निर्णय नं. ७४१४ - जवर्जस्ती करणी

निर्णय नं.७४१४ ने.का.प.२०६१ अङ्क ७
संयुक्त इजलास
माननीय न्यायाधीश श्री रामनगिना सिंह
माननीय न्यायाधीश श्री खिलराज रेग्मी
सम्वत २०५६ सालको फौ.पु.नं. २२५१
फैसला मितिः २०६०।११।४।२
मुद्दा :– जबरजस्ती करणी ।
पुनरावेदक
प्रतिवादीः जि.उदयपुर, त्रियुगा न.पा. वडा नं.१० बस्ने हिरालाल चौधरी
विरुद्ध
प्रत्यर्थी
वादीः राम कुमारी समेतको जाहेरीले श्री ५ को सरकार
§ मिसिल संलग्न प्रमाण कागजबाट जबरजस्ती करणी भएको हो, होइन यकिन भन्न नसकिने भन्ने समेतको मेडिकल रिर्पोट देखिएको परिप्रेक्ष्यमा प्रत्यक्षदर्शी भनिएकी घुरनी सदा र सह–अभियुक्त हरिनारायण सदाले समेत मौकाको भनाइमा प्र.हीरालालले करणी गरेको हो भनी किटी लेखाई नदिएको अवस्थामा पीडित भनिएकी राम कुमारी चौधरीको विरोधाभाषपूर्ण भनाइ मात्रै को आधारमा प्रतिवादी हिरालाल समेत भई वारदात घटना घटाएको भनी मान्न न्यायसम्मत हुने देखिन नआउने ।
§ मेडिकल जाँच गर्दा समेत जबरजस्ती करणी भएको हो, होइन यकिन हुन नसकेकोमा घटनास्थल प्रकृति मुचुल्का र सनाखत कागज मात्रैको आधारमा यी प्रतिवादी हिरालाल समेत भई जबरजस्ती करणी भए गरेको रहेछ भन्न नमिल्ने ।
पुनरावेदक प्रतिवादीतर्फवाटः विद्वान अधिवक्ता श्री रामकुमार राउत
प्रत्यर्थी वादीतर्फवाटःविद्वान उपन्यायाधिवक्ता श्री शरदकुमार खडका
अवलम्वित नजिरः
फैसला
न्या.रामनगिना सिंहः पुनरावेदन अदालत राजविराजको मिति २०५५।९।२० को फैसला उपर न्याय प्रशासन ऐन, २०४८ को दफा (१)(ग) बमोजिम प्रतिवादी हीरालाल चौधरीकोतर्फबाट पर्न आएको प्रस्तुत पुनरावेदनमा संक्षिप्त तथ्य र ठहर यसप्रकार छ :-
२. हामी जाहेरवाली साथमा १० वर्षको धुरनी सदा समेत मिति ०५२।१०।१४ गते जलजले बजारमा आफ्नो घरतर्फको बाटो आईरहेको अवस्थामा त्रियुगा १ नं. र २ नं. पुलको बीचमा पुग्नासाथ हरिनारायण, हिरालाल चौधरी, सफिगुल मियां, देवनारायण चौधरी, नजरुल मियां, राजेश्वर चौधरी समेतका मानिस करणी गर्ने मनसायले बाटो ढुकी बसिरहेका रहेछन्, हामीहरु उक्त स्थानमा पुग्ना साथ म सूचनाकर्ता दहा सदा लाई सफगुल मियाले र म रामकुमारी चौधरीलाई हरिनारायण सदाले जबरजस्ती पक्री बोकी सडक भन्दा १५ मिटर फरक चौडीमा लडाई दहनी सदालाई मुखथुनी बोल्न चल्न नदिई पहिला सफिगुल मियाले त्यसपछि नजरुल मियाले करणी गरे देवनारायण, हरिनारायण सदा, हिरालाल चौधरीले पालैपालो म राम कुमारीलाई करणी गरे । देव नारायण समेतले मानिस आउछन भनी बाटोमा डिउटी गर्ने ग¥यो हामीलाई इच्छा विरुद्ध करणी गरेको हुँदा कारवाही गरी पाउँ भन्ने समेत व्यहोराको राम कुमारी चौधरी समेतको जाहेरी दरखास्त ।
३. जाहेरवालीहरुलाई जबरजस्ती करणी गरिएको घटनास्थलमा रातो निलो रंगको जत्रतत्र छरिएको टुक्रा चुरा भएको भन्ने समेत व्यहोराको घटनास्थल प्रकृति मुचुल्का ।
४. यी देखाएका कपडाहरु प्रतिवादीहरुले मिति ०५२।१०।१४ गते हामीलाई जबरजस्ती करणी गर्दा च्यातिएको र निजहरुको विर्य लागेको र यो फुटेको चुरा टुक्रा प्रतिवादीहरुले जबरजस्ती करणी गर्दा वारदातस्थलमै फुटेको र घटनास्थलबाटै बरामद भएका हुन भनी जाहेरवाला रामकुमारी चौधरी समेतले गरी दिएको सनाखत कागज ।
५. मिती २०५२।१०।१४ गते म लहानबाट आफ्नो घर भुमरसुवा चुहाडे जादै गर्दाको अवस्था घटनास्थल नजिक पुगे पछि जाहेरवाली दहनी सदाले गाडी रोकेकोले मैले गाडी रोके, त्यस अवस्था पीडित जाहेरवालीको सर्टको टांक खुलेको, सर्ट च्यातिएको थियो, प्रतिवादीहरुले जाहेरवालीहरुलाई जबरजस्ती करणी गरेको भन्ने कुरा जाहेरवालीहरुको स्थिति हेर्दा मलाई पूर्ण विश्वास लाग्यो, पछि पीडित जाहेरवालीहरुलाई मैले मेरै ट्रक गाडीमा हाली निजहरुको घर छेउसम्म पुर्याई दिएको हुँ भन्ने समेत व्यहोराको पर्शुराम राईको प्रहरीमा भएको कागज ।
६. मिति ०५२।१०।१४ गते सिनेमा हेरी बाहिर निस्केपछि जाहेरवालीहरु पनि निस्के र देउरी गा.वि.स. वडा नं. १ नजिक पुगेपछि राजेश्वर चौधरीले जाहेरवाली राम कुमारी चौधरीलाई समाए, दहनी सदालाई नजरुल मियाले समाई पुल भन्दा केही पर लगी करणी गरी सके पछि मैले राम कुमारीलाई करणी गर्न तयार भएको अवस्थामा जलजलेतर्फबाट गाडी आएकोले करणी गर्न नपाउदै भागी गयौ । अरु साथीहरु कता गए, केटीहरु कता गए थाहा भएन भन्ने समेत व्यहोराको प्रतिवादी हरिनारायण सदाले प्रहरीमा गरेको बयान कागज ।
७. मिति ०५२।१०।१४ गते म सिनेमा सकिएपछि जाहेरीमा उल्लेखित सबै साथीहरु जाहेरवालीहरुको पछि पछि गयौं, घटनास्थलमा पुगेपछि मैले दहनी सदालाई समाई ताने मेरो पछि पछि नजरुल मिया थिए, राम कुमारी चौधरीलाई राजेश्वर चौधरी र हिरालाल चौधरीले समाई चौरतिर लगे, हरि नारायण पनि संगै गएका थिए दहनी सदालाई पहिला नजरुल मियाले पछि मैले करणी गरेको हो करणी गरी नसक्दै जलजलेबाट ट्रक आएकोले निज दहनी सदालाई त्यही छाडी भागि गएको हुं । अरु के कता गए मलाई थाहा भएन भन्ने समेत व्यहोराको प्रतिवादी सफिगुल मियाले प्रहरीमा गरेको बयान ।
८. मिति २०५२।१०।१४ गते सिनेमा हेरी सकेपछि हलबाट निस्की घटनास्थलमा पुगेपछि राम कुमारी चौधरीलाई हरिनारायण सदा र राजेश्वर चौधरीले समाई चौरीतर्फ लगे, दहनी सदालाई सफीगुल मिया र नजरुल मियाले हातमा समाई लगे र करणी गरे म पनि गर्न राम कुमारी भएतिर गए तर करणी गर्न नपाउदै जलजलेबाट ट्रक आएकोले करणी गर्न नपाउदै भागी गएको हुँ भन्ने समेत व्यहोराको प्रतिवादी हिरालाल चौधरीले प्रहरीमा गरेको बयान ।
९. मिति २०५२।१०।१४ गते जाहेरवालीहरु र म समेत देउरी बजारमा गई किनमेल गरी घरतर्फ जादै गर्दा देउरी गा.वि.स. अन्तर्गत वडा नं. थाहा भएन बिजुलीको पोलनेर पुग्दा पुल मुनीबाट ५ जना एक्कासी नचिनेको ३ जना राम कुमारी चौधरीलाई समाए, २ जनाले दिदी दहनीलाई समाई चौरीतर्फ लगे । म डरले बाटो मै बसे दिदीहरु गुहार भनी कराउदै थिए । परबाट हेर्दा रामकुमारी चौधरीलाई ३ जनाले पालै पालो करणी गरे दहनी सदालाई २ जनाले करणी गरेका हुन । करणी गरी सकेपछि त्रियुगा खोला तिर भागी गएका थिए । दिदीहरु बाटोमा निस्की कराएपछि ट्रक चालकले हामीलाई गाडीमा राखी ल्याई दिएका हुन भन्ने समेत व्यहोराको धुरणी सदाले प्रहरीमा गरेको कागज ।
१०. मिति २०५२।१०।१४ गते राती दहनी सदा र राम कुमारी चौधरीलाई हरि नारायण सदा समेत ६ जनाले जबरजस्ती करणी गरेको भन्ने समेत व्यहोराको मिति ०५२।११।३ गतेको एकै मिलान व्यहोराको सर्जमिन मुचुल्का ।
११. मिति ०५२।१०।१४ गते बेलुका अं. ८ बजेको समयमा वर्ष १५ की राम कुमारी चौधरी र वर्ष १५ की दहनी सदालाई घटनास्थल एकान्त स्थानमा जोरजुलुम गरी बिना मन्जुरीले रातको समयमा वर्ष १५ की रामकुमारी चौधरीलाई राजेश्वर, हरिनारायण र हिरालाल चौधरीले जबरजस्ती करणी गरेको र वर्ष १५ की दहनी सदालाई नजरुल मिया सफिगुल मियाले करणी गरेको सिद्ध हुन आई मुलुकी ऐन जबरजस्ती करणीको महलको १ नं. को कसूर अपराध गरेकाले निजले प्रतिवादीहरु राजेश्वर, हरिनारायण, हिरालाल, सफिगुल मिया र नजरुल मियालाई मुलुकी ऐन जबरजस्ती करणीको महलको ३ नं. बमोजिम सजाय हुन र सोही महलको १० नं. बमोजिम प्रतिवादीहरुको आधा अंश सर्वस्व गरी पीडितहरुलाई दिलाई पाउन र प्र. देवनारायणले पीडितहरुलाई विरुद्ध खण्डका अन्य प्रतिवादीहरुले जबरजस्ती करणी गर्ने भएको कुरा जानी थाहापाई संग साथमा गएको र अरु मानिस आउँछनकी भनी बाटोमा बसी डिउटी गर्ने काम गरी जबरजस्ती करणीको कार्यमा निर्वाधरुपमा सहयोग पुर्याई मद्दत गरेको पुष्टि हुन आई प्र.देवनारायण चौधरीले मुलुकी ऐन जबरजस्ती करणीको महलको ४ नं. बमोजिम सजाय हुन मागदावी गर्दै सक्क्ल मिसिल कागजात दशीका चुराका टुक्राहरु पक्राउ परेका प्रतिवादीहरु हरिनारायण सदा, हिरालाल चौधरी, र सफिगुल मियालाई यसै अभियोगपत्र साथ सम्मानित अदालत समक्ष प्रस्तुत गरिएको छ फरार रहेका प्रतिवादीहरुलाई सम्मानित अदालतबाटै कानून बमोजिम म्याद जारी गरी कारवाही गरी पाउँ भन्ने अभियोग दावी भएको ।
१२. म देउरीको पुनम सिनेमा हलको टिकट चेकर हु । मिति २०५२।११।१४ गते टिकट चेक गरी ९ बजे घरगै सुतेको हुँदा दहनी सदासमेतलाई करणी गरेको होइन । सो मितिमा दहनी सदाको टिकट नभएको हुँदा सिनेमा हलबाट निकाली दिएकोले सोही रिसइवीले झुठा जाहेरी दिएको हो मैले जाहेरी बमोजिम अपराध गरेको छैन भन्ने प्र.सफिगुल मियाले अदालतमा गरेको बयान ।
१३. मिति २०५२।१०।१४ गते सिमेन्ट फैक्ट्रीको लेबर काम गरी सो बेलुका ६ बजे देखि ९ बजेसम्म देउरीमा सिनेमा हेरी घरमा गै सुतेको हुँ । प्रतिवादीहरु र जाहेरवालीहरुसंग मेरो भेट भएको छैन । म समेतले जाहेरवालीहरुलाई जबरजस्ती करणी गरेको हैन, दावी झुठा हो सफाइ पाउँ भन्ने प्र. हरिनारायण सदाले अदालतमा गरेको बयान ।
१४. मिति ०५२।१०।१४ गते म फैक्ट्रीमा लेबर काम गरेको थिए, वारदात मितिमा म घरमा नै छु । मिति ०५२।१०।१५ गते फैक्ट्रीबाट प्रहरीले पक्राउ गरी ल्याएको हुँदा म उपरको दावा झुठा हो दावाबाट सफाइ पाउँ भन्ने प्र हिरालाल चौधरीले अदालतमा गरेको बयान ।
१५. प्र.सफिगुल मिया अधिकार प्राप्त अधिकारी समक्ष सावित भई कागज गरेका र जाहेरवाली उपर जबरजस्ती करणीको घटना भएको हो भनी प्रत्यक्षदर्शी धुनी सदाले प्रहरी समक्ष कागज गरी दिएको देखिदा उक्त प्रमाणहरुको आधारमा प्र. सफिगुल मियालाई पछि बुझ्दै जाँदा ठहरे बमोजिम हुने गरी अ.वं. ११८ग(२) नं. बमोजिम थुनामा राखी मुद्दाको पुर्पक्ष गर्नपर्ने मनासिब आधार देखिदा प्रतिवादी सफगुल मियालाई कानून बमोजिम पुर्पक्षको लागि थुनामा राख्न कारागारशाखा उदयपुरमा पठाई दिनुर प्र.हरिलाल र हरिनारायण सदा अधिकार प्राप्त अधिकार समक्ष अदालतमा समेत दावाको अभियोगमा इन्कार भई बयान कागज गरेको हुँदा प्रतिवादीहरुले थुनामा राखी मुद्दाको पुर्पक्ष गर्ने मनासिब नपर्ने भई प्रतिवादीहरुले पछि बुझदै जाँदा ठहरे बमोजिम हुने गरी हाल अ.वं. ११८(५) नं. बमोजिम जनही रु २२,५००।– नगद वा जेथा धरौट माग गरी माग गरेको धरौटी दिए तारेखमा राखी पुर्पक्ष गर्ने दिन नसके कानून बमोजिम कारागार शाखा उदयपुरमा थुनामा राखी मुद्दाको पुर्पक्ष गर्ने र फरार रहेका प्रतिवादीहरुका नाउँमा वारेण्ट सहित ७० दिने म्यादी पुर्जी जारी गरी कानून बमोजिम गर्नु भन्ने मिति २०५१।११।१६ को पर्चा ।
१६. म राजेश्वर चौधरी देउरीको पुनम हलमा काम गर्ने हुँदा ०५२।१०।१४ बेलुका ७ बजे देखी फिल्म चल्ने हुँदा प्रतिवादी देवनारायण, सफीगुल, नजरुल, हिरालाल भै नचिनेको २ वटा केटी १ जना सानो केटीसमेत आएको थियो । मैले टिकट नभएको हुँदा सिनेमामा पस्न दिइन पछि निजहरु टिकट काटी सिनेमा हलभित्र पसेका हुँदा सिनामाहल बन्द गरी आफ्नो घरमा गै सुतेको हुँ म समेत भै राम कुमारी चौधरीलाई जबरजस्ती करणी गरेको हैन अभियोग दावी झुठा हो दावीबाट फुर्सद पाउँ भन्ने प्र.राजेश्वर चौधरीले अदालतमा गरेको बयान ।
१७. प्र. राजेश्वर चौधरीबाट पछि बुझ्दै जाँदा ठहरे बमोजिम हुने गरी हाल अ.वं. ११८(५) नं. बमोजिम रु २२,५००।– नगद वा जेथा धरौट माग गर्ने माग गरेको धरौटी दिए तारेखमा राखी मुद्दाको पुर्पक्ष गर्न दिने, दिन नसके कानून बमोजिम थुनामा राख्न कारागार शाखामा पठाई दिने भन्ने मिति २०५२।११।१९।३ को आदेश ।
१८. मिति २०५२।१०।१४ गते म सिनेमा हेर्न गएको छैन । सो दिन जाहेरवाली र प्रतिवादीहरु समेतसंग भेट भएको छैन अभियोग दावा बमोजिम मैले कसूर गरेको नहुँदा दावीबाट सफाइ पाउँ भन्ने प्र.देवनारायण चौधरीले अदालतमा गरेको बयान ।
१९. प्र. देवनारायण समेतले एकान्तस्थलमा पारी जबरजस्ती करणी गरी भागेका हुन भनी कागजमा उल्लेख गरेका र यी प्रतिवादी उपर जबरजस्ती करणीको ४ नं.को दावी भएकोले पछी बुझ्दै जाँदा ठहरे बमोजिम हुने गरी हाल अ.वं. ११८(५) नं. बमोजिम रु ५०००।– नगद वा जेथा धरौट माग गर्ने माग गरेको धरौटी दिए तारेखमा राखी मुद्दाको पुर्पक्ष गर्न दिने दिन नसके कानून बमोजिम थुनामा राखी पुर्पक्ष गर्ने प्र.देवनारायण चौधरीको नाउँमा जारी भएको वारेण्ट र म्याद बदर गरी दिनु भनी जि.प्र.का उदयपुरमा लेखी पठाई दिनु भन्ने मिति ०५२।१०।२१ को आदेश ।
२०. मिति २०५२।१०।१४ गते बेलुका सिनेमा हेरी १०–१५ बजे घरमा गएको हुं । सो रात जाहेरवाली दहनी सदालाई करणी गरेको छैन । म उपर किन जाहेरी दिए । मलाई केही थाहा छैन भन्ने प्र.नजरुलमियाले अदालतमा गरेको बयान ।
२१. नजरुल मियालाई अनुसन्धान अधिकारीका समक्ष गरेको पोलका आधारमा अ.वं. ११८(५) नं. को अवस्था पुगेको देखिदा वर्तमानमा अ.वं. ११८(१) नं.को अवस्था विचार गर्दा हाललाई रु १५,०००।– नगद वा धरौट जेथाजमानी दिए तारेखमा राखी कारवाही गर्नु जेथा जमानी दिन नसके अ.वं. ११८(८) बमोजिम थुनामा राख्न अ.वं.१२१ नं.बमोजिम थुनुवा पुर्जी दिई कारागार शाखामा पठाई दिने भन्ने मिति ०५३।२।३० को आदेश ।
२२. प्रतिवादीहरुको साक्षीहरुको बकपत्र भै मिसिल सामेल रहेछ ।
२३. हिरालाल, हरिनारायण, देवनारायण, समेतले मलाई करणी गरेका हुन । हरिनारायणले पक्रेकाले भाग्न पाइन । धुरणि दहनी र म समेत ३ जना प्रतिवादी हरिनारायण हिरालाल, राजेश्वर समेत ६ जना थिए । हिरालालले पक्रिएको बेला देवनारायणले गरे देवनारायणले हात पक्रिएको बेला, हिरालालले गरे हिरालालले पक्रिएको बेला देवनारायणले गरे मैले रातो फरक सेतो सट लगाएको थिए काँचको हरियो चुरा समेत लगाएको थिए त्रियुगा खोलाको १ फुलमा राती करणी गरेका हुन हिरालाल चौधरीले मलाई करणी गर्न देउ म १।२ सय रुपैया पनि दिन्छु विवाह पनि गर्छु भनेका थिए र करणी पनि गर्न दिएको मलाई प्रतिवादीहरुले जबरजस्ती करणी गरेका हुन भनी जाहेरवाली राम कुमारी चौधरीले अदालतमा गरेको बकपत्र
२४. पीडित मध्येको जाहेरवाली देहनी सदालाई जि.स.व.का. उदयपुर मार्फत हाजिर गराएको नदेखिदा अ.वं. ११५ नं. बमोजिम अदालतबाटै बुझी पेश गर्नु भन्ने मिति ०५३।५।९ को आदेश ।
२५. मिति २०५२।१०।१४ गते दिनको १२ बजेको समयमा जलजले हटियामा सागसव्जी किन्न गएको थिए । मेरो साथमा धुरणि र कुमारी चौधरी थिए बजारबाट घर फर्कि रहेको अवस्था जलजले देखि पश्चिम पटिृ मोहनपुरको पुल छेउमा प्रतिवादी सफीगुल मियाले पक्रेर चौरमा लगि गरे मैले चिनेका २ जना र अरु नचिनेका ४ जना थिए प्र.सफिगुलले लछारपछार गरे निजहरुले मुख थुनिदियो पहिला सफिगुलले करणी गरे हामी रुदै थियौ त्यसपछि चुहाडेको कुमारको गाडी आई पुगेपछि त्यही गाडीमा हाली घर पुर्याई दिए अरुले राम कुमारीलाई उतातिर लगेका थिए के गरे मैले देखिन मैले सो दिन सेतो सट हरियो फ्रक सेतो ... लगाएको थिए । मलाई सफिगुलले करणी गरे प्र. नजरुलले करणी गर्ने बेलामा गाडी आई पुगेकाले भागे मलाई करणी गर्नु भन्दा अगाडि कुनै मंजुरी लिएको थिएन । जबरजस्ती गरेका हुन भनी जाहेरवाला दहनी सदाले अदालतमा गरेको बकपत्र ।
२६. प्रतिवादी सफीगुल मिया र नजरुल मियाले पीडित दहनी सदालाई र पीडित रामकुमारी चौधरीलाई प्रतिवादी हरिनारायण सदा र हिरालाल चौधरीले आरोपित जबरजस्ती करणी गरी जबरजस्ती करणीका १ नं. को आरोपित कसूर गरेको निर्विवाद प्रमाणित भइरहेको छ । तिनीहरुको सम्बन्धमा जाहेरी दरखास्तमा उल्लखित घटनाक्रम र भाषा शैली र जाहेरवालीहरुले गरेको बकपत्रमा व्यक्त घटनाक्रम भाषा शैली इत्यादिमा स्वाभाविक रुपले हुन सक्ने सामान्य अन्तरलाई निर्णयाधार बनाई ती प्रतिवादीहरुलाई बेकसूर ठहर गर्न मिल्दैन । तसर्थ प्रतिवादीहरु सफीगुल मिया, नजरुल मिया, हरिनारायण र हिरालाललाई सफाइ दिने ठहराएको जिल्ला अदालतको फैसला उल्टी भई प्रतिवादी सफीगुल र नजरुल मियाले दहनी सदाको र प्रतिवादी हरिनारायण सदा र हिरालाल चौधरीले रामकुमारी चौधरीको जबरजस्ती करणी गरेकोले उक्त चारै जनालाई जनही जबरजस्ती करणीको ३ नं.अनुसार ४–४ वर्ष कैद सजाय गर्ने ठहर्छ भन्ने समेत पुनरावेदन अदालत राजविराजको फैसला ।
२७. जाहेरी दरखास्त व्यहोरा र अदालतमा गरेको बकपत्रको व्यहोरामा मौलिक एंव गम्भीर अन्तर छ, जबरजस्ती करणी भएकै भएपनि जाहेरवालीहरुको मंजुरीले नै गरिएको व्यहोरा जाहेरवालीहरुको बकपत्रबाट पुष्टि भइरहेको स्थितिमा प्रमाणको मूल्याकंन गरी शुरुबाट फैसला भएको छ । प्रमाण ऐन, २०३१ ले निर्दिष्ट गरेको कार्यविधीअनुसार सोधपुछ र जिरहबाट आएको निष्कर्षलाई प्रमाणमा ग्रहण नगरी मन्जुरीले करणी गर्न दिएको र आफ्नो पक्षले जाहेरी दिएको होइन भन्ने कुरा जाहेरवाली राम कुमारी चौधरीले प्रष्ट लेखाई दिई रहेको अवस्थामा पनि शुरुले सबै प्रतिवादीहरुलाई सफाइ दिने ठहर गरी भएको फैसलालाई केहीलाई सफाइ र केहीलाई सजाय हुने गरी आंशिक फैसला गरी म पुनरावेदकलाई सजाय हुने गरी भएको पुनरावेदन अदालतको फैसला अन्याय परेको हुँदा बदर गरी पाउँ भनी प्र.हिरालाल चौधरीको यस अदालतमा पर्न आएको पुनरावेदन पत्र ।
२८. यसमा पुनरावेदन प्रतिवादी हिरालाल चौधरीले वारदात गर्न नपाउँदै भागि गएको भनी अधिकार प्राप्त अधिकारी समक्ष कागज गरेको र निजको शारीरिक परीक्षणबाट निजले करणी गरेको प्रमाण चिन्ह फेला परेको भन्ने चिकित्सकको राय पनि नभएको, स्थितिमा निज हिरालाल चौधरीलाई जबरजस्ती करणीको ३ नं. बमोजिम सजाय गर्ने पुनरावेदन अदालत राजविराजको फैसला फरक पर्ने हुँदा छलफलको निमित्त अ.वं. २०२ नं. बमोजिम महान्यायाधीवक्ताको कार्यालयलाई उपस्थित हुन सूचना दिई नियम बमोजिम पेश गर्नु भनी यस अदालत संयुक्त इजलासबाट भएको आदेश ।
२९. नियम बमोजिम दैनिक पेशी सुचीमा चढी पेश हुन आएको प्रस्तुत मुद्दामा पुनरावेदन सहितका मिसिल प्रमाण कागजहरु अध्ययन गरी पुनरावेदकतर्फबाट रहनु भएका विद्वान अधिवक्ता श्री राम कुमार राउतले वारदात भएको भनेको मिति २०५२।१०।१४ भन्दा ५ दिन पछि जाहेरी परेको नै संदिग्ध छ । मेरो पक्षले वारदात भए गरेको कुरामा स्पष्ट इन्कार गरी बयान गरेका छन् । वारदात भए कै अवस्थामा पनि मेरो पक्ष वारदातमा प्रत्यक्ष रुपमा सक्रिय थियो भन्ने पीडित भनिएका जाहेरवालाहरु समेतले सकेका छैनन । जाहेरवालीहरुको जाहेरी दरखास्त र अदालतको बयान विरोधाभाषपूर्ण छ । प्रमाणको मूल्याकंन गरी गरेको शुरुको फैसला उल्टी गरी मेरो पक्षलाई मागदावी बमोजिम सजाय हुने ठहर गरेको पुनरावेदन अदालतको फैसला न्यायको रोहमा मिलेको छैन, बदर हुनुपर्छ भनी र वादी श्री ५ को सरकारतर्फबाट उपस्थित विद्वान उप–न्यायाधिवक्ता श्री शरद कुमार खडकाले जाहेरी दरखास्त, बरामदी र सनाखत मुचुल्काका साथै अधिकार प्राप्त अधिकारी समक्षको प्रतिवादीहरुको बयानबाट पनि वारदात भए गरेको पुष्टि हुन्छ वारदातमा यी प्रतिवादीको संलग्नता जाहेरवालीहरु र प्रत्यक्षदर्शी समेतको अदालतको भनाइबाट पनि प्रष्ट हुन्छ । यस्तो अवस्थामा पुनरावेदन अदालतबाट यी प्रतिवादीका हकमा मागदावी बमोजिम नै कसूर अपराध गरेको ठहराई भएको फैसलामा कुनै त्रुटी नहुँदा सदरै कायम हुनुपर्छ भनी गर्नु भएको बहस समेत सुनियो ।
३०. निर्णयतर्फ विचार गर्दा, म सूचना कर्ता दहनी सदालाई सफिगुल मियासमेतले र म सूचनाकर्ता रामकुमारी चौधरीलाई हरिनारायण सदा हीरालाल चौधरी समेतले २०५२।१०।१४ गते राती अं.८ बजेको समयमा जबरजस्ती करणी गरेकोले कानून बमोजिम कारवाही गरी पाउँ भन्ने समेतको जाहेरी भई प्रतिवादी हिरालाल चौधरी समेतले मुलुकी ऐन, जबरजस्ती करणीको महलको १ नं.मा उल्लेखित कसूर अपराध गरेकोले ऐ. कै ३ नं. बमोजिम सजाय हुन र ऐ. कै १० नं. बमोजिम प्रतिवादीहरुको आधा अंश सर्वस्व गरी पीडितहरुलाई दिलाई पाउँ भन्ने समेतको अभियोग मागदावी भएको प्रस्तुत मुद्दामा अभियोग दावी ठहर हुन नसकी प्रतिवादीहरुले सफाइ पाउने ठहराएको शुरु जिल्ला अदालतको फैसलामा केही उल्टी गरी प्र. हिरालाल चौधरी समेतलाई मागदावी बमोजिम सजाय हुने ठहराई पुनरावेदन अदालत राजविराजबाट फैसला भएको देखिएकोमा उक्त पुनरावेदन अदालतको फैसला मिले नमिलेको के रहेछ ? प्रतिवादीको पुनरावेदन जिकिर पुग्न सक्ने हो, होइन ? भन्ने सम्बन्धमा नै निर्णय दिनुपर्ने देखिन आयो ।
३१. जाहेरवालीले अदालतमा गरेको बयान र जाहेरी दरखास्त व्यहोरामा मौलिक एंव गंभीर अन्तर छ, मैले आफ्नो मनले जाहेरी दिएको होइन भनी जाहेरवाली राम कुमारीले प्रष्ट लेखाई दिएको अवस्थामा प्रमाणको उचित ग्रहण र मूल्याकंन भएको छैन भन्ने समेतको प्रतिवादीको पुनरावेदन जिकिर रहेको सन्दर्भमा प्र.हिरालाल चौधरीले घटना वारदात भएको तर आफूले भने करणी गर्न नपाएको भन्ने उल्लेख गरी अधिकार प्राप्त अधिकारी समक्ष बयान गरी अदालतमा आई बयान गर्दा वारदात घटना भए गरेको कुरामा पूर्णरुपमा इन्कारी बयान गरेको देखिन आउँछ । प्रमाण कागज हेर्दा घटनास्थलमा रातो निलो रंगको काँचको टुक्रा जत्रतत्र छरिएको भन्ने घटनास्थल प्रकृति मुचुल्का, बरामद भएको कपडा र फुटेका चुराका टुक्रा घटनास्थलबाटै बरामद भएका हुन भन्ने सनाखत कागजका साथै जबरजस्ती करणी भएको हो, होइन यकिन भन्न नसकिने भन्ने समेतको जिल्ला स्वास्थ््य कार्यालय, उदयपुरको मेडिकल जाँच रिर्पोट मिसिल सामेल रहेको पनि देखिन आउँछ । यस्तो अवस्थामा पीडित रामकुमारी चौधरीलाई प्र.मध्येका राजेश्वर चौधरी, हरिनारायण सदा र हिरालाले चौधरीले जबरजस्ती करणी गरेको भन्ने तथ्य प्रत्यक्षदर्शी घुरनी सदा र पर्शुराम राई समेतको मौकाको कागजमा उल्लेख भएकोमा पीडित राम कुमारीलाई करणी गर्ने अर्का प्र. हरिनारायणले मौकाको बयानमा हिरालाल करणी गर्न पाएनन् भनी लेखाई दिएको पाइन्छ । प्रत्यक्षदर्शी घुरनी सदाले मौकाको कागजमा क–कसले करणी गरे चिन्दिन भनी लेखाई दिएकोमा अदालतमा आई बयान गर्दा मात्रै यी प्रतिवादीको नाम उल्लेख गरेको र पर्शुराम राईले जबरजस्ती करणी भएको घटना आफैले देखेको नभई जाहेरवालीहरुले भनेकोले थाहा जानकारी सम्म पाएको मिसिलबाट देखिन आउँछ । प्रमाण ऐन, २०३१ को दफा २५ मा अभियुक्तको कसूर प्रमाणित गर्ने भार वादीको हुनेछ भन्ने व्यवस्था भइरहेको सन्दर्भमा त्यस्तो कसूर शंका रहित तवरबाट पुष्टि हुनुपर्ने देखिन्छ । प्रस्तुत मुद्दामा पीडित भनिएका जाहेरवाली राम कुमारी चौधरीको मौकाको जाहेरी दरखास्त र अदालतको बयानमा प्र. हिरालाल चौधरी समेतले करणी गरेको भनी लेखाएको देखिए पनि एकरुपता रहे भएके पाइदैन । त्यसै गरी मिसिल संलग्न प्रमाण कागजबाट जबरजस्ती करणी भएको हो, होइन यकिन भन्न नसकिने भन्ने समेतको मेडिकल रिर्पोट देखिएको परिप्रेक्ष्यमा प्रत्यक्षदर्शी भनिएकी घुरनी सदा र सह–अभियुक्त हरिनारायण सदाले समेत मौकाको भनाइमा प्र.हीरालालले करणी गरेको हो भनी किटी लेखाई नदिएको अवस्थामा पीडित भनिएकी राम कुमारी चौधरीको विरोधाभाषपूर्ण भनाइ मात्रै को आधारमा प्रतिवादी हिरालाल समेत भई वारदात घटना घटाएको भनी मान्न न्यायसम्मत हुने देखिन आउँदैन ।
३२. वस्तुतः जबरजस्ती करणी जस्तो गंभीर फौजदारी मुद्दामा कसूर अपराध ठहर गर्दा प्रमाणको प्रचुरता आवश्यक हुन्छ । अपराध पीडित भनिएकी जाहेरवाली कै मौकाको र अदालतको भनाइ विरोधाभाषपूर्ण रहेको, प्रत्यक्षदर्शी घुरनी सदाले मौकैमा गरेको कागजमा यी प्रतिवादीको नाउँ किटी लेखाउन नसकेको, सह–अभियुक्त हरिनारायण सदाले अधिकार प्राप्त अधिकारी समक्ष गरेको बयानमा पनि प्र. हिरालाल ले करणी गर्न पाएनन् भनी लेखाएकोमा मेडिकल जाँच गर्दा समेत जबरजस्ती करणी भएको हो, होइन यकिन हुन नसकेकोमा घटनास्थल प्रकृति मुचुल्का र सनाखत कागज मात्रैको आधारमा यी प्रतिवादी हिरालाल समेत भई जबरजस्ती करणी भए गरेको रहेछ भन्न मिल्ने देखिदैन । अतः उपर्युक्त आधार समेतबाट पुनरावेदक प्रतिवादी हिरालाल चौधरी अदालतमा कसूर अपराध गरेमा पूर्णरुपमा इन्कार रहेकोमा निज प्र.हिरालाल चौधरीको अपराध कसूर भरपर्दो र ठोस प्रमाणको आधारमा शंका रहित तवरबाट स्थापित र पुष्टि हुन नसकिरहेको सन्दर्भमा शंका कै भरमा प्रतिवादी कसूरदार रहेछन भनी मान्न मिल्ने अवस्था रहे भएको देखिन आउँदैन तसर्थ पुनरावेदक प्रतिवादी हिरालाल चौधरीका हकमा शुरुले अभियोग दावीबाट सफाइ पाउने ठहराई गरेको फैसला उल्टी गरी मागदावी बमोजिम सजाय हुने ठहर गरेको पुनरावेदन अदालत राजविराजको मिति २०५५।९।२० को फैसला मिलेको देखिन नआउँदा उल्टी भई निज प्रतिवादीले अभियोग दावीबाट सफाइ पाउने ठहर्छ । अरुमा तपसिल बमोजिम गर्नु ।
तपसिल
माथि ठहर खण्डमा लेखिए बमोजिम पुनरावेदक प्रतिवादी हिरालाल चौधरीका हकमा शुरुको फैसला उल्टी गरी मागदावी बमोजिम सजाय हुने भनी गरेको पुनरावेदन अदालत राजविराजको फैसला उल्टी भै अभियोग दावीबाट सफाइ पाउने ठहरेकोले निजको हकमा कैदको लगत कसि असुल समेतको कार्य गर्नु परेन भनी शुरुमा लेखी पठाई दिनु ..... १
पुनरावेदक प्रतिवादी हिरालाल चौधरीले सफाइ पाउने ठहरेकोले निजले यस अदालतमा पुनरावेदन गर्दा मिति २०५३।३।१ र.नं. ८०४८४ बाट रु २२५००।– धरौटी राखेको देखिदा कानूनको रीत पुर्याई फिर्ता माग्न आए फिर्ता दिनु ..... २
प्रस्तुत मुद्दाको दायरीको लगत कटृा गरी नियमानुसार मिसिल बुझाई दिनु..... ३
उक्त रायमा म सहमत छु
न्या.खिलराज रेग्मी
इति सम्वत २०६० साल फाल्गुण ४ गते रोज शुभम् .......