शब्दबाट फैसला खोज्‍नुहोस्

निर्णय नं. ३७९६ - कर्तव्य ज्यान

भाग: ३१ साल: २०४६ महिना: श्रावण अंक:

निर्णय नं. ३७९६     ने.का.प. २०४६      अङ्क ४

 

संयुक्त इजलास

माननीय न्यायाधीश श्री पृथ्वीबहादुर सिंह

माननीय न्यायाधीश श्री रुद्रबहादुर सिंह

सम्वत् २०४३ सालको फौ.पु.नं. ५१२

फैसला भएको मिति : २०४६।२।२२।१ मा

पुनरावेदक/वादी : हेमकुमारी बानियाको जाहेरीले श्री ५ को सरकार

विरुद्ध

विपक्षी/प्रतिवादी : जि.मकवानपुर रुनामाडी गा.पं. वार्ड नं. ४ बस्ने      गोपालप्रसाद पराजुली

मुद्दा : कर्तव्य ज्यान

(१)    वारदातको समयमा घटनास्थलमा नरहेको भनी लिएको जिकिरलाई निजहरूले प्रमाणित गर्नुपर्ने ।

(प्रकरण नं. ४६)

(२)   प्र.समेतले कमाएको जग्गामा पेटबोलीबाट बुझिएकाले, ४०, ५० हल गोरु लिई मकै छर्न जाँदा झगडा भई कुटपीट भएको देखिन आएबाट प्रतिवादीले मार्ने मनसाय राखी कुटपीट गरेको देखिन नआउने ।

(प्रकरण नं. ४६)

(३)   वारदात नै भवितव्यबाट घटेको ठहर भएकोले बचन दिई षडयन्त्र गरेको भन्न नमिल्ने ।

(प्रकरण नं. ४६)

(४)   वारदातको समयमा अन्यत्र रहेको भनी लिएको जिकिर निजका साक्षीले पुष्ट्याई गरी बकपत्र गरेको देखिँदा केवल जाहेरवालीको शंकाको भरमा कसूरदार ठहराउन नमिल्ने ।

(प्रकरण नं. ४६)

पुनरावेदक/वादी तर्फबाट : विद्वान सहन्यायाधिवक्ता श्री बलराम के.सी.

विपक्षी/प्रतिवादी तर्फबाट : विद्वान वरिष्ठ अधिवक्ता श्री मुकुन्द रेग्मी

फैसला

न्या.पृथ्वीबहादुर सिंह

१.     मध्यमाञ्चल क्षेत्रीय अदालतको फैसला उपर वादी श्री ५ को सरकारतर्फबाट पुनरावेदन पर्न आएको प्रस्तुत मुद्दाको संक्षिप्त व्यहोरा यस प्रकार रहेछ ।

२.    मेरो लोग्ने होमबहादुर २०३८।१२।३१ गते बिहान अं. ६ बजेको समयमा फूके दमाईको घरमा जान्छु भनी निस्कनु भएकोमा करिब अं. ८ बजेको समयमा तपाईको लोग्ने होमबहादुरलाई कुटपीट गरी बेहोस पारी वापस जाने सडक र फुर्के चौर सिरानमा जाने सडक चौबाटोमा फ्याँकी राखेका रहेछन् भनी गाउँका मनिसहरूले मलाई भन्न आएका र म घटनास्थलमा गई हेर्दा पति बेहोस् अवस्थामा हुनु हुँदो रहेछ । सुराक पत्ता लगाउँदा किरण खनाल, अर्जुनबहादुर थापा, पुष्पबहादुर थापा, रुद्रप्रसाद खतिवडा, केशवबहादुर कार्की, शेरबहादुर थापा, प्रेमबहादुर कठेत, रामप्रसाद पराजुली, गोपालप्रसाद पराजुली, चेतबहादुर थापा समेतको १० जनाले कुटपीट गरेको हुँदा कानुन बमोजिम कारवाही गरिपाउँ भन्ने जाहेरवाली हेमकुमारीको मिति २०३९।१।३ को जाहेरी दरखास्त ।

३.    किरणप्रसाद खनाल समेतका १० जनाको कुटाईको चोटबाट घाइते भएको लोग्ने होमबहादुर बानियाको नारायणी अञ्चल अस्पताल वीरगन्जबाट उपचार हुँदाहुँदै कुटपीट भएको मितिदेखि बेहोस अवस्थामा नै मिति २०३९।१।७ गते अस्पतालमा नै मृत्यु भएको हुँदा कसूरदारहरूलाई पक्राउ गरी कानुनी कारवाही गरिपाउँ भन्ने समेत व्यहोराको जाहेरवाली हेमकुमारीको मिति २०३९।१।९ को जाहेरी दरखास्त ।

४.    उल्लेखित मिति २०३८।१२।३१ मा म वारदात भएको ठाउँमा छैन र मैले मर्ने होमबहादुर बानियालाई कुटपीट गरेको र मैले कुटपीट गरी मारेको पनि होइन झगडा कुटपीट वारदात भइसकेपछि मात्र हेटौंडाबाट घरमा पुगेको हुँदा मर्ने होमबहादुरलाई को कसले कुटपीट गरे कसको चोटबाट मृत्यु भएको हो मलाई थाहा नहुँदा खुलाउन सक्दिन । यस्मा मेरो केही कसूर छैन भन्ने समेत व्यहोराको अभियुक्त रामप्रसाद पराजुलीको मिति २०३९।१।१० मा प्रहरीमा भएको बयान कागज ।

५.    उक्त मितिमा मर्ने होमबहादुर बानियालाई को कसले कुटपीट गरेको कसको चोटबाट निजको मृत्यु भयो थाहा छैन । सो कुटपीटको वारदातमा म छैन । म समेतले कुटपीट गरी होमबहादुर बानियालाई कर्तव्य गरी मारेको भनी म उपर दिएको उजूरी कपोलकल्पित हो भन्ने समेत व्यहोराको अभियुक्त गोपालप्रसाद पराजुलीको मिति २०३९।१।१० मा प्रहरीमा भएको बयान कागज ।

६.    म टि.वि. को विरामी भएकोले औषधि उपचारको लागि इन्जेक्सन लगाउन गुबावारी हेल्थ पोष्टमा आएको थिएँ सो कुटपीट वारदात भएको ठाउँमा को कसले कुटपीट गरी कसको चोटबाट मर्ने होमबहादुर बानियाको मृत्यु हुन गयो सो मैले नदेखेकोले खुलाउन सक्दिन भन्ने समेत व्यहोराको चेतबहादुर थापाले मिति २०३९।१।१०।६ मा प्रहरीमा गरेको बयान ।

७.    किरणप्रसाद खनालले आदेश गरी रुद्रप्रसाद शेरबहादुर, पुष्पबहादुर, केशवबहादुर, प्रेमबहादुर, अर्जुन थापा समेतले कुटपीट गरेको देखेको हुँ भन्ने केही मानिस र निजहरूले कुटपीट गरेको सुनेको हुँ भन्ने केही मानिस र पक्राउमा परेका चेतबहादुर, गोपालप्रसाद, रामप्रसाद घटनामा थिए भन्ने केही व्यक्ति र घटनास्थलमा सो समयमा थिएनन् भन्ने केही व्यक्तिहरूको भनाई भएको समेत व्यहोराको मिति २०३९।१।२४ को प्रहरीबाट भएको सरजमीन मुचुल्का ।

८.    संकलित सबूद प्रमाणबाट मृतक होमबहादुरलाई अरु कुनै रोग लागेको नदेखिई वारदात अवस्थामा भएको कुटपीटबाट बेहोस भई अस्पतालमा उपचार हुँदाहुँदै निजको मृत्यु भएको भन्ने देखिन आएकोबाट निज होमबहादुरको कुटपीटकै चोटको कारणले नै कर्तव्य भई ऐनका म्यादभित्र मरेको भन्ने देखिन आयो । जाहेरी दरखास्त सरजमीन मुचुल्का समेतका सबूद प्रमाणबाट किरणप्रसाद खनालले बचन दिएको रुद्रबहादुर, शेरबहादुर, पुष्पबहादुर, केशवबहादुर, प्रेमप्रसाद, अर्जुनबहादुर समेतको कुटपीटको चोटबाट होमबहादुरको मृत्यु भएको र गोपालप्रसाद, रामप्रसाद, चेतबहादुर थापा, केशवबहादुर कार्की, ढाङ कार्कीनी भन्ने ठगकुमारी, नाम थाहा नभएको दुर्गाबहादुरकी श्रीमती, भोबहादुर थापा, मुरली कार्की, गोपाल ढकाल, ऐ.की श्रीमती, हेमबहादुर गुरागाई, बलराम कार्की, केशवराज कार्की, हरि भट्टराई, कृष्णे ढकाल, ज्ञाने कार्की समेतले मृतक होमबहादुरलाई चोट छाडेको नदेखिए पनि कुटपीट गर्दाका अवस्थामा हुलहुज्जत गरी बसेको र मृतक होमबहादुरलाई कुटपीट गर्नमा मत सल्लाहमा पसेको भन्ने प्रष्ट रुपमा देखिन आएबाट बचन दिने किरणप्रसाद खनाललाई ज्यानसम्बन्धीको १३(४) अनुसार सजायँ हुन र होमबहादुरलाई चोट छाड्ने रुद्रप्रसाद, शेरबहादुर, पुष्पबहादुर, केशवबहादुर, प्रेमप्रसाद, अर्जुनबहादुर समेतलाई यसैको चोटबाट होमबहादुरको मृत्यु भएको भन्ने खुल्न नआएकोले उक्त ज्यानसम्बन्धीको १३(३) अनुसारको सजायँ हुन र अन्य गोपालप्रसाद पराजुली, रामप्रसाद पराजुली, चेतबहादुर थापा, केशरबहादुर कार्की, ठगकुमारी कार्कीनी, दुर्गाबहादुरको श्रीमती नाम नजानेकी, हेमबहादुर गुरागाई, बलराम कार्की, केशवराज कार्की भोटेनी भन्ने पदमकुमारी महत, हरि भट्टराई, कृष्ण भट्टराई, कृष्ण ढकाल, ज्ञाने कार्की समेतलाई ज्यानसम्बन्धीको १७(३) नं. अनुसार सजायँ हुन र गोपालप्रसाद, रामप्रसाद, चेतबहादुर बाहेकका अन्य अभियुक्तहरू पक्राउमा नपरेकाले अदालतबाटै वारेण्ट म्यादी पुर्जी समेत जारी हुन र गवाहा अदालतबाटै समाव्हान गरी बुझी पाउन समेत अनुरोध गरिन्छ भन्ने समेत व्यहोराको प्रहरी प्रतिवेदन ।

९.    होमबहादुर बानियालाई मिति २०३८।१२।३१ गते म समेत भई कुटपीट गरेको छैन म टि.वि. को विरामी हुँदा मिति २०३८।१२।३१ गतेको बिहान शुई लगाउन गोवाबारी हेल्थ पोष्टमा गई ९।। बजे बिहान घरमा फर्केको हुँदा कुटपीट वारदात भएको समयमा घटनास्थलमा गएको छैन । होमबहादुर बानियालाई कसले कुटे मलाई थाहा छैन मैले कसूर गरेको छैन भन्ने समेत व्यहोराको प्रतिवादी शेरबहादुर थापाले मिति २०३९।२।२।१ मा मकवानपुर जिल्ला अदालतमा गरेको बयान ।

१०.    मिति २०३८।१२।३० गते जेठा बाको छोरा दाजु गोपालप्रसाद काठमाडौंंबाट तारेख लिई सोही दिन हेटौंडा आउनु भएको थियो । सो ३० गते गोपाल पराजुलीको छोराको क्वाटरमा सुती भोलिपल्ट ३१ गते बिहान अं. ६ बजे गाउँमा जान्छु भनी निज दाजु र म हिंडी १० बजे पुगी ११ बजे मोहनमान कार्कीको घरमा रुद्री गरी २ बजे दाजु गोपाल पराजुली घरमा जानु भयो म कुटपीट भए सम्बन्धमा बुझ्छु भनी गएँ । क कसले होमबहादुरलाई कुटे सो मलाई थाहा छैन । कुटपीट भएको थियो भनी विष्णुबहादुर चौलागाईले भनेका थिए, मैले कुटेको र कुट्न लगाएको समेत छैन भन्ने समेत व्यहोराको मिति २०३९।२।२ मा प्र्रतिवादी रामप्रसाद पराजुलीले मकवानपुर जिल्ला अदालतमा गरेको बयान ।

११.    मिति २०३८।१२।३१ गते बिहान ६ बजे हेटौंडाबाट हिंडी १० बजेतिर मात्र गाउँमा पुगेको हुँ, वारदात अवस्थामा म गाउँमा घरमा छैन कुटपीट भयो अरे भन्नेसम्म सुनेको हुँ मैले कुनै कसूर गरेको छैन भन्ने समेत व्यहोराको मिति २०३९।२।२ को प्रतिवादी गोपालप्रसाद पराजुलीले मकवानपुर जिल्ला अदालतमा गरेको बयान ।

१२.   मिति २०३८।१२।३१ गते हामीले कमाई आएको ऐलानी बारीमा कृष्णबहादुर बानियाले गोरु हल २५ नारी मकै छर्न लाग्दा हामीले गोरु फुकाउन खोज्दा उक्त कुटपीट भई झंै झगडा वारदात भएको हो । भीडमा को कसले हिर्काए कसको लठ्ठी चोटबाट मरे, मैले देखिन कुटपीट भएको हो मैले कुटेको छैन भन्ने समेत व्यहोराको मिति २०३९।२।१३ मा प्रतिवादी ठगकुमारी कार्कीनीले मकवानपुर जिल्ला अदालतमा गरेको बयान ।

१३.   मिति २०३८।१२।३१ मा म घटनास्थलमा नै छु । को कस्को चोटबाट मृतक होमबहादुरको मृत्यु हुन गएको हो थाहा भएन, शेर थापा, रुद्रप्रसाद खतिवडा, पुष्प थापा, केशव कार्कीले कुटपीट गरेको शंका लाग्छ मैले कसूर गरेको छैन भन्ने समेत व्यहोराको प्रतिवादी प्रेमकुमारी नेपालले मिति २०३९।२।१३ मा मकवानपुर जिल्ला अदालतमा गरेको बयान ।

१४.   घटना भएको भन्ने समयमा घाँस काट्न वनमा गएको थिएँ, मैले कसूर नगरेको र वारदातका समयमा नभएको भन्ने समेत व्यहोराको प्रतिवादी भोटेनी भन्ने पदमाकुमारी महतले मकवानपुर जिल्ला अदालतमा गरेको बयान ।

१५.   मेरो गाउँघर निर कुटपीट भएको भए पनि सो समयमा म घटनास्थलमा नभएकोले त्यस सम्बन्धी केही थाहा छैन म निर्दोष छु भन्ने समेत व्यहोराको प्रतिवादी मुकुन्दकुमार थापाको अदालतमा बयान ।

१६.    वारदात भएको दिन म खड्कुले भन्ने जग्गामा जोत्न गएको थिएँ । मैले मृतक होमबहादुर बानियालाई कुटपीट गरेको छैन, अरु कस कसले कुटे सो पनि थाहा छैन भन्ने समेत व्यहोराको प्रतिवादी बलराम कार्कीले अदालतमा गरेको बयान ।

१७.   मिति २०३८।१२।३१ गते म चुरियामा छु घटनास्थलमा छैन कसले कुटे मलाई थाहा छैन म उपर लगाइएको अभियोगबाट फुर्सद पाउँ भन्ने समेत व्यहोराको प्रतिवादी कृष्णबहादुर भट्टराईले अदालतमा गरेको बयान ।

१८.   मिति २०३८।१२।३१ गते गानु दुखी घर गई सुतिरहेको थिएँ । मैले होमबहादुरलाई कुटेको छैन म उपर लगाइएको अभियोगबाट फुर्सद पाउँ भन्ने समेत व्यहोराको प्रतिवादी भोजबहादुर थापा क्षेत्रीले अदालतमा गरेको बयान ।

१९.    वारदातको समयमा को को भई होमबहादुरलाई कुटपीट गरे मलाई थाहा छैन म भिरत्तेको पँधेरोमा नुहाउन गएको थिएँ भन्ने समेत व्यहोराको प्रतिवादी हरि ढकालले अदालतमा गरेको बयान ।

२०.   मिति २०३८।१२।३१ गते म गोठमा छु उक्त वारदात सय गज टाढा भएको हुँदा को कोले होमबहादुरलाई चोट छोडे मलाई थाहा छैन म निर्दोष छु भन्ने समेत व्यहोराको प्रतिवादी गोपीलाल ढकालले अदालतमा गरेको बयान ।

२१.   मिति २०३८।१२।३१ गते होमबहादुर बानियालाई खाटमा हाली बोकी हेटौंडातर्फ लाँदा देखिकी हुँ ककसका मद्दत सल्लाहबाट होमबहादुरलाई पिटेको हुन् मलाई थाहा छैन म निदोष छु भन्ने समेत व्यहोराको प्रतिवादी दिलमाया ढकालले अदालतमा गरेको बयान ।

२२.   मिति २०३८।१२।३१ गते म आफ्नै घरमा छु रुद्री हुँदा तोरन बाटेर बसेको अवस्थामा घाइते होमबहादुर बानियालाई अस्पताल लगेको देखेको हुँ । वारदातमा म नहुँदा ककसले कुटे मलाई थाहा छैन म निर्दोष छु भन्ने समेत व्यहोराको केशवराज कार्कीले अदालतमा गरेको बयान ।

२३.   मिति २०३८।१२।२२ गते काठमाडौंं गई २३ गते लिखु पञ्चायतमा भिनाजु भएको ठाउँमा गएको हुँ २३ गतेदेखि नै ज्वरो आई जिल्ला कार्यालय जनस्वास्थ्य शाखा त्रिसुलीमा उपचार गर्दै गएँ । मिति २०३९।१।५ सम्म बाहिर बसी ६ गते काठमाडौंं भिनाजुको घरमा आई मिति २०३९।१।७ मा मात्र मकवानपुर आफ्नो घरमा आएँ । मिति २०३८।१२।३१ को घटनाको वारदात प्रत्यक्षदर्शी रामहरी खतिवडा समेतको मुखबाट सुनेको हुँ । कृष्णबहादुर र नरेन्द्र बानियाले हानेको लठ्ठीले होमबहादुर बानिया मरेका थिए रे भन्ने समेत कुरा सुनेको हुँ म वारदात अवस्थामा घरमा छैन जनस्वास्थ्य शाखा नुवाकोटको मिति २०३९।१।५ को मेडिकल सर्टिफिकेट पेश गरेको छु भन्ने समेत व्यहोराको प्रतिवादी रुद्रप्रसाद खतिवडाले अदालतमा गरेको बयान ।

२४.   वारदात भएको दिन १२ बजेसम्म घरमा नै छु । मृतक होमबहादुरलाई कृष्णबहादुर बानिया, नरेन्द्र बानियाले लाठिले हाने भन्ने कुरा सुनेको हुँ । सो समयमा को को थिए केही थाहा छैन भन्ने समेत व्यहोराको प्रतिवादी प्रेमबहादुर कठैतले अदालतमा गरेको बयान ।

२५.   कृष्णबहादुर बानियाको कुटाईबाट होमबहादुरको मृत्यु भएको हो भन्ने कुरा देख्ने पदम कार्कीले मलाई भनेका हुन् भन्ने समेत व्यहोराको हेमबहादुर गुरागाईको अदालतमा बयान ।

२६.   मिति २०३८।१२।३१ गते रामप्रसाद पराजुलीको घरमा रुद्री गर्न गई १० बजे आएँ । कुटपीट भएको अवस्थामा म घटनास्थलमा छैन भन्ने समेत व्यहोराको प्रतिवादी मोहनमान कार्कीको अदालतमा बयान ।

२७.   मिति २०३८।१२।३१ गते विरामी हुँदा घरमै छु । होमबहादुरको मृत्यु कुटपीटबाट भएको हो । कृष्णबहादुर बानिया र ठगकुमारीको झगडा भयो भन्ने सुनेको हुँ । म घटनास्थलमा नभएको व्यक्ति उपर किन सजायँको माग दावी लिएको हो मलाई थाहा छैन भन्ने समेत व्यहोराको हरि भट्टराई भन्ने रुद्रबहादुर भट्टराईको अदालतमा बयान ।

२८.   म घरबाट चैत्र २९ गते हिंडेको टिका भैरव चौकीमा २०३८।१२।३० गते ८ बजे पुगें । त्यस गाउँको बोका हराएकोले हामीलाई शंका गरी चौकीले थुन्यो भोलिपल्ट मिति २०३८।१२।३१ मा कागज गराई ९ बजे छाडी दियो । खसी बोका बेची म पहाड गएँ हामीले कुटपीट गरेको छैन ककसले कुटे त्यो पनि थाहा छैन भन्ने समेत व्यहोराको प्रतिवादी शेरबहादुर थापाको अदालतमा बयान ।

२९.   मिति २०३८।१२।३१ मा म काठमाडौंं छु । किरण खनाल, शेरबहादुर थापा मेरो साथमा छन् चैत्र २९ गते ठिगन हुँदै काठमाडौंं जाँदा मिति २०३८।१२।३० मा टिका भैरव चौकीले हामीलाई बोका चोरीमा शंका गरी थुन्यो । मिति २०३८।१२।३१ मा कागज गराई छाडी दियो । काठमाडौंं गई बोका बेची शेरबहादुर पहाड गए । किरण खनाल चापागाउँ गए । म रामबहादुर अधिकारीको घरमा बसें १० गते घर आउँदा झगडा भएको कुरा थाहा पाएँ । म त्यस ठाउँमा गएको पनि छैन मैले कुटेको पनि छैन भन्ने समेत व्यहोराको प्रतिवादी पुष्पबहादुर थापाको अदालतमा बयान ।

३०.   मिति २०३८।१२।३१ मा म काठमाडौंं छु । २०३९।१।२ गतेसम्म रामबहादुर अधिकारीको घरमा बसी घर जाँदा झगडा भएको कुरा सुनेकोे हुँ अरु कुरा मलाई थाहा छैन मैले कुटपीट गरी मारेको हैन भन्ने समेत व्यहोराको प्रतिवादी अर्जुनकुमार थापा क्षेत्रीले अदालतमा गरेको बयान ।

३१.   मिति २०३८।१२।३१ मा म ललितपुर धापाखेल वासुदेवप्रसाद पौडेलको घरमा छु, खसी बोका व्यापार गर्न जाँदा टिका भैरव चौकीले चोरीमा शंका गरी मिति २०३८।१२।३० मा थुन्यो र भोलिपल्ट कागज गराई छाडी दियो । घटनास्थलमा नहुँदा त्यसबारे केही थाहा छैन कुटपीट भएको भन्नेसम्म सुनेको हुँ मैले कुटपीट गरी मारेको छैन भन्ने समेत व्यहोराको प्रतिवादी किरणप्रसाद खनालको अदालतमा बयान ।

३२.   फरार रहेका प्रतिवादी केशरबहादुर कार्की, कृष्ण ढकाल र ज्ञाने कार्की समेत जवान ३ का नाममा मिति २०३९।४।२३ मा र प्रतिवादी केशरबहादुर कार्कीका नाममा मिति २०४०।४।११ मा अदालतबाट जारी भएको वारेण्ट तथा ७० दिने म्यादी पुर्जी तामेल भएकोमा शुरु म्यादी पुर्जी तामेल भएकोमा शुरु म्यादै गुजारी बसेका ।

३३.   जाहेरी दरखास्त दिएको छु अभियुक्तहरूकै कर्तव्यबाट मृतक होमबहादुरको मृत्यु हुन गएको हो प्रहरी प्रतिवेदन दावी ठिक छ भन्ने समेत व्यहोराको जाहेरवाली हेमकुमारी बानियाको अदालतमा बकपत्र ।

३४.   मिति २०३८।१२।३१ मा म आफ्नै बारी फुके चौरमा १५ हल गोरु र १५ जना जति मानिस लिई मकै छर्न भनी गएको थिएँ । ठगकुमारी कार्कीनीले समेत आई जोताहारा काटी गोरु फुकाई मलाई कुटपीट गरे म मुर्छा परें बिउझी हेर्दा भाइ होमबहादुर लडी मुर्छा परिरहेका रहेछन् । रुद्रप्रसाद, अर्जुनबहादुर, चेतबहादुर, रामप्रसाद पराजुली, गोपालप्रसाद पराजुली समेतका मानिसले कुटपीट गरेको मैले देखेको हुँ भन्ने समेत व्यहोराको पेटबोलीबाट बुझिएका कृष्णबहादुर बानियले अदालतमा गरेको बयान ।

३५.   प्रतिवादी केशरबहादुर कार्की, केशवबहादुर कार्की, कृष्ण ढकाल र ज्ञाने कार्कीको हकमा अ.बं. १९० नं. बमोजिम मुलतवी रहने ठहर्छ र प्रत्यवादी किरणप्रसाद, पुष्पबहादुर, शेरबहादुर थापा र रुद्रप्रसाद खतिवडा वारदात स्थलमा रहे भएको तथा किरणप्रसादकै षड्यन्त्रबाट उक्त घटना घटेको हो भनी मौकामा देख्ने प्रत्यक्षदर्शी सरजमीनका प्रत्यक्षदर्शीहरूको भनाई भएको एवं तत्काल उठेको रिस थाम्न नसकी रुद्रबहादुर थापा, पुष्पबहादुर थापा, शेर बहादुर थापा समेतले कुटपीट गरी सोही चोटको कारणबाट होमबहादुरको मृत्यु भएको देखिँदा प्रतिवादी किरणप्रसादलाई ज्यानसम्बन्धीको १६ नं. ले मुख्य भई षड्यन्त्र गरे बापत ५ वर्ष कैद हुने र प्रतिवादी पुष्पबहादुर, रुद्रप्रसाद खतिवडा, शेरबहादुर थापालाई ज्यानसम्बन्धीको १४ नं. बमोजिम जनही १० वर्ष कैद हुने ठहर्छ तथा अन्य प्रतिवादीहरू अर्जुनकुमार थापा, प्रेमबहादुर कठेत, गोपालप्रसाद पराजुली, रामप्रसाद पराजुली, चेतबहादुर थापा, ठगकुमारी, प्रेमकुमारी, गोपाल, भोजबहादुर थापा, मोहनमान कार्की, गोपी ढकाल, दिलमाया, हेमबहादुर गुरागाई, बलराम कार्की, केशवराज कार्की, पदमकुमारी महत, रुद्रबहादुर भट्टराई, कृष्ण भट्टराई, मुकुन्दबहादुर थापा एवं पेटबोलीबाट झिकाइएका प्रतिवादी कृष्णबहादुर बानिया समेतका हकमा कुटपीट गरेकोमा अदालतमा इन्कारी रहे भएको र शंकाकै भरमा अपराधी ठहर गर्न न्यायोचित नहुँदा निजहरूले सफाई पाउने ठहर्छ भन्ने समेत व्यहोराको शुरु मकवानपुर जिल्ला अदालतको मिति २०४१।३।३२ को फैसला ।

३६.   किटानी जाहेरी, प्रतिवादी मध्येका ठगकुमारीले अदालतमा बयान गर्दा म ठगकुमारी, दुर्गाको श्रीमती, पुष्पा थापा, अर्जुन थापा, रुद्रप्रसाद, केशव कार्की, गोपीको श्रीमती समेत र प्रेमकुमारीले गुहार माग्दा उक्त घटना घट्न गएको भनी बयान गर्नुका साथै चस्मदिद गवाहहरूको किटानी बकपत्र लाश पोष्टमार्टम समेतका तथ्य सबूद प्रमाणले शंकारहित तवरले समर्थित हुन आएकोमा इन्कारीको आधारमा किरण खनाल, पुष्प थापा, रुद्रप्रसाद खतिवडा र शेरबहादुर थापालाई घटी सजायँ गरी र अन्य अर्जुनकुमार थापा समेतका विरुद्ध खण्डमा लेखिएका अधिकांश प्रतिवादीहरूलाई सफाई दिई गरेको फैसला बदर गरी प्रतिवादीहरूलाई शुरु प्रहरी प्रतिवेदन माग दावी बमोजिम सजायँ दिलाई पाउँ भन्ने समेत व्यहोराको वादी श्री ५ को सरकारतर्फको मिति २०४१।८।७ मा मध्यमाञ्चल क्षेत्रीय अदालतमा परेको पुनरावेदनपत्र ।

३७.   शुरु जिल्ला अदालतले न्याय र कानुनको दृष्टिमा समेत गम्भीर त्रुटि गरी प्रमाण ऐन, २०३१ को दफा ५४ समेतका विपरीत गई फैसला गरेकाले सो त्रुटिपूर्ण फैसला बदर गरी हक इन्साफ न्याय पाउँ भन्ने समेत व्यहोराको प्रतिवादी किरणप्रसाद खनालको मिति २०४१।८।१९ मा म.क्षे.अ.मा परेको पुनरावेदनपत्र ।

३८.   हामीहरूको बयान साक्षीहरूको बकपत्रको मूल्यांकन नगरी सहअभियुक्तको पोललाई मात्र फैसलाको आधार बनाई प्रत्यक्षदर्शी गवाहाको अभावमा हामीहरूले नै मर्ने होमबहादुरलाई कुटपीट गरी मर्न गएको भनी शुरु जिल्ला अदालतले त्रुटिपूर्ण फैसला गरेकोले सो फैसला बदर गरिपाउँ भन्ने समेत व्यहोराको प्रतिवादी पुष्पबहादुर थापा, रुद्रप्रसाद खतिवडा, शेरबहादुर थापा समेत जना ३ को मिति २०४१।६।२५ मा भिमफेदी कारागार मार्फत मध्यमाञ्चल क्षेत्रीय अदालतमा परेको पुनरावेदनपत्र ।

३९.   प्रतिवादी अर्जुनकुमार थापा र प्रेमबहादुर कठैतलाई शुरुबाट सफाई दिने गरेको फैसला मिलेको नदेखिँदा छलफलको लागि अ.बं. २०२ नं. र क्षेत्रीय अदालत नियमावली, २०३६ बमोजिम विपक्षी प्रतिवादी अर्जुनकुमार थापालाई सूचना दिई र प्रतिवादी प्रेमबहादुर कठेतलाई झिकाई पेश गर्नु भन्ने समेत व्यहोराको मध्यमाञ्चल क्षेत्रीय अदालत डिभिजनबेञ्चको मिति २०४२।२।२२ को आदेश ।

४०.   शुरु जि.अ.को इन्साफ फरक पर्ने देखिएकोले झगडिया झिकाउनु पर्ने गरी अ.बं. २०२ नं. ले व्यवस्था गरे अनुसार मिति २०४२।२।२२ को आदेशले झिकाए बाहेकका सफाई पाउने अन्य प्रतिवादीहरूलाई समेत झिकाई पेश गर्नु भन्ने समेत व्यहोराको मध्यमाञ्चल क्षेत्रीय अदालत डि.बे.को मिति २०४२।१०।८ को आदेश रहेछ ।

४१.   शंकाको सुविधा प्रतिवादीहरूले पाउने कारणबाट सम्पूर्ण प्रतिवादीहरूले सफाई पाउने ठहर्छ भन्ने समेतको मध्यमाञ्चल क्षेत्रीय अदालतको फैसला ।

४२.   मध्यमाञ्चल क्षेत्रीय अदालतको फैसलामा चित्त बुझेन प्रहरी प्रतिवेदन माग दावी बमोजिम प्रतिवादीहरूलाई सजायँ गरिपाउँ भन्ने समेतको श्री ५ को सरकारतर्फबाट यस अदालतमा पुनरावेदन पर्न आएको ।

४३.   कुटपीट वारदातबाट होमबहादुरको मृत्यु भएकोमा मौकाको सरजमीनमा होमबहादुरलाई कुटपीट गर्दा देख्ने भनेका मध्ये चस्मदिद राजनबहादुर, जगतबहादुर, सुरेन्द्रराज, जयबहादुर समेतले कुटपीट गर्दा देखेको भनी अदालतमा किटानी बकपत्र गरेकोले किरणप्रसाद, रुद्रप्रसाद, शेरबहादुर, पुष्पबहादुर, प्रेमबहादुर कठैत र अर्जुनबहादुरलाई अ.बं. २०२ नं. बमोजिम झिकाई पेश गर्नु भन्ने समेतको यस अदालतमा संयुक्त इजलासको आदेश ।

४४.   नियम बमोजिम दैनिक पेशी सूचीमा चढी आज निर्णय सुनाउने तारेख तोकिएको प्रस्तुत मुद्दामा वादी श्री ५ को सरकारका तर्फबाट उपस्थित विद्वान सहन्यायाधिवक्ता श्री बलराम के.सी. ले र विपक्षी रुद्रप्रसाद खतिवडा समेतका तर्फबाट उपस्थित विद्वान वरिष्ठ अधिवक्ता श्री मुकुन्द रेग्मीले गर्नुभएको बहस समेत सुनियो ।

४५.   अब प्रस्तुत मुद्दामा मध्यमाञ्चल क्षेत्रीय अदालतबाट भएको इन्साफ मनासिब वा बेमनासिब के रहेछ सो कुराको निर्णय दिनु परेको छ ।

४६.   निर्णयतर्फ विचार गर्दा यस्मा मृतक होमबहादुरको मृत्यु कुटपीटको वारदात भई सोही कारणबाट भएको भन्ने कुरा मिसिल संलग्न प्रमाणहरूबाट पुष्टी हुन आएको छ । निजको मृत्यु के कस्को कुटाईबाट भएको हो भन्ने सम्बन्धमा हेर्दा प्रतिवादीहरू आरोपीत कसूरमा इन्कार रहेको भए तापनि होमबहादुरलाई कुटपीट गर्दा देखेको भनी सरजमीनमा लेखाई दिने व्यक्तिहरू मध्ये चश्मदिद देख्ने राजनबहादुर अधिकारी, जगतबहादुर थिङ, सुरेन्द्रराज बानिया, जयबहादुर मोक्तान, बखतबहादुर बानिया, रामकुमार बानिया र दिलकुमारी बस्नेत समेतले यी प्रतिवादी मध्येका रुद्रप्रसाद खतिवडा, शेरबहादुर थापा, पुष्पबहादुर थापा समेतले कुटपीट गर्दा देखेको भनी अदालतमा आई बकपत्र समेत गरेको देखिन्छ । निज प्रतिवादीहरूले वारदातको समयमा घटनास्थलमा नरहेको भनी लिएको जिकिरलाई निजहरूले प्रमाणित गर्नुपर्ने हुन आउँछ । सो अन्यत्र स्थानमा रहेको भन्ने जिकिरलाई निजहरूले पुष्टि गर्नसकेको देखिएन । यस्तो स्थितिमा निजहरू वारदातमा सरिक रहेको रहेनछ भन्न मिलेन । निजहरूका विरुद्धमा ज्यानसम्बन्धी १३(३) नं. को दावी प्रहरी प्रतिवेदनमा लिएको पाइन्छ । सो बमोजिम प्रतिवादीहरूले मृतकलाई मार्ने मनसाय लिई कुटपीट गरेका हुन् वा होइनन् भन्नेतर्फ हेर्दा प्र.मध्येका चन्द्रकुमारी भन्ने प्रेमकुमारी र ठगकुमारी समेतले कमाएको जग्गामा पेटबोलीबाट बुझिएका कृष्णबहादुर बानियाले ४०।५० हल गोरु लिई मकै छर्न जाँदा झगडा भई कुटपीट भएको देखिन आएबाट प्रतिवादीहरूले मार्ने मनसाय राखी कुटपीट गरेको देखिन आएन । केवल मकै छर्ने विषयमा भनाभन हुँदा होस नपुर्‍याई हेलचक्रयाइबाट प्र.रुद्रप्रसाद खतिवडा शेरबहादुर थापा र प्र.पुष्पबहादुर थापाले मृतक होमबहादुर थापालाई कुटपीट गर्दा निजको मृत्यु हुन गएकोले ज्यानसम्बन्धीको ६ नं. को देहाय (२) बमोजिम निजहरूलाई जनही २ वर्ष कैद र ५०० रुपैयाँ जरिवाना हुने ठहर्छ । अन्य प्रतिवादीहरू मध्ये प्र.किरणप्रसादलाई होमबहादुरलाई मार्ने षडयन्त्र गरी बचन दिएको आरोप लगाइएकोमा निज कसूरमा इन्कार छन् । वारदात नै भवितव्यबाट घटेको ठहर भएकोले निजले बचन दिई षडयन्त्र गरेको भन्न मिल्ने देखिएन । ज्यानसम्बन्धीको १३(३) नं. बमोजिम सजायँको माग भएका प्रेमबहादुर र अर्जुनबहादुर समेत कसूरमा इन्कार देखिन्छ । अर्जुनबहादुर वारदातको समयमा भन्दा अगावै २०३८।१२।२४ गतेदेखि २०३९।१।२ गतेसम्म काठमाडौंंमा रहेको भनी लिएको जिकिरलाई निजका साक्षी रामबहादुरले चैत्र ३० गते आफ्नो घरमा बसेको भनी लेखाएको र प्र.प्रेमबहादुर पनि वारदातको समयमा अन्यत्र रहेको भनी लिएको जिकिर निजका साक्षीले पुष्ट्याई गरी बकपत्र गरेको देखिँदा केवल जाहेरवालीको शंकाको भरमा कसूरदार ठहराउन नमिल्ने हुँदा निजहरूले सफाई पाउने ठहर्छ ।

४७.   अन्य प्रतिवादीहरूलाई ज्यानसम्बन्धीको १७(३) नं. अन्तर्गत सजायँको माग गरिएको छ । निजहरू आरोपित कसूरमा इन्कार छन् । निजहरूले कुटपीट गरेको भन्ने प्रमाणित भएको छैन । वारदात नै भवितव्य कायम भएको र निजहरूबाट त्यस्तो चोट छाडिएको नदेखिएबाट आरोपित कसूरबाट सफाई पाउने ठहर्छ । म.क्षे.अ. को फैसला केही उल्टी हुने ठहर्छ । अरु तपसील बमोजिम गर्नु ।

तपसील

माथि इन्साफ खण्डमा लेखिए बमोजिम प्र.शेरबहादुुर, प्र.पुष्पबहादुर र प्र.रुद्रप्रसादले भवितव्य गरी ज्यान मारेको देखिँदा निजहरूलाई जनही २ वर्ष कैद र ५००।रुपैयाँ जरिवाना हुने ठहरेकोमा प्र.रुद्रप्रसाद मिति २०३९।६।१९ बाट कैदमा बसी मिति २०४३।५।१ को म.क्षे.अ. को फैसला बमोजिम छुटेको देखिएकोले लागेको कैद भुक्तान गरी सकेको र जरिवाना बापत समेत कैदबाट कट्टी गर्दा भुक्तान भइसकेको देखिएकोले सोही व्यहोरा जनाई लगत राख्न शुरु मकवानपुर जि.अ. मा लेखी पठाउन का.जि.अ.त. मा लेखी पठाई दिनु ।

मिसिल नियम बमोजिम गरी बुझाई दिनु ।

 

उक्त रायमा म सहमत छु । 

 

न्या.रुद्रबहादुर सिंह

 

इति सम्वत्  २०४६ साल जेष्ठ २२ गते रोज १ शुभम् ।

 

 

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु