शब्दबाट फैसला खोज्‍नुहोस्

निर्णय नं. ३७९५ - कर्तव्य ज्यान

भाग: ३१ साल: २०४६ महिना: श्रावण अंक:

निर्णय नं. ३७९५    ने.का.प. २०४६      अङ्क ४

 

संयुक्त इजलास

माननीय न्यायाधीश श्री पृथ्वीबहादुर सिंह

माननीय न्यायाधीश श्री हरगोविन्दसिंह प्रधान

सम्वत् २०४६ सालको फौ.सा.नं. १०२

फैसला भएको मिति : २०४६।२।१५।१ मा

वादी : पदमसिंह ऐरको जोहेरीले श्री ५ को सरकार

विरुद्ध

प्रतिवादी : जि.डडेलधुरा शिष गा.पं.वडा नं.८ बस्ने घोडे भन्ने धनसिंह बोहोरा

मुद्दा : कर्तव्य ज्यान

(१)    अनुचित सम्बन्ध रहेकी श्रीमतीलाई समेत मारी घरमा आगो लगाएको भन्ने अधिकारप्राप्त अधिकारी समक्ष गरेको सावितीलाई अन्य परिस्थितिजन्य प्रमाणले समर्थन गरेको हुँदा प्र.लाई ज्यानसम्बन्धीको १३(३) नं. बमोजिम सर्वश्वसहित जन्मकैद गर्ने गरेको क्षे.अ. को इन्साफ मिलेकै देखिँदा सदर हुने ।

(प्रकरण नं. १९)

फैसला

न्या.पृथ्वीबहादुर सिंह

१.     सुदूर पश्चिमाञ्चल क्षेत्रीय अदालतको फैसला उपर साधक जाँचको लागि पेश भएको प्रस्तुत मुद्दाको संक्षिप्त व्यहोरा यस प्रकार रहेछ ।

२.    सलौन बस्ने धनसिंह बोहराकी श्रीमती र गाउँकै दमुवा बोहोराका बीच अनुचित सम्बन्ध छ भन्ने हल्ला थियो । २०४३।७।१३ गते बिहान ६ बजे धनसिंह बोहराको घरमा आगो लाग्यो भन्ने हल्ला सुनी जाँदा घर जलीरहेको श्रीमती र छोरा आगोमा परी मरे म पनि मर्छु भनी धनसिंह आगोमा हाम्फाल्दा निजलाई आगोबाट निकाली सोध्दा ०४३।६।२९ गतेको राती मेरी श्रीमती र दमुवाले अनुचित सम्बन्ध कायम राख्न खोजेको बेला फेला परे । सो दिनदेखि श्रीमतीसँग बोलचाल थिएन । २०४३।७।१२ गते राती भनाबोल भई एक दुई चोट हानेको हुँ भनी बताएकोले आगो निभाई लाशको बाँकी रहेको अवशेष सुरक्षित राखी जाहेर गर्न आएको छु । छानबीन गरी कानुनी कारवाही गरिपाउँ भन्ने समेत पदमसिंह ऐरको जाहेरी दरखास्त ।

३.    धनसिंह बोहराको १२ हात लम्बाई १९ हात चौडाई भएको घर जली ध्यवस्त भएको, सो घरको पश्चिम उत्तरतिरको कुनामा काठको फलेक र चटाई उठाई हेर्दा एउटा सानो एउटा ठूलो टाउको र घर पोलिएको अवस्थामा रहेको कैली बोहराको भनिएको लाशको ठाउको उत्तरतर्फ र दुबै जंघ पुट्ठाको भाग मात्र पोलिएको अवस्थामा भई अरु भाग जलीसकेको सो लाशको पूर्व बगलमा मृतक महामति बोहराको लाशको खोपडी र पेटका हिस्सा मात्र बाँकी रहेको अन्य शरीरको भाग जली खरानी भइसकेको भन्ने समेतको मृतक कैली बोहरा र महामति बोहराको लाश प्रकृति मुचुल्का ।

४.    २०४३।६।२९ गते राती महिनाबारीको कारणले छिंडिमा सुतेकी मेरी श्रीमतीसँग एकै ओछ्यानमा गाउँकै दमुवा बोहोरा बसेको देखी रिस उठी हकारी बन्चरोले हान्न खोज्दा दमुवाले माफी माग्यो । श्रीमतीलाई मेरो घरमा नबस दमुवासंगै जा भन्दा आफ्नो लुगा समाती दमुवाको घरतिर गएकी थिई कहाँ सुती थाहा भएन २ दिनपछि कान्छा ससुराले घरमा पुर्‍याई दिएका हुन् २०४३।७।१२ गते राती श्रीमतीसँग सुतेकोमा श्रीमतीले मलाई अंगालो हाल्दा कैले मलाई माया गर्ने कैले दमुवाको स्वास्नी हुने भनी मैले निजको पाखुरा र जांघमा एक एक चोट हानें । काठले टाउकोमा हानेकोमा मरे भनी कराएको थिई छोरी बिउझी रुन लागि सम्झाउँदा मानिन । यसले हल्ला गर्छे भनी छोरीको घाटीमा च्यापी मारें । दुबै आमा छोरीलाई एकै ठाउँमा राखी घाँसले छोपी आगो लगाई आफू पानी लिन भनी गएँ । पानी लिई आउँदासम्म गाउँलेहरू आगो निभाई रहेकोमा अरुको शंका मेटाउन गाग्रो छोडी दौडी आगोमा फाल हालेको हुँ भन्ने समेतको अभियुक्त धनसिंह बोहराले गरेको बयान ।

५.    धनसिंहको घरमा कर्तव्यबाट आगलागी भएको हो तर कसको कर्तव्यबाट आगलागी भएको भन्न सकिदैन । मृतक कैली बोहोरा र दमुवा बोहोरा बीच अनुचित सम्बन्ध भएको गाउँघरमा हल्ला सुनेको हो भन्ने समेतको पुनेकामी समेतका व्यक्तिहरूले करिब एकै मिलन लेखाई दिएको सरजमीन मुचुल्का ।

६.    धनसिंको साविती बयान घटनास्थल सरजमीन मुचुल्का समेतका आधारमा धनसिं बोहराले कैली र दमुवा बोहोरा बीच अनैतिक सम्बन्ध रहेको थाहा पाई २०४३।७।१२ गते राती सोही विषयलाई लिएर लोग्ने स्वास्नी बीच झगडा भई आफ्नै श्रीमतीलाई हानी मारेकोमा सो घटनामा देख्ने नाबालक छोरी महामतीले कुरा खोली दिने डरले निज धनसिंह बोहरालाई ज्यानसम्बन्धीको १३(१) नं. बमोजिम सजायँ गरिपाउँ भन्ने प्रहरी प्रतिवेदन ।

७.    २०४३।६।२९ गते राती नछुने भएको कारणले छिंडीमा सुतेकी श्रीमती कैली ढोका खोली पछाडि गएको र फर्किदा दमुवा समेत संगै कोठाभित्र पसेको देखी मैले दमुवालाई स्वास्नी लैजा भन्दा दमुवाले माफी माग्यो मैले यस्तो कुराको पनिमाफी हुन्छ भन्दा दमुवा गयो मैले कैलीलाई दुई मुड्की हानें कैली पनि बाहिर गई पछि माइत गएको थाहा पाई लिन पठाउँदा आइन । कान्छा ससुराले पछि पुर्‍याएका हुन् । त्यसपछि श्रीमतीसँग झगडा भएको थिएन । २०४३।७।१२ गते राती मैले कैलीलाई तिमी पर सरेको ४ दिनका दिन अर्कासँग सुतेकी कुनै जायजन्म भएमा म राख्ने होइन भनी भनेको मात्र थियो । म पानी लिन जाँदा श्रीमती र छोरी खाटमा बसेका थिए । पानी ल्याउने ठाउँ आधा घण्टा लाग्ने हुँदा फर्कन ढीलो भई फर्की आउँदा घरमा आगो लागेको देखी गाग्रो छाडी दौडी गई हेर्दा स्वास्नी छोरी मरिन् घर पनि डढ्यो अब बाँच्न ठीक छैन भनी आगोमा फाल हाल्दा गाउँलेहरूले बचाए मैले स्वास्नी छोरीलाई कर्तव्य गरी मारी अपराधबाट उम्कन आगो लगाएको होइन । प्रहरीले मैले नभनेका कुरा लेखी सहिछाप गराएका हुन् भन्नेसमेतको प्रतिवादी धनसिं बोहोराले अदालतमा गरेको बयान ।

८.    धनसिंको घरमा आगो लागेको थाहा पाई गई कसरी आगो लाग्यो भनी धनसिंलाई सोध्दा म पानी लिन गएको थिएँ आफैं आगोमा फाल हाल्न खोज्दा गाउँलेले निजलाई समातेका थिए । कैली र दमुवा बीच अवैध सम्बन्ध भएको देखी बन्चरोले हान्न खोज्दा दमुवाले माफी माग्यो सो दिनदेखि स्वास्नीसँग मनमुटाब भएको हो भनी धनसिंहले मसँग भनेका हुन कार्तिक १२ गते राती स्वास्नीलाई हिर्काएको कुरा निजले मसँग भनेको होइन जाहेरीमा किन त्यसो लेखेको भनी तत्काल प्रहरीमा भन्दा पछि मिलाउँला भनेको थिए । धनसिंहले आगो लगायो होला भन्ने विश्वास लाग्दैन भन्ने समेतको जाहेरवाला पदमसिंह ऐरको बकपत्र ।

९.    प्र.धनसिंले आफ्नो स्वास्नी छोरीलाई मारेको होला भनी शंका लाग्दैन धनसिंको श्रीमती स्वयंले घरमा आगो लगाई आफूलाई मारेको र आफ्नो छोरी समेत मारेको जस्तो लाग्छ भन्ने समेतको प्र.धनसिंका साक्षी नट्टे बोहोरा, धनवीर धामी, रजित बोहोरा, खण्टे धामी समेतको करिब एकै मिलानको बकपत्र ।

१०.    सरजमीनका हरिदत्त अवस्थी समेतको बकपत्र मिसिल सामेल रहेको ।

११.    प्रतिवादी घोडे भन्ने धनसिंले आफ्नो स्वास्नी र छोरीलाई मारेको हो भन्ने शंकारहित रुपमा प्रमाणित हुने निश्चयात्मक तथा गडाउ हुने गर्ने कुनै ठोस प्रमाण एवं प्रत्यक्ष कोही छैन । तथ्ययुक्त ठोस सबूद प्रमाणको अभावमा प्रहरीमा भएको सावितीको भरमा मात्र अभियुक्तलाई ज्यान जस्तो गहन फौज्दारी मुद्दामा कसूरदार ठहर्‍याउन मिलेन । अतः अभियुक्त घोडे भन्ने धनसिं बोहोराले आरोपित कसूरबाट सफाई पाउने ठहर्छ भन्ने समेतको डडेलधुरा जिल्ला अदालतको २०४४।३।३१ को फैसला ।

१२.   वादी पक्षको पर्याप्त सबूद प्रमाण छँदाछँदै प्रमाणको कुनै मूल्यांकन नगरी प्रतिवादीहरूलाई सफाई दिने गरी गरेको शुरुको फैसला न्यायोचित नहुँदा सो फैसला बदर गरी प्रहरी प्रतिवेदन दावी अनुसार प्रतिवादीलाई सजायँ गरी पाउन अनुरोध छ भन्नेसमेतको वादी श्री ५ को सरकारको तर्फबाट महाकाली अं.अ.मा परेको पुनरावेदन ।

१३.   प्रहरीमा भएको प्रतिवादीको साविती कागज कुनै स्वतन्त्र प्रमाणबाट समर्थित हुन आएको छैन अभियोग प्रमाणित गर्न वादी पक्षबाट शंकारहित ठोस सबूद प्रमाण गुजार्न सकेको छैन । ठोस सबूद प्रमाणको अभावमा प्रहरीमा सावित भएको मात्र भरले प्रतिवादीले अपराध गरेको भन्न नमिल्ने हुँदा शुरुले सफाई दिएको मनासिब देखिँदा शुरु फैसला सदर हुने ठहर्छ भन्ने समेतको महाकाली अञ्चल अदालतको फैसला ।

१४.   अञ्चल अदालतको फैसलामा चित्त बुझेन भन्ने समेतको वादी श्री ५ को सरकारतर्फबाट सु.प.क्षे.अ. मा परेको पुनरावेदनपत्र ।

१५.   प्र.धनसिंहलाई सर्वश्वसहित जन्मकैद हुने ठहर्छ भन्ने समेतको सु.प.क्षे.अ. को फैसला ।

१६.    सु.प.क्षे.अ. को फैसला उपर साधक निकासाको लागि यस अदालतमा प्राप्त भई साधकको लगतमा दर्ता भएको रहेछ ।

१७.   नियम बमोजिम दैनिक पेशी सूचीमा चढी पेश हुन आएको प्रस्तुत मुद्दाको सक्कलै मिसिल अध्ययन गरियो ।

१८.   अब सु.प.क्षे.अ. बाट भएको फैसला मिले नमिलेको के रहेछ भन्ने कुराको निर्णय दिनु परेको छ ।

१९.    निर्णयतर्फ विचार गर्दा यस्मा मृतकहरू कैली र महामति प्र.धनसिंहको श्रीमती र छोरी भएकोमा विवाद छैन । निज मृतकहरू घरभित्र रही सो घरमा आगो लागी लाश डढेको देखिन्छ । सो डढेको घर प्रतिवादीकै भएको देखियो । मृतकहरूलाई प्र.ले मारी घरमा आगो लगाएको वा अन्य कारणबाट आगो लागी मरेको के हो भन्नेतर्फ हेर्दा प्र.की श्रीमती कैली र दमुवाको बीच अनुचित सम्बन्ध रहेको कारणले श्रीमतीलाई मारी छोरी महामती रुन लागेकाले निजलाई समेत मारी घरमा आगो लगाएको हुँ भनी प्रतिवादीले अधिकारप्राप्त अधिकारी समक्ष सावित भएको र अदालतमा बयान गर्दा समेत दमुवासँग कैलीको अनुचित सम्बन्ध रहेको स्वीकार गरेको छ । अदालतमा कर्तव्य गरी मारेको कुरामा मात्र इन्कार देखिन्छ । मृतकहरूको लाश एकै ठाउँमा देखिन्छ । एकै ठाउँमा डढेर मर्ने सम्भावना नै देखिँदैन । आगोले पोलेपछि भिन्न ठाउँमा पर्न सक्ने स्थिति रहन्छ । फेरि घरमा आगो लागेपछि जोसुकै पनि भाग्न खोज्ने हुन्छ । झ्याल ढोका बन्द थियो भन्न पनि सकिने स्थिति छैन । सरजमीनका खण्टे धामीले ढोका खोलेकै थियो भनेको छ । घटनाको केही बेर अघिसम्म आफू सोही घरमा रहेको र पानी लिन गएको भन्ने प्र.को भनाई छ यस्तो स्थितिमा अचानक श्रीमतीबाट त्यस्तो भएको भन्न सक्ने आधार छैन । दमुवासँग अनुचित सम्बन्ध रहेकी श्रीमतीलाई समेत मारी घरमा आगो लगाएको भन्ने अधिकारप्राप्त अधिकारी समक्ष गरेको सावितीलाई अन्य परिस्थितिजन्य प्रमाणले समर्थन गरेको हुँदा प्र.लाई ज्यानसम्बन्धीको १३(३) नं. बमोजिम सर्वश्वसहित जन्मकैद गर्ने गरेको सु.प.क्षे.अ. को इन्साफ मिलेकै देखिँदा सदर हुने ठहर्छ । मिसिल नियम बमोजिम गरी बुझाई दिनु ।

 

उक्त रायमा म सहमत छु ।

 

न्या.हरगोविन्दसिंह प्रधान

 

इति सम्वत् २०४६ साल जेष्ठ १५ गते रोज १ शुभम् ।

 

 

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु