निर्णय नं. ७४०९ - जग्गा खिचोला मेटाई चलन चलाई पाऊँ

निर्णय नं.७४०९ ने.का.प.२०६१ अङ्क ७
संयुक्त इजलास
माननीय न्यायाधीश श्री हरिश्चन्द्रप्रसाद उपाध्याय
माननीय न्यायाधीश श्री चन्द्रप्रसाद पराजुली
सम्वत् २०५५ सालको दे.पु.नं. ... ४९९१
फैसला मितिः २०६०।७।७।६
मुद्दाः जग्गा खिचोला मेटाई चलन चलाई पाउं ।
पुनरावेदक
वादीः जिल्ला नवलपरासी प्रगतिनगर गा.वि.स.वा.नं. ३ वस्ने शिव कुमार प्रधान
विरुद्ध
प्रत्यार्थी
प्रतिवादीः जिल्ला नवलपरासी प्रगतिनगर गा.वि.स.वा.नं.३ वस्ने मेघवहादुर टण्डन
§ पर व्यक्तिको क्रियाकलापवाट मर्का परेको महशुस गर्ने व्यक्तिले कानूनका म्याद भित्रै मर्काको उपचारका लागि अदालत प्रवेश गर्नुपर्ने ।
§ आफ्नो जग्गामा ०३६।४।२४ को लिखत हुनु पूर्वनै घर वनाउने प्रतिवादी उपर घर वनाएको भनी दावी लिने वादीले मुलुकी ऐन घर बनाउने महलको ११ नं. बमोजिम घर तयार भएको मितिले एकवर्ष भित्र नालिस गर्नुपर्नेमा २०५१ सालमा मात्र फिराद दर्ता गरेको देखिंदा कानूनका म्याद भित्र फिराद दर्ता गरेको भन्न नमिल्ने ।
पुनरावेदक वादीतर्फवाटः
प्रत्यर्थी प्रतिवादीतर्फवाटः
अवलम्वित नजिरः
फैसला
न्या.चन्द्रप्रसाद पराजुलीः पुनरावेदन अदालत वुटवलवाट मिति २०५४।५।३० मा भएको फैसला उपर न्याय प्रशासन ऐन, २०४८ को दफा ९ अन्तर्गत वादी पक्षवाट पुनरावेदन पर्न आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य एवं निर्णय यसप्रकार रहेको छ :-
२. जि.नवलपरासी प्रगतिनगर गा.वि.स.वा.नं. ३ ख.कि.नं. १२० को ज.वि. ०–०–३ जग्गा मेरो नाममा दर्ता भएको जग्गा हो उक्त जग्गामा उत्तरतर्फ २ धुरमा पक्की घर बनाएको र दक्षिणमा १ धुर जग्गा आँगनको रुपमा राखेकोमा विपक्षी मेघवहादुर टण्डनले मिति ०५०।११।१० मा जवर्जस्ती टायलको घर बनाई खिचोला गरेको हुंदा उक्त घर भत्काई खिचोला मेटाई चलन चलाई पाउँ भन्ने समेत व्यहोराको फिरादपत्र ।
३. मैले ०५०।११।१० मा घर वनाएको नभै ०३६ सालमै वनाई वसोवास गरी आएको हो । ०३६ सालमा मैले घर वनाउँदा विपक्षीको ३ फिट जग्गा पर्न गएकोमा घरसारमै सट्टापट्टाको व्यवहार मिलाई मिलि वसि आएको हुँदा हाल आएर फिराद गर्न अ.वं. ८२ नं. ले हकदैया छैन अ.वं. १८० नं. बमोजिम खारेज गरी पाउँ भन्ने समेत व्यहोराको प्रतिउत्तरपत्र ।
४. ०३६।४।२४ को सट्टापट्टाको कागज जग्गा सट्टापट्टा गर्ने उदेश्यले तयार गरी सहिछाप गरेका हौं तर सट्टापट्टाको कागज बमोजिम प्रतिवादीले हाल सम्म मलाई जग्गा छोडेका छैनन् भन्ने समेत व्यहोराको वादीले ७८ नं. बमोजिम गरेको वयान ।
५. उक्त जग्गामा प्रतिवादीको सानो घर थियो । सो घर भत्काई २०५० सालमा वादी शिव कुमारको १ धुर जग्गा मिची प्रतिवादीले घर वनाएका हुन भन्ने समेत व्यहोराको वादीका साक्षी रामकुमार श्रेष्ठ र सोमप्रसाद श्रेष्ठको वकपत्र ।
६. नवलपरासी जिल्ला अदालतको आदेशानुसार मिति ०५२।१०।११ मा भै आएको नक्सा मुचुल्का मिसिल सामेल रहेको ।
७. न.नं. ६ को ०–०– १/४ जग्गा मात्र प्रतिवादीले खिचोला गरेको देखिएकोले सो जग्गा र सो जग्गामा वनाएको घर मात्रको खिचोला मोटाई घर भत्काई चलन चलाई दिनुपर्ने ठहर्छ भन्ने समेत व्यहोराको नवलपरासी जिल्ला अदालतको ामिति २०५३।२।२७ को फैसला ।
८. मेरो घर ०३६ सालमै वनेको कुरा विपक्षीले स्वीकार गरेको हुँदा फिराद खारेजभागी रहेकोमा ठहर फैसला भएको नवलपरासी जिल्ला अदालतको फैसला उल्टी गरी सही न्याय पाउँ भन्ने समेत व्यहोराको प्रतिवादीतर्फवाट पुनरावेदन अदालत वुटवलमा परेको पुनरावेदन ।
९. वादी प्रतिवादीको वीचमा ०३६।४।२४ मा भएको घरसारको सट्टापट्टाको लिखत प्रतिवादीवाट पेश भै सो मा अ.वं. ७८ नं. बमोजिम बयान हुंदा उक्त कागज सद्दे साँचो हो भनी वादीले स्वीकार गरेको अवस्थामा वादीको जग्गामा खिचोला गरेको ठहर्याएको शुरु नवलपरासी जिल्ला अदालतको फैसला फरक पर्न सक्ने देखिंदा विपक्षी झिकाउनु भन्ने समेत व्यहोराको पुनरावेदन अदालत वुटवलको मिति ०५४।२।७ को आदेश ।
१०. घर भत्काउने ठहर्याएको हदसम्मको फैसला मिलेको नदेखिंदा सो हदसम्म शुरु नवलपरासी जिल्ला अदालतवाट भएको फैसला उल्टी भै न.नं. ६ को जग्गामा खिचोला मेटाई चलन चलाई दिने ठहर्याइ भएको फैसला मिलेकै देखिंदा सदर हुने ठहर्छ भन्ने समेत व्यहोराको पुनरावेदन अदालत वुटवलको मिति ०५४।५।३० को फैसला ।
११. रजिष्ट्रेशननै नभएको कानूनी मान्यता नपाउने सट्टापट्टाको लिखतको आधारमा हदम्याद कायम गरी फिराद खारेज गर्ने गरेको पुनरावेदन अदालत वुटवलको फैसला त्रुटीपूर्ण हुंदा वदर गरी शुरु नवलपरासी जिल्ला अदालतको फैसला सदर गरीपाउं भन्ने समेत व्यहोराको वादीतर्फवाट यस अदालतमा परेको पुनरावेदन पत्र ।
१२. नियम बमोजिम पेशी सूचीमा चढी पेश हुन आएको पुनरावेदन सहितको मिसिल कागजात अध्ययन गरी हेर्दा प्रस्तुत मुद्दामा पुनरावेदन अदालत वुटवलबाट मिति ०५४।५।३० मा भएको फैसला मिलेको छ, छैन भनी निर्णय दिनुपर्ने हुन आयो ।
१३. निर्णयतर्फ विचार गर्दा जि. नवलपरासी प्रगतिनगर गा.वि.स.वा.नं. ३ (ख) कि.नं. १२० को ज.वि. ०–०–३ जग्गाको दक्षिणतर्फ ०–०–१ क्षेत्रफलमा प्रतिवादीले घर वनाएकोले उक्त घर हटाई खिचोला मेटाई पाउँ भन्ने वादी दावी भएकोमा उक्त घर ०३६ सालमै वनाई वसोवास गरी आएको हो घर वनाउँदा प्रतिवादीको ३ फिट जग्गा पर्न गए पनि घरसारमा जग्गा सट्टापट्टा गरेको हो । खिचोला गरेको होइन । भन्ने प्रतिउत्तर जिकिर रहेको यस मुद्धामा न.नं. ६ को ०–०– १/४ जग्गा मात्र प्रतिवादीले खिचोला गरेको हुँदा सो जग्गा र जग्गामा वनेको घर मात्रको खिचोला मेटाई चलन चलाई दिनुपर्ने ठहराई भएको शुरु फैसला घर भत्काई पाउने ठहर्याएको हद सम्म उल्टी गर्ने गरी पुनरावेदन अदालतवाट भएको फैसला उपर वादी पक्षको यस अदालतमा पुनरावेदन पर्न आएको देखियो ।
१४. यस्मा पुनरावेदक वादीका वारेश राज कुमार प्रधानले यस अदालतवाट तोकि पाएको मिति ०५६।५।२२ को तारेख गुजारेको प्रमाणित भएको देखिएतापनि अदालती वन्दोवस्तको २०१ नं. ले पुनरावेदन फैसला गर्नुपर्ने नै देखिन्छ । वादीले आफ्नो भै खिचोला भएको भनी दावी लिएको कि.नं. १२० को दक्षिणतर्फको ज.वि. ०–०–१ जग्गा सम्वन्धमा प्रतिवादीले हक स्वामित्वको आधार देखाई कुनै दावी लिएको देखिदैन । शुरु जिल्ला अदालतवाट प्रतिवादीले खिचोला गरेको भनी ठहर्याएको जग्गाका सम्वन्धमा प्रतिवादीले पुनरावेदन नगरी फैसला स्वीकार गरी वसेको देखियो । शुरुले घर समेत प्रतिवादीले खिचोला गरेको ठहर्याएको हदसम्म केही उल्टी गरी पुनरावेदन अदालतवाट फैसला भएको हुंदा सो फैसला उपर वादीले लिएको पुनरावेदन जिकिर सम्वन्धमा विचार गर्दा विवादित घर प्रतिवादीले २०५० सालमा वनाएको भनी वादीले दावी लिएकोमा उक्त घर २०३६ सालमै वनाएको र घर वनाउँदा वादीको ३ पूmट जग्गा पर्न गएकोले सो सम्वन्धमा जग्गा सट्टापट्टा गरी आपसमा मिली घरसारमा कागज समेत गरेकोले हाल २०५१ सालमा फिराद गर्न पाउने होइन भनी प्रतिवादीले प्रतिउत्तर जिकिर लिइएको पाइयो । प्रतिवादीको जिकिर बमोजिमको मिति ०३६।४।२४ को घरसारको सट्टापट्टाको लिखतमा म मेघवहादुर टण्डनले घर वनाउँदा तपाई शिव कुमार प्रधानको घरेडीको पश्चिम दक्षिणको भाग करीव ३ फिट जग्गा मिचिएकोमा भन्ने समेत उल्लेख गरी वादी प्रतिवादी दुवैले साक्षीहरुका रोहवरमा हस्ताक्षर तथा ल्याप्चे सहिछाप समेत गरेको देखिन्छ । उल्लिखित व्यहोरावाट वादीले दावी लिएको विवादित घर सो लिखत हुनु पूर्व नै वनिसकेको भन्ने देखिन आउँछ । पर व्यक्तिको क्रियाकलापवाट मर्का परेको महशुस गर्ने व्यक्तिले कानूनका म्याद भित्रै मर्काको उपचारका लागि अदालत प्रवेश गर्नुपर्ने हुन्छ । प्रस्तुत प्रसंगमा आफ्नो जग्गामा ०३६।४।२४ को लिखत हुनु पूर्वनै घर वनाउने प्रतिवादी उपर घर वनाएको भनी दावी लिने वादीले मुलुकी ऐन घर बनाउने महलको ११ नं. बमोजिम घर तयार भएको मितिले एकवर्ष भित्र नालिस गर्नुपर्नेमा २०५१ सालमा मात्र फिराद दर्ता गरेको देखिंदा कानूनका म्याद भित्र फिराद दर्ता गरेको भन्न मिलेन । म्याद नाघि आएको फिरादका आधारमा प्रतिवादीले वनाएको घर वादीले भत्काउन पाउने देखिएन । तसर्थ प्रस्तुत मुद्दामा घर भत्काउने ठहर्याएको हद सम्म शुरु नवलपरासी जिल्ला अदालतको फैसला केही उल्टी गरी न.नं. ६ को जग्गामा खिचोला मेटाई चलन चलाई दिने ठहराएको सम्म सदर गर्ने गरेको पुनरावेदन अदालत वुटवलको मिति ०५४।५।३०।२ को फैसला मिलेकै देखिंदा सदर हुने ठहर्छ । वादीको पुनरावेदन जिकिर पुग्न सक्दैन ।
उक्त रायमा सहमत भै निर्णय सुनाई सकेपछि फैसलामा दस्तखत नहुदै सहयोगी मा.न्या. श्री हरिश्चन्द्रप्रसाद उपाध्यायज्यू परलोक हुनु भएको हुंदा दस्तखत हुन नसकेको व्यहोरा प्रमाणित गर्दछु ।
न्या. चन्द्रप्रसाद पराजुली
इति संवत् २०६० साल कार्तिक ७ गते रोज ६ शुभम्.......।