निर्णय नं. ७४११ - जवर्जस्ती करणी

निर्णय नं.७४११ ने.का.प.२०६१ अङ्क ७
संयुक्त इजलास
माननीय न्यायाधीश श्री चन्द्रप्रसाद पराजुली
माननीय न्ययायाधीश श्री सुशिला सिंह सिलु
सम्वत् २०५७ सालको फौ.पु नं. २२२०
फैसला मितिः २०६१।४।२८।५
मुद्दाः– जवरजस्ती करणी ।
पुनरावेदक
वादीः रिता माझीको जाहेरीले श्री ५ को सरकार
बिरुद्ध
प्रत्यर्थी
प्रतिवादीः सिन्धुपाल्चोक जिल्ला भिमटार गा.वि.स. वडा नं. २ वस्ने श्याम माझी.
§ फौजदारी मुद्दामा अभियुक्तले अपराध गरेको हो कि होइन भन्ने तथ्यगत सवुदहरुको आधारमा निर्णय गर्ने कुरा हो, अपराधी लाई बचाई दिने नियतले स्वयम पीडित लगायत कसैले वयान दिन सक्ने स्थितिलाई ध्यानमा राखी न्यायकर्ताले निर्णय दिंदा कसैले सफाइ दिने बयान दिदैमा अभियुक्त निरअपराध ठहर गर्नुपर्ने वा कसैले अभियुक्त विरुद्ध बयान दिदैमा अपराधी ठहरीनै पर्ने भन्न सकिन्न । व्यक्तिको वयानलाई सवुदैको रुपमा मात्र लिन सकिन्छ, तर अकाट्य प्रमाण मान्न नसकिने ।
§ जवरजस्ती करणीको १० नं. को प्रावधान प्रतिवादीहरुले जवरजस्ती करणीको कसूर गरेपछि पीडितको हकमा स्वतः आर्कषितहुने अर्थात सोहि महलको ३ नं. संग अभिन्नरुपले गासिएको व्यवस्था हो । पीडितले अदालतमा आई प्रतिवादीहरुलाई निर्दोष भनि वकपत्र दिदैमा ऐन को व्यवस्था निष्क्रिय हुने गरि उक्त १० नं. आकर्षित नगर्ने निर्णय न्यायसंगत नठहर्ने ।
पुनरावेदक वादीतर्फवाटः विद्वान सहन्यायाधिवक्ता श्री पुष्पराज कोइराला
प्रत्यर्थी प्रतिवादीतर्फवाटः
अवलम्वित नजिरः
फैसला
न्या.शुसिला सिंह सिलुः न्याय प्रशासन ऐन, २०४८ को दफा १२(१) को खण्ड (क)अनुसार मुद्दा दोहोर्याई हेर्ने निस्सा प्रदान भई पेश हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य एवं ठहर यसप्रकार छ ।
२. मिति ०५३।२।१९ गतेको राति झिल्के तामाङले श्याम माझी, रेशम माझीलाई हामी बसेको कोठामा ल्याइ यी केटाहरुलाई तिमिहरु संगै सुताउ भनि हर्किमाया माझी र मलाई समेत भनेकाले हामीले हुदैन भन्दा पनि निजहरु हामीहरुको कोठामा बसि रेशम माझीले मलाई जवरजस्ती करणी गर्ने उद्योग गरेको र श्याम माझी र रेशम माझीले हर्किमाया माझीलाई जवरजस्ती करणी गरी रगत पच्छे पारी वेहोस वनाएकोले निजहरुलाई पक्राउ गरी जवरजस्ती करणीको महलअनुसार कारवाही गरि पाउं भन्ने रिता माझीको जाहेरी ।
३. घटनास्थल भनिएको हर्किमाया माझी र रिता माझीकोे डेरा कोठाको बिस्तारा कपडाहरु यत्रतत्र छरिएको, पछ्यौरा, कट्टु लुंगी, म्याक्सीमा समेत रगत लागी सुकेको भन्ने घटनास्थल प्रकृति मुचुल्का ।
४. मिति ०५३।२।१९ गतेको राति गलैचा कारखानामा काम गर्ने मास्टर झिल्के तामाङले श्याम माझी, रेशम माझी र अन्य नाम थाहा नभएको ३ जना समेत लगि कोठामा ल्याई कोठा भित्र हुली केटाहरुलाई पनि आजको रात यही तिमीहरुसंगै सुताउ भनेकाले हामीले हुदैन भन्दा नाम थाहा नभएका ३ जना कोठावाट वाहिर निस्के र श्याम माझी सोही कोठामा बसे । रेशमले रिता माझीलाई जवरजस्ती करणी गर्न भनि समाए । श्याम माझीले मलाई समाती लडाएको थिए । सो बेला रिता माझी रेशमको हातवाट फुत्की भागी गइन । श्यामले मलाई जवरजस्तीकरणी गर्न लागेको र रेशम माझी पनि आई मेरो हात समाई दिएको र श्यामले मलाई करणी गरिसकेपछि फेरी रेशमले मलाई करणी गर्न थाले । श्यामले मेरो हात समाई दिएको र श्यामले मलाई करणी गरिसकेपछि फेरी रेशमले मलाई करणी गर्न थाले । श्यामले मेरो हात समाई दिए । रेशमले जवरजस्ती करणी गर्दा गर्दै म रगताम्य भई वेहोस भएछु । त्यस पछि निजहरुले मलाई कति पल्ट करणी गरे मलाई थाहा भएन भोली पल्ट अन्य मानिसहरुले उपचारको लागि प्रसुतीगृह थापाथलीमा लगिसकेपछि मात्र होस आएको हो भन्ने पीडित हर्किमाया माझीले गरेको कागज ।
५. मिति ०५३।२।१९ गतेको राति श्याम माझी र रेशम माझीलाई हर्किमाया र रिता माझीको कोठा भित्र हुलि यी केटाहरुलाई तिमीहरु संगै सुताउनु भनि हर्किमाया र रिता माझीलाई भन्दा निजहरुले हुदैन भनेकोले मैले निज केटीहरुलाई सुताउने भए सुताउ नत्र भने राम्रो हुदैन भनि भन्दा निज केटीहरुले हुदैन भन्दै थिए मैले श्याम र रेशमलाई ती केटीहरु भोलि घर जादैछन । आज तिमीहरुले मस्ती गर्नु भनि अह्राएको हो । मैले जवरजस्ती करणी गरेको होइन भोली पल्ट निज श्याम र रेशमले हर्किमायालाई जवरजस्ती करणी गरी वेहोस वनाएको भन्ने कुरा थाहा पाएको हुं भन्ने प्र. झिल्के तामाङले प्रहरीमा गरेको वयान ।
६. २०५३।२।२० गतेको विहान रिता माझी र निजको दिदी म कहां आई श्याम र रेशम माझीले हर्किमाया माझीलाई जवरजस्ती करणी गरे उपचार गर्नको लागि पैसा दिनु होस भनेकाले मैले पांच सय निकाली दिएको थिए । सोही वेला श्याम माझी र रेशम माझी त्यही नजिक रहेछन । रिताले निजहरुलाई घोक्राइ मेरो अगाडि ल्याई निजहरु भाग्लान यिनीहरुलाई नछाड्नु प्रहरीमा खवर गरि वुझाउनु भनि हर्किमायालाई अस्पताल लिएर गए । म कामले गर्दा वाहिर गए । निजहरु भागी गएछ कहां गए थाहा भएन । निज केटीहरुलाई जवरजस्ती गराउन मेरो कुनै सहयोग छैन भन्ने निरराज शाहले प्रहरीमा गरेको वयान ।
७. २०५३।२।१९ गते राति झिल्के तामाङले श्याम र रेशम माझीलाई हर्किमाया माझी र रिता माझीको कोठामा ल्याइं यही सुताउ भनि हर्किमाया र रिता माझीलाई भनेका थिए । म खाटमा सुतिरहेको अवस्थामा श्याम माझीले मलाई थिची माथि सुत्न जाने भए जाउ नत्र काटी दिन्छु भनेकोले मलाई डर लागि मास्टरको केटाहरुसंग सुते । भोलिपल्ट दुवै जना नभएको र कोठामा रगत लागेको देखे पछि हर्किमायालाई उपचारकोलागि लिएर गएको भन्ने कुरा थाहा पाएको हुं । सो कोठामा बसेका श्याम र रेशमलेनै हर्किमाया माझीलाई जवरजस्ती करणी गरि रगतपच्छे वनाएका रहेछन भन्ने राम कुमार तामाङले प्रहरीमा गरेको कागज ।
८. मिति ०५३।२।१९ गतेको राति झिल्के तामाङले विजुले माझी, विदुर माझी, एक जना नाम थाहा नभएको र रेशम माझी म समेत पांच जनालाई हर्किमाया र रिता माझीको कोठामा लिएर गइ हर्किमाया र रिता माझीलाई झिल्केले आज यि केटीहरुलाई तिमीहरु संगै सुताउन भनेको थिए । रेशमले रिता माझीलाई समाएका थिए । रिता माझी फुत्की भागी गइन । त्यस पछि रेशम माझी पनि म भएको ठाउंमा आई हर्किमायाको हात समाई दिए । मैले हर्किमाया माझीलाई जवरजस्ती करणी गरि सकेपछि मैले हर्किमायाको हात समाइ दिए त्यसपछि रिता माझी विस्तारमा सुति निदाएकाले रेशम माझीले रिता माझीलाई जवरजस्ती गरिसकेपछि उठी गइन निजहरुलाई जवरजस्ती करणी गर्न लगाउने तथा सहयोग गर्ने झिल्के तामाङ नै हुन भन्ने प्र. श्याम माझीले प्रहरीमा गरेको वयान ।
९. पक्राउमा परेको निरराज शाह उपर जवरजस्ती करणीको महलअनुसार मुद्दा चलाउन सवुद प्रमाण पुग्ने नदेखिएकोले खोजि भएका वखत हाजिर गराउने गरि भेषराज शाहले जिम्मामा बुझि लिएको कागज ।
१०. ०५३।२।१९ गते राति हर्किमाया माझी र रिता माझीको कोठामा श्याम माझी र रेशम माझी गई हर्किमायालाई जवरजस्ती करणी गरि रगतपच्छे पारेको भन्ने सुनि थाहा पाएको हो । निज हर्किमायालाई जवरजस्ती करणी गर्न लगाउने र अह्राउनेमा झिल्के तामाङ हो भन्ने राम लामा समेतका मानिसहरुले लेखाई दिएको वस्तुस्थिति मुचुल्का ।
११. प्र. श्याम माझी र रेशम माझीले बर्ष १७ कि हर्किमाया माझीलाई ०५३।२।१९ गते राति मन्जुरी वेगर जोर जुलुम गरी डर त्रास देखाई जवरजस्तीकरणी गरेको प्र. रेशम माझीले सोही रात सोही घटनास्थलमा बर्ष १५ कि रिता माझीलाई जोरजुलुम गरी डरत्रास देखाई जवरजस्तीकरणी गर्ने उद्योग गरेको र प्र. झिल्के तामाङले पीडितहरुको दाइसंग झगडा र पीडितहरुले आफ्नो कारखाना छाडी जान्छु भन्ने रिसले प्र.हरु श्याम माझी र रेशम माझीलाई पीडितहरुसंग जवरजस्ती करणी गर्न लाए अह्राएको देखिन आइ प्र. श्याम माझीकलाई मु. ऐन जवरजस्तीकरणीको महलको १ नं. वमोजिमको कसूरमा ३ नं. वमोजिम सजाय हुन र प्र. रेशम माझीलाई सोही महलको १ नं. ५ नं. वमोजिमको कसूरमा सोही महलको ३ नं. र ५ नं. वमोजिम सजाय हुन र प्र. झिल्के तामाङलाई सोही महलको ६,४ नं. वमोजिमको कसूरमा सोही महलको ६ नं. ४ नं. वमोजिम सजाय भइ प्र. श्याम माझी र रेशम माझीको आधा आधा अंश सोही महलको १० नं. वमोजिम सर्वश्व गरी पीडित हर्किमाया माझीलाई दिलाई पाउन र प्र. रेशम माझी हाल सम्म फरार भएको हुंदा सम्मानित अदालतवाट वारेन्ट जारी भइ कारवाही हुन समेत र जाहेरीमा गलैचा कारखानाको मालिकले भोलीपल्ट ज.क. गर्ने श्याम माझी र रेशम माझीलाई भगाएको हुदा निज मालिक निरराज शाहको पनि मिलोमतो रहेछ भनि उल्लेख गरेकोमा जवरजस्ती करणी गर्नु पुर्व र गर्दाको अवस्थामा निजको संलग्नता नदेखिएको हुंदा निजको हकमा मुद्दा नचलाइएको व्यहोरा अनुरोध छ भन्ने प्रहरी अभियोग माग दावी ।
१२. मैले जाहेरवालीलाई जवरजस्तीकरणी गरेको होइन । मलाई ७०००।– ऋण नतिरि दिएको कारणले यो जाहेरी दिएको हो । सर्जमिनका मानिसले मैले किन जवरजस्ती करणी ग¥यो भनि भने मलाई थाहा छैन रिता माझीलाई घाउ कसरी लाग्यो मलाई थाहा छैन र मैले जवरजस्तीकरणी गर्नमा सहयोग पनि गरेको छैन । त्यस कारण उक्त मुद्दामा मलाई सजाय पाउनु पर्ने होइन भनि प्र. श्याम माझीले अदालतमा गरेको वयान ।
१३. मैले जवरजस्ती करणी गर्न लगाएको छैन । मैले जि.स.व.का. मा वयान गर्दा मैले त्यसो भनेको छैन । किन वयानमा खुलाए मलाई थाहा छैन भनि प्र. भिल्के तामाङले अदालतमा गरेको वयान ।
१४. पीडित पक्षले अदालत समक्ष आई इन्कारी वयान गरेतापनि Relevant circumstantial fact ले जाहेरीलाई नै अकाट्य रुपले समर्थन गरेकोले प्रतिवादीहरुले अभियोगपत्र वमोजिमको अपराध गरेको देखिनाले प्र. मध्ये शयाम माझीलाई मु. ऐन जवरजस्तीकरणीको महलको दफा ३ वमोजिम ३ बर्ष कैद तथा अर्का प्र. झिल्के तामाङलाई ऐ. ऐनको दफा ६ वमोजिम १.५ (डेढ) बर्ष कैद सजाय हुने ठहर्छ । साथै हर्किमायाले अदालत समक्ष इन्कारी वकपत्र गरेकोले ऐ को १० नं. पीडित पक्षको हकमा आकर्षित नहुने ठहरी प्र. रेशम माझीको हकमा मुद्दा मुल्तवी राख्ने ठहर्छ भन्ने शुरु भक्तपुर जिल्ला अदालतको मिति २०५४।९।९ गतेको फैसला ।
१५. अभियुक्तले जवरजस्ती करणी गरेको कसूर स्थापित भई सकेपछि पनि पीडितलाई अभियुक्तको आधा अंश सर्वश्व गरी दिनुपर्नेमा सो नपर्ने गरी गरेको तथा भिल्के तामाङको जवरजस्ती करणीको ४ नं. र ६ नं. को कसूर स्थापित भइसकेको अवस्थामा ४ नं. को हकमा केही नवोली गरेको शुरुको फैसला त्रुटिपूर्ण हुंदा वदर गरि शुरु माग दावी वमोजिम सजाय गरीपाउं भन्ने समेत व्यहोराको श्री ५ को सरकारको पुनरावेदन पत्र ।
१६. प्र. श्याम माझीलाई मु. ऐन ज.क.को महलको ३ नं. वमोजिम प्र. रेशम माझीलाई ऐ. को ३ र ५ नं. वमोजिम र प्र. झिल्के तामाङलाई ऐ. ६ नं. र ४ नं. वमोजिम सजाय हुने र ऐ. १० नं. वमोजिम प्र. मध्ये श्याम माझी र रेशम माझीको आधा आधा अंश पीडितलाई दिने गरी सजाय माग गरी दायर गरिएको अभियोगपत्रमा कारवाही चल्दा शुरु अदालतले प्र. हरुले अपराध गरेको ठहर्याई फरार रहेको रेशम माझीको हकमा मुल्तवी राख्ने गरी तथा श्याम माझीलाई ज.क. को महलको ३ नं. वमोजिम र झिल्के तामाङलाई ६ नं. वमोजिम सजाय गर्ने र आधा अंशको हकमा पीडित स्वयंले अदालतमा इन्कारी वकपत्र गरेकाले सो दिनु नपर्ने गरी गरेको शुरु अदालतको फैसला उपर अभियोग दावी वमोजिम नभएको हदसम्म सो हुनुपर्ने माग गरी यस अदालतमा प्रस्तुत पुनरावेदन पर्न आएको रहेछ । पीडित (Victim) केटीले यी प्रत्यर्थीहरुले जवरजस्तीकरणी गरेको होइनन भनि अदालतमा उपस्थितभै वकपत्र गरेको स्थितिमा मुलुकी ऐन जवरजस्तीकरणीको १० नं. को व्यवस्था कार्यान्वयन हुन सक्ने नदेखिएको र प्र. हरुले फैसलामा चित्त वुझाइ कैद भुक्तान गरी छुटी गइसकेको अवस्था समेत हुंदा शुरु भक्तपुर जिल्ला अदालतको मिति २०५४।९।९ को फैसलालाई वदर गर्नु नपरी सदर हुने ठहर्छ भन्ने समेतको पुनरावेदन अदालत पाटनको मिति २०५६।२।२२ को फैसला ।
१७. प्रतिवादी श्याम माझी उपरको जवरजस्ती करणीको कसूर ठहर भै अन्तिम रहेको अवस्थामा जवरजस्ती करणीको १० नं. को प्रावधान पीडितको हकमा आकर्षित नहुने ठहर गरेको फैसलामा कानूनको व्याख्यामा गम्भीर त्रुटीहुंदा मुद्दा दोहोर्याई हेरी पाउं भन्ने समेतको वादी श्री ५ को सरकारको यस अदालतमा परेको निवेदन पत्र ।
१८. पीडित हर्किमायालाई जवरजस्ती करणी गरेको ठहराई मुलुकी ऐन जवरजस्ती करणीको महलको ३ नं. वमोजिम प्रतिवादी श्याममाझीलाई र सोही ऐन, को दफा ६ वमोजिम प्रतिवादी झिल्के तमाङलाई सजाय हुने ठहराई गरेको शुरुको फैसलालाई सदर गरेको पुनरावेदन अदालतको फैसलामा जवरजस्ती करणीको महलको १० नं. वमोजिम कसूरदार ठहरेका प्रतिवादी श्याम माझीको अंशवाट आधि अंश पीडित पक्षलाई दिलाई दिनिु पर्ने भन्ने कानूनी व्यवस्था भएकोमा पीडितले जवरजस्ती करणी गरेको होइन भनि वकपत्र गरेकै आधारमा आधा अंश नदिलाउने गरेको उपरोक्त फैसलामा जवरजस्ती करणीको १० नं. को व्याख्यात्मक त्रुटी भएको देखिंदा न्याय प्रशासन ऐन, २०४८ को दफा १३(१) को खण्ड (क)अनुसार दोहोर्याई हेर्ने निस्साप्रदान गरिएको छ भन्ने समेतको यस अदालतको आदेश ।
१९. नियम वमोजिम दैनिक मुद्दा पेशी सूचीमा चढि यस इजलास समक्ष पेश हुन आएको प्रस्तुत मुद्दाको सम्पूर्ण मिसिल कागजात अध्ययन गरि पुनरावेदककातर्फवाट सहन्यायाधिवक्ता श्री पुष्प राज कोइरालाले अभियोग दावी वमोजिम जवरजस्ती करणीको कसूर ठहर भै प्रतिवादीलाई जवरजस्ती करणीको ३ नं. वमोजिम ३ बर्ष कैदको सजाय हुने ठहराएपछि सोही महलको १० नं.वमोजिम कसूरदारको अंशभागवाट आधा अंश पीडितलाई दिलाई दिनुपर्नेमा पीडितले अदालतमा वकपत्र गर्दा जवरजस्ती करणी गरेको होइन भनि उल्लेख गरेको भनने आधार पीडितले पाउने आधा अंश नदिलाउने गरेको हदसम्म शुरुको फैसला सदर गरेको पुनरावेदन अदालतको इन्साफ त्रुटीपूर्ण हुंदा सो हदसम्म उल्टी हुनु पर्दछ भनि प्रस्तुत गर्नु भएको वहस समेत सुनियो ।
२०. प्रस्तुत मुद्दाको निर्णयतर्फ विचार गर्दा शुरु भक्तपुर जिल्ला अदालतले जवरजस्ती करणीको कसूर गरेको ठहर गरि प्रतिवादी श्याम माझीलाई जवरजस्ती करणीको ३ नं. वमोजिम ३ बर्ष कैद हुने ठहराई पीडितको हकमा जवरजस्ती करणीको १० नं. आकर्षित नहुने ठहराएको फैसला सदर गरेको पुनरावेदन अदालत पाटनको इन्साफ मिलेको छ वा छैन ? सोही कुरामा निर्णय दिनुपर्ने देखियो ।
२१. यसमा प्रतिवादी श्याम माझी समेतले पीडित हर्किमाया माझीलाई जवरजस्ती करणीको कसूर गरेकोले जवरजस्ती करणीको ३ नं. वमोजिम सजाय भै सोही महलको १० नं. वमोजिम अंश सर्वश्व गरि पीडित हर्किमाया माझीलाई दिलाई पाउं भन्ने अभियोगपत्र माग दावी रहेको देखिन्छ । विपक्षी प्रतिवादी श्याम माझी उपरको जवरजस्ती करणीको ३ नं. वमोजिमको कसूर ठहर भै ३ तीन बर्ष कैद हुने ठहरेकोमा शुरुको फैसला उपर पुनरावेदन सम्म पनि नगरी स्विकारी वसेको र सजायको सम्वन्धमा वादी पक्षले कुनै जिकिर समेत नलिएकोले सो सम्वन्धमा केही वोली रहनु परेन । जाहांसम्म पीडितले अदालतमा आई वकपत्र गर्दा प्रतिविादीहरुले जवरजस्ती करणी गरेको होइन भनि वकपत्र गरेकोले जवरजस्ती करणीको १० नं. निज पीडितको हकमा आकर्षित नहुने भनि ठहर गरेको हदसम्म सो फैसला नमिलेको भन्ने वादी पक्षको पुनरावेदन जिकिरका सम्वन्धमा हेर्दा मुलुकी ऐन जवरजस्ती करणीको १० नं. मा कसैले कुनै स्वास्नीमानिसको जवरजस्ती करणी गरेमा त्यस्तो करणी गर्नेको आधा अंश सर्वश्व गरि त्यस्ती स्वास्नीमानिसलाई दिलाई दिनु पर्छ भन्ने कानूनी व्यवस्था गरेको देखिन्छ । प्रस्तुत मुद्दामा पीडित हर्किमायालाई मुख्य अभियुक्त श्यामा माझी समेतका प्रतिवादीहरुवाट जवरजस्ती करणी गरेको कुरामा सावीत भएकोमा अदालतमा इन्कारी वयान गरेतापनि वारदातको अवस्था र पीडित पक्ष रीता माझी ले दिएको किटानी जाहेरी र अर्की पीडित हर्कीमाया माझीले अधिकार प्राप्त अधिकारी समक्ष दिएको वयानले प्रतिवादीहरुको इन्कारी वयानलाई समर्थित गर्दैन । खास गरी पीडित हर्की माया माझीलाई श्री ५ इन्द्रराज्य लक्ष्मीदेवी प्रसुती गृहमा भर्ना गराई त्यहाँका डाक्टरवाट शारिरिक जाँच गर्दा डाक्टरको रिपोर्टमा Posterior vaginal wall median अर्थात योनीमार्गको पछाडिको भाग र कन्याजाली च्यातिएर Hymen (कन्याजाली) को विन्दुदेखि पाठेघर (Uterus) को मुखसम्म दस सेन्टि मिटर लामो घाउ भएको भन्ने उल्लेख भएवाट त्यस्तो स्थितिमा नीज पीडित माथि जवरजस्ती करणी भएको भन्न पर्ने स्थिति देखिन्छ । फौजदारी मुद्दामा अभियुक्तले अपराध गरेको हो कि होइन भन्ने तथ्यगत सवुदहरुको आधारमा निर्णय गर्ने कुरा हो, अपराधी लाई बचाई दिने नियतले स्वयम पीडित लगायत कसैले वयान दिन सक्ने स्थितिलाई ध्यानमा राखी न्यायकर्ताले निर्णय दिंदा कसैले सफाइ दिने बयान दिदैमा अभियुक्त निरअपराध ठहर गर्नुपर्ने वा कसैले अभियुक्त विरुद्ध बयान दिदैमा अपराधी ठहरीनै पर्ने भन्न सकिन्न । व्यक्तिको वयानलाई सवुदैको रुपमा मात्र लिन सकिन्छ, तर अकाट्य प्रमाण मान्न सकिदैन ।
२२. पीडित हर्की मायालाई जवरजस्ती करणी गरे बापत प्रतिवादी श्याम माझीलाई ३ वर्ष कैद सजायँ हुने ठहर्याएको भक्तपुर जिल्ला अदालतको फैसला उपर प्रतिवादीको पुनरावेदन नपरी उक्त फैसला अन्तिम रहेको अवस्थामा जवरजस्ती करणीको महलको १० नं. पीडित पक्षको हकमा आर्कषित नहुने ठहराएको भ.पु.जि.अ.को फैसला सदर गरेको पु.वे.अ.को निर्णयको हकमा पीडितले आपूmलाई प्रतिवादीले करणीगरेको होइन भनि अदालतमा वयान दिएको आधारमा ज.क.को १० नं. आर्कषित हुदैन भन्नु तर्कयुक्त देखिदैन । ज.क.को १० नं. को प्रावधान प्रतिवादीहरुले जवरजस्ती करणीको कसूर गरेपछि पीडितको हकमा स्वतः आर्कषितहुने अर्थात सोहि महलको ३ नं. संग अभिन्नरुपले गासिएको व्यवस्था हो । पीडितले अदालतमा आई प्रतिवादीहरुलाई निर्दोष भनि वकपत्र दिदैमा ऐन को व्यवस्था निष्क्रिय हुने गरि उक्त १० नं. आर्कषित नगर्ने निर्णय न्यायसंगत ठहर्दैन । तसर्थ ज.क.को १० नंं को प्रावधान पीडितको हकमा आकर्षित नहुने भन्न मिल्ने नदेखिंदा प्रतिवादी श्याम माझीको आधा अंश सर्वश्व गरि पीडित हर्कीमायालाई नदिलाएको हदसम्म शुरु भक्तपुर जिल्ला अदालतको फैसला सदर गरेको पुनरावेदन अदालत पाटनको इन्साफ नमिलेकोले केही उल्टी भै प्रतिवादी श्याम माझीको आधा अंश सर्वश्व गरि पीडित हर्किमाया माझीलाई दिलाई दिने ठहर्छ । अरु तपसिलका कुरामा तपसिल वमोजिम गर्नु ।
तपसिल
माथि इन्साफ खण्डमा लेखिए वमोजिम शुरुको इन्साफ सदर गरेको पुनरावेदन अदालत पाटनको फैसला केही उल्टीभै जवरजस्ती करणीको १० नं. वमोजिम प्रतिवादी श्याम माझीको आधा अंश सर्वश्व गरि पीडित हर्किमाया माझीलाई दिलाई दिने ठहरेकाले प्रतिवादी श्याम माझीको अंश सर्वश्व रोक्का राखी आधा अंश पीडित हर्किमायालाई दिलाई दिन निज हर्किमायाको मुलुकी ऐन अंश वण्डाको ४६ नं. को म्याद भित्र आधा अंश सर्वश्व लिई पाउं भनि दर्खास्त गर्न आए केही दस्तुर नलिई कानून वमोजिम प्रतिवादीको आधा अंश सर्वश्व पीडित हर्कीमायालाई दिलाई दिन लगत राख्नु भनि शुरु भक्तपुर जिल्ला अदालतमा लेखी पठाई दिनु............. १
फैसलाको जानकारी महान्यायाधिवक्ता कार्यालयलाई दिई दायरी लगत कट्टा गरी
मिसिल नियमानुसार वुझाई दिनु ...... २
उक्त रायमा सहमत छु ।
न्या.चन्द्रप्रसाद पराजुली
इजलास अधिकृत रामप्रसाद सेढाई
इति सम्वत् २०६१ साल श्रावण २८ गते रोज ५ शुभम्...............