निर्णय नं. ७३८३ - छूट जग्गा दर्ता नामसारी दर्ता ।

निर्णय नं.७३८३ ने.का.प.२०६१ अङ्क ५
संयुक्त इजलास
माननीय न्यायाधीश श्री केदारप्रसाद गिरी
माननीय न्यायाधीश श्री शुसिला सिंह सिलु
सम्वत् २०६० सालको दे.पु.नं. –– ९१६८
फैसला मितिः २०६१।४।२१।५
मुद्दाः– छूट जग्गा दर्ता नामसारी दर्ता ।
पुनरावेदक
वादी काठमाडौ जिल्ला काठमाडौं महानगरपालिका वडा नं. २३ ग्वाछेमुगल दक्षसाल वस्ने वसुन्धरा भक्त मानन्धर
विरुद्ध
प्रत्यर्थी
प्रतिवादीः काठमाडौ जिल्ला, काठमाडौं महानगरपालिका वडा नं. २३ वस्ने नारायणदेवी मानन्धर समेत
§ अवण्डा रहेका जग्गा मध्ये आफ्नो भाग जति आफ्नो जीवनकालमै छुट्याई रत्नमायाले आफ्नो हक स्थापित गरि नसकेको, र कुनै लिखत गरी यि वसुन्धराभक्तलाई निजले नदिएको अवस्थामा वावुसँग संगोलमा रहेको नाताले वण्डापत्रवाट प्राप्त अंश हक जस्तै अवण्डाको सम्पत्तिमा पनि वसुन्धरा भक्तको एकलौटी हक हुन्छ भनि मान्न अंश वण्डाको १, २ र ३५ नं.ले समेत मिल्ने नदेखिने ।
§ दर्ता फोरी मुद्दा र निर्णय वदर हक कायम मुद्दाका अन्तिम फैसलाहरुको प्रस्तुत मुद्दामा कुनै प्रमाणिक महत्व नरहेको र २००१।७।२७ को पारित वण्डापत्रको प्रतिकूल पुनरावेदन अदालत पाटनबाट निर्णय समेत नभएको हुँदा दोहोर्याउने निस्सा प्रदान गर्दा संयुक्त इजलासले लिएको आधार वुँदासँग सहमत हुन नसकिने ।
§ प्रमाणबाट दावीमा उल्लेखित २००१।७।२५ को अवण्डाको लिखतका जग्गाहरु मूलपुरुष दानवर सिंहका जीवित अंशियार वादी प्रतिवादीहरुका हाँगा बीच ३ भागको १ भागका दरले नामसारी दर्ता हुने गरी भएको मालपोत कार्यालय कलंकीको निर्णय सदर गर्ने गरेको पुनरावेदन अदालत पाटनको मिति २०५८।५।२२ को फैसला मनासिव देखिँदा सदर हुने ।
(प्र.नं. २३ र २४)
पुनरावेदक वादीतर्फवाटः विद्वान अधिवक्ताद्वय श्री नारायण वल्लभ पन्त र श्री अर्जुनप्रसाद कर्णेल
प्रत्यर्थी प्रतिवादीतर्फवाटः विद्वान वरिष्ठ अधिवक्ता श्री सर्वज्ञरत्न तुलाधर तथा विद्वान अधिवक्ताहरु श्री राम कुमार राई श्री वच्चुसिं खडका र श्री कमलमणि श्रेष्ठ
अवलम्वित नजिरः
फैसला
न्या.केदारप्रसाद गिरीः पुनरावेदन अदालत पाटनवाट भएको मिति २०५८।५।२२ को फैसला उपर न्याय प्रशासन ऐन, २०४८ को दफा १२ (१) को खण्ड (क) र (ख) अन्तर्गत निवेदक वसुन्धराभक्त मानन्धरकोतर्फवाट यस अदालतमा मुद्दा दोहोर्याई हेरी पाउँ भन्ने निवेदन परी यस अदालत संयुक्त इजलासको मिति २०५९।१२।१० को आदेशबाट मुद्दा दोहोर्याई हेर्ने निस्सा प्रदान भई यस अदालतको देवानी पुनरावेदन दायरीमा दर्ता हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य र ठहर यसप्रकार रहेको छ :–
२. काठमाडौ जिल्ला सितापाइला ५ (ग) कि.नं. १२१, १२२, १२८ का जग्गाहरु मेरा नाउँमा नापी भएको जग्गा दर्ता गर्न पाउँ भन्ने शिवजीभक्त मानन्धरको मिति ०४१।१२।२५ मा मालपोत कार्यालय काठमाडौंमा परेको निवेदन पत्र ।
३. मेरो पिताजी स्व. धनवहादुरको दाजुभाइमा जेठा दानवहादुर माहिला न्हुच्छेवहादुर साहिला कुलवहादुर भएकोमा जेठा दानवहादुर माहिला न्हुच्छेवहादुर परलोक हुनु भै माहिली आमा रत्नमायाको १ भाग साहिला कुलवहादुरको १ भाग र धनवहादुरको १ भाग गरी २००१।७।२७ मा पारित वण्डापत्र बमोजिम का.जि. आदेश्वर सितापाइला पंचायत वडा नं. ५ (ग) कि.नं. क्रमश १२१, १२२, १२८ समेतका तीन कित्ताको संगोल हकको उक्त कित्ता जग्गाहरु विपक्षी शिवजी भक्तको निवेदन मांगदावी बमोजिम उक्त जग्गा मध्ये २ खण्डको १ खण्ड शिवजी भक्तको नाममा र वाँकी २ खण्डको १ खण्ड म निवेदकको ४ दाजुभाइ लक्ष्मी भक्त, विष्णु भक्त, चन्द्र भक्त र म निवेदक शान्तभक्त १ समेत जना चारका नाममा नामसारी दर्ता गरीपाउँ भन्ने मालपोत कार्यालय काठमाडौं डिल्लीवजारमा परेको द.नं. ३४० मिति ०४३।८।२७ को निवेदनपत्र ।
४. मेरा पिता दानवहादुर माहिली आमा रत्नमायाका नाउँमा काठमाडौ मालपोत कार्यालयमा पंचायत सितापाइला मौजा स्वयम्भु हा.ल.नं. ८८१ उजुख्वात जग्गा र साहिला वावु कुलवहादुरका नाउँमा काठमाडौं मालमा हा.नं. १७२५ मा मौजे काठमाडौ चार किल्ला भित्रको पाखामा दर्ता भै रहेको र म वसुन्धराको नाउँमा सितापाइला मौजा काठमाडौं हा. ल.नं.२०२१ मा दर्ता भै रहेको सितापाइला ५ (ग) कि.नं.१०३, १०७, १०८, १२९, १०४, १०५, १२८, १०९, ११२, १२१, १२२ ऐ.वडा नं. ५ (ख) कि.नं. ७ जग्गा मध्ये पिता दानवहादुर माहिली आमा रत्नमायाको हक खाने हकदार छोरा भतिजा म निवेदक एक जना मात्र भएकोले उक्त जग्गा मध्ये कुलवहादुर र धनवहादुरको १ भागको हक छाडी पूर्वतर्फवाट आधा मेरा नाउँमा दर्ता गरी पाउन ०४१।१२।२७ मा दिएको निवेदनमा कुनै कारवाही नभएकोले तामेली जगाई आवश्यक कार्वाही गरीपाउँ भन्ने समेत वसुन्धरा भक्त मानन्धरको द.नं. ४३४४ मिति ०४६।७।३० को निवेदन पत्र ।
५. सितापाइला वडा नं. ५ (ग) कि.नं. १०७ र १०८ को मात्र कारवाही गरी ज.ध.प्र.पुर्जा पाउँ भन्ने समेत रत्नदेवी मानन्धर वलराम मानन्धरको द.नं. २८०२ मिति ०४९।१०।२८ को निवेदन पत्र ।
६. २००१।७।२५ को अवण्डा लिखत भित्रको दर्ता हुन वाँकी रहेको नापी सम्म भएको तपसिलका जग्गाहरु मूल अंशियारहरु मध्ये दानवहादुरतर्फ निजको छोरा वसुन्धरा भक्त १, धनवहादुरतर्फ निजको छोराहरु लक्ष्मी भक्त, विष्णुभक्त, चन्द्रभक्त र शान्त भक्त १ तथा कुलवहादुरतर्फको निजको कान्छो छोरा शिवजीभक्त १ र जेठो छोरा दुर्गाभक्त परलोक भई हामी पत्नीछोराहरु नारायणदेवी, राजन, त्रिरत्न भक्त १ का नाउँमा माथि उल्लेखित साविक लगतहरु भिडाई संयुक्त दर्ता नामसारी गरी ज.ध.प्र.पु. पाउँ भन्ने समेत नारायण देवी मानन्धर समेतको मिति २०५६।८।२४।६ को निवेदन पत्र ।
७. उल्लेखित जग्गाहरु माथि उल्लेख गरेको लगतहरु भिडाई दानवहादुरको सन्तान १ भाग कुलवहादुरको सन्तान १ भाग र धनवहादुरको सन्तान १ भाग गरी ३ भाग लाग्ने भई धनवहादुरतर्फको छोराहरु हामी लक्ष्मी भक्त, विष्णुभक्त, चन्द्रभक्त, शान्तभक्त समेत जना ४ का नाउँमा छुट्याई दर्ता नामसारी गरी ज.ध.प्र.पु.पाउँ भन्ने समेत व्यहोराको मिति २०५६।८।२७।२ को निवेदन पत्र ।
८. रत्नदेवी मानन्धर र वलराम मानन्धरले कि.नं. १०७ र १०८ को जग्गा विसमान मानन्धरको साविक लगत भिडाई मांग गरेकोमा तत्काल दोहोरो दावी यिनै वसुन्धरा भक्त समेतको भाग भएकोले पछि कारवाही गर्ने भनि निवेदन परी कारवाही टुंगो नलागेको देखिने । दर्ताको सिलसिलामा सूचना प्रकाशित हुँदा दावी पैरवी गर्न आएको नदेखिने जोताहा साथ हकवाला समेतले ज.ध. रत्नदेवीलाई नदेखाई यिनै दानवर सिंहका हकदारहरुलाई मात्र ज.ध. देखाएको र निजले पेश गरेको साविक लगतवाला विसमान र रत्नदेवीको के नाता पर्ने समेत खुल्न आएको नदेखिँदा र फिल्डवुकमा ज.ध.को नाम समेत मिल्न भिड्न आएको नदेखिएको त्यसैगरी कि.नं. १०४, १०५ र १२८ को जग्गा मोहीको हैसियतले रै.प.ना.सा. दर्ताको लागि पुर्णवहादुर समेतले मांग गरेको सम्बन्धमा निवेदन गर्ने फिल्डवुकवाट देखिएको मोही पुर्ण नारायणको छोरा मध्ये यिनै पुर्णवहादुरले विर्ता नभै रैकरको जग्गा हो उक्त जग्गा निवेदकहरु दानवर सिंहका हकदारहरुका नाउँमा दर्ता गरी दिए हुन्छ भनि मन्जुरी गरी सर्जमिनको व्यहोरामा खुलाई दिएकोले उक्त जग्गा विर्ता नभै रैकर भएको र यिनै निवेदकहरु भन्ने देखिन आयो । मांग दावीको सितापाइला वडा नं. ५ (ग) कि.नं. १०३, १०४, १०५, १०७, १०८, १०९, ११२, १२१, १२२, १२८, १२९ र वडा नं. ५ (ख) कि.नं. ७ को जग्गा मोही समेतका हकदार यिनै ज.ध. हुन भनि स्वीकार गरेको देखिँदा दानवर सिंका छोरा दानवहादुर परलोक भएकोले छोरा वसुन्धरा भक्त १, कुलवहादुर परलोक भै निजको हकदार शिवजीभक्त, नारायणदेवी १ राजन १ र त्रिरत्न १ र धनवहादुर परलोक भै छोरा विष्णुभक्त १ चन्द्रभक्त १ शान्तभक्त १ र लक्ष्मी भक्त मानन्धरको नाउँमा संयुक्त नामसारी दर्ता गर्न छूट दर्ता समितिमा सिफारिशको लागि मा.पो. अधिकृत समक्ष टिप्पणी पेश भएकोमा समितिमा राख्ने गरी मिति ०५६।१२।२५ मा टिप्पणी सदर भएको र उल्लेखित जग्गाहरु शान्तभक्त मानन्धर समेतका, नाउँमा संयुक्त ना.सा. दर्ता गरी दिन छूट जग्गा दर्ता समितिमा सिफारिश पेश भएकोमा का.जि. सितापाइला वडा नं. ५ (ग) कि.नं. १०३, १०४, १०५, १०७, १०८, १०९, ११२, १२१, १२२, १२८, १२९ र वडा नं. ५ (ख) कि.नं. ७ को जग्गा मिसिल संलग्न प्रमाण र कार्यालयको राय समेतका आधारमा निवेदक वसुन्धराभक्त, शिवजी भक्त नारायण देवी, त्रिरत्न, राजन, लक्ष्मीभक्त विष्णु भक्त, चन्द्रभक्त र शान्तभक्त मानन्धरको संयुक्त नाउँमा मालपोत ऐन, २०५४ को दफा ७ (२) बमोजिम ना.सा. दर्ता गरी दिन छूट जग्गा दर्ता समितिको मिति ०५६।१२।२९ को सिफारिश ।
९. २००१।७।२५ को अवण्डा गोश्वारामा रहेको उल्लेखित कित्ता जग्गाहरु जग्गा कमाउनेले यिनै ज.ध.हरुलाई स्वीकारेको देखिँदा मु. दानवर सिंको जेठा छोरा दानवहादुर परलोक भै हक खाने हकदार छोरा वसुन्धरा भक्त २।६ भाग १, माहिलो छोरा वुहारी निसन्तान भएको,साहिलो कुलवहादुर पनि परलोक भई निजको हकदार कान्छा छोरा शिवजी भक्त १/६ भाग जेठा दुर्गाभक्त पनि परलोक भई निजको पत्नी नारायण देवी, छोरा राजन, त्रिरत्न भक्तलाई १/६ दानवरसिंहका कान्छा छोरा धनवहादुर परलोक भई छोराहरु लक्ष्मी भक्त विष्णु भक्त चन्द्रभक्त र शान्त भक्त समेत जवान ४ लाई २/६ भाग हक हिस्सा जनाई छूट जग्गा दर्ता समितिको मिति २०५६।१२।२९ को सिफारिश समेत भइसकेकोले मालपोत ऐन, २०३४ को दफा ७(२) तथा ८(१) बमोजिम वसुन्धरा भक्त मानन्धर समेतको नाउँमा संयुक्त नामसारी दर्ता गर्ने र पुनरावेदन परे पुनरावेदन फैसला बमोजिम पुनरावेदन नपरे अदालत समेत वुझी ज.ध.श्रेस्ता र ज.ध.प्र.पु.वनाई दिने भन्ने समेत मालपोत कार्यालय काठमाडौको मिति ०५७।१।१३ को निर्णय ।
१०. अवण्डा गोश्वाराका जग्गाहरुको आधा हक हिस्सा जनाई छूट दर्ता नामसारी गर्नुपर्नेमा तीन खण्डको एक खण्ड मात्र गरेको र विपक्षीहरु कुलवहादुरको हांगातर्फ र धनवहादुरको हांगातर्फ प्रत्येक हांगाको १/४ हक हिस्सा हुनुपर्नेमा वढी गरेको हुँदा सो हद सम्म हक हिस्सा कायम गरेको मालपोत कार्यालय कलंकी काठमाडौंको मिति ०५७।१।१३ को निर्णय वदर गरी पूर्वतर्फ आधा हक कायम गरीपाउँ भन्ने समेत व्यहोराको वसुन्धरा भक्त मानन्धरको पुनरावेदन अदालत पाटनमा परेको पुनरावेदन पत्र ।
११. मिति २००१।७।२७।१ को पारित वण्डापत्रमा कुलवहादुर र धनवहादुर एका संगोलमा तथा दानवहादुर र रत्न माया एक संगोलमा रही आधा वण्डा गर्ने भन्ने जनिएको मिति २००१।७।२५ को घरसारको अंश वण्डाको कागजमा पनि आधी–आधी वण्डा गर्ने भनी उल्लेख भएको तथा विवादग्रस्त कित्ताका जग्गाहरु अवण्डा राखिएको जग्गा भएको भनि पुनरावेदन पत्रमा लेखिएको अवस्थामा मालपोत कार्यालय कलंकीको मिति ०५७।१।१३ को निर्णय फरक पर्न सक्ने देखिँदा अ.वं. २०२ नं. तथा पुनरावेदन अदालत नियमावली, ०४८ को नियम ४७ बमोजिम छलफलको लागि विपक्षी झिकाई नियमानुसार पेश गर्नु भन्ने पुनरावेदन अदालत पाटनको मिति २०५७।८।२६।२ को आदेश ।
१२. २००१।७।२५ को घरसारको अवण्डाको लिखतले विवादको सम्पत्तिमा यि पुनरावेदकको हांगाले आधा पाउने भनि निर्धारण गरेको नदेखिएको र उक्त जग्गाहरु पुनरावेदक र प्रत्यर्थीको वाजे नाताका दानवर सिंका नाउँमा श्रेस्ता कायम रहेका जग्गाहरु दानवर सिंहका माईलो छोरा न्हुच्छेवहादुरको मृत्यु भई वुहारी रत्नमाया निसन्तान भई मिति ०३२ सालमा मृत्यु भइसकेको अवस्थामा अवण्डा गोश्वाराका जग्गाहरु दानवर सिंहका चार छोराहरु मध्ये एक हाँगा न्हुच्छेवहादुरको कुनै हकदार छोरा समेत वाँकी नरहेको र दानवर सिं का अन्य ३ छोराका हांगातर्फ नामसारी हुने ठहर्याएको शुरुको निर्णय मिलेकै देखिन आयो । तसर्थ अवण्डाको विवादको जग्गामा आधा आफ्नो नाउँमा हक कायम भै नामसारी हुनुपर्छ भन्ने मिसिल संलग्न तथ्यहरुबाट पुनरावेदन जिकिर मुनासिव देखिन नआएकोले शुरु मालपोत कार्यालय कलंकीको मिति ०५७।१।१३ को निर्णय मिलेको हुँदा सदर हुन्छ भन्ने समेत व्यहोराको पुनरावेदन अदालत पाटनबाट मिति २०५८।५।२२ मा भएको फैसला ।
१३. पुनरावेदन अदालत पाटनबाट भएको उक्त फैसलामा चित्त वुझेन । मिति २००१।७।२५ मा खडा भै मिति २००१।७।२७।१ मा पारित वण्डापत्रमा वाँकी घर विर्ता जग्गाको हकमा वण्डा गर्न अडकाउ भएका कलम जतिको छुट्टै अवण्डाको कागज आजैका मितिमा घरसारमा भएको हुनाले भन्ने उल्लेख भई घर सारको अवण्डा लिखतलाई अङ्गिकार गरिएको छ र उक्त मिति २००१।७।२५ को घरसारको अवण्डा लिखतमा अव वण्डा गर्न वाँकी तपसिल बमोजिमको अडकाउ भएको रैकर गुठी तलसिंहरुको विर्ता जग्गाहरु र आफ्नो विर्ता जग्गा घर समेत तपसिलमा लेखिए बमोजिमको हकमा आफ्नो विर्ताको आयस्ता वाली र गुठी रेकर तलसिंहरुका विर्ता जग्गाको लागेको वाली तिरी वांकी नाफा वोटी सम्म आधि आधि खाई रहने पछि नाउसारी भैसकेपछि जग्गा समेत आधी आधी वण्डा गर्ने गरी लिने दिने गर्नमा हामीहरु चारैजनाको मन्जुरी भएको हुनाले परस्परको कागज लेखी भन्ने स्पष्ट रुपमा उल्लेख भइरहेको हुँदा उक्त २००१।७।२५ को घरसारको अवण्डाको लिखतले विवादको सम्पत्तिमा यी पुनरावेदकको हाँगाले आधा पाउने भनी निर्धारण गरेको नदेखिएको भनि ठहर खण्डमा उल्लेख गरिएको कुरा प्रमाण ऐन, २०३१ को दफा ३, ८, ९ (३) (ग) ३५ र ५४ समतेको व्याख्यामा गम्भीर त्रुटिपूर्ण छ । तसर्थ प्रस्तुत मुद्दा दोहोर्याई हेरी उक्त जग्गाको ४ खण्डको २ खण्ड अर्थात आधा जग्गा निवेदकको नाउँमा दर्ता नामसारी हुने ठहर गरी हक इन्साफ पाउँ भन्ने समेत व्यहोराको पुनरावेदक वसुन्धरा भक्त मानन्धरले यस अदालतमा दिएको निवेदन पत्र ।
१४. यसमा मिति २००१।७।२५।६ को घरसारको वण्डापत्रको लिखत मिति २००१।७।२७ मा पारित लिखतवाट १९९९।९।९ देखि कुलवहादुर र धनवहादुर मानो छुट्टिई बेग्लै भान्छा गरी खाई आएको र दानवहादुर र रत्नमाया संगोलमै एकै भान्छा गरी वसी आएको हुनाले आधि आधि अंश वण्डा गर्नुपर्ने भन्ने उल्लेख भएको र वादी शान्त भक्त प्रतिवादी वसुन्धरा भक्त भएको दर्ता फारी मुद्दामा पुनरावेदन अदालत पाटनवाट २०५२।७।२७ मा भएको फैसलामा वादीले रत्नमायाको अपुताली पाउन नसक्ने भन्ने निर्णय भएको तथा पु.वे.वादी चन्द्रभक्त समेत विपक्ष प्रतिवादी वसुन्धरा भक्त भएको निर्णय वदर हक कायम मुद्दामा वादीले अपुताली पाउन नसक्ने निर्णय अन्तिम रहेको देखिएको, यस्तो प्रमाण हुँदा हुदै सो वण्डापत्र जस्तो लिखतलाई समेत अमान्य हुने गरी गरेको पुनरावेदन अदालत पाटनको मिति २०५८।५।२२ को फैसला न्याय प्रशासन ऐन, २०४८ कोदफा १२ (१)ं को खण्ड (क) बमोजिम गंभीर कानूनी त्रुटी भएको देखिँदा दोहोर्याउने निस्सा प्रदान गरिएको छ । नियम बमोजिम गरी पेश गर्नु भन्ने यस अदालत संयुक्त इजलासवाट मिति २०५९।१२।१० मा भएको आदेश ।
१५. यसमा अदालतमा विचाराधीन रहेको अवस्थामा विवादित अचल सम्पत्ति यथास्थितिमा राख्न वान्छनीय हुने हुनाले पछि मुद्दा फैसला हुँदा ठहरे बमोजिम हुने गरी यस अदालत संयुक्त इजलासवाट मिति २०५९।१२।१७ मा भएको आदेश बमोजिम विवादित जग्गामा निवेदक वसुन्धरा भक्तको २ भाग हिस्सा कायम हुनुपर्ने भनि दावी गरिएको हदसम्मको जग्गा वेचविखन दानदातव्य वा कुनै प्रकारले हक हस्तान्तरण गर्न नपाउने गरी अ.वं. १७१ क नं. बमोजिम रोक्का राखी कानून बमोजिम गर्नु भन्ने यस अदालत संयुक्त इजलासको मिति २०६०।३।२० को आदेश ।
१६. नियम बमोजिम दैनिक पेशी सूचीमा चढी निर्णयार्थ पेश हुन आएको प्रस्तुत मुद्दामा पुनरावेदक वसुन्धरा भक्त मानन्धरकोतर्फवाट उपस्थित हुनु भएका विद्वान अधिवक्ताद्वय श्री नारायण वल्लभ पन्त र श्री अर्जुनप्रसाद कर्णेलले मुल पुरुष दान वरसिंहका ४ जना छोरा मध्ये जेठा दानवहादुर, माहिला न्हुच्छेवहादुर परलोक भई हक खाने निजकी श्रीमती रत्नमाया, साहिला कुलवहादुर र कान्छा धनवहादुर भएकोमा पुनरावेदक वसुन्धरा भक्त दानवहादुरका छोरा र प्रत्यर्थीहरु साहिला कुलवहादुर र कान्छा धनवहादुरका हकवाला सन्तान हुनु भएकोमा कुनै विवाद छैन । धनवहादुर र कुलवहादुर १९९९।९।९ देखि मानो छुट्टिई वेग्लै भान्छा गरी वसेको र दानवहादुर र रत्नमाया एका संगोलमै वसेको कुरालाई समेत २००१।७।२५ मा खडा भई २००१।७।२७ मा पारित वण्डापत्रको लिखतले पुष्टि गरिरहेको छ । उक्त वण्डापत्र बमोजिम तत्काल वण्डा गर्न सकिने चल अचल आधा आधा वण्डा गरी वण्डा गर्न अडकाउ भएको घर विर्ता जग्गाको हकमा छुट्टै अवण्डाको कागज सोही मितिमा घरसारमा गरी भागवण्डा भएको तथ्य समेत स्पष्ट छ । पुनरावेदकका पिता दानवहादुर सँग संगोलमै वसी यीनै पुनरावेदकले नै स्याहारसुसार गरी रहेको अवस्थामा रत्नमायाको २०३२ सालमा मृत्यु भएको हुँदा २००१ सालको लिखतले अवण्डा राखेको जग्गा मध्ये आफ्नो नाउँमा दानवहादुर र रत्नमायाको आधा भाग दर्ताको लागि वसुन्धरा भक्त मा.पो.का. काठमाडौमा गएकोमा ६ भागको २ भाग मात्र निजका नाउँमा दर्ता हुने गरी मा.पो.का. काठमाडौंवाट मिति २०५७।१।१३ मा निर्णय भएको र सो निर्णय उपर यिनै पुनरावेदकको पुनरावेदन अदालत पाटनमा पुनरावेदन परेकोमा पुनरावेदन अदालतवाट समेत मा.पो.का.को निर्णय नै सदर भएको कारण पुनरावेदक यस अदालतमा आएको अवस्था हो । २००१ सालको लिखतबाट अवण्डा रहेको विवादित जग्गामा पुनरावेदकको ४ भाग को २ भागमा हक लाग्ने कुरा २००१ सालको वण्डापत्रवाटै स्पष्ट देखिन्छ । यो तथ्य वादी शान्तभक्त प्रतिवादी वसुन्धरा भक्त भएको दर्ता फारी मुद्दा र वादी चन्द्रभक्त समेत प्रतिवादी वसुन्धराभक्त भएको निर्णय वदर हक कायम मुद्दामा पुनरावेदन अदालत पाटनवाट मिति २०५२।७।२० मा भएको फैसलाहरुबाट समेत थप पुष्टि भएको छ । ति फैसलाहरु हाल अन्तिम भएर वसेको अवस्था हुँदा त्यसले कानूनको रुप लिई सकेको छ । २००१ सालको लिखतलेनै अवण्डा रहेको जग्गा पछि दर्ता नामसारी भएपछि पनि आधा — आधा गरी खान मन्जुर छ भनी लिखतका ४ अंशियार बीचमा सहमती भइसकेको प्रमाणित गरिराखेको हुँदा कुलवहादुर र धनवहादुरका सन्तानले उक्त पहिलेनै स्वीकार गरेको कुरा पछि आएर वदल्न पाउने होइन दानवहादुर सँग संगै वसेकी रत्नमायाको मृत्यु भयो भन्दैमा प्रत्यर्थीहरुको अंश वढ्न सक्दैन । मुलुकी ऐन अपुतालीको महलको २ नं. तथा १२ नं. ले अपुताली सँग वसेका हकवालाले पाउने भिन्न वसेकाले नपाउने कानूनी व्यवस्था गरेको हुँदा १९९९।९।९ देखिनै भिन्न वसेको कुलवहादुर र धनवहादुरका हकवाला प्रत्यर्थीहरुले रत्नमायाको अंश अपुताली पाउन नसक्ने स्पष्ट हुँदा हुदै २००१ सालको वण्डापत्रले अवण्डा राखेको विवादित जग्गालाई ३ भाग लगाई त्यसको १ भाग मात्र पुनरावेदक वसुन्धराभक्तले पाउने ठहराएको शुरु मालपोत कार्यालय काठमाडौं तथा पुनरावेदन अदालत पाटन दुवै तहका फैसला कानूनी त्रुटिपूर्ण हुँदा वदर गरी विवादित जग्गाको आधा जग्गामा पुनरावेदकको हक स्थापित हुनुपर्दछ भनी वहस प्रस्तुत गर्नुभयो ।
१७. प्रत्यर्थी मध्येका विष्णुभक्त मानन्धरकोतर्फवाट उपस्थित हुनु भएका विद्वान वरिष्ठ अधिवक्ता श्री सर्वज्ञरत्न तुलाधर तथा विद्वान अधिवक्ता श्री राम कुमार राईले सम्मानित अदालतवाट मिति २०५९।१२।१० मा मुद्दा दोहोर्याउने निस्सा दिने गरी भएको आदेशमा पुनरावेदन अदालतको फैसलामा कुनै कानूनको व्याख्या सम्बन्धी गंभीर त्रुटी भएको हो स्पष्ट खुलाइएको छैन तसर्थ उक्त आदेशनै कानून बमोजिमको छैन । २००१ सालको वण्डापत्रले केही सम्पत्ति वण्डा गरी केही सम्पत्ति अवण्डा राखेको छ । अवण्डा जग्गामा मरि सकेको व्यक्तिको हक हुन सक्दैन । अंश वण्डाको ३५ नं. ले अवण्डा गोश्वाराको जग्गाको हकमा भिन्न भिन्न जिउ सम्म नालेश लाग्न सक्छ । जसको हक हो उसको मृत्यु भई सकेपश्चात जहिले सुकै, जसले पनि नालेश दिन सक्ने होइन । प्रस्तुत मुद्दामा रत्नमायाबाट उनी जीवित हुदै यी पुनरावेदकले शेषपछिको वकसपत्र पाएको भए मात्र उनको हिस्सामा पुनरावेदकको हक हुन सक्दथ्यो तर त्यसरी दिएको छ भनि पुनरावेदकले भन्न सकेको छैन । यस अवस्थामा अवण्डा रहेको सम्पत्ति जिवीत ३ अंशीयारका हकवालाले वरावरी खान पाउने हो । त्यही अनुरुपनै शुरु मा.पो.का. काठमाडौं तथा पुनरावेदन अदालत पाटनबाट समेत इन्साफ भएको हुँदा उक्त इन्साफ विलकूल न्यायोचित र कानूनसँगत हुँदा सदर होस भनि वहस गर्नुभयो ।
१८. त्यस्तै अर्का प्रत्यर्थी शान्तभक्त मानन्धरकोतर्फवाट उपस्थित हुनु भएका विद्वान अधिवक्ताद्वय श्री वच्चुसिं खडका र श्री कमलमणि श्रेष्ठले प्रस्तुत मुद्दामा सम्मानित अदालतबाट मिति २०५९।१२।१० मा मुद्दा दोहोर्याउने निस्सा प्रदान गर्दा पुनरावेदन अदालत पाटनवाट भएको फैसलामा कुन कानून वा कुन नजीरको त्रुटी भएको हो भन्ने स्पष्ट खुलाइएको छैन । न्याय प्रशासन ऐन, २०४८ कोदफा १२ (१) बमोजिम मुद्दा दोहोर्याउने निस्सा प्रदान गर्दा कुन अवस्था विद्यमान भएको कारणवाट निस्सा प्रदान गरिएको हो भन्ने स्पष्ट आधार उल्लेख हुनु पर्ने भनि सम्मानित सर्वोच्च अदालतवाट ने.का.प. २०५३, अंक ८, नि.नं. ६२४६, पृष्ठ ६४९ मा सिद्धान्त समेत प्रतिपादन भइसकेको छ । तर यो मुद्दामा त्यस्तो कुनै निश्चित त्रुटी औल्याई आधार किटान नगरेको हुँदा मुद्दाको औचित्य भित्र प्रवेश गर्नुपर्ने अवस्थानै छैन । मुद्दाको औचित्य भित्र प्रवेश गरेको खण्डमा पनि ०३२ सालमा मृत्यु भएकी रत्नमायाको अपुताली २०१२ सालमा नै मृत्यु भइसकेको दानवहादुरलाई प्राप्त हुन सक्दैन । रत्नमायाले आफ्नो अंश भाग जीवित छदै प्राप्त गरी कसैलाई शेषपछिको वकसपत्र गरि दिएको अवस्थामा मात्र निजको हकमा दावी गर्न सकिने हुन्छ । तर रत्नमायाको नाउँमानै नआएको हक एकलौटी पाउनु पर्छ भनी कसैले पनि दावी गर्न मिल्दैन । अपुतालीको २० नं. ले ३ वर्ष भित्र नालिस नदिए लाग्न सक्दैन । तर प्रस्तुत मुद्दामा ०३२ सालमा परेको अपुताली खान भनि २०४६ ।७।३० मा मात्र नालिस परेको हुँदा प्रस्तुत मुद्दा हदम्याद भित्र परेको समेत पाइदैन । तसर्थ प्रस्तुत मुद्दामा शुरु मालपोत कार्यालय काठमाडौ तथा पुनरावेदन अदालत पाटनबाट भएको इन्साफ न्यायोचित र कानूनसँगत हुँदा सदर हुनुपर्छ भनि वहस प्रस्तुत गर्नु भयो ।
१९. विद्वान कानून व्यवसायीहरुबाट प्रस्तुत भएको उल्लेखित वहस जिकिरलाई मनन गरी पुनरावेदनपत्र सहितको प्रस्तुत मुद्दाको मिसिल संलग्न सम्पूर्ण कागजातहरु समेत अध्ययन गरी हेर्दा यसमा मूलतः २००१।७।२५ को अवण्डा गोश्वारामा रहेको जग्गाहरु मूल पुरुष दानवर सिंहका जीवित ३ छोराको हाँगातर्फ ३ भाग लगाई १/१ भाग नामसारी हुने ठहराएको शुरु इन्साफलाई सदर गर्ने गरेको पुनरावेदन अदालत पाटनको मिति २०५८।५।२२ को फैसला मिले नमिलेको के रहेछ हेरी निर्णय दिनुपर्ने देखियो ।
२०. निर्णयतर्फ विचार गर्दा यसमा वाजे दानवर सिंहका चार छोरा मध्ये माहिला वावु न्हुच्छेवहादुर अघिनै परलोक हुनु भएकोले वावुहरुका बीच २००१।७।२७ मा वण्डापत्र पारित हुँदा मेरा पिता दानवहादुर र माहिली आमा रत्नमाया संगोलमा वस्नु भएको साहिला तथा कान्छा वावुहरु छुट्टी भिन्न भै बस्नु भएको थियो । वावु दानवहादुर तथा माहिली आमा रत्नमाया सगोलमा रहेको बखतनै परलोक हुनु भएको र उहाहरुको हकखाने म मात्र रहेको छु तसर्थ २००१।७।२५ मा घरसारमा तयार भएको अवण्डा लिखतमा उल्लेखित जग्गाहरु मध्ये आधा जग्गा मेरा नाउँमा नामसारी गरि पाउँ भन्ने वसुन्धराभक्त मानन्धरको निवेदन परेकोमा २००१।७।२५ को अवण्डा गोश्वारामा रहेको १२ कित्ता जग्गाहरु मध्ये स्व. दानवर सिंहको जेठा छोरा दानवहादुर परलोक भई हक खाने वसुन्धरा भक्तलाई २/६ भाग, माइलो छोरा वुहारी निसन्तान भएको साइला कुलवहादुरको हकदारहरुलाई २/६ तथा कान्छा छोरा धनवहादुरको हकदारहरुलाई २/६ हक हिस्सा जनाई नामसारी दर्ता गर्ने गरी मालपोत कार्यालय कलंकीबाट मिति २०५७।१।१३ मा निर्णय भएको पाइन्छ । उक्त निर्णय उपर वसुन्धरा भक्त मानन्धरको पुनरावेदन परेकोमा पुनरावेदन अदालत पाटनवाट शुरु मा.पो.का. कलंकीको निर्णयलाई नै सदर गर्ने गरी मिति २०५८।५।२२ मा फैसला भए उपर वसुन्धराभक्त मानन्धरकोतर्फवाट यस अदालतमा मुद्दा दोहोर्याई पाउँ भन्ने निवेदन परि यस अदालत संयुक्त इजलासको मिति २०५९।१२।१० को आदेश बमोजिम मुद्दा दोहोर्याउने निस्सा प्रदान भई यस अदालतको देवानी पुनरावेदन दायरीमा दर्ता हुन आएको देखिन्छ ।
२१. प्रस्तुत मुद्दामा विवादित का.जि. सितापाइला वडा नं. ५ ग को कि.नं. १०३, १०४, १०५, १०७, १०८, १०९, ११२, १२१, १२२, १२८, १२९ लगायतका १२ कित्ता जग्गाहरु अवण्डा रहेको जग्गा भनि दुबै पक्षले स्वीकार गरेको देखिन्छ । सो कुराको पुष्टि विवादित जग्गा मूल पुरुष दानवर सिंहको नाउँमा रहेको तथ्यबाट समेत भै रहेको देखिन्छ । २००१।७।२७ को पारित वण्डापत्रबाट मूलपुरुष दानवर सिंहका ४ छोरा वुहारी बीच अंश वण्डा भएको र घर विर्ता जग्गाको हकमा वण्डा गर्न वाधा अडकाउ भई सोहि मिति २००१।७।२५ मा अलग्गै अवण्डाको लिखत खडा भएको उक्त पारित वण्डापत्रको लिखतवाटै देखिन आउँछ । वण्डापत्र हुँदाका वखत पुनरावेदक वसुन्धराभक्त मानन्धरका वावु दानवहादुर र माहिली आमा रत्नमाया एकासंगोलमा रहेको र निज रत्नमायाको २०३२ सालमा मृत्यु भएको देखिन्छ । रत्नमाया दानवहादुर सँग संगोलमै रहेको अवस्थामा मृत्यु भएको हुँदा अवण्डा रहेको जग्गाको आधा हक दानवहादुरको हकवालको नाताले आफ्नो हुनु पर्ने भन्ने यि पुनरावेदक वसुन्धरा भक्तको दावी भएतापनि अवण्डा रहेको जग्गाको आफ्नो हक जति वादी वसुन्धराभक्त मानन्धरले पाउने गरी वण्डापत्रको ४ भागको १ भाग अंश पाउने रत्नमायाले शेषपछिको वकसपत्र वा अन्य कुनै लिखत गरी दिएको अवस्था पनि देखिदैन । यस्तो अवस्थामा अवण्डा रहेको जग्गाहरु वण्डापत्रका जीवित अंशियारहरु बीचमा नै मुलुकी ऐन अंश वण्डाको १ नं. अनुसार वाँडफाँड गर्नु न्यायोचित देखिन आयो ।
२२. मिति २००१।७।२५ को अवण्डा गोश्वाराको लिखतमा उल्लेखित जग्गामा निसन्तान रत्नमायाले आफ्नो जीवनकालमा आफ्नो जति अंश भाग छुट्याई लिएको पनि देखिदैन । २००१।७।२७ मा पारित वण्डापत्र अनुसार रत्नमाया पुनरावेदक वसुन्धराभक्तको वावु दानवहादुर संगै सगोलमा रहने गरी वण्डापत्र पारित भएको अवस्थामा पनि रत्नमायाले वण्डापत्र अनुसार अश हक छुट्याई पाएको सम्पत्तिमा मात्र वादीको दावी स्वतः पुग्न सक्ने देखिन्छ तर अंशीयारहरुका मूल पुरुष वावु दानवर सिंहका नाउँमा अवण्डा रहेका विवादित जग्गाहरु सो पारित वण्डापत्रवाट देखिएका अंशियारहरुको नाउँमा स्वतः दामासाहीले जाने अवस्था हुने नभई कायम रहेका जिवीत अंशीयारहरुको बीचमा मात्र वण्डा हुने अवस्था देखिन आउछ । अवण्डा गोश्वाराको लिखत भएकोमा आ–आफ्नो अंश हक लाग्ने जति अवण्डा आ–आफ्नो खुश हुन्छ भन्ने मुलुकी ऐन अंश वण्डाको ३५ नं. मा उल्लेखित कानूनी व्यवस्थाले समेत सोही कुरालाई ईंगित गरिरहेको देखिन्छ ।
२३. प्रस्तुत मुद्दामा दोहोर्याउने निस्सा प्रदान गर्दा यस अदालतको संयुक्त इजलासले लिएको आधारतर्फ दृष्टि दिंदा २००१।७।२७ को पारित वण्डापत्रबाट दानवहादुर र रत्नमाया संगोलमा एकै भान्छा गरी वसी आएको भन्ने देखिएको र वादी शान्तभक्त प्रतिवादी वसुन्धरा भक्त भएको दर्ता फारी मुद्दा तथा वादी चन्द्रभक्त प्रतिवादी वसुन्धराभक्त भएको निर्णय वदर हक कायम मुद्दामा समेत रत्नमायाको अपुताली वादीले पाउन नसक्ने निर्णय अन्तिम भइरहेको यस्तो प्रमाण हुँदाहुदै सो वण्डापत्र जस्तो लिखतलाई समेत अमान्य हुने गरी पुनरावेदन अदालत पाटनवाट मिति २०५८।५।२२ मा भएको फैसला न्याय प्रशासन ऐन, २०४८ को दफा १२(१) को खण्ड (क) को त्रुटी भएको भन्ने उल्लेख भएको पाइन्छ । उल्लेखित दर्ता फारी मुद्दा २००१।७।२७ मा पारित वण्डापत्रवाट दानवहादुर र रत्नमायाको भागमा परेको मौजा पकनाजोल हा.नं. ५५८ बाट भिडि दर्ता भएको नापी हुँदा कि.नं. ६३० को ०–५–० जग्गा मध्ये रत्नमायाको भाग २ भाग लगाई वावु धनवहादुरको भाग मेरा नाउँमा छुट्याई पाउँ भनी धनवहादुरको छोरा शान्तभक्त मानन्धर वादी भई चलेको देखिन्छ भने निर्णय वदर हक कायम मुद्दा २००१।७।२७ मा पारित वण्डापत्रवाट दानवहादुर र रत्नमायाको भागमा परेको नापी हुँदा कि.नं. ११४ मा १–११–२ कायम भएको जग्गा आधा मोही कालीदास मानन्धरलाई छुट्याई वाँकी जग्गा मध्ये रत्नमायाको भागमा पर्ने जग्गाको आधा जग्गामा हामी फिरादीहरुको हक कायम गरीपाउँ भनि धनवहादुरका छोराहरु लक्ष्मीभक्त, चन्द्रभक्त र शान्तभक्त वादी भई चलेको देखिन्छ । उल्लेखित दुवै मुद्दा २००१।७।२७ मा पारित वण्डापत्रबाट एका संगोलमा वसेका दानवहादुर र रत्नमायाको अंश भागमा परेको जग्गाको सम्बन्धमा भिन्न वसेका धनवहादुरका हकवालाबाट दावी लिइएको अवस्था भई अपुतालीको १२ नं. समेतका आधारमा छुटी भिन्न भै वसेका वादीहरुले रत्नमायाको सम्पत्ति अपुताली स्वरुप नपाउने गरी पुनरावेदन अदालत पाटनबाट २०५२।७।२० मा फैसला भएको देखिन्छ। तर प्रस्तुत मुद्दामा २००१।७।२७ को पारित वण्डापत्रबाट कसैको अंश भागमा परेको जग्गाको सम्बन्धमा दावी परेको अवस्था नभई मिति २००१।७।२५ को घरसारको लिखतले अवण्डा गोश्वारमा राखेको जग्गा मध्ये दानवहादुर र रत्नमाया सगोलमा रहेको, सगोलमै रहदा निसन्तान रत्नमायाको मृत्यु भएको हुँदा अवण्डा गोश्वारामा रहेका विवादित १२ कित्ता जग्गा मध्ये आधा जग्गाको दर्ता आफ्नो नाउँमा हुनुपर्ने भनि दानवहादुरका छोरा पुनरावेदक वसुन्धराभक्त मानन्धरको दावी परेको अवस्था छ । अवण्डा रहेका जग्गा मध्ये आफ्नो भाग जति आफ्नो जीवनकालमै छुट्याई रत्नमायाले आफ्नो हक स्थापित गरि नसकेको, र कुनै लिखत गरी यि वसुन्धराभक्तलाई निजले नदिएको अवस्थामा वावुसँग संगोलमा रहेको नाताले वण्डापत्रवाट प्राप्त अंश हक जस्तै अवण्डाको सम्पत्तिमा पनि वसुन्धरा भक्तको एकलौटी हक हुन्छ भनि मान्न अंश वण्डाको १, २ र ३५ नं.ले समेत मिल्ने देखिदैन । तसर्थ दर्ता फारी मुद्दा र निर्णय वदर हक कायम मुद्दाका अन्तिम फैसलाहरुको प्रस्तुत मुद्दामा कुनै प्रमाणिक महत्व नरहेको र २००१।७।२७ को पारित वण्डापत्रको प्रतिकूल पुनरावेदन अदालत पाटनबाट निर्णय समेत नभएको हुँदा दोहोर्याउने निस्सा प्रदान गर्दा संयुक्त इजलासले लिएको आधार वुंदा सँग सहमत हुन सकिएन ।
२४. अतः माथि विवेचना गरिएको आधार प्रमाणबाट दावीमा उल्लेखित २००१।७।२५ को अवण्डाको लिखतका जग्गाहरु मूलपुरुष दानवर सिंहका जिवित अंशियार वादी प्रतिवादीहरुका हाँगा बीच ३ भागको १ भागका दरले नामसारी दर्ता हुने गरी भएको मालपोत कार्यालय कलंकीको निर्णय सदर गर्ने गरेको पुनरावेदन अदालत पाटनको मिति २०५८।५।२२ को फैसला मनासिव देखिँदा सदर हुने ठहर्छ । पुनरावेदक वादीको पुनरावेदन जिकिर पुग्न सक्दैन । अरुमा तपसिल बमोजिम गर्नु ।
तपसिल
माथि इन्साफ खण्डमा उल्लेख भए बमोजिम पुनरावेदन अदालत पाटनवाट मिति २०५८।५।२२ मा भएको इन्साफ सदर हुने ठहरी फैसला भएकोले यस अदालतको मिति २०६०।३।२० को आदेशले रोक्का रहेका जग्गा अव रोक्का राख्न नपर्ने हुँदा फुकुवा गर्नको लागि सम्वन्धित मालपोत कार्यालयमा पत्र लेखि पठाई दिनु .......१
प्रस्तुत मुद्दाको दायरीको लगत कट्टा गरी मिसिल नियमानुसार गरी वुझाई दिनु ...... २
उक्त रायमा सहमत छु ।
न्या. सुशीला सिंह सिलु
इति संवत् २०६१ साल श्रावण २१ गते रोज ५ शुभम्.........................