शब्दबाट फैसला खोज्‍नुहोस्

निर्णय नं. ३७९७ - म्याद जालसाजी

भाग: ३१ साल: २०४६ महिना: श्रावण अंक:

निर्णय नं. ३७९७    ने.का.प. २०४६      अङ्क ४

 

संयुक्त इजलास

माननीय न्यायाधीश श्री पृथ्वीबहादुर सिंह

माननीय न्यायाधीश श्री हरगोविन्दसिंह प्रधान

सम्वत् २०४४ सालको फौ.पु.नं. ५४७

फैसला भएको मिति : २०४६।२।२२।४ मा

पुनरावेदक/वादी : का.जि.का.न.पं. वडा नं. ३३ मैतिदेवी फाँट बस्ने लालबहादुरको छोरा तेजबहादुर श्रेष्ठ

विरुद्ध

प्रत्यर्थी/प्रतिवादी : का.जि.का.न.पं. वडा नं. ३३ मैतिदेवी फाँट बस्ने जितबहादुर श्रेष्ठसमेत

मुद्दा : म्याद जालसाजी

(१)    पुनरावेदक वादीका नाममा मिति २०३३।२।८ मा जालसाजबाट भएको म्याद तामेली सम्बन्धमा मिति ०३६।५।४ मा नक्कल सारेकोबाट थाहा पाएको भनी सो मितिले २ वर्षभित्र नालेश परेको देखिन आएकोले हदम्याद नाघेको भनी वादी दावी खारेज गर्ने गरेको म.क्षे.अ. को फैसला नमिलेबाट बदर हुने ।

(प्रकरण नं. १८)

पुनरावेदक/वादी तर्फबाट : विद्वान अधिवक्ता श्री दमन ढुंगाना एवं विद्वान अधिवक्ता श्री शम्भु    थापा

प्रत्यर्थी/प्रतिवादी तर्फबाट : विद्वान अधिवक्ता श्री विश्वकान्त मैनाली

अवलम्बित नजीर : कुष्णराज पन्त विरुद्ध पियुषराज पाण्डे समेत भएको जालसाजी मुद्दामा    प्रतिपादन सिद्धान्त (ने.का.प. २०४५ पृ. १०७)

फैसला

न्या.पृथ्वीबहादुर सिंह

१.     म.क्षे.अ. को फैसला उपर पुनरावेदनको अनुमति प्राप्त गरी पेश हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त व्यहोरा यस प्रकार छ ।

२.    विपक्षीहरूको मिलोमतोबाट वारेश भई आफ्ना हकमा समेत हिरादेवी श्रेष्ठले अंश मुद्दा दायर गरेकोमा वलवा सुकनाहा गा.पं. वडा नं. ७ मा म्याद काट्न लगाई अदालतका सिपाहीहरूलाई समेत भोरमा पारी निजकै घरमा काम गर्ने धनबहादुर र अरु हरिचरण, सुमन भू.पु.पं. सदस्य द्धारिका महतोलाई सो म्यादमा साक्षी बस्न लगाई जालसाजीबाट म्याद तामेल गराएछन् । प्रतिवादी नै दिन नपाउने अवस्था पारी एकतर्फिबाट अंश पाउने ठहर गरी शुरु सर्लाही जिल्ला अदालत र अञ्चल अदालतबाट फैसला गरिसके भन्ने सुनेकोले २०३६।५।४।२ मा नक्कल सारी हेर्दा वलवा सुकनाहामा म्याद टाँस गराई तामेलीमा तेजबहादुर घरमा फेला नपरेको र निजको एकाघरको सगोलको परिवार समेत फेला नपरेकोले पश्चिम मोहडा भएको दैलोमा टाँसिएको भन्ने उल्लेख भएको प्रत्यक्ष प्रमाणित छ । स्थायी बसोवास नभई अस्थायी घर भएकोले फेला पार्ने कुरै भएन । अंश मुद्दामा मेरा नाममा २०३३।२।८।६ मा तामेल भएको म्याद जालसाजीबाट तामेल भएको कायम गरी सजायँ गरिपाउँ भन्ने समेत व्यहोराको तेजबहादुरको फिरादपत्र ।

३.    फिरादपत्र कीर्ते कागजको १८ नं. विपरीत भएकोले अ.बं. १८० नं बमोजिम खारेज गरिपाउँ प्रतिवादी तत्काल जहाँ बसेको छ त्यही दायर गर्नुपर्ने अ.बं. २९, ७६ र ११० अनुरुप वादी बसेको ठेगानामा म्याद तामेल गरिएको वादी स्वयंले जग्गा भएको बसोवास गरिएको तथ्यलाई इन्कार गर्नसकेको छैन भन्ने म्याद जालसाजी भयो भन्नु मिल्दैन । जालसाजी कहाँ कुन मितिमा गरेको कुन ऐन नम्बरले सजायँ हुने हो उल्लेख गर्न नसकेको हचुवा अस्पष्ट र अधुरो वादी दावीबाट इन्साफ हुन नसक्ने हुँदा २०३३।२।८।६ को तामेली म्याद ऐनको रीतपूर्वकको हुँदा जालसाजीबाट तामेल गराएको भन्ने तामेली हदम्याद विपरीतको प्रस्तुत फिराद दावी कायम रहन नसक्ने हुँदा खारेज गरिपाउँ भन्ने समेत व्यहोराको जितबहादुर समेत ९ जनाको संयुक्त प्रतिउत्तरपत्र ।

४.    प्रस्तुत मुद्दामा मुख्य म्याद तामेल गर्ने कुनै कर्मचारी उपर उजूर गरेको नदेखिँदा साक्षी बस्ने पञ्च सदस्य समेतका अन्य प्रतिवादीहरूले मात्र जालसाजी गर्न नसक्ने र त्यस्तो कागजलाई जालसाजीको भन्न नमिल्ने हुँदा मुख्य कर्मचारी उपर उजूर नपरेको हुँदा प्रस्तुत फिरादपत्र खारेज हुने ठहर्छ भन्ने समेतको काठमाडौंं जिल्ला अदालतको २०३८।१२।२९ को फैसला ।

५.    काठमाडौंं जि.अ. को उक्त फैसलामा चित्त बुझेन अ.बं. १३९ नं. प्रत्यक्ष त्रुटि हुन गएकोले फैसला उल्टाई इन्साफ गरी न्याय पाउँ भन्ने समेत व्यहोराको तेजबहादुरले बा.अं.अ. मा दिएको पुनरावेदनपत्र ।

६.    यस्मा शुरु काठमाडौं जिल्ला अदालतको इन्साफ मनासिब ठहर्छ । पुनरावेदन जिकिर पुग्न सक्दैन भन्ने समेत बागमती अञ्चल अदालतको २०३९।२।३० को फैसला ।

७.    बा.अं.अ. को उक्त फैसला प्रत्यक्ष कानुनी त्रुटिपूर्ण हुँदा पुनरावेदन गर्ने अनुमति पाउँ भन्ने समेत व्यहोराको वादी तेजबहादुरले यस अदालतमा दिएको निवेदनपत्र ।

८.    वादी दावाको समष्टिगत अध्ययन गर्दा जालसाजीको परिभाषाभित्र नपर्ने भन्ने नमिल्ने देखिँदा दावी बमोजिम जालसाजी गरेकोे हो होइन ठहर गर्नुपर्ने सो नगरेको नालेश खारेज गर्ने गरेको बा.अं.अ. को फैसला कानुनी त्रुटिपूर्ण देखिन आएकोले निवेदकलाई पुनरावेदन गर्ने अनुमति प्रदान गरिएको छ भन्ने समेत म.क्षे. अदालतको सिंगलबेञ्चको २०४०।३।१३ को आदेश ।

९.    म्याद तामेल गर्न जाने कर्मचारी फिल्डको वास्तविकतासंग अनभिज्ञ रहन सक्दछ र उसलाई साक्षी भलादमीले नै बताए बमोजिम जानकारी प्राप्त हुने र सोही आधारमा निजले काम कारवाही गर्ने हुँदा यदि निज कथित जालसाजी क्रियामा सरिक छैन र पक्ष एवं साक्षी मात्र मिलेर म्याद तामेल गर्ने कर्मचारीलाई समेत झुक्यानमा पारी जालसाजी गर्दछन् भने कर्मचारी उपर जालसाजीमा नालेश परेन भन्दैमा मुद्दा कारवाही निर्णय नहुन सक्दैन भन्ने तर्कसंग यो बेञ्च सहमत नभएबाट काठमाडौंं जि.अ. र बा.अं.अ. को खारेजी इन्साफ बदर हुने ठहर्छ । कानुन बमोजिम सोही अदालतबाट निर्णय तहकिकात गर्नु मिसिल र उपस्थित पक्ष विपक्षीलाई बागमती अञ्चल अदालतमा पठाई तारीख तोकी पठाई दिनु भन्ने म.क्षे. अदालतको डिभिजनबेञ्चको मिति २०४१।२।७ गतेको फैसला ।

१०.    थाहा पाएको मितिबाट २ वर्षको म्याद पाउनेतर्फ कीर्ते कागजको १८ नं. मा भएका अवस्था अनुरुप जालसाजी कार्य गरेको मितिबाट हदम्याद शुरु हुने भनी प्रष्टै छँदा ०३३।२।८ मै जालसाजी कार्य भए गरेको कुरामा ०३६।५।३१ मा फिराद परेको हुँदा उक्त २ वर्षको हदम्याद नाघी दायर भएको फिरादबाट तहकिकात कारवाही गरी जालसाजीको परिभाषाभित्र पर्दैन भनी खारेज गर्ने गरेको सम्म शुरुको खारेजी फैसला गल्ती हुने ठहर्छ तर हदम्याद नाघी दायर भएको प्रस्तुत मुद्दा फिराद अ.बं. १८० नं. बमोजिम खारेज हुने पुनरावेदन जिकिर पुग्न नसक्ने ठहर्छ भन्ने समेत व्यहोराको बा.अं.अ. को मिति ०४१।१०।२५ को फैसला ।

११.    उक्त फैसला त्रुटिपूर्ण हुँदा पुनरावेदनको अनुमति पाउँ भनी यस अदालत समक्ष दिएको निवेदनमा प्रस्तुत मुद्दामा ०३३।२।८।६ को म्याद तामेलीलाई लिएर २०३६।५।३१ मा नालेश गरेको कानुनको परिधिभित्रको नहुँदा बा.अं.अ. को इन्साफ कानुनी त्रुटिपूर्ण नदेखिएकोले पुनरावेदनको अनुमति प्रदान गर्न नमिल्ने भन्ने म.क्षे.अ. सिंगलबेञ्चको मिति ०४२।३।१८ को आदेश ।

१२.   मुद्दा हेरी इन्साफ गर्नु भन्ने हु.प्र. मध्यमाञ्चल क्षेत्रीय अदालतका नाउँमा बक्स पाउँ भन्ने व्यहोराको श्री ५ महाराजाधिराज सरकारका जुनाफमा चढाएको बिन्तिपत्रमा यस्मा व्यहोरा साँचो भए बा.अं.अ. बाट छिनिएको उल्लिखित म्याद जालसाजी मुद्दा मिसिल झिकाई इन्साफ जाँची कानुन बमोजिम निर्णय गर्नु भन्ने व्यहोराको प्रमांगी बक्स भई आए बमोजिम प्रस्तुत मुद्दा फौ.वि.वि.प. पुनरावेदन दायरीमा दर्ता भएको रहेछ ।

१३.   खारेज भएको बदर भई निर्णय गर्नु भनेकोमा पुनः खारेज गरेको नमिलेकोले समेत बा.अं.अ. को ठहर फरक पर्ने भएबाट अ.बं. २०२ नं. एवं क्षे.अ. नियमावली, २०३६ बमोजिम विपक्षी झिकाई नियम बमोजिम पेश गर्नु भन्ने समेत म.क्षे.अ. सिंगलबेञ्चबाट मिति २०४३।२।८ मा भएको आदेश रहेछ ।

१४.   यस मुद्दाको म्याद तामेली भए गरेको मिति २०३३।२।८।६ मा भएको र यो फिराद २०३६।५।३१ मा दायर भएको २ वर्ष नाघी दायर भएको देखियो र यस मुद्दाको म्याद तामेल गरे गराएको जालसाजी कार्यमा सो तामेल गराउने वा स्थानीय पञ्च सदस्य द्धारीका महतो कोइरीलाई पनि प्रतिवादी बनाई सजायँ हुन माग दावी भएको तर गा.पं. ऐनले पञ्च सदस्यको हैसियतबाट भए गरेको काम कारवाहीको सिलसिलामा नालेश गर्नु पर्दा सम्बन्धित पञ्च वा पञ्चायतमा सूचना दिनुपर्ने अन्यथा मुद्दा चल्न नसक्ने कानुनी व्यवस्था अनुरुप कुनै सूचना दिएको मिसिल तथा फिराद लेखबाट देखिन नआए समेतबाट प्रस्तुत मुद्दाको फिराद दावी अ.बं. १८० नं. बमोजिम खारेज हुने समेत देखिँदा वादी दावी खारेज हुने ठहर्‍याएको बा.अं.अ. को फैसला मनासिब ठहर्छ भन्ने समेत म.क्षे.अ. को मिति २०४४।३।३२ को फैसला ।

१५.   म.क्षे.अ. को फैसलामा चित्त बुझेन पुनरावेदन गर्ने अनुमति पाउँ भनी वादीको निवेदन पर्न आएकोमा पुनरावेदनको अनुमति दिइएको छ भन्ने समेत यस अदालतको मिति २०४४।९।१३ को आदेश ।

१६.    नियम बमोजिम दैनिक मुद्दा पेशी सूचीमा चढी पेश हुन आएको प्रस्तुत मुद्दाको मिसिल प्रमाण अध्ययन गरी पुनरावेदक वादी तर्फबाट रहनु भएको विद्वान अधिवक्ता श्री दमन ढुंगाना एवं विद्वान अधिवक्ता श्री शम्भु थापा तथा प्रत्यर्थी प्रतिवादी तर्फबाट रहनु भएका विद्वान अधिवक्ता श्री विश्वकान्त मैनालीले प्रस्तुत गर्नुभएको बहस जिकिर समेत सुनियो ।

१७.   अब यस्मा म.क्षे.अ. को इन्साफ मिले नमिलेको के रहेछ सो को निर्णय दिनु परेको छ ।

१८.   निर्णयतर्फ विचार गर्दा यस्मा म समेतलाई प्रतिवादी बनाई हिरामाया समेतले दिएको अंश मुद्दामा मेरो नाममा मिति २०३३।२।८ मा तामेल भएको म्याद जालसाजीबाट तामेल गराई अंश पाउने ठहर गरी शुरु सर्लाही जि.अ. तथा जनकपुर अं.अ. समेतबाट फैसला भइसकेको कुरा २०३६।५।४ मा नक्कल सारी थाहा पाएको भन्ने वादी दावी देखिन्छ । जालसाजी भएको कुरा प्रकाशमा आउनु बेगर अर्को सम्बन्धित पक्षले थाहा पाउन नसक्ने हुँदा प्रकाशमा आएपछि मात्र थाहा पाउने भएको हुनाले सो थाहा पाएकै मितिलाई काम भएको गरेको मिति मानी त्यसबाट म्याद कायम गर्नुपर्ने भन्ने कृष्णराज पन्त विरुद्ध पियुषराज पाण्डे समेत भएको (ने.का.प. २०४५ पृ. १०७) जालसाजी मुद्दामा सिद्धान्त प्रतिपादन भएको पाइन्छ । प्रस्तुत मुद्दामा प्रमाणको लागि आएको अंश मुद्दामा पुनरावेदक वादीका नाममा मिति २०३३।२।८ मा जालसाजबाट भएको म्याद तामेली सम्बन्धमा मिति ०३६।५।४ मा नक्कल सारेकोबाट थाहा पाएको भनी सो मितिले २ वर्षभित्र नालेश परेको देखिन आएकोले हदम्याद नाघेको भनी वादी दावी खारेज गर्ने गरेको म.क्षे.अ. को फैसला नमिलेबाट बदर हुने ठहर्छ । पुनः कानुन बमोजिम इन्साफ गर्नु भनी पक्ष विपक्षलाई तारेख तोकी सम्बन्धित मिसिल म.क्षे.अ. मा पठाई दिनु ।

 

उक्त रायमा म सहमत छु ।

 

न्या.हरगोविन्दसिंह प्रधान

 

इति सम्वत्  २०४६ साल जेष्ठ २२ गते रोज ४ शुभम् ।

 

 

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु