निर्णय नं. ७३७९ - लेनदेन विगो भराई करारको दायित्व पूरा गराई पाउँ ।

निर्णय नं. ७३७९ ने.का.प.२०६१ अङ्क ५
संयुक्त इजलास
सम्माननीय प्रधानन्यायाधीश श्री गोविन्दवहादुर श्रेष्ठ
माननीय न्यायाधीश श्री शारदाप्रसाद पण्डित
सम्बत् २०५८ सालको दे.पु.नं. ...७०५३
फैसला मितिः २०६१।३।११।६
मुद्दा :– लेनदेन विगो भराई करारको दायित्व पूरा गराई पाउँ ।
पुनरावेदक
प्रतिवादीः का.जि.का.म.न.पा.वडा नं. ९ वत्तिसपुतली वस्ने माया गुरुङ्ग
विरुद्ध
प्रत्यर्थी
वादीः ऐ.ऐ.वडा नं. ३३ वस्ने दुर्गा उपाध्याय
§ प्रतिवादीले विवादित जग्गा वादीलाई नदिई अन्य व्यक्तिलाई दिएमा मात्र क्षतिपूर्ति र साँवा व्याज भराउन सक्ने शर्त राखिएकोमा प्रतिवादीले विवादित जग्गा अरुलाई दिइसकेको भन्ने दावी लिन सकेको नदेखिंदा क्षतिपूर्ति तथा साँवा व्याज भराई पाउँनु पर्ने अवस्था रहेको नदेखिने ।
§ करारको प्रकरण नं. ७ मा विवादित जग्गा प्रतिवादीको नाममा कायम भई दर्ता हुन नसके वा प्रतिवादीले सो जग्गा वादीलाई करारका म्याद भित्र हस्तान्तरण गर्न नसकेमा वादीले प्रतिवादीलाई दिएको रकमको साँवा व्याज प्रतिवादीका घर घराना चल अचल सम्पत्तिवाट असूल उपर गरी लिन पाउने शर्त उल्लेख गरिएअनुसार करार भएका दिनमा वादीले प्रतिवादीलाई दिएको भनिएको रकम रु. २,००,०००।– को सांवा व्याज समेत भराई पाउँ भन्ने वादी दावी देखिन्छ । उक्त शर्तमा उल्लेख भए अनुसार विवादित जग्गा प्रतिवादीको नाममा दर्ता हुन नसकेको कारण करारका म्याद भित्र जग्गा हस्तान्तरण हुन नसकेको भन्ने देखिन नआउने ।
§ जग्गा पास गरी दिने लिने गरी करारनामा गराई बैना बापत लिनु दिनु गरेको रकम करारनामाको शर्त अनुसार नै सावाँ व्याज सहित दिलाई भराई पाउँ भन्ने दावी लिने वादीले करार ऐन, २०२३ को दफा १८(२) (ग) अनुसार मुद्दा गर्नुपर्ने कारण परेको मितिले तीन महिना भित्र नालेश गर्नुपर्ने ।
§ करारनामाको लिखत अनुसार भएको लेनदेनको सम्बन्धमा मुलुकी ऐन, लेनदेन व्यवहारको ४० नं. मा व्यवस्थित हदम्याद आकर्षित हुन नसक्ने ।
§ प्रत्यर्थी वादीले करारनामाको शर्तं अनुसार क्षतिपूर्ति दिलाई पाउँ भनी करार ऐन, २०२३ को दफा १८को उपदफा २ को खण्ड (२)(ग) को हदम्याद भित्र नालिस नगरी लेनदेन व्यवहारको ४० नं. को हदम्यादको आधारमा दायर गरेको फिराद कानूनसम्मत देखिन नआउने ।
§ हदम्यादविहीन तथा करारनामामा उल्लेख गरेको शर्त विपरीतको फिरादको आधारमा काठमाडौं जिल्ला अदालतले वादी दावी नपुग्ने गरेको फैसलालाई केही उल्टी गरी लेनदेन व्यवहारको ४० नं. को आधार समेत लीई फिराद दर्ता भएको भनी साँवा व्याज भराउने र करार ऐन, २०२३ को दफा १८ को उपदफा (२) को खण्ड (ग) मा उल्लिखित हदम्याद भित्र नालिस नगरेको कारणले क्षतिपूर्ति नभराउने गरेको पुनरावेदन अदालत पाटनको फैसला उल्टी भई फिराद खारेज हुने ।
(प्र.नं. १७ देखि १९)
पुनरावेदक प्रतिवादीतर्फवाटः विद्वान अधिवक्ता श्री कृष्णप्रसाद देवकोटा
प्रत्यर्थी वादीतर्फवाटः
अवलम्वित नजिरः ने.का.प. २०५२, नि.नं. ६०३२, पृ.७४८ र ने.का.प.२०५८, नि.नं. ७०३४, पृ. ५४७
फैसला
न्या.शारदाप्रसाद पण्डितः पुनरावेदन अदालत पाटनवाट मिति २०५६।९।१३ मा भएको फैसला उपर न्याय प्रशासन ऐन, २०४८ को दफा ९(१) (ग) वमोजिम यस अदालतमा पुनरावेदन पर्न आएको प्रस्तुत मुद्दाको व्यहोरा तथा ठहर यसप्रकार छ :–
२. सर्वोच्च अदालतवाट भएको परमादेश अनुसार आफू मोही रहेको पशुपती भण्डार तहविल अन्तरगतको साविक वत्तिसपुतली गा.बि.स. वडा नं. १(क) कि.नं. २४८ को क्षेत्रफल ०–६–२ नयाँ नापीमा का.न.पा.वडा नं. ९ कि.नं. १२० मध्ये पूर्वतर्फवाट क्षेत्रफल ०–६–२ जग्गा कित्ताकाट गरी एक बर्ष भित्रमा दर्ता गराई सो व्यहोराको जानकारी ३५ दिन भित्रमा मलाई दिई रु. २१,००,०००।– मा मलाई रजिष्ट्रेशन पारित गरी दिने भन्दै सो मूल्य मध्ये रकम रु.२,००,०००।– बिपक्षीले लिखत भएकै मितिमा म वाट वुझी लिनु भएको छ । करारको प्रकरण ६ र ७ का अवस्थामा बिपक्षीले म वाट वुझी लिएको रकमको दोव्वर क्षतिपूर्ति र सांवा व्याज समेतमा मैले दावी गरी लिन पाउने गरी मिति ०५२।४।१२ मा करारनामाको लिखत भएको थियो । उक्त जग्गा सोही मूल्यमा रजिष्ट्रेशन पारित गरी दिन बिपक्षीले मन्जुर गरे वांकी रकम वुझाई रजिष्ट्रेशन पारीत गराई लिन म तयारै छु । बिपक्षीले जग्गा दर्ता गरी लिई आजसम्म रजिष्ट्रेशन नगरिदिएकाले करारको उल्लंघन भएकोले करारको दायित्व पूरा नगरेवाट हानी नोक्सानी वापतको चार लाख बिपक्षी र म वाट ०५२।४।१२ मा करार हुँदा लिएको रु. दुईलाख तथा सोको १० प्रतिशत व्याज रु.२६,२८१।९२ समेत ६,२६,२८१।९२ र फैसला वमोजिम विगो भरी भराउ हुँदाका दिन सम्मको हुने व्याज र कोर्टफि समेत भराई दिलाई पाउँ भन्ने समेत व्यहोराको फिरादपत्र ।
३. वादीवाट मैले रुपैयाँ रु.२,००,०००।– लिएको होइन, छैन । रुपैयाँ लिएको भन्ने व्यहोरा पूर्णत झुठ्ठा हो । कुन कागजको आधारमा बिपक्षीले फिराद गर्नु भएको हो सो कागजमा परेको सहिछाप मेरो हो होइन लिखत देख्न पाएका वखत नामाकरण गर्ने नै छु । जग्गा खरिद विक्री गर्ने सम्बन्धमा बिपक्षी र मेरो विच कुनै कागज भएको छैन । उक्त जग्गा कानून व्यवसायी शम्भूराज आचार्यले मलाई भेटी पशुपती भण्डार तहविल कार्यालयले तपाईको दर्ता वदर गर्न लागेको छ म मिलाई दिन्छु भनी विभिन्न आश्वासन दिनु भएकोले मैले रु. १० हजार खर्च वापत दिएको हुँ । सो कार्यको लागि कागज वनाउनु पर्छ भनेवाट विभिन्न कागजमा सहि गराउनु भएको थियो कागजमा के लेखिएको थियो निरक्षरी व्यक्ती भएकोले जानकारी भएन फिराद गर्दा वांकी रहेको थैली धरौट राख्नु पर्ने थियो त्यो समेत नगरेवाट दावी पुग्न सक्दैन बिपक्षी वादीले साँवाको दोव्वर को साथै सांवा र व्याज समेत दोहोरो तेहंरो दावी गर्नु भएकोले दावी पुग्न सक्ने होइन भन्ने समेत व्यहोराको प्रतिउत्तर पत्र ।
४. मिति ०५२।४।१२ को सक्कल करारनामा लिखत वादीवाट दखिला गराई ७८ नं. वमोजिम वयान गराउँदा कि.नं. २४ को जग्गा सम्बन्धी काम गर्नु पर्यो भनी सहि गराएका हुन्, पढेर सुनाएनन् । करार पढी मलाई नसुनाएकोले केही थाहा छैन । तारेख लिनु पर्यो सहि गर भने वाट सहि गरिदिएको हो । उनीहरुले के कसो गरेका हुन् थाहा भएन भन्ने समेत व्यहोराको प्रतिवादी माया गुरुङ्गको वयान ।
५. लिखतमा छोरा समेत साक्षी वसि गरेको लिखत मैले थाहा पाइन भन्ने प्रतिवादीलाई सजाँय गरीपाउँ भन्ने समेत व्यहोराको वादीका वारेस खेमराजको वयान ।
६. वादीले उपचार, करारको शर्त नं. ६ र ७ कुन अनुसार माग गरेको हो सो स्पष्ट हुन सकेको नदेखिएको समेतवाट र साँवा व्याज क्षतिपूर्ति भराई दिनुपर्ने अवस्था करारको लिखतवाट नदेखिएको हुँदा सांवा व्याज क्षेतिपूर्ति भराई पाउँ भन्ने वादी दावी पुग्न सक्दैन भन्ने समेत व्यहोराको काठमाडौं जिल्ला अदालतको मिति ०५४।७।२८ को फैसला ।
७. करारको सम्पूर्ण अध्ययन नगरी जिल्ला अदालतले निर्णय गरेको छ । करारीय दायित्वले त्यसमा लेखिएका सम्पूर्ण कुरालाई समेट्दछन् । करारको दफा २ ले जग्गा दर्ता गरेपछि ३५ दिन भित्र मलाई सूचना दिनुपर्ने दायित्व दिएको छ जुन सुचना मैले नपाएको जनाएको छु र प्रतिवादमा पनि यस्तो सूचना दिएको उल्लेख छैन । यसरी जग्गा बिपक्षीको नाउँमा कायम हुन नसकेको समेतका स्थितिलाई करारको दफा ७ ले समेट्दछ् । जसमा स्पष्ट शब्दमा मलाई आफ्नो रकम फिर्ताको हकदार वनाएको छ भने दफा ६ ले क्षेतिपूर्तिको भागीदार वनाएको छ । यी कुनै स्थिति हुँदैनथे भने पनि लिखतको रकम लिएको देखिन्छ भने लेनदेन व्यवहारको ४, ६ र ४० नं ले सावा व्याज समेतका रकम पाउने हक भएकोले काठमाडौं जिल्ला अदालतको निर्णय वदर गरि फिराद दावी अनुरुप इन्साफ पाउँ भन्ने समेत व्यहोराको पुनरावेदन अदालत पाटनमा परेको पुनरावेदन पत्र ।
८. साँवा व्याज क्षतिपूर्ति लिनेदिने गरी करार भएको अवस्थामा करारमा उल्लिखित शर्त पूरा गर्नुपर्नेमा प्रत्यर्थी प्रतिवादीले पूरा गरे नगरेको समेत नदेखिएको अवस्थामा दावी पुग्न नसक्ने गरी भएको काठमाडौं अदालतको मिति ०५४।७।२८ को फैसला विचारणीय हुँदा अ.वं. २०२ नं. तथा पुनरावेदन अदालत नियमावली, ०४८ को नियम ४७(२) वमोजिम झिकाई आएपछि नियमानुसार पेश गर्नु भन्ने समेत व्यहोराको पुनरावेदन अदालत पाटनको मिति २०५५।१०।२५ को आदेश ।
९. प्रतिवादीको नाउँमा जग्गा कायम भएपछि करारनामाको शर्त बमोजिम प्रतिवादीले वादीलाई जग्गा हस्तान्तरण गर्नुपर्ने र त्यसरी हस्तान्तरण नगरेमा करारको दायित्व पूरा गरीपाउँ भनी करारको वैधता कायम रहने अन्तिम मिति २०५३।४।११ देखि करार ऐन, २०२५ को दफा १८(२) (ग) मा उल्लिखित तीन महिना भित्र नालेश गर्नुपर्नेमा सो भित्र नालेश गरेको नपाइएकोले दावी वमोजिम क्षतिपूर्ति भराउन सकिएन । करारनामाको प्रकरण ७ मा कानून वमोजिम साँवा व्याज भराई लिन पाउने उल्लेख भएको र लेनदेन व्यवहारको ४० नं. को आधार समेत लिई फिराद दर्ता भएको हुँदा वादीले प्रतिवादीवाट सांवा रु.२,००,०००।– र सयकडा १० प्रतिशतका दरले हुने व्याज समेत भराई लिन पाउँछ । क्षेतिपूर्तितर्फको वादी दावी पुग्न सक्दैन । शुरु फैसला केही उल्टी हुने ठहर्छ भन्ने समेत व्यहोराको पुनरावेदन अदालत, पाटनको मिति २०५६।९।१३ को फैसला ।
१०. विवादित लिखत पक्ष बिपक्ष बीच भएको करारनामाको लिखत हो । लेनदेनको कागज होइन । करारनामाको लिखतमा उल्लेख भएको शर्त अनुसार वाँकी रुपैयाँ धरौट राखी जग्गा पास गराई पाउँ भन्ने दावी पनि लिइएको छैन । करारनामाको लिखतका सम्बन्धमा करार ऐनको हदम्याद भित्र नालेश पर्न आएको छैन । करारनामाको लिखतलाई लेनदेनको लिखत मानी वादी दावी वमोजिम साँवा व्याज भराई पाउने ठहर गरेको पुनरावेदन अदालत पाटनको फैसला वदर गरी वादी दावी पुग्न नसक्ने गरिपाउँ भन्ने समेत व्यहोराको प्रतिवादीकोतर्फवाट यस अदालतमा पर्न आएको पुनरावेदन पत्र ।
११. वादी प्रतिवादी बीचमा मिति २०५२।४।१२ मा भएको करार वमोजिम प्रथम पक्षले दुई लाख रुपैयाँ लिएको र पुनरावेदन अदालत पाटनबाट क्षतिपूर्ति भराउन नपर्ने ठहर गरी दूई लाखको साँवा व्याज भराउने ठहर गरी तपसिलमा क्षतिपूर्ति समेतको रकम भराउने गरी गरेको फैसला फरक पर्न सक्ने देखिएकोले अ.वं. २०२ नं. वमोजिम बिपक्षी झिकाई आएपछि पेश गर्नु भन्ने समेत व्यहोराको यस अदालतको मिति २०६०।७।७ को आदेश ।
१२. नियमानुसार पेश भएको प्रस्तुत मुद्दामा पुनरावेदक प्रतिवादीकातर्फवाट विद्वान अधिवक्ता श्री कृष्णप्रसाद देवकोटाले प्रतिवादीले वादीसँग तमसुकी कागज गरी कर्जा सापटी लिनुदिनु गरेको भन्ने छैन । करारनामाको लिखतमा लेनदेन व्यवहारको ४० नं. को हदम्याद आकर्षित हुन सक्दैन । विवादित करारनामाको लिखतमा प्रतिवादीले वादीसँग रु.२,००,०००।– लिई जग्गा आफ्नो नाममा दर्ता भएपछि वादीलाई रु.२१,००,०००।– रुपैयाँमा रजिष्ट्रेशन पास गरि दिने शर्त उल्लेख गरिएको छ । त्यसअनुसारको कार्य गराई पाउन वादीले वांकी रकम धरौट राखी करारको पालना गराई पाउँ भन्ने दावी लिन सकेको पाइँदैन । करार ऐन, २०२३ को दफा १८ (२) (ग) अनुसारको हदम्याद भित्र वादीले नालिस गर्न सकेको अवस्था छैन ।सांवा रु. दुईलाख र त्यसको व्याज समेत भराई पाउने ठहर गरेको फैसला उल्टी गरी वादी दावी खारेज गरिपाउँ भन्ने समेत व्यहोराको बहस जिकिर गर्नुभयो ।
१३. विद्वान कानून व्यवसायीको बहस जिकिर समेतलाई दृष्टिगत गरी पुनरावेदन अदालत पाटनवाट भएको फैसला मिलेको छ, छैन ? पुनरावेदकको पुनरावेदन जिकिर पुग्न सक्छ सक्दैन? भन्ने सम्बन्धमा निर्णय दिनुपर्ने देखियो ।
१४. प्रस्तुत मुद्दामा निर्णयतर्फ विचार गर्दा माया गुरुङ्ग मोही भई कमाई आएको पशुपती भण्डार तहवील अन्तर्गतको साविक वत्तिस पुतली गा.वि.स. वडा नं. १(क) कि.नं. २४८ को क्षेत्रफल ०–६–२ को नयाँ नापीमा का.न.पा. वडा नं. ९ कि.नं. १२० मध्ये पूर्वतर्फवाट क्षेत्रफल ०–६–२ कित्ताकाट गरी एक वर्ष भित्रमा दर्ता गराई ३५ दिन भित्र सो व्यहोराको जानकारी गराई रु.२१,००,०००।– मा रजिष्ट्रेशन पारित गरी दिने भनी रु.२,००,०००।– वुझि लिई मिति २०५२।४।१२ मा करारनामाको लिखत भएकोमा करारनामाको शर्त अनुसार जग्गा हक हस्तान्तरण समेत नगरी करारको दायित्व पूरा नगरेकोले त्यसवाट भएको नोक्सानी वापत लिखत हुँदाको समयमा लिएको रु.२,००,०००।– को दोव्वर रु.४,००,०००।– रुपैयाँ हानीनोक्सानी भएको रकम र रु.२,००,०००।– को व्याज रु.२६२८१।९२ समेतको जम्मा रु.६,२६,२८१।९२ करारनामाको प्रकरण नं. ६ र ७ नं. अनुसार दिलाई भराई पाउँ भनी करार ऐन, २०२३ को दफा १०, १५, १७, १८ को उपदफा (२) को खण्ड (ग) तथा लेनदेन व्यवहारको ४,६ र ४० नं. अनुसार फिराद पर्न आएको देखिन्छ । प्रतिवादीले वादीवाट रु.२,००,०००।– लिएको नभई आफूले मोही भई कमाई आएको जग्गा दर्ता वदर गर्न कार्वाही चलाएको सम्बन्धमा आवश्यक कार्वाही गर्न भनी कानून व्यवसायी शम्भुराज आचार्यले रु.१०,०००।– लिई विभिन्न कागजमा सही गराएको र साँवाको दोव्वर रकम र साँवा तथा व्याज समेत भनी दोब्बरतेब्बर रकम दावी गरेको र करारको शर्त अनुसार वांकी रकम धरौट राखी जग्गा पास गराई पाउँ भन्ने दावी लिन नसकेकोले वादी दावी पुग्न नसक्ने हुंदा फिराद दावीवाट फुर्सद पाउँ भन्ने प्रतिउत्तर जिकिर भै विवाद उत्पन्न भएको पाइन्छ ।
१५. यस विवादित तथ्यको परिप्रेक्ष्यमा वादी प्रतिवादी बीच भएको मिति २०५२।४।१२ को करारनामाको विवादित लिखत अध्ययन गर्दा उक्त करारनामा प्रतिवादी माया गुरुङ्ग मोही भई कमाई आएको काठमाडौं जिल्ला का.न.पा. वडा नं. ९ कि.नं. १२० मध्ये क्षेत्रफल ०–६–२ जग्गा एक वर्ष भित्र आफ्नो नाउँमा दर्ता गरी जग्गाधनी दर्ता प्रमाणपूर्जा प्राप्त गरी ३५ दिन भित्र वादीलाई लिखित सूचना दिई मूल्य रु. २१,००,०००।– मा रजिष्ट्रेशन पारित गरी दिनुपर्ने गरी त्यस वापत निजले रु.२,००,०००।– करारका मितिमा वुझिलिएको र वांकी रु.१९,००,०००।– जग्गा रजिष्ट्रेशन पारित हुंदाको अवस्थामा दिइने, करारको शर्त अनुसार म्याद भित्र हस्तान्तरण नगरे वा आनाकानी गरेमा रु.१९,००,०००।– धरौट राखी करार वमोजिम आफ्नो नाउँमा कायम गराई लिन पाउने जस्ता शर्तहरु उल्लेख गरिएको पाइन्छ । वादीले फिरादमा आधार लिएको करारनामाको प्रकरण नं. ६ मा प्रतिवादीले उक्त जग्गा दर्ता भएपछि द्वितीय पक्ष वादी वाहेक अन्य कसैलाई विक्री वितरण गर्न नपाउने र गरे वादीले आफ्नो नाममा कायम गराई ल्याउन सक्ने र अरुलाई जग्गा हस्तान्तरण गरे वापत करारका मितिमा प्रतिवादीले लिएको रुपैयाँको साँवा व्याज र सो को दोव्वर क्षतिपूर्तिस्वरुप वादीलाई दिनुपर्ने र प्रकरण नं. ७ मा करारका म्याद भित्र जग्गा हस्तान्तरण गर्न नसकेमा प्रतिवादीले वुझिलिएको रकमको साँवा व्याज निजको घरघराना चलअचल समेतवाट कानून वमोजिम असूल उपर गरी लिन पाउने भन्ने उल्लेख गरेको देखिन्छ ।
१६. करारनामाको समष्टिगत अध्ययन गर्दा वादी प्रतिवादी विच प्रतिवादीको नाममा जग्गा दर्ता भएपछि उक्त जग्गा रजिष्ट्रेशन पास गरी हक हस्तान्तरण गरी लिनेदिने बिषयमा प्रस्ताव र स्वीकृति भई पक्ष — बिपक्ष बीच करारनामाको लिखत भएकोमा विवाद देखिंदैन । पक्ष — बिपक्ष बीच भएको करारनामामा उल्लेख गरे अनुसारको करारीय दायित्व पूरा हुन नसकेको अवस्थामा सम्बन्धित पक्षले सर्वप्रथम करार ऐनको दफा १० अनुसार करारनामामा उल्लेख गरिए अनुसारको दायित्व पूरा गराउनेतर्फ नै कारवाही अगाडि वढाउनु पर्ने दायित्व भएकोमा विवाद देखिंदैन । प्रस्तुत मुद्दामा प्रतिउत्तरपत्रवाट विवादित जग्गा प्रतिवादीको नाममा दर्ता भएको भन्ने जिकिर लिएको देखिन्छ । प्रतिवादीको नाममा दर्ता भएपछि सो जग्गा करारनामामा उल्लेख गरिए अनुसार वादीलाई सो को सूचना दिई रजिष्ट्रेशन पास गरी दिनुपर्ने करारीय दायित्व भएकोमा निजले त्यसअनुसार जग्गा आफ्नो नाममा हस्तान्तरण गरि नदिएकोे अवस्थामा वादीले करारमा उल्लेख भए अनुसारको कार्य प्रतिवादीवाट गराउन आफूले करारको शर्त अनुसार वाँकी रकम रु.१९,००,०००।– धरौट राखी करारमा उल्लेख गरिएको जग्गा पास गराई पाउँ भन्नेतर्फ दावी लिन सकेको पाइदैन । यस सम्बन्धमा यस अदालतको संयुक्त इजलासवाट घनश्याम अग्रवाल विरुद्ध अब्दुल कैयुम अन्सारी भएको करारनामा वमोजिम लिखत पास गराई पाउँ भन्ने मुद्दा (ने.का.प. २०५२ नि.नं.६०३२, पृ.७४८) मा बैना दिएको रकम कटाई बाँकी रकम धरौट राखेर मात्र उजुर गर्नुपर्नेमा सो बापतको रकम धरौट नराखेवाट वादीले आफ्नो दायित्व पूरा गरेको सम्झन नमिल्ने भनी सिद्धान्त प्रतिपादन भएको देखिन्छ । उक्त प्रतिपादित सिद्धान्त समेतको आधारमा प्रस्तुत मुद्दामा प्रत्यर्थी वादीले शुरु फिराद गर्दा करारनामामा उल्लेख गरे अनुसारको बाँकी रकम धरौट दाखिल गरी जग्गा नै रजिष्ट्रेशन पारित गराई पाउँ भनी दावी लिन सकेको देखिंदैन ।
१७. करारनामाको शर्त अनुसार विवादित जग्गा अरुलाई हस्तान्तरण गरेमा मात्र करारको मितिमा प्रतिवादीले वुझेको साँवा व्याज र उक्त रकमको दोव्वर रकम क्षतिपूर्ति वापत दिइने भन्ने उल्लेख गरिएको देखिएको छ । करारको शर्तअनुसार विवादित जग्गा प्रतिवादीवाट वादीले राजिनामा रजिष्ट्रेशन पारित गर्न नसकिने अवस्था भएको कारण उल्लेख गरी फिरादपत्रमा कुनै दावी लिन सकेको पाइदैन । तर वादीले करारअनुसार प्रतिवादीले जग्गा हस्तान्तरण गरी नदिएकोले त्यसवाट हानीनोक्सानी भएको रकम र करार भएको मितिमा प्रतिवादीलाई वुझाएको रकमको साँवा व्याज दिलाई भराई पाउँ भन्ने दावी लिएको देखिन्छ । प्रतिवादीले विवादित जग्गा वादीलाई नदिई अन्य व्यक्तिलाई दिएमा मात्र क्षतिपूर्ति र साँवा व्याज भराउन सक्ने शर्त राखिएकोमा प्रतिवादीले विवादित जग्गा अरुलाई दिइसकेको भन्ने दावी लिन सकेको नदेखिंदा क्षतिपूर्ति तथा साँवा व्याज भराई पाउँनु पर्ने अवस्था रहेको देखिंदैन । करारको प्रकरण नं. ७ मा विवादित जग्गा प्रतिवादीको नाममा कायम भई दर्ता हुन नसके वा प्रतिवादीले सो जग्गा वादीलाई करारका म्याद भित्र हस्तान्तरण गर्न नसकेमा वादीले प्रतिवादीलाई दिएको रकमको साँवा व्याज प्रतिवादीका घरघराना चलअचल सम्पत्तिवाट असूल उपर गरी लिन पाउने शर्त उल्लेख गरिएअनुसार करार भएका दिनमा वादीले प्रतिवादीलाई दिएको भनिएको रकम रु.२,००,०००।– को सांवा व्याज समेत भराई पाउँ भन्ने वादी दावी देखिन्छ । उक्त शर्तमा उल्लेख भए अनुसार विवादित जग्गा प्रतिवादीको नाममा दर्ता हुन नसकेको कारण करारका म्याद भित्र जग्गा हस्तान्तरण हुन नसकेको भन्ने देखिन आएन ।
१८. वादीले करारनामा हुँदा प्रतिवादीलाई दिएको भनी दावी गरेको रु. २,००,०००।— को साँवा तथा व्याज दावी अनुसार भराई पाउने ठहर गरेको पुनरावेदन अदालत पाटनको फैसला सम्बन्धमा वादी प्रतिवादी बीच कर्जा लेनदेन भई लिखत भएको भन्ने देखिंदैन । निजहरु बीच करारीय प्रकृतिको लिखत भएको देखिन्छ । जग्गा पास गरी दिनेलिने गरी करारनामा गराई बैना बापत लिनुदिनु गरेको रकम करारनामाको शर्त अनुसार नै सावाँ व्याज सहित दिलाई भराई पाउँ भन्ने दावी लिने वादीले करार ऐन, २०२३ को दफा १८(२) (ग) अनुसार मुद्दा गर्नुपर्ने कारण परेको मितिले तीन महिना भित्र नालेश गर्नुपर्ने देखिन्छ । त्यस्तो करारनामाको लिखत अनुसार भएको लेनदेनको सम्बन्धमा मुलुकी ऐन, लेनदेन व्यवहारको ४० नं. मा व्यवस्थित हदम्याद आकर्षित हुन सक्ने देखिंदैन । यस सम्बन्धमा यस अदालतको पूर्ण इजलासवाट बाबुराम राई विरुद्ध सरिता देवकोटा दाहाल भएको लेनदेन मुद्दा ( ने. का. प. २०५८ नि.नं. ७०३४ पृष्ठ ५४७ ) मा करारीय प्रकृतिको लिखतमा उल्लेख भए अनुसार एक अर्काले बहन गर्नुपर्ने दायित्व कुनै पक्षवाट बहन नभएको अवस्थामा करार ऐन, २०२३ को दफा १०(१) अनुसार लिखत पारित गराई लिनका लागि करारको दायित्व पूरा गराई पाउँ भनी वा बैनाबट्टाको दोब्बर रकम दिलाई पाउँ भनी तथा करार ऐन, २०२३ को दफा १५(१) अनुसार क्षतिपूर्ति दिलाई पाउँ भनी दुवै कुरामा करार ऐन, २०२३ को दफा १८को उपदफा(२)को खण्ड (ग) अनुसारको म्याद भित्र उजुर गर्नुपर्ने भएकोले एउटै लिखतको शर्तहरु मध्ये कुनै शर्तमा करार ऐन, २०२३ को दफा १८(२)(ग) को हदम्याद भित्र उजुर लाग्ने र अर्को शर्तमा भने सो हदम्याद नलागी लेनदेन व्यवहारको ४० नं. को हदम्याद लाग्ने अर्थ गर्न कानूनसँगत नदेखिने भनी सिद्धान्त समेत प्रतिपादन भएको देखिन्छ ।
१९. यसप्रकार उपर्युक्त प्रतिपादित सिद्धान्त र कानूनी प्रावधानहरुको आधारमा प्रत्यर्थी वादीले करारनामाको शर्तं अनुसार क्षतिपूर्ति दिलाई पाउँ भनी करार ऐन, २०२३ को दफा १८को उपदफा २ को खण्ड (२)(ग) को हदम्याद भित्र नालिस नगरी लेनदेन व्यवहारको ४० नं. को हदम्यादको आधारमा दायर गरेको फिराद कानूनसम्मत देखिन आएन । करारनामामा मिति २०५२।४।१२ मा विवादित जग्गा पक्ष बिपक्ष बीच राजिनामा रजिष्ट्रेशन पारित गरी दिनेलिने गरी भएको र सो करारनामा मिति २०५३।४।११ सम्म वैध रहने भन्ने उल्लेख गरेकोमा उक्त करारनामाको अवधि व्यतित भएको मितिले करार ऐन, २०२३ को दफा १८ को उपदफा (२) को खण्ड (ग) को म्याद भित्र करार अनुसार गराई पाउँ भनी फिराद परेको पनि देखिन आएन । करारनामा मिति २०५३।४।११ सम्म वैध रहने भएकोमा मिति २०५३।८।७ मा पर्न आएको फिरादलाई हदम्याद भित्रको मान्न मिलेन । तसर्थ हदम्यादविहीन तथा करारनामामा उल्लेख गरेको शर्त विपरीतको फिरादको आधारमा काठमाडौं जिल्ला अदालतले वादी दावी नपुग्ने गरेको फैसलालाई केही उल्टी गरी लेनदेनको ४० नं. को आधार समेत लिई फिराद दर्ता भएको भनी साँवा व्याज भराउने र करार ऐन, २०२३ को दफा १८ को उपदफा (२) को खण्ड (ग) मा उल्लिखित हदम्याद भित्र नालिस नगरेको कारणले क्षतिपूर्ति नभराउने गरेको पुनरावेदन अदालत पाटनको फैसला उल्टी भई फिराद खारेज हुने ठहर्छ । अरु तपसिल वमोजिम गर्नु ।
तपसिल
पुनरावेदक प्रतिवादी माया गुरुङ्गके माथि इन्साफ खण्डमा ठहरे वमोजिम वादीले प्रतिवादीवाट साँवा व्याज भराई पाउने ठहराएको पुनरावेदन अदालत पाटनको मिति २०५६।९।१३ को फैसला उल्टी हुने ठहरेकोले उक्त फैसलाको तपसिल नं. १ र २ अनुसार केही गरिरहनु परेन भनी शुरु जिल्ला अदालतलाई लेखी पठाई दिनु .......... १
माथि ठहर खण्डमा लेखिए अनुसार फिराद खारेज हुने ठहरेकाले काठमाडौं जिल्ला अदालतको फैसलाको तपसिल नं. १ अनुसार प्रत्यर्थी वादीले फिराद गर्दा राखेको कोर्टफी जफत गर्नु भनी शुरु जिल्ला अदालतमा लेखी पठाई दिनु ..........२
यस अदालतको आदशोनुसार प्रस्तुत पुनरावेदन कोर्टफी दाखिल नगराई दर्ता भएकोले पुनरावेदक प्रतिवादीले यस अदालतमा पुनरावेदन गर्दा दाखिल गर्नुपर्ने वादीले शुरु फिराद गर्दा राखेको कोर्ट फि रु. १०,०३१।७८ को १५ प्रतिशतले हुने रु.१५०४।७७ कोर्टफी प्रत्यर्थी वादीवाट असूल उपर गर्नु भनी शुरु जिल्ला अदालतमा लगत दिनु ........... ३
मिसिल नियमानुसार बुझाई दिनु ......४
उपर्युक्त रायमा सहमत छु ।
प्र.न्या.गोविन्दवहादुर श्रेष्ठ
इति सम्बत् २०६१ साल असार ११ गते रोज ६ शुभम् ....