निर्णय नं. ३८०३ - उत्प्रेषण

निर्णय नं. ३८०३ ने.का.प. २०४६ अङ्क ४
संयुक्त इजलास
माननीय न्यायाधीश श्री गजेन्द्रकेशरी बास्तोला
माननीय न्यायाधीश श्री प्रचण्डराज अनिल
सम्वत् २०४४ सालको रिट नं. १७१३
आदेश भएको मिति : २०४६।२।१९।५ मा
निवेदक : जिल्ला महोत्तरी हत्तिसर्वा गा.पं.वार्ड नं. ५ घर भई कृषिकेन्द्र दशरथपुरको लेखापाल पदमा दरबन्दी रहेको रामनारायणलाल कर्ण
विरुद्ध
प्रत्यर्थी : भेरी अञ्चालाधीको कार्यालय, बाँकेसमेत
विषय : उत्प्रेषण
(१) निजामती कर्मचारीले विभागीय प्रमुख कार्यालय प्रमुखको नियन्त्रण, अनुशासनको अधीनमा रहनु पर्ने ।
(प्रकरण नं. ९)
(१) रिट क्षेत्र तजविजी क्षेत्र समन्यायिक क्षेत्र (Equtiable Jurisdiction) हो, निवेदकका विरुद्धमा गरिएको सजायँमा निजको ग्रेड घटाएको सम्म देखिन्छ । यस स्थितिमा रिट जारी गरी निर्णय बदर गर्नु पर्ने औचित्य नदेखिने ।
(प्रकरण नं. ९)
निवेदक तर्फबाट : विद्वान अधिवक्ता श्री महादेव यादव
प्रत्यार्थीहरूतर्फबाट : विद्वान सहन्यायाधिवक्ता श्री सामन्तसिंह बोगटी
आदेश
न्या.गजेन्द्रकेशरी बास्तोला
१. नेपालको संविधानको धारा १६।७१ अन्तर्गत दर्ता हुन आएको प्रस्तुत निवेदनको संक्षिप्त विवरण एवं निर्णय यस प्रकार छ :–
२. म निवेदक कृषि केन्द्र सुर्खेत दशरथपुरमा लेखापाल पदमा कार्यरत छु र आफ्नो पदीय दायित्व कर्तव्यनिष्ठ रुपमा पूरा गर्दै आएको छु । यस्तामा “आ.व. ०४३।४४ को कूलो निर्माणका लागि पर्न आएको बोलपत्रमा शंकास्पद तरिकाबाट दररेटको महलमा दररेट सच्याई ठेक्का नपाउने व्यक्तिलाई ठेक्का पाउने गराएको सन्दर्भमा तपाईसँग लिइएको स्पष्टीकरणको जवाफमा उक्त अड्ढ सच्याएको कुरा थाहा हुँदाहुँदै टिप्पणीमा उल्लेख नगरेको कुरा स्वीकार गर्नुभएको र उक्त अड्ढ सच्याउने कार्यमा तपाइको सहयोग सहमति थिएन भन्ने कुराको कुनै ठोस आधार र सबूद प्रमाण पेश गर्न नसक्नु भएको, सफाई पेश गर्ने मौका दिएकोमा सफाई पेश गर्नुको सट्टा सालिनता, शिष्ठता र अनुशासनको ख्याल नराखी पत्रचारको भाषा र व्यवहारमा समेत उच्छृङखलता प्रदर्शन गर्नुभएको कार्यालय प्रमुख प्रतिको उत्तरदायित्व पूरा नगरेको, प्रमुख प्रति दुर्भावनाग्रस्त रही आधारहीन र अवान्छित लान्छना लगाई कार्यालय प्रमुखको चरित्रहत्या गर्ने उद्देश्यले तह नाघेर पत्राचार गर्ने गरेको कुरा स्वीकार गर्नुभएको आधारमा श्री ५ को सरकारबाट यस कार्यालय प्रमुखलाई प्राप्त अधिकारको प्रयोग गरी नि.से.नि. को दफा १०.१(४) अनुसार २०४४ साल वैशाख महीनादेखि लागू हुने गरी तपाईले खाइपाई आएको तलबमा तीन ग्रेड नपाउने गरी सजायँ तोकी तपाईको आचरणमा सुधार ल्याउने मौका दिनु मनासिब देखी निर्णयका लागि यो टिप्पणी पेश गरेको छु” भन्ने प्रत्यर्थी ना.सु. बाट पेश भएको टिप्पणीमा ०४४।१।११ मा प्रत्यर्थी कार्यालय प्रमुखबाट सदर भन्ने आदेश भयो र सो आदेश उपर प्रत्यर्थी अञ्चालाधीश समक्ष दिएको पुनरावेदनमा कृषि केन्द्र दशरथपुरले गरेको ०४४।१।११ को निर्णयलाई नै सदर मानी ०४४।८।१० को आदेशानुसार भनी पुनरावेदन खारेज गर्ने निर्णय गरी म निवेदकलाई जानकारी गराइयो र सो को निर्णयको नक्कल पनि मलाई उपलब्ध गराउन इन्कार गरियो ।
३. प्रत्यर्थी कृषि केन्द्रका कार्यालय प्रमुखले गरेको निर्णय म निवेदक निजको सेवा अन्तर्गतको कर्मचारी नभई लेखा समूहको कर्मचारी भएकोले निजले मलाई सजायँ गर्न नै पाउने नहुँदा अख्तियार बिना नै गरिएको छ । सो निर्णय गरिंदा पनि पेश भएको टिप्पणीमा कुनै केही राय उल्लेख नगरी सदरसम्म गरेकोले सो निर्णय न्यायिक मनको अभावमा गरिएको छ । निवेदकलाई एउटै कसूरमा ग्रेड नपाउने एवं आचरण सुधारको गरी दुईवटा सजायँ भएको छ । ०४४।१।११ मा सदर गरिएको टिप्पणी आदेश ०४४ वैशाखदेखि लागू हुने गरी गरिएकोले भूतलक्षी छ । म निवेदकसँग स्पष्टीकरण लिइदा कुन सजायँ गर्न खोजेको हो सो नखुलाई लिइयो जसबाट निवेदकका विरुद्धमा गरिएको नि.से.नि. को नियम १०.१० प्रतिकूल छ । म निवेदकसँग तीनपटक स्पष्टीकरण लिइएको छ र सजायँ गर्ने निर्णय गरिसकेपछि स्पष्टीकरण माग गरिएको छ । यसप्रकार प्रत्यर्थी कृषि केन्द्र दशरथपुरका कार्यालय प्रमुखबाट गरिएको ०४४।१।११ को टिप्पणीको आदेश सदर गर्ने निर्णय एवं सो निर्णय उपरको पुनरावेदन खारेज गर्ने प्रत्यर्थी अञ्चलाधीशज्यूको ०४४।८।१० को गैरकानुनी आदेशले म निवेदकको नेपालको संविधानको धारा १०(१) ११(२)(ङ) तथा धारा १५ द्वारा प्रत्याभूत अधिकार प्रचलनमा कुन्ठा एवं अवरोध उत्पन्न भएकोले सो निर्णय एवं आदेश उत्प्रेषणको आदेशद्वारा बदर गरिपाउँ भन्ने निवेदन ।
४. यस्मा प्रत्यर्थीहरूबाट लिखितजवाफ झिकाई आएपछि वा अवधि नाघेपछि नियम बमोजिम पेश गर्नु भन्ने समेत यस अदालत एक न्यायाधीशको इजलासको मिति ०४४।१०।२६।३ को आदेश ।
५. कृषिकेन्द्र दशरथपुर सुर्खेतका कार्यालय प्रमुखले गरेको निर्णय उपर नि.से.नि. को नियम १०(२) (२)क बमोजिम यस कार्यालयमा पुनरावेदन लाग्ने र नि.से.नि.को अनुसूची १(ख) ले सो केन्द्रको कार्यालय प्रमुखलाई मूल अड्डा प्रमुखमा समेत समावेश गरेको देखिएकोले सो केन्द्रका कार्यालय प्रमुखले आफ्नो कार्यालयको कर्मचारीलाई गरेको निर्णय सजायँ उपर पर्न आएको पुनरावेदनमा शुरु कृषि केन्द्र दशरथपुर सुर्खेतका कार्यालय प्रमुखले गरेको शुरु निर्णय यथोचित हुँदा सदर गरी यस कार्यालयबाट ०४४।८।१० मा पुनरावेदन निर्णय गरिएको हो । विपक्षीको यस्मा कुनै जिकिर पुग्न नसक्ने हुँदा रिटनिवेदन खारेज गरिपाउँ भन्ने समेत भेरी अञ्चलाधीशको लिखितजवाफ ।
६. कृषिकेन्द्र दशरथपुर सुर्खेतका कार्यालय प्रमुख एवं सोही केन्द्रका ना.सु. शम्भुनारायण श्रेष्ठले लिखितजवाफ नदिई अवधि नघाई बसेको ।
७. नियम बमोजिम दैनिक पेशी सूचीमा चढी पेश हुन आएको प्रस्तुत निवेदनमा निवेदक तर्फबाट उपस्थित विद्वान अधिवक्ता श्री महादेव यादव तथा प्रत्यर्थीहरूतर्फबाट उपस्थित विद्वान अधिवक्ता सहन्यायाधिवक्ता श्री सामन्तसिंह बोगटीले गर्नुभएको बहस जिकिर समेत सुनी यस्मा निवेदकको माग बमोजिमको आदेश जारी गर्नुपर्ने हो वा होइन भन्ने नै निर्णय दिनु पर्ने हुन आयो ।
८. यस्मा निवेदकका विरुद्धमा अख्तियार नै नभएको अधिकारीबाट गैरकानुनी तरिकाबाट ग्रेड घटाउने र आचरण सुधार गर्ने निर्णय गरिएको र सो निर्णय उपर पुनरावेदन दिएकोमा सोही गैरकानुनी निर्णय सदर गर्ने गरी पुनरावेदन खारेज गरिएको छ भन्ने निर्णय गरिएको तथा सो निर्णयहरूबाट निवेदकको संवैधानिक हकमा आघात नपुगेकोले सो निर्णयहरू बदर गरिपाउँ भन्ने समेत निवेदन जिकिर रहेकोमा निवेदकको विरुद्धमा गरिएको शुरु निर्णय एवं पुनरावेदन निर्णय अख्तियारवालाले कानुन बमोजिम नै गरेकोले रिट खारेजभागी छ भन्ने समेत लिखितजवाफ देखिन्छ ।
९. निजामती कर्मचारीले विभागीय प्रमुख कार्यालय प्रमुखको नियन्त्रण, अनुशासनको अधीनमा रहनु पर्ने हुन्छ । विद्वान सहन्यायाधिवक्ताबाट पेश भएको निवेदकको कारवाही फाइलको अध्ययन गर्दा रिटनिवेदक रामनारायणलाल कर्णको स्पष्टीकरण पत्रहरूको लेखाइबाट निज अनुशासनभित्र रहेको अवस्था पदीय आचरण निभाएको मान्न सकिने देखिएन । रिट क्षेत्र तजविजी क्षेत्र समन्यायिक क्षेत्र (Equitable Jurisdiction) हो । निवेदकका विरुद्धमा गरिएको सजायँमा निजको ग्रेड घटाएको सम्म देखिन्छ । यस स्थितिम रिट जारी गरी निर्णय बदर गर्नुपर्ने औचित्य देखिन्न ।
१०. तसर्थ निवेदकका सम्बन्धमा गरिएको निर्णय कृषि केन्द्र दशरथपुरबाट अधिकार क्षेत्रभित्र रही भएको र सो निर्णय उपर पुनरावेदन तहबाट छानबीन गरी निर्णय समेत भएको देखिँदा प्रस्तुत निवेदनमा निवेदकको माग बमोजिमको आदेश जारी गर्न मिलेन । प्रस्तुत रिटनिवेदन खारेज हुने ठहर्दछ । मिसिल नियम बमोजिम गरी बुझाई दिनु ।
उक्त रायमा म सहमत छु ।
न्या.प्रचण्डराज अनिल
इति सम्वत् २०४६ साल जेष्ठ १९ गते रोज ५ शुभम् ।