इन्चार्जलाई जिम्मा दिएको र निज डिपो इन्चार्जले नै हिनामिना गरेको भनी अधिकार प्राप्त अधिकारी र अदालत समक्ष समेत वयान गरेको देखिन्छ । सामान नै नहेरी श्रेस्ताअनुसार वुझेको हुँ भन्ने प्रतिवादीको भनाइबाट नै लापरवाही गरेको तथ्य स्थापित हुन आउँछ । यसरी लापरवाही गरेको तथ्यमा सावित भएपछि आफ्नो जिम्मामा रहेको सामानको उचित संरक्षण  र व्यवस्थापन गर्नुपर्ने  कानूनी  दायित्वबाट निजले उन्मुक्ति पाउन सक्ने अवस्था  देखिदैन । लापरवाही गरेको कारणबाट संस्थाको जिन्सी हिनामिना भै हानी नोक्सानी पुर्याएको कार्यलाई भ्रष्टाचारको कसूर मानिने कानूनी व्यवस्था भएकोले प्रतिवादी खेमप्रसाद ढुङ्गानाले कसूरबाट सफाइ पाउनु पर्दछ भनी लिएको जिकिर र यस अदालतबाट विपक्षी झिकाउँदा उदृत गरिएको नजिर समेत प्रस्तुत विवादको सन्दर्भमा उपयुक्त र ग्रहणयोग्य देखिएन । तसर्थ निजलाई शुरु फैसला उल्टी गरी आरोपित कसूरमा विगो भराई जरिवाना समेत हुने ठहर्याएको पुनरावेदन अदालत, इलामको फैसला मिलेकै देखिंदा सदर हुने ठहर्छ । झुठृा दावीबाट फुर्सद पाउँ भन्ने प्रतिवादीको पुनरावेदन जिकिर पुग्न सक्तैन । मिसिल नियमानुसार गरी वुझाई दिनु ।

 

उक्त रायमा म सहमत छु ।

 

न्या.खिलराज रेग्मी

इ.स. लिप्तवहादुर थापा

 

इति संवत् २०६० साल चैत्र २ गते रोज २ शुभम .........

 

 

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु